सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

को हुन्‌ त आजका सक्षम नेता?

को हुन्‌ त आजका सक्षम नेता?

को हुन्‌ त आजका सक्षम नेता?

सन्‌ १९४० को दौडान बेलाइती सांसदमा नेतृत्व लिने व्यक्‍तिको अभाव खट्‌किएको थियो। यससम्बन्धी बहस सुनेका सतहत्तर वर्षीय डेविड लोयड जर्जको नेतृत्वमा बेलाइतले प्रथम विश्‍वयुद्धमा विजय हासिल गरेको थियो र राजनीतिमा निकै वर्ष बिताइसकेको कारण तिनी उच्च अधिकारीहरूको काम निरीक्षण गर्न सक्ने स्थानमा थिए। मे ८ तारिखका दिन हाउस अफ कमन्स्‌मा दिएको भाषणमा तिनले यसो भने: “नेतृत्व लिने व्यक्‍ति होउन्जेल, सरकार आफ्नो उद्देश्‍यमा प्रस्ट होउन्जेल र नेतृत्व लिने व्यक्‍तिहरूले यथासक्दो गरिरहेका छन्‌ भन्‍ने कुरामा निर्धक्क होउन्जेल कुनै पनि किसिमको त्याग गर्न देश तयार छ।”

लोयड जर्जका शब्दहरूले कुन कुरा स्पष्ट पार्छ भने, मानिसहरू आफ्नो नेता सक्षम भएको र अवस्था सुधार्न निष्कपट प्रयास गरेको चाहन्छन्‌। चुनावी प्रचारप्रसारमा जुटेकी एउटी कार्यकर्ताले यसो भनिन्‌: “मानिसहरूले राष्ट्रपतिको लागि भोट खसाल्दा उनीहरूले त्यस्तो व्यक्‍तिको लागि भोट खसालिरहेका हुन्छन्‌, जसमाथि उनीहरूले आफ्नो जीवन, आफ्नो भविष्य र आफ्ना बालबच्चा सुम्पिरहेका हुन्छन्‌।” यस्तो भरोसाको रक्षा गर्नु कुनै चानचुने काम होइन। किन?

हामी बसिरहेको संसार समस्यै-समस्याले भरिएको छ र त्यसको समाधान भने नभएजस्तो देखिन्छ। उदाहरणका लागि, कुनचाहिं नेताले आफूलाई अपराध र युद्ध निर्मूल पार्न सक्ने हदसम्मको बुद्धिमान्‌ र शक्‍तिशाली प्रमाणित गर्न सकेको छ र? हरेक मानिसलाई भोजन, स्वच्छ पानी र स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्रोतसाधन तथा अनुकम्पा आजका नेताहरूमध्ये कोसित पो छ र? वातावरण संरक्षण गर्नुका साथै यसलाई अझ बिग्रन नदिने ज्ञान र दृढ अठोट कसैसँग छ? सम्पूर्ण मानिसजातिले चिरकालीन तथा सुखी जीवनको आनन्द उठाउन सकून्‌ भनेर पक्का गर्न सक्ने सक्षम र शक्‍तिशाली व्यक्‍ति को छ?

मानिसले गर्न सक्दैन

हो, कोही-कोही नेताहरूले केही हदसम्म सफलता प्राप्त गरेका छन्‌। तथापि, तिनीहरूले धेरैभन्दा धेरै भनेको केही दशकसम्म शासन गर्न सक्छन्‌ तर तिनीहरूपछि नि? आजसम्म बाँचेकाहरूमध्ये एक जना सक्षम नेता, पुरातन इस्राएलका राजा सुलेमानले यस प्रश्‍नमाथि गौर गरे। निष्कर्षमा तिनले यसो भने: “संसारमा मैले गरेका मेरो सबै परिश्रम र मेहनतलाई मैले घृणा गर्नलागें, किनभने मैले त्यसको फल मेरो उत्तराधिकारीको निम्ति छोड़िराख्नुपर्छ। त्यो बुद्धिमान हुने हो कि मूर्ख हुने हो कसलाई थाह छ र? तापनि संसारमा मेरा सबै परिश्रम र निपुणताको फल त्यसैले पाउनेछ। यो पनि व्यर्थ हो।”—उपदेशक २:१८, १९.

