सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै

यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै

जीवनी

यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै

आन्‍ना डेन्ज टर्पिनको वृत्तान्तमा आधारित

मेरी आमाले हाँस्दै भन्‍नुभयो, “तिमी त ‘प्रश्‍नको’ एउटा ठूलो पोको नै हौ!” सानै छँदा म मेरा आमाबाबुलाई जत्तिखेर पनि प्रश्‍न सोधिरहेकै हुन्थें। तर मेरा आमाबाबुले मेरो बाल-कौतूहलताको कारण कहिल्यै हकार्नुभएन। बरु उहाँहरूले मलाई तर्क गर्न र बाइबल-आधारित अन्तस्करणमा आधारित निर्णयहरू गर्न सिकाउनुभयो। त्यो प्रशिक्षण कत्ति बहुमूल्य साबित भयो! एक दिनको कुरा हो, म १४ वर्षकी हुँदा नाजीहरूले मेरा प्यारा आमाबाबुलाई मबाट लगे र त्यसपछि मैले उहाँहरूलाई कहिल्यै देखिनँ।

मेरो बुबा अस्कार डेन्ज र मेरी आमा आन्‍ना मारिया स्वीजरल्याण्डको सीमा नजिकैको जर्मन सहर लोराकमा बसोबास गर्नुहुन्थ्यो। उहाँहरू जवान छँदा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो र उहाँहरूलाई समुदायका मानिसहरूले चिन्थे र आदर गर्थे। तर सन्‌ १९२२ मा उहाँहरूको विवाह भएको केही समयपछि मेरा आमाबाबुको राजनीति र जीवनको लक्ष्यप्रतिको दृष्टिकोणमा परिवर्तन आयो। त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने यहोवाका साक्षीहरूसित आमाले बाइबल अध्ययन गर्न थाल्नुभयो र परमेश्‍वरको राज्यले पृथ्वीमा शान्ति ल्याउनेछ भनी सिक्दा उहाँ रोमाञ्चित हुनुभयो। त्यसको लगत्तै बुबा पनि आमाको अध्ययनमा बस्न थाल्नुभयो र उहाँहरू बाइबल स्टुडेन्ट्‌सका सभाहरूमा जान थाल्नुभयो। बुबाले त्यस वर्षको क्रिसमसमा द हार्प अफ गड भन्‍ने बाइबल अध्ययन पुस्तकसमेत आमालाई उपहारस्वरूप दिनुभयो। म उहाँहरूको एक मात्र सन्तान हुँ र मेरो जन्म सन्‌ १९२३, मार्च २५ मा भएको थियो।

परिवारसँग बिताएका रमाइला क्षणहरूको मलाई अझै सम्झना छ। जस्तै—गर्मीको मौसममा शान्त ब्ल्याक फरेस्टमा ट्रेकिङ गएको र आमाले घरायसी कामहरू सिकाउनुभएका क्षणहरू! आफ्नी सानी फुच्ची भान्छेको काम हेर्दै उहाँ भान्छामा उभिरहनुभएको दृश्‍य म अहिले पनि स्पष्टसँग सम्झन सक्छु। सबैभन्दा महत्त्वपूर्ण कुरा, मेरा आमाबाबुले मलाई यहोवा परमेश्‍वरलाई प्रेम र भरोसा गर्न सिकाउनुभयो।

