सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो—तपाईंका आमाबाबुलाई तपाईंको हृदय डोऱ्‍याउन दिनुहोस्‌!

युवाहरू हो—तपाईंका आमाबाबुलाई तपाईंको हृदय डोऱ्‍याउन दिनुहोस्‌!

युवाहरू होतपाईंका आमाबाबुलाई तपाईंको हृदय डोऱ्‍याउन दिनुहोस्‌!

तपाईंको विचारमा जहाजको कप्तानको लागि सबैभन्दा चुनौतीपूर्ण काम के होला? विशाल समुद्र पार गर्नु? अक्सर होइन। प्रायजसो जहाजहरू समुद्रको बीचमा होइन तर किनार नजिकै दुर्घटनाग्रस्त हुन्छन्‌। साँच्चै भन्‍ने हो भने, जहाजलाई समुद्री किनारमा अड्याउनु भनेको हवाईजहाज अवतरण गर्नुभन्दा पनि खतरनाक हुन सक्छ। किन?

कप्तानले आफ्नो जहाज समुद्री किनारमा सुरक्षितसाथ रोक्नुअघि तिनले कुनै खास बन्दरगाहमा हुन सक्ने सबै खतराहरू छल्नुपर्छ। तिनले एकातिर पानीको सतहमुनिको करेन्टलाई विचार गर्नुपर्छ भने अर्कोतिर अन्य जहाजहरूसँग ठोक्किएला भनेर पनि होस पुऱ्‍याउनुपर्छ। तिनी पानीमुनि हुन सक्ने बालुवाको ढिस्को, चट्टान वा दुर्घटनाग्रस्त जहाजका टुक्राटाक्रीहरूबाट पनि बच्नुपर्छ। अनि अझ त्यसमाथि तिनी त्यस बन्दरगाहमा पहिलो चोटि गएका हुन सक्छन्‌।

यस्ता समस्याहरूसित जुझ्न बुद्धिमान्‌ कप्तानले स्थानीय बन्दरगाहसित एकदमै परिचित मार्गदर्शकको मदत लिन सक्छन्‌। मार्गदर्शक जहाजको प्लेटफर्ममा कप्तानको छेउमा उभिन्छन्‌ र कौशलतापूर्वक विशेष निर्देशनहरू दिन्छन्‌। तिनीहरू दुवै मिलेर खतराहरूबारे विचार गर्छन्‌ र साँघुरो मार्ग हुँदै जहाजलाई बन्दरगाहको सुरक्षित ठाउँसम्म पुऱ्‍याउँछन्‌।

जीवनका चुनौतीपूर्ण परिस्थितिहरूलाई छिचोल्दै आफ्नो मार्ग तय गर्नुपर्ने मसीही युवाहरूको लागि उपलब्ध मदत कत्तिको अनमोल छ भन्‍ने कुरा मार्गदर्शकको कौशलताको उदाहरणले स्पष्ट पार्छ। यो मदत के हो? किशोर-किशोरीहरूलाई किन यस्तो मदत चाहिन्छ?

हामी यो जहाजको उदाहरणलाई नै विचार गर्दै जाऔं। तपाईं किशोरावस्थामा पुग्नुभएको छ भने केही हदसम्म तपाईं जहाजको कप्तान जस्तै हुनुहुन्छ किनभने तपाईंले अन्ततः आफ्नो जीवनको जिम्मेवारी वहन गर्नुपर्छ। अनि तपाईंका आमाबाबुको भूमिका चाहिं जहाजको मार्गदर्शकको जस्तै हुन्छ जसले तपाईंलाई जीवनमा सामना गर्नुपर्ने सबैभन्दा कठिन परिस्थितिहरू पार लाउन डोऱ्‍याइ प्रदान गर्नेछन्‌। तथापि, किशोरावस्थामा तपाईंलाई आमाबाबुले दिने सल्लाह स्वीकार्न गाह्रो लाग्न सक्छ। यसो हुनुको कारण के हो?

