सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सताइएका तैपनि आनन्दित

सताइएका तैपनि आनन्दित

सताइएका तैपनि आनन्दित

“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌।”—मत्ती ५:११.

१. आनन्द र सतावटको सन्दर्भमा येशूले आफ्ना अनुयायीहरूलाई कस्तो आश्‍वासन दिनुभयो?

 येशूले आफ्ना प्रेरितहरूलाई राज्यको प्रचार गर्न पहिलो पटक पठाउनुहुँदा तिनीहरूले सतावटको सामना गर्नुपर्ने हुन सक्छ भनी चेतावनी दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ।” (मत्ती १०:५-१८, २२) तथापि, यस्तो विरोधले तिनीहरूको भित्री आनन्दलाई खतरामा पार्छ नै भन्‍ने छैन भनी केही समयअघि उहाँले दिनुभएको डाँडाको उपदेशमा आफ्ना प्रेरितहरू तथा अरूलाई आश्‍वासन दिनुभयो। वास्तवमा, आनन्दित हुनुलाई येशूले मसीहीहरूको रूपमा सताइनुसित तुलना समेत गर्नुभयो! सतावटले कसरी आनन्द ल्याउन सक्थ्यो?

धार्मिकताको खातिर दुःख भोग्ने

२. येशू र प्रेरित पत्रुसको भनाइअनुसार कस्तो प्रकारको दुःखले आनन्द ल्याउँछ?

आनन्दको आठौं कारणबारे येशूले यसो भन्‍नुभयो: “धन्य धार्मिकता निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:१०) दुःख भोग्नु भनेको आफैमा एउटा राम्रो कुरा होइन। प्रेरित पत्रुसले यसरी लेखे: “तिमीहरूले पाप गरेर मुक्का खाँदा धीरजसँग सह्‍यौ भने, यसमा के ठूलो कुरो छ र? तर तिमीहरूले असल गरेर दुःख भोग्नुपर्दा धीरजसँग सहँदछौ भने, यो ता परमेश्‍वरमा ग्रहणयोग्य हुन्छ।” तिनले अझै यसो भने: “तर तिमीहरूमध्ये कसैले पनि ज्यानमारा, अथवा चोर, अथवा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैं दुःख नभोग, तर कसैले ख्रीष्टयानजस्तो भएर दुःख भोग्दछ भनेता त्यसले शर्म नमानोस्‌, तर त्यहीचाहिं नाउँमा परमेश्‍वरलाई त्यसले धन्यवाद चढाओस्‌।” (१ पत्रुस २:२०; ४:१५, १६) येशूका शब्दहरू अनुसार धार्मिकताको खातिर दुःख सहेको छ भने यसले आनन्द ल्याउँछ।

३. (क) धार्मिकताको खातिर सताइनुको अर्थ के हो? (ख) सतावटले प्रारम्भिक मसीहीहरूमाथि कस्तो असर पाऱ्‍यो?

परमेश्‍वरको इच्छा र उहाँको आज्ञा अनुरूप चल्दा साँचो धार्मिकता झल्कन्छ। त्यसकारण, धार्मिकताको खातिर दुःख भोग्नुको अर्थ परमेश्‍वरका स्तर तथा आवश्‍यकताहरू उल्लङ्‌घन गर्ने दबाबको प्रतिरोध गरेको कारण दुःख भोग्नु हो। येशूको नाउँमा प्रचार गर्न बन्द गर्न इन्कार गरेको कारण प्रेरितहरू यहूदी नेताहरूबाट सताइए। (प्रेरित ४:१८-२०; ५:२७-२९, ४०) के यसले तिनीहरूको आनन्दलाई कम बनायो वा तिनीहरूको प्रचारकार्यलाई बन्द गऱ्‍यो? अहँ, रत्तीभर गरेन! “ ‘उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो’ भनी सम्झी तिनीहरू रमाउँदै महासभाबाट गए। औ दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरित ५:४१, ४२) यो सतावटले तिनीहरूलाई आनन्दित बनायो र प्रचारकार्यमा तिनीहरूको जोसलाई नवीकरण गरिदियो। पछि, सम्राट्‌को उपासना गर्न इन्कार गरेको कारण प्रारम्भिक मसीहीहरू रोमीहरूद्वारा सताइए।

४. मसीहीहरू सताइनुका केही कारणहरू के-के हुन्‌?