हाम्रो मण्डलीमा झन्डै ४० जना लगनशील राज्य प्रचारकहरू थिए। परमेश्‍वरको राज्यबारे कुरा गर्न मौका छोप्ने मेरा आमाबाबुको विशेष योग्यता थियो। उहाँहरूले पहिला-पहिला गर्नुभएको सामुदायिक गतिविधिको कारण मानिसहरूसँग कुरा गर्न उहाँहरूलाई सजिलो लाग्थ्यो र मानिसहरूले पनि अप्ठ्यारो महसुस गर्दैनथे। सात वर्षकी भएपछि म पनि घर-घरको प्रचारकार्यमा जान चाहन्थें। प्रचारकार्यको पहिलो दिनमा मलाई मेरी साथीले केही साहित्यहरू दिएर एउटा घरतिर देखाउँदै यसो भनिन्‌: “उनीहरूले सुन्छन्‌ कि सुन्दैनन्‌ जाऊ गएर हेर।” सन्‌ १९३१ मा हामी स्वीजरल्याण्डको बाजेल भन्‍ने ठाउँमा बाइबल स्टुडेन्ट्‌सको अधिवेशनमा उपस्थित भयौं। त्यहाँ मेरा आमाबाबुले बप्तिस्मा लिनुभयो।

भद्रगोलबाट तानाशाही शासनसम्म

ती दिनहरूमा जर्मनीमा एकदमै भद्रगोल अवस्था थियो र विभिन्‍न राजनैतिक समूहहरूबीच सडकमा घमासान हुन्थ्यो। एक रातको कुरा हो, छिमेकीको घरबाट कोही एकदमैसित चिच्याएजस्तो आवाज सुनेर म ब्यूँझिएँ। दुई जना किशोरले आफ्नो दाइ तिनीहरूको राजनैतिक विचारधारासित सहमत नभएकोले दाँतेले हिर्काएर मारेका थिए। यहूदीहरू विरुद्ध वैरभाव पनि असाध्यै बढ्यो। स्कूलमा एउटी केटी यहूदी भएकोले ऊ स्कूलको एउटा कुनामा एक्लै बस्नुपर्थ्यो। उसलाई देखेर मलाई असाध्यै माया लाग्थ्यो तर मलाई के थाह, समाजबाट अलग्याउँदा कस्तो हुन्छ भनेर मैले पनि चाँडै अनुभव गर्नुपर्ने थियो।

सन्‌ १९३३, जनवरी ३० मा अडोल्फ हिटलर जर्मनीका चान्सलर भए। हाम्रो घरबाट नजिकै नाजीहरूले हर्षबढाइँका साथ सभागृहमा स्वस्तिकको झन्डोत्तोलन गरेको हामीले हेऱ्‍यौं। स्कूलमा हाम्रा शिक्षकले जोसका साथ जर्मनमा “हाइल हिटलर!” अर्थात्‌ हिटलरको जय होस्‌! भनेर अभिवादन गर्ने भनी सिकाए। त्यही दिउँसो मैले बुबालाई यो कुरा सुनाएँ। उहाँलाई यो कुरा पटक्कै मन परेन। उहाँले भन्‍नुभयो, “यो कुरा मलाई चित्त बुझेन। ‘हाइल’ शब्दको अर्थ त मुक्‍ति हो। त्यसरी हामीले ‘हाइल हिटलर’ भन्यौं भने त हामीले मुक्‍ति यहोवाबाट नभई हिटलरबाट पाउनेछौं भनिरहेका हुनेछौं। यो कुरा त सही हो जस्तो मलाई लाग्दैन तर के गर्ने भनेर तिमी आफै निर्णय गर।”

मैले हिटलरलाई सलाम नगर्ने निर्णय गरेकोले स्कूलका साथीहरूले मलाई अछुत जस्तो व्यवहार गर्न थाले। शिक्षकहरूले नदेखेको बेला कोही-कोही केटाहरूले पिट्‌थे पनि। अन्ततः तिनीहरूले मलाई एक्लै छोडिदिए तर मेरा साथीहरूले समेत उनीहरूलाई आ-आफ्नो बुबाहरूले मसँग नखेल्न भनेको कुरा बताए। म एकदमै खतरनाक थिएँ।