आफूले गरेको असल कामलाई आफ्नो उत्तराधिकारीले कायम राख्ने हुन्‌ वा धूलोमा मिलाइदिने हुन्‌, त्यसबारे सुलेमानलाई केही थाह थिएन। सुलेमानको विचारमा पुराना शासकहरूको ठाउँमा नयाँ शासकहरू आउने चक्र “व्यर्थ” थियो।

कहिलेकाहीं शासनपद्धतिमा जबरजस्ती परिवर्तन ल्याउन हिंसाको सहारा लिने गरिन्छ। आफ्नो कार्यकालमै सक्षम नेताहरूको हत्या भएको छ। संयुक्‍त राज्य अमेरिकाको अत्यन्तै सम्मानित राष्ट्रपति अब्राहाम लिङ्‌कनले एक चोटि श्रोताहरूलाई यसो भने: “महत्त्वपूर्ण पदमा रहेर काम गर्न छोटो समयावधिको लागि म चुनिएको छु र तपाईंहरूको नजरमा अहिले मैले जुन मान-सम्मान पाएको छु, त्यो चाँडै बितेर जानेछ।” तिनको कार्यकाल साँच्चै छोटो थियो। तिनले गरेका सम्पूर्ण काम र जनताको लागि अझ बढी गर्ने चाहना हुँदाहुँदै पनि राष्ट्रपति लिङ्‌कनले चार वर्षसम्म मात्रै आफ्नो देशको नेतृत्व गर्न सके। नयाँ नेता चाहने व्यक्‍तिले तिनको कार्यकालको दोस्रो अवधिको सुरुतिरै तिनको हत्या गरिदिए।

अत्यन्तै सफल मानव नेताहरूले समेत आफ्नो भविष्य सुनिश्‍चित गर्न सक्दैनन्‌। त्यसोभए तपाईंको भविष्य सुनिश्‍चित गर्न तिनीहरूमाथि भरोसा राख्नु ठीक होला त? बाइबल यसो भन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।”—भजन १४६:३, ४.

मानव नेताहरूमा भरोसा नगर्‌ भन्‍ने सल्लाह स्वीकार्न गाह्रो हुन सक्छ। तर मानिसजातिले कहिल्यै पनि सक्षम र स्थायी नेता पाउनेछैन भनेर चाहिं बाइबलमा बताइएको छैन। यशैया ३२:१ मा यसो भनिएको छ, “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्‌, र भारादारहरूले उचित शासन गर्नेछन्‌।” मानिसको सृष्टिकर्ता यहोवा परमेश्‍वरले “राजा” तथा एक जना नेता तयार गर्नुभएको छ, जसले चाँडै पृथ्वीका गतिविधिहरूलाई पूर्णतया आफ्नो नियन्त्रणमा राख्नेछन्‌। तिनी को हुन्‌? बाइबल भविष्यवाणीले तिनको परिचय दिन्छ।

नेतृत्व लिन साँच्चै योग्य व्यक्‍ति

दुई हजार वर्षअगाडि एउटा स्वर्गदूतले मरियम भन्‍ने एउटी यहूदी कन्यालाई यसो भने: “तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३१-३३) हो, बाइबलको भविष्यवाणीले परिचित गराएको राजा नासरतका येशू हुनुहुन्छ।

धार्मिक चित्रहरूले येशूलाई अक्सर एक जना बालक, राम्रो पोषण नपाएर कमजोर भएको बच्चा वा आफूमाथि जे आइपरे तापनि चुपो लागेर सहने सन्यासीको रूपमा चित्रण गर्छ। यस्ता चित्रहरू हेर्दा मानिसहरूले उहाँलाई आफ्नो शासकको रूपमा भरोसा गर्न सक्दैनन्‌। तथापि, बाइबलमा उल्लिखित वास्तविक येशू ख्रीष्ट त बढेर जोस-जाँगरले भरिपूर बलियो, परिपक्व व्यक्‍ति हुनुभयो। अनि उहाँसित अन्य गुणहरू पनि थिए जसले उहाँलाई सक्षम नेता हुन सक्ने व्यक्‍ति बनायो। (लूका २:५२) उहाँको उल्लेखनीय व्यक्‍तित्वका केही पक्षहरू तल दिइएका छन्‌।