यस समस्याको कारण अक्सर हृदयसित सम्बन्धित हुन्छ। तपाईंको लाक्षणिक हृदयले तपाईंलाई निषेधित कुराको चाह गर्न वा स्वतन्त्रताबाट वञ्चित गरेजस्तो महसुस गराएर विद्रोह गर्न लगाउन सक्छ। बाइबलमा यस्तो भनिएको छ, “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।” (उत्पत्ति ८:२१) तपाईंसामु साँच्चैका परीक्षाहरू छन्‌ भनी यहोवा स्पष्ट पार्नुहुन्छ। “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ” भनी उहाँ चेतावनी दिनुहुन्छ। (यर्मिया १७:९) लुकीछिपी गलत इच्छाहरूको पछि लाग्नुको अलावा हृदयले जवानहरूलाई आफ्ना आमाबाबु धेरै अनुभवी भए तापनि तिनीहरूभन्दा आफू नै जान्‍नेसुन्‍ने भएको सोचाइ राख्न लगाउन सक्छ। तथापि, किशोरावस्थाका कठिन वर्षहरूमा यात्रा गर्दैगर्दा आफ्ना आमाबाबुको मदत लिनुका ठोस कारणहरू छन्‌।

किन तपाईंका आमाबाबुको आज्ञा पालन गर्ने?

सबैभन्दा महत्त्वपूर्ण त, परिवारको सुरुवातकर्ता यहोवा तपाईंलाई आमाबाबुको निर्देशन सुन्‍नुपर्छ भन्‍नुहुन्छ। (एफिसी ३:१५) तपाईंको लालनपालनको लागि परमेश्‍वरले आमाबाबुलाई नियुक्‍त गर्नुभएको हुँदा उहाँ तपाईंलाई यस्तो सल्लाह दिनुहुन्छ: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ।” (एफिसी ६:१-३; भजन ७८:५) तपाईं अहिले किशोरावस्थामा पुग्नुभएको होला तर तपाईंलाई डोऱ्‍याउने जिम्मेवारी अझै पनि तपाईंका आमाबाबुको हो र तिनीहरूको कुरा सुन्‍ने दायित्व चाहिं तपाईंको हो। छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्नुपर्छ भनी लेख्दा पावलले सबै उमेरका केटाकेटीलाई लागू हुने युनानी शब्द चलाए। उदाहरणका लागि, मत्ती २३:३७ मा येशूले यरूशलेमका बासिन्दाहरूलाई “बालकहरू” भनी सम्बोधन गर्नुभयो जबकि त्यसमध्ये अधिकांश मानिसहरू वयस्क थिए।

पुरातन समयका थुप्रै विश्‍वासी जनहरूले आफू वयस्क भइसकेपछि पनि आफ्ना आमाबाबुको आज्ञा पालन गरिरहे। याकूब लक्का जवान भइसकेका थिए तरैपनि यहोवाको उपासना नगर्ने केटीसित विवाह नगर्नू भन्‍ने आफ्नो बुबाको आज्ञा पालन गर्नुपर्छ भन्‍ने कुरा तिनले बुझे। (उत्पत्ति २८:१, २) साथै कनानी स्त्रीहरूसित विवाह गर्ने आफ्नो दाइको निर्णयले आफ्ना आमाबाबुलाई कति दुःखित तुल्याएको थियो भनेर पनि याकूबले देखेका थिए।—उत्पत्ति २७:४६.

तपाईंलाई डोऱ्‍याउने ईश्‍वर-प्रदत्त जिम्मेवारीको अलावा तपाईंको सल्लाहकारको रूपमा काम गर्न तपाईंका मसीही आमाबाबु सबैभन्दा योग्य छन्‌। यसको मुख्य कारण के हो भने, तिनीहरूले तपाईंलाई एकदमै राम्ररी चिनेका छन्‌ र निश्‍चय पनि वर्षौंको दौडान तपाईंप्रति निःस्वार्थ प्रेम देखाएका छन्‌। जहाजको मार्गदर्शक जस्तै तिनीहरू आफ्नो अनुभवबाट बोल्छन्‌। तिनीहरू आफैले पनि “जवानीका अभिलाषाहरू” अनुभव गरिसकेका छन्‌। अनि साँचो मसीहीको हैसियतमा तिनीहरूले बाइबलका सिद्धान्तहरू पालन गर्नुको महत्त्व व्यक्‍तिगत रूपमा बुझेका छन्‌।—२ तिमोथी २:२२.

