सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

ख्रीष्टको हजार वर्षीय शासनको दौडान प्रेतहरू कहाँ हुनेछन्‌?

बाइबलले यस प्रश्‍नको स्पष्ट जवाफ दिंदैन। तथापि, ख्रीष्टको हजार वर्षीय शासनको दौडान प्रेतहरू कहाँ हुनेछन्‌ भन्‍ने सन्दर्भमा हामी एउटा तार्किक निष्कर्षमा भने पुग्न सक्छौं।

यो हजार वर्षीय शासनको सुरु र अन्तमा के हुनेछ भन्‍ने कुराको पूर्वझलक दिंदै प्रेरित यूहन्‍ना यसो भन्छन्‌: “अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए। त्यसपछि त्यो केही समयको निम्ति फुकाइनुपर्छ।” (प्रकाश २०:१-३) यी पदहरूमा त शैतानलाई अगाध खाँदमा फालिने र अन्तमा केही समयको निम्ति फुकाइने विषयमा मात्र बताइएको छ। प्रेतहरूको बारेमा केही पनि उल्लेख नगरिए तापनि अगाध खाँदको साँचो हातमा लिएको दूत अर्थात्‌ महिमित येशू ख्रीष्टले दियाबललाई पक्रेर अगाध खाँदमा फाल्नुहुँदा उहाँले प्रेतहरूलाई पनि त्यसै गर्नुहुनेछ भन्‍नु तार्किक देखिन्छ।—प्रकाश ९:११.

सन्‌ १९१४ मा स्वर्गमा राजा हुनुभएपछि येशू ख्रीष्टले एउटा यस्तो कदम चाल्नुभयो जसले शैतान र त्यसका प्रेतहरूलाई ठूलो असर पाऱ्‍यो। प्रकाश १२:७-९ मा यसो भनिएको छ: “स्वर्गमा लड़ाइँ भयो। माइकल र तिनका दूतहरू त्यस अजीङ्‌गरजस्तै पशुसँग लड़ाइँ गर्न गए, र अजीङ्‌गरजस्तै पशु र त्यसका दूतहरूले [प्रेतहरूले] युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्‌, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्‍यो। अनि त्यो अजीङ्‌गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।” त्यसबेलादेखि शैतान अनि त्यसका प्रेतहरू पृथ्वीको आसपासमै सीमित भएका छन्‌। पृथ्वीलाई शैतानको दुष्ट प्रभावबाट मुक्‍त गर्न येशूले त्यसको गतिविधिमाथि थप प्रतिबन्ध लगाउनुहुँदा उहाँले प्रेतहरूलाई पनि त्यसै गर्नुहुनेछ भनेर हामी तार्किक ढङ्‌गमा अनुमान लगाउन सक्छौं।

बाइबलको सबैभन्दा पहिलो भविष्यवाणीलाई पनि विचार गर्नुहोस्‌। त्यहाँ यसो भनिएको छ: “तेरो [शैतानको] र स्त्रीको [यहोवाको स्वर्गीय संगठनको] बीचमा, र तेरो [शैतानको] सन्तान र स्त्रीको [येशू ख्रीष्टको] सन्तानको बीचमा म [परमेश्‍वर] दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) साँपको शिर कुच्याउनुमा ख्रीष्टको हजार वर्षीय शासनको दौडान शैतानलाई अगाध खाँदमा फ्याँक्नु समावेश छ। शिर कुच्याउने व्यक्‍ति र शैतानको सन्तानबीच दुस्मनी छ भनेर पनि भविष्यवाणीमा बताइएको छ। यो सन्तान अर्थात्‌ संगठनमा दुष्ट स्वर्गदूत अथवा प्रेतहरू मिलेर बनेको एउटा अदृश्‍य भाग सम्मिलित छ। तसर्थ, येशूले शैतानलाई अगाध खाँदमा फाल्नुहुँदा उहाँले प्रेतहरूलाई पनि बाँधेर अगाध खाँदमा फाल्नुहुनेछ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ। दुष्ट आत्माहरूले अगाध खाँदप्रति देखाएको ठूलो डरले आउँदै गरेको यस बन्देजबारे तिनीहरूलाई थाह छ भन्‍ने कुरा सङ्‌केत गर्छ।—लूका ८:३१.

