आफ्ना छोराछोरीको लागि तपाईंले के-कति सम्पदा छोड्नुपर्छ?
आफ्ना छोराछोरीको लागि तपाईंले के-कति सम्पदा छोड्नुपर्छ?
दक्षिणी युरोपका पाभ्लोस परिवार भएका व्यक्ति हुन्। तर तिनी आफ्नी पत्नी र छोराछोरी—१३ र ११ वर्षका दुई छोरीहरू र ७ वर्षको छोरासित समय बिताउन घरमा हुँदै हुँदैनन्। पाभ्लोस आफ्नो सपना पूरा गर्ने धुनमा हप्ताको सातै दिन घण्टौं काम गर्छन्। तिनी आफ्ना दुइटी छोरीहरूको लागि एउटा-एउटा अपार्टमेन्ट किन्न चाहन्छन् भने छोराको लागि सानो व्यापार सुरु गर्न चाहन्छन्। तिनकी पत्नी सोफियाले चाहिं यी पछि किन्ने घरहरूको लागि आवश्यक टेबुलपोस, तन्ना, भान्छाका सामग्री र चाँदीका भाँडाकुँडा जम्मा गर्न मेहनत गर्छिन्। तिनीहरूले किन यत्ति धेरै मेहनत गरेको भनी प्रश्न गर्दा तिनीहरू एकै स्वरमा यस्तो जवाफ दिन्छन्, “हाम्रा छोराछोरीको लागि!”
पाभ्लोस र सोफिया जस्तै संसारभरि थुप्रै आमाबाबु आफ्ना छोराछोरीले आफ्नो जीवन सुरु गर्दा सजिलो
होस् भनेर सक्दो गर्छन्। कसै-कसैले आफ्ना छोराछोरीको भविष्यको लागि पैसा छुट्ट्याउँछन्। अरूले चाहिं आफ्ना छोराछोरीको उज्ज्वल भविष्यको लागि तिनीहरूको शिक्षा र थप सीप हासिल गर्न लगाउनको लागि विशेष ध्यान दिन्छन्। अधिकांश आमाबाबुले यस्तो सम्पदालाई प्रेमको अभिव्यक्ति ठाने तापनि आफ्ना नातेदार, साथीभाइ र आफू बस्ने समुदायले आशा गरेजस्तो प्रबन्ध गर्न उनीहरू निकै दबाब महसुस गर्छन्। त्यसकारण चिन्तित आमाबाबुले यस्तो प्रश्न गर्नु मनासिब छ, ‘हामीले आफ्ना छोराछोरीको लागि कुन हदसम्म प्रबन्ध गरिदिनुपर्छ?’भविष्यको लागि प्रबन्धहरू मिलाउने
आफ्ना छोराछोरीको लागि प्रबन्ध गर्नु स्वाभाविक मात्र नभई मसीही आमाबाबुको लागि धर्मशास्त्रीय जिम्मेवारी पनि हो। प्रेरित पावलले आफ्ना समयका मसीहीहरूलाई यस्तो भने: “आमा-बाबुको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीको निम्ति आमा-बाबुले धन साँच्नु पर्दछ।” (२ कोरिन्थी १२:१४) आमाबाबुले छोराछोरीको हेरचाह गर्नु एउटा गम्भीर दायित्व हो भनी पावलले थपे। तिनले यस्तो लेखे: “तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) बाइबल समयका परमेश्वरका सेवकहरूमाझ पनि सम्पदाको कुरा महत्त्वपूर्ण थियो भनी बाइबलका थुप्रै विवरणहरूले प्रकाश पार्छ।—रूथ २:१९, २०; ३:९-१३; ४:१-२२; अय्यूब ४२:१५.
