सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

प्रकाशको पुस्तकमा उल्लिखित १,४४,००० संख्यालाई यहोवाका साक्षीहरू किन लाक्षणिक अर्थमा नभई शाब्दिक अर्थमा लिन्छन्‌?

प्रेरित यूहन्‍नाले यस्तो लेखे: “छाप लागेकाहरूको संख्या इस्राएलीहरूको हरेक कुलबाट गरी एक लाख चवालीस हजारलाई छाप लाएको मैले सुनें।” (प्रकाश ७:४) बाइबलमा, “छाप लागेकाहरू” भन्‍ने वाक्यांशले व्यक्‍तिविशेषहरूको समूहलाई बुझाउँछ, जो आउँदै गरेको पार्थिव प्रमोदवनमाथि ख्रीष्टसँग स्वर्गमा शासन गर्न मानिसहरूमध्येबाट छानिएकाहरू हुन्‌। (२ कोरिन्थी १:२१, २२; प्रकाश ५:९, १०; २०:६) तिनीहरूको संख्या, १,४४,००० लाई थुप्रै कारणहरूले गर्दा शाब्दिक अर्थमा बुझ्ने गरिन्छ। एउटा कारण प्रकाश ७:४ लगत्तै पछिको प्रसङ्‌गमा पाउन सकिन्छ।

दर्शनमा प्रेरित यूहन्‍नालाई १,४४,००० व्यक्‍तिविशेषको यस समूहबारे बताइसकेपछि तिनले अर्को समूह देखे। यूहन्‍ना यो दोस्रो समूहलाई “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” भनेर वर्णन गर्छन्‌। यस ठूलो भीडले वर्तमान दुष्ट संसारलाई सर्वनाश गर्न आउँदै गरेको “महा सङ्‌कष्ट[बाट]” बच्ने व्यक्‍तिहरूलाई सङ्‌केत गर्छ।—प्रकाश ७:९, १४.

तथापि, प्रकाश अध्याय ७ को पद ४ र ९ बीच यूहन्‍नाले गरेको तुलनालाई याद गर्नुहोस्‌। पहिलो समूह अर्थात्‌ “छाप लागेकाहरू[को]” निश्‍चित संख्या छ भनी तिनी बताउँछन्‌। तथापि, दोस्रो समूह अर्थात्‌ “ठूलो भीड़[को]” निश्‍चित संख्या छैन। त्यस कुरालाई ध्यानमा राख्ने हो भने, १,४४,००० संख्यालाई शाब्दिक रूपमा लिनु मनासिब छ। यदि १,४४,००० संख्या लाक्षणिक भएको भए र यसले अनिश्‍चित संख्यालाई सङ्‌केत गरेको भए ती दुई पदलाई तुलना गर्नुको केही महत्त्व नै हुने थिएन। त्यसकारण, १,४४,००० लाई शाब्दिक रूपमै लिनुपर्छ भनेर प्रसङ्‌गले जोडदार ढङ्‌गमा सङ्‌केत गर्छ।

विगत अनि वर्तमान समयका विभिन्‍न बाइबलविद्‌हरू पनि त्यो संख्या शाब्दिक नै हो भन्‍ने एउटै निष्कर्षमा पुगेका छन्‌। उदाहरणका लागि, प्रकाश ७:४, ९ बारे टिप्पणी गर्दै बेलाइती कोशकार डा. इथबर्ल्ड डब्ल्यु. बुलिङ्‌गरले करिब १०० वर्षअघि यस्तो लेखेका थिए: “एउटा सरल तथ्य के हो भने, यस अध्यायमा एकातिर निश्‍चित संख्या छ भने अर्कोतिर अनिश्‍चित संख्या छ।” (दी एपोक्यालिप्स अर “द डे अफ द लर्ड” पृष्ठ २८२) हालै मात्र संयुक्‍त राज्य अमेरिकाको मास्टर्स्‌ सेमिनरीमा नयाँ नियमका प्राध्यापक रोबर्ट एल. थोमस, जुनियरले यस्तो लेखे: “१,४४,००० लाई लाक्षणिक अर्थमा लिने कुराको कुनै ठोस आधार छैन।” तिनले अझै यसो भने: “[७:४ मा] एकातिर निश्‍चित संख्या छ भने अर्कोतिर [७:९ मा] अनिश्‍चित संख्या छ।” यस संख्यालाई लाक्षणिक अर्थमा लिने हो भने त प्रकाशको पुस्तकका कुनै पनि संख्यालाई शाब्दिक रूपमा लिनु मिल्दैन।”—रेभलेसन: एन एक्सेजेटिकल कमेन्टरी, खण्ड १, पृष्ठ ४७४.