शक्‍ति आफ्नो हातमा लिएको दुई महिनापछि नाजीहरूले यहोवाका साक्षीहरू राज्यको लागि खतरा हुन्‌ भन्दै तिनीहरूमाथि प्रतिबन्ध लगाए। नाजीहरूको सेनाले मेग्डेबर्गमा रहेको कार्यालय बन्द गरिदिए र हाम्रा सभाहरूमा प्रतिबन्ध लगाए। तर हाम्रो घर सीमा नजिकै भएकोले बुबाले बाजेल जान अनुमतिपत्र प्राप्त गर्नुभयो र त्यहाँ हामी सभाहरू धाउँथ्यौं। जर्मनीका अरू भाइहरूले पनि त्यस्तो आध्यात्मिक भोजन पाउन सके कत्ति राम्रो हुन्थ्यो भनी बुबा अक्सर भन्‍ने गर्नुहुन्थ्यो किनभने यसरी भेला हुँदा तिनीहरूले साहसका साथ भविष्यको सामना गर्न सक्ने थिए।

जोखिमपूर्ण टहलाइ

मेग्डेबर्ग कार्यालय बन्द भएपछि त्यहाँका पूर्व-सदस्य जुलियस रिफेल लुकिछिपी प्रचारकार्यको प्रबन्ध मिलाउन आफ्नो गृहनगर लोराक आए। बुबा तुरुन्तै मदत गर्न तयार हुनुभयो। स्वीजरल्याण्डबाट जर्मनीमा बाइबल साहित्यहरू ल्याउने काममा मदत गर्न राजी हुनुभएको कुरा बुबाले आमा र मलाई बताउनुभयो। यो काम एकदमै जोखिमपूर्ण हुनेछ र उहाँ कुनै पनि बेला पक्राउमा पर्न सक्नुहुन्छ भनी बताउनुभयो। हामी पनि यस काममा संलग्न हुन हामीले दबाब महसुस गरोस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍नथ्यो किनभने यो काम एकदमै खतरनाक थियो। तुरुन्तै आमाले यसो भन्‍नुभयो, “म तपाईंको साथमा छु।” उहाँहरू दुवैले मलाई हेर्नुभयो र मैले भनें, “म पनि तपाईंको साथमा छु!”

आमाले प्रहरीधरहरा पत्रिका अटाउने झोला कुर्सियोले बुन्‍नुभयो। उहाँले एकातिर खुला भएको ठाउँबाट साहित्यहरू भित्र घुसाउनुहुन्थ्यो अनि फेरि कुर्सियोले मुख बन्द गर्नुहुन्थ्यो। उहाँले बुबाको लुगामा नदेखिने खल्तीहरू अनि उहाँको र मेरो लागि दुइटा कटिबन्धि पनि बनाउनुभयो जसमा हामीले स-साना बाइबल अध्ययन सहायकहरू लुकाएर लान सक्थ्यौं। हरेक चोटि हाम्रो बहुमूल्य सम्पत्ति घरसम्म ल्याउन पाउँदा हामी ढुक्क भएर सास फेर्थ्यौं र यहोवालाई धन्यवाद चढाउँथ्यौं। हामीले साहित्यहरू हाम्रो भण्डारमा लुकाउँथ्यौं।

सुरुमा त नाजीहरूले हामीलाई कुनै शङ्‌का गरेनन्‌। नता तिनीहरूले हामीलाई केरकार गरे न हाम्रो घर नै खानतलासी गरे। जेहोस्‌, समस्या आइपरेको खण्डमा हाम्रा आध्यात्मिक भाइहरूलाई सूचना दिन हामीले गोप्य भाषा चलाउने निर्णय गऱ्‍यौं—त्यो थियो, ४७११, एउटा प्रख्यात अत्तरको नाउँ। घरमा आउन खतरा हुने देखिएमा हामीले तिनीहरूलाई यो नम्बर चलाएर जसरी भए पनि जनाउ दिने थियौं। हाम्रो घरमा छिर्नुअघि हाम्रो बैठक कोठाको झ्याल हेर्न पनि बुबाले भन्‍नुभएको थियो। बायाँपट्टिको झ्याल खुल्ला छ भने केही गडबडी छ भन्‍ने कुराको सङ्‌केत थियो र तिनीहरू आउनु हुँदैनथ्यो।

