सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा, ‘दुःखको समयमा हाम्रो गढ’

यहोवा, ‘दुःखको समयमा हाम्रो गढ’

यहोवा, ‘दुःखको समयमा हाम्रो गढ’

“धर्मात्माको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दु:खको समयमा उहाँनै तिनीहरूको दृढ़ गढ़ हुनुहुन्छ।”—भजन ३७:३९.

१, २. (क) येशूले आफ्ना चेलाहरूको खातिर कस्तो बिन्ती गर्नुभयो? (ख) आफ्ना जनहरूको लागि परमेश्‍वरको इच्छा के छ?

 यहोवा सर्वशक्‍तिमान्‌ हुनुहुन्छ। उहाँसित आफ्ना विश्‍वासी उपासकहरूलाई उहाँले इच्छा गर्नुभएको कुनै पनि तरिकामा जोगाउन सक्ने शक्‍ति छ। उहाँले आफ्ना जनहरूलाई यस संसारबाट साँच्चै अलग गरेर तिनीहरूलाई अर्कै ठाउँमा सुरक्षित र शान्तिमय वातावरणमा राख्न समेत सक्नुहुन्छ। तथापि, आफ्ना चेलाहरूबारे येशूले स्वर्गमा बस्नुहुने आफ्नो पितालाई यसरी प्रार्थना गर्नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌।”—यूहन्‍ना १७:१५.

यहोवाले हामीलाई “संसारबाट” नलैजाने निर्णय गर्नुभएको छ। बरु, आशा र सान्त्वनाको उहाँको सन्देश अरूलाई घोषणा गर्न हामी यस संसारका आम-मानिसहरूबीच रहिरहौं भन्‍ने उहाँको इच्छा छ। (रोमी १०:१३-१५) तर येशूले आफ्नो प्रार्थनामा सङ्‌केत गर्नुभएझैं यस संसारमा बस्दा हामीले “दुष्ट[को]” सामना गर्नुपर्छ। अनाज्ञाकारी मानिसजाति र दुष्ट आत्माहरूले अनगन्ती पीडा तथा वेदना ल्याउँछन्‌ र यो दुःखबाट मसीहीहरू अलग रहन सक्दैनन्‌।—१ पत्रुस ५:९.

३. यहोवाका विश्‍वासी उपासकहरूले समेत कस्तो वास्तविकताको सामना गर्नुपर्छ तर परमेश्‍वरको वचनमा हामी कस्तो सान्त्वना पाउँछौं?

यस्ता परीक्षाहरू आइपर्दा केही समयको लागि निराश हुनु स्वाभाविकै हो। (हितोपदेश २४:१०) बाइबलमा दुःख भोगेका थुप्रै विश्‍वासी व्यक्‍तिहरूको विवरण पाइन्छ। भजनहार यसो भन्छन्‌: “धर्मात्मालाई धेरै दु:ख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” (भजन ३४:१९) हो, “धर्मात्मालाई” समेत खराब कुराहरू हुन्छन्‌। भजनहार दाऊदजस्तै कहिलेकाहीं हामी पनि “मुर्छित” हुन र “ज्यादै चोट” पाउन सक्छौं। (भजन ३८:८) तैपनि, यहोवा “टुटेका हृदय भएकाहरू सबैको नजीक . . . हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ” भनेर थाह पाउनु सान्त्वनादायी छ।—भजन ३४:१८; ९४:१९.

४, ५. (क) हितोपदेश १८:१० अनुसार, परमेश्‍वरको सुरक्षा प्राप्त गर्न हामीले के गर्नै पर्छ? (ख) परमेश्‍वरको मदत प्राप्त गर्न हामीले चाल्न सक्ने केही खास कदमहरू के-के हुन्‌?

येशूको प्रार्थना अनुरूप यहोवाले हामीलाई साँच्चै हेरिरहनुभएको छ। “दुःखको समयमा उहाँनै दृढ़ गढ़ हुनुहुन्छ।” (भजन ३७:३९) यस्तै खालको अभिव्यक्‍ति चलाउँदै हितोपदेशको पुस्तक यसो भन्छ: “[यहोवाको] नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।” (हितोपदेश १८:१०) यस शास्त्रपदले आफ्ना सृष्टिहरूप्रति यहोवाको मायालु चासोबारे एउटा आधारभूत सत्य प्रकट गर्छ। विशेष गरी, शरणको लागि हामी बलियो धरहरातर्फ कुदेर गएजस्तै सक्रियतासाथ उहाँको खोजी गर्ने धर्मीहरूलाई परमेश्‍वरले सुरक्षा दिनुहुन्छ।