तथापि, कहिलेकाहीं आमाबाबु आफ्ना छोराछोरीको नाउँमा धेरै पैतृक-सम्पत्ति जम्मा गर्ने काममा पूर्णतया ध्यानमग्न हुन सक्छन्। किन? दक्षिणी युरोपबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका एक जना बुबा मानोलिस एउटा कारण यसरी बताउँछन्: “दोस्रो विश्वयुद्ध, अनिकाल र गरिबीको चपेटा भोगिसकेका आमाबाबु आफ्ना छोराछोरीलाई
त्यस्तो अवस्था भोग्न नदिन कटिबद्ध हुन्छन्।” तिनी अझै भन्छन्: “तिनीहरूले आफ्नो कर्तव्य हो भन्ने बढ्तै महसुस गर्ने र बच्चाहरूलाई आफ्नो जीवन सुरु गर्दा सजिलो होस् भन्ने इच्छाले कहिलेकाहीं आमाबाबुले आफूलाई थुप्रै कुराहरूबाट वञ्चित गर्छन्।” साँच्चै, कोही-कोही आमाबाबुले आफ्ना सन्तानका लागि भौतिक सरसम्पत्ति जम्मा गर्ने धुनमा आफूलाई जीवनका आधारभूत कुराहरूदेखि नै वञ्चित गर्छन् वा अत्यन्तै दरिद्र जीवन बिताउँछन्। तर के आमाबाबुले त्यस्तो मार्ग पछ्याउनु बुद्धिमानी हो?“व्यर्थ र एकदमै भूल”
सम्पदाको सन्दर्भमा पुरातन इस्राएलका राजा सुलेमानले एउटा चेतावनी दिए। तिनले यस्तो लेखे: “यसैले संसारमा मैले गरेका मेरो सबै परिश्रम र मेहनतलाई मैले घृणा गर्नलागें, किनभने मैले त्यसको फल मेरो उत्तराधिकारीको निम्ति छोड़िराख्नुपर्छ। त्यो बुद्धिमान हुने हो कि मूर्ख हुने हो कसलाई थाह छ र? तापनि संसारमा मेरा सबै परिश्रम र निपुणताको फल त्यसैले पाउनेछ। यो पनि व्यर्थ हो। . . . किनभने बुद्धि, ज्ञान र निपुणतासँग मेहनत गर्नेले ती सबै कुनै परिश्रमनै नगर्ने मानिसको निम्ति छोड़िदिनुपर्छ। यो पनि व्यर्थ र एकदमै भूल हो।”—उपदेशक २:१८-२२.
सुलेमानले बताएझैं सम्पत्ति पाउने व्यक्तिले यसको पूर्णतया मूल्याङ्कन नगर्न सक्छ किनभने ऊ आफैले यसको लागि मेहनत गरेको थिएन। फलस्वरूप, आमाबाबुले जम्मा गरेको धनसम्पत्ति सन्तानहरूले जथाभावी चलाउन सक्छन्। त्यस्तो मेहनत गरेर बटुलेको धन तिनीहरूले बेफ्वाँकमा उडाउन समेत सक्छन्। (लूका १५:११-१६) त्यो कस्तो “व्यर्थ र एकदमै भूल” हुनेछ!
सम्पत्ति र लोभ
आमाबाबुले विचार गर्नुपर्ने अर्को कुरा पनि छ। पुर्ख्यौली सम्पत्ति र विवाहमा पाउने उपहारलाई बढ्तै महत्त्व दिने संस्कृतिमा बच्चाहरू लोभी भएर आमाबाबुको औकात बाहिरको घरजग्गा वा दाइजो माग्न सक्छन्। ग्रीसका एक जना पिता लुकास ठट्टा गर्दै भन्छन्, “दुई वा तीन जना छोरी हुने बुबाहरूलाई धिक्कार छ।” तिनी अझ भन्छन्: “अरू आमाबाबुले आफ्ना छोराछोरीका लागि ‘उदारतासाथ’ जम्मा गरेको सम्पत्ति छोरीहरूले आफ्ना बुबाले दिन सक्ने सम्पत्तिसित तुलना गर्न सक्छन्। आफूले प्रशस्त दाइजो ल्याउन सकेन भने आफ्नो विवाह गर्ने सम्भावना नै कम हुनेछ भनेर तिनीहरू भन्न सक्छन्।”
सुरुमा पनि उल्लेख गरेको मानोलिस यसो भन्छन्: “जवान मानिसले आफ्नो सम्भावित दुलहीको पिताले आफ्नी छोरीको लागि साधारणतया घडेरी वा ठूलो धनराशि दिने वाचा नगरेसम्म तिनले विवाहपूर्वको भेटघाटलाई लम्ब्याइरहन सक्छन्। यो डरधम्की देखाएर पैसा धुत्ने चाला हो।”
हितोपदेश २०:२१) प्रेरित पावलले यसरी जोड दिए: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।”—१ तिमोथी ६:१०; एफिसी ५:५.
बाइबलले सबै प्रकारको लोभबाट अलग रहन चेतावनी दिन्छ। सुलेमानले यस्तो लेखे: “यदि तैंले हतार गरी धन जम्मा गरिस् भने अन्तमा त्यसले तँलाई चैन दिनेछैन।” (“बुद्धि पैतृक-धनझैं असल कुरो हो”
हो, पैतृक सम्पत्तिको मोल छ तर भौतिक धनसम्पत्तिभन्दा बुद्धिको धेरै मोल छ। राजा सुलेमानले यस्तो लेखे: “बुद्धि पैतृक-धनझैं असल कुरो हो . . . जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान् मानिसको प्राण जोगाइराख्छ।” (उपदेशक ७:११, १२, नयाँ संशोधित संस्करण; हितोपदेश २:७; ३:२१) पैसाले केही हदसम्म सुरक्षा प्रदान गर्छ र यसको मालिकले आफूले चाहेको कुरा प्राप्त गर्न सक्छ तर यो गुम्न पनि सक्छ। अर्कोतर्फ, समस्या समाधानको लागि ज्ञान चलाउन सक्ने क्षमता वा केही लक्ष्य हासिल गर्न सक्ने बुद्धिले मानिसलाई मूर्ख कदमहरू चाल्नदेखि जोगाउनेछ। उचित ईश्वरीय भयमा आधारित हुँदा यसले चाँडै आउने परमेश्वरको नयाँ संसारमा अनन्त जीवन प्राप्त गर्न मदत गर्नेछ—साँच्चै कस्तो अनमोल सम्पदा!—२ पत्रुस ३:१३.