सन्‌ १९३६ र १९३७ मा गेस्टापोले धेरै मानिसहरूलाई पक्रियो र हजारौं साक्षीहरूलाई झ्यालखाना तथा यातना शिविरहरूमा कोच्यो जहाँ तिनीहरूले अत्यन्तै क्रूर र पाशविक व्यवहार सहनुपऱ्‍यो। स्वीजरल्याण्डको बर्नमा रहेको शाखा कार्यालयले क्रेउजुग गेगान डास क्रिसटेनटुम (मसीहीधर्म विरुद्ध क्रुसेड) भन्‍ने पुस्तकको लागि रिपोर्टहरू जम्मा गर्दै थियो र यसमा शिविरहरूबाट लुकिछिपी पठाइएका विवरणहरू पनि समावेश थिए। हामीले ती गोप्य रिपोर्टहरू सीमापार बाजेलसम्म पुऱ्‍याउने खतरनाक काम गऱ्‍यौं। नाजीहरूले ती निषेधित सामग्रीसाथ हामीलाई पक्रेको भए तुरुन्तै झ्यालखानामा जाकिदिन्थे। हाम्रा भाइहरूले भोगेका सास्तीहरूबारे पढ्‌दा म रोएँ। तैपनि मलाई डर चाहिं महसुस भएन। यहोवा, मेरा आमाबाबु र मेरा मिल्ने साथीहरूले मेरो हेरविचार गर्नेछन्‌ भन्‍ने कुरामा म विश्‍वस्त थिएँ।

चौध वर्षको उमेरमा मैले स्कूलको पढाइ सिध्याएँ र एउटा हार्डवेयर पसलमा काम गरें। अक्सर हामी शनिबार दिउँसो वा आइतबार बुबाको कामबाट छुट्टि हुँदा साहित्यहरू ओसारपसार गर्ने काम गर्थ्यौं। सरदर हामी हरेक दुई हप्ताको एकचोटि जान्थ्यौं। हामी पनि सप्ताहन्तमा घुम्न हिंडेका अन्य परिवारहरू जस्तै देखिन्थ्यौं र झन्डै चार वर्षसम्म सीमाका गार्डहरूले हामीलाई नता रोके न खानतलास नै गरे तर सन्‌ १९३८ फेब्रुअरीमा भने कुरा अर्कै भयो।

भेट्टियो!

बाजेल नजिकै साहित्यहरू लिने ठाउँमा आइपुग्दा र त्यहाँ हामीले लिनुपर्ने साहित्यहरूको थुप्रो देख्दा बुबाको अनुहारमा देखिएको प्रतिक्रिया म कहिल्यै बिर्सन सक्दिनँ। साहित्यहरू ओसारपसार गर्ने अर्को परिवार पक्राउ परेकोले हामीले थप किताबहरू लैजानुपर्ने भयो। सीमामा भन्सार अधिकारीले हामीलाई शङ्‌कालु दृष्टिले हेऱ्‍यो र जाँच गर्ने अर्डर दियो। किताबहरू भेट्टाएपछि उसले बन्दुक तेर्स्याउँदै हामीलाई समात्न पर्खिरहेको पुलिसको गाडीमा पुऱ्‍यायो। अधिकारीहरूले हामीलाई गाडीमा लैजाँदै गर्दा बुबाले मेरो हात बेस्सरी समातेर सानो स्वरमा यस्तो भन्‍नुभयो: “धोकेबाज नहोऊ। कसैको नाउँ पनि नदेऊ!” “दिन्‍न बुबा, दिन्‍न” भनेर मैले उहाँलाई आश्‍वासन दिएँ। हामी लोराकमा आइपुग्दा मेरो प्यारो बुबालाई तिनीहरूले लगे। मैले उहाँलाई अन्तिम चोटि देखेको भनेको नै उहाँलाई झ्यालखानामा लैजाँदै गर्दा हो।