दुःखदायी समस्याहरू भोग्नुपर्दा हामी कसरी सुरक्षाको लागि यहोवातर्फ कुद्‌न सक्छौं? आउनुहोस्‌, यहोवाको मदत पाउन हामीले चाल्न सक्ने तीनवटा महत्त्वपूर्ण कदमबारे विचार गरौं। पहिलो, स्वर्गमा बस्नुहुने हाम्रो पितालाई हामीले प्रार्थना गर्नै पर्छ। दोस्रो, हामी उहाँको पवित्र आत्माको डोऱ्‍याइअनुसार चल्नुपर्छ। अनि तेस्रो, हाम्रो दुःख कम गर्न सक्ने सँगी मसीहीहरूसितको संगति खोजेर हामी यहोवाको प्रबन्धको अधीनतामा रहनै पर्छ।

प्रार्थनाको शक्‍ति

६. साँचो मसीहीहरू प्रार्थनालाई कुन दृष्टिकोणले हेर्छन्‌?

केही स्वास्थ्य विशेषज्ञहरूले निराशा र तनावबाट छुटकारा पाउने उपचारको रूपमा प्रार्थना गर्न सुझाव दिन्छन्‌। हुन त, प्रकृतिका केही खास आवाजहरूद्वारा वा जीउ मालिस गर्दा तनावबाट राहत पाएजस्तै शान्त अवस्थामा रहेर प्रार्थनापूर्वक मनन गर्दा यसले पनि तनावबाट छुटकारा दिन सक्छ। तर प्रार्थनालाई आफ्नो मन हलुका पार्ने उपचारको रूपमा मात्र हेरेर साँचो मसीहीहरूले यसको महत्त्वलाई हल्कासित लिंदैनन्‌। हामी प्रार्थनालाई सृष्टिकर्तासितको सम्मानजनक कुराकानीको रूपमा हेर्छौं। प्रार्थनामा परमेश्‍वरप्रतिको हाम्रो भक्‍ति र विश्‍वस्तता समावेश छ। हो, प्रार्थना हाम्रो उपासनाको एउटा भाग हो।

७. विश्‍वस्तताका साथ प्रार्थना गर्नुको अर्थ के हो र यस्ता प्रार्थनाहरूले हामीलाई कसरी दुःखको सामना गर्न मदत दिन्छ?

प्रार्थना गर्दा हामीमा यहोवाप्रति विश्‍वस्तता वा भरोसा हुनै पर्छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “उहाँमा भएको हाम्रा हिम्मत यही हो, कि उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूहन्‍ना ५:१४) सर्वोच्च व्यक्‍ति, एक मात्र साँचो र सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले वास्तवमा आफ्ना उपासकहरूको निष्कपट प्रार्थनामा विशेष ध्यान दिनुहुन्छ। हामीले आफ्ना पीर-व्यथा तथा समस्याहरू उहाँलाई बताउँदा हाम्रो मायालु परमेश्‍वरले यो सुन्‍नुहुन्छ भनेर थाह पाउनु मात्र पनि सान्त्वनादायी छ।—फिलिप्पी ४:६.

८. प्रार्थनाद्वारा यहोवासामु जाँदा विश्‍वासी मसीहीहरूले किन कहिल्यै पनि लाज मान्‍ने वा अयोग्य महसुस गर्नु पर्दैन?

प्रार्थनाद्वारा यहोवासामु जाँदा विश्‍वासी मसीहीहरूले कहिल्यै पनि लाज मान्‍ने, अयोग्य महसुस गर्ने वा विश्‍वस्तताको कमी महसुस गर्नु पर्दैन। यो कुरा साँचो हो कि आफैदेखि निराश महसुस गर्दा वा तीन थुप्रो समस्याहरूले घेरिंदा हामीमा सधैं प्रार्थनाद्वारा यहोवासामु जाने झुकाव नहुन सक्छ। यस्तो अवस्थामा, यहोवाले ‘कष्ट पाएका आफ्ना प्रजामाथि टिठाउनुहुन्छ’ र ‘नम्रहरूलाई सान्त्वना दिनुहुन्छ’ भनेर सम्झनु बेस हुन्छ। (यशैया ४९:१३; २ कोरिन्थी ७:६) विशेष गरी वेदना र दुःखको समयमा स्वर्गमा बस्नुहुने हाम्रा पितालाई हाम्रो गढको रूपमा हेर्दै उहाँतर्फ विश्‍वस्तताका साथ फर्कनु आवश्‍यक छ।

९. हामी प्रार्थनापूर्वक परमेश्‍वरसामु जाने सन्दर्भमा विश्‍वासले कस्तो भूमिका खेल्छ?

