सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विनाकारण घृणा गरिएको

विनाकारण घृणा गरिएको

विनाकारण घृणा गरिएको

“तिनीहरूले मलाई विनाकारण घृणा गरे।”—यूहन्‍ना १५:२५.

१, २. (क) मसीहीहरू विरुद्ध बोलिंदा कोही-कोही मानिसहरू किन अचम्ममा पर्छन्‌ तर यस्तो बोलीले हामीलाई किन छक्क पार्नु पर्दैन? (ख) यस लेखमा हामी “घृणा” भन्‍ने शब्दको कुन अर्थबारे विचार गर्नेछौं? (पादटिप्पणी हेर्नुहोस्‌।)

 यहोवाका साक्षीहरू परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरू अनुरूप जीवन बिताउने कोसिस गर्छन्‌। फलस्वरूप, थुप्रै मुलुकहरूमा तिनीहरूले राम्रो नाउँ कमाएका छन्‌। तथापि, कहिलेकाहीं तिनीहरूको गलत अर्थ लगाइएको छ। उदाहरणका लागि, रूसको सेन्ट पिटर्सवर्ग सहरका एक जना सरकारी अधिकारीले यसो भने: “यहोवाका साक्षीहरू भनेको लुकीछिपी भेला हुने अनि आफ्ना बच्चाहरूको हत्या गर्ने र आफै पनि आत्महत्या गर्ने एक प्रकारको भूमिगत गिरोह हो भनेर हामीलाई भनिएको थियो।” तर एउटा अन्तरराष्ट्रिय अधिवेशनको लागि यहोवाका साक्षीहरूसित काम गरिसकेपछि ती अधिकारीले यसो भने: “अहिले म सामान्य र हँसिला मानिसहरू देख्दैछु . . .। तिनीहरू शान्त र मृदु स्वभावका छन्‌ अनि एक-अर्कालाई अत्यन्तै प्रेम गर्छन्‌।” तिनले अझै यसो भने: “मनिसहरूले तिनीहरूबारे किन यस्तो झूटो कुरा बोल्छन्‌ भनेर मैले त बुझ्नै सकेको छैन।”—१ पत्रुस ३:१६.

खराब व्यक्‍तिहरूको रूपमा बदनाम हुँदा परमेश्‍वरका सेवकहरू खुसी हुँदैनन्‌, तैपनि मानिसहरूले आफ्नो विरुद्ध बोल्दा तिनीहरू छक्क भने पर्दैनन्‌। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो अग्रिम चेतावनी दिनुभयो: “संसारले तिमीहरूलाई घृणा गर्दछ, तर तिमीहरूलाई घृणा गर्नभन्दा अघाड़ि मलाई घृणा गरेको हो भनी तिमीहरू जान्दछौ। . . . ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे’ भन्‍ने तिनीहरूका व्यवस्थामा लेखिएको वचन पूरा होस्‌ भनेरनै यो हुनआएको हो।” a (यूहन्‍ना १५:१८-२०, २५; भजन ३५:१९; ६९:४) योभन्दा पहिल्यै उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभएको थियो: “तिनीहरूले घरको मालिकलाई बालजिवुल भनेका छन्‌ भने, उनका घरानाकाहरूलाई झन्‌ कति बढ्‌ता गरी भन्लान्‌?” (मत्ती १०:२५) यस्तो बदनाम सहनु भनेको ख्रीष्टको अनुयायी बन्दा तिनीहरूले स्वीकारेको “शासनाको खम्बा[को]” एउटा भाग हो भनेर मसीहीहरूले बुझेका छन्‌।—मत्ती १६:२४, NW.

३. साँचो उपासकहरू कुन हदसम्म सताइएका छन्‌?

साँचो उपासकहरूमाथिको सतावटको लामो इतिहास छ, यसको इतिहास “धर्मी हाबिल[देखि]” सुरु हुन्छ। (मत्ती २३:३४, ३५) यो कहिलेकाहीं छिटपुट हुने घटनाहरूमा मात्र सीमित भएको छैन। येशूले बताउनुभएअनुसार उहाँका अनुयायीहरू उहाँको नाउँको खातिर “सबैबाट . . . घृणित” हुनेछन्‌। (मत्ती १०:२२) साथै, प्रेरित पावलले लेखेअनुसार हामी हरेकलगायत परमेश्‍वरका सबै सेवकहरूले सताइने आशा गर्नुपर्छ। (२ तिमोथी ३:१२) यसरी सताइनुको कारण के हो?

