सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरको सारा हात-हतियार धारण गर”

“परमेश्‍वरको सारा हात-हतियार धारण गर”

“परमेश्‍वरको सारा हात-हतियार धारण गर”

“शैतानका युक्‍तिहरूका विरुद्धमा खड़ा हुनसक्नालाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।”—एफिसी ६:११.

१, २. मसीहीहरूले धारण गर्नुपर्ने आध्यात्मिक हात-हतियारबारे आफ्नै शब्दमा वर्णन गर्नुहोस्‌।

 सा.यु. प्रथम शताब्दीमा रोम आफ्नो शक्‍तिको चुलीमा पुगेको थियो। रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो। एक जना इतिहासकारले यो सेनालाई “इतिहासमै सबैभन्दा सफल सैन्य व्यवस्थापन” भनी वर्णन गरे। रोमको पेसेवर सेनामा कडा प्रशिक्षण प्राप्त गरेका सु-अनुशासित सिपाहीहरू थिए तर एउटा प्रभावकारी लडाकू दलको हैसियतमा तिनीहरूको सफलता भने तिनीहरूको हात-हतियारमा पनि निर्भर हुन्थ्यो। दियाबल विरुद्धको लडन्तमा सफल हुनको लागि मसीहीहरूले धारण गर्नुपर्ने आध्यात्मिक हात-हतियारबारे स्पष्ट पार्न प्रेरित पावलले रोमी सिपाहीको हात-हतियारबारे उल्लेख गरे।

यो आध्यात्मिक हात-हतियारको विवरण हामी एफिसी ६:१४-१७ मा पाउँछौं। पावलले यस्तो लेखे: “आफ्ना कम्मर सत्यताले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, औ खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ, तीबाहेक विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउनसक्ने हुनेछौ। औ मुक्‍तिको टोप लेओ, र आत्माको तरवार जो चाहिं परमेश्‍वरको वचन हो।” शारीरिक दृष्टिकोणबाट हेर्ने हो भने पावलले वर्णन गरेका हात-हतियारले रोमी सिपाहीलाई निकै हदसम्म सुरक्षा प्रदान गर्थ्यो। साथै, रोमी सिपाहीले तरबार भिरेका हुन्थे र यो व्यक्‍तिगत तवरमा लड्‌नको लागि तिनको प्रमुख हतियार थियो।

३. हामीले किन येशू ख्रीष्टको निर्देशन पालन गर्नुपर्छ र उहाँको उदाहरण पछ्याउनुपर्छ?

हात-हतियार र प्रशिक्षणको अलावा रोमी सेनाको सफलता सेनापतिप्रति सिपाहीहरूको आज्ञाकारितामा पनि निर्भर हुन्थ्यो। त्यसरी नै, मसीहीहरूले येशू ख्रीष्टको आज्ञा पालन गर्नै पर्छ जसलाई बाइबलले “जातिहरूमा . . . सेनापति” भनी वर्णन गरेको छ। (यशैया ५५:४) उहाँ “मण्डलीका शिर” पनि हुनुहुन्छ। (एफिसी ५:२३) हाम्रो आध्यात्मिक लडन्तको लागि येशूले निर्देशन दिनुहुन्छ अनि आध्यात्मिक हात-हतियार धारण गर्ने सन्दर्भमा उहाँले उत्कृष्ट नमुना बसाल्नुभएको छ। (१ पत्रुस २:२१) ख्रीष्टको जस्तो व्यक्‍तित्व र हाम्रो आध्यात्मिक हात-हतियारबीच धेरै समानताहरू भएको हुँदा धर्मशास्त्रले हामीलाई ख्रीष्टको जस्तै मनसायको ‘हतियार लिने’ सल्लाह दिन्छ। (१ पत्रुस ४:१) त्यसैले हाम्रो आध्यात्मिक हात-हतियारको प्रत्येक हतियारलाई केलाउँदा यसको महत्त्व र प्रभावकारिता देखाउन हामी येशूको उदाहरण प्रयोग गर्नेछौं।

कम्मर, छाती र खुट्टालाई जोगाउने

४. सिपाहीको हात-हतियारमा पटुकाले कस्तो भूमिका खेल्थ्यो अनि यसले कुन कुरा देखाउँछ?