“राज्यको . . . सुसमाचार” प्रचार गर्न बन्द गर्न इन्कार गरेको हुनाले वर्तमान समयका यहोवाका साक्षीहरू पनि सताइएका छन्‌। (मत्ती २४:१४) तिनीहरूको मसीही सभाहरूमाथि प्रतिबन्ध लगाइँदा, बाइबलले आज्ञा गरेअनुसार एकसाथ भेला हुन छोड्‌नुको सट्टा बरु तिनीहरू दुःख भोग्न तयार हुन्छन्‌। (हिब्रू १०:२४, २५) तिनीहरूको मसीही तटस्थताको कारण वा रगतको दुरुपयोग गर्न इन्कार गरेको कारण तिनीहरू सताइएका छन्‌। (यूहन्‍ना १७:१४; प्रेरित १५:२८, २९) तैपनि, धार्मिकताको निम्ति यस्तो अडान लिएकोमा आज परमेश्‍वरका जनहरू भित्री शान्ति र आनन्द महसुस गर्छन्‌।—१ पत्रुस ३:१४.

ख्रीष्टको खातिर निन्दित

५. आज यहोवाका जनहरू सताइनुको प्रमुख कारण के हो?

डाँडाको उपदेशमा येशूले बताउनुभएको आनन्दको नवौं कारण पनि सतावटसितै सम्बन्धित छ। उहाँले यसो भन्‍नुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌।” (मत्ती ५:११) यहोवाका जनहरू सताइनुको प्रमुख कारण के हो भने तिनीहरू वर्तमान दुष्ट रीतिरिवाजका भाग होइनन्‌। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूहन्‍ना १५:१९) त्यसै गरी, प्रेरित पत्रुसले यसो भने: “त्यही ज्यादै उपद्रवहरूमा तिमीहरू तिनीहरूका साथ लागेनौ भनेर तिनीहरू ताजुब भएका छन्‌, र तिमीहरूका खराबी बोल्दछन्‌।”—१ पत्रुस ४:४.

६. (क) शेष जनहरू र तिनीहरूका सँगीहरूलाई किन निन्दा गरिन्छ र सताइन्छ? (ख) के यस्तो निन्दाले हाम्रो आनन्द कम गर्छ?

येशूको नाउँमा प्रचार गर्न बन्द गर्न इन्कार गरेको हुनाले प्रारम्भिक मसीहीहरूलाई सताइएको थियो भनेर हामीले बुझिसक्यौं। ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) “ठूलो भीड़[का]” वफादार सँगीहरूको मदत पाएर ख्रीष्टका अभिषिक्‍त भाइहरूमध्येका विश्‍वासी शेष जनहरूले यो काम जोसका साथ पूरा गरेका छन्‌। (प्रकाश ७:९) त्यसकारण, शैतानले “त्यसका बाँकी सन्तानहरूसँग [स्त्रीको सन्तान अर्थात्‌ परमेश्‍वरको संगठनको स्वर्गीय भागसँग] युद्ध” गर्छ, जसले “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” काम गर्छन्‌। (प्रकाश १२:९, १७) यहोवाका साक्षीहरूको हैसियतमा हामी येशूको साक्षी दिन्छौं, जो परमेश्‍वरको धार्मिक नयाँ संसारको विरोधमा खडा हुने मानव सरकारहरूलाई नाश गर्ने राज्य सरकारको शासनारूढ राजा हुनुहुन्छ। (दानियल २:४४; २ पत्रुस ३:१३) यही कारण हाम्रो निन्दा गरिन्छ र हामीलाई सताइन्छ तर ख्रीष्टको नाउँमा दुःख भोग्न पाउँदा हामी आफूलाई आनन्दित ठान्छौं।—१ पत्रुस ४:१४.

७, ८. विरोधीहरूले प्रारम्भिक मसीहीहरू विरुद्ध कस्ता-कस्ता झूटा कुराहरू बोले?