बेमनासिब घृणाको स्रोत

४. सबै बेमनासिब घृणाको स्रोतबारे बाइबल कसरी बताउँछ?

परमेश्‍वरको वचनले प्रकट गरेअनुसार सुरुदेखि नै एउटा अदृश्‍य उक्साउने व्यक्‍ति छ। पहिलो विश्‍वासी मानिस हाबिलको क्रूर हत्यालाई विचार गर्नुहोस्‌। तिनको हत्यारा दाजु, कयिन “दुष्टबाटको” अर्थात्‌ शैतान तथा दियाबलबाटको थियो भनेर बाइबलले बताउँछ। (१ यूहन्‍ना ३:१२) कयिनले शैतानको मनोवृत्ति प्रदर्शन गऱ्‍यो अनि आफ्नो दुष्ट उद्देश्‍य पूरा गर्न दियाबलले उसलाई चलायो। अय्यूब र येशू ख्रीष्टमाथिको भीषण आक्रमणमा शैतानको भूमिकाबारे पनि बाइबलले बताउँछ। (अय्यूब १:१२; २:६, ७; यूहन्‍ना ८:३७, ४४; १३:२७) येशूका अनुयायीहरूमाथिको सतावटको स्रोतबारे कुनै शङ्‌कै नरहने गरी प्रकाशको पुस्तक यसो भन्छ: “तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ।” (प्रकाश २:१०) हो, परमेश्‍वरका जनहरू विरुद्धको सबै बेमनासिब घृणाको स्रोत शैतान नै हो।

५. शैतानले साँचो उपासकहरूलाई घृणा गर्नुको कारण के हो?

शैतानले साँचो उपासकहरूलाई घृणा गर्नुको कारण के हो? आफूलाई अत्यन्तै ठूलो देखाउने एउटा घटनामार्फत शैतानले आफूलाई “अनन्त . . . राजा” यहोवा परमेश्‍वर विरुद्ध खडा गरेको छ। (१ तिमोथी १:१७; ३:६) परमेश्‍वरले आफ्ना सृष्टिहरूमाथि निरङ्‌कुश शासन गर्नुहुन्छ र कसैले पनि यहोवाको सेवा शुद्ध मनसायले नभई आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र गर्छ भनेर त्यसले तर्क गर्छ। मानिसहरूको परीक्षा गर्ने मौका पाउने हो भने सम्पूर्ण मानिसहरूलाई परमेश्‍वरको सेवा गर्नदेखि तर्काउन सक्छु भनेर शैतान दाबी गर्छ। (उत्पत्ति ३:१-६; अय्यूब १:६-१२; २:१-७) यहोवालाई तानाशाही, फटाहा र असफल व्यक्‍तिको रूपमा बदनाम गरेर शैतान आफूलाई प्रतिद्वन्द्वी सार्वभौमको रूपमा स्थापित गर्न खोज्छ। त्यसैले उपासना प्राप्त गर्ने आफ्नो लालसाले गर्दा त्यो परमेश्‍वरका सेवकहरू विरुद्ध क्रोधित हुन्छ।—मत्ती ४:८, ९.

६. (क) यहोवाको सार्वभौमिकताको विवादमा हामी व्यक्‍तिगत तवरमा कसरी मुछिएका छौं? (ख) यस विवादबारे बुझ्दा यसले हामीलाई कसरी आफ्नो निष्ठा कायम राख्न मदत दिन्छ? (पृष्ठ १६ को पेटी हेर्नुहोस्‌।)

