सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू

आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू

आध्यात्मिक मूल्यमान्यताको पछि लाग्दा हुने फाइदाहरू

“जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन।”— उपदेशक ५:१०.

चाहिनेभन्दा बढी काममा घोटिंदा तनाव हुन सक्छ अनि तनावले गर्दा स्वास्थ्य-समस्याहरू हुन सक्छन्‌, कहिलेकाहीं त यसले मृत्युको मुखमै पुऱ्‍याउन सक्छ। धेरै देशहरूमा सम्बन्ध विच्छेदले परिवारहरू तहसनहस भएका छन्‌। यस्ता वियोगहरूका पछाडि अक्सर भौतिक कुराहरूप्रतिको अचाक्ली फिक्री लुकेको हुन्छ। आफूसित जे छ, त्यसबाट आनन्द उठाउनुको सट्टा आँखा चिम्लेर धनसम्पत्तिको पछि दौडनेहरूलाई सधैं अझ बढी प्राप्त गर्ने चाहनाले लखेटिरहेको हुन्छ चाहे यसको लागि उसले आफ्नो स्वास्थ्य नै गुमाउन किन नपरोस्‌। व्यक्‍तित्व विकाससम्बन्धी एउटा पुस्तक यसो भन्छ: “मानिसलाई आफ्नो छिमेकीको धन र प्रतिष्ठाको देखासिकी गर्ने रोग नै लागिसकेको छ, चाहे त्यो छिमेकी काममा जोत्नसम्म जोतिएर ४३ वर्षकै उमेरमा हृदयघातको जोखिम लिएर बाँचिरहेको नै किन नहोस्‌।”

अझ बढी प्राप्त गर्ने चाहनाले उसलाई कहिल्यै छोड्‌दैन फलतः उसले पाउन सक्ने सारा आनन्दहरू ऊबाट लुटिन्छ। हाम्रो यस मानव कमजोरीमा अर्को एउटा शक्‍तिशाली तत्त्वले आगोमा घ्यू थप्ने काम गर्छ—त्यो हो विज्ञापन! टेलिभिजन तथा रेडियो कार्यक्रमहरू तपाईंको जीवनमा सम्भवतः नचाहिने अनि तपाईंको हैसियतभन्दा परको चीजबीजहरू किन्‍न जोडदार आग्रहहरूले भरिएका हुन्छन्‌। यी सबैले गर्दा पछि ठूलो क्षति पुग्न सक्छ।

अनियन्त्रित ढङ्‌गमा आत्म-विलासी जीवन बिताउँदा चालै नपाई भौतिक तथा नैतिक तवरमा हामीले विनाशकारी असरहरू भोग्नुपर्ने हुन सक्छ। उदाहरणको लागि बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” (हितोपदेश १४:३०) त्यसको ठीक उल्टो, बढ्‌ता दौडधूप गर्ने, फिक्री र भौतिक धन आर्जन गर्ने दबाबले हाम्रो स्वास्थ्य अनि आनन्दलाई भताभुङ्‌ग पार्न सक्छ। भौतिक लक्ष्यहरू हाम्रो जीवनको प्रमुख कुरा बन्‍न थाल्दा अरूसँगको सम्बन्ध पनि बिग्रन्छ। अनि कुनै व्यक्‍तिको पारिवारिक र सामाजिक जीवन खस्कँदा यो सँगसँगै उसको आफ्नो जीवनको गुणस्तर पनि खस्कन्छ।

आध्यात्मिक मूल्यमान्यताहरूको श्रेष्ठता

शताब्दीयौंअघि प्रेरित पावलले यस्तो सल्लाह दिए, “यस संसारसित एकै चालका नहोओ।” (रोमी १२:२) यसका मूल्यमान्यताहरू अनुरूप हिंड्‌नेहरूलाई यो संसारले अति प्रिय ठान्छ। (यूहन्‍ना १५:१९) यसले तपाईंको देख्ने, छुने, स्वाद लिने, सुँघ्ने र सुन्‍ने जस्ता इन्द्रियहरूलाई लोभ्याउन खोज्छ अनि तपाईंलाई भौतिकवादी जीवन शैलीमा ढाल्न खोज्छ। तपाईं अनि अरू भौतिक कुराहरूको पछि लागोस्‌ भनेर यसले मुख्यतः “आँखाको अभिलाषा[लाई]” जोड दिन्छ।—१ यूहन्‍ना २:१५-१७.