प्रार्थना गर्ने सुअवसरबाट पूर्णतया लाभ उठाउन हामीसित साँचो विश्‍वास हुनै पर्छ। बाइबल यसो भन्छ: “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) विश्‍वास भनेको परमेश्‍वरको “अस्तित्व छ” वा परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु मात्र होइन। साँचो विश्‍वासमा हाम्रो आज्ञाकारी जीवन शैलीलाई परमेश्‍वरले इनाम दिन सक्नुहुन्छ र इनाम दिने इच्छा गर्नुहुन्छ भन्‍ने बलियो विश्‍वास समावेश छ। “प्रभुको [“यहोवाको,” NW ] नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ।” (१ पत्रुस ३:१२) यहोवाको मायालु चासोबारे हरबखत सजग रहँदा यसले हाम्रो प्रार्थनामा विशेष अर्थ राख्छ।

१०. हामीले यहोवाबाट आध्यात्मिक समर्थन प्राप्त गर्ने हो भने हाम्रा प्रार्थनाहरू कस्तो हुनुपर्छ?

१० पूर्ण हृदयले गरिएका हाम्रा प्रार्थनाहरू यहोवाले सुन्‍नुहुन्छ। भजनहारले यस्तो लेखे: “आफ्नो पूरा हृदयले मैले तपाईंलाई पुकारेको छु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌।” (भजन ११९:१४५) थुप्रै धर्महरूमा विधिविधानको रूपमा गरिने प्रार्थनाजस्तो हाम्रा प्रार्थना नाउँ मात्रको वा मन नलागी नलागी गरिने प्रचलनहरू होइनन्‌। यहोवालाई हाम्रो “पूरा हृदयले” प्रार्थना गर्दा हाम्रा शब्दहरू अर्थपूर्ण र उद्देश्‍यपूर्ण हुन्छन्‌। यस्तो निष्कपट प्रार्थना गर्दा हामीले आफ्नो “भारी” यहोवामा राख्दा प्राप्त हुने आनन्द महसुस गर्न थाल्नेछौं। बाइबलले प्रतिज्ञा गरेझैं उहाँले नै हामीलाई “सह्‍माल्नुहुनेछ।”—भजन ५५:२२; १ पत्रुस ५:६, ७.

परमेश्‍वरको आत्मा हाम्रो मदतगार हो

११. हामीले यहोवाको मदत ‘मागिरहँदा’ उहाँले हामीलाई जवाफ दिने एउटा तरिका के हो?

११ यहोवाले प्रार्थना सुन्‍ने मात्र होइन तर त्यसको जवाफ पनि दिनुहुन्छ। (भजन ६५:२) दाऊदले यस्तो लेखे: “मेरो दु:खको दिनमा म तपाईंको पुकारा गर्नेछु। किनकि तपाईंले जवाफ दिनुहुनेछ।” (भजन ८६:७) त्यसै गरी येशूले आफ्ना चेलाहरूलाई यहोवाको मदत ‘मागिरहन’ प्रोत्साहन दिनुभयो किनभने “स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:९-१३) हो, परमेश्‍वरको सक्रिय शक्‍तिले उहाँका जनहरूका लागि मदतगार वा शान्तिदाताको रूपमा काम गर्छ।—यूहन्‍ना १४:१६.

१२. समस्याहरू अत्यासलाग्दो देखिंदा परमेश्‍वरको आत्माले हामीलाई कसरी मदत गर्न सक्छ?

१२ हामीले परीक्षाहरू भोग्दा समेत परमेश्‍वरको आत्माले हामीलाई “असामान्य शक्‍ति” दिन सक्छ। (२ कोरिन्थी ४:७, NW) थुप्रै तनावग्रस्त अवस्था सहेका प्रेरित पावलले निर्धक्क भएर यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) त्यसै गरी, आज थुप्रै मसीहीहरूले आफूले गरेको बिन्तीको जवाफ स्वरूप आफ्नो आध्यात्मिक तथा भावनात्मक बल पुनः जागृत भएको महसुस गरेका छन्‌। हामीले परमेश्‍वरको आत्मा पाएपछि दुःखदायी समस्याहरू अक्सर त्यत्ति अत्यासलाग्दा देखिंदैनन्‌। ईश्‍वरप्रदत्त यस बलको कारण प्रेरित जस्तै हामी पनि यसो भन्‍न सक्छौं: “हामी सबैतिरबाट मिचिएका छौं, तापनि चूर्ण पारिएका छैनौं। अन्योलमा परेका छौं, तापनि निराश भएका छैनौं। खेदिएका छौं, तापनि त्यागिएका छैनौं। पिटिएका छौं, तापनि नष्ट भएका छैनौं।”—२ कोरिन्थी ४:८, ९.

