सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘बिरानो सोरदेखि’ सजग रहनुहोस्‌

‘बिरानो सोरदेखि’ सजग रहनुहोस्‌

‘बिरानो सोरदेखि’ सजग रहनुहोस्‌

“तर बिरानालाई ता पछ्याउनेछैन, तर त्यसदेखि भागिजानेछ, किनभने बिरानाको सोर तिनीहरूले चिन्दैन।”—यूहन्‍ना १०:५.

१, २. (क) येशूले मरियमलाई नाउँ काढेर बोलाउँदा तिनी कस्तो प्रतिक्रिया देखाउँछिन्‌ र यस घटनाले येशूले पहिल्यै बताउनुभएको कुन भनाइलाई प्रस्ट पार्छ? (ख) कुन कुराले हामीलाई येशूको नजिक रहन मदत गर्छ?

 पुनरुत्थान हुनुभएको येशूले उहाँको रित्तो चिहान नजिकै उभिरहेकी स्त्रीलाई देख्नुहुन्छ। उहाँले तिनलाई राम्ररी चिन्‍नुभएको छ। तिनी मरियम मग्दलिनी हुन्‌। लगभग दुई वर्षअघि उहाँले तिनलाई भूतहरूबाट छुटकारा दिनुभएको थियो। त्यस समयदेखि यता येशू र उहाँका चेलाहरूको पछि लागेर तिनी उहाँहरूको दैनिक आवश्‍यकताहरूको हेरचाह गर्दैछिन्‌। (लूका ८:१-३) यद्यपि, शोकको कारण आज मरियम रोइरहेकी छिन्‌ किनभने येशूको मृत्यु भएको तिनले आफ्नै आँखाले देखिन्‌ र अहिले त येशूको लाससमेत गायब भएको छ! त्यसैले येशू तिनलाई यसरी सोध्नुहुन्छ: “ए नारि, तिमी किन रुँदैछौ? कसलाई खोज्छौ?” उहाँलाई माली भन्ठानेर तिनी यस्तो जवाफ दिन्छिन्‌: “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ मलाई भन्‍नुहोस्‌, र म उहाँलाई लैजानेछु।” त्यसपछि येशू यसो भन्‍नुहुन्छ: “ए मरियम!” उहाँले तिनीसित सधैंजसो बोल्ने तरिकाबाट तिनले उहाँलाई तुरुन्तै चिन्छिन्‌। खुसी हुँदै तिनी “हे गुरुज्यू!” भन्छिन्‌। अनि तिनी उहाँको नजिक जान्छिन्‌।—यूहन्‍ना २०:११-१८.

यस विवरणले येशूले केही समयअघि बताउनुभएको कुरालाई हृदयस्पर्शी ढङ्‌गमा प्रस्ट पार्छ। आफूलाई गोठालो र आफ्ना अनुयायीहरूलाई भेडासित तुलना गर्दै उहाँ भन्‍नुहुन्छ कि गोठालोले आफ्ना भेडाहरूको नाउँ काढेर बोलाउँछ र भेडाहरूले उसको सोर चिन्छन्‌। (यूहन्‍ना १०:३, ४, १४, २७, २८) भेडाले आफ्नो गोठालोको सोर चिनेजस्तै साँच्चि नै मरियमले पनि आफ्नो गोठालो, ख्रीष्टको सोर चिन्छिन्‌। आज येशूका अनुयायीहरूलाई पनि यही कुरा लागू हुन्छ। (यूहन्‍ना १०:१६) जसरी भेडाको चनाखो कानले यसलाई गोठालोको नजिक रहन मदत गर्छ, त्यसरी नै हाम्रो आध्यात्मिक चनाखोपनले हामीलाई हाम्रा महान्‌ गोठालो येशू ख्रीष्टको नजिक रहेर उहाँको पाइलामा हिंड्‌न मदत गर्छ।—यूहन्‍ना १३:१५; १ यूहन्‍ना २:६; १ यूहन्‍ना ५:२०.