यस विवादले तपाईंको जीवनलाई कसरी असर गर्छ भन्‍ने कुरा के तपाईंले बुझ्नुभएको छ? यहोवाको सेवकको हैसियतमा सम्भवतः तपाईंले देखिसक्नुभएको छ कि परमेश्‍वरको इच्छाअनुसार गर्न लगनशील प्रयत्न चाहिन्छ तर यसका लाभहरू तपाईंले गर्नुभएको प्रयत्नको तुलनामा कता हो कता धेरै छन्‌। यद्यपि, तपाईंको परिस्थितिले यहोवाका नियम तथा सिद्धान्तहरू अनुरूप चलिरहन कठिन वा दुःखदायी समेत बनायो भने के गर्ने नि? अनि यहोवाको सेवा गरेको बदलामा तपाईंले केही पनि लाभ नपाएजस्तो देखियो भने नि? के तपाईं यहोवाको सेवा गरिरहनु व्यर्थ हो भन्‍ने निष्कर्षमा पुग्नुहुनेछ? वा यहोवाप्रतिको प्रेम र उहाँका उत्कृष्ट गुणहरूप्रतिको गहिरो मूल्याङ्‌कनले तपाईंलाई उहाँका सबै मार्गहरूमा हिंडिरहन उत्प्रेरित गर्नेछ? (व्यवस्था १०:१२, १३) शैतानलाई हामीमाथि केही कठिनाइहरू ल्याउन अनुमति दिनुभएर यहोवाले हामी प्रत्येकलाई शैतानको चुनौतीप्रति हाम्रो व्यक्‍तिगत जवाफ दिने मौका दिनुभएको छ।—हितोपदेश २७:११.

“जब मानिसहरूले तिमीहरूलाई . . . निन्दा गर्नेछन्‌”

७. हामीलाई यहोवाबाट टाढा पुऱ्‍याउने कोसिस गर्नको लागि शैतानले चलाउने एउटा उपाय के हो?

यस विवादमा आफ्नो कुरा प्रमाणित गर्नको लागि शैतानले चलाउने एउटा धूर्त उपाय अर्थात्‌ झूटो निन्दाबारे अब हामी गहिरिएर विचार गरौं। येशूले शैतानलाई “झूटको पिता” भन्‍नुभयो। (यूहन्‍ना ८:४४) “निन्दक” अर्थ लाग्ने दियाबल भन्‍ने वर्णनात्मक नाउँले त्यसलाई परमेश्‍वर, उहाँको उपयोगी वचन र उहाँको पवित्र नाउँको प्रमुख निन्दकको रूपमा चिनाउँछ। यहोवाको सार्वभौमिकतालाई चुनौती दिन दियाबलले छेडपेच, झूटा आरोपहरू र सरासर झूटको सहारा लिन्छ र परमेश्‍वरका वफादार सेवकहरूको बदनाम गर्न पनि त्यसले यही उपायहरू चलाउँछ। यी साक्षीहरूमाथि निन्दा थोपरेर त्यसले कठोर परीक्षा सहन अझै गाह्रो बनाउन सक्छ।

८. शैतानले कसरी अय्यूबको निन्दा गऱ्‍यो र यसको असर कस्तो भयो?

अय्यूब, जसको नाउँको अर्थ “वैमनस्यताको पात्र” हो, तिनलाई के भयो विचार गर्नुहोस्‌। अय्यूबको जीविकाको साधन, तिनका बालबच्चा र तिनको स्वास्थ्यमा क्षति पुऱ्‍याउनुको अलावा अय्यूबले पाप गरेको कारण परमेश्‍वरले तिनलाई सजाय दिनुभएको हो भनेर शैतानले देखाउन खोज्यो। अय्यूबलाई एकदमै आदर गर्ने गरिएको भए तापनि आफ्नै नातेदार तथा नजिकका साथीहरूले समेत तिनलाई घृणा गर्न थाले। (अय्यूब १९:१३-१९; २९:१, २, ७-११) साथै, झूटा सान्त्वनादाताहरूलाई चलाएर पहिला त अय्यूबले कुनै गम्भीर पाप गरेको हुनुपर्छ भनेर छेडपेच गरेर अनि त्यसपछि तिनलाई सीधै गलत काम गरेको आरोप लगाएर शैतानले अय्यूबलाई ‘वचनहरूले आघात’ पार्न खोज्यो। (अय्यूब ४:६-९; १९:२; २२:५-१०) यो कुराले अय्यूबलाई कत्ति निरुत्साहित पारेको हुनुपर्छ!

९. येशूलाई कसरी पापीजस्तो देखाइयो?

