सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनभर काम लागेको शिक्षा

जीवनभर काम लागेको शिक्षा

जीवनी

जीवनभर काम लागेको शिक्षा

ह्‍यारोल्ड ग्लुयासको वृत्तान्तमा आधारित

मेरो बाल्यकालको एउटा दृश्‍य अहिले ७० वर्षभन्दा धेरै समय बितिसक्दा पनि मलाई अझै झलझली याद आँउछ। म आमासँगै भान्छामा बसेर “सिलोन चिया” भनी लेखिएको लेबल हेर्दै थिएँ। त्यसमा सिलोनको (अहिले श्रीलङ्‌का) लहलहाउँदो चियाबारीमा पात टिपिरहेका केही केटीहरूको चित्र पनि थियो। हाम्रो घर भएको दक्षिणी अस्ट्रेलियाको सुक्खा इलाकाबाट कता हो कता टाढाको त्यो दृश्‍यले मेरो कल्पनाशक्‍तिलाई जगायो। सिलोन कति सुन्दर र रोमाञ्चकारी होला! आफ्नो जीवनको ४५ वर्ष मिसनरीको रूपमा त्यही अति सुन्दर टापुमा बिताउनेछु भनेर मलाई त्यतिबेला के थाह!

अप्रिल १९२२ मा मेरो जन्म भएको थियो र त्यतिबेलाको संसार आजभन्दा एकदमै फरक थियो। हाम्रो परिवार किम्बा भन्‍ने सानो दुर्गम सहर नजिकैको इलाकामा खेतीपाती गर्थ्यो, यो ठाउँ विशाल अस्ट्रेलियाली महादेशको मध्य भाग र पूरै मरुभूमि भएको दक्षिणी भागको किनारामा पर्थ्यो। जीवन कष्टदायी थियो, अनिकाल, कीरा-फट्याङ्‌ग्राको महामारी र असह्‍य गर्मीसित निरन्तर सङ्‌घर्ष गरिरहनु पर्थ्यो। टिनको सानो झुपडीमा रहेका हामी छ जना छोराछोरी र बुबाको हेरचाह गर्न आमा निक्कै मेहनत गर्नुहुन्थ्यो।

तर मेरो लागि त्यो ग्रामीण इलाका स्वतन्त्रता र रोमाञ्चले भरिएको ठाउँ थियो। ठिटो छँदा जब्बर बैलगाडाले जङ्‌गली झाडी सोतर बनाएको वा बौलाएर आउने हुरीले उडाउने धूलोले पूरै बस्तीलाई ढाकेको हेर्दा मलाई एकदमै अचम्म लाग्थ्यो। त्यसैले साँच्चै भन्‍ने हो भने म स्कूल जान थाल्नुअघि नै जीवनसम्बन्धी थुप्रै शिक्षा पाउन थालिसकेको थिएँ अनि हाम्रो इलाकाको स्कूल मेरो घरबाट ५ किलोमिटर टाढा र शिक्षकको नाउँमा जम्मा एक जना हुनुहुन्थ्यो।

मेरो आमाबाबु धर्ममा आस्था राख्नुहुन्थ्यो तर उहाँहरू चर्च भने कहिल्यै जानुभएन र यसको एउटा मुख्य कारण हाम्रो खेतबाट सहर टाढा थियो। यद्यपि, सन्‌ १९३० को दशकको सुरुतिर आमाले एडलेडको रेडियो स्टेसनबाट हरेक हप्ता प्रसारण हुने जज रदरफोर्डको बाइबल भाषण सुन्‍न थाल्नुभयो। मैले जज रदरफोर्ड एडलेडको एक जना प्रचारक होला भन्ठानेको थिएँ र मलाई यसमा खासै चासो थिएन। तर आमा भने हरेक हप्ता रदरफोर्डको प्रसारण सुन्‍न उत्सुक हुनुहुन्थ्यो र ब्याट्रीबाट चल्ने पुरानो थोत्रो रेडियोमा कान थापेर सुन्‍नुहुन्थ्यो।

