खेल मात्र होइन
खेल मात्र होइन
बच्चाहरू खेल्न भनेपछि त हुरुक्कै हुन्छन्। तर “यो मामुली अथवा बेकारको क्रियाकलाप भने होइन” भनी द डिभेलोपिङ्ग चाइल्ड (अङ्ग्रेजी) शीर्षकको पुस्तक बताउँछ। “यो एउटा यस्तो क्रियाकलाप हो जसले बच्चाका अधिकांश मानसिक क्षमताहरूको विकास गर्न सक्छ।” खेलेर नै बच्चाहरूले आफ्ना ज्ञानेन्द्रियहरूको प्रयोग गर्न सिक्छन्, वरपरको परिवेश बुझ्छन् अनि अरूसित अन्तरक्रिया गर्छन्।
चार-पाँच वर्षदेखि नै बच्चाहरूले ठूलाहरूको नक्कल गरेर खेल्न सुरु गर्ने गर्छन्। येशूले एक पटक खेलिरहेका बच्चाहरूबारे बताउनुभयो। कोही-कोही “बिहे” गरेर खेल्न रुचाउँथे भने कोही चाहिं “अत्येष्टिको” खेल खेल्न रुचाउँथे र तिनीहरू एक-अर्कासित झगडा पनि गर्थे किनकि कोही-कोही खेलमा भाग लिन चाहँदैनथे। (मत्ती ११:१६, १७) यस्तो प्रकारको खेलले हुर्किरहेका बच्चाहरूको दिमागमा महत्त्वपूर्ण कुराहरू ठप्प बस्न ठूलो योगदान पुऱ्याइरहेको हुन सक्छ।
यस पृष्ठमा देखाइएको चित्रमा बच्चाहरू बाइबल शिक्षक र विद्यार्थीको नक्कल गर्दै खेलिरहेका छन्। तिनीहरू साँच्चै बाइबल अध्ययन गरिरहेका छैनन् तर बाइबलको सन्देश सुनाउनुपर्छ भन्ने कुरा चाहिं तिनीहरूको दिमागमा ठप्प बसेको छ। अनि यो शिक्षा महत्त्वपूर्ण छ किनकि येशूले आफ्ना सबै अनुयायीहरूलाई चेला बनाउन र उहाँले तिनीहरूलाई सिकाएका सबै कुराहरू मानिसहरूलाई सिकाउने आज्ञा दिनुभयो।—मत्ती २८:१९, २०.
बाइबल अध्ययन गरेको, भाषण दिएको अथवा घर-घर प्रचार गएको नक्कल गर्न चाहने बच्चाहरूका आमाबाबुहरूले आफैमा गर्व गर्न सक्छन्। स्वाभाविकतः बच्चाहरूले आफू वरपरका ठूला मानिसहरूको देखासिकी गर्ने गर्छन्। बच्चाहरूले खेल्ने बाइबल खेलहरूले तिनीहरू “प्रभुको शिक्षा र चेताउनीमा” हुर्काइएका छन् भन्ने कुराको सङ्केत दिन्छ।—एफिसी ६:४.
बच्चाहरू पनि साँचो उपासनामा सहभागी होऊन् भन्ने यहोवा चाहनुहुन्छ। व्यवस्था पढिंदा “बालक[हरूलाई]” पनि समावेश गर्ने आज्ञा उहाँले मोशालाई दिनुभयो। (व्यवस्था ३१:१२) यदि बच्चाहरूले आफूलाई सामेल गरिएको महसुस गर्छन् भने तिनीहरूको खेलले साँच्चै यस्तै कुरा झल्काउनेछ। अनि परमेश्वरको सेवक बनेर कुनै बच्चा खेल्छ भने यो भविष्यमा परमेश्वरको सेवक बन्न उसले चालेको पहिलो कदम हुनेछ।