१३, १४. (क) यहोवा कसरी आफ्नो लिखित वचनद्वारा हाम्रो गढ साबित हुनुभएको छ? (ख) बाइबल सिद्धान्तहरू लागू गर्दा यसले तपाईंलाई व्यक्‍तिगत तवरमा कसरी मदत गरेको छ?

१३ पवित्र आत्माले हाम्रो भलाइको निम्ति परमेश्‍वरको वचनलाई प्रेरित गर्नुका साथै यसलाई सुरक्षित पनि राखेको छ। दुःखको समयमा यहोवा कसरी आफ्नो वचनद्वारा हाम्रो गढ साबित हुनुभएको छ? एउटा तरिका हो, हामीलाई व्यावहारिक बुद्धि र सोच्ने क्षमता दिएर। (हितोपदेश ३:२१-२४) बाइबलले हाम्रो बौद्धिक क्षमतालाई प्रशिक्षण दिन्छ र तर्कशक्‍ति बढाउँछ। (रोमी १२:१, NW) परमेश्‍वरको वचन नियमित तवरमा पढ्‌नु र अध्ययन गर्नुका साथै यसलाई प्रयोगमा ल्याएर हामी “खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास” गर्न सक्छौं। (हिब्रू ५:१४) तपाईंले कठिनाइहरू भोग्नुपर्दा बुद्धिमानी निर्णयहरू गर्न बाइबल सिद्धान्तहरूले तपाईंलाई कसरी मदत दियो भन्‍ने कुरा तपाईं आफैले व्यक्‍तिगत तवरमा अनुभव गर्नुभएको हुन सक्छ। बाइबलले हामीलाई “चतुस्याइँ” दिन्छ, जसले हामीलाई दुःखदायी समस्याहरूको व्यावहारिक निकास पत्ता लगाउन मदत दिन सक्छ।—हितोपदेश १:४.

१४ परमेश्‍वरको वचनले हामीलाई बलको अर्को स्रोत पनि प्रदान गर्छ—त्यो हो, मुक्‍तिको आशा। (रोमी १५:४) खराब कुराहरू सधैंभरि भइरहनेछैनन्‌ भनेर बाइबलले हामीलाई बताउँछ। हामीले भोग्ने सबै कष्टहरू छिनभरका हुन्‌। (२ कोरिन्थी ४:१६-१८) हामीसित ‘अनन्त जीवनको आशा छ, जो कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले अघि सनातनदेखि प्रतिज्ञा गर्नुभएको छ।’ (तीतस १:२) यहोवाले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्यबारे सधैं सजग भएर त्यस आशामा आनन्द गऱ्‍यौं भने हामी सङ्‌कष्टमा स्थिर रहन सक्छौं।—रोमी १२:१२; १ थिस्सलोनिकी १:३.

मण्डली —परमेश्‍वरको प्रेमको एउटा अभिव्यक्‍ति

१५. मसीहीहरू कसरी एक-अर्काका लागि आशिष्‌ हुन सक्छन्‌?

१५ दुःखको समयमा हामीलाई मदत गर्न सक्ने यहोवाको अर्को प्रबन्ध मसीही मण्डलीमा हामीले आनन्द उठाउने सरसंगति हो। बाइबल यसो भन्छ: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।” (हितोपदेश १७:१७, NW) परमेश्‍वरको वचनले मण्डलीका सबैलाई एक-अर्काको कदर गर्न र एक-दोस्रोतर्फ मायालु हुन प्रोत्साहन दिन्छ। (रोमी १२:१०) “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज” भनी प्रेरित पावलले लेखे। (१ कोरिन्थी १०:२४) यस्तो मनोवृत्तिले हामीलाई आफ्नै परीक्षाहरूमा भन्दा अरूका आवश्‍यकताहरूमा ध्यान केन्द्रित गर्न मदत दिन सक्छ। अरूलाई मदत गर्दा हामीले तिनीहरूलाई मदत मात्र गरिरहेका हुँदैनौं तर हामी केही हदसम्म आनन्द र सन्तुष्टि पनि महसुस गर्छौं, जसले हाम्रो बोझ अझ हलुका बनाउँछ।—प्रेरित २०:३५.