एक दिनको कुरा हो, बुङ्‌बुङ्‌गती धूलो उडेको गर्मीको दिनमा हाम्रो घरअगाडि एउटा पुरानो ट्रक रोकियो र चिटिक्क परेको लुगा लगाएका दुई जना लोग्ने मान्छे त्यस गाडीबाट ओर्लिए। तिनीहरू यहोवाका साक्षीहरू थिए। आमाले तिनीहरूको सन्देश सुन्‍नुभयो र तिनीहरूले दिएका थुप्रै पुस्तकहरूको लागि अनुदान पनि दिनुभयो अनि ती पुस्तकहरू तुरुन्तै पढ्‌न थाल्नुभयो। ती पुस्तकहरूले उहाँको मनमा यति गहिरो छाप पाऱ्‍यो कि आफूले सिकेको कुरा छिमेकीहरूसित बाँड्‌न तिनीहरूकहाँ पुऱ्‍याइदिन आमाले बुबालाई आग्रह गर्नुभयो।

सकारात्मक प्रभावका फाइदाहरू

तर यसको केही समयपछि ग्रामीण इलाकाको कठोर वातावरणको कारण हामी झन्डै ५०० किलोमिटर टाढा एडलेड सहरमा बसाइँ सर्न बाध्य भयौं। हाम्रो परिवारले यहोवाका साक्षीहरूको एडलेड मण्डलीसित संगत गर्न थाल्यो र हामीले आध्यात्मिक तवरमा पनि प्रगति गऱ्‍यौं। हाम्रो बसाइँ सराइ सँगसँगै मेरो औपचारिक शिक्षा पनि अन्त भयो। मैले सात कक्षासम्म पढें र १३ वर्षको उमेरमा पढाइ छोडिदिएँ। म अलि निश्‍चिन्त स्वभावको थिएँ र केही असल भाइहरू जो अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवक थिए उनीहरूले मप्रति व्यक्‍तिगत चासो नलिएका भए सायद आध्यात्मिक कुराहरूमा पनि अघि बढ्‌न सक्ने थिइनँ।

समयको दौडान ती जोसिला भाइहरूको प्रभावको कारण मभित्र लुकेर रहेको आध्यात्मिकताप्रतिको चेतना जाग्यो। मलाई उनीहरूको संगति रमाइलो लाग्थ्यो र उनीहरूले गर्ने मेहनतको म मूल्याङ्‌कन गर्थें। त्यसैले सन्‌ १९४० मा एडलेडमा आयोजित अधिवेशनमा पूर्ण-समय सेवाको लागि प्रोत्साहित गर्दै घोषणा गरिएको बेला मैले आफ्नो नाउँ बुझाउँदा आफै छक्क परें। त्यतिबेला मैले बप्तिस्मा पनि लिएको थिइनँ र साक्षी दिने अलिकति मात्रै अनुभव थियो। यद्यपि, केही दिनपछि एडलेडभन्दा केही सय किलोमिटर टाढा भिक्टोरिया प्रान्तको वारनामबूल भन्‍ने सहरमा अग्रगामीहरूको सानो समूहमा सामेल हुने निमन्त्रणा पाएँ।

राम्ररी सोचविचार नगरी यो निर्णय गरेको भए तापनि चाँडै नै क्षेत्र सेवकाईप्रति मेरो प्रेम विकास हुन थाल्यो र यो प्रेम वर्षौंको दौडान पनि सेलाएको छैन भनी भन्‍न पाउँदा म खुसी छु। त्यो वास्तवमा मेरो लागि निर्णायक घडी थियो र त्यसपछि मैले आध्यात्मिक रूपमा साँच्चै प्रगति गर्न थालें। आध्यात्मिक कुराहरूको लागि प्रेम भएका व्यक्‍तिहरूसित घनिष्ठ हुनुको महत्त्व मैले बुझें। हाम्रो शिक्षाको बावजुद तिनीहरूको असल उदाहरणले हामीलाई कस्तो असर पार्न सक्छ र तिनीहरूबाट सिकेको पाठ जीवनभर रहन्छ भनेर मैले बुझें।

