सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले पक्कै पाउन सक्ने एउटा पैतृक-सम्पत्ति

तपाईंले पक्कै पाउन सक्ने एउटा पैतृक-सम्पत्ति

तपाईंले पक्कै पाउन सक्ने एउटा पैतृक-सम्पत्ति

“यदि ‘कसैबाट’ तपाईंले एउटा बेवारिस पैतृक-सम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र प्राप्त गर्नुभयो भने, होसियार हुनुहोस्‌। चलाख ठगले तपाईंलाई सिकार बनाउन खोजिरहेको हुन सक्छ।”

युनाइटेड स्टेट्‌स पोस्टल इन्स्पेक्सन सर्भिस अथवा हुलाक सेवाले आफ्नो वेब साइटमा राखेको त्यो एउटा चेतावनी हो। तर किन त्यस किसिमको चेतावनी दिनुपऱ्‍यो? किनभने हजारौं मानिसहरूले हुलाकमार्फत ‘तपाईंको नातेदार बित्नुभयो र उहाँले तपाईंको लागि पैतृक-सम्पत्ति छोडिराख्नुभएको छ’ भनी लेखिएको पत्र प्राप्त गरे। पत्रमा लेखिएको कुरा पत्याएर थुप्रैले उक्‍त पैतृक-सम्पत्ति कहाँ छ र कसरी त्यसमाथि आफ्नो हकदाबी गर्न सकिन्छ, त्यसबारे बताउने कथित ‘सम्पत्ति विवरण’-को लागि शुल्कस्वरूप ३० अथवा त्योभन्दा बढी अमेरिकी डलर हुलाकमार्फत पठाए। दुःखको कुरा, तिनीहरू हिस्स परे। सबै जनाले एकै खाले रिपोर्ट प्राप्त गरे अर्थात्‌ हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं पैतृक-सम्पत्ति पाउने तिनीहरूको सम्भावना शून्य थियो।

यस्ता चालहरूले पैतृक-सम्पत्ति हासिल गर्ने मानिसहरूको स्वाभाविक इच्छाको नाजायज फाइदा उठाउँछ। यद्यपि, पैतृक-सम्पत्ति छोडिराख्ने व्यक्‍तिहरूको सराहना गर्दै बाइबल यस्तो सहमति जनाउँछ: “असल मानिसले आफ्ना सन्तानहरूका निम्ति पैतृक-सम्पत्ति छोड़िराख्छ।” (हितोपदेश १३:२२) वास्तवमा भन्‍ने हो भने, डाँडाको उपदेशबाट लिइएको प्रख्यात तथा मन पराइएको यो भनाइ स्वयम्‌ येशू ख्रीष्टकै हो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।”—मत्ती ५:५.

येशूका शब्दहरूले हामीलाई शताब्दीयौंअघि पुरातन इस्राएलका राजा दाऊद जुन कुरा लेख्न प्रेरित भएका थिए, त्यसको सम्झना गराउँछ: “नम्रहरूले देश [पृथ्वी, NW] अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:११.

“पृथ्वी अधिकार गर्नेछन्‌”—कस्तो रोमाञ्चकारी प्रत्याशा! तर मानिसहरूलाई केही कुराबाट वञ्चित गर्न रचिएको यो अर्को धूर्त चाल होइन भन्‍ने कुरामा के हामी पक्का हुन सक्छौं? अवश्‍य, हुन सक्छौं। पृथ्वी यहोवाको अद्‌भुत सृष्टिको एउटा भाग भएको हुनाले रचनाकार तथा मालिकको हैसियतमा आफूले चुनेको व्यक्‍तिलाई यो पैतृक-सम्पत्ति सुम्पने उहाँसित कानुनी अधिकार छ। राजा दाऊदमार्फत यहोवाले आफ्नो प्रिय पुत्र, येशू ख्रीष्टसित यस्तो भविष्यसूचक प्रतिज्ञा गर्नुभयो: “मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु।” (भजन २:८) त्यसैकारण त प्रेरित पावलले येशूलाई परमेश्‍वरले “सबै कुराका हकदार” नियुक्‍त गर्नुभएको छ भनी वर्णन गरे। (हिब्रू १:२) त्यसकारण, नम्रहरूले “पृथ्वीको अधिकार पाउनेछन्‌” भनी येशूले बताउनुहुँदा उहाँले निष्कपट मनसायले त्यसो भनिरहनुभएको थियो र उहाँसित आफ्नो प्रतिज्ञा पूरा गर्ने उचित अख्तियार छ।—मत्ती २८:१८.

त्यसैले महत्त्वपूर्ण प्रश्‍न हो, त्यो प्रतिज्ञा कसरी पूरा हुनेछ? आज जता हेऱ्‍यो त्यतै हिंस्रक तथा घमन्डी मानिसहरू सबैभन्दा सफल भएजस्ता देखिन्छन्‌ र आफूले चाहेको सबै कुरा तिनीहरूले प्राप्त गरिरहेजस्तो लाग्छ। त्यसोभए नम्रहरूले अधिकार गर्न के नै बाँकी रहला र? त्यति मात्र होइन, पृथ्वी प्रदूषणको गम्भीर समस्याले ग्रसित छ अनि लोभी तथा अदूरदर्शी मानिसहरूद्वारा यसका सम्पदाहरूको दुरुपयोग हुँदैछ। के यो पृथ्वी अधिकार गर्न लायकको हुनेछ होला? यो तथा अन्य महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पत्ता लगाउनको लागि हामी तपाईंलाई अर्को लेख पढ्‌न आमन्त्रित गर्छौं।

[पृष्ठ ३-मा भएको चित्र]

के तपाईंले साँच्चै पैतृक-सम्पत्ति पाउनुहुनेछ?