१६. हरेक मसीही कसरी प्रोत्साहनदायी हुन सक्छन्‌?

१६ अरूलाई बलियो तुल्याउन आध्यात्मिक तवरमा परिपक्व पुरुष तथा स्त्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्‌। यसको लागि तिनीहरू सजिलै कुरा गर्न सकिने र उपलब्ध हुन सकिने मानिसहरू बन्छन्‌। (२ कोरिन्थी ६:११-१३) जवानहरूको प्रशंसा गर्न, नयाँ विश्‍वासीहरूलाई बलियो बनाउन र निराश भएकाहरूलाई प्रोत्साहन दिन सबैले समय निकाल्दा मण्डलीले साँच्चै आशिष्‌ पाउँछ। (रोमी १५:७) भातृप्रेमले एक-अर्कालाई शङ्‌कालु दृष्टिकोणले नहेर्न पनि हामीलाई मदत दिनेछ। व्यक्‍तिगत कठिनाइहरू त्यो व्यक्‍तिको आध्यात्मिक कमजोरीको चिह्न हो भन्‍ने निष्कर्षमा हामी हत्त न पत्त पुगिहाल्नु हुँदैन। “हरेस खानेलाई दिलाशा देओ” भनी पावलले मसीहीहरूलाई आग्रह गर्नु उचित हो। (१ थिस्सलोनिकी ५:१४) विश्‍वासी मसीहीहरूले समेत दुःख भोग्छन्‌ भनी बाइबलले देखाउँछ।—प्रेरित १४:१५.

१७. हामीसित मसीही भ्रातृत्वको गाँठो बलियो बनाउने कस्ता सुअवसरहरू छन्‌?

१७ एक-अर्कालाई सान्त्वना र प्रोत्साहन दिन मसीही सभाहरूले हामीलाई अत्युत्तम सुअवसर प्रदान गर्छ। (हिब्रू १०:२४, २५) यो मायालु सम्बन्ध मण्डलीका सभाहरूमा मात्र सीमित छैन। बरु, परमेश्‍वरका जनहरू अनौपचारिक जमघटहरूमा पनि स्वास्थ्यकर संगतिमा भाग लिने सुअवसरहरू खोज्छन्‌। पहिले नै मित्रताको कसिलो गाँठो बनिसकेको हुँदा दुःखदायी अवस्थाहरू आइपर्दा एक-अर्कालाई सहयोग गर्न हामी कुनै ढिला-सुस्ती गर्नेछैनौं। प्रेरित पावलले यस्तो लेखे: “शरीरमा फूट नहोस्‌, तर अङ्‌गहरू एउटाले अर्कोको . . . वास्ता राखून। औ एउटा अङ्‌गलाई दु:ख भयो भने, सबै अङ्‌गले यसैको साथसाथै दु:ख भोग्छन्‌, अथवा एउटा अङ्‌गको आदर भयो भने, सबै अङ्‌गहरूले यसैको साथसाथै आनन्द गर्दछन्‌।”—१ कोरिन्थी १२:२५, २६.

१८. निराश महसुस हुँदा हामी कस्तो झुकावबाट जोगिनुपर्छ?

१८ कहिलेकाहीं हामी सँगी मसीहीहरूसितको संगतिबाट आनन्दै उठाउन नसक्ने हदसम्म निराश महसुस गर्न सक्छौं। हामीले यस्ता भावनाहरूसित सङ्‌घर्ष गर्नुपर्छ, ताकि सँगी विश्‍वासीहरूले दिन सक्ने सान्त्वना तथा सहयोगबाट हामीले आफूलाई वञ्चित गर्नेछैनौं। बाइबलले हामीलाई यस्तो चेतावनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” (हितोपदेश १८:१) हाम्रा भाइबहिनीहरू हामीप्रति परमेश्‍वरको हेरचाहको अभिव्यक्‍ति हुन्‌। यो मायालु प्रबन्ध स्वीकाऱ्‍यौं भने हामीले दुःखको समयमा राहत पाउनेछौं।

आशावादी मनोवृत्ति कायम राख्नुहोस्‌

१९, २०. निराशावादी विचारहरू हटाउन धर्मशास्त्रले हामीलाई कसरी मदत दिन्छ?