यहोवाको सार्वभौमिकताको प्रमुख समर्थक भएको कारण परमेश्‍वरको पुत्र शैतानको वैमनस्यताको प्रमुख पात्र हुनुभयो। येशू पृथ्वीमा आउनुहुँदा, उहाँलाई पापीजस्तो देखाउन खोजेर शैतानले अय्यूबलाई जस्तै येशूमा पनि आध्यात्मिक तवरमा खोट भएको कुरा देखाउन खोज्यो। (यशैया ५३:२-४; यूहन्‍ना ९:२४) मानिसहरूले उहाँलाई जँड्याहा र घिचुवा भने अनि उहाँलाई “भूत लागेको छ” भने। (मत्ती ११:१८, १९; यूहन्‍ना ७:२०; ८:४८; १०:२०) उहाँलाई ईश्‍वर-निन्दा गरेको झूटो आरोप लगाइयो। (मत्ती ९:२, ३; २६:६३-६६; यूहन्‍ना १०:३३-३६) यसले येशूलाई दुःखित तुल्यायो किनभने यसले आफ्नो पिताको बदनाम गऱ्‍यो भन्‍ने कुरा उहाँलाई थाह थियो। (लूका २२:४१-४४) अन्ततः येशूलाई एउटा घृणित अपराधीको रूपमा झुन्ड्याइयो। (मत्ती २७:३८-४४) सिद्ध निष्ठा कायम राख्दा येशूले “पापीहरूबाट उहाँको विरुद्धमा भएको . . . विवादहरू” धेरै सहनुभयो।—हिब्रू १२:२, ३.

१०. बाँकी रहेका अभिषिक्‍त जनहरू वर्तमान समयमा कसरी शैतानको तारो भएका छन्‌?

१० वर्तमान समयमा, ख्रीष्टका बाँकी रहेका अभिषिक्‍त अनुयायीहरू पनि त्यसै गरी दियाबलको वैमनस्यताको पात्र भएका छन्‌। शैतानलाई “[ख्रीष्टका भाइहरूलाई] दोष लगाउने, जसले हाम्रा परमेश्‍वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ” भनी वर्णन गरिएको छ। (प्रकाश १२:९, १०) शैतानलाई स्वर्गबाट फ्याँकिएर त्यो यस पृथ्वीको आसपासमा सीमित भएदेखि नै त्यसले ख्रीष्टका भाइहरूलाई समाजमा काम नलाग्ने व्यक्‍तिहरूको रूपमा चिनाउने आफ्नो प्रयासलाई तीव्र पारेको छ। (१ कोरिन्थी ४:१३) कुनै-कुनै देशमा, प्रथम शताब्दीका मसीहीहरूलाई जस्तै तिनीहरूलाई पनि खतरनाक गुट भनेर निन्दा गरिएको छ। (प्रेरित २४:५, १४; २८:२२) सुरुमा उल्लेख गरिएझैं झूटा अफवाहद्वारा तिनीहरूको बदनाम गरिएको छ। तैपनि, “महिमा र अनादरले, बदनाम र सुनामले” ख्रीष्टका अभिषिक्‍त भाइहरूले “अरू भेड़ा[का]” आफ्ना सँगीहरूको साथ पाएर नम्रतापूर्वक “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” कोसिस गरेका छन्‌।—२ कोरिन्थी ६:८; यूहन्‍ना १०:१६; प्रकाश १२:१७.

११, १२. (क) मसीहीहरूले कहिलेकाहीं के कारणले गर्दा निन्दा भोग्न सक्छन्‌? (ख) कुनै मसीहीले आफ्नो विश्‍वासको खातिर कुन-कुन तरिकामा बेमनासिब दुःख भोग्न सक्छन्‌?

११ निस्सन्देह, परमेश्‍वरका प्रत्येक सेवकहरूले भोग्ने सबै निन्दाहरू ‘धार्मिकताको निम्ति’ मात्र होइनन्‌। (मत्ती ५:१०) हाम्रो आफ्नै असिद्धताको कारण पनि कतिपय समस्याहरू आइपरेका हुन सक्छन्‌। हामीले “पाप गरेर मुक्का खाँदा धीरजसँग” सह्‍यौं भने यो कुनै ठूलो कुरा होइन। तथापि, कुनै मसीहीले “परमेश्‍वरतर्फको विवेकको निम्ति . . . अन्यायमा क्लेश सहेर दुःख भोग्नुपर्छ भने” यो यहोवाको नजरमा “ग्रहणयोग्य हुन्छ।” (१ पत्रुस २:१९, २०) कस्ता परिस्थितिहरूमा यस्तो हुन सक्छ?