परीक्षाहरूद्वारा सुदृढ भएँ

अस्ट्रेलियामा यहोवाका साक्षीहरूको कार्यमाथि प्रतिबन्ध लगाइँदा मैले अग्रगामी सेवा सुरु गरेको केही समय मात्र भएको थियो। के गर्ने, कसो गर्ने पक्का नभएकोले अरू भाइहरूसित निर्देशन मागें र तिनीहरूले बाइबलबारे मानिसहरूलाई बताउन कुनै प्रतिबन्ध नलागेको कुरा औंल्याए। त्यसैले अन्य अग्रगामीहरूसँगै म बाइबलको सरल सन्देश लिएर घर-घर जान थालें। यसले मलाई निकट भविष्यमा आइपर्ने परीक्षाको लागि बलियो बनायो।

चार महिनापछि म १८ वर्षको भएँ र मलाई सैन्य सेवाको लागि बोलाइयो। यस अवसरमा मैले आफ्नो विश्‍वासबारे सेनाका केही अधिकारीहरू र म्याजिस्ट्रेटलाई बताउने मौका पाएँ। त्यतिबेला झन्डै २० जना भाइ तटस्थताको अडानले गर्दा झ्यालखानामा थिए र म पनि त्यही समूहमा सामेल भएँ। हामीलाई ढुङ्‌गा फोर्ने र सडक मर्मत गर्नेजस्ता कठिन कामहरूमा लगाइयो। यसले मलाई धीरज र कटिबद्धता जस्ता गुणहरू विकास गर्न मदत गऱ्‍यो। हाम्रो असल आचरण र दृढ अडानको कारण अन्ततः झ्यालखानाका थुप्रै गार्डहरूको आदर कमाउन सक्यौं।

केही महिनापछि झ्यालखानाबाट छुटेपछि मैले मीठो खाना खाएँ र फेरि अग्रगामी कार्य गर्न थालें। तथापि, अग्रगामी साथी भेट्टाउन गाह्रो थियो त्यसैले अस्ट्रेलियाको दक्षिणी भागको विकट किसानी इलाकामा म एक्लै काम गर्न सक्छु कि भनेर सोधियो। म राजी भएँ र योर्क पेनिनसुला भन्‍ने ठाउँमा पुग्न समुद्रीयात्रा गरें अनि मसित साक्षीकार्यको लागि आवश्‍यक सरसामान र एउटा साइकल मात्र थियो। म त्यहाँ आइपुग्दा एउटा इच्छुक परिवारले मलाई सानो गेस्टहाउसतर्फ देखायो र त्यहाँकी दयालु आइमाईले मलाई छोरा जस्तै व्यवहार गरिन्‌। धुलाम्मे सडक हुँदै साइकलमा दिनभरि प्रायद्वीपमा छरिएको ससाना बस्तीहरूमा म प्रचार गर्न जान्थें। टाढा-टाढाको इलाकासम्म पुग्न म कहिलेकाहीं सानो होटल वा गेस्टहाउसमै रात काट्‌थें। यसरी मैले साइकलमै सयौं किलोमिटरको दूरी पार गरें र थुप्रै राम्रा अनुभवहरू बटुलें। एक्लै सेवामा जानुपरे तापनि मलाई खासै फरक परेन किनभने यहोवाले मेरो हेरचाह गर्नुभएको महसुस गर्दा उहाँसित अझ नजिक हुन सकें।

अयोग्यताका भावनाहरूसित सङ्‌घर्ष गर्दै

सन्‌ १९४६ मा मैले भाइहरूको सेवकको (अहिले क्षेत्रीय निरीक्षक भनिन्छ) हैसियतमा परिभ्रमण कार्य गर्न निमन्त्रणा गरिएको चिठी पाएँ। यस कामअन्तर्गत आफूलाई दिइएको क्षेत्रमा रहेका मण्डलीहरू भ्रमण गर्नुपर्ने थियो। यस कार्यभारसँगै आएका जिम्मेवारीहरू मलाई साँच्चै चुनौतीपूर्ण लाग्यो। एक दिन मैले एक जना भाइले यस्तो भनेको सुनें: “ह्‍यारोल्ड त्यति राम्रो वक्‍ता त होइन तर क्षेत्रमा भने एकदमै राम्रो छ।” यस टिप्पणीले मलाई निकै प्रोत्साहित गऱ्‍यो। मलाई आफ्नो बोल्ने र संगठनात्मक क्षमताका सीमितताहरूबारे थाह थियो तर मसीहीहरूको प्रमुख कार्य भनेको प्रचारकार्य हो जस्तो लाग्थ्यो।

