सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनले सहपाठीहरूलाई आफ्नो विश्‍वास बताइन्‌

तिनले सहपाठीहरूलाई आफ्नो विश्‍वास बताइन्‌

तिनले सहपाठीहरूलाई आफ्नो विश्‍वास बताइन्‌

बाइबल आधारित आफ्नो विश्‍वास अझ राम्ररी बुझाउन के तपाईं आफ्ना सहपाठीहरूलाई मदत दिनु चाहनुहुन्छ? पोल्याण्डको हाइ-स्कूलकी १८ वर्षीया छात्रा माग्डालिना एक जना यहोवाको साक्षी भएकी हुँदा आफ्नो विश्‍वासबारे अक्सर आफ्ना सहपाठीहरूसित कुरा गर्छिन्‌। फलतः तिनलाई बारम्बार यस्ता प्रश्‍नहरू सोधिन्छ ‘यहोवाको साक्षी हुनुको अर्थ के हो?’ र ‘के तिमी येशू ख्रीष्टमा विश्‍वास गर्दिनौ?’ तिनले आफ्ना सहपाठीहरूलाई कसरी मदत गर्न सकिन्‌? माग्डालिनाले डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गरिन्‌ र आफ्नो प्रार्थना अनुरूप काम गरिन्‌।—याकूब १:५.

एक दिन माग्डालिनाले आफ्नो विश्‍वासलाई आदर गर्ने एउटी शिक्षिकासित जेहोभाज्‌ विट्‌नेसेज्‌—दी अर्गनाइजेसन बिहाइन्ड द नेम भिडियो कक्षामा देखाउने अनुमति मागिन्‌। a शिक्षिकाले अनुमति दिइन्‌। त्यसपछि माग्डालिनाले आफ्ना सहपाठीहरूलाई यसो भनिन्‌: “कक्षाको लागि ९० मिनेटको एउटा कार्यक्रम प्रस्तुत गर्न म एक जना साथी बोलाउँदैछु। यसमा भिडियो प्रस्तुति र यहोवाका साक्षीहरूबारे छलफल हुनेछ। के तिमीहरू आउन चाहन्छौ?” सबैले आउँछौं भने। माग्डालिना अनि एक जना अनुभवी पूर्ण-समय प्रचारक भोएचेक उक्‍त कार्यक्रमको तयारीमा जुटे।

यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌?* शीर्षकको पुस्तिकाबाट २० मिनेट भाषण दिएर प्रस्तुति सुरु गर्ने र त्यसपछि प्रश्‍न-उत्तर छलफल गर्ने योजना थियो। त्यसपछि भिडियो चाहिं स्कूलको पुस्तकालयमा देखाइने थियो। कक्षाका सबै विद्यार्थीहरूलाई उपहारस्वरूप केही पुस्तिका, युवाजनहरूका प्रश्‍नहरू—त्यसका उपयोगी जवाफ * पुस्तक र केही पर्चा तथा पत्रिकाहरूले भरिएको एउटा ठूलो खाम दिइने थियो।

प्रस्तुतिको दिन १४ जना सहपाठी, शिक्षक र पुस्तकालयमै भएका अरू ४ जना विद्यार्थी उपस्थित भए। भोएचेकले सबैभन्दा पहिले केही पोलिस कवि तथा लेखकहरूले आफ्ना कृतिहरूमा यहोवा भन्‍ने ईश्‍वरीय नाउँ प्रयोग गरेको विषयमा बताए। उनले केही क्याथोलिक क्याटाकिज्म अथवा प्रश्‍नोत्तर-मालाहरूबारे बताए जसमा ईश्‍वरीय नाउँ उल्लेख गरिएको थियो। यहोवाका साक्षीहरूको वर्तमान गतिविधिहरूबारे बताउँदै उनले विभिन्‍न शाखा कार्यलयका पुस्तिकाहरू लगायत केही सम्मेलन भवनका फोटोहरू देखाए।

त्यसपछि एउटा जीवन्त छलफल भयो। प्रश्‍नहरूको उत्तर दिन माग्डालिना र भोएचेकले बाइबल चलाए। यसबाट स्रोताहरू प्रभावित भए अनि यहोवाका साक्षीहरू आफ्ना विचारहरू प्रचार गर्दैनन्‌ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त भए। त्यस्ता केही प्रश्‍नहरू के-के थिए अनि ती प्रश्‍नहरूको उत्तर कसरी दिइयो?

प्रश्‍न: बाइबलमा अस्पष्ट अभिव्यक्‍ति र लाक्षणिक कुराहरू प्रशस्तै छन्‌ जसलाई आ-आफ्नै किसिमले धेरै अर्थ लगाउन सकिन्छ। बाइबलअनुसार जीवन बिताउन कसरी सम्भव छ?

उत्तर: कसै-कसैको भनाइअनुसार बाइबल भनेको भोइलिन अथवा बेला जस्तै हो जसबाट आफूलाई मनपर्ने जुनसुकै धुन निकाल्न सकिन्छ। तर सोच्नुहोस्‌: यदि तपाईं कुनै भनाइबारे लेखकले के भन्‍न खोजेका हुन्‌ भनी पत्ता लगाउन चाहनुहुन्छ भने लेखकलाई नै सोध्नु बुद्धिमानी हुँदैन र? मानव कृतिका मरणशील लेखकहरू जस्तो नभई यहोवा परमेश्‍वर जीवित हुनुहुन्छ। (रोमी १:२०; १ कोरिन्थी ८:५, ६) शास्त्रपदको सन्दर्भले सही अर्थतर्फ सङ्‌केत गर्न सक्छ। यसको अतिरिक्‍त, बाइबलमा एउटै विषयलाई धेरै ठाउँहरूमा बताइएको हुँदा तुलना गर्नु पनि धेरै मदतकारी हुन्छ। यसरी सृष्टिकर्ता स्वयम्‌ले हामीलाई शास्त्रपद बुझाइरहनुभएजस्तै आफ्ना सोचाइहरूलाई परमेश्‍वरद्वारा डोऱ्‍याइन दिन सक्छौं। यसो गरेर हामी बाइबलमा बताइएअनुसार उहाँको इच्छा थाह पाउँछौं अनि उहाँको इच्छा अनुरूप जीवन बिताउन सक्छौं, होइन र?