३. भेडाको गोठबारे येशूले बताउनुभएको दृष्टान्तले हाम्रो मनमा कस्ता प्रश्‍नहरू खडा गर्छ?

तथापि, यसै दृष्टान्तअनुसार मानिसहरूको सोर चिन्‍न सक्ने भेडाको क्षमताले उसलाई आफ्नो मित्र मात्र नभई शत्रु चिन्‍न पनि मदत गर्छ। यो एकदमै महत्त्वपूर्ण छ किनभने हाम्रा धूर्त विरोधीहरू छन्‌। ती को हुन्‌? तिनले कसरी काम गर्छन्‌? हामी कसरी आफूलाई जोगाउन सक्छौं? यो कुरा थाह पाउन, भेडाको गोठको दृष्टान्तमा येशू अरू के-के भन्‍नुहुन्छ, आउनुहोस्‌ हेरौं।

‘जो ढोकाबाट भित्र पस्दैन’

४. गोठालोको दृष्टान्तअनुसार भेडाहरूले कसलाई पछ्याउँछन्‌ र कसलाई पछ्याउँदैनन्‌?

येशू यसो भन्‍नुहुन्छ: “ढोकाबाट भित्र पस्ने चाहिं भेड़ाको गोठालो हो। उसको लागि ढोकेले ढोका खोलिदिन्छ, र भेड़ाहरूले उसको सोर सुन्छ, र उसले आफ्ना भेड़ाहरूलाई नाउँ काड़ी काड़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्छ। जब उसले आफ्ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्छ, उ तिनीहरूको अगिअगि हिंडछ, र भेड़ाहरूले उसलाई पछ्याउँछ, किनभने तिनीहरूले उसको सोर चिन्छ। तर बिरानालाई ता पछ्याउनेछैन, तर त्यसदेखि भागिजानेछ, किनभने बिरानाको सोर तिनीहरूले चिन्दैन।” (यूहन्‍ना १०:२-५) याद गर्नुहोस्‌, “सोर” भन्‍ने शब्द येशू तीन पटक प्रयोग गर्नुहुन्छ। उहाँ दुई पटक गोठालोको सोरबारे बताउनुहुन्छ तर तेस्रो पटक भने उहाँ ‘बिरानो सोरलाई’ सङ्‌केत गर्नुहुन्छ। येशू कस्तो खालको बिरानो व्यक्‍तिलाई सङ्‌केत गर्दै हुनुहुन्छ?

५. यूहन्‍ना १० अध्यायमा बताइएको जस्तो बिरानो व्यक्‍तिलाई हामी किन अतिथिसत्कार गर्दैनौं?

येशूले यहाँ बताउनुभएको बिरानो व्यक्‍ति, बाइबलको मौलिक भाषामा “अपरिचित व्यक्‍तिहरूप्रतिको प्रेम” भन्‍ने अर्थ लाग्ने, हामीले अतिथिसत्कार गर्न चाहने अपरिचित व्यक्‍ति होइन। (हिब्रू १३:२) येशूको दृष्टान्तको बिरानो व्यक्‍ति निमन्त्रणा प्राप्त गरेको पाहुना होइन। त्यो व्यक्‍ति “भेड़ाको गोठको ढोकाबाट भित्र पस्तैन, तर अर्कै बाटो गरी चढ़छ।” त्यो “चोर र डाँकू हो।” (यूहन्‍ना १०:१) परमेश्‍वरको वचनमा चोर र डाँकुको रूपमा उल्लेख गरिएको सबैभन्दा पहिलो व्यक्‍ति को हो? शैतान अर्थात्‌ दियाबल। उत्पत्तिको पुस्तकमा हामी यसको प्रमाण पाउँछौं।

जब बिरानो सोर पहिलो पटक सुनियो

६, ७. शैतानलाई बिरानो व्यक्‍ति र चोर भन्‍नु किन उचित छ?

