सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌

निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌

निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌

“मचाहिं ता, आफ्नो इमानदारीमा [“निष्ठामा,” Nw] चल्नेछु।”—भजन २६:११.

१, २. (क) परमेश्‍वरको सार्वभौमिकताको विवादमा मानिसको निष्ठा किन एउटा महत्त्वपूर्ण पक्ष हो? (ख) परमेश्‍वरको सार्वभौमिकताको पक्षमा भएको कुरा बुद्धिमान्‌ प्राणीहरूले कसरी देखाउन सक्छन्‌?

 शैतानले अदनको बगैंचामा विद्रोह गर्दा पृथ्वीका सबै प्राणीहरूमाथि शासन गर्ने परमेश्‍वरको सार्वभौमिकताको औचित्यबारे त्यसले विश्‍वव्यापी विवाद उठायो। केही समयपछि, मानिसले आफ्नो स्वार्थ पूरा होउन्जेल मात्र परमेश्‍वरको सेवा गर्नेछ भन्‍ने चुनौती त्यसले खडा गऱ्‍यो। (अय्यूब १:९-११; २:४) यसरी यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको विवादमा मानिसको निष्ठा एउटा महत्त्वपूर्ण पक्ष भएको छ।

परमेश्‍वरको सार्वभौमिकता उहाँले सृष्टि गर्नुभएका प्राणीहरूको निष्ठामा निर्भर नहुने भए तापनि मानिसहरू तथा परमेश्‍वरका आत्मिक पुत्रहरूले यस विवादमा आफ्नो अडान कस्तो छ भनेर देखाउन सक्छन्‌। कसरी? निष्ठाको मार्गमा हिंड्‌ने वा नहिंड्‌ने भनी रोजेर। त्यसकारण कुनै व्यक्‍तिले कस्तो अडान लिएको छ भनेर निर्णय गर्ने ठोस आधार उसको निष्ठा हो।

३. (क) यहोवाले कुन कुरा जाँचेको अय्यूब र दाऊदले इच्छा गरे? (ख) निष्ठाबारे कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

विश्‍वस्त भई अय्यूबले यसो भने: “न्यायको तराजूमा [यहोवाले] मलाई तौलून्‌, र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष [“निष्ठावान्‌,” NW ] छु।” (अय्यूब ३१:६) पुरातन इस्राएलका राजा दाऊदले प्रार्थना गर्दा तिनको निष्ठा जाँच्नुहोस्‌ भनी यहोवालाई बिन्ती गरेका थिए: “हे परमप्रभु, मेरो इन्साफ गर्नुहोस्‌, किनकि म मेरो इमान्दारीमा“निष्ठामा,” NW ] हिंडेको छु। मैले कत्ति नधरमराईकन परमप्रभुमा भरोसा पनि गरेको छु।” (भजन २६:१) हामी पनि निष्ठाको मार्गमा हिंड्‌नु कत्ति महत्त्वपूर्ण छ! तर निष्ठा भनेको के हो अनि निष्ठाको मार्गमा हिंड्‌नुको अर्थ के हो? निष्ठाको मार्गमा हिंडिरहन हामीलाई कुन कुराले मदत गर्नेछ?

‘म आफ्नो निष्ठामा हिंडेको छु’

४. निष्ठा भनेको के हो?

निष्ठा भन्‍नाले सोझो, निर्दोष, धर्मी र निष्खोट भन्‍ने भाव बुझिन्छ। तथापि, निष्ठा भनेको सही कुरा गर्नु मात्र होइन। यो नैतिक पूर्णता वा परमेश्‍वरप्रति तनमनको भक्‍ति हो। शैतानले अय्यूबको मनसायमाथि शङ्‌का गर्दै परमेश्‍वरलाई यसो भन्यो: “आफ्नो हात पसारेर [अय्यूबको] शरीरमा चोट पुऱ्‍याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्‌।” (अय्यूब २:५) निष्ठा कायम गर्न सही कार्यको अलावा हृदयको उचित मनसाय चाहिन्छ।

५. निष्ठाको मार्गमा हिंड्‌न हामी सिद्ध हुनै पर्छ भन्‍ने छैन भनेर कुन कुराले देखाउँछ?