तर अर्कोतिर, पैसा, प्रतिष्ठा र भौतिक सरसम्पत्तिभन्दा उत्कृष्ट मूल्यमान्यताहरू पनि छन्‌। शताब्दीयौंअघि राजा सुलेमानले भौतिक तवरमा संसारले दिन सक्ने सबै थोक हासिल गरे। तिनले घरहरू बनाए, बाग-बगैंचा, नोकरचाकर, वस्तुभाउ, गायक-गायिकाहरू अनि धेरै सुन-चाँदी हासिल गरे। सरसम्पत्तिहरूमा सुलेमानले आफूभन्दा अगाडिका सबै धनीमानीहरूलाई उछिने। तिनी यति धनी थिए कि भनेर साध्यै छैन। सुलेमानसित आफूले चाहेको प्रायः सबै थोक थियो। तरैपनि आफ्ना उपलब्धिहरूलाई फर्केर हेर्दा उनले यसो भने: “सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।”—उपदेशक २:१-११.

आफूले हासिल गरेको सर्वोच्च बुद्धिले गर्दा आध्यात्मिक मूल्यमान्यताहरूबाट मात्र असीम सन्तुष्टि पाउन सकिन्छ भनेर सुलेमानलाई थाह थियो। उनले यस्तो लेखे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

सुन र चाँदीभन्दा धेरै गुणा बहुमूल्य खजाना परमेश्‍वरको वचन बाइबलमा मात्र पाउन सकिन्छ। (हितोपदेश १६:१६) तपाईंले खोजोस्‌ भनेर मुगामोतीजस्तै गहन सत्य यसमा लिपिबद्ध छ। के तपाईं यसलाई खोज्नुहुनेछ अनि यो भेट्टाउन खन्‍नुहुनेछ? (हितोपदेश २:१-६) हाम्रो सृष्टिकर्ता अर्थात्‌ साँचो मूल्यमान्यताहरूको स्रोत तपाईंलाई यसो गर्न आग्रह गर्नुहुन्छ र तपाईंलाई उहाँले मदत पनि दिनुहुनेछ। कसरी?

यहोवाले आफ्नो वचन, आत्मा र आफ्नो संगठनद्वारा सत्यको खजाना दिनुहुन्छ। (भजन १:१-३; यशैया ४८:१७, १८; मत्ती २४:४५-४७; १ कोरिन्थी २:१०) यी दुर्लभ अमूल्य खजानाहरू जाँच्नाले आफ्नो बुद्धि चलाएर सर्वोत्तम जीवनको मार्ग रोज्ने सुअवसर तपाईंले पाउनुहुनेछ। अनि यस्तो छनौट गर्न गाह्रो हुनेछैन किनकि आनन्दित हुन हामीलाई चाहिने कुरा के हो, त्यो हाम्रो सृष्टिकर्ता यहोवालाई थाह छ।

इबलले सर्वोच्च मूल्यमान्यताहरू राख्ने प्रोत्साहन दिन्छ

बाइबलमा पाइने उत्तम सल्लाह अथवा सुझावहरू व्यावहारिक अनि अतुलनीय पनि छन्‌। यसले निर्धारण गरेका स्तरहरू सर्वोत्कृष्ट छन्‌। यसका सल्लाहहरू सदैव लाभदायक हुन्छन्‌। वर्षौंको दौडान यो सत्य साबित भएको छ। बाइबलका उत्तम सल्लाहका केही उदाहरणहरू मेहनत गर्नु, इमानदार हुनु, बुद्धिमानीपूर्वक पैसा चलाउनु अनि अल्छी नहुनु आदि हुन्‌।—हितोपदेश ६:६-८; २०:२३; ३१:१६.

यसै विषयसित मिल्दोजुल्दो कुरा येशूले यसरी बताउनुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्‌। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन।”—मत्ती ६:१९, २०.