उत्पत्ति ३:१-५ ले पृथ्वीमा पहिलो पटक बिरानो सोर कसरी सुनिएको थियो भनी वर्णन गर्छ। शैतान एउटा सर्पमार्फत प्रथम स्त्री हव्वासामु गयो अनि बहकाउने तरिकामा तिनीसित बोल्यो भनी यस विवरणले बताउँछ। हुन त, यस विवरणमा शैतानलाई शाब्दिक रूपमै ‘बिरानो’ व्यक्‍ति भनिएको छैन। तैपनि, थुप्रै तरिकाहरूमा त्यो यूहन्‍ना १० अध्यायमा लिपिबद्ध येशूको दृष्टान्तमा वर्णन गरिएको बिरानो व्यक्‍तिजस्तै थियो भनी त्यसका कार्यहरूले देखाउँछ। केही समानताहरू विचार गर्नुहोस्‌।

भेडाको गोठमा भएको आफ्नो सिकारकहाँ जाँदा बिरानो व्यक्‍ति चोर बाटो भएर जान्छ भनी येशू बताउनुहुन्छ। त्यसै गरी, शैतान पनि आफ्नो सिकारकहाँ सर्पलाई चलाएर घुमाउरो बाटो भएर गयो। धूर्त तरिका चलाएर नजिक गएको कुराले शैतान वास्तवमै विनाअनुमति भित्र पस्ने एक जना ठगाहा हो भनेर पर्दाफास गऱ्‍यो। साथै, भेडाको गोठमा पसेको बिरानो व्यक्‍तिको उद्देश्‍य भेडाको असली मालिकबाट त्यसका भेडाहरू लुट्‌नु हो। साँच्चै भन्‍ने हो भने त्यो चोरभन्दा पनि खराब छ किनभने त्यसको लक्ष्य “मारूँ, र नाश पारूँ” भन्‍ने समेत हुन्छ। (यूहन्‍ना १०:१०) त्यसै गरी, शैतान पनि एउटा चोर थियो। हव्वालाई बहकाएर त्यसले परमेश्‍वरप्रतिको हव्वाको वफादारिता चोऱ्‍यो। यसको अलावा शैतानले मानिसहरूमाथि मृत्यु पनि ल्यायो। त्यसैले, त्यो एउटा हत्यारा हो।

८. शैतानले यहोवाको वचन र मनसायलाई कसरी बङ्‌ग्यायो?

शैतानले यहोवाको वचन र मनसाय बङ्‌ग्याएको तरिकाबाट त्यसको बेइमानी प्रस्ट देखिन्थ्यो। “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी [ “साँच्चै,” NW] भन्‍नुभएको छ?” भनेर त्यसले हव्वालाई सोध्यो। छक्क परेको जस्तो बहाना गरेर शैतान यसो भन्दै थियो: ‘परमेश्‍वर कसरी त्यत्तिको अव्यावहारिक हुन सक्नुभएको होला?’ त्यसले अझै यसो भन्यो: “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌।” त्यसले चलाएका शब्दहरूलाई ध्यान दिनुहोस्‌: “परमेश्‍वर जान्‍नुहुन्छ।” शैतानले यसो भने सरह थियो: ‘परमेश्‍वरलाई थाह भएको कुरा मलाई थाह छ। मलाई उहाँको मनसाय थाह छ र त्यो खराब छ।’ (उत्पत्ति २:१६, १७; ३:१, ५) दुःखको कुरा, हव्वा र आदम यो बिरानो सोरदेखि भागेनन्‌। यसको सट्टा तिनीहरूले यो सुने अनि आफूमाथि र आफ्ना सन्तानहरूमाथि विपत्ति ल्याए।—रोमी ५:१२, १४.

९. बिरानो सोर सुनिनेछ भनेर आज हामीले किन आशा गर्नुपर्छ?

आज परमेश्‍वरका जनहरूलाई बहकाउन शैतानले यस्तै तरिकाहरू चलाउँछ। (प्रकाश १२:९) त्यो “झूटको पिता” हो र परमेश्‍वरका सेवकहरूलाई त्यसले जस्तै बहकाउन खोज्नेहरू त्यसका सन्तानहरू हुन्‌। (यूहन्‍ना ८:४४) आज यी बिराना व्यक्‍तिहरूको सोर कुन-कुन तरिकाहरूमा सुनिंदैछ, त्यसमा ध्यान देऔं।

आज बिरानो सोर कसरी सुनिन्छ

१०. बिरानो सोर सुनिइरहेको एउटा तरिका के हो?