चार घण्टासम्म गेस्टापोका चार जना अधिकारीले मलाई अरू साक्षीहरूको नाउँ र ठेगाना भन्‍न लगाउन केरकार गरिरहे। मैले इन्कार गर्दा रिसले चूर भएर एक जना अधिकारीले यस्तो धम्की दिए, “तिमीलाई बोल्न लगाउन हामीसित अरू तरिका पनि छ!” मैले एउटा कुरा पनि ओकलिनँ। त्यसपछि तिनीहरूले आमा र मलाई हाम्रो घरमा लगे र हाम्रो घरको खानतलासी गरेको यो नै पहिलो पटक थियो। तिनीहरूले आमालाई हिरासतमा लिए र मलाई चाहिं मेरी ठूली-आमाकहाँ पठाए र उहाँलाई नै मेरो जिम्मा लगाए तर उहाँ पनि एक जना साक्षी हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई पत्तै थिएन। मलाई काममा जान दिए तापनि गेस्टापोका चार जना मानिस मेरो हरेक चालको निगरानी राख्न घरअगाडि बिसाइएको गाडीमा बस्थे र पुलिसले चाहिं सडक पेटीमा गस्ती गर्थ्यो।

केही दिनपछि दिउँसो खाना खाने समयतिर म घरबाट निस्कँदा एक जना जवान बहिनी साइकलमा मतिर आइरहेकी देखें। उनी नजिकै आइपुग्दा उनले मतिर एउटा कागतको टुक्रा फाल्न लागेको मैले देखें। मैले जसै कागत च्याप्प समाएँ र गेस्टापोले मलाई देख्यो कि भनेर हत्त न पत्त फर्केर हेरें। तर छक्कलाग्दो कुरा, तिनीहरू ठीक त्यतिबेला नै टाउको मास्तिर फर्काएर हाँसिरहेका थिए!

त्यस बहिनीको नोटमा मलाई दिउँसो उनका आमाबाबुको घरमा जान भनिएको थियो। तर गेस्टापोले ममाथि निगरानी गरिरहेको बेला मैले कसरी उनका आमाबाबुलाई समेत यस काममा बिथोल्ने र? मैले ती चार जना गेस्टापोको एजेन्ट र सडकमा गस्ती गरिरहेको पुलिसलाई हेरें। के गर्ने मलाई थाहै भएन र मैले मदतको लागि यहोवासित व्यग्र प्रार्थना गरें। अकस्मात्‌ पुलिस गेस्टापोहरूको गाडी भएतिर गयो र तिनीहरूसँग कुरा गर्न थाल्यो। त्यसपछि ऊ त्यै गाडीमा चढेर तिनीहरूसितै गयो!

त्यति नै बेला मेरी ठूली-आमा त्यहाँ आइपुग्नुभयो। दिउँसो भइसकेको थियो। उहाँले त्यो नोट पढ्‌नुभयो र त्यस नोटमा भनिएझैं जानुपर्ने कुरा गर्नुभयो र उहाँको अड्‌कलअनुसार भाइहरूले मलाई स्वीजरल्याण्ड लैजान प्रबन्ध मिलाएको हुन सक्थ्यो। हामी त्यहाँ आइपुग्दा त्यो परिवारले मलाई हेनरिक रिफ भन्‍ने मैले पहिला कहिल्यै नभेटेको मानिससित परिचय गराइदिए। म सुरक्षितसाथ आइपुगेकोले तिनलाई खुसी लागेको र तिनी मलाई स्वीजरल्याण्ड भाग्न मदत गर्न आएको कुरा बताए। अनि आधा घण्टापछि नजिकैको जङ्‌गलमा भेट्‌नु भनेर गए।