तथापि, निष्ठा कायम गर्न सिद्ध हुनै पर्छ भन्‍ने छैन। राजा दाऊद असिद्ध थिए अनि तिनले आफ्नो जीवनकालमा केही गम्भीर गल्तीहरू गरे। तैपनि बाइबलले तिनलाई “इमान्दारी” अथवा निष्ठामा हिंड्‌ने मानिस भनेको छ। (१ राजा ९:४) किन? किनभने दाऊद यहोवालाई प्रेम गर्थे। तिनको हृदय परमेश्‍वरप्रति समर्पित थियो। तिनी आफ्ना गल्तीहरू स्वीकार्न हिचकिचाएनन्‌, तिनले ताडना स्वीकारे अनि आफ्नो मार्ग सच्याए। निस्सन्देह, आफ्ना परमेश्‍वर यहोवाप्रति तनमनको भक्‍ति र प्रेममा दाऊदको निष्ठा देखिन्छ।—व्यवस्था ६:५, ६.

६, ७. निष्ठाको मार्गमा हिंड्‌नुमा के समावेश छ?

निष्ठा भनेको मानव व्यवहारको कुनै एउटा पक्ष, जस्तै धार्मिक भक्‍तिमा मात्र सीमित कुरा होइन। यसले हाम्रो सम्पूर्ण जीवन शैलीलाई समेट्‌छ। दाऊद आफ्नो निष्ठामा “हिंडे।” “ ‘हिंड्‌नु’ भन्‍ने क्रियाले ‘जीवनको मार्ग’ वा ‘जीवन शैली’ भन्‍ने भाव झल्काउँछ” भनी द न्यु इन्टरप्रेटर्स बाइबल बताउँछ। ‘निर्दोष चालमा हिंड्‌ने’ मानिसहरूबारे बताउँदै भजनहारले यस्तो भजन गाए: “तिनीहरू धन्यका हुन्‌, जसले [परमेश्‍वरका] साक्षी-वचन पालन गर्दछन्‌, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्‌। तिनीहरूले कुनै अधर्म गर्दैनन्‌। उहाँका मार्गमा तिनीहरू चल्दछन्‌।” (भजन ११९:१-३) निष्ठा कायम गर्नको लागि परमेश्‍वरको इच्छा के हो भनेर सधैं खोजिरहनुपर्छ अनि उहाँको मार्गमा हिंडिरहनुपर्छ।

निष्ठाको मार्गमा हिंडिरहनको लागि प्रतिकूल अवस्थामा समेत परमेश्‍वरप्रति वफादार भक्‍ति देखाइरहनु आवश्‍यक छ। हामीले परीक्षाहरू सह्‍यौं, कठिनाइको बावजुद दृढ रह्‍यौं वा अभक्‍त संसारबाट आउने प्रलोभनहरूको प्रतिरोध गऱ्‍यौं भने हाम्रो निष्ठा प्रस्ट हुन्छ। हामी ‘यहोवाको हृदयलाई आनन्दित तुल्याउँछौं’ किनभने उहाँको आलोचना गर्नेलाई उहाँले मुखभरिको जवाफ दिन सक्नुहुन्छ। (हितोपदेश २७:११) त्यसैले त हामी अय्यूबले जस्तै यस्तो सङ्‌कल्प गर्न सक्छौं: “नमरुञ्जेल म निर्दोष [“निष्ठावान्‌,” NW ] छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।” (अय्यूब २७:५) निष्ठाको मार्गमा हिंड्‌न हामीलाई कुन कुराले मदत गर्नेछ भनेर भजनको २६ औं अध्यायले देखाउनेछ।

“मेरो मन र हृदय जाँच्नुहोस्‌”

८. दाऊदले मेरो मन र हृदय जाँच्नुहोस्‌ भनी यहोवालाई बिन्ती गरेको कुराबाट तपाईं के सिक्नुहुन्छ?

