सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

मोशालाई दिइएको व्यवस्थाले केही खास विदेशीहरूसित बिहेबारी नगर्नू भनी बताएको भए तापनि इस्राएली पुरुषहरूलाई किन युद्धबन्दी स्त्रीहरूसित विवाह गर्न अनुमति दिइएको थियो?—व्यवस्था ७:१-३; २१:१०, ११.

यसो गर्न अनुमति दिनुमा विशेष अवस्था समावेश भएको हुनुपर्छ। कनान देशका सातवटा राष्ट्रलाई नाश गर्न र त्यसका सबै बासिन्दाहरूलाई मार्न यहोवाले इस्राएलीहरूलाई आज्ञा दिनुभएको थियो। (व्यवस्था २०:१५-१८) अरू राष्ट्रहरूको सन्दर्भमा भने बचाइएका वयस्कहरूमा सम्भवतः युद्धबन्दी कन्याकेटीहरू मात्र थिए। (गन्ती ३१:१७, १८; व्यवस्था २०:१४) इस्राएली पुरुषले यस्ती स्त्रीसित विवाह गर्न सक्थे तर त्यस स्त्रीले केही खास कदमहरू चालेको खण्डमा मात्र यसो गर्न सकिन्थ्यो।

ती स्त्रीहरूले चाल्नुपर्ने कदमबारे बाइबल यसो भन्छ: “स्त्रीले चाहिं आफ्नो कपाल खौरोस्‌ र नङ्‌ग काटोस्‌। त्यसपछि त्यसले कैदमा हुँदा लगाएको लुगा फेरेर त्यही घरमा बसी पूरा एक महीनासम्म आफ्ना बाबु-आमाको निम्ति विलाप गरोस्‌। त्यसपछि ती दुइको सम्बन्ध हुनसक्छ र ती दुइ लोग्नेस्वास्नी भएर बस्नसक्छन्‌।”—व्यवस्था २१:१२, १३.

इस्राएलीले विवाह गर्न चाहेको युद्धबन्दी कन्याकेटीले आफ्नो कपाल खौरनुपर्थ्यो। कपाल खौरनु शोक वा दुःखको अभिव्यक्‍ति थियो। (यशैया ३:२४) उदाहरणका लागि, आफ्ना सारा छोराछोरी र सम्पत्ति गुमाउनुपर्दा कुलपिता अय्यूबले शोकको चिह्नस्वरूप आफ्नो कपाल खौरे। (अय्यूब १:२०) विदेशी स्त्रीले आफ्नो नङ काट्‌नुपर्थ्यो, सायद ‘आफ्नो नङ ताछ्‌नुपर्थ्यो’ ताकि नङमा पालिस लगाएको भए तापनि तिनको हात आकर्षक देखिने थिएन। (व्यवस्था २१:१२, नक्स) युद्धबन्दी स्त्रीले फेर्नुपर्ने “कैदमा हुँदा लगाएको लुगा” के थियो? हार्नै आँटेको बेला आफ्ना असल-असल लुगाहरू लगाउनु मूर्तिपूजक सहरका स्त्रीहरूको प्रचलन नै थियो। आफूलाई बन्दी बनाउनेहरूको निगाह पाउन सकिन्छ कि भन्‍ने आशामा तिनीहरू यसो गर्थे। शोक गर्दा युद्धबन्दी स्त्रीले यस्तो लुगा फेर्नुपर्ने थियो।

इस्राएली पुरुषकी पत्नी बन्‍न लागेकी युद्धबन्दी स्त्रीले एक चन्द्रमासभरि आफ्ना प्रिय मृतजनहरूका लागि शोक मनाउनुपर्थ्यो। पराजित सहरहरूलाई यति पूर्णतया विनाश गरिने थियो कि तिनको पहिलेको परिवार र सामाजिक सम्बन्धहरू केही बाँकी रहने थिएनन्‌। इस्राएली सिपाहीहरूले तिनका देवताहरूका मूर्तिहरू नाश पारिसकेको हुने हुनाले तिनले उपासना गर्ने वस्तुहरू पनि अस्तित्वमा रहने थिएनन्‌। शोक गर्ने महिनाभरिमा ती स्त्रीले आफ्नो पहिलेको धर्मका सबै क्रियाकलापहरूबाट आफूलाई मुक्‍त गरेर आफैलाई शुद्ध पार्न सक्थिन्‌।

यद्यपि, साधारण विदेशी स्त्रीहरूको सन्दर्भमा भने कुरा बेग्लै थियो। तिनीहरूबारे यहोवाले यस्तो आज्ञा दिनुभयो: “तिनीहरूसँग बिहेबारी नगर्नू। तिमीहरूका छोरा-छोरीहरूले तिनीहरूका छोरा-छोरीहरूका बीच बिहेबारीको सम्बन्धै नराखून्‌।” (व्यवस्था ७:३) यस्तो बन्देज लगाउनुको कारण के थियो? व्यवस्था ७:४ यसो भन्छ: “किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताका पूजा गर्न लाउनेछन्‌।” त्यसैले, यस्तो प्रतिबन्ध लगाउनुको उद्देश्‍य इस्राएलीहरूलाई धार्मिक अशुद्धताबाट जोगाउनु थियो। तथापि, व्यवस्था २१:१०-१३ मा वर्णन गरिएको अवस्थाकी विदेशी स्त्रीले यस्तो खतरा ल्याउने सम्भावना हुँदैनथ्यो। तिनका सबै नातेदारहरू मरिसकेका हुन्थे र तिनका देवताहरूको प्रतिनिधित्व गर्ने मूर्तिहरू नष्ट भइसकेका हुन्थे। झूटो धर्म मान्‍नेहरूसित तिनको कुनै सम्बन्ध हुँदैनथ्यो। यस्तो अवस्थामा एक जना इस्राएलीलाई विदेशीसित विवाह गर्न अनुमति दिइएको थियो।