मानिसहरूले तिनीहरूका विरुद्धमा “हरेक किसिमका खराबी कुरा” बोल्दा समेत तिनीहरूले आफूलाई आनन्दित ठान्‍नुपर्छ भनी येशूले आफ्ना अनुयायीहरूलाई बताउनुभयो। (छड्‌के अक्षर हाम्रो, मत्ती ५:११) प्रारम्भिक मसीहीहरूलाई साँच्चै यस्तो भयो। सा.यु. ५९-६१ तिर प्रेरित पावल रोमको कैदमा हुँदा, त्यहाँका यहूदी नेताहरूले मसीहीहरूबारे यसो भने: “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्‌।” (प्रेरित २८:२२) पावल र सिलासलाई “सिजरको उर्दीको विरुद्ध” काम गरेर “संसारलाई उलट-पुलट” पारेको आरोप लगाइयो।—प्रेरित १७:६, ७.

रोमी साम्राज्यको समयका मसीहीहरूबारे इतिहासकार के. एस. लाटूरेटले यसरी लेखे: “तिनीहरूलाई विभिन्‍न खालका आरोपहरू लगाइन्थ्यो। गैर-मसीही उत्सवहरूमा भाग लिन इन्कार गरेको कारण मसीहीहरूलाई नास्तिकहरूको रूपमा हेरिन्थ्यो। तिनीहरू—गैर-मसीही चाडपर्व, सार्वजनिक मोजमज्जाहरू जस्ता . . .—सामाजिक जीवनबाट टाढा रहने भएकोले तिनीहरूलाई मानवजातिका शत्रुहरू भनेर हाँसोमा उडाइन्थ्यो। . . . स्त्री र पुरुषहरू राती एकै ठाउँमा जम्मा भएर . . . स्वच्छन्द यौन सम्बन्ध राख्छन्‌ भनिन्थ्यो। . . . विश्‍वासीहरू मात्र भेला भएर [ख्रीष्टको मृत्युको स्मरणार्थ] मनाउँदा मसीहीहरूले नियमित रूपमा शिशुहरूको बलि चढाउँथे अनि त्यसको रगत र मासु खान्थे भन्‍ने हल्ला फैलियो।” साथै, प्रारम्भिक मसीहीहरूले सम्राट्‌को उपासना गर्न इन्कार गरेको कारण तिनीहरूलाई राष्ट्रका शत्रु भएको आरोप लगाइयो।

९. आफूमाथि लगाइएका झूटा आरोपहरूप्रति प्रथम शताब्दीका मसीहीहरूले कस्तो प्रतिक्रिया देखाए र आजको अवस्था कस्तो छ?

ती झूटा आरोपहरूले प्रारम्भिक मसीहीहरूलाई राज्यको सुसमाचार प्रचार गर्ने तिनीहरूको जिम्मेवारी पूरा गर्नदेखि रोकेन। “सुसमाचार” “सारा संसारमा . . . उन्‍नति हुँदै बढ्‌दै” जाँदैछ र यो “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी पावलले सा.यु. ६०-६१ तिर बताउन सके। (कलस्सी १:५, ६, २३) आज पनि ठीक यस्तै भइरहेको छ। प्रथम शताब्दीका मसीहीहरूलाई जस्तै यहोवाका साक्षीहरूमाथि पनि झूटा आरोपहरू लगाइँदैछ। तैपनि आज परमेश्‍वरको राज्यको प्रचारकार्य फस्टाउँदैछ र यसमा भाग लिनेहरूलाई यसले अपार आनन्द दिन्छ।

अगमवक्‍ताहरू जस्तै सताइँदा आनन्दित

१०, ११. (क) आनन्दको नवौं कारणबारे बताउँदा येशूले अन्तमा के भन्‍नुभयो? (ख) अगमवक्‍ताहरूलाई किन सताइयो? उदाहरणहरू दिनुहोस्‌।

१० आनन्दको नवौं कारणबारे येशूले अन्तमा यसो भन्‍नुभयो: “रमाओ, . . . किनभने यसरीनै तिमीहरूका अघिका अगमवक्‍ताहरूलाई तिनीहरूले खेदो गरेथे।” (मत्ती ५:१२) अविश्‍वासी इस्राएललाई चेतावनी दिन यहोवाले पठाउनुभएका अगमवक्‍ताहरूप्रति खराब व्यवहार गरियो र अक्सर तिनीहरूलाई सताइयो। (यर्मिया ७:२५, २६) यो कुराको पुष्टि गर्दै प्रेरित पावलले यसरी लेखे: “अरू बढी म के भनू? किनकि . . . अगमवक्‍ताहरूका बारेमा भन्‍न मलाई समयको अभाव हुन्छ। जसले विश्‍वासद्वारा . . . गिल्ला, कोर्राबाजी, औ, अझ बढी बन्धन र कैदको परीक्षा भोग्नुपऱ्‍यो।”—हिब्रू ११:३२-३८.