सत्यताले कम्मर कसेर। बाइबलकालमा सिपाहीहरूले छालाको चौडा पेटी वा पटुका बाँध्ने गर्थे र त्यो दुईदेखि छ इन्च चौडा हुन्थ्यो। कोही-कोही अनुवादकहरू उक्‍त पद यस्तो हुनुपर्ने हो भन्छन्‌, “तिमीहरूको कम्मर पेटीले जस्तै कसिलो गरी सत्यताले बाँधेर।” सिपाहीको पेटीले उसको कम्मरलाई जोगाउन मदत गर्थ्यो अनि तरबार भिर्नको लागि सजिलो हुन्थ्यो। सिपाहीले कम्मर कस्नुको मतलब लडाइँको लागि तयार हुनु थियो। धर्मशास्त्रीय सत्यले हाम्रो जीवनमा कुन हदसम्म प्रभाव पार्नुपर्छ भनी देखाउन पावलले सिपाहीको पेटीको उदाहरण चलाए। लाक्षणिक अर्थमा भन्‍ने हो भने, यो पेटी हामीले कसेर बाँधेको हुनुपर्छ र यसो गर्दा हामी सत्य अनुरूप जीवन बिताउन र जुनसुकै अवस्थामा सत्यको पक्षमा बोल्न सक्छौं। (भजन ४३:३; १ पत्रुस ३:१५) त्यसो गर्नको लागि हामीले लगनशील भई बाइबल अध्ययन गर्नुपर्छ अनि यसका विषयवस्तुहरूमा मनन गर्नुपर्छ। परमेश्‍वरको व्यवस्था येशूको “हृदयमा” थियो। (भजन ४०:८) त्यसैकारण त विरोधीहरूले प्रश्‍न गर्दा उहाँले आफूलाई पहिल्यैदेखि याद भएका पदहरू धर्मशास्त्रबाट उद्धरण गर्न सक्नुभयो।—मत्ती १९:३-६; २२:२३-३२.

५. परीक्षा वा प्रलोभनको बेला धर्मशास्त्रीय सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ, प्रस्ट पार्नुहोस्‌।

बाइबल सत्यको निर्देशनअनुसार चल्दा यसले हामीलाई गलत तर्कबाट जोगाउन अनि बुद्धिमानी ढङ्‌गमा निर्णयहरू गर्न मदत गर्न सक्छ। प्रलोभन वा परीक्षाको बेला बाइबलका निर्देशनहरूले सही कुरा गर्ने हाम्रो सङ्‌कल्पलाई मजबुत बनाउनेछ। यसो गर्दा हाम्रो महान्‌ प्रशिक्षक यहोवालाई देखेझैं र हाम्रो पछाडि यस्तो आवाज सुनेझैं हुनेछ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड़।”—यशैया ३०:२०, २१.

६. हाम्रो लाक्षणिक हृदयलाई किन सुरक्षा चाहिन्छ अनि धार्मिकताले कसरी प्रभावकारी ढङ्‌गमा यसको सुरक्षा गर्न सक्छ?