निर्वासनमा जीवन

मेरा आमाबाबुलाई छोडेर जानुपरेको कारण असाध्यै चित्त दुखेकोले धुरुधुरु रुँदै मैले भाइ रिफलाई भेटें। यी सबै कुरा असाध्यै चाँड-चाँडो भएको थियो। केही चिन्ताग्रस्त क्षणपछि हामी पर्यटकहरूको समूहमा छ्यासमिस भयौं र सुरक्षित रूपमा स्वीजरल्याण्डको सीमा पार गऱ्‍यौं।

म बर्नमा रहेको शाखा कार्यालयमा आइपुग्दा त्यहाँका भाइहरूले मलाई भगाउनको लागि यी सबै प्रबन्धहरू मिलाएका रहेछन्‌ भनी थाह पाएँ। उहाँहरूले दया गरेर मलाई बस्नको लागि ठाउँ दिनुभयो। मैले भान्छामा काम गरें जुन मलाई असाध्यै रमाइलो लाग्थ्यो। तर निर्वासनमा जीवन बिताउन कत्ति गाह्रो थियो, आमाबाबुलाई के हुने हो थाह थिएन, उहाँहरू दुवै जनालाई दुई वर्ष कैद सजाय सुनाइएको थियो! कहिलेकाहीं चिन्ता र शोकले म भावविह्वल हुन्थें र म बाथरूममा गएर रुनुसम्म रुन्थें। तर म आमाबाबुसँग नियमित रूपमा पत्राचार गर्न सक्थें र उहाँहरूले मलाई वफादार रहन प्रोत्साहन दिनुभयो।

मेरा आमाबाबुले देखाउनुभएको विश्‍वासको उदाहरणले उत्प्रेरित हुँदै मैले आफ्नो जीवन यहोवालाई समर्पित गरें र सन्‌ १९३८, जुलाई २५ मा बप्तिस्मा लिएँ। बेथेलमा एक वर्ष काम गरेपछि म शानेलाजमा काम गर्न गएँ जहाँ स्वीजरल्याण्डको शाखा कार्यालयले बेथेल परिवारको लागि भोजन र सतावटले गर्दा भाग्न बाध्य भएका भाइहरूलाई राख्न खेत किनेको थियो।

सन्‌ १९४० मेरा आमाबाबुको सजाय अवधि सिद्धिएपछि नाजीहरूले उहाँहरूले आफ्नो विश्‍वास त्यागेको खण्डमा छोडिदिने प्रस्ताव राखे। उहाँहरू अडिग रहनुभयो र उहाँहरूलाई यातना शिविरमा पठाइयो, बुबालाई डकाऊ र आमालाई राभेनस्ब्रूक। सन्‌ १९४१ को जाडोमा मेरी आमा र शिविरमा भएका अन्य बहिनीहरूले सेनाको लागि काम गर्न इन्कार गरे। सजायस्वरूप, उहाँहरूलाई ३ दिन ३ रातसम्म चिसोमा उभिन लगाइयो र त्यसपछि काल कोठरीमा ४० दिनसम्म भोकभोकै राखियो। अनि त्यसपछि उहाँहरूलाई कोर्रा लगाइयो। त्यस्तो निर्ममतासाथ पिटेको तीन हप्तापछि सन्‌ १९४२, जनवरी ३१ मा आमा बित्नुभयो।

बुबालाई डकाऊबाट अस्ट्रियामा माउटहाउसेन पठाइयो। यस शिविरमा नाजीहरूले कैदीहरूलाई भोकभोकै राखेर र काममा जोतेको जोत्यै गरेर क्रमबद्ध रूपमा मारे। तर आमा बित्नुभएको छ महिनापछि नाजीहरूले बुबालाई अर्कै तरिकामा मारे। उहाँलाई चिकित्सा परीक्षणको रूपमा चलाइयो। शिविरका डाक्टरहरूले परीक्षणका लागि प्रयोग गरिने व्यक्‍तिहरूलाई जानाजानी क्षयरोगले सङ्‌क्रमित गरिदिन्थे। त्यसपछि कैदीहरूको मुटुमै घातक सुई लगाइदिन्थे। आधिकारिक रेकर्डमा बुबाको मृत्युको कारण “मुटुको कमजोर मांसपेशी” भनिएको छ। उहाँ ४३ वर्षको हुनुहुन्थ्यो। यस्तो निर्मम हत्याबारे मैले महिनौंपछि मात्र थाह पाएँ। मेरा मायालु आमाबाबुबारे सम्झँदा अहिले पनि मेरो आँखा रसाएर आउँछ। यद्यपि, स्वर्गीय आशा भएका आमा र बुबा यहोवाको हातमा सुरक्षित हुनुहुन्छ भनी थाह पाउँदा म त्यतिबेला जस्तै अहिले पनि सान्त्वना पाएको महसुस गर्छु।