आफू र आफ्ना छोराछोरीका लागि उचित प्राथमिकताहरू तय गरेर मसीही आमाबाबुले त्यस्तो बुद्धि प्रयोग गर्छन्। (फिलिप्पी १:१०) छोराछोरीको लागि जम्मा गरेको भौतिक धनसम्पत्तिले आध्यात्मिक कामकुराले भन्दा बढी प्राथमिकता पाउनु हुँदैन। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो प्रोत्साहन दिनुभयो: “पहिले उहाँको [परमेश्वरको] राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) आफ्नो मसीही परिवारको लागि आध्यात्मिक लक्ष्य तय गर्ने आमाबाबुले प्रचुर मात्रामा आशिष् पाउने आशा गर्न सक्छन्। बुद्धिमान् राजा सुलेमानले यस्तो लेखे: “असल मानिसको बाबु रमाउनेछन्, बुद्धिमानी छोरादेखि बाबु खुशी हुनेछ। तेरा आमा-बाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरेस्।”—हितोपदेश २३:२४, २५.
सदा रहिरहने सम्पदा
पुरातन समयका इस्राएलीहरूलाई पुर्ख्यौली सम्पत्तिको कुरा धेरै महत्त्वपूर्ण थियो। (१ राजा २१:२-६) तथापि, यहोवाले तिनीहरूलाई यस्तो सुझाव दिनुभयो: “मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) त्यस्तै गरी मसीही आमाबाबुलाई यसो भनिएको छ: “तिनीहरूलाई [आफ्ना छोराछोरीलाई] प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.
आध्यात्मिक सोचाइ भएका आमाबाबुले आफ्नो परिवारको पालनपोषण गर्नुमा बाइबलका कुराहरू सिकाउनु पनि समावेश छ भनी बुझेका हुन्छन्। तीन छोराछोरीका पिता आन्ड्रियास यस्तो टिप्पणी गर्छन्: “बच्चाहरूले आफ्नो जीवनमा ईश्वरीय सिद्धान्तहरू लागू गर्न सिकेका छन् भने तिनीहरू भविष्यको लागि सुसज्जित हुनेछन्।” त्यस्तो सम्पदाले तिनीहरूलाई सृष्टिकर्तासित व्यक्तिगत सम्बन्ध स्थापना गर्न र कायम राख्न पनि मदत गर्नेछ।—१ तिमोथी ६:१९.
आफ्नो छोराछोरीको आध्यात्मिक भविष्यको लागि प्रबन्ध गर्नेबारे के तपाईंले सोच्नुभएको छ? उदाहरणका लागि, छोराछोरी पूर्ण-समय सेवामा छन् भने आमाबाबुले के गर्न सक्छन्? पूर्ण-समय सेवकले आर्थिक सहयोगको लागि नता माग गर्नु हुन्छ न आशा नै गर्नु हुन्छ तर मायालु आमाबाबुले तिनलाई पूर्ण-समय सेवामै लागिरहनको लागि “अभावहरूमा सहायता” दिने निर्णय गर्न सक्छन्। (रोमी १२:१३; १ शमूएल २:१८, १९; फिलिप्पी ४:१४-१८) त्यस्तो मदतकारी मनोवृत्तिले पक्कै यहोवालाई प्रसन्न तुल्याउनेछ।
त्यसोभए आमाबाबुले छोराछोरीको लागि के-कस्तो प्रबन्ध गर्नुपर्छ? मसीही आमाबाबुले छोराछोरीको भौतिक आवश्यकता पूरा गर्नुको अलावा सदाको लागि फाइदा उठाउने प्रचुर आध्यात्मिक सम्पदाबाट पनि फाइदा उठाउन् भनेर यथाशक्य गर्नेछन्। यसो गर्दा भजन ३७:१८ मा पाइने शब्दहरू साँचो साबित हुनेछ: “परमप्रभुले सीधा मानिसहरूका दिनको याद गर्नुहुन्छ। र तिनीहरूको अधिकार सधैंभरिको निम्ति हुनेछ।”
[पृष्ठ २६, २७-मा भएका चित्रहरू]
तपाईं आफ्ना छोराछोरीको लागि कस्तो भविष्य चाहनुहुन्छ?