सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोशूको पुस्तकका विशेषताहरू

यहोशूको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

यहोशूको पुस्तकका विशेषताहरू

सा. यु.पू. १४७३ मा मोआबको बेंसीमा पाल टाँगेर बसेको बेला यी शब्दहरू सुनेर इस्राएलीहरू पक्कै पनि रोमाञ्चित भएको हुनुपर्छ: “आफ्ना आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई तिमीहरू यो यर्दन पारि जानुपर्छ।” (यहोशू १:११) तिनीहरूले उजाडस्थानमा बिताएको ४० वर्ष सकिनै लागेको छ।

दुई दशक बितेको अलिक समयपछि नेता यहोशू कनान देशको मुटुमा उभिन्छन्‌ अनि इस्राएलका बूढा प्रधानहरूलाई यस्तो घोषणा गर्छन्‌: “हेर, यर्दनदेखि पश्‍चिमतिर महा समुद्रसम्म मैले चिट्ठा हाली हालीकन यी बाँकी रहेका जातिहरूलाई र मैले नाश गरेका जातिहरूलाई तिमीहरूका कुलहरूका अधिकारमा दिएको छु, परमप्रभु तिमीहरूका परमेश्‍वर आफैलेनै तिमीहरूका सामनेबाट तिनीहरूलाई निकालिदिनुहुनेछ, र तिमीहरूका नजरको अगि धपाइदिनुहुनेछ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएझैं तिमीहरूले तिनीहरूको देश अधिकार गर्नेछौ।”—यहोशू २३:४, ५.

सा.यु.पू. १४५० मा यहोशूद्वारा लिखित यहोशूको यो पुस्तक ती २२ वर्षको दौडान घटेका घटनाहरूको एउटा रोमाञ्चक ऐतिहासिक विवरण हो। प्रतिज्ञाकृत नयाँ संसारको सँघारमै उभिरहेका हामीहरूको अवस्था र प्रतिज्ञाकृत भूमिमा अधिकार जमाउन सुर कसिरहेका ती इस्राएलीहरूको अवस्था उस्तै-उस्तै छ। त्यसैले आउनुहोस्‌, उत्कट चासो दिएर यहोशूको यस पुस्तकलाई केलाऔं।—हिब्रू ४:१२.

“यरीहोको मैदान[सम्म]”

(यहोशू १:१–५:१५)

“मेरो दास मोशा मऱ्‍यो। यसकारण उठ्‌, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिने देशमा जा,” भनी यहोवाले भन्‍नुहुँदा यहोशूले कत्ति ठूलो जिम्मेवारी पाउँछन्‌! (यहोशू १:२) यहोशूले लाखौं मानिसहरूको एउटा समूहलाई प्रतिज्ञाकृत देशसम्म डोऱ्‍याउनुपर्नेछ। सबैभन्दा पहिले कब्जा गर्नुपर्ने सहर यरीहोमा उनले तयारीस्वरूप दुई जना जासुस पठाउँछन्‌। यहोवाले आफ्ना जनहरूका खातिर गर्नुभएका शक्‍तिशाली कार्यहरूबारे सुनेकी राहाब नाउँकी एक वेश्‍या पनि उक्‍त सहरमा बस्छे। उसले जासुसहरूको ज्यान जोगाउँछे अनि तिनीहरूलाई मदत पनि गर्छे र बदलामा जासुसहरूले उसको सुरक्षा गर्ने वचन दिन्छन्‌।

