प्रभुको प्रार्थना तपाईंको लागि यसको अर्थ
प्रभुको प्रार्थना तपाईंको लागि यसको अर्थ
डाँडाको उपदेशमा येशू ख्रीष्टले बताउनुभएको प्रभुको प्रार्थना बाइबलमा मत्ती अध्याय ६ को पद ९ देखि १३ मा पाउन सकिन्छ। यो प्रार्थना बताउनुभन्दा ठीक अघि येशूले यसो भन्नुभयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।”—मत्ती ६:७.
कुरा स्पष्ट छ, प्रभुको प्रार्थनाको एक-एक शब्द दोहऱ्याएर भनेको येशू चाहनुहुन्नथ्यो। हुन त हो, पछि उहाँले अरू श्रोताहरूको लाभको खातिर यो प्रार्थना दोहऱ्याउनुभयो। (लूका ११:२-४) तर मत्ती र लूकाको सुसमाचारका विवरणहरूमा प्रार्थनाका शब्दहरू धेरथोर फरक छन्। यसबाहेक, पछि येशू तथा उहाँका चेलाहरूले गरेका प्रार्थनाहरूमा उहाँको नमुना प्रार्थनाका खास-खास शब्दहरू हुबहु प्रयोग गरिएनन्।
बाइबलमा किन प्रभुको प्रार्थना लिपिबद्ध गरिएको छ? यस नमुनाद्वारा येशू हामीलाई हाम्रो प्रार्थना परमेश्वरलाई कसरी स्वीकार्य हुन सक्छ भन्ने कुरा सिकाउनुहुन्छ। यस प्रार्थनामा हामी जीवनका केही आधारभूत प्रश्नहरूका जवाफ पनि पाउँछौं। त्यसकारण आउनुहोस्, हामी प्रभुको प्रार्थनाको हरेक भागलाई केलाएर हेरौं।
परमेश्वरको नाउँ के हो?
“हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) नमुना प्रार्थनाको सुरुका यी शब्दहरूले हामीलाई ‘हाम्रा पिता’ भनी परमेश्वरलाई सम्बोधन गरेर उहाँको नजिक हुन मदत गर्छ। एक जना बालक आफ्नो मायालु तथा बुज्झकी बुबाप्रति स्वतः आकर्षित भएझैं उहाँ हाम्रो प्रार्थना सुन्न चाहनुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै हामी स्वर्गमा बस्नुहुने हाम्रो पितालाई पुकार्न सक्छौं। राजा दाऊदले यसो भनेर गाए: “हे प्रार्थना सुन्नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्।”—भजन ६५:२.
येशू हामीलाई परमेश्वरको नाउँ पवित्र पार्न वा पवित्र भनी अलग्गै छुट्याउनको लागि प्रार्थना गर्न सिकाउनुहुन्छ। तर परमेश्वरको नाउँ के हो? बाइबलले यी शब्दहरूमा जवाफ दिन्छ: “तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” भजन ८३:१८) के तपाईंले कहिल्यै बाइबलमा यहोवाको नाउँ पढ्नुभएको छ?