तपाईंकै सामु त्यस्तो अनुभवी मदत भएपछि तपाईंले जीवनको सबैभन्दा कठिन चुनौती पनि सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ। उदाहरणका लागि, विपरीत लिङ्‌गसँगको तपाईंको सम्बन्धलाई लिनुहोस्‌। यस्तो संवेदशील विषयमा तपाईंका मसीही आमाबाबुले तपाईंलाई कसरी डोऱ्‍याउन सक्छन्‌?

विपरीत लिङ्‌गप्रतिको आकर्षण

मार्गदर्शकले कप्तानलाई पानीमुनि हुन सक्ने बालुवाको थुप्रोलाई छलाउने सल्लाह दिन्छन्‌। बालुवाका थुप्रोहरू नरम भए तापनि खतरनाक हुन्छन्‌ किनभने तिनीहरू निरन्तर आफ्नो ठाउँ फेर्छन्‌। त्यसरी नै तपाईंका आमाबाबुले तपाईंलाई भावनात्मक रूपमा पासोमा पार्न सक्ने परिस्थितिबाट टाढै रहन भन्‍न सक्छन्‌। उदाहरणका लागि, विपरीत लिङ्‌गप्रतिको आकर्षणले गहिरो प्रभाव पार्न सक्छ र यसलाई परिभाषित गर्न गाह्रो हुन सक्छ भनी आमाबाबुलाई थाह छ। तर तपाईंमा यी भावनाहरू एकचोटि जागिसकेपछि भने यसले गर्दा तपाईंको जहाज दुर्घटनाग्रस्त हुन सक्छ।

खतरासँग खेलाँची गर्नुको खतरा दीनाको उदाहरणले स्पष्ट पार्छ। सायद कौतूहलता र रमाइलो गर्ने इच्छाले दीनालाई नैतिक तवरमा भ्रष्ट कनानी केटीहरूसित सम्बन्ध बढाउन लालायित पाऱ्‍यो। सुरुमा अहानिकारक देखिएको मोजमस्तीले चाँडै दुःखद मोड लियो—त्यस सहरको “सबैभन्दा बढ़ी आदरणीय” युवकले तिनको बलात्कार गऱ्‍यो।—उत्पत्ति ३४:१, २, १९.

हामी बाँचिरहेको यौनलिप्त संसारले यस्ता खतराहरूलाई अझ बढाउँछ। (होशे ५:४) अधिकांश युवाहरूले विपरीत लिङ्‌गसँग मोजमस्ती गर्नेजस्तो रमाइलो कुरा अरू कुनै छैन भन्‍ने भान पार्न सक्छन्‌। तपाईंलाई शारीरिक रूपमा आकर्षक लाग्ने कोही व्यक्‍तिसित एक्लै समय बिताउने विचारले तपाईंको मुटुको धड्‌कन बढाउन सक्छ। तर मायालु आमाबाबुले परमेश्‍वरका स्तरहरूको आदर नगर्ने युवाहरूसित संगत गर्नुबाट तपाईंलाई जोगाउने प्रयास गर्नेछन्‌।

किशोर-किशोरीहरू कौतूहलताको कारण खतराप्रति अन्धा हुन सक्छन्‌ भनी लोरा स्वीकार्छिन्‌। “मेरो कक्षाका केटीहरूले एकदमै ह्‍यान्डसम केटाहरूसित रातभरि नाचेको कुरा जिन्दगीमा कहिल्यै नबिर्सने अनुभव भएजत्तिकै गरी बताउँछन्‌। तिनीहरू अक्सर बढाइचढाइ गर्छन्‌ भनी मलाई थाह छ तरैपनि मलाई सकसक लाग्छ र आफू सायद थुप्रै रमाइला कुराहरूबाट वञ्चित पो भइरहेको छु कि जस्तो लाग्छ। त्यस्ता ठाउँहरूमा मलाई जान नदिनुमा मेरा आमाबाबु सही छन्‌ भनी मलाई थाह भए तापनि म अझै लालायित हुन्छु।”