प्रश्‍न: क्रिश्‍चियन र यहोवाका साक्षीहरूबीच के भिन्‍नता छ?

उत्तर: हामी क्रिश्‍चियन हौं! तर आफूलाई क्रिश्‍चियन भनेर मात्र दाबी गर्नुको सट्टा यहोवाका साक्षीहरू आफ्नो विश्‍वासअनुसार र आफ्नो फाइदाको लागि परमेश्‍वरले सिकाउनुहुने कुराहरू अनुरूप जीवन बिताउन प्रयत्न गर्छन्‌। (यशैया ४८:१७, १८) तिनीहरूका सबै शिक्षाहरू बाइबल आधारित भएका हुनाले तिनीहरूसित सत्य छ भनेर तिनीहरूलाई थाह छ।—मत्ती ७:१३, १४, २१-२३.

प्रश्‍न: तपाईंहरू किन पटक्कै नचिनेका व्यक्‍तिहरूसित भेट्‌नुहुन्छ अनि तिनीहरूसित कुरा गर्न जिद्दी गर्नुहुन्छ? के यसो गर्नु तिनीहरूमाथि आफ्नो विश्‍वास लाद्‌नु होइन र?

उत्तर: बाटोमा कसैले तपाईंसित मित्रैलो भएर बोल्नु अनि कुनै विषयमा तपाईंको विचार बुझ्नु के गलत हो र? (यर्मिया ५:१; सपन्याह २:२, ३) (त्यसपछि भोएचेक र माग्डालिनाले पोल्याण्डमा हालै आएको बाढीले सताएका पीडितहरूबारे परमेश्‍वर चिन्ता गर्नुहुन्छ कि हुन्‍न भनेर कसरी तिनीहरूले बटुवाहरूसित कुरा गरे भनेर प्रदर्शन गरेर देखाए।) त्यस व्यक्‍तिको विचार सुनिसकेपछि हामी बाइबलतर्फ ध्यान खिच्छौं। यदि कुनै व्यक्‍ति कुरा सुन्‍न इच्छुक छैन भने हामी शुभेच्छा व्यक्‍त गर्दै आफ्नो बाटो लाग्छौं। (मत्ती १०:११-१४) के यसो गर्नु भनेको अरूसित कुराकानी गर्न जिद्दी गरेको हो र? अथवा मानिसहरूले एक-अर्कोसित कुरा गर्नै हुँदैन र?

प्रश्‍न: तपाईंहरू किन छुट्टीहरू मनाउनुहुन्‍न?

उत्तर: बाइबलले हामीलाई मनाउन आज्ञा दिएको एउटै मात्र उत्सव हामी मनाउँछौं—त्यो हो येशू ख्रीष्टको मृत्युको स्मरणार्थ। (१ कोरिन्थी ११:२३-२६) छुट्टीहरूको सन्दर्भमा भन्‍ने हो भने तपाईंहरूले तिनीहरूको सुरुवातबारे इन्साइक्लोपीडिया तथा अन्य भरपर्दो स्रोतहरूमा पत्ता लगाउन सक्नुहुन्छ। यदि तपाईंले यसो गर्नुभएको खण्डमा हामीले यस्ता उत्सवहरू नमनाउनुको कारण सजिलै बुझ्नुहुनेछ।—२ कोरिन्थी ६:१४-१८.

अझ धेरै प्रश्‍नहरू सोधियो र जवाफ दिइयो। छलफल असाध्यै लामो भएकोले भिडियो प्रदर्शनीलाई पछि सार्नुपऱ्‍यो।

विद्यार्थीहरूको प्रतिक्रिया कस्तो थियो? माग्डालिनाबाटै सुनौं: “उरेन्ठेउला र खिसीटिउरी गर्ने केही विद्यार्थीहरूले गम्भीर प्रश्‍नहरू सोध्दा म त छक्कै परें। तिनीहरूले आफूलाई नास्तिक भने तापनि छलफलको क्रममा परमेश्‍वरप्रति आफ्नो विश्‍वास व्यक्‍त गरे!” उपस्थित भएकाहरूले खुसीसाथ उपहार स्वीकारे—जम्मा ३५ वटा किताब, ६३ वटा पुस्तिका अनि ३४ वटा पत्रिका तिनीहरूलाई वितरण गरियो।

स्कूल प्रोजेक्टले कस्तो अद्‌भुत परिणाम हासिल गऱ्‍यो! यसले माग्डालिनाका सहपाठीहरूलाई यहोवाका साक्षीहरूबारे अझ राम्ररी जान्‍न र बुझ्न मात्र होइन तर धेरै जवानहरूलाई जीवनको उद्देश्‍य के हो भनेर सोच्न प्रोत्साहित गऱ्‍यो। आफ्ना सहपाठीहरूलाई आफ्नो विश्‍वासबारे अझ बढी जान्‍न मदत गर्न किन प्रयत्न नगर्ने त?

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ३१-मा भएको चित्र]

माग्डालिना र भोएचेक छलफलको लागि तयारी गर्दै