१२ गैरशास्त्रीय अन्त्येष्टि प्रचलनहरूमा भाग लिन इन्कार गरेकोले कसै-कसैलाई दुर्व्यवहार गरिएको छ। (व्यवस्था १४:१) यहोवाका नैतिक स्तरहरू पालन गरेको कारण जवान साक्षीहरू क्रूर मौखिक दुर्व्यवहारको तारो भएका छन्‌। (१ पत्रुस ४:४) आफ्ना छोराछोरीहरूको उपचार गर्दा रक्‍तविहीन उपचार पद्धति खोजेको कारण कोही-कोही मसीही आमाबाबुहरूलाई “लापरवाह” वा “दुर्व्यवहार गर्ने” भन्‍ने झूटो आरोप लगाइएको छ। (प्रेरित १५:२९) मसीहीहरू अरू केही कारणले गर्दा नभई मात्र यहोवाको सेवक बनेको कारणले गर्दा नातेदार तथा छिमेकीहरूको समाजबाट बहिष्कृत भएका छन्‌। (मत्ती १०:३४-३७) यस्ता व्यक्‍तिहरू सबैले बेमनासिब दुःख भोग्ने सन्दर्भमा अगमवक्‍ताहरू तथा येशूले बसाल्नुभएको नमुना पछ्याइरहेका छन्‌।—मत्ती ५:११, १२; याकूब ५:१०; १ पत्रुस २:२१.

निन्दा आइपर्दा सहने

१३. हामीले कठोर निन्दा सामना गर्नुपर्दा कुन कुराले हामीलाई आफ्नो आध्यात्मिक सन्तुलन कायम राख्न मदत दिन सक्छ?

१३ आफ्नो विश्‍वासको खातिर हामीमाथि कठोर निन्दा आइपर्दा अगमवक्‍ता यर्मियाजस्तै हामी पनि निराश हुन सक्छौं र परमेश्‍वरको सेवा गरिरहन सक्दैनौं होला जस्तो लाग्न सक्छ। (यर्मिया २०:७-९) आफ्नो आध्यात्मिक सन्तुलन कायम राख्न हामीलाई कुन कुराले मदत दिन सक्छ? कामकुरालाई यहोवाको दृष्टिकोणबाट हेर्न खोज्नुहोस्‌। परीक्षा आइपर्दा वफादर रहनेहरूलाई उहाँले परीक्षाको सिकार भएको व्यक्‍तिको रूपमा नभई विजयी व्यक्‍तिको रूपमा हेर्नुहुन्छ। (रोमी ८:३७) दियाबलले ल्याउन सक्ने जस्तोसुकै अपमानसामु पनि यहोवाको सार्वभौमिकतालाई समर्थन गरेका हाबिल, अय्यूब, येशूकी आमा मरियम र पुरातन समयका अन्य विश्‍वासी पुरुष तथा स्त्रीहरू लगायत वर्तमान समयका हाम्रा सँगी सेवकहरूबारे कल्पना गर्ने कोसिस गर्नुहोस्‌। (हिब्रू ११:३५-३७; १२:१) तिनीहरूले पछ्याएको निष्ठाको मार्गबारे मनन गर्नुहोस्‌। वफादार व्यक्‍तिहरूको त्यो ठूलो मेघले आफ्नो विश्‍वासद्वारा संसारलाई जित्नेहरूको लागि साँचेर राखिएको इनाममा तिनीहरूसितै सहभागी हुन हामीलाई उत्प्रेरित गर्छ।—१ यूहन्‍ना ५:४.

१४. व्यग्र प्रार्थनाले हामीलाई विश्‍वासी रहन कसरी बलियो बनाउन सक्छ?