दोस्रो विश्‍वयुद्धपछि मैले न्यु योर्कमा वाचटावर बाइबल स्कूल अफ गिलियडको ११ औं कक्षामा भाग लिने सुअवसर पाएँ। पाँच महिनासम्म धर्मशास्त्रको अध्ययनमा चुर्लुम्मै डुब्न पाउनु कस्तो आनन्दको कुरा थियो! सन्‌ १९४८ मा स्नातक भइसकेपछि मलाई मिसनरीको रूपमा स्वीजरल्याण्ड पठाइयो। त्यसको केही समयपछि नै गिलियडको पाँचौं कक्षाबाट स्नातक भएका विश्‍वासी भाइ जेम्स एल. टर्पिनसित मेरो भेट भयो। टर्कीमा पहिलो शाखा कार्यालय स्थापना गर्दा उहाँले निरीक्षकको हैसियतमा सेवा गर्नुभएको थियो। हामीले मार्च १९५१ मा विवाह गऱ्‍यौं र त्यसको लगत्तै हामी आमाबाबु बन्‍न लागेको कुरा थाह पायौं! हामी संयुक्‍त राज्य अमेरिकामा बसाइँ सऱ्‍यौं र हाम्री सानी छोरी मार्लिनलाई त्यस वर्षको डिसेम्बर महिनामा यस संसारमा स्वागत गऱ्‍यौं।

वर्षौंको दौडान जीम र मैले हाम्रो राज्य सेवामा निकै आनन्द उठाएका छौं। पेन्‍नी नाउँ गरेकी एउटी चिनियाँ युवती जो हाम्रो बाइबल विद्यार्थी थिइन्‌ मलाई उनको अझै सम्झना आउँछ जसलाई बाइबल अध्ययन गर्न असाध्यै मन पर्थ्यो। उनले बप्तिस्मा लिइन्‌ र पछि गाइ पियर्ससित विवाह गरिन्‌ जो अहिले यहोवाका साक्षीहरूको परिचालक निकायमा सेवा गरिरहेका छन्‌। त्यस्ता प्रिय व्यक्‍तिहरूले गर्दा आफ्ना आमाबाबु गुमाउनुपर्दाको शून्यता कम गर्न मदत गरेको छ।

सन्‌ २००४ को सुरुतिर मेरा आमाबाबुको गृहनगर लोराकमा भाइहरूले श्‍टीक स्ट्रीटमा नयाँ राज्यभवन निर्माण गरे। यहोवाका साक्षीहरूले गरेको कामको मान्यता दिंदै नगर परिषद्‌ले मेरा आमाबाबुको आदरमा त्यस सडकको नाउँ डेन्जश्‍ट्राश (डेन्ज मार्ग) नामाकरण गर्ने निर्णय गरे। स्थानीय अखबार बाडिश जाइटुङ-ले “मारिएका डेन्ज दम्पतीको सम्झनामा: सडकको नयाँ नाउँ” भन्‍ने शीर्षकअन्तर्गत मेरा आमाबाबु “तेस्रो राइकको दौडान तिनीहरूको विश्‍वासको कारण यातना शिविरमा हत्या गरिएको थियो” भनी समाचार छापेको थियो। नगर परिषद्‌को यो काम मेरो लागि अप्रत्याशित त थियो तर यसले मेरो हृदय असाध्यै छोयो।