१० छली तर्कहरू। प्रेरित पावल यसो भन्छन्‌: “नाना किसिमका र अनौठा शिक्षाहरूबाट भ्रममा नपर।” (हिब्रू १३:९) कस्ता शिक्षाहरू? ती शिक्षाहरूले हामीलाई ‘भर्माउन’ सक्ने भएकोले पावलले हाम्रो आध्यात्मिक सन्तुलनलाई कमजोर बनाउन सक्ने शिक्षाहरूलाई सङ्‌केत गरेका हुन्‌ भन्‍ने कुरा स्पष्ट छ। यस्ता बिराना शिक्षाहरू कसले सिकाइरहेका छन्‌? मसीही प्राचीनहरूको एउटा समूहलाई पावलले यसो भने: “तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खड़ा हुनुहुनेछ।” (प्रेरित २०:३०) वास्तवमा, पावलको दिनमा जस्तै आज पनि कुनै समय मसीही मण्डलीको सदस्य बनेका केही व्यक्‍तिहरू अहिले “बराल्ने” वा बाङ्‌गो कुरा, अर्धसत्य वा पूर्णतया झूट कुरा बोलेर भेडाहरूलाई बहकाउने कोसिस गर्छन्‌। प्रेरित पत्रुसले बताएअनुसार तिनीहरू “बनावटी कुराहरू” अर्थात्‌ साँच्चै जस्तो देखिने तर वास्तवमा बेकारका शब्दहरू चलाउँछन्‌।—२ पत्रुस २:३.

११. धर्मत्यागीहरूले चलाउने तरिका र तिनीहरूको लक्ष्य २ पत्रुस २:१, ३ मा पाइने शब्दहरूले कसरी पर्दाफास गर्छ?

११ तिनीहरूले “गुप्त चालले विनाश पार्ने विधर्म ल्याउनेछन्‌” भन्‍ने कुरा बताएर पत्रुस धर्मत्यागका थप तरिकाहरू पर्दाफास गर्छन्‌। (२ पत्रुस २:१, ३) जसरी भेडाको गोठबारे येशूले बताउनुभएको दृष्टान्तमा चोर “ढोकाबाट भित्र पस्तैन, तर अर्कै बाटो गरी चढ़छ,” त्यसै गरी धर्मत्यागीहरू पनि गोप्य तरिकाहरू चलाएर हामीसामु आउँछन्‌। (गलाती २:४; यहूदा ४) तिनीहरूको लक्ष्य के हो? पत्रुस अझै यसो भन्छन्‌: “तिनीहरूले तिमीहरूलाई लुट्‌नेछन्‌।” वास्तवमा, आफूलाई सही प्रमाणित गर्न धर्मत्यागीहरूले जेसुकै भनून्‌, विनाअनुमति भित्र पस्नेहरूको वास्तविक लक्ष्य भनेको “चोरूँ, र मारूँ, र नाश पारूँ” भन्‍ने हो। (यूहन्‍ना १०:१०) यस्ता बिराना व्यक्‍तिहरूदेखि सजग रहनुहोस्‌!

१२. (क) हाम्रो संगतिले हामीलाई कसरी बिरानो सोरको प्रभावमा पार्न सक्छ? (ख) शैतानको युक्‍ति र आजका बिराना व्यक्‍तिहरूको युक्‍तिबीच कस्तो समानता छ?