१९ निराश हुँदा र दिक्क लाग्दा निराशावादी विचारहरू मनमा खेलाइरहन सजिलो हुन्छ। उदाहरणका लागि, दुःखकष्ट आइपर्दा कसै-कसैले आफ्नो कठिनाइ परमेश्‍वरको अनुमोदन गुमाएको लक्षण हो भन्‍ने निष्कर्षमा पुग्दै आफ्नै आध्यात्मिकतामाथि प्रश्‍न गर्न थाल्न सक्छन्‌। यद्यपि, नबिर्सनुहोस्‌, यहोवाले कहिल्यै पनि कुनै मानिसलाई “खराब कुराबाट” परीक्षा गर्नुहुन्‍न। (याकूब १:१३) “[परमेश्‍वरले] मानिसको सन्तानलाई खुशीसित दुःख दिनुहुन्‍न” भनी बाइबल बताउँछ। (विलाप ३:३३) यसको विपरीत, आफ्ना सेवकहरूमाथि दुःख आइपर्दा यहोवा अत्यन्तै दुःखित हुनुहुन्छ।—यशैया ६३:८, ९; जकरिया २:८.

२० यहोवा “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३) उहाँले हाम्रो हेरचाह गर्नुहुन्छ र उहाँको आफ्नो समयमा हामीलाई उच्च पार्नुहुनेछ। (१ पत्रुस ५:६, ७) परमेश्‍वरको प्रेमबारे हरबखत सजग रहँदा यसले हामीलाई आशावादी मनोवृत्ति कायम राख्न र आनन्दित हुन समेत मदत दिनेछ। याकूबले यस्तो लेखे: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ।” (याकूब १:२) किन? तिनी यस्तो जवाफ दिन्छन्‌: “किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट, उहाँलाई प्रेम गर्नेहरूलाई दिनेछु भन्‍ने प्रतिज्ञा गर्नुभएको, जीवनको मुकुट त्यसले पाउनेछ।”—याकूब १:१२.

२१. हामीले सामना गर्ने जस्तोसुकै कठिनाइको बावजुद, परमेश्‍वरप्रति विश्‍वासी रहनेहरूका लागि उहाँ कस्तो ग्यारेण्टी दिनुहुन्छ?

२१ येशूले चेतावनी दिनुभएझैं यस संसारमा हामीलाई कष्ट त हुनेछ। (यूहन्‍ना १६:३३) तर कुनै पनि “सङ्‌कष्टले, अथवा शारीरिक वेदनाले, वा खेदोले, वा अनिकालले, वा नग्नता, अथवा खतराले” हामीलाई यहोवाको प्रेम र उहाँको पुत्रको प्रेमबाट छुटाउनेछैन भनी बाइबल प्रतिज्ञा गर्छ। (रोमी ८:३५, ३९) हामीले सामना गर्ने कुनै पनि दुःख छिनभरको हो भनी थाह पाउनु कत्ति सान्त्वनादायी छ! अहिले, मानव दुःखकष्टको अन्त हुने दिनको बाटो हेर्दै गर्दा हाम्रा मायालु पिता यहोवाले हाम्रो रखवाली गर्नुहुन्छ। सुरक्षाको लागि हामी कुदेर उहाँतर्फ गयौं भने उहाँ “थिचोमिचोमा परेकाहरूका निम्ति . . . एउटा अल्गो धरहरा . . . , कष्टका समयमा एउटा उच्च धरहरा” साबित हुनुहुनेछ।—भजन ९:९.

हामीले के सिक्यौं?

• यस दुष्ट संसारमा बाँचुन्जेल मसीहीहरूले कुन कुरा आशा गर्नुपर्छ?

• परीक्षाहरू सामना गर्दा व्यग्र प्रार्थनाले हामीलाई कसरी बल दिन सक्छ?

• परमेश्‍वरको आत्मा कसरी एउटा मदतगार हो?

• एक-अर्कालाई मदत दिन हामी के गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

शरणको लागि बलियो धरहरातर्फ कुदेर गएजस्तै हामीले यहोवालाई खोज्नै पर्छ

[पृष्ठ २०-मा भएका चित्रहरू]

आध्यात्मिक तवरमा परिपक्व व्यक्‍तिहरूले अरूको प्रशंसा गर्न तथा अरूलाई प्रोत्साहन दिन हरेक अवसरको सदुपयोग गर्छन्‌