यो समयसापेक्ष सल्लाह २,००० वर्ष पहिले जति व्यावहारिक थियो आज पनि त्यतिकै व्यावहारिक छ। भौतिक सरसम्पत्ति प्राप्त गर्न मरिहत्ते गर्नुको सट्टा जीवनको सर्वोत्कृष्ट बाटो पछ्याएर हामी अहिले लाभ उठाउन सक्छौं। त्यो बाटो पछ्याउने मुख्य तरिका आध्यात्मिक धनसम्पत्ति थुपार्नु हो जसले साँचो आनन्द र सन्तुष्टिको बाटोतिर लैजान्छ। हामी कसरी यसो गर्न सक्छौं? परमेश्‍वरको वचन बाइबल पढेर अनि यसका शिक्षाहरू लागू गरेर।

आध्यात्मिक मूल्यमान्यताहरूले इनाम ल्याउँछ

आध्यात्मिक मूल्यमान्यताहरू सही ढङ्‌गमा लागू गर्दा हामीलाई शारीरिक, भावनात्मक अनि आध्यात्मिक तवरमा लाभ पुऱ्‍याउँछ। जसरी पृथ्वीभन्दा माथि रहेको ओजोन तहले सूर्यको हानिकारक किरणबाट हामीलाई बचाउँछ त्यसरी नै उत्तम नैतिक सिद्धान्तहरूले भौतिकवादका खतरनाक असरहरूलाई उदाङ्‌ग पारेर हामीलाई बचाउँछ। मसीही प्रेरित पावलले यस्तो लेखे: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।”—१ तिमोथी ६:९, १०.

धनसम्पत्तिको प्रेमले अझ बढी धन, प्रतिष्ठा अनि शक्‍ति हासिल गर्न प्रलोभित गर्छ। अक्सर यस्ता लक्ष्यहरू प्राप्त गर्न बाङ्‌गो तथा बेइमान बाटो अपनाइन्छ। भौतिक कुराहरूको पछि लाग्दा यसले मानिसको समय, शक्‍ति, क्षमता सबै खोसिदिन सक्छ। यसले रातको मीठो निद्रा पनि खोस्न सक्छ। (उपदेशक ५:१२) अझै बढी हासिल गर्ने चाहनाले निश्‍चय पनि आध्यात्मिक प्रगतिहरूमा बाधा पुऱ्‍याउँछ। आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष येशू ख्रीष्टले स्पष्टसित यस उत्तम मार्गलाई देखाउनुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) आध्यात्मिक धनले चिरस्थायी इनामहरू दिन्छ अनि क्षणिक भौतिक प्राप्तिभन्दा यो कता हो कता महत्त्वपूर्ण छ भनेर येशूलाई थाह थियो।—लूका १२:१३-३१.

के यसो गर्नु साँच्चै लाभदायी छ?

ग्रेग यसरी सम्झन्छन्‌: “आध्यात्मिक मूल्यमान्यताहरू अव्यावहारिक छन्‌ भनेर मलाई सम्झाउन मेरा आमाबाबुहरूले लाख प्रयत्न गर्नुभयो। तर आध्यात्मिक लक्ष्यहरूको पछि लागेर मैले ठूलो मनोशान्ति पाएको छु किनकि म धन प्राप्तिको लागि तँछाड-मछाड गर्ने तनावबाट मुक्‍त छु।”

आध्यात्मिक मूल्यमान्यताहरूले अझ राम्रो व्यक्‍तिगत सम्बन्धहरूको पनि निर्माण गर्छ। तपाईंका साँचो मित्रहरू तपाईंसित के छ, त्यसको आधारमा नभई तपाईं कस्तो व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुराले नै तपाईंप्रति आकर्षित हुन्छन्‌। बाइबल यस्तो सल्लाह दिन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ।” (हितोपदेश १३:२०) यसको अतिरिक्‍त सफल परिवार बुद्धि र प्रेममा निर्माण गरिन्छ; भौतिक सरसम्पत्तिद्वारा होइन।—एफिसी ५:२२-६:४.

हामी मूल्यमान्यताहरू सहित जन्मेका हुँदैनौं। हामीले यो साथीसँगी अथवा कुनै एउटा उच्च स्रोतबाट सिक्नै पर्छ। त्यसैले त हाम्रो बाइबल आधारित शिक्षाले भौतिक कुराहरूबारे हाम्रो पूरै मानसिक दृष्टिकोण नै परिवर्तन गरिदिन सक्छ। बैंकका एक जना भूतपूर्व कर्मचारी डन यसो भन्छन्‌, “मैले आफ्ना मूल्यमान्यताहरूबारे पुनर्विचार गर्ने मदत पाएँ र आवश्‍यक कुराहरूमै सन्तुष्ट हुन सिकें।”

चिरस्थायी आध्यात्मिक धनको पछि लाग्नुहोस्‌

आध्यात्मिक मूल्यमान्यताहरूले चिरस्थायी इनामहरूलाई जोड दिन्छ, क्षणिक सन्तुष्टिलाई होइन। पावलले यस्तो लेखे: “देखिने कुराहरू लौकिक मात्र हुन्‌। तर नदेखिने [आध्यात्मिक] कुराचाहिं अनन्त हुन्‌।” (२ कोरिन्थी ४:१८) हो, भौतिक कुराहरूले क्षणिक आवश्‍यकताहरू पूरा गर्लान्‌ तर लोभले कुनै चिरस्थायी लाभ पुऱ्‍याउँदैन। आध्यात्मिक मूल्यमान्यताहरूले अनन्त लाभ पुऱ्‍याउँछन्‌।—हितोपदेश ११:४; १ कोरिन्थी ६:९, १०.

