सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रमोदवन—तपाईंको लागि?

प्रमोदवन—तपाईंको लागि?

प्रमोदवन—तपाईंको लागि?

“म ख्रीष्टका एक जना मानिसलाई चिन्दछु . . . त्यो समातिएर स्वर्गतिर [ “प्रमोदवनतिर,” Nw] लगियो।”—२ कोरिन्थी १२:२-४.

१. धेरैलाई कस्ता बाइबल प्रतिज्ञाहरू मनमोहक लाग्छ?

 प्रमोदवन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको पार्थिव प्रमोदवनबारे पहिलो चोटि सुन्दा तपाईंलाई कस्तो लागेको थियो के तपाईंलाई याद छ? ‘अन्धाहरूका आँखा खोलिनेछन्‌, बहिराहरूका कान उघारिनेछन्‌ र उजाड-स्थानमा पानी फूटेर निस्कनेछ’ र सौन्दर्यले भरिनेछ भनेर थाह पाउँदा तपाईंलाई कस्तो लागेको थियो भनेर तपाईंले सम्झनुभएको होला! ब्वाँसो र थुमा अनि जवान सिंह र सानो बालकबारे गरिएको भविष्यवाणी नि? अनि प्रिय मृतजनहरू त्यस प्रमोदवनमा बाँच्ने प्रत्याशासहित फेरि जीवित हुनेछन्‌ भनेर पढ्‌दा के तपाईं रोमाञ्चित हुनुभएको थिएन र?—यशैया ११:६; ३५:५, ६; यूहन्‍ना ५:२८, २९.

२, ३. (क) बाइबल आधारित तपाईंको आशा निराधार होइन भनेर किन भन्‍न सकिन्छ? (ख) हामीसित आशाको कस्तो थप आधार छ?

तपाईंको आशा निराधार होइन। त्यस प्रमोदवनबारे बाइबलको प्रतिज्ञामा विश्‍वास गर्ने तपाईंसित कारण छ। उदाहरणका लागि, येशूसँगै झुन्ड्याइएको कुकर्मीलाई उहाँले भन्‍नुभएका यी शब्दहरूमा तपाईं विश्‍वस्त हुनुहुन्छ: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४३, NW) तपाईं यस्तो प्रतिज्ञामा भरोसा राख्नुहुन्छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” परमेश्‍वरले हाम्रो आँसु पुछिदिनुहुनेछ; मृत्यु हुनेछैन; शोक, रुवाइ, पीडा केही हुनेछैन भन्‍ने प्रतिज्ञामा पनि तपाईं भरोसा राख्नुहुन्छ। यसको मतलब पार्थिव प्रमोदवन चाँडै पुनर्स्थापना हुनेछ!—२ पत्रुस ३:१३; प्रकाश २१:४.

यस प्रमोदवनको आशाको अर्को आधार संसारभरिका मसीहीहरू अहिले सामेल भएको एउटा कुरा पनि हो। त्यो के हो? परमेश्‍वरले एउटा आध्यात्मिक प्रमोदवन स्थापना गर्नुभएको छ अनि आफ्ना जनहरूलाई त्यहाँ जम्मा गर्नुभएको छ। “आध्यात्मिक प्रमोदवन” भन्‍ने पदावली अस्पष्ट अनि बुझ्न गाह्रो हुन सक्छ तर त्यस्तो प्रमोदवनबारे पहिल्यै भविष्यवाणी गरिएको थियो र यो साँच्चै अस्तित्वमा छ।

प्रमोदवनको दृश्‍य

४. दोस्रो कोरिन्थी १२:२-४ ले कस्तो दर्शन उल्लेख गर्छ र यो दर्शन सम्भवतः कसले देखेका थिए?