१२ हानिकारक साथीहरू। हामीले संगत गर्ने व्यक्‍तिहरू मार्फत पनि बिरानो सोर सुनिन सक्छ। हानिकारक संगतिले विशेष गरी युवाहरूलाई खतरामा पार्छ। (१ कोरिन्थी १५:३३) नबिर्सनुहोस्‌, शैतानले प्रथम मानव जोडीमध्ये थोरै उमेरको र कम अनुभवी हव्वालाई तारो बनायो। यहोवाले तिनको स्वतन्त्रतामा चाहिनेभन्दा बढी अङ्‌कुश लगाउनुभएको छ भन्‍ने कुरामा तिनलाई विश्‍वस्त तुल्यायो, जबकि यो कुरा सरासर गलत थियो। यहोवाले आफ्नो मानव सृष्टिलाई प्रेम गर्नुहुन्थ्यो र तिनीहरूको भलाइको ख्याल गर्नुहुन्थ्यो। (यशैया ४८:१७) त्यसै गरी, आज बिराना व्यक्‍तिहरूले तपाईंका मसीही आमाबाबुले तपाईंको स्वतन्त्रतामा चाहिनेभन्दा बढी अङ्‌कुश लगाउँछन्‌ भनेर तपाईं युवाहरूलाई मनाउने कोसिस गर्छन्‌। यस्ता बिराना व्यक्‍तिहरूले तपाईंलाई कसरी असर गर्न सक्छन्‌? एउटी मसीही युवती यसरी स्वीकार्छिन्‌: “कक्षाका साथीहरूको कारण केही समयको लागि मेरो विश्‍वास केही हदसम्म कमजोर भएको थियो। मेरो धर्म अङ्‌कुश लगाउने र अव्यावहारिक छ भनेर तिनीहरू भनिरहन्थे।” तर सच्चाइ यो हो कि तपाईंका आमाबाबुले तपाईंलाई माया गर्छन्‌। त्यसैले स्कूलका साथीहरूले तपाईंलाई आफ्नो आमाबाबुमाथि भरोसा नगर्न मनाउन खोज्दा हव्वा जसरी नबहकिनुहोस्‌।

१३. दाऊदले कस्तो बुद्धिमानी मार्ग अपनाए र हामीले तिनको अनुकरण गर्न सक्ने एउटा तरिका के हो?

१३ हानिकारक संगतिबारे भजनहार दाऊद यसो भन्छन्‌: “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु।” (भजन २६:४) के तपाईंले त्यस्ता बिराना व्यक्‍तिहरूलाई प्रायजसो चिनाउने कुरा याद गर्नुभयो? सर्पलाई चलाएर शैतानले आफ्नो परिचय लुकाएजस्तै तिनीहरूले आफू को हुँ भन्‍ने कुरा लुकाउँछन्‌ अर्थात्‌ तिनीहरू कपटी हुन्छन्‌। इन्टरनेटको प्रयोग गरेर आज केही अनैतिक व्यक्‍तिहरूले आफ्नो परिचय र साँचो मनसाय लुकाउँछन्‌। तपाईंलाई पासोमा फसाउनको लागि च्याट रूमहरूमा भ्रष्ट वयस्कहरूले समेत आफूलाई युवाको रूपमा चिनाउन सक्छन्‌। युवाहरू हो, कृपया असाध्यै चनाखो रहनुहोस्‌ नत्र भने तपाईंलाई आध्यात्मिक तवरमा हानि पुग्नेछ।—भजन ११९:१०१; हितोपदेश २२:३.

१४. कहिलेकाहीं सञ्चार माध्यमहरूले कसरी बिरानो सोर फैलाउँछन्‌?

१४ झूटा आरोपहरू। यहोवाका साक्षीहरूबारे दिइने केही समाचारहरू सत्य भए तापनि सञ्चार माध्यमहरू मार्फत कहिलेकाहीं पूर्वाग्रहयुक्‍त बिरानो सोर प्रसारण गरिन्छ। उदाहरणका लागि, एउटा देशमा दोस्रो विश्‍वयुद्धको दौडान साक्षीहरूले हिटलरको शासनलाई समर्थन गर्थे भन्‍ने झूटो समाचार फैलाइयो। अर्को देशको एउटा रिपोर्टले साक्षीहरूलाई चर्चहरू तोडफोड गरेको आरोप लगायो। थुप्रै देशका सञ्चार माध्यमहरूले साक्षीहरूलाई आफ्ना छोराछोरीहरूको औषधोपचार गर्न इन्कार गरेको र सँगी विश्‍वासीहरूले गरेका गम्भीर पापहरू जानाजानी बेवास्ता गरेको आरोप लगाए। (मत्ती १०:२२) यस्तो भए तापनि हामीलाई व्यक्‍तिगत रूपमा चिनेका निष्कपट व्यक्‍तिहरूलाई यस्ता आरोपहरू झूटा हुन्‌ भनेर थाह छ।

