सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?

के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?

के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?

यहोवा “आनन्दित परमेश्‍वर” अनि येशू ख्रीष्ट “परमधन्य [आनन्दित, NW] अद्वितीय अधिराज” हुनुभएकोले, के गर्दा आनन्दित हुन सकिन्छ भनेर सबैभन्दा राम्ररी उहाँहरूलाई मात्र थाह छ। (१ तिमोथी १:११; ६:१५) त्यसैले, आनन्दको कुञ्जी परमेश्‍वरको वचन, बाइबलमा पाइनु कुनै अचम्मलाग्दो कुरा होइन।—प्रकाश १:३; २२:७.

डाँडाको प्रसिद्ध उपदेशमा येशूले के गर्दा आनन्दित हुन सकिन्छ भनी बताउनुभयो। उहाँ यसो भन्‍नुहुन्छ: “धन्य” अर्थात्‌ तिनीहरू आनन्दित हुन्‌ जो (१) आत्मामा दरिद्र छन्‌ अर्थात्‌ आफ्ना आध्यात्मिक आवश्‍यकताहरूप्रति सजग छन्‌, (२) शोक गर्छन्‌, (३) नम्र छन्‌, (४) धार्मिकताको निम्ति भोकाउँछन्‌ र तिर्खाउँछन्‌, (५) दयावन्त छन्‌, (६) हृदयमा शुद्ध छन्‌, (७) मेल-मिलापमा रहन्छन्‌ (८) धार्मिकताको निम्ति सताइन्छन्‌ र (९) उहाँको नाउँको खातिर निन्दा र खेदोमा पर्छन्‌।—मत्ती ५:३-११. a

के येशूका भनाइहरू सही छन्‌?

येशूका केही भनाइहरूको सत्यतालाई बुझ्न धेरै व्याख्या चाहिंदैन। रिसाहा, झगडालु, निर्दयी व्यक्‍तिभन्दा निष्कपट हृदयबाट उत्प्रेरित भएर नम्रता, दयाशान्ति जस्ता गुण देखाउने व्यक्‍ति आनन्दित हुनेछन्‌ भन्‍ने कुरालाई कसले पो नकार्न सक्छ र?

यद्यपि, धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने व्यक्‍तिहरू अथवा शोक गर्नेहरू कसरी आनन्दित कहलाइन सक्छन्‌ जस्तो हामीलाई लाग्न सक्छ। यस्ता व्यक्‍तिहरूले संसारप्रति व्यावहारिक दृष्टिकोण राखेका हुन्छन्‌। तिनीहरू आज भइरहेको ‘घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्छन्‌।’ (इजकिएल ९:४) यति गर्दैमा तिनीहरू आनन्दित हुँदैनन्‌। तर पृथ्वीमा धार्मिक अवस्था ल्याउने तथा थिचोमिचोमा परेकाहरूलाई न्याय दिलाउने परमेश्‍वरको उद्देश्‍यबारे जब तिनीहरूले थाह पाउँछन्‌, तिनीहरूको खुसीको सीमा रहँदैन।—यशैया ११:४.

धार्मिकताप्रतिको प्रेमले गर्दा जे ठीक छ त्यो गर्न बारम्बार चुक्दा तिनीहरू शोक गर्न पुग्छन्‌। त्यसैकारण तिनीहरू आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग छन्‌। यस्ता मानिसहरू डोऱ्‍याइको लागि परमेश्‍वरको मुख ताक्न इच्छुक छन्‌ किनकि उहाँले मात्र मानिसहरूका कमी-कमजोरीहरूलाई जित्न मदत गर्न सक्नुहुन्छ भनेर तिनीहरूले बुझेका छन्‌।—हितोपदेश १६:३, ९; २०:२४.