यस सन्दर्भमा प्रेरित पावलले के लेखे, ध्यान दिनुहोस्‌: “म ख्रीष्टका एक जना मानिसलाई चिन्दछु . . . यस्तो एक जना मानिस तेस्रो स्वर्गसम्म समातेर लगियो। औ म यस्तो एउटा मानिसलाई चिन्छु, (शरीरैमा हो, कि विना शरीरमा हो, त्यो मलाई थाह छैन, परमेश्‍वर जान्‍नुहुन्छ), कि त्यो समातिएर स्वर्गतिर [ “प्रमोदवनतिर,” NW] लगियो, र त्यसले बयान गरी नसक्ने कुराहरू सुन्यो, जे उच्चारण गर्न मानिसको निम्ति न्यायसंगत छैन।” (२ कोरिन्थी १२:२-४) पावलले आफू प्रेरित हुँ भन्‍ने प्रमाण दिने बित्तिकै उक्‍त अंश उल्लेख गरिएको छ। यसबाहेक, यस्तो अनुभव गरेका अरू कुनै पनि व्यक्‍तिबारे बाइबलमा बताइएको छैन अनि यसबारे भने पावल बताउँछन्‌। त्यसैले यो दर्शन देख्ने व्यक्‍ति सम्भवतः पावल नै हुनुपर्छ। यो असाधारण दर्शनमा तिनी कस्तो “प्रमोदवनमा” प्रवेश गरे?—२ कोरिन्थी ११:५, २३-३१.

५. पावलले के देखेनन्‌ र यसकारण यो “प्रमोदवन” कस्तो थियो?

सन्दर्भअनुसार “तेस्रो स्वर्ग” भनेको हाम्रो पृथ्वी वरपरको वायुमण्डल वा अन्तरिक्ष होइन। जोड, तीव्रता र थप बललाई सङ्‌केत गर्न बाइबलले अक्सर तीन भन्‍ने संख्या प्रयोग गर्छ। (उपदेशक ४:१२; यशैया ६:३; मत्ती २६:३४, ७५; प्रकाश ४:८) तसर्थ पावलले दर्शनमा जे देखे, त्यो उच्च पारिएको वा माथि उचालिएको थियो। त्यो आत्मिक थियो।

६. कस्तो ऐतिहासिक घटनाक्रमले पावलले देखेको कुरामा अन्तरदृष्टि दिन्छ?

यसअघिका बाइबल भविष्यवाणीहरूले हामीलाई अन्तरदृष्टि दिन्छ। परमेश्‍वरका पुरातन जनहरू उहाँप्रति अवफादार भएपछि उहाँले बेबिलोनीहरूलाई यहूदा र यरूशलेम विरुद्ध खडा हुने अनुमति दिनुभयो। यसको फलस्वरूप बाइबल कालक्रमअनुसार तिनीहरूले सा.यु.पू. ६०७ मा विनाश भोग्नुपऱ्‍यो। भविष्यवाणीअनुसार त्यो भूमि ७० वर्षसम्म उजाड रहने थियो; त्यसपछि पश्‍चात्तापी यहूदीहरू फर्केर परमेश्‍वरले तिनीहरूलाई साँचो उपासना पुनर्स्थापित गर्न दिनुहुने थियो। यो सा.यु.पू. ५३७ पछि भयो। (व्यवस्था २८:१५, ६२-६८; २ राजा २१:१०-१५; २४:१२-१६; २५:१-४; यर्मिया २९:१०-१४) तर त्यो भूमिलाई वास्तवमा के भयो? त्यो ७० वर्षको दौडान त्यो भूमि जङ्‌गली वनस्पति, सुक्खा जमिन र स्यालहरूको ओडार भयो। (यर्मिया ४:२६; १०:२२) तैपनि, यस्तो भविष्यवाणी गरिएको थियो: “परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। उहाँले त्यसका सब उजाड़ स्थानहरूलाई सान्त्वना दिनुहुनेछ। औ त्यसको उजाड़–भूमिलाई अदनको बगैंचाझैं, र त्यसका मरूभूमिलाई परमप्रभुको बगैंचाझैं, [वा प्रमोदवनझैं, सेप्टुआजिन्ट] बनाउनुहुनेछ।”—यशैया ५१:३.

७. उजाड भएको ७० वर्षपछि के हुने थियो?

उजाड भएको ७० वर्षपछि उक्‍त घटना घट्यो। परमेश्‍वरको आशिष्‌ पाएर अवस्था सुध्रियो। यस्तो दृश्‍यको कल्पना गर्नुहोस्‌: “उजाड़ र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। त्यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। . . . लङ्‌गड़ा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ, किनकि उजाड़–स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌। मृग–तृष्णा दह हुनेछ, र ओबानो भूमिमा पानीका मूल फूट्‌नेछन्‌। स्यालहरू बस्ने ठाउँमा काँस र कुशहरू उम्रनेछन्‌।”—यशैया ३५:१-७.