१५. सञ्चार माध्यमहरूमा प्रस्तुत गरिएका सबै कुराहरू विश्‍वास गर्नु किन बुद्धिमानी हुँदैन?

१५ यस्तो बिरानो सोरले फैलाएका आरोपहरूको सामना गर्नुपऱ्‍यो भने हामीले के गर्नुपर्छ? हामीले हितोपदेश १४:१५ को सल्लाह मनमा राख्नु बेस हुन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यक्‍तालाई बुझ्छ।” सञ्चार माध्यमहरूमा सत्य भनेर प्रस्तुत गरिएका सबै कुराहरू विश्‍वास गर्नु बुद्धिमानी होइन। पक्कै पनि हामी सबै सांसारिक जानकारीहरूमाथि अविश्‍वास नगर्ने भए तापनि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर हामीलाई राम्ररी थाह छ।—छड्‌के अक्षर हाम्रो, १ यूहन्‍ना ५:१९.

“परमेश्‍वरबाटका आत्माहरू . . . जाँच गर”

१६. (क) साँच्चैका भेडाहरूको बानी-व्यहोराले यूहन्‍ना १०:४ मा पाइने येशूका शब्दहरूको सत्यता कसरी स्पष्ट पार्छ? (ख) बाइबलले हामीलाई के गर्न प्रोत्साहन दिन्छ?

१६ यद्यपि, हामी मित्रसित संगत गरिरहेका छौं वा शत्रुसित, यो कुरा कसरी पक्का गर्न सक्छौं? येशूले बताएअनुसार भेडाहरूले गोठालोलाई पछ्याउँछन्‌ “किनभने तिनीहरूले उसको सोर चिन्छ।” (यूहन्‍ना १०:४) गोठालोको बाह्‍य रूपरङको कारण नभई उसको सोरको कारण भेडाहरूले उसलाई पछ्याउँछन्‌। भेडाहरूले गोठालोलाई उसको सोरद्वारा नभई उसको पहिरनद्वारा चिन्छन्‌ भनी एक पटक एक जना पर्यटकले दाबी गरेको घटनाबारे बाइबल भूमिसम्बन्धी बताउने एउटा पुस्तक बताउँछ। भेडाहरूले गोठालोलाई सोरबाट चिन्छन्‌ भनी गोठालोले जवाफ दिए। यो कुरा प्रमाणित गर्ने उनले आफ्नो लुगा बिरानो व्यक्‍ति अर्थात्‌ ती पर्यटकसित साटे। गोठालोको लुगा लगाएर बिरानो व्यक्‍तिले भेडाहरूलाई बोलाए तर भेडाहरूले वास्तै गरेनन्‌। ती भेडाहरूले तिनको सोर चिनेनन्‌। यद्यपि, गोठालोले अर्कै लुगा लगाएको भए तापनि उनले बोलाउने बित्तिकै भेडाहरू आए। त्यसैले, कुनै व्यक्‍ति गोठालोजस्तै देखिएला तर त्यो व्यक्‍ति साँच्चैको गोठालो होइन भनेर भेडाहरूले थाह पाइहाल्छन्‌। वास्तवमा, भेडाहरूले बोलाउने व्यक्‍तिको सोरलाई आफ्नो गोठालोको सोरसित तुलना गरेर जाँच्छन्‌। परमेश्‍वरको वचनले हामीलाई पनि यसै गर्नू भन्छ—“परमेश्‍वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर।” (१ यूहन्‍ना ४:१; २ तिमोथी १:१३) यसो गर्न हामीलाई कुन कुराले मदत दिनेछ?