११ दुष्ट राजा आहाब र तिनकी पत्नी ईजेबेलको शासनकालमा यहोवाका थुप्रै अगमवक्‍ताहरू तरबारद्वारा मारिए। (१ राजा १८:४, १३; १९:१०) अगमवक्‍ता यर्मियालाई ठिंगुरामा हालियो र पछि तिनलाई दलदले इनारमा फ्याँकियो। (यर्मिया २०:१, २; ३८:६) अगमवक्‍ता दानियललाई सिंहको खोरमा हालियो। (दानियल ६:१६, १७) यी सबै मसीहीपूर्व अगमवक्‍ताहरूलाई यहोवाको शुद्ध उपासनाको बचाव गरेको कारण सताइएको थियो। थुप्रै अगमवक्‍ताहरू यहूदी धार्मिक नेताहरूद्वारा सताइएका थिए। फरिसी र सदुकीहरूलाई येशूले “अगमवक्‍ताहरू मार्नेका सन्तान” भन्‍नुभयो।—मत्ती २३:३१.

१२. यहोवाका साक्षीहरूको हैसियतमा पुरातन समयका अगमवक्‍ताहरू जस्तै सताइनुलाई हामी किन सुअवसर ठान्छौं?

१२ यहोवाका साक्षीहरू भएको कारण आज हामीलाई पनि अक्सर सताइन्छ किनभने हामी राज्यको सुसमाचार प्रचार गर्नमा जोसिला छौं। हाम्रा शत्रुहरूले हामीलाई “जबरजस्ती धर्म परिवर्तन” गराएको आरोप लगाउँछन्‌ तर हामीलाई थाह छ, हामीभन्दा अगाडिका विश्‍वासी उपासकहरूले पनि यस्तै आलोचना सहनुपरेको थियो। (यर्मिया ११:२१; २०:८, ११) पुरातन समयका विश्‍वासी अगमवक्‍ताहरूले जुन कारणले गर्दा दुःख भोगे हामी पनि त्यसैको लागि सताइँदा हामी यसलाई सुअवसर ठान्छौं। चेला याकूबले यस्तो लेखे: “हे मेरा भाइ हो, प्रभुका नाउँमा बोल्ने ती अगमक्‍ताहरूका शासना र धैर्यको दृष्टान्त लेओ। हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं।”—याकूब ५:१०, ११.

आनन्दित हुने गहन कारणहरू

१३. (क) सतावटको कारण हामी किन निराश हुँदैनौं? (ख) कुन कुराले हामीलाई दृढ रहन मदत गर्छ र यसले के प्रमाणित गर्छ?

१३ सतावटको कारण निरुत्साहित हुनुको सट्टा हामीले अगमवक्‍ताहरू, प्रारम्भिक मसीहीहरू र ख्रीष्ट येशू स्वयम्‌को पाइला पछ्याइरहेका छौं भन्‍ने कुरा सम्झेर हामी सान्त्वना पाउँछौं। (१ पत्रुस २:२१) हामी प्रेरित पत्रुसका निम्न शब्दहरू जस्ता शास्त्रपदहरूबाट गहिरो सन्तुष्टि महसुस गर्छौं: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परि आउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ। यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित हुन्छौ भनेता तिमीहरू धन्यका हौ। किनभने महिमाको आत्मा र परमेश्‍वरको आत्मा तिमीहरूमाथि ठहर्छ।” (१ पत्रुस ४:१२, १४) यहोवाको आत्मा हामीमाथि भएको र यसले हामीलाई बलियो बनाएको कारणले गर्दा मात्र हामी सतावटसामु दृढ रहन सकेका हौं भन्‍ने कुरा हामीले आफ्नै अनुभवबाट सिकेका छौं। हामीमाथि यहोवाको आशिष्‌ छ भन्‍ने कुराको एउटा प्रमाण पवित्र आत्माको मदत हो र यसले हामीलाई असाध्यै आनन्दित बनाउँछ।—भजन ५:१२; फिलिप्पी १:२७-२९.