पुनर्स्थापित तथा परिवर्तित जन

८. यशैया अध्याय ३५ मानिसहरूमा लागू हुन्छ भनेर हामी कसरी थाह पाउँछौं?

कस्तो परिवर्तन! उजाडस्थानबाट प्रमोदवन। यद्यपि, यो तथा अन्य भरपर्दा भविष्यवाणीहरूले देखाएअनुसार मानिसहरूमा पनि परिवर्तन हुने थियो र यसलाई उजाड भूमि उत्पादनशील भएको अवस्थासित तुलना गर्न सकिन्छ। हामी किन त्यसो भन्‍न सक्छौं? किनभने “परमप्रभुले उद्धार गर्नुभएका” जनहरूतर्फ यशैया ध्यानकेन्द्रित गर्दै थिए र तिनीहरू खुसीले “गाउँदै” आफ्नो भूमिमा फर्कने थिए र “आनन्द र रमाहट” प्राप्त गर्ने थिए। (यशैया ३५:१०) त्यसले साँच्चैको भूमिलाई नभई मानिसहरूलाई बुझाउँथ्यो। यसबाहेक, सियोनमा पुनर्स्थापित मानिसहरूबारे यशैयाले अर्कै पदमा यसरी भविष्यवाणी गरे: “तिनीहरू परमप्रभुलेनै रोप्नुभएको धर्मको वृक्ष कहलाइऊन्‌ . . . जसरी भूमिले आफ्नो बाली उमार्छ, . . . परमप्रभु परमेश्‍वरले धर्म र प्रशंसा सारा जातिहरूका सामने उब्जाउनुहुनेछ।” परमेश्‍वरका जनहरूबारे यशैयाले यसो पनि भने: “परमप्रभुले तिमीहरूलाई निरन्तर डोस्याउनुहुनेछ, . . . र तिमीहरूका हड्डीहरूलाई बलिया पार्नुहुनेछ। औ तिमीहरू पानी लगाएको बगैंचाझैं . . . हुनेछौ।” (यशैया ५८:११; ६१:३, ११; यर्मिया ३१:१०-१२) यसर्थ, साँच्चैको भूमिको वातावरणीय अवस्था सुध्रिएझैं पुनर्स्थापित यहूदी मानिसहरूको अवस्थामा पनि परिवर्तन हुने थियो।

९. पावलले कस्तो “प्रमोदवन” देखे र त्यो कहिले पूरा भयो?

यो ऐतिहासिक नमुनाले हामीलाई पावलले दर्शनमा देखेको कुरा बुझ्न मदत गर्छ। यसमा मसीही मण्डली समावेश हुने थियो जसलाई तिनले “परमेश्‍वरका खेत” भने र यो फलदायी हुने थियो। (१ कोरिन्थी ३:९) त्यो दर्शन कहिले पूरा हुने थियो? आफूले देखेको कुरालाई पावलले “प्रकाश” अर्थात्‌ भविष्यमा हुने कुरा भने। आफ्नो मृत्युपछि व्यापक रूपमा धर्मत्याग देखापर्नेछ भनेर तिनलाई थाह थियो। (२ कोरिन्थी १२:१; प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:३, ७) धर्मत्यागीहरू बढेर साँचो मसीहीहरू ओझेलमा परेजस्तो देखिंदा तिनीहरूलाई हराभरा बगैंचासित तुलना गर्न पटक्कै मिल्दैन थियो। यद्यपि, साँचो उपासना पुनः उच्च पारिने समय आउने थियो। ‘धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुन’ सकून्‌ भनेर परमेश्‍वरका जनहरूको पुनर्स्थापना हुने थियो। (मत्ती १३:२४-३०, ३६-४३) स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भएको केही वर्षपछि त्यो घटना घट्यो। अनि अहिले दशकौं बितिसकेपछि परमेश्‍वरका जनहरूले पावलले दर्शनमा देखेको आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेका छन्‌ भनेर एकदमै प्रस्ट भएको छ।

१०, ११. हाम्रो असिद्ध अवस्थाको बावजुद किन हामी आध्यात्मिक प्रमोदवनमा छौं भन्‍न सक्छौं?