सन्‌ १९४७ मा यहोवाका साक्षीहरूको ब्रुक्लिनस्थित मुख्यालयका भाइहरू नेथन नर र मिल्टन हेन्सलको भ्रमणबारे सबै उत्सुक थिए। सन्‌ १९३८ मा भाइ रदरफोर्ड आएपछिको यो पहिलो भ्रमण थियो। यस भ्रमणसँगै मिलाएर सिड्‌नीमा एउटा ठूलो अधिवेशनको आयोजना गरियो। अन्य थुप्रै जवान अग्रगामीहरूजस्तै म पनि सं.रा.अ. न्यु योर्कको साउथ लान्सिङमा हालै सुरु भएको वाचटावर बाइबल स्कूल अफ गिलियडमा मिसनरी प्रशिक्षण पाउन इच्छुक थिएँ। तर हामीमध्ये थुप्रैलाई स्कूलमा भर्ती हुन आवश्‍यकता उल्लेख गरिएअनुसार शिक्षा धेरै चाहिने हो कि जस्तो लाग्यो। तथापि, भाइ नरले यदि हामीले प्रहरीधरहरा-का लेखहरू पढेर मुख्य बुँदाहरू सम्झन सक्छौं भने गिलियड स्कूलमा जान सक्छौं भनी भन्‍नुभयो।

आफ्नो सीमित शिक्षाको कारण त्यस स्कूलमा जान पाउँदिन कि जस्तो लागेको थियो। तर केही महिनापछि मैले गिलियड प्रशिक्षणको लागि आवेदन भर्न निमन्त्रणा पाउँदा छक्कै परें। अन्ततः म छानिएँ र सन्‌ १९५० मा सम्पन्‍न १६ औं कक्षामा सामेल भएँ। यो एउटा असाध्यै राम्रो अनुभव साबित भयो र यसले मेरो आत्मविश्‍वास बढाउन निकै मदत पुऱ्‍यायो। सफलताको लागि सांसारिक शिक्षा नै प्रमुख आवश्‍यकता होइन भनेर यसपछि मलाई पक्का भयो। त्यो नभई लगनशीलता र आज्ञाकारिता प्रमुख आवश्‍यकता थिए। हाम्रा प्रशिक्षकहरूले हामीलाई सकेसम्म राम्रो गर्न प्रोत्साहन दिनुहुन्थ्यो। मैले उहाँहरूको सल्लाह पालन गर्दा क्रमशः प्रगति गर्दै गएँ र कोर्समा सिकाइएका कुराहरू सबै राम्ररी बुझ्न सकें।

निर्जन महादेशबाट माणिक टापुसम्म

स्नातक भएपछि म र अस्ट्रेलियाका अरू दुई जना भाइलाई सिलोन (अहिले श्रीलंका) खटाइयो। हामी सन्‌ १९५१ सेप्टेम्बरमा राजधानी कोलोम्बो आइपुग्यौं। असाध्यै गर्मी र हप्प थियो र विभिन्‍न नयाँ दृश्‍य, आवाज र बास्नाले हाम्रा इन्द्रियहरूलाई रनभुल्लमा पाऱ्‍यो। जहाजबाट हामी जसै निस्क्यौं, त्यहाँ सेवा गरिरहेका अर्का एक जना मिसनरीले एउटा हातेपर्ची मेरो हातमा थमाउँदै स्वागत गरे र त्यसमा आउँदो आइतबार सहरको एउटा चोकमा हुने जनभाषणको विज्ञापन थियो। उक्‍त हातेपर्चीमा वक्‍ताको रूपमा मेरो नाउँ देख्दा म त वाल्लै परें! म कत्ति झसङ्‌ग भएँ होला तपाईंहरूले कल्पना गर्न सक्नुहुन्छ। तर वर्षौंसम्म अस्ट्रेलियामा गरेको अग्रगामी कार्यबाट मैले आफूलाई दिइएको कुनै पनि कार्यभार स्वीकार्न सिकेको थिएँ। यहोवाको मदत पाएर मैले सफलतापूर्वक जनभाषण दिएँ। कोलोम्बो मिसनरी घरमा भएका चार जना अविवाहित भाइलगायत हामी तीन जनाले गाह्रो सिन्हाला भाषा सिक्न थाल्यौं र क्षेत्र सेवकाईमा पनि भाग लियौं। प्रायजसो हामी एक्ला-एक्लै काम गर्थ्यौं र आदर अनि आतिथ्य देखाउने स्थानीय मानिसहरू भेट्टाउँदा खुसी भयौं। केही समय नबित्दै सभाको उपस्थितिमा वृद्धि हुन थाल्यो।