येशूले पूर्णतया निष्ठा कायम राख्नुभयो। उहाँको इमानदार तथा धार्मिक आचरण यस्तो थियो कि उहाँले आफ्ना शत्रुहरूलाई उहाँ विरुद्ध जायज दोष लगाउन खुलेआम चुनौती दिनुभयो। तिनीहरूले त्यसो गर्न सकेनन्‌। (यूहन्‍ना ८:४६) उहाँका निष्कपट शिक्षाहरू सुनेर थुप्रै इमानदार मानिसहरू उहाँका अनुयायीहरू भए।—यूहन्‍ना ७:४६; ८:२८-३०; १२:१९.

येशू परमेश्‍वरप्रति पूर्णतया समर्पित हुनुहुन्थ्यो। ईश्‍वरप्रदत्त कार्य पूरा गर्न उहाँ यत्ति कटिबद्ध हुनुहुन्थ्यो कि मानिस होस्‌ या प्रेत, कुनै पनि प्रतिद्वन्द्वीले उहाँलाई रोक्न सकेन। हिंस्रक आक्रमणहरूले उहाँलाई भयभीत तुल्याएन। (लूका ४:२८-३०) थकान र भोकले उहाँलाई निराश पारेन। (यूहन्‍ना ४:५-१६, ३१-३४) आफ्ना मित्रहरूले उहाँलाई त्यागे तापनि उहाँ आफ्नो लक्ष्यदेखि कहिल्यै तर्किनुभएन।—मत्ती २६:५५, ५६; यूहन्‍ना १८:३-९.

येशू मानिसहरूप्रति गहिरो चासो राख्नुहुन्थ्यो। उहाँले भोकाएका मानिसहरूको लागि खाना उपलब्ध गराउनुभयो। (यूहन्‍ना ६:१०, ११) उहाँले निराश भएकाहरूलाई सान्त्वना दिनुभयो। (लूका ७:११-१५) उहाँले दृष्टि फर्काइदिनुभयो, फेरि सुन्‍न सक्ने बनाउनुभयो र बिरामीहरूलाई निको पार्नुभयो। (मत्ती १२:२२; लूका ८:४३-४८; यूहन्‍ना ९:१-६) उहाँले कडा परिश्रम गर्ने आफ्ना प्रेरितहरूलाई प्रोत्साहन दिनुभयो। (यूहन्‍ना, अध्याय १३-१७) उहाँ आफ्नो भेडाको राम्रो देखभाल गर्ने “असल गोठालो” साबित हुनुभयो।—यूहन्‍ना १०:११-१४.

येशू काम गर्न इच्छुक हुनुहुन्थ्यो। चेलाहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन उहाँले तिनीहरूको खुट्टा धुनुभयो। (यूहन्‍ना १३:४-१५) बुङ्‌-बुङ्‌ धूलो उड्‌ने इस्राएलको बाटोमा सुसमाचार प्रचार गर्दा उहाँको आफ्नै खुट्टा पनि मैलो भएको थियो। (लूका ८:१) सुटुक्क एउटा “एकान्त ठाउँमा” गएर थकाइ मार्ने विचार गरिरहेको बेलासमेत अझ बढी शिक्षा सुन्‍न भीड उहाँको पछिपछि लाग्दा उहाँले तिनीहरूलाई त्यतिकै फर्काउनुभएन। (मर्कूस ६:३०-३४) यस प्रकार उहाँले सम्पूर्ण मसीहीहरूको लागि लगनशीलताको एउटा उदाहरण बसाल्नुभयो।—१ यूहन्‍ना २:६.