१४ हाम्रो ‘मनमा ज्यादा फिक्री भयो’ भने हामी व्यग्र प्रार्थनाद्वारा यहोवासामु जान सक्छौं र उहाँले हामीलाई सान्त्वना तथा बल दिनुहुनेछ। (भजन ५०:१५; ९४:१९) यहोवाले हामीलाई परीक्षाको सामना गर्नको लागि चाहिने बुद्धि दिनुहुनेछ र आफ्ना सेवकहरू विरुद्ध आइपरेको बेमनासिब घृणाको कारण अर्थात्‌ उहाँको सार्वभौमिकताको ठूलो विवादमा ध्यान केन्द्रित गर्न मदत दिनुहुनेछ। (याकूब १:५) यहोवाले हामीलाई ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्ति’ पनि दिन सक्नुहुन्छ। (फिलिप्पी ४:६, ७) परमेश्‍वरले दिनुहुने यो शान्तिले हामीलाई कठोर दबाब आइपर्दा शङ्‌का नगरी वा डर नमानी शान्त तथा स्थिर रहन सक्षम बनाउँछ। यहोवाले हामीमाथि जेसुकै आइपर्ने अनुमति दिनुभए तापनि आफ्नो आत्माद्वारा उहाँले हामीलाई सँभाल्न सक्नुहुन्छ।—१ कोरिन्थी १०:१३.

१५. दुःखकष्ट भोग्नुपर्दा कुन कुराले हामीलाई तीतोपना महसुस गर्नदेखि जोगिन मदत गर्न सक्छ?

१५ कुनै कारणै विना हामीलाई घृणा गर्नेहरूप्रति मनमा तीतोपना नराख्न हामीलाई कुन कुराले मदत गर्न सक्छ? हाम्रा मुख्य शत्रु शैतान र प्रेतहरू हुन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (एफिसी ६:१२) केही मानिसहरूले जानाजानी हामीलाई सताउँछन्‌ भने परमेश्‍वरका जनहरूको विरोध गर्नेहरूमध्ये थुप्रैले अन्जानमा वा अरूको उक्साइमा लागेर त्यसो गर्छन्‌। (दानियल ६:४-१६; १ तिमोथी १:१२, १३) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने इच्छा यहोवा गर्नुहुन्छ। (१ तिमोथी २:४) वास्तवमा, पहिले-पहिले विरोध गर्ने केही व्यक्‍तिहरू हाम्रो निर्दोष आचरण देखेर अहिले हाम्रा मसीही भाइहरू भएका छन्‌। (१ पत्रुस २:१२) यसको साथै, याकूबको छोरा यूसुफको उदाहरणबाट पनि हामी एउटा पाठ सिक्न सक्छौं। आफ्ना सौतेनी दाजुहरूको कारण यूसुफले निकै दुःखकष्टहरू भोग्नुपरे तापनि तिनले उनीहरूप्रति ईख पालेर राखेनन्‌। किन? किनभने तिनले यसमा यहोवाको हात भएको र आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले घटनाक्रमलाई मोड्‌नुभएको कुरा बुझे। (उत्पत्ति ४५:४-८) त्यसै गरी, हामीले भोग्ने कुनै पनि बेमनासिब दुःखकष्टलाई उहाँले आफ्नो नाउँको महिमाको निम्ति चलाउन सक्नुहुन्छ।—१ पत्रुस ४:१६.

१६, १७. प्रचारकार्यमा बाधा पुऱ्‍याउन विरोधीहरूले गरेको प्रयासलाई लिएर हामी किन चिन्तित हुनु पर्दैन?

१६ सुसमाचारको प्रगतिमा बाधा पुऱ्‍याउन विरोधीहरू केही समयको लागि सफल भएजस्तो देखिएमा हामी अनावश्‍यक रूपमा चिन्तित हुनु पर्दैन। विश्‍वव्यापी तवरमा साक्षी दिएर यहोवाले अहिले राष्ट्रहरूलाई हल्लाउँदै हुनुहुन्छ र धन-सम्पत्तिहरू आउँदैछन्‌। (हाग्गै २:७) असल गोठालो, ख्रीष्ट येशूले यसो भन्‍नुभयो: “मेरा भेड़ाहरूले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछ। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, . . . औ कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।” (यूहन्‍ना १०:२७-२९, छड्‌के अक्षर हाम्रो) महान्‌ आध्यात्मिक कटनीमा पवित्र स्वर्गदूतहरूले पनि भाग लिइरहेका छन्‌। (मत्ती १३:३९, ४१; प्रकाश १४:६, ७) त्यसकारण, विरोधीहरूले भन्‍ने वा गर्ने कुनै पनि कुराले परमेश्‍वरको उद्देश्‍य विफल पार्न सक्दैन।—यशैया ५४:१७; प्रेरित ५:३८, ३९.