(वास्तवमा भन्ने हो भने, परमेश्वरको नाउँ यहोवा, पुरातन बाइबल पाण्डुलिपिहरूमा झन्डै ७,००० पटक प्रयोग गरिएको छ। तथापि, कोही-कोही अनुवादकहरूले आ-आफ्नो बाइबल संस्करणहरूबाट यस नाउँलाई नै हटाइदिएका छन्। त्यसकारण पनि हाम्रो सृष्टिकर्ताको नाउँ पवित्र पार्न हामीले प्रार्थना गर्नु उचित छ। (इजकिएल ३६:२३) यस किसिमको प्रार्थना अनुरूप चल्ने एउटा तरिका परमेश्वरलाई प्रार्थना गर्दा यहोवा नाउँ प्रयोग गर्नु हो।
पट्रिसीया नाउँकी एक जना महिला क्याथोलिक परिवारमा हुर्केकी थिइन् र तिनलाई प्रभुको प्रार्थना राम्रोसँग थाह थियो। यहोवाको एक जना साक्षीले तिनलाई बाइबलमा परमेश्वरको नाउँ देखाउँदा तिनले कस्तो प्रतिक्रिया देखाइन्? तिनले यस्तो उद्गार व्यक्त गरिन्, “मैले त पत्याउनै सकिनँ! त्यसैकारण मैले यो नाउँ आफ्नै बाइबलमा हेरें र त्यहाँ पनि रहेछ। त्यसपछि साक्षीले मलाई मत्ती ६:९, १० देखाइन् र प्रभुको प्रार्थनामा परमेश्वरको नाउँलाई सङ्केत गरिएको छ भनी बताइन्। म खुसीले अत्यन्तै दङ्ग परेकी थिएँ र मलाई बाइबल अध्ययन गराउन मैले उनलाई आग्रह गरें।”
परमेश्वरको इच्छा पृथ्वीमा पूरा हुनेछ
“तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:१०) येशूको नमुना प्रार्थनाको यो अंश कसरी पूरा हुनेछ? अधिकांश मानिसहरू स्वर्गलाई शान्ति र आनन्द भएको ठाउँको रूपमा कल्पना गर्छन्। धर्मशास्त्रले स्वर्गलाई यहोवाको “पवित्र बासस्थान” भनी उल्लेख गर्छ। (यशैया ६३:१५) त्यसैकारण त हामी “स्वर्गमाझैं” यस पृथ्वीमा परमेश्वरको इच्छा पूरा होस् भनेर प्रार्थना गर्छौं! तर के यो कहिल्यै हुन सक्ला?
यहोवाको अगमवक्ता दानियलले यस्तो भविष्यवाणी गरे: “स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै [पार्थिव] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) यो स्वर्गीय राज्य अथवा सरकारले चाँडै धार्मिक शासनअन्तर्गत विश्वशान्ति ल्याउन कदम चाल्नेछ।—२ पत्रुस ३:१३.
परमेश्वरको राज्य आओस् र उहाँको इच्छा यस पृथ्वीमा पूरा होस् भनेर प्रार्थना गर्नु भनेको विश्वासको अभिव्यक्ति हो र यसले निराश गराउँदैन। मसीही प्रेरित यूहन्नाले यस्तो लेखे: “सिंहासनबाट यसो भन्ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।’ ” प्रकाश २१:३-५.
त्यसपछि यूहन्नाले अझ यसो भने, “औ सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, . . . ‘लेख, किनकि यी कुराहरू विश्वासयोग्य र सत्य छन्।’ ”—प्रार्थना र हाम्रा भौतिक आवश्यकताहरू
नमुना प्रार्थनामा येशूले भन्नुभएका कुराबाट प्रार्थना गर्दा हाम्रो प्रमुख चासोको कुरा परमेश्वरको नाउँ र उहाँको इच्छासित सम्बन्धित हुनुपर्छ भनी उहाँले देखाउनुभयो। यद्यपि, नमुना प्रार्थनामा उचित ढङ्गमा यहोवालाई गरिएका व्यक्तिगत बिन्तीहरू पनि छन्।
यीमध्ये पहिलो हो: “हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्।” (मत्ती ६:११) यो भौतिक सम्पत्तिको लागि गरिएको बिन्ती होइन। येशूले हामीलाई “दिनदिनै हाम्रा दिनहुँको भोजन[को]” लागि प्रार्थना गर्न प्रोत्साहित गर्नुभयो। (लूका ११:३) प्रभुको प्रार्थना अनुरूप हामीले परमेश्वरलाई प्रेम गर्नुका साथै उहाँको आज्ञा पालन गऱ्यौं भने, उहाँले हाम्रा दैनिक आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भन्ने कुरामा विश्वस्त हुँदै प्रार्थना गर्न सक्छौं।
आर्थिक समस्याहरूबारे अनावश्यक चिन्ता गर्दा त्यसले हामीलाई हाम्रो आध्यात्मिक आवश्यकता बेवास्ता गर्न लगाउन सक्छ र यसो गर्दा परमेश्वरले हामीबाट चाहनुहुने कुरा गर्नदेखि हामी चुक्छौं। तर जीवनमा परमेश्वरको उपासनालाई प्राथमिकता दियौं भने, खाना र लत्ताकपडाजस्ता भौतिक आवश्यकताहरूको लागि हामीले गर्ने बिन्ती अवश्य सुनुवाइ हुनेछ भन्ने कुरामा हामी पक्का हुन सक्छौं। येशूले यसो भन्नुभयो: “पहिले उहाँको राज्य र [परमेश्वरको] धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:२६-३३) परमेश्वरको धार्मिकता खोज्नु सजिलो छैन किनभने हामी सबै जना पापी छौं र हामीलाई क्षमा चाहिन्छ। (रोमी ५:१२) प्रभुको प्रार्थनाले यो कुरा पनि समेटेको छ।
हाम्रा प्रार्थना तथा क्षमा
“हाम्रा अपराध [ “ऋण,” NW] क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई [ “ऋणीहरू,” NW] क्षमा गरेका छौं।” (मत्ती ६:१२) लूकाले लिपिबद्ध गरेको प्रभुको प्रार्थनामा यस “ऋण[लाई]” “पाप” भनेर सङ्केत गरिएको छ। (लूका ११:४) के यहोवा परमेश्वरले साँच्चै हाम्रो पाप क्षमा गर्नुहुनेछ?