धार्मिकताको छाती-पाता। सिपाहीको छाती-पाताले मानिसको महत्त्वपूर्ण अङ्‌ग मुटुलाई जोगाउँथ्यो। हाम्रो लाक्षणिक हृदय अर्थात्‌ हाम्रो भित्री मनुष्यत्वलाई विशेष सुरक्षा चाहिन्छ किनभने यसको झुकाव खराबीतर्फ छ। (उत्पत्ति ८:२१) त्यसकारण हामीले यहोवाको धार्मिक स्तरबारे थाह पाउनै पर्छ र त्यसलाई प्रेम गर्नै पर्छ। (भजन ११९:९७, १०५) धार्मिकताप्रतिको प्रेमले हामीलाई यहोवाको स्पष्ट निर्देशनलाई बेवास्ता गर्ने वा त्यसलाई फितलो बनाउने सांसारिक सोचाइलाई तिरस्कार गर्न लगाउँछ। यसबाहेक, हामीले बुराइलाई घृणा र भलाइलाई प्रेम गर्दा हाम्रो जीवनलाई बिगार्न सक्ने जीवन शैलीबाट अलग्गै बस्छौं। (भजन ११९:९९-१०१; आमोस ५:१५) यस सन्दर्भमा येशू उदाहरणीय हुनुहुन्छ किनभने उहाँबारे धर्मशास्त्र यसो भन्छ: “तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ।”—हिब्रू १:९. a

७. रोमी सिपाहीलाई किन राम्रो जुत्ता चाहिन्थ्यो र यसले के देखाउँछ?

खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता लगाएका। रोमी सिपाहीहरूलाई टिकाउ जुत्ता वा चप्पल चाहिन्थ्यो किनभने सैन्य अभियानको दौडान लगभग २७ किलोग्राम जति वजन बराबरको हात-हतियार र मालसामान बोकेर तिनीहरू दिनहुँ ३० किलोमिटर जसो हिंड्‌थे। परमेश्‍वरको राज्यको सन्देश सुन्‍न चाहने सबैलाई प्रचार गर्ने हाम्रो तत्परतालाई देखाउन पावलले जुत्ताको कुरा गर्नु एकदमै उपयुक्‍त थियो। यो कुरा महत्त्वपूर्ण छ किनभने हामी प्रचार गर्न तयार र इच्छुक भएनौं भने मानिसहरूले यहोवाबारे कसरी थाह पाउलान्‌ र?—रोमी १०:१३-१५.

८. सुसमाचारको प्रचारकको हैसियतमा हामी कसरी येशूको उदाहरण अनुकरण गर्न सक्छौं?

येशूको जीवनको सबैभन्दा महत्त्वपूर्ण गतिविधि के थियो? उहाँले रोमी बडाहाकिम पन्तियस पिलातसलाई यसो भन्‍नुभयो: “सत्यको गवाही दिन म यस संसारमा आएको हुँ।” सुन्‍न इच्छुक व्यक्‍तिहरू जहाँ-जहाँ भेटिन्थे, येशूले त्यहीं-त्यहीं प्रचार गर्नुभयो अनि उहाँले सेवकाईबाट अत्यन्तै आनन्द उठाउने हुँदा आफ्ना भौतिक आवश्‍यकताहरूभन्दा यसलाई प्राथमिकता दिनुभयो। (यूहन्‍ना ४:५-३४; १८:३७, NRV) येशूजस्तै हामी पनि सुसमाचार घोषणा गर्न उत्सुक छौं भने यसबारे अरूलाई बताउने थुप्रै मौकाहरू पाउनेछौं। यसबाहेक, सेवकाईमा पूर्णतया व्यस्त हुँदा हामी आध्यात्मिक तवरमा बलियो रहन मदत पाउनेछौं।—प्रेरित १८:५.

ढाल, टोप र तरबार

९. ठूलो ढालले रोमी सिपाहीलाई कस्तो सुरक्षा प्रदान गर्थ्यो?

विश्‍वासको ढाल। “ढाल” भनेर अनुवाद गरिएको युनानी शब्दले शरीरको अधिकांश भाग ढाक्ने ठूलो ढाललाई बुझाउँछ। यसले एफिसी ६:१६ मा वर्णन गरिएको “अग्निबाण[बाट]” सुरक्षा प्रदान गर्ने थियो। बाइबलकालमा सिपाहीहरूले नर्कटले बनाइएका काँड चलाउँथे अनि त्यसमा बलिरहेको नाफ्था अर्थात्‌ पेट्रोलियमजस्ता प्रज्वलनशील पदार्थ भएको फलामको सानो डल्लो हुन्थ्यो। एक जना शास्त्रविद्‌ यी बाणहरूलाई “पुरातन युद्धका सबैभन्दा खतरनाक हतियारहरू” भनी वर्णन गर्छन्‌। यस्ता बाणहरूबाट जोगिन सिपाहीसित ठूलो ढाल नभएको खण्डमा तिनलाई गम्भीर चोटपटक लाग्न वा मृत्युसमेत हुन सक्थ्यो।