१७ विरोधीहरू अक्सर आफूले खनेको खाल्डोमा आफै पर्छन्‌। एउटा अफ्रिकी समाजमा यहोवाका साक्षीहरूले दियाबलको उपासना गर्छन्‌ भन्‍ने झूटलगायत तिनीहरूबारे अन्य थुप्रै नराम्रा कुराहरू फैलाइएका थिए। यसैकारण, यहोवाका साक्षीहरू आफ्नो घरमा आउँदा उनीहरू फर्केर नजाउन्जेल ग्रेस आफ्नो घरपछाडि लुक्थिन्‌। एक दिन तिनको चर्चको पास्टरले हाम्रो एउटा प्रकाशन देखाएर त्यहाँ उपस्थित सबैलाई यो प्रकाशनले तिनीहरूलाई आफ्नो विश्‍वास त्याग्न लगाउने भएकोले यो नपढ्‌नू भन्यो। यसले ग्रेसको चासो जगायो। अर्को पटक साक्षीहरू आउँदा लुक्न जानुको सट्टा तिनले उनीहरूसित कुरा गरिन्‌ र त्यस प्रकाशनको आफ्नो व्यक्‍तिगत प्रति प्राप्त गरिन्‌। बाइबल अध्ययन सुरु भयो र सन्‌ १९९६ मा तिनले बप्तिस्मा लिइन्‌। यहोवाका साक्षीहरूबारे गलत जानकारी पाएका हुन सक्ने व्यक्‍तिहरू खोज्न ग्रेस अहिले आफ्नो समय प्रयोग गर्छिन्‌।

तपाईंको विश्‍वास अहिल्यै बलियो बनाउनुहोस्‌

१८. कठोर परीक्षाहरू आउनुअघि नै किन हामीले आफ्नो विश्‍वास बलियो बनाउन आवश्‍यक छ र हामी कसरी यसो गर्न सक्छौं?

१८ शैतानले कुनै पनि समयमा हामीप्रति बेमनासिब घृणा राखेर आक्रमण गर्न सक्ने भएकोले हामीले आफ्नो विश्‍वास अहिल्यै बलियो बनाउनु अत्यावश्‍यक छ। हामी कसरी यसो गर्न सक्छौं? यहोवाका जनहरूलाई सताइएको एउटा देशबाट प्राप्त रिपोर्ट यसो भन्छ: “एउटा कुरा प्रस्ट भएको छ: असल आध्यात्मिक बानी र बाइबल सच्चाइको निम्ति गहिरो मूल्याङ्‌कन हुनेहरूलाई परीक्षा आइपर्दा दृढ रहन कुनै गाह्रो पर्दैन। तर ‘समय’ अनुकूल हुँदा समेत सभाहरू छुटाउने, क्षेत्र सेवकाईमा अनियमित हुने र ससाना कुराहरूमा सम्झौता गर्नेहरू ‘कठिन’ परीक्षामा अक्सर असफल हुन्छन्‌।” (२ तिमोथी ४:२) तपाईंले उन्‍नति गर्नुपर्ने कुनै क्षेत्रहरू देख्नुभयो भने ढिला-सुस्ती नगरीकन उन्‍नति गरिहाल्न प्रयास गर्नुहोस्‌।—भजन ११९:६०.

१९. बेमनासिब घृणासामु परमेश्‍वरका जनहरूले निष्ठा कायम गर्दा नतिजा कस्तो हुन्छ?

१९ शैतानी घृणाको क्रूरतासामु साँचो उपासकहरूको निष्ठा यहोवाको सार्वभौमिकताको वैधता, औचित्य र धार्मिकताको जीवित प्रमाण हो। तिनीहरूको विश्‍वासले परमेश्‍वरको हृदयलाई अवश्‍य आनन्दित तुल्याउँछ। मानिसहरूले तिनीहरूमाथि निन्दा थोपरे तापनि पृथ्वी र स्वर्गभन्दा उच्च प्रतिष्ठा भएको व्यक्‍ति ‘तिनीहरूकै परमेश्‍वर हुँ भन्‍नलाई तिनीहरूसँग शर्माउनुहुन्‍न।’ वास्तवमा, यस्ता सबै वफादार जनहरूबारे उचित ढङ्‌गमा यसो भन्‍न सकिन्छ: “संसार तिनीहरूका निम्ति योग्यको थिएन।”—हिब्रू ११:१६, ३८.