येशूले आफ्नो कार्यभार पूरा गर्नुभयो र पृथ्वीबाट जानुभयो। उहाँको विश्‍वासीपनको इनामस्वरूप यहोवा परमेश्‍वरले उहाँलाई राजत्वका साथै स्वर्गमा अमरत्व प्रदान गर्नुभयो। पुनरुत्थान हुनुभएका येशूको बारेमा बाइबल यसो भन्छ: “ख्रीष्ट मुर्दाबाट बिउँतिएर फेरि मर्नुहुन्‍न, मुत्युको फेरि उहाँमाथि राज्य हुँदैन।” (रोमी ६:९) मानिसजातिको सबैभन्दा उत्तम नेता उहाँ नै हुनुहुन्छ भन्‍ने कुरामा तपाईं विश्‍वस्त हुन सक्नुहुन्छ। एक चोटि पृथ्वीमाथि ख्रीष्ट येशूले पूर्णतया नियन्त्रण लिइसक्नुभएपछि, न त कसैलाई शक्‍तिशाली बनाइरहनु आवश्‍यक पर्नेछ न नेतृत्वमा परिवर्तन ल्याउनु नै जरुरत पर्नेछ। आफ्नो कार्यकालमा उहाँलाई कहिल्यै हटाइनेछैन र अयोग्य उत्तराधिकारीले उहाँको कामलाई बेकार अथवा नाकाम पार्नेछैन। तर मानिसजातिको लाभको लागि उहाँले खास गरी के गर्नुहुनेछ?

यी नयाँ नेताले के गर्नुहुनेछ

भजन अध्याय ७२ मा यी सिद्ध तथा अमर राजाले कसरी शासन गर्नुहुनेछ भन्‍ने विषयमा केही भविष्यसूचक विवरणहरू बताइएको छ। पद ७ र ८ मा हामी यस्तो लेखिएको पाउँछौं: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। एक समुद्रदेखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ। र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ।” मानिसजातिको लाभ हुने उहाँको शासनअन्तर्गत पृथ्वीका बासिन्दाहरूले चिरकालीन र अटुट सुरक्षाको आनन्द उठाउनेछन्‌। आज जति पनि हातहतियार छन्‌, उहाँले ती सबै नष्ट गर्नुहुनेछ र मानिसको मनबाट झगडा गर्ने इच्छा हटाइदिनुहुनेछ। आज भोकाएको सिंहले जस्तो अरूलाई आक्रमण गर्ने वा आफ्ना छिमेकीहरूप्रति रिसाहा भालुले जस्तो व्यवहार गर्ने व्यक्‍तिहरूले आफ्नो स्वभाव पूर्णतया परिवर्तन गरिसकेका हुनेछन्‌। (यशैया ११:१-९) त्यतिखेर प्रशस्त शान्ति हुनेछ।

भजन ७२ को पद १२ देखि १४ मा अझ यसो भनिएको छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” कमजोर, दरिद्र र दुःखीहरू एउटा सुखी मानव परिवारको भाग हुनेछन्‌ र राजा येशू ख्रीष्टको नेतृत्वअन्तर्गत एकजुट हुनेछन्‌। तिनीहरूको जीवन दुःख र नैराश्‍यले होइन आनन्दले भरिएको हुनेछ।—यशैया ३५:१०.

पद १६ मा यस्तो प्रतिज्ञा गरिएको छ: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” आज पृथ्वीका लाखौं मानिसहरू भोकमरीको चपेटाबाट कहिल्यै मुक्‍त हुन सकेका छैनन्‌। राजनीति र लोभले गर्दा अक्सर पर्याप्त मात्रामा खाद्यान्‍न निष्पक्ष ढङ्‌गमा वितरण हुन सक्दैन, जसको फलस्वरूप कैयौं व्यक्‍तिहरू, त्यसमा पनि विशेष गरी केटाकेटीहरू खान नपाएर मर्छन्‌। तर येशू ख्रीष्टको शासनअन्तर्गत यो समस्या हट्‌नेछ। पृथ्वीले स्वादिष्ठ भोजनका राम्रा फसलहरू उत्पादन गर्नेछ। सम्पूर्ण मानिसजातिले तृप्त होउन्जेल खान पाउनेछन्‌।