१०, ११. (क) शैतानका कस्ता “अग्निबाण[ले]” हाम्रो विश्‍वासलाई कमजोर बनाउन सक्छ? (ख) परीक्षाको बेला विश्‍वास कायम राख्नुपर्ने महत्त्वलाई येशूको उदाहरणले कसरी देखाउँछ?

१० हाम्रो विश्‍वास कमजोर बनाउन शैतानले कस्ता “अग्निबाण” चलाउँछ? त्यसले परिवारमा, काम गर्ने ठाउँमा वा स्कूलमा सतावट वा विरोध ल्याउन सक्छ। बढीभन्दा बढी भौतिक धनसम्पत्ति थुपार्ने इच्छा र अनैतिकताप्रतिको मोहले कसै-कसैलाई आध्यात्मिक विनाशतर्फ धकेलेको छ। आफूलाई त्यस्ता खतराहरूबाट जोगाउन सबैभन्दा मुख्य कुरा हामीले “विश्‍वासको ढाल [उठाउनै पर्छ]।” यहोवाबारे सिकेर, प्रार्थनाद्वारा नियमित तवरमा उहाँसित कुरा गरेर अनि उहाँले कसरी हाम्रो सुरक्षा गर्नुहुन्छ र हामीलाई आशिष्‌ दिनुहुन्छ भनी बुझेपछि विश्‍वास पैदा हुन्छ।—यहोशू २३:१४; लूका १७:५; रोमी १०:१७.

११ येशू पृथ्वीमा हुनुहुँदा उहाँले कठिन समयमा बलियो विश्‍वास हुनुपर्ने महत्त्वलाई देखाउनुभयो। उहाँले आफ्ना पिताका निर्णयहरूमा पूर्ण भरोसा राख्नुभयो अनि परमेश्‍वरको इच्छा पूरा गर्न प्रसन्‍न हुनुभयो। (मत्ती २६:४२, ५३, ५४; यूहन्‍ना ६:३८) गेतसमनीको बगैंचामा ठूलो पीडा महसुस गर्दा समेत येशूले आफ्नो पितालाई यसो भन्‍नुभयो: “मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छा बमोजिम होस्‌।” (मत्ती २६:३९) निष्ठा कायम गर्नुपर्ने र आफ्नो पितालाई आनन्दित तुल्याउनुपर्ने महत्त्वलाई येशूले कहिल्यै बिर्सनुभएन। (हितोपदेश २७:११) यहोवामाथि हाम्रो पनि त्यस्तै विश्‍वस्तता छ भने आलोचना वा विरोधले गर्दा हामी आफ्नो विश्‍वास कमजोर हुन दिनेछैनौं। बरु, परमेश्‍वरमा भरोसा राख्यौं, उहाँप्रति प्रेम देखायौं अनि उहाँका आज्ञाहरू पालन गऱ्‍यौं भने हाम्रो विश्‍वास बलियो हुनेछ। (भजन १९:७-११; १ यूहन्‍ना ५:३) कुनै पनि भौतिक इनाम वा क्षणिक शारीरिक सुखविलासलाई यहोवाले उहाँलाई प्रेम गर्नेहरूको निम्ति साँच्नुभएको आशिष्‌सित तुलना गर्न सकिंदैन।—हितोपदेश १०:२२.

१२. हाम्रो लाक्षणिक टोपले हाम्रो कुन महत्त्वपूर्ण अङ्‌गलाई जोगाउँछ र यस्तो सुरक्षा किन अत्यावश्‍यक छ?