दाऊदले यस्तो प्रार्थना गरे: “मलाई जाँच्नुहोस्‌, हे परमप्रभु र प्रमाणित गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्नुहोस्‌।” (भजन २६:२) यस पदमा “मन” भनेर अनुवाद गरिएको हिब्रू शब्दले मानिसको भित्री सोचाइ तथा भावनाहरूलाई सङ्‌केत गर्छ। अनि मानिसको लाक्षणिक हृदय समष्टिगत रूपमा तिनको भित्री मनुष्यत्व हो—तिनको उत्प्रेरणा, भावना र बौद्धिकता हो। मलाई जाँच्नुहोस्‌ भनी दाऊदले यहोवालाई बिन्ती गर्दा तिनको भित्री सोचाइ तथा भावनाहरू खोतल्नुहोस्‌ र केलाउनुहोस्‌ भनिरहेका थिए।

९. कुन अर्थमा यहोवाले हाम्रो लाक्षणिक मन र हृदयलाई शुद्ध पार्नुहुन्छ?

दाऊदले आफ्नो मन र हृदय जाँच्नुहोस्‌ अथवा शुद्ध पार्नुहोस्‌ भनी बिन्ती गरे। हाम्रो भित्री मनुष्यत्वलाई यहोवाले कसरी शुद्ध पार्नुहुन्छ? दाऊदले यस्तो भजन गाए: “मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्‍नेछु। मेरो अन्तस्करणले पनि मलाई राती शिक्षा दिन्छ।” (भजन १६:७) त्यसको अर्थ के हो? यसको अर्थ हो, ईश्‍वरीय सल्लाह दाऊदको भित्री भागसम्म पुग्यो र त्यहाँ रहिरह्‍यो अनि तिनको भित्री सोचाइ तथा भावनाहरूलाई शिक्षा दियो अथवा सच्यायो। हामीले परमेश्‍वरको वचन, उहाँका प्रतिनिधिहरू र उहाँको संगठनद्वारा प्राप्त हुने सल्लाहप्रति कृतज्ञ भई त्यसलाई स्वीकाऱ्‍यौं र मनभित्र गड्‌न दियौं भने त्यसले हामीमा पनि त्यस्तै राम्रो असर पार्न सक्छ। यसरी हामीलाई शुद्ध पार्नुहोस्‌ भनी नियमित तवरमा यहोवालाई प्रार्थना गरिरह्‍यौं भने निष्ठाको मार्गमा हिंड्‌न हामीले मदत पाउनेछौं।

‘तपाईंको करुणा मेरो सामने छ’

१०. परमेश्‍वरको सत्यतामा हिंड्‌न दाऊदलाई कुन कुराले मदत गऱ्‍यो?

१० दाऊदले अझै यसो भने, “तपाईंको करुणा मेरो आँखाको सामने छ। र तपाईंकै सत्यतामा म चलेको छु।” (भजन २६:३) परमेश्‍वरका करुणामय कार्यहरूबारे दाऊदलाई राम्ररी थाह थियो अनि कृतज्ञताले भरिएर तिनले त्यसमा मनन गरेका थिए। तिनले यस्तो भजन गाए, “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्‌, र उहाँका सबै उपकारहरू नबिर्सी।” परमेश्‍वरको एउटा “उपकार[बारे]” सम्झँदै दाऊदले अझ यसो भने: “थिचोमिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धर्म र न्यायका काम गर्नुहुन्छ। उहाँले मोशालाई आफ्नो मार्ग, र इस्राएलीहरूलाई आफ्नो काम प्रकट गर्नुभयो।” (भजन १०३:२, ६, ७) सायद दाऊदले मोशाको समयमा मिश्रीहरूले इस्राएलीहरूमाथि गरेको थिचोमिचोबारे सोचिरहेका थिए। त्यसो हो भने, यहोवाले कसरी उद्धार गर्नुहुनेछ भन्‍ने विषयमा मोशालाई प्रकट गर्नुभएको तरिकाबारे मनन गर्दा त्यसले दाऊदको हृदय छोएको र परमेश्‍वरको सत्यतामा हिंडिरहने तिनको कटिबद्धतालाई सुदृढ पारेको हुनुपर्छ।

११. निष्ठाको मार्गमा हिंड्‌न हामीलाई कुन कुराले मदत गर्न सक्छ?