आज हाम्रो समयमा व्याप्त भौतिक कुराहरूको बाइबलले घोर निन्दा गर्छ। यसले अझ धेरै महत्त्वपूर्ण कुरा अर्थात्‌ आध्यात्मिक धनसम्पत्तिमा ध्यान केन्द्रित गर्दै आँखा निर्मल राखेर स्वार्थी लालसाहरूको कसरी प्रतिरोध गर्ने भनेर सिकाउँछ। (फिलिप्पी १:१०) यसले लोभ वास्तवमा आफ्नै स्वार्थहरू पूरा गरी आफ्नै पूजा गर्नु हो भनेर उदाङ्‌ग पार्छ। परमेश्‍वरको वचनबाट सिकेका कुराहरू व्यवहारमा उतार्दा हामी असीम आनन्द पाउँछौं। हाम्रो मनोवृत्ति लिनुबाट दिनुमा परिणत हुन्छ। आत्म-विलासी जीवनमा चुर्लुम्म डुब्ने मनसायको ठाउँमा आध्यात्मिक मूल्यमान्यतालाई राख्दा यो कत्ति शक्‍तिशाली उत्प्रेरणा बन्छ!

हो, केही हदसम्म पैसाले हामीलाई सुरक्षा दिन सक्छ। (उपदेशक ७:१२) तर बाइबलले व्यावहारिक हुँदै यसो भन्छ: “तैंले यताउता हेर्न अघिनै त्यो गइहाल्छ, चील आकाशतिर उड़ेझैं त्यसको पखेटा लाग्छ।” (हितोपदेश २३:५) मानिसहरूले भौतिकवादको वेदीमा विध्वंसकारी नतिजाहरू भोग्दै धेरै कुराहरूको बलि दिइसकेका छन्‌—स्वास्थ्य, परिवार र आफ्नो असल अन्तस्करण। अर्कोतिर, आध्यात्मिक मूल्यमान्यताहरू राख्दा हाम्रा सर्वमहत्त्वपूर्ण आवश्‍यकताहरू पूरा हुन्छन्‌—प्रेमको आवश्‍यकता, उद्देश्‍यपूर्ण जीवनको आवश्‍यकता, मायालु परमेश्‍वर यहोवाको उपासना गर्ने आवश्‍यकता। यसले पार्थिव प्रमोदवनमा अनन्त जीवनसहित सिद्ध मानव जीवन जिउने बाटोतिर पनि लैजान्छ र यो आशा परमेश्‍वरले हाम्रो निम्ति राखिदिनुभएको हो।

सम्पन्‍न जीवन बिताउने मानिसको सपना परमेश्‍वरको नयाँ संसारमा छिट्टै पूरा हुनेछ। (भजन १४५:१६) त्यसबेला पूरै पृथ्वी “परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) आध्यात्मिक मूल्यमान्यताहरू फस्टाउनेछ। भौतिकवाद अनि यसका हानिकारक असरहरू पूर्णतया नामेट हुनेछन्‌। (२ पत्रुस ३:१३) तब जीवनलाई अझ अर्थपूर्ण बनाउने कुराहरू जस्तै सिद्ध स्वास्थ्य, सन्तोषजनक काम, आरामदायी समय, न्यानो पारिवारिक सम्बन्धहरू अनि परमेश्‍वरसितको चिरस्थायी मित्रताले मानिसजातिलाई साँचो आनन्द दिनेछ।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

बुद्धिमानीपूर्वक आफ्नो पैसा चलाउनुहोस्‌!

आफ्ना आवश्‍यकताहरू ठम्याउनुहोस्‌। येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्‌।” (लूका ११:३) आफ्नो चाहनालाई आवश्‍यकता बन्‍न नदिनुहोस्‌। तपाईंले प्राप्त गर्नुभएको सरसम्पत्तिहरूले जीवन दिंदैन भन्‍ने कुरा नबिर्सनुहोस्‌।—लूका १२:१६-२१.