प्रकाशको पुस्तकमा एकदमै लाक्षणिक भाषा प्रयोग भएका हुनाले १,४४,००० संख्यालगायत यस पुस्तकमा पाइने सबै संख्या लाक्षणिक हुनुपर्छ भनेर कोही-कोही तर्क गर्ने गर्छन्‌। (प्रकाश १:१, ४; २:१०) यद्यपि, त्यस्तो निष्कर्ष सरासर गलत हो। हो, प्रकाशकको पुस्तमा थुप्रै लाक्षणिक संख्याहरू छन्‌ तर यसमा शाब्दिक संख्याहरू पनि छन्‌। उदाहरणका लागि, यूहन्‍ना “थुमाका बाह्र प्रेरितहरूका बाह्रै नाउँ[बारे]” बताउँछन्‌। (प्रकाश २१:१४) स्पष्टतया, यस पदमा उल्लिखित संख्या १२ शाब्दिक हो, लाक्षणिक होइन। यसबाहेक, प्रेरित यूहन्‍ना ख्रीष्टको शासनको “एक हजार वर्ष[बारे]” लेख्छन्‌। बाइबललाई होसियारसाथ जाँच गर्दा यो पनि शाब्दिक संख्या नै हो भनेर थाह हुन्छ। a (प्रकाश २०:३, ५-७) तसर्थ, प्रकाशको पुस्तकमा बताइएको संख्यालाई शाब्दिक वा लाक्षणिक रूपमा लिने नलिने कुरा यसको पृष्ठभूमि अनि प्रसङ्‌गमा भर पर्छ।

एक लाख चवालीस हजार संख्या शाब्दिक हो र यसले व्यक्‍तिविशेषहरूको सीमित संख्या र “ठूलो भीड़[को]” तुलनामा सानो समूहलाई बुझाउँछ भन्‍ने निष्कर्ष बाइबलका अन्य पदहरूसित पनि मेल खान्छ। उदाहरणका लागि, प्रेरित यूहन्‍नाले देखेको पछिल्लो दर्शनमा १,४४,००० लाई “पहिला फलहरू हुनालाई मानिसहरूमध्येबाट किनिएका थिए” भनी वर्णन गरिएको छ। (प्रकाश १४:१, ४) “पहिला फलहरू” भन्‍ने अभिव्यक्‍तिले छानिएका थोरै प्रतिनिधिहरूलाई बुझाउँछ। साथै, येशू पृथ्वीमा हुनुहुँदा उहाँले स्वर्गीय राज्यमा आफूसँगै शासन गर्ने व्यक्‍तिहरूबारे पनि बताउनुभयो र उनीहरूलाई “सानो बगाल” भन्‍नुभयो। (लूका १२:३२; २२:२९) साँच्चै, मानिसहरूमध्येबाट किनिएका स्वर्गमा शासन गर्ने व्यक्‍तिहरू आउँदै गरेको पार्थिव प्रमोदवनमा बसोबास गर्ने मानिसहरूको तुलनामा थोरै छन्‌।

तसर्थ, प्रकाश ७:४ को प्रसङ्‌ग अनि बाइबलका अन्य पदहरूमा पाइने सम्बन्धित विवरणहरूले १,४४,००० संख्यालाई शाब्दिक रूपमै लिनुपर्छ भन्‍ने कुरा पुष्टि गर्छ। यसले पार्थिव प्रमोदवनमाथि ख्रीष्टसँग स्वर्गमा शासन गर्ने व्यक्‍तिहरूलाई बुझाउँछ र पार्थिव प्रमोदवनचाहिं यहोवा परमेश्‍वरको उपासना गर्ने सुखी मानिसहरूको ठूलो र अनिश्‍चित संख्याले भरिभराउ हुनेछ।—भजन ३७:२९.

[फुटनोट]

a ख्रीष्टको हजार वर्षीय शासनबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चर्मोत्कर्ष निकट! पृष्ठ २८९-९० हेर्नुहोस्‌।

[पृष्ठ ३१-मा भएको ठूलो अक्षरको क्याप्सन]

स्वर्गीय उत्तराधिकारीहरूको संख्या १,४४,००० मा सीमित छ

[पृष्ठ ३१-मा भएको चित्र]

“ठूलो भीड़” अनगन्ती छ

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Stars: Courtesy of Anglo-Australian Observatory, photograph by David Malin