११ परमेश्‍वरको वचन नियमित तवरमा अध्ययन गर्दा अनि त्यसबाट सिकेका कुराहरूमा मनन गर्दा पनि हामी निष्ठाको मार्गमा हिंडिरहने मदत पाउँछौं। उदाहरणका लागि, पोतीफरकी पत्नीले अनैतिक कार्य गर्न खोज्दा यूसुफ भागेको घटनालाई सम्झँदा हाम्रो कार्यथलो, स्कूल वा अन्य ठाउँहरूमा त्यस्तै प्रलोभन आइपर्दा भाग्न अवश्‍य प्रोत्साहन दिनेछ। (उत्पत्ति ३९:७-१२) भौतिक संवृद्धि वा संसारमा प्रतिष्ठा वा शक्‍ति प्राप्त गर्ने सुअवसरको प्रलोभन आइपर्दा नि? हाम्रो सामु मोशाको उदाहरण छ जसले मिश्रको सारा वैभव त्यागे। (हिब्रू ११:२४-२६) अय्यूबले देखाएको धैर्यलाई विचार गर्दा हामीमाथि रोगबिमार र विपत्ति आइपरे तापनि यहोवाप्रति वफादार रहने हाम्रो सङ्‌कल्पलाई सुदृढ पार्न मदत पाउनेछौं। (याकूब ५:११) हामी सतावटको सिकार भयौं भने नि? सिंहको खोरमा परेका दानियलको घटनालाई विचार गऱ्‍यौं भने हामीमा साहस उत्पन्‍न हुनेछ!—दानियल ६:१६-२२.

“म व्यर्थका मानिसहरूसँग बसेको छैनँ”

१२, १३. हामी कस्तो प्रकारको संगतिबाट टाढै बस्नुपर्छ?

१२ आफ्नो निष्ठालाई अझ सुदृढ बनाएको अर्को कुरालाई सङ्‌केत गर्दै दाऊदले यसो भने: “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु। कुकर्मीहरूको समुदायलाई म घृणा गर्दछु, र दुष्टहरूसँग म बस्नेछैनँ।” (भजन २६:४, ५) दाऊद दुष्टहरूसित बस्नै चाहेनन्‌। तिनले खराब संगतलाई घृणा गरे।

१३ हामी नि? के हामी टेलिभिजन कार्यक्रम, भिडिओ, चलचित्र, इन्टरनेट साइट वा अन्य माध्यमद्वारा कपटीहरूको साथमा बस्न इन्कार गर्छौं? के हामी आफ्नो वास्तविक चिनारी लुकाउने मानिसहरूबाट टाढै बस्छौं? स्कूलमा वा काम गर्ने ठाउँमा कसै-कसैले छलकपटपूर्ण कार्यहरू गर्नको लागि हामीसित मित्रता गाँसेको ढोंग रच्न सक्छन्‌। के हामी परमेश्‍वरको सत्यतामा नहिंड्‌ने व्यक्‍तिहरूसित घनिष्ठ सम्बन्ध गाँस्न चाहन्छौं र? आफू सोझो भई टोपल्दै धर्मत्यागीहरूले हामीलाई यहोवाको सेवाबाट तर्काउन आफ्नो वास्तविक मनसाय लुकाउन सक्छन्‌। मसीही मण्डलीभित्र पनि कोही-कोही दोहोरो जीवन बिताउनेहरू छन्‌ भने नि? तिनीहरूले पनि आफ्नो वास्तविक चिनारी लुकाउँछन्‌। अहिले सेवकाई सेवकको हैसियतमा सेवारत जेसन जवान छँदा तिनका कोही-कोही साथीहरू त्यस्तै थिए। उनीहरूबारे तिनी यसो भन्छन्‌: “एक दिन उनीहरूमध्ये एक जनाले मलाई यसो भने: ‘अहिले हामीले जेसुकै गरे तापनि केही मतलब छैन किनभने नयाँ रीतिरिवाज आउँदा हामी मरिसकेका हुन्छौं। हामीले कुनै कुरा गुमाउनुपऱ्‍यो कि भनेर पत्तै हुनेछैन।’ यस्तो कुरा सुनेपछि म त झसङ्‌गै भएँ। नयाँ रीतिरिवाज आउँदा म मर्नेहरूमध्ये हुन चाहन्‍नँ।” बुद्धिमानीपूर्वक जेसनले त्यस्ता व्यक्‍तिहरूसित आफ्नो संगति तोडे। प्रेरित पावलले यस्तो चेतावनी दिए: “नठगियौ, खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) हामी खराब संगतिबाट टाढै बस्नु अत्यावश्‍यक छ!