१२ मुक्‍तिको टोप। टोपले सिपाहीको टाउको र दिमागलाई जोगाउँथ्यो जुन मानिसको बौद्धिक केन्द्रबिन्दु हो। हाम्रो मसीही आशालाई टोपसित तुलना गरिएको छ किनभने यसले हाम्रो मनलाई जोगाउँछ। (१ थिस्सलोनिकी ५:८) परमेश्‍वरको वचनको सही ज्ञानद्वारा हामीले मनको परिवर्तन गरिसकेको भए तापनि हामी अझै कमजोर छौं र हामी असिद्ध मानवहरू हौं। हाम्रो मन सजिलै भ्रष्ट हुन सक्छ। यस रीतिरिवाजका लक्ष्यहरूले हाम्रो ध्यान अलमल्याउन वा हाम्रो ईश्‍वर-प्रदत्त आशाको सट्टामा अर्कै कुरा राखिदिन सक्छ। (रोमी ७:१८; १२:२) दियाबलले “जगत्‌का सबै राज्य र तिनको गौरव” दिने प्रस्ताव राखेर येशूलाई आफ्नो लक्ष्यबाट अलमल्याउने निरर्थक प्रयास गऱ्‍यो। (मत्ती ४:८) तर येशूले त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो अनि उहाँबारे पावलले यसो भने: “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर [येशूले] क्रूसको [“शासनाको खम्बाको,” NW] शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.

१३. हाम्रो सामु राखिदिएको आशामा हामी आफ्नो विश्‍वस्तता कसरी कायम राख्न सक्छौं?

१३ येशूसित भएजस्तो विश्‍वस्तता स्वतः हुने कुरा होइन। हाम्रो सामु भएको आशामा ध्यान केन्द्रित गर्नुको सट्टा यस रीतिरिवाजको सपना तथा लक्ष्यहरूले हाम्रो मन भऱ्‍यौं भने परमेश्‍वरका प्रतिज्ञाहरूमा हाम्रो विश्‍वास कमजोर हुँदै जानेछ। समय बित्दै जाँदा हामीले आफ्नो आशा पूर्णतया गुमाउन समेत सक्छौं। अर्कोतर्फ, परमेश्‍वरका प्रतिज्ञाहरूमा हामीले नियमित तवरमा मनन गऱ्‍यौं भने हाम्रो सामु राखिदिएको आशामा निरन्तर आनन्दित रहिरहनेछौं।—रोमी १२:१२.

१४, १५. (क) हाम्रो लाक्षणिक तरबार के हो र यो कसरी चलाउन सकिन्छ? (ख) आत्माको तरबारले हामीलाई प्रलोभनको प्रतिरोध गर्न कसरी मदत गर्न सक्छ, उदाहरणसहित स्पष्ट पार्नुहोस्‌।

१४ आत्माको तरबार। बाइबलमा लिपिबद्ध परमेश्‍वरको वचन वा सन्देश, धार्मिक झूटलाई टुक्रा-टुक्रा पार्न सक्ने र राम्रो हृदय भएका मानिसहरूलाई आध्यात्मिक स्वतन्त्रता प्राप्त गर्न मदत गर्ने दुईधारे तरबारजस्तै प्रबल छ। (यूहन्‍ना ८:३२; हिब्रू ४:१२) प्रलोभनहरू वा धर्मत्यागीहरूको आक्रमणले हाम्रो विश्‍वासलाई कमजोर पार्न खोज्दा पनि यो आध्यात्मिक तरबारले हाम्रो प्रतिरक्षा गर्न सक्छ। (२ कोरिन्थी १०:४, ५) सम्पूर्ण ‘धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको’ कारण यसले हामीलाई “हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित” पार्ने हुँदा हामी कत्ति कृतज्ञ छौं!—२ तिमोथी ३:१६, १७.