बजेट बनाउनुहोस्‌। कुनै योजना नै नबनाई जे मन लाग्छ त्यही किन्‍ने नगर्नुहोस्‌। बाइबल यसो भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” (हितोपदेश २१:५) कुनै पनि आर्थिक योजनाहरूमा हात हाल्नुअघि येशूले आफ्ना श्रोताहरूलाई खर्च हिसाब गर्ने सल्लाह दिनुभयो।—लूका १४:२८-३०.

अनावश्‍यक ऋण नबोक्नुहोस्‌। उधारोमा किन्‍नुभन्दा बरु जति सकिन्छ पैसा तिरेर किन्‍ने गर्नुहोस्‌। हितोपदेश यसो भन्छ: “ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ।” (हितोपदेश २२:७, NRV) आत्मसंयम खेती गरेर अनि आफ्नो बजेटभन्दा बाहिर नगएर तपाईं ठूल-ठूला सामानहरू किन्‍नको लागि राम्रो योजना बनाउन सक्नुहुन्छ।

खेर नफाल्नुहोस्‌। आफूसित भएका मालसमानहरूको राम्रो हिफाजत गर्नुहोस्‌, यसो गर्दा बेकारमा खर्च गर्नु पर्दैन। आफूले प्रयोग गर्ने वस्तुहरू खेर जान नदिन येशूले उचित ध्यान दिनुभयो।—यूहन्‍ना ६:१०-१३.

प्राथमिकता निर्धारण गर्नुहोस्‌। अझ बढी महत्त्वपूर्ण लक्ष्यहरूलाई पछ्याउन बुद्धिमान्‌ मानिसले ‘समयको अवसर विचार गरेर’ समय किन्छ।—एफिसी ५:१५, १६.

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

आफैले भोगेर सिक्नुभन्दा राम्रो सिक्ने तरिका

असल होस्‌ या खराब, व्यक्‍तिगत अनुभवले मूल्यवान्‌ पाठहरू सिकाउन सक्छ। तर प्रचलित भनाइअनुसार के अनुभव नै सबैभन्दा उत्तम शिक्षक हो? अहँ, होइन। डोऱ्‍याइको त्योभन्दा उच्च स्रोत छ। भजनहारले यस स्रोतलाई चिनाउँदै यसरी प्रार्थना गरे: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—छड्‌के अक्षर हाम्रो, भजन ११९:१०५.

व्यक्‍तिगत अनुभवबाट सिक्नुभन्दा ईश्‍वरीय निर्देशनबाट सिक्नु किन सर्वोत्तम कुरा हो? एउटा कारण त, आफैले भोगेर मात्र जान्‍न खोज्दा ठूलो मोल चुकाउनुपर्ने र पीडादायी पनि हुन सक्छ। यसो गरिरहनु आवश्‍यक पनि छैन। परमेश्‍वरले पुरातन इस्राएलीहरूलाई यसो भन्‍नुभयो, “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१८.

निर्देशनको स्रोतको रूपमा परमेश्‍वरको वचन सबैभन्दा उत्कृष्ट हुनुको एउटा कारण के हो भने, यसमा मानव अनुभवको सबैभन्दा पुरानो र अत्यन्त सही विवरण पाइन्छ। अरूले गरेजस्तै गल्ती गर्नुभन्दा उनीहरूको सफलता र असफलताबाट कुनै पीडा नभोगी सिक्नु नै बेस हो भन्‍ने कुरा त तपाईंले बुझ्नुभएकै होला। (१ कोरिन्थी १०:६-११) त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, परमेश्‍वरले हाम्रो लागि बाइबलमा पूर्णतया भरपर्दो उच्चकोटिको व्यवस्था तथा मार्गदर्शक सिद्धान्तहरू दिनुभएको छ। “परमप्रभुको व्यवस्था निर्दोष छ, . . . परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” (छड्‌के अक्षर हाम्रो, भजन १९:७) निस्सन्देह, हाम्रो मायालु सृष्टिकर्ताको बुद्धिबाट सिक्नु सर्वोत्तम तरिका हो।

[पृष्ठ ४-मा भएका चित्रहरू]

तपाईंले यसको भौतिकवादी जीवन शैली अपनाएको संसार चाहन्छ

[पृष्ठ ५-मा भएको चित्र]

सुन वा चाँदीभन्दा बाइबलमा पाइने खजाना कता हो कता मूल्यवान्‌ छ