यद्यपि, के शैतानको सन्तानको दृश्‍य भाग सँगसँगै प्रेतहरू पनि आरमागेडोनमा नाश हुने भएकोले प्रकाश २०:१-३ मा तिनीहरूबारे केही पनि उल्लेख नगरिएको हुन सक्छ? यस्तो हुन सक्दैन भनेर बाइबलले देखाउँछ। शैतानको अन्तिम अवस्था कस्तो हुनेछ भन्‍ने सन्दर्भमा बाइबल यसो भन्छ: “तिनीहरूलाई ठग्ने त्यो शैतान, आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो जानवर र झूटा आमवक्‍ताहरू पनि छन्‌। तिनीहरूले दिन-रात सदा सर्वदै शासना भोग्नेछन्‌।” (प्रकाश २०:१०) जङ्‌गली जनावर र झूटा अगमवक्‍ताहरू राजनैतिक शक्‍तिहरू हुनुका साथै शैतानको दृश्‍य संगठनका एउटा भाग हुन्‌। (प्रकाश १३:१, २, ११-१४; १६:१३, १४) परमेश्‍वरको राज्यले संसारका सबै राज्यहरूलाई चकनाचूर पार्दा आरमागेडोनमा तिनीहरूको नाश हुनेछ। (दानियल २:४४) बाइबलमा “शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगो[बारे]” बताइएको छ। (छड्‌के अक्षर हाम्रो, मत्ती २५:४१) जङ्‌गली जनावर र झूटा अगमवक्‍ताहरूलाई झैं शैतान र त्यसका प्रेतहरूलाई पनि त्यही “आगो र गन्धकको कुण्डमा” फालिनेछ र तिनीहरू सदाको लागि नाश हुनेछन्‌। शैतानको सन्तानको दृश्‍य भागभन्दा बढी शक्‍तिशाली अदृश्‍य भाग अर्थात्‌ प्रेतहरूलाई आरमागेडोनमा नाश गरिसकिएको भए, त्यस लाक्षणिक कुण्डमा जङ्‌गली जनावर र झूटा अगमवक्‍ताहरू सँगसँगै प्रेतहरू पनि भएको कुरा पक्कै उल्लेख गरिने थियो। प्रकाश २०:१० मा तिनीहरूबारे उल्लेख नगरिनुले आरमागेडोनमा प्रेतहरू नाश हुँदैनन्‌ भन्‍ने कुरा बोध हुन्छ।

प्रेतहरूलाई अगाध खाँदमा फालिनेछ भन्‍ने कुरा स्पष्टसित नबताइएको हुनाले तिनीहरूलाई अगाध खाँदबाट फुकाइने विषयमा पनि तोकेर केही बताइएको छैन। तथापि, तिनीहरूको अन्त भने दियाबलको जस्तै हुनेछ। हजार वर्षको अन्तमा मानिसजातिको अन्तिम जाँच हुँदा दियाबल सँगसँगै फुकाइनुका साथै दियाबलको साथ दिइसकेपछि प्रेतहरूलाई पनि आगोको कुण्डमा फालिनेछ र यस प्रकार तिनीहरूले अनन्त विनाश भोग्नेछन्‌।—प्रकाश २०:७-९.

यसर्थ, प्रकाश २०:१-३ ले शैतानलाई मात्र पक्रेर अगाध खाँदमा निष्क्रिय अवस्थामा राखिनेछ भनी बताए तापनि त्यसका दूतहरूलाई पनि पक्रेर अगाध खाँदमा फालिनेछ भन्‍ने तार्किक निष्कर्षमा हामी पुग्न सक्छौं। ख्रीष्टको हजार वर्षीय शासनको दौडान पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने र मानिसजातिलाई सिद्धतामा पुनर्स्थापित गर्ने परमेश्‍वरको उद्देश्‍यको पूर्तिमा न त शैतान न त्यसका प्रेतहरूको दललाई अवरोध खडा गर्न दिइनेछ।