जासुसहरू फर्केपछि यहोशू र मानिसहरू अघि बढ्‌न अनि यर्दन नदी तर्न कम्मर कस्छन्‌। बाढीले नदी उर्लिरहेको भए तापनि नदी तिनीहरूको लागि बाधक बन्दैन किनकि यहोवाले मास्तिरबाट बगिरहेको पानीलाई बाँध जस्तै गरी थुप्रो लगाइदिनुहुन्छ अनि तलतिर बगिरहेको पानीलाई मृत सागरमा झारिदिनुहुन्छ। यर्दन नदी पार गरेपछि यरीहो नजिकैको गिलगालमा इस्राएलीहरूले छाउनी हाल्छन्‌। चार दिनपछि अबिबको १४ औं दिनमा साँझतिर यरीहोको मैदानमा तिनीहरूले निस्तार चाड मनाउँछन्‌। (यहोशू ५:१०) त्यसको भोलिपल्ट तिनीहरूले उक्‍त देशका केही उब्जनीहरू खान थाल्छन्‌ र मन्‍नको प्रबन्ध रोकिन्छ। यसै बेला यहोशूले उजाडस्थानमा जन्मेका सबै पुरुषहरूको खतना गर्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:४, ५—जासुसहरूलाई खोजिरहेका राजाका मानिसहरूलाई राहाबले किन गलत बाटो देखाउँछे? यहोवामाथि विश्‍वास खेती गर्न थालेकी हुनाले आफ्नो ज्यान जोखिममा राख्दै राहाबले जासुसहरूलाई बचाउँछे। अतः परमेश्‍वरका जनहरूलाई हानि पुऱ्‍याउन खोज्ने ती मानिसहरूलाई जासुसहरूबारे सही जानकारी दिन राहाब बाध्य छैन। (मत्ती ७:६; २१:२३-२७; यूहन्‍ना ७:३-१०) वास्तवमा, राहाब ‘कामबाटै धर्मी ठहरिएकी’ थिई अनि उक्‍त काममा राजाका दूतहरूलाई गलत बाटो देखाइएको काम पनि समावेश छ।—याकूब २:२४-२६.

५:१४, १५—“परमप्रभुको फौजको कप्तान” को हुन्‌? प्रतिज्ञाकृत भूमिको विजय अभियानको प्रारम्भमा यहोशूलाई सुदृढ पार्न देखापर्ने कप्तान सम्भवतः अरू कोही नभएर आफ्नो मानवपूर्व अस्तित्वमा “वचन” अर्थात्‌ येशू ख्रीष्ट हुनुपर्छ। (यूहन्‍ना १:१; दानियल १०:१३) परमेश्‍वरका जनहरूले लड्‌ने आध्यात्मिक युद्धमा स्वयम्‌ महिमित येशू ख्रीष्ट आफूसित भएको आश्‍वासन पाउँदा तिनीहरूले कत्ति ठूलो बल पाउँछन्‌!

हाम्रा लागि पाठहरू:

१:७-९. आध्यात्मिक सङ्‌घर्षमा सफल हुन दिनहुँ बाइबल पढ्‌नु, यसले बताउने कुराहरू नियमित तवरमा मनन गर्नु अनि सिकेका कुराहरू व्यवहारमा उतार्नु अपरिहार्य छ।

१:११. यहोशू मानिसहरूलाई दैनिक उपभोग्य वस्तुहरूको तारतम्य मिलाउने र अल्छी हुँदै परमेश्‍वरको मुख नताक्ने आज्ञा दिन्छन्‌। जीवनका आवश्‍यकताहरूबारे फिक्री नगर्ने अनि “सबै थोक तिमीहरूमा थपिने” येशूको प्रतिज्ञाले हातमुख जोर्न कुनै काम गर्नु पर्दैन भन्‍ने अर्थ बुझाउँदैन।—मत्ती ६:२५, ३३.

२:४-१३ यहोवाका महाकार्यहरूबारे सुनेर अनि आफू बाँचिरहेको समय निर्णायक छ भनी बुझेर राहाबले उहाँका उपासकहरूको पक्ष लिने निर्णय गर्छे। तपाईं केही समयदेखि बाइबल अध्ययन गर्दै हुनुहुन्छ अनि हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भनेर पनि बुझिसक्नुभएको छ भने, के तपाईंले ढिलासुस्ती नगरी यहोवाको सेवा गर्ने निर्णय गरिहाल्नु पर्दैन र?—२ तिमोथी ३:१.