के तपाईं एक जना असल नेताले दिने ती आशिष्‌हरूको आनन्द उठाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने, हामी तपाईंलाई पृथ्वीमाथि चाँडै पूर्णतया नियन्त्रण गर्नुहुने नेताको विषयमा सिक्न प्रोत्साहन दिन्छौं। यसो गर्न यहोवाका साक्षीहरूले तपाईंलाई खुसीसाथ मदत गर्नेछन्‌। तपाईं निराश हुनुपर्ने छैन किनभने स्वयम्‌ यहोवा परमेश्‍वर आफ्नो पुत्रको बारेमा यसो भन्‍नुहुन्छ: “मैले आफ्नै पवित्र डाँड़ा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु।”—भजन २:६.

[पृष्ठ ५-मा भएको पेटी]

अचानक सत्ताच्युत

आफ्नो जनताको लागि केही हदसम्म शान्ति र सुरक्षितसाथ बस्न सकिने अवस्थाको प्रबन्ध मिलाएको खण्डमा मात्रै एक जना शासकले आफ्नो प्रजाबाट आदर र सहयोगको अपेक्षा गर्न सक्छन्‌। तर कथङ्‌कदाचित्‌ जनताले तिनीमाथिको विश्‍वस्तता गुमाएको खण्डमा भने, तिनको ठाउँमा अरू नै सत्तासीन हुन सक्छ। शक्‍तिशाली शासकहरू अचानक सत्ताच्युत भएका अवस्थाहरूको केही उदाहरणहरू तल दिइएका छन्‌।

असन्तोषजनक अवस्था। अठारौं शताब्दीको अन्ततिर कैयौं फ्रान्सेली नागरिकहरूलाई चर्को कर तिर्न बाध्य पारियो तर खानेकुराको भने अभाव थियो। त्यस्ता अवस्थाहरूले फ्रान्सेली क्रान्तिलाई जन्म दियो, जुन क्रान्तिको कारण सन्‌ १७९३ मा राजा लुइस सोह्रौंले प्राणदण्ड भोग्नुपऱ्‍यो।

युद्ध। प्रथम विश्‍वयुद्धले इतिहासका केही शक्‍तिशाली सम्राट्‌हरूको शासनलाई निमिट्यान्‍न पारिदियो। उदाहरणका लागि, सन्‌ १९१७ मा युद्धले रूसको सेन्ट पिटर्सबर्गमा निम्त्याएको खाद्यान्‍न अभाव नै पछि गएर रूसी क्रान्तिको प्रारम्भिक चरण बन्‍न पुग्यो। यस विद्रोहको कारण जार निकोलास द्वितीय अपदस्थ हुनुपऱ्‍यो र कम्युनिस्ट शासनको उदय भयो। सन्‌ १९१८ को नोभेम्बर महिनामा जर्मनी शान्ति चाहन्थ्यो तर शासनप्रणाली परिवर्तन नगरुन्जेल फ्रान्स, बेलाइत, रूस र संयुक्‍त राज्य अमेरिकाको संयुक्‍त सेना युद्ध रोक्न तयार थिएन। फलस्वरूप, जर्मन सम्राट्‌ भिल्हेम द्वितीय नेदरल्याण्डमा निर्वासित हुन बाध्य भए।

बेग्लै शासन प्रणाली भएको सरकारको चाहना। सन्‌ १९८९ मा सोभियत सरकार ढल्यो। जनताले साम्यवादलाई तिरस्कार गरेर विभिन्‍न प्रकारको शासन स्थापित गरेपछि पत्थरजत्तिकै मजबुत देखिएको शासन चकनाचूर भयो।

[पृष्ठ ७-मा भएका चित्रहरू]

येशूले भोकाएकालाई खुवाउनुभयो, बिरामीलाई निको पार्नुभयो र सबै मसीहीहरूका लागि असल उदाहरण बसाल्नुभयो

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Lloyd George: Photo by Kurt Hutton/Picture Post/Getty Images