‘म तपाईंका सारा आश्‍चर्यकामको वर्णन गर्नेछु’

१४, १५. हामी कसरी “[यहोवाको] वेदीको रिङ्‌गै” घुम्न सक्छौं?

१४ दाऊदले अझै यसो भने: “म आफ्नो हात निर्दोषतामा धुनेछु। यसरी, हे परमप्रभु तपाईंको वेदीको रिङ्‌गै म घुम्नेछु।” किन? “मेरो धन्यवादको सोर तपाईंमा सुनाउनसकूँ, र तपाईंका सारा आश्‍चर्यकामको वर्णन गर्नसकूँ।” (भजन २६:६, ७) यहोवाको उपासना गर्न र परमेश्‍वरप्रति आफ्नो भक्‍ति घोषणा गर्न सकूँ भनेर दाऊद नैतिक तवरमा स्वच्छ रहन चाहन्थे।

१५ वासस्थान र पछि मन्दिरमा भएका साँचो उपासनासित सम्बन्धित सबै चीजहरू “स्वर्गमा भएका कुराहरूको नकल र छाया” थिए। (हिब्रू ८:५; ९:२३) वेदीले मानवजातिको छुटकाराको लागि येशू ख्रीष्टको बलिदान स्वीकार्ने यहोवाको इच्छालाई चित्रण गऱ्‍यो। (हिब्रू १०:५-१०) हामी आफ्नो हात निर्दोषतामा धुन्छौं अनि त्यस बलिदानमा विश्‍वास राखेर “[यहोवाको] वेदीको रिङ्‌गै” घुम्छौं।—यूहन्‍ना ३:१६-१८.

१६. परमेश्‍वरका आश्‍चर्यपूर्ण कार्यहरूबारे अरूलाई घोषणा गर्दा हामी कसरी लाभ उठाउँछौं?

१६ छुडौतीको बलिदानले सम्भव तुल्याउने सबै कुराहरूबारे सोच्दा के हाम्रो हृदय यहोवा र उहाँको एकमात्र पुत्रप्रति कृतज्ञताले भरिंदैन र? आफ्नो हृदयमा कृतज्ञ भाव राख्दै परमेश्‍वरका अन्य आश्‍चर्यपूर्ण कामहरूबारे अरूलाई थाह देऔं—अदनको बगैंचामा मानिसको सृष्टिदेखि परमेश्‍वरको नयाँ संसारमा सबै कुराको पूर्ण पुनर्स्थापनासम्म। (उत्पत्ति २:७; प्रेरित ३:२१) अनि राज्यप्रचार तथा चेला बनाउने काम हाम्रो लागि कत्ति ठूलो आध्यात्मिक सुरक्षा हो! (मत्ती २४:१४; २८:१९, २०) यस काममा व्यस्त हुँदा भविष्यको लागि हाम्रो आशा चम्किलो राख्न, परमेश्‍वरका प्रतिज्ञाहरूमा हाम्रो विश्‍वास बलियो बनाउन अनि यहोवा र सँगी मानवहरूप्रति हाम्रो प्रेम जीवन्त राख्न मदत गर्छ।

‘तपाईंको भवनको वासस्थानलाई म प्रेम गर्छु’

१७, १८. मसीही सभाहरूप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

१७ वासस्थान र बलिदानहरू चढाउने वेदी इस्राएलमा यहोवाको उपासनाको केन्द्रबिन्दु थियो। त्यस स्थानप्रति आफ्नो खुसी व्यक्‍त गर्दै दाऊदले यसरी प्रार्थना गरे: “हे परमप्रभु, तपाईंको भवनको बासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।”—भजन २६:८.