आरमागेडोन हाम्रो जीवनकालमा आउनेछैन जस्तो गरी हामीले योजना बनाउनुपर्छ तर आफ्नो जीवन चाहिं आरमागेडोन भोलि नै आउनेछ जस्तै गरी बिताउनुपर्छ भनी बुबा भन्‍ने गर्नुहुन्थ्यो। यो अमूल्य सल्लाह मैले सधैं लागू गर्ने कोसिस गरेकी छु। धैर्यता र उत्सुक प्रतीक्षालाई सन्तुलनमा राख्नु सधैं सजिलो हुँदैन, किनभने बूढ्यौलीको कारण म घरमै कोच्चिएर बस्न बाध्य भएकी छु। तैपनि, यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई गर्नुभएको प्रतिज्ञामाथि मैले कहिल्यै शङ्‌का गरिनँ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, . . . आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

[पृष्ठ २९-मा भएको चित्र]

अतीतका अमूल्य शब्दहरू

सन्‌ १९८० को दशकमा लोराकबाट अलि टाढा गाउँकी एउटी महिला लोराक घुम्न आइन्‌। त्यतिबेला सहरवासीहरूले आफूलाई नचाहिने सामानहरू सार्वजनिक स्थलहरूमा ल्याइरहेका थिए र त्यहाँबाट अरूले आफूलाई मन लागेको कुराहरू जे पनि लैजान सक्थे। ती महिलाले एउटा सियोको बट्टा भेट्टाइछिन्‌ र त्यो लिइछिन्‌। पछि त्यस बट्टाको तलतिर तिनले एउटी सानी केटीको फोटोहरू र यातना शिविरको कागतमा लेखिएका चिठीहरू भेट्टाइछिन्‌। चिठी पढेर ती महिला धेरै छक्क परिन्‌ र चुल्ठो बाटेकी केटी को होली भनेर विचार गरिन्‌।

सन्‌ २००० को कुरा हो, ती महिलाले लोराकमा एउटा ऐतिहासिक प्रदर्शनबारे अखबारको लेख पढिछिन्‌। उक्‍त लेखमा नाजी वर्षहरूको दौडान यहोवाका साक्षीहरूबारे इतिहासको व्याख्या गरिएको थियो र यसमा हाम्रो परिवारको कुरा पनि थियो। यसमा म किशोरी छँदाको फोटो पनि थियो। त्यो फोटो र तिनीसँग भएको फोटोबीच समानता देखेपछि उक्‍त स्त्रीले पत्रकारलाई सम्पर्क गरिन्‌ र तिनीसँग भएका चिठीहरूबारे बताइन्‌—चिठीहरू जम्माजम्मी ४२ वटा थिए! केही हप्तापछि मैले ती चिठीहरू पाएँ। मेरा आमाबाबुले आफ्नै हातले लेख्नुभएका चिठीहरूमा मेरो विषयमा मेरी ठूली-आमालाई पटक-पटक सोधिएको थियो। उहाँहरूले मप्रति सधैं नै मायालु चासो राख्नुभयो। ती चिठीहरू सुरक्षित रहनु र फेरि ६० वर्षपछि देखापर्नु साँच्चै छक्कलाग्दो कुरा हो!

[पृष्ठ २५-मा भएका चित्रहरू]

हिटलर शक्‍तिमा आएपछि हाम्रो सुखी परिवार भताभुङ्‌ग भयो

[स्रोत]

Hitler: U.S. Army photo

[पृष्ठ २६-मा भएका चित्रहरू]

१. मेग्डेबर्ग कार्यालय

२. गेस्टापोले हजारौं साक्षीहरूलाई पक्रियो

[पृष्ठ २८-मा भएको चित्र]

जीम र मैले हाम्रो राज्य सेवामा निकै आनन्द उठाएका छौं