१४. धार्मिकताको खातिर सताइँदा आनन्दित हुने कस्ता कारणहरू हामीसित छन्‌?

१४ धार्मिकताको खातिर आएको विरोध वा सतावटले हामीलाई आनन्दित बनाउनुको अर्को कारण के हो भने यसले हामी ईश्‍वर भक्‍तिका साथ साँचो मसीहीको रूपमा जीवन बिताइरहेका छौं भनी प्रमाणित गर्छ। प्रेरित पावलले यस्तो लेखे: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१२) परीक्षासामु निष्ठावान्‌ रहँदा यसले यहोवाका सबै सृष्टिले आफ्नै फाइदाको लागि मात्र उहाँको सेवा गर्छन्‌ भन्‍ने शैतानको चुनौतीको जवाफ दिन्छ भन्‍ने कुराबारे विचार गर्दा हामी असीम आनन्द पाउँछौं। (अय्यूब १:९-११; २:३, ४) यहोवाको धार्मिक सार्वभौमको प्रमाणीकरणमा सानो भने पनि भाग पाएकोमा हामी आनन्दित हुन्छौं।—हितोपदेश २७:११.

इनामको कारण अत्यन्त खुसी हुनुहोस्‌

१५, १६. (क) येशूले हामीलाई ‘रमाउने र अत्यन्त खुसी हुने’ कस्तो कारण दिनुभयो? (ख) अभिषिक्‍त मसीहीहरूको लागि स्वर्गमा कस्तो इनाम साँचेर राखिएको छ र “अरू भेड़ा[का]” सँगीहरूले पनि कसरी इनाम पाउनेछन्‌?

१५ पुरातन समयका अगमवक्‍ताहरूलाई जस्तै बदनाम गरिंदा वा सताइँदा आनन्दित हुनुपर्ने थप कारण येशूले दिनुभयो। आनन्दको नवौं कारणको अन्ततिर उहाँले यसो भन्‍नुभयो: “रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।” (मत्ती ५:१२) प्रेरित पावलले यसरी लेखे: “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) हो, यो ‘ठूलो इनाम’ जीवन हो र यो हामीले कमाउन सक्ने ज्याला होइन। यो सित्तैंमा पाएको वरदान वा उपहार हो। यहोवाबाट आउने भएकोले यो इनाम “स्वर्गमा” छ भनी येशूले बताउनुभयो।

१६ अभिषिक्‍त जनहरूले “जीवनको मुकुट” पाउँछन्‌, जसको अर्थ तिनीहरूको सन्दर्भमा स्वर्गमा ख्रीष्टसित अमर जीवन हो। (याकूब १:१२, १७) पार्थिव आशा भएका “अरू भेड़ा[ले]” पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा राख्छन्‌। (यूहन्‍ना १०:१६; प्रकाश २१:३-५) यी दुवै वर्गको लागि यो “इनाम” तिनीहरूले कमाएको ज्याला होइन। अभिषिक्‍त जनहरू र “अरू भेड़ा” दुवैले यहोवाको “असीम अनुग्रह[को]” कारण तिनीहरूको इनाम पाउँछन्‌, जसले प्रेरित पावललाई यसो भन्‍न उत्प्रेरित गऱ्‍यो: “परमेश्‍वरलाई उहाँको बयान गरी नसक्ने वरदानको निम्ति धन्यवाद होस्‌।”—२ कोरिन्थी ९:१४, १५.

१७. सताइँदा हामी किन आनन्दित हुन र लाक्षणिक अर्थमा “अत्यन्त खुशी” भएर उफ्रन सक्छौं?