१५ शैतानले येशूलाई उजाडस्थानमा प्रलोभनमा पार्दा गलत तर्क र धूर्त प्रलोभनहरूको तिरस्कार गर्न उहाँले आत्माको तरबारलाई प्रभावकारी ढङ्‌गमा चलाउनुभयो। शैतानका हरेक प्रलोभनलाई उहाँले यस्तो जवाफ दिनुभयो: “यस्तो लेखिएको छ।” (मत्ती ४:१-११) स्पेनका एक जना यहोवाका साक्षी, डेभिडले पनि प्रलोभनहरूमाथि विजयी हुन धर्मशास्त्रले मदत गरेको अनुभव गरे। तिनी १९ वर्षको हुँदा सफाइ कम्पनीमा सँगै काम गर्ने एउटी राम्री युवतीले तिनलाई “मोजमस्ती गरौं न” भन्‍ने प्रस्ताव राखिन्‌। डेभिडले उनको प्रस्ताव तिरस्कार गरे अनि यस्तो अवस्था फेरि नआओस्‌ भनेर अर्कै ठाउँमा सरुवा गराई पाऊँ भनेर सुपरिवेक्षकलाई निवेदन गरे। डेभिडले यसो भने, “मैले यूसुफको उदाहरण सम्झें। तिनले अनैतिकतालाई तिरस्कार गरे अनि त्यहाँबाट तुरुन्तै भागे। मैले पनि त्यसै गरें।”—उत्पत्ति ३९:१०-१२.

१६. ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न’ हामीलाई किन प्रशिक्षण चाहिन्छ, वर्णन गर्नुहोस्‌।

१६ अरूलाई शैतानको नियन्त्रणबाट मुक्‍त हुने मदत दिन पनि येशूले आत्माको तरबार चलाउनुभयो। येशूले यसो भन्‍नुभयो, “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” (यूहन्‍ना ७:१६) येशूको निपुण शिक्षा अनुकरण गर्न हामीलाई प्रशिक्षण चाहिन्छ। रोमी सिपाहीहरूबारे यहूदी इतिहासकार जोसेफसले यस्तो लेखे: “सबै सिपाहीहरूलाई युद्धमा लडिरहेझैं गरी खुबै लगनशील भई दिनहुँ व्यायाम गर्न लगाइन्छ र यसैकारणले गर्दा तिनीहरू लडाइँमा त्यति सजिलै थकित हुँदैनन्‌।” हाम्रो आध्यात्मिक युद्धमा हामीले बाइबल प्रयोग गर्नुपर्छ। यसबाहेक, “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न” गर्नै पर्छ। (२ तिमोथी २:१५) अनि जिज्ञासु व्यक्‍तिले सोधेको निष्कपट प्रश्‍नको जवाफ दिन धर्मशास्त्रको प्रयोग गर्दा हामी कत्ति धेरै सन्तुष्टि महसुस गर्छौं!

हरसमय प्रार्थना गर्नुहोस्‌

१७, १८. (क) शैतानको प्रतिरोध गर्न प्रार्थनाले कस्तो भूमिका खेल्छ? (ख) प्रार्थनाको महत्त्व बुझाउन एउटा उदाहरण दिनुहोस्‌।

१७ सारा आध्यात्मिक हात-हतियारबारे छलफल गरिसकेपछि पावलले एउटा अर्को महत्त्वपूर्ण सल्लाह पनि दिन्छन्‌। शैतानको प्रतिरोध गर्दा मसीहीहरूले “सारा प्रार्थना र अन्तरबिन्ती” गर्नुपर्छ। कति चोटि? “हर समय आत्मामा प्रार्थना” गर भनी पावलले लेखे। (एफिसी ६:१८) प्रलोभन, परीक्षा वा निराशाको सामना गर्नुपर्दा प्रार्थनाले हामीलाई अत्यन्तै सुदृढ बनाउन सक्छ। (मत्ती २६:४१) येशूले “बेसरी कराई, आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्‍तिको भयले गर्दा उहाँको सुनाइभयो।”—हिब्रू ५:७.