१० हुन त हो, व्यक्‍तिगत तवरमा हामी असिद्ध भएको हुँदा पावलको समयका मसीहीहरूमाझ जस्तै बेलाबेलामा समस्याहरू उत्पन्‍न हुनु कुनै छक्कलाग्दो कुरा होइन। (१ कोरिन्थी १:१०-१३; फिलिप्पी ४:२, ३; २ थिस्सलोनिकी ३:६-१४) तथापि, हामीले अहिले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनबारे सोच्नुहोस्‌। कुनै समय हामी आध्यात्मिक तवरमा बिरामी अवस्थामा थियौं तर अहिले हामी आध्यात्मिक तवरमा निको भएका छौं। अनि कुनै समय आध्यात्मिक तवरमा भोको अवस्थासित अहिलेको तृप्त अवस्थालाई तुलना गर्नुहोस्‌। सुक्खा आध्यात्मिक भूमिमा तड्‌पिनुको सट्टा परमेश्‍वरका जनहरूले उहाँको अनुमोदन र प्रचुर मात्रामा आशिष्‌ पाएका छन्‌। (यशैया ३५:१, ७) कालकोठरीजस्तो आध्यात्मिक अन्धकारमा हुनुको सट्टा हामीले स्वतन्त्रताको ज्योति र परमेश्‍वरको अनुग्रह देखेका छौं। बाइबल भविष्यवाणीहरूप्रति बहिराझैं भएका मानिसहरूले अहिले धर्मशास्त्रको कुरा सुनेर बुझ्न थालेका छन्‌। (यशैया ३५:५) उदाहरणका लागि, संसारभरि यहोवाका लाखौं साक्षीहरूले दानियलको भविष्यवाणीको एक-एक पद केलाएका छन्‌। अनि तिनीहरूले प्रहरीधरहरा-का लेखहरू मार्फत बाइबलको पुस्तक यशैयाको गहन अध्ययन गरेका छन्‌। त्यस्तो स्फूर्तिदायी आध्यात्मिक भोजनले के हाम्रो आध्यात्मिक प्रमोदवनको प्रमाण दिंदैन र?

११ विभिन्‍न पृष्ठभूमिका निष्कपट व्यक्‍तिहरूले परमेश्‍वरको वचन बुझेर त्यसअनुसार गर्ने प्रयास गर्दा तिनीहरूको स्वभावमा भएको परिवर्तनलाई पनि विचार गर्नुहोस्‌। साधारणतया, तिनीहरूले कुनै समय आफूलाई चिनाउने गरेको पाशविक गुणहरू हटाउन प्रयास गरेका छन्‌। सायद तपाईंले पनि त्यसो गर्नुभएर राम्रो परिणाम प्राप्त भएको होला अनि तपाईंका आध्यात्मिक भाइबहिनीहरूले पनि त्यसै गरेका छन्‌। (कलस्सी ३:८-१४) यसर्थ, यहोवाका साक्षीहरूको कुनै मण्डलीमा संगत गर्दा तपाईं पहिलेभन्दा शान्तिमय र सौहार्द बनेका मानिसहरूको माझमा हुनुहुन्छ। हुन त, तिनीहरू सिद्ध भइसकेका छैनन्‌ तर तिनीहरूलाई हिंस्रक सिंह वा आक्रमणकारी जङ्‌गली जनावरहरूजस्तो भनेर वर्णन गर्न भने मिल्दैन। (यशैया ३५:९) यस्तो शान्त आध्यात्मिक संगतिले के सङ्‌केत गर्छ? स्पष्टतः हामीले यस्तो आध्यात्मिक अवस्थाको आनन्द उठाइरहेका छौं जसलाई आध्यात्मिक प्रमोदवन भन्‍नु एकदमै उचित छ। अनि हाम्रो आध्यात्मिक प्रमोदवनले हामी परमेश्‍वरप्रति वफादार रहेको खण्डमा हामीले पछि आनन्द उठाउन सक्ने पार्थिव प्रमोदवनको पूर्वचित्रण गर्छ।

१२, १३. आध्यात्मिक प्रमोदवनमा रहिरहन हामीले के गर्नै पर्छ?