१७ ती मसीहीहरू, जसमध्ये कोही-कोहीले चाँडै सम्राट्‌ नेरोको हातबाट क्रूर सतावट भोग्ने थिए, तिनीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “सङ्‌कष्टले धीरज उत्पन्‍न गराउँछ भनी जानेर, हामी सङ्‌कष्टहरूमा पनि आनन्दित होऔं, औ धीरजले सदाचार, र सदाचारले आशा, औ आशाले निराश गराउँदैन।” तिनले यसो पनि भने: “आशामा आनन्द गर, सङ्‌कष्टमा स्थिर रहो।” (रोमी ५:३-५; १२:१२) चाहे हाम्रो आशा स्वर्गीय होस्‌ वा पार्थिव, परीक्षासामु विश्‍वासी रहेको कारण हामीले पाउने इनाम, वास्तवमा हामीले पाउनुपर्ने कुराभन्दा कता हो कता ठूलो छ। हाम्रो राजा येशू ख्रीष्टको अधीनमा रहेर हाम्रा मायालु पिता यहोवाको सेवा वा प्रशंसा गर्न सधैंभरि बाँच्ने प्रत्याशाको हाम्रो आनन्द असीम छ। लाक्षणिक अर्थमा हामी “अत्यन्त खुशी” भएर उफ्रन्छौं।

१८. अन्त नजिकिंदै जाँदा राष्ट्रहरूले के गरेको आशा गर्न सकिन्छ र यहोवाले के गर्नुहुनेछ?

१८ कुनै-कुनै मुलुकहरूमा यहोवाका साक्षीहरूलाई सताइएको छ र अझै पनि सताइँदैछ। यस रीतिरिवाजको अन्तबारे येशूले गर्नुभएको भविष्यवाणीमा उहाँले साँचो मसीहीहरूलाई यस्तो चेतावनी दिनुभयो: “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (छड्‌के अक्षर हाम्रो, मत्ती २४:९) जसै हामी अन्तको नजिक नजिक पुग्छौं, यहोवाका जनहरू विरुद्ध आफ्नो घृणा प्रकट गर्न शैतानले राष्ट्रहरूलाई उक्साउनेछ। (इजकिएल ३८:१०-१२, १४-१६) यसले परमेश्‍वरले कदम चाल्ने समय आएको कुरा सङ्‌केत गर्नेछ। “मेरो महानता र पवित्रताको प्रमाण दिएर धेरै जातिहरूकहाँ आफैलाई प्रकट गर्नेछु। तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।” (इजकिएल ३८:२३) यसरी यहोवाले आफ्नो महान्‌ नाउँ पवित्र पार्नुहुनेछ र आफ्ना जनहरूलाई सतावटबाट छुटकारा दिनुहुनेछ। त्यसकारण, त्यो मानिस आनन्दित हो “जो परीक्षामा स्थिर रहन्छ।”—याकूब १:१२.

१९. यहोवाको त्यस भयङ्‌कर “दिन” पर्खंदै गर्दा हामीले के गर्नुपर्छ?

१९ यहोवाको त्यस भयङ्‌कर “दिन” झन्‌-झन्‌ नजिकिंदै जाँदा हामी आनन्दित होऔं किनभने येशूको नाउँमा “अपमान सहनु सौभाग्यको कुरो हो।” (२ पत्रुस ३:१०-१३; प्रेरित ५:४१) यहोवाको धार्मिक नयाँ संसारमा हाम्रो इनाम पर्खंदै गर्दा प्रारम्भिक समयका मसीहीहरू जस्तै हामी पनि “शिक्षा दिन” र ख्रीष्ट अनि उहाँको राज्य सरकारबारे “सुसमाचार सुनाउन बन्द” नगरौं।—प्रेरित ५:४२; याकूब ५:११.

पुनरावलोकन गर्दा

• धार्मिकताको खातिर दुःख भोग्नुको अर्थ के हो?

• सतावटले प्रारम्भिक मसीहीहरूमाथि कस्तो असर पाऱ्‍यो?

• यहोवाका साक्षीहरू पुरातन समयका अगमवक्‍ताहरू जस्तै सताइएका छन्‌ भनेर किन भन्‍न सकिन्छ?

• सताइँदा हामी किन ‘रमाउन र अत्यन्त खुसी भएर’ उफ्रन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई . . . निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌”

[स्रोत]

Group in prison: Chicago Herald-American