१७. (क) यहोवाको सोरसित हामी कसरी परिचित हुन सक्छौं? (ख) यहोवाको ज्ञानले हामीलाई के गर्न मदत गर्छ?

१७ कुरा प्रस्ट छ, यहोवाको सोर वा सन्देशसित हामी जति राम्ररी परिचित छौं, त्यति नै राम्ररी बिरानो सोर चिन्‍न सक्छौं। यस्तो ज्ञान हामीमा कसरी विकास हुन्छ भनी बाइबल बताउँछ। बाइबल यसो भन्छ: “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२१) हाम्रो पछिल्तिरबाट सुनिने त्यो “शब्द” परमेश्‍वरको वचनबाट आउँछ। हामीले हरेक पटक परमेश्‍वरको वचन पढ्‌दा, लाक्षणिक तवरमा भन्‍ने हो भने हाम्रा महान्‌ गोठाला यहोवाको सोर सुन्छौं। (भजन २३:१) त्यसैले, हामी जति धेरै बाइबल अध्ययन गर्छौं, परमेश्‍वरको सोरसित त्यति नै धेरै परिचित हुन्छौं। अनि त्यो आत्मीय ज्ञानले हामीलाई बिरानो सोर तुरुन्तै चिनिहाल्न मदत गर्छ।—गलाती १:८.

१८. (क) यहोवाको सोर चिन्‍नुमा कुन कुरा समावेश छ? (ख) मत्ती १७:५ अनुसार हामीले किन येशूको सोर सुन्‍नुपर्छ?

१८ यहोवाको सोर चिन्‍नुमा थप कुन कुरा समावेश छ? यसमा सुन्‍नुको अलावा यो पालन गर्नु पनि समावेश छ। यशैया ३०:२१ लाई फेरि ध्यान दिनुहोस्‌। परमेश्‍वरको वचन यस्तो घोषणा गर्छ: “बाटो यही हो।” हो, बाइबल अध्ययनद्वारा हामी यहोवाको निर्देशन सुन्छौं। त्यसपछि, उहाँ यस्तो आज्ञा दिनुहुन्छ: “यसैमा तिमीहरू हिंड़।” हामीले सुनेका कुराहरू अनुरूप काम गरेको यहोवा चाहनुहुन्छ। यसरी, सिकेका कुराहरू लागू गरेर हामीले यहोवाको सोर सुनेका मात्र छैनौं तर यो पालन पनि गरेका छौं भनेर हामी देखाउन सक्छौं। (व्यवस्था २८:१) यहोवाको सोर सुन्‍नुको अर्थ येशूको पनि सोर सुन्‍नु हो किनभने यहोवा आफैले हामीलाई त्यसो गर्न भन्‍नुभएको छ। (मत्ती १७:५) असल गोठालो, येशू हामीलाई के गर्न भन्‍नुहुन्छ? उहाँ हामीलाई चेलाहरू बनाउन तथा “विश्‍वासी र बुद्धिमान दास[मा]” भरोसा गर्न सिकाउनुहुन्छ। (मत्ती २४:४५; २८:१८-२०) उहाँको सोर सुन्‍नुको अर्थ हाम्रो लागि अनन्त जीवन हो।—प्रेरित ३:२३.

‘तिनीहरू त्यसदेखि भागिजानेछन्‌’

१९. बिरानो सोरप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

१९ त्यसोभए, हामीले बिरानो सोरप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्छ त? भेडाले जस्तै प्रतिक्रिया देखाउनुपर्छ। येशू यसो भन्‍नुहुन्छ: “बिरानालाई ता पछ्याउनेछैन, तर त्यसदेखि भागिजानेछ।” (यूहन्‍ना १०:५) हाम्रो प्रतिक्रिया द्विपक्षीय हुनुपर्छ। पहिलो, हामी कुनै पनि हालतमा बिरानो व्यक्‍तिलाई ‘पछ्याउनेछैनौं।’ हो, बिरानो व्यक्‍तिलाई हामी दृढतापूर्वक इन्कार गर्छौं। वास्तवमा, बाइबल लेख्दा प्रयोग गरिएको युनानी भाषामा, इन्कारको भाव जनाउनको लागि यस पदमा त्यस भाषाको सबैभन्दा सशक्‍त अभिव्यक्‍ति चलाइएको छ। दोस्रो, हामी ‘त्यसदेखि भाग्नेछौं’ वा अलग्गै बस्नेछौं। असल गोठालोको सोरसित नमिल्ने शिक्षाहरू सिकाउने व्यक्‍तिहरूप्रति हामीले देखाउनुपर्ने सही प्रतिक्रिया यही मात्र हो।