१८ गम्भीर बिरामी भएका आफ्ना पतिको हेरचाहमा १५ वर्ष बिताइसकेकी मिलाग्रोस यसो भन्छिन्‌: “निराश हुँदा म प्रार्थनामा यहोवालाई पुकार्छु। उहाँले भन्दा बढी अरू कसैले पनि मलाई मदत गर्न सक्दैन। हो, कहिलेकाहीं मलाई अब सहन सक्दिनँ होला जस्तो पनि लाग्छ। तर यहोवालाई प्रार्थना गरेपछि मैले बारम्बार थप बलका साथै नयाँ जोस प्राप्त गरेको महसुस गरेकी छु।”

१९, २०. शैतान विरुद्धको लडन्तमा विजयी हुन हामीलाई के चाहिन्छ?

१९ आफ्नो समय अल्प छ भनेर दियाबललाई थाह छ र यसैकारण त्यसले हामीलाई परास्त गर्न आफ्ना प्रयासहरू तीव्र पार्छ। (प्रकाश १२:१२, १७) हामीले यो शक्‍तिशाली शत्रुको प्रतिरोध गर्नुपर्छ अनि “विश्‍वासको उत्तम लड़न्त” लड्‌नुपर्छ। (१ तिमोथी ६:१२) यसो गर्न हामीलाई असामान्य शक्‍ति चाहिन्छ। (२ कोरिन्थी ४:७, NW) हामीलाई परमेश्‍वरको पवित्र आत्माको मदत पनि चाहिने हुँदा यसको लागि प्रार्थना गर्नुपर्छ। येशूले यसो भन्‍नुभयो: “तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ”!—लूका ११:१३.

२० स्पष्टतः, यहोवाले प्रदान गर्नुहुने सारा हात-हतियार हामीले धारण गर्नु अत्यावश्‍यक छ। यो आध्यात्मिक हात-हतियार धारण गर्न हामीले विश्‍वास र धार्मिकताजस्ता ईश्‍वरीय गुणहरू विकास गर्नुपर्छ। यसो गर्न हामीले कसिलो गरी बाँधेझैं सत्यलाई प्रेम गर्नुपर्छ, हरेक अवसरमा सुसमाचार अरूलाई बताउन तयार हुनुपर्छ अनि हाम्रो सामु राखिदिएको आशालाई कहिल्यै बिर्सनु हुँदैन। हामीले आत्माको तरबार निपुणतापूर्वक चलाउन सिक्नै पर्छ। परमेश्‍वरका सारा हात-हतियार धारण गरेर हामी दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्धको लडन्तमा विजयी हुन सक्छौं अनि यहोवाको पवित्र नाउँलाई साँच्चै महिमित पार्न सक्छौं।—रोमी ८:३७-३९.

[फुटनोट]

a यशैयाको भविष्यवाणीमा यहोवालाई “धर्मको झिलम” लगाउनुभएको भनी वर्णन गरिएको छ। त्यसकारण मण्डलीका निरीक्षकहरूले न्याय गरेको र धार्मिक व्यवहार गरेको उहाँ चाहनुहुन्छ।—यशैया ५९:१४, १५, १७.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आध्यात्मिक हात-हतियार धारण गर्ने सन्दर्भमा सर्वोत्तम उदाहरण कसले बसालेको छ र त्यो उदाहरणलाई हामीले किन ध्यान दिएर विचार गर्नुपर्छ?

• हामी आफ्नो मन र लाक्षणिक हृदयलाई कसरी जोगाउन सक्छौं?

• आत्माको तरबार चलाउन हामी कसरी निपुण हुन सक्छौं?

• हामीले किन हरसमय प्रार्थना गरिरहनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएका चित्रहरू]

लगनशील बाइबल अध्ययनले हामीलाई हरअवसरमा सुसमाचार घोषणा गर्न उत्प्रेरित गर्न सक्छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

हाम्रो निश्‍चित आशाले हामीलाई परीक्षाहरू सामना गर्न मदत गर्छ

[पृष्ठ १९-मा भएका चित्रहरू]

के तपाईं सेवकाईमा “आत्माको तरवार” चलाउनुहुन्छ?