पुरातन इस्राएलका राजा दाऊदले गम्भीर पापहरू गरे तापनि तिनले पश्चात्ताप गरे र निर्धक्क भई यस्तो प्रार्थना गरे: “हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्छ, र तपाईंलाई पुकार गर्नेहरू सबैलाई तपाईंको प्रेम प्रशस्त रहन्छ।” (भजन ८६:५, NRV) कस्तो सान्त्वनादायी विचार! स्वर्गमा बस्नुहुने हाम्रो पिता पश्चात्तापी मनोभावसहित उहाँलाई पुकारा गर्ने व्यक्तिहरूको पाप “क्षमा गर्न” तयार हुनुहुन्छ। जसरी ऋण पूर्णतया मिनाहा गर्न सकिन्छ त्यस्तै गरी यहोवा परमेश्वरले हाम्रो पाप पूर्णतया क्षमा गर्न सक्नुहुन्छ।
तथापि, येशूले एउटा सर्त बताउनुभयो: परमेश्वरद्वारा क्षमा पाउनको लागि हामीले पनि अरूलाई क्षमा गर्नै पर्छ। (मत्ती ६:१४, १५) आफ्ना तीन जना साथीले धर्मी पुरुष अय्यूबलाई दुर्व्यवहार गरे तापनि उनी क्षमाशील थिए र तिनीहरूका लागि समेत प्रार्थना गरिदिए। (अय्यूब ४२:१०) हामी विरुद्ध पाप गर्ने व्यक्तिहरूलाई क्षमा गऱ्यौं भने, हामीले परमेश्वरलाई प्रसन्न तुल्याउनेछौं र उहाँको करुणाबाट लाभ उठाउन सक्नेछौं।
हाम्रा बिन्तीहरू सुन्न परमेश्वरको इच्छुकताले हामीलाई उहाँको अनुमोदन खोज्न झकझकाउनुपर्ने हो। अनि असिद्ध भए तापनि हामी यसो गर्न सक्छौं। (मत्ती २६:४१) अत्यावश्यक बिन्तीसहित नमुना प्रार्थना टुङ्ग्याएर येशूले देखाउनुभएझैं यस सन्दर्भमा पनि यहोवाले हामीलाई मदत गर्न सक्नुहुन्छ।
धर्मी मार्ग पछ्याउन मदत
“हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्।” (मत्ती ६:१३) यहोवाले हामीलाई परीक्षा वा प्रलोभनको समयमा त्यसै छोड्नुहुन्न वा पापमा फस्न लगाउनुहुन्न। उहाँको वचन यसो भन्छ: “कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” (याकूब १:१३) परमेश्वरले हामीलाई प्रलोभनमा पर्न दिनुहुन्छ तर उहाँले हामीलाई शैतान अर्थात् दियाबल भनेर चिनिने “दुष्ट” प्रमुख प्रलोभकबाट बचाउन सक्नुहुन्छ।
प्रेरित पत्रुसले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।” (१ पत्रुस ५:८) वास्तवमा भन्ने हो भने, शैतानले सिद्ध मानिस येशू ख्रीष्टलाई समेत प्रलोभन देखायो! दियाबलको उद्देश्य के थियो? येशूलाई यहोवा परमेश्वरको शुद्ध उपासनाबाट तर्काउने। (मत्ती ४:१-११) यदि तपाईंले परमेश्वरको सेवा गर्न खोजिरहनुभएको छ भने, शैतानले तपाईंलाई पनि निल्न खोज्नेछ!