जहाजमा ब्रेक हुँदैन त्यसैले यो रोकिन समय लाग्छ। कामवासना पनि त्यस्तै हो भनेर आमाबाबुलाई थाह छ। हितोपदेशको पुस्तकले बताएझैं अनियन्त्रित कामवासनाले मात्तिएको मानिस कसाईखानातिर लान लागेको गोरुजस्तै हुन्छ। (हितोपदेश ७:२१-२३) तपाईं पक्कै पनि त्यस्तो भएको अर्थात्‌ भावनात्मक र आध्यात्मिक तवरमा जहाज डुबेको चाहनुहुन्‍न होला। यस्ता कुराहरूमा तपाईंको हृदयले तपाईंलाई गलत ढङ्‌गमा डोऱ्‍याउन थाल्दा तपाईंका आमाबाबुले चाल पाउन सक्छन्‌ र तपाईंलाई त्यसैअनुसार सल्लाह दिन सक्छन्‌। बुद्धिमानीपूर्वक तिनीहरूको सल्लाह सुनेर के तपाईं विपत्तिबाट बच्नुहुनेछ?—हितोपदेश १:८; २७:१२.

साथीहरूको दबाबको सामना गर्नुपर्दा पनि तपाईंलाई आमाबाबुको साथ चाहिन्छ। तिनीहरूले तपाईंलाई कसरी मदत पुऱ्‍याउन सक्छन्‌?

तपाईंका साथीहरूको फकाइफुस्ल्याइ गर्ने क्षमता

ठूलो छाल वा करेन्टले जहाजलाई आफ्नो मार्गबाट अर्कै दिशातिर हुत्त्याउन सक्छ। यो बलियो शक्‍तिको मुकाबिला गर्न जहाजलाई अर्कै मार्गतर्फ डोऱ्‍याउनुपर्छ। त्यसै गरी अन्य युवाहरूको फकाइफुस्ल्याइ गर्ने क्षमताको प्रतिरोध गर्न केही पनि कदम चाल्नुभएन भने तपाईंलाई आध्यात्मिकताबाट टाढा अर्कै मार्गमा हुत्त्याउन सक्छ।

दीनाको अनुभवले देखाएझैं “मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) याद गर्नुहोस्‌, बाइबलीय भाषामा “मूर्ख” भनेको यस्तो व्यक्‍ति हो जसले यहोवालाई चिन्दैन वा उहाँको मार्गमा हिंड्‌न चाहँदैन।

हुन त, तपाईंका सहपाठीहरूको धारणा वा चलनहरू तिरस्कार गर्न गाह्रो हुन सक्छ। मारिया होसा भन्छिन्‌: “अरू जवानहरूले मलाई स्वीकारेको चाहन्थें। म तिनीहरूभन्दा फरक छु भन्‍नेजस्तो सोचाइ तिनीहरूमा नपरोस्‌ भनेर मैले सक्दो तिनीहरूको नक्कल गरें।” तपाईंले छनौट गर्ने सङ्‌गीत, पहिरन वा तपाईंले बोल्ने ढङ्‌गमा समेत चालै नपाई तपाईंले आफ्ना साथीहरूको नक्कल गरिरहनुभएको हुन सक्छ। सायद तपाईंलाई आफ्नै उमेरका युवाहरूसँग उठबस गर्न सजिलो लाग्छ। त्यो स्वाभाविक हो तर तिनीहरूबाट तपाईं निकै प्रभावित हुने खतरा हुनुका साथै यो विनाशकारी साबित हुन सक्छ।—हितोपदेश १:१०-१६.

आफूले केही वर्षअघि सामना गरेको कठिनाइलाई क्यारोलिन सम्झन्छिन्‌: “१३ वर्षको उमेरदेखि म सँगसँगै हिंड्‌ने प्रायजसो केटीहरूको बोइफ्रेन्डहरू थिए र मैले पनि तिनीहरूजस्तै गर्न निकै वर्ष दबाबको सामना गर्नुपऱ्‍यो। तथापि, मेरी आमाले यो कठिन घडीमा मलाई डोऱ्‍याउनुभयो। मेरो कुरा सुन्दै, मसित तर्क गर्दै र त्यस्तो सम्बन्ध विकास गर्न म परिपक्व नभएसम्म हतार गर्न नहुने कुरा बुझाउँदै उहाँले मसँग घण्टौं बिताउनुभयो।”