१८ के हामी यहोवाबारे सिक्ने ठाउँहरूमा भेला हुन रमाउँछौं? आध्यात्मिक निर्देशनको नियमित कार्यक्रम हुने प्रत्येक राज्यभवन स्थानीय समुदायमा साँचो उपासनाको केन्द्र हो। साथै, हाम्रा वार्षिक अधिवेशन, क्षेत्रीय सम्मेलन तथा विशेष सम्मेलन दिनहरू पनि हुन्छन्‌। यस्ता सभाहरूमा यहोवाका “साक्षी-वचनहरू” अर्थात्‌ सम्झौटाहरू छलफल गरिन्छन्‌। हामीले तिनीहरूलाई “अत्यन्तै प्रेम” गर्न सिक्यौं भने हामी सभाहरूमा उपस्थित हुन उत्सुक हुनेछौं र त्यहाँ ध्यान दिएर सुन्‍नेछौं। (भजन ११९:१६७) हाम्रो व्यक्‍तिगत हितमा चासो राख्ने अनि निष्ठाको मार्गमा हिंडिरहन हामीलाई मदत गर्ने सँगी विश्‍वासीहरूसित रहन पाउनु कस्तो स्फूर्तिदायी कुरा हो!—हिब्रू १०:२४, २५.

“मेरो जीवन” नलिनुहोस्‌

१९. दाऊद कस्ता पापहरूको दोषी हुन चाहँदैनथे?

१९ परमेश्‍वरको सत्यतामा हिंड्‌नदेखि तर्किनुका परिणामहरूबारे राम्ररी थाह भएको हुँदा दाऊदले यस्तो बिन्ती गरे: “मेरो आत्मालाई पापीहरूसित ज्यान मार्नेहरूका साथमा मेरो जीवनलाई भेला नगराउनुहोस्‌। जसका हातमा उपद्र्‌याइँ हुन्छ, र तिनीहरूको दाहिने हात घूसले भरिएको हुन्छ।” (भजन २६:९, १०) दाऊद छाडा आचरण वा घूसखोरी गरेकोमा दोषी ठहरिएका अभक्‍तहरूमध्ये गनिन चाहँदैनथे।

२०, २१. कुन कुराले हामीलाई अभक्‍त मार्गतर्फ डोऱ्‍याउन सक्छ?

२० आजको संसार अनैतिक प्रचलनहरूको भेलमा चुर्लुम्मै डुबेको छ। टेलिभिजन, पत्रपत्रिका तथा चलचित्रहरूले छाडा आचरण—“व्यभिचार, अपवित्रता, लुच्याइँ[लाई]” प्रोत्साहित गर्छन्‌। (गलाती ५:१९) कोही-कोही अश्‍लील कुराहरूको दास बनेका छन्‌ जसले अक्सर अनैतिक आचरणतर्फ डोऱ्‍याउँछ। युवाहरू अक्सर यस्ता प्रभावहरूको सजिलै सिकार बन्‍न सक्छन्‌। कुनै-कुनै मुलुकमा डेटिङ गर्नु एउटा सामान्य चलन हो अनि किशोरकिशोरीहरूले डेटिङ गर्नैपर्ने दबाब महसुस गर्छन्‌। विवाह गर्ने उमेरै नपुगेको भए तापनि धेरै युवाहरू रोमान्टिक सम्बन्ध गाँस्न पुग्छन्‌। आफूभित्र उर्लिरहेको यौन इच्छालाई तृप्त पार्न तिनीहरू आतुर हुन्छन्‌ र अनैतिक आचरणमा संलग्न भएर व्यभिचार गर्ने हदसम्म पुग्छन्‌।

२१ वयस्कहरू पनि खराब प्रभावहरूबाट मुक्‍त छैनन्‌। बेइमान व्यापारिक चलनहरू अनि स्वार्थी निर्णयहरू गर्ने झुकाव निष्ठाको कमीका सङ्‌केतहरू हुन्‌। संसारको मार्गमा हिंड्‌दा हामी यहोवाबाट झन्‌-झन्‌ टाढिन्छौं। हामी ‘बुराइलाई घृणा र भलाइलाई प्रेम’ गरौं अनि निष्ठाको मार्गमा हिंडिरहौं।—आमोस ५:१५.