१२ तैपनि, हामीले बेवास्ता गर्न नहुने एउटा कुरा छ। परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “जति आज्ञा आज म तिमीहरूलाई दिंदैछु ती सबै मान्यौ भने तिमीहरू बलिष्ट हुनेछौ, र अधिकार गर्नुपर्ने मुलुकमा प्रवेश गरेर त्यसलाई अधिकार गर्नसक्नेछौ।” (व्यवस्था ११:८) लेवी २०:२२, २४ मा त्यही मुलुक वा देशबारे उल्लेख गरिएको छ: “तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर्नू। नत्रता जुन देशमा म तिमीहरूलाई लैजानेछु त्यसले तिमीहरूलाई उकेलेर फ्याँकिदिनेछ। तर मैले तिनीहरूलाई भनेको छु, ‘तिमीहरूले तिनीहरूका देश अधिकार गर्न पाउनेछौ, औ एक दूध र मह बग्ने देश म तिमीहरूलाई दिनेछु।’ ” हो, यहोवा परमेश्‍वरसित राम्रो सम्बन्ध हुनु वा नहुनुमा प्रतिज्ञा गरिएको देशमाथि अधिकार गर्न पाउने वा नपाउने कुरा निर्भर थियो। इस्राएलीहरूले परमेश्‍वरको कुरा नसुनेको हुँदा उहाँले बेबिलोनीहरूलाई तिनीहरूमाथि कब्जा गर्न अनि तिनीहरूको बासस्थानबाट निकालिन दिनुभयो।

१३ हाम्रो आध्यात्मिक प्रमोदवनबारे हामीलाई राम्रो लाग्ने कुराहरू थुप्रै होलान्‌। वातावरण मनोरम अनि शान्त छ। आफ्ना पाशविक गुणहरू हटाउन प्रयास गरेका मसीहीहरूसित हामी शान्तिमा छौं। तिनीहरू दयालु र मदतकारी हुन प्रयास गरिरहेका छन्‌। तैपनि, आध्यात्मिक प्रमोदवनमा रहिरहन यी मानिसहरूसित राम्रो सम्बन्ध भएर मात्र पुग्दैन। यसको लागि यहोवा परमेश्‍वरसित राम्रो सम्बन्ध हुनु र उहाँको इच्छा गर्नु आवश्‍यक छ। (मीका ६:८) हामी स्वेच्छाले यो आध्यात्मिक प्रमोदवनमा प्रवेश गऱ्‍यौं तर परमेश्‍वरसितको सम्बन्धलाई जोगाउन प्रयास गरेनौं भने त्यसबाट आफै तर्किन वा त्यहाँबाट निष्कासित हुन सक्छौं।

१४. आध्यात्मिक प्रमोदवनमा रहिरहन हामी कुन कुराबाट मदत पाउन सक्छौं?

१४ हामीलाई मदत गर्ने एउटा महत्त्वपूर्ण पक्ष, परमेश्‍वरको वचनद्वारा सुदृढ भइरहनु हो। भजन १:१-३ मा प्रयोग गरिएका प्रतीकात्मक शब्दहरूलाई विचार गर्नुहोस्‌: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन, . . . तर परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” साथै, विश्‍वासी र बुद्धिमान्‌ दासको बाइबल आधारित प्रकाशनले आध्यात्मिक प्रमोदवनमा आध्यात्मिक भोजन प्रदान गर्छ।—मत्ती २४:४५-४७.

प्रमोदवनप्रति तपाईंको दृष्टिकोणलाई सुदृढ पार्ने

१५. मोशाले किन इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउन सकेनन्‌ तर तिनले के देखे?