समय बित्दै जाँदा मैले एक जना राम्री अग्रगामी बहिनी सिबिलबारे गम्भीरतापूर्वक सोच्न थालें। मैले उनलाई गिलियड स्कूलको लागि जहाजमा यात्रा गर्दा भेटेको थिएँ। उनी न्यु योर्कमा सम्पन्‍न हुन लागेको अन्तरराष्ट्रिय अधिवेशनको लागि यात्रा गरिरहेकी थिइन्‌। पछि उनी गिलियडको २१ औं कक्षामा उपस्थित भइन्‌ र उनलाई सन्‌ १९५३ मा हङकङमा सेवा गर्न खटाइयो। मैले उनलाई पत्र लेख्ने निर्णय गरें र हामीले चिठीपत्र गरिरह्‍यौं र सन्‌ १९५५ मा सिबिल सिलोन आएपछि विवाह गऱ्‍यौं।

मिसनरी दम्पतीको रूपमा हाम्रो पहिलो असाइनमेन्ट श्रीलङ्‌काको उत्तरमा पर्ने जाफ्ना सहर थियो। सन्‌ १९५० को दशकको बीचतिर राजनैतिक मतभेदले सिन्हाला र तामिल समुदायहरूबीच विभाजन देखापर्न थालिसकेको थियो जसले गर्दा पछिका दशकहरूमा सशस्त्र झगडा सुरु भयो। ती कष्टदायी वर्षहरूको दौडान सिन्हाला र तामिल साक्षीहरूले एकअर्कालाई महिनौं बास दिएको हेर्न पाउनु कस्तो हृदयस्पर्शी थियो! ती परीक्षाहरूले भाइहरूको विश्‍वासलाई अझ परिष्कृत र सुदृढ बनायो।

श्रीलङ्‌कामा प्रचार गर्दै र सिकाउँदै

हिन्दू र मुस्लिम समुदायमा घुलमिल हुन धीरज र लगनशीलताको आवश्‍यकता पऱ्‍यो। तैपनि, हामीले दुवै संस्कृति र तिनीहरूका राम्रा गुणहरूको मूल्याङ्‌कन गर्न सक्यौं। स्थानीय बसहरूमा विदेशी चढेको देख्नु असामान्य भएकोले हामी चढ्‌दा मानिसहरू छक्क परेर ट्‌वाल्ल हेर्थे। सिबिलले यस्तो बेला मजाले मुस्कुराउने निर्णय गरिन्‌। ती ट्‌वाल्ल हेरिरहेकाहरूले पनि मुस्कान फर्काउँदा कस्तो आनन्द मिल्थ्यो!

एकचोटि एउटा रोडब्लकमा हामीलाई सुरक्षा जाँचको लागि रोक्यो। त्यहाँ ड्युटीमा बसेका सुरक्षाकर्मीले हामी कहाँका हौं र कहाँ जान लागेको भनी सोधेपछि तिनको प्रश्‍नहरू व्यक्‍तिगत हुन थाल्यो।

“यी महिलाचाहिं को नि?”

“मेरी श्रीमती” मैले भनें।

“बिहे गरेको कति भयो?”

“आठ वर्ष भयो।”

“बच्चाहरू छन्‌?”