शोक गर्ने, धार्मिकताका निम्ति भोकाउनेहरू र आफ्ना आध्यात्मिक आवश्‍यकताप्रति सजग व्यक्‍तिहरू सृष्टिकर्तासित असल सम्बन्ध राख्नुपर्ने महत्त्वप्रति सचेत हुन्छन्‌। मानिसहरूसितको असल सम्बन्धले आनन्दित हुन मदत त गर्छ तर परमेश्‍वरसितको असल सम्बन्धले त्योभन्दा अझै बढी गर्छ। हो, जे ठीक छ, त्यो गर्न मरिमेट्‌ने अनि ईश्‍वरीय डोऱ्‍याइ स्वीकार्न इच्छुक व्यक्‍तिलाई साँचो अर्थमा आनन्दित भन्‍न सकिन्छ।

तर सतावट भोग्नुपरेको अनि निन्दित हुनुपरेको कुनै व्यक्‍ति आनन्दित हुन सक्छ भन्‍ने कुरामा विश्‍वास गर्न तपाईंलाई गाह्रो लाग्न सक्छ। तर यो सब येशू स्वयम्‌ले भन्‍नुभएकोले सही हुनै पर्छ। त्यसोभए, हामीले उहाँका शब्दहरूलाई कसरी बुझ्नुपर्छ त?

सताइएका तरैपनि आनन्दित —कसरी सम्भव होला?

याद गर्नुहोस्‌, निन्दा र सतावटले नै आनन्द दिन्छ भनेर येशूले भन्‍नुभएन। उहाँले एउटा सर्तमा यसो भन्‍नुभयो: “धार्मिकताका निम्ति सताइनेहरू आनन्दित हुन्‌। किनभने स्वर्गको राज्य तिनीहरूकै हो। . . . जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌।” (मत्ती ५:१०, ११, NW) ख्रीष्टका अनुयायीहरू भएकोले र येशूले सिकाउनुभएको धार्मिक सिद्धान्तअनुसार आफ्नो जीवन बिताएकोले निन्दा भोगेको हो भने मात्र आनन्द महसुस गर्न सकिन्छ।

प्रारम्भिक मसीहीहरूको जीवनमा घटेको घटनाले यो कुराको पुष्टि गर्छ। यहूदी उच्च अदालत, महासभाका सदस्यहरूले “प्रेरितहरूलाई डाकेर तिनीहरूलाई पिटेर यसो भन्‍ने आदेश गरेर छोडिदिए, ‘अबदेखि येशूको नाउँमा नबोल्नू।’ ” प्रेरितहरूले कस्तो प्रतिक्रिया देखाए? “तब ‘उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो’ भनी सम्झी तिनीहरू रमाउँदै महासभाबाट गए। औ दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।”—छड्‌के अक्षर हाम्रो; प्रेरित ५:४०-४२; प्रेरित १३:५०-५२.

प्रेरित पत्रुसले निन्दा र आनन्दबीचको सम्बन्धबारे थप कुरा बताए। तिनले यस्तो लेखे: “यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित हुन्छौ भनेता तिमीहरू धन्यका [“आनन्दित,” NW] हौ। किनभने महिमाको आत्मा र परमेश्‍वरको आत्मा तिमीहरूमाथि ठहर्छ।” (१ पत्रुस ४:१४) हो, मसीहीको हैसियतमा जे ठीक छ, त्यो गरेर दुःख भोग्नुपर्दा सुखद नहुने भए तापनि परमेश्‍वरको पवित्र आत्मा पाइन्छ भनेर बुझेको हुनाले त्यसले आनन्द दिन्छ। परमेश्‍वरको आत्मा र आनन्दबीच कस्तो सम्बन्ध छ?

शरीरका कामहरू अथवा आत्माको फल

परमेश्‍वरलाई शासक मानेर उहाँको आज्ञा पालन गर्नेहरूमा मात्र परमेश्‍वरको पवित्र आत्मा रहन्छ। (प्रेरित ५:३२) “शरीरका कामहरू[लाई]” बानी बनाएर त्यसैमा लागिरहने व्यक्‍तिहरूलाई यहोवाले पवित्र आत्मा दिनुहुन्‍न। ती कामहरू “व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैंझगड़ा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मत्वालीपन, भोजको मोज-मजा र यस्तै अरू” हुन्‌। (गलाती ५:१९-२१) हो, आजको संसारमा “शरीरका कामहरू” एकदमै सामान्य भइसकेका छन्‌। यद्यपि, त्यस्ता कुराहरूको बानी बसाली त्यसैमा लागिरहनेहरूले वास्तविक र स्थायी आनन्द पाउँदैनन्‌। बरु, त्यस्ता कामहरूले नातेदार, साथी र चिनेजानेका मानिसहरूसितको आफ्नो असल सम्बन्धलाई बिगार्छ। त्यसको अतिरिक्‍त, परमेश्‍वरको वचनले ‘त्यस्ता काम गर्नेहरू परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्‌’ भनेर पनि बताउँछ।