१५ प्रमोदवनको अर्को पूर्वझलकलाई विचार गर्नुहोस्‌। इस्राएलीहरू उजाडस्थानमा ४० वर्ष भौंतारिसकेपछि मोशाले तिनीहरूलाई यर्दन नदीको पूर्वतिर रहेको मोआबको बेंसीतर्फ लगे। मोशाले पहिला गरेको गल्तीले गर्दा तिनले इस्राएललाई यर्दन पारिसम्म डोऱ्‍याउनेछैनन्‌ भनी यहोवाले निधो गर्नुभयो। (गन्ती २०:७-१२; २७:१२, १३) मोशाले परमेश्‍वरलाई यस्तो अनुरोध गरे: “बिन्ती छ, मलाई पारि जान दिनुहोस्‌, र यर्दन पारिको त्यो असल भूमि, . . . देख्न पाऊँ।” मोशा त्यहाँ प्रवेश गर्न नपाउने भए तापनि पिस्गाको टाकुरामा उक्लेर त्यस भूमिको विभिन्‍न भाग अवलोकन गरेपछि तिनले त्यो “असल भूमि” थियो भनेर महसुस गरेको हुनुपर्छ। तपाईंलाई त्यो भूमि कस्तो थियो जस्तो लाग्छ?—व्यवस्था ३:२५-२७.

१६, १७. (क) पुरातन समयको प्रतिज्ञा गरिएको देश हालैको भूमिभन्दा कसरी भिन्‍न थियो? (ख) प्रतिज्ञा गरिएको देश कुनै समय प्रमोदवनजस्तो थियो भनेर हामी किन विश्‍वास गर्न सक्छौं?

१६ त्यो भूमि अहिले जुन अवस्थामा छ त्यसैलाई आधार मानेर विचार गर्ने हो भने तपाईंले बलौटे, चट्टाने मरुभूमि र अत्यधिक तापक्रम भएको सुक्खा ठाउँ कल्पना गर्नुहोला। तथापि, समष्टिगत रूपमा हेर्दा त्यहाँको भूमि बाइबलकालमा बेग्लै थियो भनेर विश्‍वास गर्ने आधार छ। साइन्टिफिक अमेरिकन भन्‍ने पत्रिकामा पानी तथा माटो विशेषज्ञ डा. वल्टर सी. लाउडरमिल्कले यस इलाकाको भूमि “हजारौं वर्षको लापरवाहीले खत्तम” भएको छ भनी वर्णन गरे। ती कृषिविद्‌ले यस्तो लेखे: “कुनै समयको हराभरा भूमिलाई ‘मरुभूमि’ बनाउनुमा प्रकृति होइन मानिसको हात छ।” वास्तवमा, तिनका अध्ययनहरूले देखाएअनुसार “यो भूमि कुनै समय मनोहर प्रमोदवन थियो।” मानिसहरूकै हेलचेक्य्राइँले गर्दा यो “मनोहर प्रमोदवन” बिग्रिएको हो भनेर प्रस्ट हुन्छ। a

१७ तपाईंले बाइबलमा पढ्‌नुभएको कुरालाई विचार गर्दा त्यो निष्कर्ष साँच्चै तार्किक छ जस्तो लाग्न सक्छ। यहोवाले मोशामार्फत आफ्ना जनहरूलाई कस्तो आश्‍वासन दिनुभएको थियो सम्झनुहोस्‌ त: “तिमीहरू अधिकार गर्न गइरहेको मुलुकमा भने डाँड़ा र बेंसीहरू छन्‌, र त्यहाँ आकाशको पानीले जमीन भिजाउँछ। त्यस देशको देखरेख परमप्रभु परमेश्‍वरलेनै गर्नुहुन्छ।”—व्यवस्था ११:८-१२.

१८. प्रतिज्ञा गरिएको देश कस्तो हुनेछ होला भनेर कल्पना गर्न यशैया ३५:२ ले निर्वासित इस्राएलीहरूलाई कसरी मदत गरेको हुनुपर्छ?

१८ प्रतिज्ञा गरिएको देशको हराभरा सौन्दर्य र उत्पादनशीलता यति प्रभावशाली थियो कि त्यहाँको कुनै-कुनै ठाउँको नाउँ मात्र लिने बित्तिकै प्रमोदवनरूपी अवस्था मनमा आइहाल्थ्यो। यो कुरा यशैया अध्याय ३५ को भविष्यवाणीबाट स्पष्ट हुन्छ र इस्राएलीहरू बेबिलोनबाट फर्कंदा यसको प्रारम्भिक पूर्ति भयो। यशैयाले यस्तो भविष्वाणी गरे: “त्यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लबानोनको महिमा औ कर्मेल र शारोनको शोभा त्यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्‌।” (यशैया ३५:२) लबानोन, कर्मेल र शारोनको नाउँ उल्लेख गरिंदा इस्राएलीहरूको मनमा सन्तोषजनक तथा सुन्दर दृश्‍य आएको हुनुपर्छ।

१९, २०. (क) पुरातन शारोन इलाकाको वर्णन गर्नुहोस्‌। (ख) प्रमोदवनको हाम्रो आशा सुदृढ पार्ने एउटा तरिका के हो?