“छैनन्‌।”

“आम्मै! डाक्टरलाई जँचाइसक्यो?”

सुरु-सुरुमा यस्तो जिज्ञासा देखेर हामी चकित हुन्थ्यौं तर समयमा यो स्थानीय मानिसहरूले अरूप्रति देखाउने साँचो चासो हो भनेर बुझ्यौं। साँच्चै भन्‍ने हो भने, यो तिनीहरूको राम्रा गुणहरूमध्ये एउटा थियो। कोही व्यक्‍ति सार्वजनिक स्थलमा केही मिनेट त्यतिकै उभिएमा मात्र पनि केही मदत चाहिन्छ कि भनेर दयालुपूर्वक सोध्न आइहाल्थे।

परिवर्तन र सम्झना गर्दा

वर्षौंको दौडान हामीले श्रीलङ्‌कामा मिसनरी कार्यबाहेक अन्य विभिन्‍न असाइनमेन्टहरूको पनि आनन्द उठाएका छौं। मलाई क्षेत्रीय तथा जिल्लाको काम साथै शाखा समितिको सदस्यको रूपमा सेवा गर्न पनि खटाइयो। सन्‌ १९९६ मा म ७० वर्षको भइसकेको थिएँ। मैले श्रीलङ्‌कामा मिसनरी सेवामा ४५ वर्षभन्दा बढी समय बिताइसकेको थिएँ। मैले कोलम्बोमा धाएको सबैभन्दा पहिलो सभामा २० जना जति उपस्थित थिए। अहिले त्यो संख्या बढेर ३,५०० भन्दा बढी पुगेको थियो! सिबिल र मैले तीमध्ये थुप्रैलाई हाम्रो आफ्नै आध्यात्मिक छोराछोरी र नातीनातिना ठान्थ्यौं। तैपनि देशभरि गर्नुपर्ने काम अझ धेरै बाँकी थियो र यसको लागि हामीभन्दा जवानहरूको जोस र योग्यताको आवश्‍यकता थियो। यसै कुरालाई मनमा राखेर अस्ट्रेलिया फर्कने परिचालक निकायको निमन्त्रणालाई हामीले स्वीकाऱ्‍यौं। यसरी हामीले श्रीलङ्‌का छोड्‌दा अन्य जवान दम्पतीहरू मिसनरीको रूपमा आउन सकेका छन्‌।

म अहिले ८३ वर्षको भइसकें र हामी दुवैको स्वास्थ्य राम्रै भएकोले मेरो पुरानो घर एडलेडमै विशेष अग्रगामीको रूपमा सेवा गरिरहन सकेका छौं। हाम्रो सेवकाईले हामीलाई मानसिक रूपमा टाठो र लचिलो रहन मदत गरेको छ। यस देशको एकदमै फरक जीवन शैलीअनुसार छाँटकाँट गर्न पनि हामीलाई मदत गरेको छ।

यहोवाले हाम्रा सबै भौतिक आवश्‍यकताको हेरविचार गर्नुभएको छ र स्थानीय मण्डलीका भाइबहिनीहरूले हामीलाई धेरै माया र समर्थन गर्छन्‌। मैले हालै नयाँ असाइनमेन्ट पाएँ। हाम्रो मण्डलीको सचिवको रूपमा सेवा गर्ने। यसरी विश्‍वासीपूर्वक यहोवाको सेवा गर्ने प्रयास गर्दा मेरो प्रशिक्षण अझै कायमै भएको महसुस गरेको छु। विगतलाई फर्केर हेर्दा म अझै पनि सरल, निश्‍चिन्त गाउँले ठिटोले यस्तो जीवनभर रहने अद्‌भुत शिक्षा पाएकोमा छक्क लाग्छ।

[पृष्ठ २६-मा भएको चित्र]

हाम्रो विवाहको दिन, सन्‌ १९५५

[पृष्ठ २७-मा भएको चित्र]

एक जना स्थानीय भाइ राजन काडिरगामरसँग सन्‌ १९५७ मा क्षेत्र सेवामा भाग लिंदै

[पृष्ठ २८-मा भएको चित्र]

सिबिलसँग अहिले