त्यसको विपरित, “आत्माको फल” खेती गर्नेहरूलाई परमेश्‍वरले आफ्नो आत्मा दिनुहुन्छ। यो फलमा समावेश गुणहरू “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” हुन्‌। (गलाती ५:२२, २३) जब हामी यी गुणहरू देखाउँछौं हामी अरू व्यक्‍तिहरू लगायत परमेश्‍वरसित शान्तिपूर्ण सम्बन्धको अवस्था सृजना गर्छौं जसले साँचो आनन्द दिन्छ। (पेटी हेर्नुहोस्‌।) त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, प्रेम, दया, भलाइ र अन्य ईश्‍वरीय गुणहरू देखाएर हामी यहोवालाई प्रसन्‍न तुल्याउँछौं र परमेश्‍वरको नयाँ धार्मिक संसारमा अनन्त जीवनको आनन्दित आशा प्राप्त गर्छौं।

आनन्द एउटा छनौट हो

जर्मनीमा बस्ने एक दम्पती भोल्फग्याङ्‌ग र ब्रिजिट्‌ले गम्भीरतासाथ बाइबल अध्ययन गर्न थाल्दा मानिसहरूले आनन्दित हुनको लागि चाहिन्छ भन्ठानेका धेरै भौतिक वस्तुहरू तिनीहरूसित थिए। तिनीहरू जवान र निरोगी थिए। तिनीहरू महँगा लुगाहरू लगाउँथे, आकर्षक ढङ्‌गले सजिएको घरमा बस्थे अनि तिनीहरूको सफल व्यापार थियो। अझ धेरै भौतिक कुराहरू हासिल गर्ने दौडधूपमै तिनीहरूको अधिकांश समय बित्थ्यो तर त्यसले तिनीहरूलाई वास्तविक आनन्द दिएन। यद्यपि, केही समयपछि भोल्फग्याङ्‌ग र ब्रिजिट्‌ले एउटा निर्णायक छनौट गरे। तिनीहरूले आध्यात्मिक मूल्यमान्यताहरूको पछि लाग्न धेरै समय बिताउन र प्रयास गर्न थाले अनि यहोवासित नजिक हुने तरिकाहरू खोजे। आफ्नो छनौटले गर्दा तिनीहरूले चाँडै आफ्नो मनोवृत्तिमा परिवर्तन गर्न थाले, जसले अन्ततः आफ्नो जीवन सरल बनाउन र पूर्णसमय राज्य प्रचारकको हैसियतमा अग्रगामी भएर सेवा गर्न तिनीहरूलाई उत्प्रेरित गऱ्‍यो। आज तिनीहरू जर्मनीस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा स्वयंसेवकहरूको हैसियतमा सेवा गर्छन्‌। यसको अतिरिक्‍त, परमेश्‍वरको वचन बाइबलमा पाइने सत्यबारे सिक्न विदेशीहरूलाई मदत गर्न तिनीहरू एउटा एसियाली भाषासमेत सिक्दैछन्‌।

के यी दम्पतीले साँचो आनन्द पाए त? भुल्फग्याङ्‌ग यसो भन्छन्‌, “जहिले देखि हामीले आध्यात्मिक कुराहरूलाई बढी समय दियौं, हामी झनै आनन्दित भयौं र हामीले झनै बढी सन्तुष्टि पायौं। पूरा मनतनले यहोवाको सेवा गर्दा हाम्रो विवाह अझ बलियो भएको छ। हुन त पहिले पनि हाम्रो वैवाहिक जीवन सुखी नै थियो तर हाम्रा जिम्मेवारीहरू र रुचिहरूले गर्दा हामी फरक-फरक लक्ष्य राख्न बाध्य थियौं। अहिले हामी एकताबद्ध भई एउटै लक्ष्य पछ्याइरहेका छौं।”

के गरेदेखि आनन्दित भइन्छ?

निचोडमा भन्‍नुपर्दा: “शरीरका कामहरू” त्याग्नुहोस्‌ र “[परमेश्‍वरको] आत्माको फल” खेती गर्नुहोस्‌। आनन्दित हुन कुनै पनि व्यक्‍तिले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध राख्ने उत्कट चाहना गर्नुपर्छ। यसो गर्न प्रयत्न गर्नेहरू आनन्दित व्यक्‍तिको सम्बन्धमा येशूले दिनुभएको परिभाषाअनुसारको व्यक्‍ति बन्‍नेछन्‌।

त्यसैले, झुक्किएर पनि आनन्द भन्‍ने कुरा हाम्रो पहुँचबाहिरको कुरा हो भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। हुन त, अहिले तपाईंको स्वास्थ्य राम्रो नहुन सक्छ अथवा तपाईंको विवाहमा समेत समस्याहरू होलान्‌। सायद आमाबाबु हुने इनाम तपाईंको लागि अब सम्भव नहोला अथवा तपाईं कुनै सफल पेसाको लागि सङ्‌घर्ष गर्दै हुनुहुन्छ होला। सायद तपाईंको खल्ती पहिले जत्तिको भरिभराउ नहोला। तैपनि, साहसी हुनुहोस्‌, हरेस खानुपर्ने कुनै कारण छैन! परमेश्‍वरको राज्यले यो लगायत अन्य सयौं समस्याहरूको समाधान गर्नेछ। वास्तवमा, अब छिट्टै यहोवा परमेश्‍वरले भजन रचयिताद्वारा व्यक्‍त गरिएका आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ: “तपाईंको राज्य अमर छ। . . . तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१३, १६) यस आश्‍वासनदायी प्रतिज्ञालाई बिर्सेनौं भने त्यसले आज तपाईंलाई आनन्दित हुन मदत दिनेछ भन्‍ने कुरालाई संसारभरि रहेका लाखौं यहोवाका सेवकहरूले पुष्टि गर्न सक्छन्‌।—प्रकाश २१:३.

[फुटनोट]

a येशूले डाँडाको उपदेशमा बताउनुभएको यी प्रत्येक वाक्यांशको सुरुवात युनानी शब्द म-काʹरि-आइ-बाट हुन्छ। यस शब्दलाई “धन्य” भनेर अनुवाद गर्नुको सट्टा न्यु वर्ल्ड ट्रान्सलेसन लगायत द जेरुशलेम बाइबलटुडेज इङ्‌लिस भर्सन जस्ता केही अन्य अनुवादहरूले अझै सही शब्द “आनन्दित” प्रयोग गरेका छन्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]

आनन्दित हुन मदत गर्ने केही तत्त्वहरू

प्रेम गर्नुभयो भने बदलामा अरू पनि तपाईंलाई प्रेम गर्न उत्प्रेरित हुनेछन्‌।

शान्तिले तपाईंका सम्बन्धहरू तनावमुक्‍त बनाउन मदत गर्नेछ।

धीरजले परीक्षाको सामना गर्नुपर्दा समेत आनन्द नगुमाउन सक्षम बनाउँछ।

दया देखाउँदा अरूहरू तपाईंप्रति आकर्षित हुनेछन्‌।

भलाइ गर्दा तपाईंलाई मदत चाहिएको बखत अरूले मदत गर्नेछन्‌

विश्‍वस्तता अथवा विश्‍वास-ले परमेश्‍वरको मायालु निर्देशन पाउने कुरामा तपाईंलाई ढुक्क बनाउँछ।

नम्रताले तपाईंको मन, मस्तिष्क र शरीर शान्त राख्नेछ।

संयम देखाउँदा तपाईंले थोरै गल्ती गर्नुहुनेछ।

[पृष्ठ ७-मा भएका चित्रहरू]

आनन्दित हुनको लागि तपाईंले आफ्नो आध्यात्मिक आवश्‍यकताहरू पुरा गर्नुपर्छ