[फुटनोट]

a धर्मशास्त्रमा “घृणा” भन्‍ने शब्दको विभिन्‍न प्रकारको अर्थ छ। कुनै-कुनै सन्दर्भमा, यसको अर्थ अलि कम प्रेम गर्नु भन्‍ने हुन्छ। “घृणा[ले]” एकदमै मन नपर्ने भन्‍ने अर्थ पनि बुझाउन सक्छ तर त्यस वस्तुप्रति कुनै हानि गर्ने विचार हुँदैन, बरु यसलाई हेला गर्ने भएकोले यसबाट टाढै रहन खोज्नु हो। तथापि, “घृणा” भन्‍ने शब्दले कटु वैमनस्यता, अक्सर द्वेषपूर्ण भाव राखेर लामोसम्म रहिरहने वैरभावलाई पनि जनाउन सक्छ। यस लेखमा यो शब्दको यही अर्थबारे छलफल गरिएको छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• साँचो उपासकहरूतर्फ लक्षित बेमनासिब घृणाको कारण के हो?

• शैतानले कसरी निन्दालाई चलाएर अय्यूब र येशूको निष्ठा भङ्‌ग गर्ने प्रयास गऱ्‍यो?

• शैतानी घृणासामु दृढ रहन यहोवाले हामीलाई कसरी बलियो तुल्याउनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

तिनीहरूले वास्तविक विवाद बुझे

राज्य प्रचारकार्यमाथि ५० वर्षभन्दा लामो समयसम्म प्रतिबन्ध लागेको मुलुक, युक्रेनका एक जना साक्षीले यसो भने: “यहोवाका साक्षीहरूको अवस्थालाई मानिसहरूले तिनीहरूसित कस्तो व्यवहार गर्छन्‌ भन्‍ने कुराको आधारमा मात्र हेर्नु हुँदैन। . . . प्रायजसो अधिकारीहरूले नुनको सोझो मात्र गरिरहेका थिए। सरकार परिवर्तन हुँदा अधिकारीहरूको वफादारिता पनि परिवर्तन भयो तर हामी भने परिवर्तन भएनौं। हाम्रो कष्टको वास्तविक स्रोत बाइबलमा प्रकट गरिएको छ भनेर हामीले बुझ्यौं।

“हामीले आफूलाई दमनकारी व्यक्‍तिहरूको सिकार भएका निर्दोष व्यक्‍तिहरू मात्रै ठानेनौं। अदनको बगैंचामा उठाइएको विवाद अर्थात्‌ शासन गर्ने परमेश्‍वरको अधिकारसम्बन्धी विवादबारेको स्पष्ट समझले हामीलाई धीरजी भइरहन मदत गऱ्‍यो। . . . हामीले मानिसहरूको व्यक्‍तिगत चासोसित मात्र नभई ब्रह्‍माण्डका सार्वभौमको चासोसित पनि जोडिएको विवादको पक्षमा अडान लियौं। यसमा मुछिएको वास्तविक विवादबारे हामीसित अझ बढी समझ थियो। यसले हामीलाई असाध्यै कठिन परिस्थितिहरूमा समेत बलियो तुल्यायो र आफ्नो निष्ठा कायम राख्न सक्षम बनायो।”

[चित्र]

भिक्टर पोपोभिच, सन्‌ १९७० मा गिरफ्तार गरिएका

[पृष्ठ १३-मा भएको चित्र]

येशूले भोग्नुपरेको निन्दाको पछाडि कसको हात थियो?

[पृष्ठ १५-मा भएका चित्रहरू]

अय्यूब, मरियम र वर्तमान समयका परमेश्‍वरका सेवकहरू, जस्तै, स्टान्ले जोन्सले यहोवाको सार्वभौमिकतालाई उच्च पारेका छन्‌