२०. निम्न अवस्थाहरूको सामना गर्नुपर्दा हामी कस्तो प्रतिक्रिया देखाउनेछौं: (क) धूर्त धर्मत्यागीहरू, (ख) हानिकारक साथीहरू, (ग) सञ्चार माध्यमका पूर्वाग्रहयुक्‍त रिपोर्टहरू?

२० त्यसकारण, धर्मत्यागी विचार व्यक्‍त गर्नेहरूको सामना गर्नुपर्दा हामी परमेश्‍वरको वचनले भनेअनुसार यसो गर्न चाहन्छौं: “जुन शिक्षा तिमीहरूले पायौ त्यसको विपरीतमा फूट र ठेस लाग्ने कारण तुल्याउनेहरूमाथि नजर राख, र तिनीहरूबाट हट।” (छड्‌के अक्षर हाम्रो, रोमी १६:१७; तीतस ३:१०) त्यसै गरी, हानिकारक साथीहरूबाट आउने खतराहरूको सामना गरिरहेका मसीही युवाहरू पावलले जवान तिमोथीलाई दिएका निम्न सल्लाह पालन गर्न चाहन्छन्‌: “जवानीका अभिलाषाहरूबाट भाग।” अनि सञ्चार माध्यमहरूमा गलत आरोपहरूको सामना गर्नुपर्दा, पावलले तिमोथीलाई दिएका यो थप सल्लाह हामी सम्झनेछौं: “[बिरानो सोर सुन्‍नेहरू] सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्‌। तर तिमी चाहिं सब कुराहरूमा सचेत होऊ।” (छड्‌के अक्षर हाम्रो, २ तिमोथी २:२२; ४:३-५) चाहे बिरानो सोर जतिसुकै मीठो किन नसुनियोस्‌, हाम्रो विश्‍वासलाई डुबाउन सक्ने सबै कुराहरूबाट हामी भाग्छौं।—भजन २६:५; हितोपदेश ७:५, २१; प्रकाश १८:२, ४.

२१. बिरानो सोर सुन्‍न इन्कार गर्नेहरूको लागि कस्तो आशिष्‌ले पर्खिरहेको छ?

२१ बिरानो सोर सुन्‍न अस्वीकार गरेर आत्म-अभिषिक्‍त मसीहीहरू लूका १२:३२ मा पाइने असल गोठालोका शब्दहरू सुन्छन्‌। येशू तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” त्यसै गरी, “अरू भेडा” येशूका यी शब्दहरू सुन्‍न उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्‌: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” (यूहन्‍ना १०:१६; मत्ती २५:३४) ‘बिरानो सोर’ सुन्‍न इन्कार गऱ्‍यौं भने हाम्रो लागि कस्तो हृदयस्पर्शी इनामले पर्खिरहेको छ!

के तपाईंले सम्झनुभएको छ?

• भेडाको गोठबारे येशूको दृष्टान्तमा उल्लेख गरिएको बिरानो व्यक्‍तिको विवरण शैतानसित कसरी मेल खान्छ?

• आज बिरानो सोर कसरी सुनिन्छ?

• बिरानो सोर हामी कसरी चिन्‍न सक्छौं?

• बिरानो सोरप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

मरियमले ख्रीष्टलाई चिनिन्‌

[पृष्ठ १६-मा भएको चित्र]

बिरानो व्यक्‍ति भेडाकहाँ सोझो बाटो भएर जाँदैन

[पृष्ठ १८-मा भएको चित्र]

बिरानो सोरप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं?