सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका आनन्दित सेवकहरू

यहोवाका आनन्दित सेवकहरू

यहोवाका आनन्दित सेवकहरू

“धन्य आत्मामा दरिद्र हुनेहरू।”—मत्ती ५:३.

१. साँचो आनन्द के हो र यसले के झल्काउँछ?

 आनन्द यहोवाका जनहरूको एउटा बहुमूल्य सम्पत्ति हो। भजनहार दाऊदले यस्तो उद्‌गार व्यक्‍त गरे: “ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्‍वर परमप्रभुनै हुनुहुन्छ।” (भजन १४४:१५) सुख वा आनन्द भनेको मनमा हुने प्रिय अनुभूति हो। हामीले यहोवाबाट आशिष्‌ पाएका छौं भन्‍ने महसुस हुँदा सबैभन्दा गहिरो अर्थात्‌ भित्री आनन्द प्राप्त हुन्छ। (हितोपदेश १०:२२) यस्तो आनन्दले स्वर्गमा बस्नुहुने हाम्रो पितासित घनिष्ठ सम्बन्ध छ र हामीले उहाँको इच्छा गरिरहेका छौं भन्‍ने कुरा हामीलाई थाह छ भनी देखाउँछ। (भजन ११२:१; ११९:१, २) चाखलाग्दो कुरा, येशूले हामी आनन्दित हुन सक्ने नौवटा कारण उल्लेख गर्नुभयो। यो लेख र अर्को लेखमा आनन्दित हुन सक्ने यी कारणहरू जाँच्दा, यसले “आनन्दित परमेश्‍वर” यहोवाको विश्‍वासीपूर्वक सेवा गऱ्‍यौं भने हामी कत्ति धेरै आनन्दित हुन सक्छौं भनी बुझ्न हामीलाई मदत दिनेछ।—१ तिमोथी १:११, NW.

आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग

२. कति बेला येशूले आनन्दबारे बताउनुभयो र उहाँको सुरुको भनाइ के थियो?

सा.यु. ३१ मा येशूले आजसम्मको सबैभन्दा प्रख्यात उपदेश दिनुभयो। यसलाई डाँडाको उपदेश भनिन्छ किनभने यो उपदेश येशूले गालीलको समुद्र नजिकैको डाँडामा दिनुभएको थियो। मत्तीको सुसमाचार यसो भन्छ: “अनि भीड़लाई देखेर [येशू] डाँडामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। औ उहाँले मुख खोलेर तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो—धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” a शाब्दिक रूपमा अनुवाद गर्ने हो भने येशूको सुरुका शब्दहरू यस्ता हुन्छन्‌: “आत्मामा गरिबहरू आनन्दित हुन्‌” वा “आत्माको लागि भिखारीहरू आनन्दित हुन्‌।” (छड्‌के अक्षर हाम्रो, मत्ती ५:१-३; किङ्‌डम इन्टरलिनियर; पादटिप्पणी) टुडेज इंग्लिस भर्सन यसो भन्छ: “आफू आध्यात्मिक तवरमा गरिब छु भनी थाह पाउनेहरू आनन्दित हुन्‌।”

३. नम्र मनोभावले हाम्रो आनन्द बढाउन कसरी योगदान पुऱ्‍याउँछ?

कुनै व्यक्‍ति आफूमा आध्यात्मिकताको कमी छ भन्‍ने कुराबारे सजग छ भने त्यो व्यक्‍ति अझ बढी आनन्दित हुन्छ भनी येशूले डाँडाको उपदेशमा औंल्याउनुभयो। नम्र मसीहीहरू आफ्नो पापी अवस्थाबारे पूर्णतया सजग हुँदै ख्रीष्टको छुडौतीको बलिदानको आधारमा यहोवासित क्षमा माग्छन्‌। (१ यूहन्‍ना १:९) यसरी तिनीहरू मनोशान्ति र साँचो आनन्द प्राप्त गर्छन्‌। “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ।”—भजन ३२:१; ११९:१६५.

४. (क) कुन-कुन तरिकामा हामी आफ्नो र अरूको आध्यात्मिक आवश्‍यकताप्रति सजगता देखाउन सक्छौं? (ख) आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुँदा कुन कुराले हाम्रो आनन्द अझ बढाउँछ?

आफ्नो आध्यात्मिक आवश्‍यकताप्रतिको सजगताले हामीलाई दिनहुँ बाइबल पढ्‌न, “विश्‍वासी र बुद्धिमान दास[ले]” “ठीक ठीक समयमा” दिएको आध्यात्मिक भोजनबाट पूर्णतया लाभ उठाउन अनि नियमित तवरमा मसीही सभाहरूमा उपस्थित हुन उत्प्रेरित गर्छ। (मत्ती २४:४५; भजन १:१, २; ११९:१११; हिब्रू १०:२५) छिमेकीप्रतिको प्रेमले हामीलाई अरूको आध्यात्मिक अवस्थाबारे सजग बनाउँछ अनि राज्यको सुसमाचार प्रचार गर्ने तथा सिकाउने काममा जोसिलो हुन उत्प्रेरित गर्छ। (मर्कूस १३:१०; रोमी १:१४-१६) अरूलाई बाइबल सच्चाइबारे बताउँदा हामी आनन्दित हुन्छौं। (प्रेरित २०:२०, ३५) परमेश्‍वरको राज्य र त्यस राज्यले ल्याउने आशिष्‌हरूको अद्‌भुत आशाबारे मनन गर्दा हाम्रो आनन्द अझ बढ्‌छ। अभिषिक्‍त मसीहीहरूको “सानो बगाल[को]” लागि यस राज्य आशाको अर्थ ख्रीष्टको राज्य सरकारको सदस्यको रूपमा स्वर्गमा अमर जीवन हो। (लूका १२:३२; १ कोरिन्थी १५:५०, ५४) “अरू भेड़ा[को]” लागि यसको अर्थ त्यो राज्य सरकारअन्तर्गत पार्थिव प्रमोदवनमा अनन्त जीवन हो।—यूहन्‍ना १०:१६; भजन ३७:११; मत्ती २५:३४, ४६.

शोक गर्नेहरू कसरी आनन्दित हुन सक्छन्‌

५. (क) “शोक गर्नेहरू” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (ख) यस्ता शोक गर्नेहरूले कसरी सान्त्वना पाउँछन्‌?

आनन्दित हुने कारणबारे येशूको अर्को भनाइ विरोधाभासपूर्ण जस्तो देखिन्छ। उहाँले यसो भन्‍नुभयो: “धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्‌।” (मत्ती ५:४) कुनै व्यक्‍तिले शोक गरिरहेको छ भने त्यति नै बेला ऊ कसरी आनन्दित हुन सक्छ र? येशूको भनाइको अर्थ बुझ्न उहाँले कस्तो प्रकारको शोकबारे बताउँदै हुनुहुन्थ्यो भन्‍ने कुरा हामीले विचार गर्नुपर्छ। हाम्रो आफ्नै पापी अवस्था शोकको एउटा कारण हुनुपर्छ भनी चेला याकूब बताउँछन्‌। तिनले यस्तो लेखे: “हे पापी हो, तिमीहरूको हात शुद्ध पार, र हे दोमनका हो, तिमीहरूको हृदय पवित्र पार। दुःखी होओ, अफसोस गर र रोओ। तिमीहरूको हाँसो शोकमा र तिमीहरूको आनन्द सुर्त्तामा परिवर्त्तन होस्‌। प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।” (याकूब ४:८-१०) ख्रीष्टको छुडौतीको बलिदानमा विश्‍वास राखेमा र यहोवाको इच्छा गरेर साँचो पश्‍चात्ताप देखाएमा आफ्ना पापहरू क्षमा हुन सक्छन्‌ भनी थाह पाउँदा आफ्नो पापी अवस्थाको कारण साँच्चै दुःखी भएकाहरूले सान्त्वना महसुस गर्छन्‌। (यूहन्‍ना ३:१६; २ कोरिन्थी ७:९, १०) यसरी तिनीहरूले यहोवासित एउटा बहुमूल्य सम्बन्ध गाँस्न सक्छन्‌ र उहाँको सेवा तथा प्रशंसा गर्न सधैंभरि बाँच्ने आशा राख्न सक्छन्‌। यसले तिनीहरूलाई गहिरो भित्री आनन्द दिन्छ।—रोमी ४:७, ८.

६. कोही-कोही कुन अर्थमा शोक गर्छन्‌ र तिनीहरूले कसरी सान्त्वना पाउँछन्‌?

येशूको उक्‍त भनाइमा पृथ्वीमा व्याप्त घृणित अवस्थाको कारण शोक गर्नेहरू पनि समावेश छन्‌। येशूले यशैया ६१:१, २ को भविष्यवाणी आफैमाथि लागू गर्नुभयो, जहाँ यसो भनिएको छ: “परमप्रभु परमेश्‍वरको आत्मा ममाथि छ, किनकि नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, . . . [र] सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई” मलाई पठाउनुभएको छ। यो जिम्मेवारी अहिले पृथ्वीमा भएका अभिषिक्‍त मसीहीहरूलाई पनि लागू हुन्छ, जसले आफ्ना सँगी, “अरू भेड़ा[को]” मदतद्वारा यो जिम्मेवारी पूरा गर्छन्‌। “त्यसमा [मसीहीजगत्‌लाई चित्रण गर्ने धर्मत्यागी यरूशलेममा] गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका” निधारमा लाक्षणिक चिह्न लगाउने काममा सबैले भाग लिन्छन्‌। (इजकिएल ९:४) यस्ता शोक गर्नेहरूले “राज्यको . . . सुसमाचार[द्वारा]” सान्त्वना पाउँछन्‌। (मत्ती २४:१४) चाँडै नै शैतानको दृष्ट रीतिरिवाजको ठाउँमा यहोवाको धार्मिक नयाँ संसार हुनेछ भन्‍ने कुरा थाह पाउँदा तिनीहरू आनन्दित छन्‌।

नम्रहरू आनन्दित हुन्‌

७. “नम्र” भन्‍ने अभिव्यक्‍तिको अर्थ के होइन?

येशूले आफ्नो डाँडाको उपदेश यसरी अघि बढाउनुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५) नम्र मिजासको हुनुलाई कहिलेकाहीं कमजोरीको चिह्नको रूपमा हेरिन्छ। तथापि, कुरा त्यस्तो होइन। “नम्र” भनी अनुवाद गरिएको शब्दको भावबारे बताउँदै एक जना बाइबलविद्‌ले यस्तो लेखे: “[नम्र मिजासको] व्यक्‍तिको सर्वोत्कृष्ट गुण भनेको नै ऊ अत्यन्तै आत्मसंयमी हुनु हो। यो इच्छा-शक्‍तिविहीन भद्रता, भावुक स्नेह र केही पनि चासो नै नभएको कारण हुने शान्त अवस्था होइन। यो अनियन्त्रित शक्‍ति होइन।” आफूबारे येशूले यसो भन्‍नुभयो: “म विनयी, र नम्र हृदयको छु।” (मत्ती ११:२९) यद्यपि, धार्मिक सिद्धान्तहरूको पक्ष लिने सन्दर्भमा येशू साहसी हुनुहुन्थ्यो।—मत्ती २१:१२, १३; २३:१३-३३.

८. नम्र मिजासको कुन गुणसित नजिकको सम्बन्ध छ र अरूसितको सम्बन्धमा हामीलाई यो गुण किन चाहिन्छ?

त्यसैले नम्र मिजास र आत्मसंयमबीच नजिकको सम्बन्ध छ। वास्तवमा, “आत्माको फल[बारे]” बताउँदा प्रेरित पावलले नम्रता र संयमलाई सँगसँगै उल्लेख गरे। (गलाती ५:२२, २३) नम्र मिजास खेती गर्न पवित्र आत्माको मदत नभई हुँदैन। यो एउटा मसीही गुण हो जसले बाहिरका मानिसहरूका साथै मण्डली भित्रकाहरूसित शान्तिमा रहन मदत गर्छ। पावलले यस्तो लेखे: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, . . . एउटाले अर्कोलाई क्षमा गर।”—कलस्सी ३:१२, १३.

९. (क) नम्र मिजासको हुनु किन अरू मानिसहरूसितको हाम्रो सम्बन्धमा मात्र सीमित छैन? (ख) नम्र मिजासकाहरूले कसरी “पृथ्वीको अधिकार पाउनेछन्‌”?

तथापि, नम्र मिजास अरू मानिसहरूसितको हाम्रो सम्बन्धमा मात्र सीमित छैन। राजीखुसीसाथ यहोवाको सार्वभौमिकताको अधीनमा बसेर हामी आफू नम्र मिजासको भएको कुरा देखाउँछौं। यस सन्दर्भमा प्रमुख उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ जसले पृथ्वीमा हुनुहुँदा नम्र मिजास र आफ्नो पिताको इच्छाप्रति पूर्ण अधीनता देखाउनुभयो। (यूहन्‍ना ५:१९, ३०) सबैभन्दा पहिले येशूले पृथ्वीमाथि अधिकार गर्नुहुन्छ किनभने उहाँ यसको नियुक्‍त शासक हुनुहुन्छ। (भजन २:६-८; दानियल ७:१३, १४) उहाँले यो सम्पदा “पृथ्वीमाथि राज्य” गर्न “मानिसहरूमध्येबाट” रोजिएका १,४४,००० “साझे हकवाला[सित]” बाँड्‌नुहुनेछ। (रोमी ८:१७; प्रकाश ५:९, १०; १४:१, ३, ४; दानियल ७:२७) ख्रीष्ट र उहाँका सँगी शासकहरूले लाखौं भेडाखाले पुरुष तथा स्त्रीमाथि शासन गर्नेछन्‌, जसमाथि निम्न भविष्यसूचक भजनको आनन्ददायी पूर्ति हुनेछ: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:११; मत्ती २५:३३, ३४, ४६.

धार्मिकताको निम्ति भोकाउनेहरू आनन्दित हुन्‌

१०. ‘धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू’ तृप्त हुन सक्ने एउटा तरिका के हो?

१० गालीलको पहाडी इलाकामा शिक्षा दिंदा येशूले बताउनुभएको आनन्दको अर्को कारण यो थियो: “धन्य धार्मिकताको] निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्‌।” (मत्ती ५:६) मसीहीहरूका लागि यहोवाले धार्मिकताको स्तर तोक्नुहुन्छ। त्यसैले, धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू वास्तवमा ईश्‍वरीय डोऱ्‍याइको निम्ति भोकाउँछन्‌ र तिर्खाउँछन्‌। यस्ता व्यक्‍तिहरू आफ्नो पाप र असिद्धताबारे पूर्णतया सजग हुन्छन्‌ र यहोवासामु अनुमोदनप्राप्त स्थान पाउने तीव्र इच्छा गर्छन्‌। तिनीहरूले पश्‍चात्ताप गरेर ख्रीष्टको छुडौतीको बलिदानको आधारमा क्षमा खोजे भने परमेश्‍वरसामु धार्मिक स्तर प्राप्त गर्न सक्ने अवस्थामा हुनेछन्‌ भन्‍ने कुरा परमेश्‍वरको वचनबाट थाह पाउँदा तिनीहरू कत्ति आनन्दित हुन्छन्‌।—प्रेरित २:३८; १०:४३; १३:३८, ३९; रोमी ५:१९.

११, १२. (क) अभिषिक्‍त मसीहीहरू कसरी धर्मी घोषित हुन्छन्‌? (ख) धार्मिकताको निम्ति अभिषिक्‍त जनका सँगीहरूको तिर्खा कसरी मेटिनेछ?

११ यस्ता व्यक्‍तिहरू आनन्दित हुनेछन्‌ भनी येशूले बताउनुभयो किनभने तिनीहरू “तृप्त हुनेछन्‌।” (मत्ती ५:६) स्वर्गमा ख्रीष्टसित ‘राज्य गर्न’ बोलाइएका अभिषिक्‍त मसीहीहरू “जीवनको निम्ति धर्मी” घोषित भएका छन्‌। (रोमी ५:१, ९, १६-१८) यहोवा तिनीहरूलाई आध्यात्मिक पुत्रको रूपमा स्वीकार्नुहुन्छ। तिनीहरू ख्रीष्टसित साझे हकवाला हुन्छन्‌, उहाँको स्वर्गीय राज्य सरकारमा राजा र पूजाहारीको रूपमा सेवा गर्न बोलाइन्छन्‌।—यूहन्‍ना ३:३; १ पत्रुस २:९.

१२ अभिषिक्‍त जनका सँगीहरू अहिलेसम्म जीवनको निम्ति धर्मी घोषित भइसकेका छैनन्‌। तथापि, ख्रिष्टले बगाउनुभएको रगतमाथि तिनीहरूले गरेको विश्‍वासको आधारमा यहोवाले तिनीहरूलाई केही हदसम्म धर्मी ठहराउनुभएको छ। (याकूब २:२२-२५; प्रकाश ७:९, १०) “महा सङ्‌कष्ट[को]” समयमा बचाइनको लागि तिनीहरू यहोवाका मित्रहरूको रूपमा धर्मी ठहराइएका छन्‌। (प्रकाश ७:१४) जब तिनीहरू “नयाँ स्वर्ग”-को अधीनमा रहेको, “धार्मिकताले बास” गर्ने नयाँ पृथ्वीको भाग हुन्छन्‌, धार्मिकताको निम्ति तिनीहरूको तिर्खा अझ मेटिनेछ।—२ पत्रुस ३:१३; भजन ३७:२९.

दयावन्तहरू आनन्दित हुन्‌

१३, १४. हामी दयावन्त छौं भन्‍ने कुरा के-कस्ता व्यावहारिक तरिकाहरूमा देखाउन सक्छौं र यसबाट हामीले कस्ता लाभहरू पाउनेछौं?

१३ आफ्नो डाँडाको उपदेशलाई जारी राख्दै येशूले यसो भन्‍नुभयो: “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌।” (मत्ती ५:७) कानुनी दृष्टिकोणबाट हेर्ने हो भने, दया भन्‍नाले कुनै गल्ती गर्ने व्यक्‍तिलाई उसले कानुनअनुसार पाउनुपर्ने हदैसम्मको सजाय नदिई न्यायाधीशले दया देखाउनु भन्‍ने बुझिन्छ। तथापि, बाइबलमा प्रयोग गरिएअनुसार “दया” भनी अनुवाद गरिएका मौलिक शब्दहरूले मुख्यतया मर्कामा परेकाहरूलाई राहत दिने दयालु चासो वा कृपाको अभिव्यक्‍तिलाई सङ्‌केत गर्छ। त्यसैले दयावन्त व्यक्‍तिहरू अनुकम्पापूर्ण हुन्छन्‌। एक जना मित्रैलो सामरीबारे येशूले बताउनुभएको दृष्टान्त खाँचोमा परेको व्यक्‍तितर्फ ‘दया देखाउने’ व्यक्‍तिको राम्रो उदाहरण हो।—लूका १०:२९-३७.

१४ दयावन्त हुँदा प्राप्त हुने आनन्द अनुभव गर्न हामीले खाँचोमा परेका व्यक्‍तिहरूतर्फ दयाका कार्यहरू गर्नु आवश्‍यक छ। (गलाती ६:१०) आफूले देखेका मानिसहरूतर्फ येशूले अनुकम्पा महसुस गर्नुभयो। उहाँ “तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३४) मानिसजातिको सबैभन्दा ठूलो आवश्‍यकता आध्यात्मिक आवश्‍यकता हो भनी येशूले महसुस गर्नुभयो। अरूलाई सबैभन्दा बढी आवश्‍यक परिरहेको कुरा अर्थात्‌ “राज्यको . . . सुसमाचार” तिनीहरूलाई बताएर हामी पनि आफू अनुकम्पापूर्ण र दयावन्त छौं भनी देखाउन सक्छौं। (मत्ती २४:१४) हामी वृद्ध सँगी मसीही, विधवा र टुहुरा-टुहुरीहरूलाई व्यावहारिक मदत दिन अनि “हरेस खानेलाई दिलाशा” दिन सक्छौं। (१ थिस्सलोनिकी ५:१४; हितोपदेश १२:२५; याकूब १:२७) यसले हामीलाई आनन्दित मात्र नभई यहोवाको दया पाउन योग्यको पनि बनाउनेछ।—प्रेरित २०:३५; याकूब २:१३.

हृदयमा शुद्ध र मेल-मिलाप गराउनेहरू

१५. हामी कसरी हृदयमा शुद्ध र मेल-मिलाप गराउनेहरू हुन सक्छौं?

१५ आनन्दको छैठौं र सातौं कारणबारे येशूले यसरी बताउनुभयो: “धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌। धन्य मेल-मिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्‍वरका पुत्र कहलाइनेछन्‌।” (मत्ती ५:८, ९) शुद्ध हृदय भनेको नैतिक तवरमा मात्र शुद्ध नभई आध्यात्मिक तवरमा पनि निष्खोट र यहोवाको भक्‍तिमा एकाग्र हृदय हो। (१ इतिहास २८:९; भजन ८६:११) “मेल-मिलाप गराउनेहरू” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “शान्ति कायम गराउनेहरू” भन्‍ने हुन्छ। शान्ति कायम गराउनेहरू आफ्ना मसीही भाइहरूसित शान्तिमा रहन्छन्‌ र आफ्ना छिमेकीहरूसित पनि यथाशक्य शान्तिमा रहन्छन्‌। (रोमी १२:१७-२१) तिनीहरू ‘शान्तिको खोजी गर्छन्‌ र त्यसको पछि लाग्छन्‌।’—१ पत्रुस ३:११, NRV.

१६, १७. (क) अभिषिक्‍त जनहरूलाई किन “परमेश्‍वरका पुत्र” भनिन्छ र तिनीहरूले कसरी ‘परमेश्‍वरलाई देख्छन्‌’? (ख) “अरू भेड़ा[ले]” कसरी ‘परमेश्‍वरलाई देख्छन्‌’? (ग) “अरू भेड़ा” कहिले र कसरी पूर्ण अर्थमा “परमेश्‍वरका पुत्र” हुनेछन्‌?

१६ हृदयमा शुद्ध हुने र मेल-मिलाप गराउनेहरूका लागि तिनीहरू “परमेश्‍वरका पुत्र कहलाइनेछन्‌” र “तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌” भनी प्रतिज्ञा गरिएको छ। अभिषिक्‍त मसीहीहरू आत्माद्वारा जन्मिएका हुन्छन्‌ र पृथ्वीमा हुँदानै यहोवाद्वारा उहाँको “धर्म-पुत्र” बनाइएका हुन्छन्‌। (रोमी ८:१४-१७) ख्रीष्टसितै स्वर्गमा बस्न तिनीहरूको पुनरुत्थान हुँदा तिनीहरूले यहोवाको उपस्थितिमा सेवा गर्छन्‌ र वास्तवमै उहाँलाई देख्छन्‌।—१ यूहन्‍ना ३:१, २; प्रकाश ४:९-११.

१७ मेल-मिलाप गराउने “अरू भेड़ा[ले]” तिनीहरूको “सनातनका पिता,” असल गोठालो, ख्रीष्ट येशूको अधीनमा रहेर यहोवाको सेवा गर्छन्‌। (यूहन्‍ना १०:१४, १६; यशैया ९:६) ख्रीष्टको हजार वर्षीय राज्यपछि सफलतापूर्वक अन्तिम जाँच पार गर्नेहरू यहोवाका पार्थिव पुत्रहरूको रूपमा स्वीकारिनेछन्‌ र तिनीहरूले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता” पाउनेछन्‌। (रोमी ८:२१; प्रकाश २०:७, ९) उत्सुकतापूर्वक यो अवसर पर्खंदै गर्दा, तिनीहरूले यहोवालाई आफ्नो पिता भनेर सम्बोधन गर्छन्‌ किनभने उहाँलाई आफ्नो जीवनदाताको रूपमा स्वीकार्दै तिनीहरू आफ्नो जीवन उहाँलाई समर्पण गर्छन्‌। (यशैया ६४:८) पुरातन समयका अय्यूब र मोशाले जस्तै तिनीहरू विश्‍वासको आँखाले ‘परमेश्‍वरलाई देख्न’ सक्छन्‌। (अय्यूब ४२:५; हिब्रू ११:२७) आफ्नो ‘हृदयको आँखा’ र परमेश्‍वरको सही ज्ञानद्वारा तिनीहरू यहोवाका अद्‌भुत गुणहरू महसुस गर्छन्‌ अनि उहाँको इच्छाअनुसार गरेर उहाँको अनुकरण गर्ने कोसिस गर्छन्‌।—एफिसी १:१८; रोमी १:१९, २०; ३ यूहन्‍ना ११.

१८. येशूले बताउनुभएको आनन्दका पहिलो सातवटा कारणअनुसार आज कसले साँचो आनन्द पाउँछन्‌?

१८ आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग रहनेहरू, शोक गर्नेहरू, नम्र मिजासकाहरू, धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, दयावन्तहरू, हृदयमा शुद्धहरू र मेल-मिलाप गराउनेहरूले यहोवाको सेवा गर्दा साँचो आनन्द पाउँछन्‌ भनी हामीले बुझ्यौं। यद्यपि, यस्ता व्यक्‍तिहरूले सधैं विरोध र अझ सतावटको समेत सामना गर्नुपरेको छ। के यसले तिनीहरूको आनन्द हरण गर्छ? अर्को लेखमा यस प्रश्‍नबारे विचार गरिनेछ।

[फुटनोट]

a “धन्य” भन्‍ने शब्द चलाउनुको सट्टा न्यु वर्ल्ड ट्रान्सलेसन-लगायत द जेरुशलेम बाइबलटुडेज इङ्‌लिस भर्सन जस्ता केही अन्य अनुवादहरूले अझै सही शब्द “आनन्दित” प्रयोग गरेका छन्‌। त्यसैले यो लेख र अर्को लेखमा हामी “धन्य” भन्‍ने शब्दको सट्टा यसको पर्यायवाचीको रूपमा “आनन्दित” भन्‍ने शब्दबारे छलफल गर्नेछौं।

पुनरावलोकन गर्दा

• आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग रहनेहरूले कस्तो आनन्द महसुस गर्छन्‌?

• शोक गर्नेहरूले कुन-कुन तरिकामा सान्त्वना पाउँछन्‌?

• हामी कसरी नम्र मिजास देखाउँछौं?

• हामी किन दयावन्त, हृदयमा शुद्ध र मेल-मिलाप गराउने हुनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

“धन्य आत्मामा दरिद्र हुनेहरू”

[पृष्ठ १०-मा भएका चित्रहरू]

“धन्य दयावन्तहरू”

[पृष्ठ ११-मा भएको चित्र]

“धन्य धार्मिकता[ को] निम्ति भोकाउने र तिर्खाउनेहरू”