१९ सामरियाका पहाडहरू तथा महासागर अथवा भूमध्यसागरको बीचमा अवस्थित समुद्री छेउको बेंसी, शारोनलाई विचार गर्नुहोस्‌। (पृष्ठ १० को चित्र हेर्नुहोस्‌।) यो आफ्नो सौन्दर्य र उत्पादनशीलताको लागि प्रख्यात थियो। यहाँ प्रशस्त पानी हुने हुँदा गाईवस्तु चराउनको लागि उपयुक्‍त थियो तर यसको उत्तरी भागतिर अग्राखको जङ्‌गल थियो। (१ इतिहास २७:२९; श्रेष्ठगीत २:१; यशैया ६५:१०) तसर्थ यशैया ३५:२ ले पुनर्स्थापनाको कुरा र प्रमोदवनजस्तो देखिने गरी भूमिको सौन्दर्य बढ्‌ने अगमवाणी गरिरहेको थियो। त्यो भविष्यवाणीले पावलले पछि दर्शनमा देखेको जस्तै रमणीय आध्यात्मिक प्रमोदवनलाई पनि औंल्याइरहेको थियो। अन्तमा, योलगायत अन्य भविष्यवाणीहरूले मानिसजातिको लागि पार्थिव प्रमोदवनमा हाम्रो आशा सुदृढ पार्छ।

२० आध्यात्मिक प्रमोदवनमा बसोबास गर्दा यसप्रति हाम्रो मूल्याङ्‌कन अनि पृथ्वीमा प्रमोदवनको हाम्रो आशालाई हामी अझ सुदृढ पार्दै लैजान सक्छौं। कसरी? आफूले बाइबलमा पढेका कुराहरूबारे गहन समझ प्राप्त गरेर। बाइबल विवरण तथा भविष्यवाणीहरूले अक्सर खास-खास स्थानहरू उल्लेख गर्छ। यी ठाउँहरू कहाँ पर्थे अनि अन्य भौगोलिक स्थानहरूको तुलनामा कतातिर पर्थ्यो भनेर के तपाईं अझ राम्ररी बुझ्न चाहनुहुन्छ? त्यसो गरेर तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ भनी यसपछिको लेखमा हामी विचार गर्नेछौं।

[फुटनोट]

a द जियोग्रफी अफ द बाइबल भन्‍ने पुस्तकका लेखक डेनिस बेली यसो भन्छन्‌: “बाइबलकालदेखि अहिलेसम्ममा वनस्पति चक्रहरूमा आमूल परिवर्तनहरू भइसकेको हुनुपर्छ।” यसको कारण के हो? “मानिसलाई इन्धन र निर्माणको लागि दाउरा चाहिने हुँदा . . . उसले रूखहरू ढाल्न थाल्यो जसले गर्दा भूमिले प्रतिकूल मौसमका असरहरू बेहोर्नुपऱ्‍यो। वातावरणमा भएको यस्तो हस्तक्षेपले गर्दा यस भूमिको बिस्तारै विनाश गर्ने सबैभन्दा महत्त्वपूर्ण कारक नै . . . मौसम बन्‍न पुग्यो।”

के तपाईंलाई याद छ?

• प्रेरित पावलले दर्शनमा कस्तो “प्रमोदवन” देखे?

यशैया अध्याय ३५ को सन्दर्भमा यसको प्रारम्भिक पूर्ति के थियो अनि पावलले दर्शनमा देखेको कुरासित यो कसरी सम्बन्धित छ?

• हाम्रो आध्यात्मिक प्रमोदवनप्रतिको मूल्याङ्‌कन र पार्थिव प्रमोदवनको आशालाई हामी कसरी सुदृढ पार्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

शारोनको बेंसी, प्रतिज्ञा गरिएको देशको एउटा फलदायी इलाका थियो

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ १२-मा भएको चित्र]

मोशाले त्यो “असल भूमि” थियो भनेर बुझेका थिए