क्यारोलिनकी आमाले जस्तै तपाईंका आमाबाबुले तपाईंलाई साथीहरूको दबाबबारे चेतावनी दिने वा केही गतिविधि वा मित्रतामा रोक लगाउन समेत बाध्य महसुस गर्लान्‌। त्यस्ता विषयहरूमा आफ्ना आमाबाबुसँग भएका मतभेदहरू नेथनले बिर्सेका छैनन्‌। तिनी भन्छन्‌, “मेरा साथीहरू अक्सर मलाई तिनीहरूसँग बाहिर जान बोलाउँथे तर मेरा आमाबाबु मैले ठूलो समूहमा घुलमिल गरेको वा कसैको निरीक्षण नभएको पार्टीहरूमा गएको चाहनुहुन्‍न थियो। त्यतिबेला मेरा आमाबाबु मात्र किन त्यतिबिघ्न कडा हुनुभएको होला भनेर मैले बुझ्न सकिनँ।”

तथापि, पछि नेथनले कुरा बुझे। “मेरो सन्दर्भमा भन्‍ने हो भने, ‘बालकको हृदयभित्र मूर्खता गाडिएको छ’ भनी मलाई थाह थियो” भनी तिनी स्वीकार्छन्‌। “र यो मूर्खता केटाहरूको समूहमा सजिलै बाहिर निस्कन्छ। कोही एक जनाले एउटा गलत काम सुरु गर्छ अनि अर्को त्यसभन्दा एक कदम अघि जान्छ र तेस्रोले हदै नाघ्छ। त्यसपछि त समूहका सबैलाई नराम्रो काम गर्न उक्साइन्छ। यहोवालाई सेवा गर्छु भन्‍ने जवानहरू समेत यो पासोमा फस्न सक्छन्‌।”—हितोपदेश २२:१५.

आमाबाबुले साथीहरूको लहैलहैमा लाग्न नदिंदा नेथन र मारिया होसा दुवैले आफ्नो हृदयसित सङ्‌घर्ष गर्नु पऱ्‍यो। तर जेहोस्‌, तिनीहरूले आमाबाबुको कुरा सुने र त्यसो गरेकोमा पछि खुसी व्यक्‍त गरे। हितोपदेश भन्छ: “बुद्धिमानी मानिसका वचन—होशियार गर्‌ मेरो वचनमा ध्यान दे, र मैले दिएको ज्ञानको कुरामा तेरो मन लगा।”—हितोपदेश २२:१७.

आदरको योग्य

एकातिर ढल्केको जहाज सँभाल्न गाह्रो हुन्छ र बढ्‌तै ढल्केको छ भने त सजिलै डुब्न पनि सक्छ। हाम्रो असिद्ध झुकावको कारण हामी सबै स्वार्थी र निषेधित कुराहरूप्रति ढल्केका छौं। यी झुकावहरूको बावजुद जवान व्यक्‍तिहरूले होसियारीपूर्वक आफ्ना आमाबाबुको डोऱ्‍याइ पालन गर्दा बन्दरगाहमा पुग्न सक्छन्‌।

उदाहरणका लागि, जीवनतर्फ डोऱ्‍याउने साँघुरो बाटो र विनाशतर्फ पुऱ्‍याउने चौडा बाटोबीच एउटा बीचको बाटो पनि छ भन्‍ने सोचाइलाई तिरस्कार गर्न तपाईंका आमाबाबुले मदत गर्न सक्छन्‌। (मत्ती ७:१३, १४) परमेश्‍वरको नियम खासै भङ्‌ग नगरी कुनै अनुचित कुराको अलिकति मजा लिन सकिन्छ भन्‍ने सोचाइ राख्नु भनेको खाना ननिलीकनै त्यसको “स्वाद” लिन सकिन्छ भनेझैं अव्यावहारिक हुन्छ। त्यस्तो मार्ग पछ्याउन खोज्नेहरू ‘दोधारमा बसिरहन्छन्‌’ अर्थात्‌ धेरथोर यहोवाको पनि सेवा गर्ने र अर्कोतिर संसार र संसारका कुराहरूलाई पनि प्रेम गर्छन्‌ र यस्तो भयो भने आध्यात्मिक तवरमा डुब्न धेरै बेर लाग्दैन। (१ राजा १८:२१; १ यूहन्‍ना २:१५) किन त्यस्तो हुन्छ? हाम्रा पापी झुकावहरूको कारण।