“मलाई मोल तिरेर मुक्‍त गराउनुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌”

२२-२४. (क) भजन अध्याय २६ का अन्तिम शब्दहरूमा तपाईं कस्तो प्रोत्साहन पाउनुहुन्छ? (ख) अर्को लेखमा कुन पासोबारे छलफल गरिनेछ?

२२ दाऊदले परमेश्‍वरलाई गरेका उद्‌गार यसरी टुङ्‌ग्याए: “मचाहिं ता, आफ्नो इमानदारीमा“निष्ठामा,” NW ] चल्नेछु, मलाई मोल तिरेर मुक्‍त गराउनुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌। मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु।” (भजन २६:११, १२) निष्ठा कायम गर्ने दाऊदको कटिबद्धता र छुटकाराको लागि तिनको पुकाराबीच घनिष्ठ सम्बन्ध छ। त्यो कस्तो प्रोत्साहनजनक कुरा हो! हाम्रो पापी अवस्थाको बावजुद हामी निष्ठाको मार्गमा हिंड्‌न कटिबद्ध छौं भने यहोवाले हामीलाई मदत गर्नुहुनेछ।

२३ हाम्रो जीवनको सबै पक्षमा परमेश्‍वरको सार्वभौमिकताको आदर र मोल गर्छौं भनेर हाम्रो जीवन शैलीले देखाओस्‌। हाम्रो भित्री सोचाइ तथा भावनाहरू जाँच्नुहोस्‌ र त्यसलाई शुद्ध पार्नुहोस्‌ भनी हामी प्रत्येकले प्रार्थनामा यहोवालाई बिन्ती गर्न सक्छौं। लगनशील भई परमेश्‍वरको वचन अध्ययन गरेर हामी उहाँको सत्यलाई सधैं आफ्नो सामु राखिराख्न सक्छौं। त्यसकारण हरहालतमा हामी खराब संगतबाट टाढै बसौं अनि एकसाथ भेला भएका मानिसहरूको समुदायमा यहोवालाई धन्यको भनौं। यहोवासितको हाम्रो सम्बन्धलाई यस संसारले कहिल्यै खतरामा पार्न नदिई राज्य प्रचार तथा चेला बनाउने कार्यमा जोसका साथ भाग लिइरहौं। निष्ठाको मार्गमा हिंड्‌न यथाशक्य प्रयास गर्दा यहोवाले हामीमाथि अनुग्रह देखाउनुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौं।

२४ निष्ठा कायम गर्नुमा जीवनका सबै पक्षहरू मुछिएको हुँदा हामी एउटा घातक पासोबारे होसियार हुनुपर्छ—त्यो हो, रक्सीको दुरुपयोग। यसबारे अर्को लेखमा छलफल गरिनेछ।

के तपाईंलाई याद छ?

• बुद्धिमान्‌ प्राणीहरूलाई किन तिनीहरूको निष्ठाको आधारमा न्याय गर्नु उचित हुन्छ?

• निष्ठा भनेको के हो अनि निष्ठाको मार्गमा हिंड्‌नुमा के-के समावेश छन्‌?

• निष्ठाको मार्गमा हिंड्‌न हामीलाई कुन कुराले मदत गर्नेछ?

• निष्ठा कायम गर्न हामी कस्ता खतराहरूप्रति होसियार हुनुपर्छ र कस्ता कुराहरूबाट टाढै बस्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा दिइएको चित्र]

के तपाईं आफ्ना भित्री भावनाहरू जाँच्नुहोस्‌ भनी नियमित तवरमा यहोवालाई पुकार्नुहुन्छ?

[पृष्ठ १४-मा दिइएको चित्र]

के तपाईं यहोवाका करुणामय कार्यहरू आफ्नो आँखाको सामने राख्नुहुन्छ?

[पृष्ठ १५-मा दिइएको चित्र]

परीक्षाको बेला हामीले निष्ठा कायम गर्दा यहोवाको हृदय आनन्दित हुन्छ

[पृष्ठ १७-मा दिइएको चित्र]

निष्ठाको मार्गमा हिंड्‌न तपाईंलाई मदत गर्ने यहोवाका प्रबन्धहरूको के तपाईं सदुपयोग गर्नुहुन्छ?