१ यूहन्ना ५:१९) त्यसकारण मदतको लागि परमेश्वरलाई निरन्तर पुकारिरहनु अत्यावश्यक छ। विशेष गरी कुनै एउटा प्रलोभन हामीले बारम्बार सामना गर्नुपर्दा यसो गर्नु महत्त्वपूर्ण छ। अनि यहोवाको प्रेरित वचन बाइबलअनुसार उहाँको उपासना गऱ्यौं भने, दियाबलको प्रतिरोध गर्न मदत गर्नुभएर उहाँले हामीलाई छुटाउनुहुनेछ। बाइबल हामीलाई यसो भन्छ, “परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन।”—१ कोरिन्थी १०:१३.
आफ्नो अधीनमा भएको संसारलाई चलाएर दियाबलले हामीलाई परमेश्वरलाई मन नपर्ने क्रियाकलापहरूमा मुछिन प्रलोभित गर्न सक्छ। (परमेश्वरमाथिको विश्वास अत्यावश्यक छ
स्वर्गमा बस्नुहुने हाम्रो पिताले हामी प्रत्येकमा चासो राख्नुहुन्छ भन्ने कुरा थाह पाउनु कत्ति हृदयस्पर्शी कुरा हो! हामीलाई प्रार्थना गर्ने तरिका सिकाउन उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई चलाउनुभयो। यो कुरा थाह पाउँदा हामी यहोवा परमेश्वरलाई प्रसन्न तुल्याउन चाहन्छौं। हामी कसरी यसो गर्न सक्छौं?
बाइबल यसो भन्छ: “विना विश्वास [परमेश्वरलाई] रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।” (हिब्रू ११:६) यस्तो विश्वास कसरी प्राप्त गर्न सकिन्छ? बाइबल यसो भन्छ, “विश्वास सुनाइबाट . . . आउँछ।” (रोमी १०:१७) साँचो विश्वाससहित परमेश्वरको सेवा गर्न चाहने सबैसित यहोवाका साक्षीहरूले खुसीसाथ बाइबलमा आधारित कुराकानी गर्छन्।
आशा छ, प्रभुको प्रार्थनाबारे गरिएको यस छलफलले यसको अर्थप्रति तपाईंको समझलाई अझ गहिरो बनायो होला। यहोवा तथा “उहाँलाई खोज्नेहरूलाई” उहाँले दिनुहुने प्रतिफलहरूबारे थप ज्ञान हासिल गरेर तपाईं परमेश्वरमाथिको आफ्नो विश्वास बलियो बनाउन सक्नुहुन्छ। स्वर्गमा बस्नुहुने पितासितको घनिष्ठ सम्बन्धबाट सधैं आनन्द उठाउनको लागि उहाँ र उहाँका उद्देश्यहरूबारे अझ धेरै कुरा तपाईंले सिक्न सकून्।—यूहन्ना १७:३.
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्। औ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्।”—मत्ती ६:९-१३
[पृष्ठ ७-मा भएको चित्र]
यहोवालाई प्रेम गर्ने व्यक्तिहरूका आवश्यकताहरू उहाँले पूरा गर्नुहुन्छ
[पृष्ठ ७-मा भएको चित्र]
दियाबलको प्रतिरोध गर्न पनि परमेश्वरले हामीलाई मदत गर्नुहुन्छ
[पृष्ठ ७-मा भएको चित्र]
हामी विरुद्ध पाप गर्ने व्यक्तिहरूलाई अय्यूबले जस्तै क्षमा गऱ्यौं भने, हामी परमेश्वरको कृपबाट लाभ उठाउन सक्छौं