हामी आफ्ना असिद्ध इच्छाहरूको प्रभावमा पर्न थाल्यौं भने यो झनै शक्‍तिशाली हुन्छ। हाम्रो ‘छली हृदयले’ स्वाद मात्र लिएर चित्त बुझाउँदैन। यसले अझ बढी माग गर्नेछ। (यर्मिया १७:९) हामी आध्यात्मिक तवरमा तर्किन थाल्यौं भने संसारले हामीमा झन्‌झन्‌ बढी प्रभाव जमाउन थाल्छ। (हिब्रू २:१) तपाईं आध्यात्मिक तवरमा एकातिर ढल्कँदै गएको तपाईंले याद नगर्नुहोला तर तपाईंका मसीही आमाबाबुले चाल पाउनेछन्‌। हो तिनीहरू कम्प्युटर चलाउन तपाईंजस्तो सिपालु नहोलान्‌ तर बरालिने हृदयको विषयमा तपाईंलाई भन्दा तिनीहरूलाई धेरै थाह छ। अनि तिनीहरू जीवन पाउने ‘ठीक बाटोतिर तपाईंको मनलाई’ डोऱ्‍याउन चाहन्छन्‌।—हितोपदेश २३:१९.

तपाईंका आमाबाबुले संगीत, मनोरञ्जन र पहिरन जस्ता अप्ठ्यारा क्षेत्रहरूमा डोऱ्‍याइ दिनुपर्दा तिनीहरूले सबै कुरामा शतप्रतिशत सही निर्णय गर्ने आशा नगर्नुहोस्‌। तपाईंका आमाबाबुसँग सुलेमानको जस्तो बुद्धि वा अय्यूबको धैर्यता नहुन सक्छ। जहाजको मार्गदर्शकले जस्तै बढ्‌तै सावधानी अपनाएर गल्ती गर्लान्‌। तैपनि, यदि तपाईंले ‘आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‍नुभयो र आफ्नी आमाको अर्ती इन्कार गर्नुभएन’ भने तिनीहरूको डोऱ्‍याइ अमूल्य साबित हुनेछ।—हितोपदेश १:८, ९.

अरू युवाहरूले आफ्ना आमाबाबुबारे जथाभावी बोल्लान्‌। यद्यपि, तपाईंका आमाबाबुले धर्मशास्त्रलाई पछ्याउन प्रयास गरिरहेका छन्‌ भने जस्तोसुकै मौसममा, जुनसुकै समयमा र जस्तोसुकै कठिनाइ आइपर्दा पनि तिनीहरूले तपाईंको साथ छोड्‌ने छैनन्‌। जहाजको कप्तानलाई अनुभवी मार्गदर्शकले सल्लाह दिएझैं तपाईंलाई बुद्धिको मार्गमा डोऱ्‍याउन तपाईंका आमाबाबुको आवश्‍यकता छ। यसबाट प्राप्त हुने इनामहरू अतुलनीय हुन सक्छन्‌।

“किनभने बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। अन्धकारको बाटोमा हिंड़न जसले इमान्दारी चाललाई त्याग्दछन्‌, . . . किनभने सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌।”—हितोपदेश २:१०-१३, २१.

[पृष्ठ २२-मा भएको चित्र]

अन्य जवानहरूको प्रभावले तपाईंलाई आध्यात्मिक तवरमा अर्कै मार्गमा हुत्त्याउन सक्छ

[पृष्ठ २३-मा भएको चित्र]

दीनाको अनुभवलाई नबिर्सनुहोस्‌

[पृष्ठ २४-मा भएको चित्र]

जहाजको कप्तानले अनुभवी मार्गदर्शकको सल्लाह खोजेझैं जवानहरूले पनि आफ्ना आमाबाबुको डोऱ्‍याइ खोज्नुपर्छ

[पृष्ठ २४-मा भएको चित्रको स्रोत]

Photo: www.comstock.com