३:१५. यरीहोमा पठाइएका जासुसहरूबाट सकारात्मक रिपोर्ट आएको हुनाले यर्दन नदीको पानी कहिले कम होला अनि नदी तरूलाँ भनेर कुरेर नबसी यहोशुले तुरुन्तै कदम चालिहाल्छन्‌। साँचो उपासना मुछिएको कुनै कामको सन्दर्भमा परिस्थिति अनुकूल होला र गरूँला भनी कुरेर नबसी तुरुन्तै कदम चालिहाल्नुपर्छ।

४:४-८, २०-२४. यर्दन नदीको किनारबाट झिकिएका १२ वटा ढुङ्‌गा इस्राएलीहरूको लागि एउटा सम्झनाको प्रतीक बन्छ। आज यहोवाले आफ्ना जनहरूलाई शत्रुहरूको हातबाट छुटकारा दिने कार्य उहाँ तिनीहरूसित हुनुहुन्छ भन्‍ने सम्झना हो।

विजय अभियान अघि बढ्‌छ

(यहोशू ६:१–१२:२४)

यरीहो सहर “बिल्कुल थुनिएको [छ] . . . कोही भित्र बाहिर गर्न पाउँदैन. . .।” (यहोशू ६:१) उक्‍त सहरमाथि कसरी कब्जा जमाउने? यहोवाले यहोशूलाई एउटा रणनीति सिकाउनुहुन्छ। तत्कालै पर्खालहरू ढल्छन्‌ र सहर नष्ट हुन्छ। राहाब र उसका घराना मात्र जोगिन्छन्‌।

यसपछि शाही नगर ऐमा अर्को विजय गरिन्छ। उक्‍त सहरमा पठाइएका जासुसहरूले सहरमा थोरै मानिसहरू बसोबास गर्ने भएकाले आक्रमणको लागि धेरै मानिसहरू नचाहिने रिपोर्ट ल्याउँछन्‌। यद्यपि, आक्रमण गर्न पठाइएका ३,००० सेनाहरूलाई उल्टो ऐका मानिसहरूले खेद्‌छन्‌। कारण के हो? यहोवा इस्राएलीहरूको पक्षमा हुनुहुन्‍न। यहूदा कुलका आकानले यरीहोमा आक्रमण गर्दा एउटा पाप गरे। यस मामिलालाई सुल्झाइसकेपछि यहोशूले ऐ विरुद्ध आक्रमण गर्छन्‌। एक पटक इस्राएलीहरूलाई हराइसकेका ऐका राजा इस्राएलीहरूसित भिड्‌न आतुर छन्‌। अति आत्मविश्‍वास राखेका ऐका मानिसहरूको कमजोरीको फाइदा उठाउँदै यहोशूले एउटा रणनीति अपनाउँछन्‌ र उक्‍त सहरमाथि कब्जा जमाउँछन्‌।

गिबोन ‘ऐ भन्दा धेरै ठूलो सहर हो अनि त्यहाँ सबै निवासीहरू शूरवीर’ छन्‌। (यहोशू १०:२) यरीहो र ऐ विरुद्ध इस्राएलीहरूको सफलताबारे सुनेका गिबोनका मानिसहरूले यहोशूलाई झुक्याएर एउटा शान्ति सम्झौता गर्न लगाउँछन्‌। यसरी गिबोनीहरू इस्राएलीहरूसित मिल्न जाँदा वरपरका देशहरू आफ्नो लागि खतरा ठान्छन्‌। ती पाँच देशका राजाहरू आपसमा साँठगाँठ गर्छन्‌ अनि गिबोनमाथि आक्रमण गर्छन्‌। इस्राएलले गिबोनीहरूलाई बचाउँछ र आक्रमणकारीहरूलाई पूरै हराइदिन्छ। यहोशूको नेतृत्वमा इस्राएलले दक्षिण र पश्‍चिमका सहरलगायत उत्तरी राजाहरूका गठबन्धनहरूमाथि पनि विजय हासिल गर्छ। यर्दनको पश्‍चिमतिर हार्ने राजाहरू जम्माजम्मी ३१ जना छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१०:१३यस्तो अपूर्व घटना कसरी सम्भव हुन्छ? पृथ्वी अनि स्वर्गका सृष्टिकर्ता “परमप्रभुको निम्ति कुनै कुरो औधी कठिन छ र?” (उत्पत्ति १८:१४) यहोवाले चाहनुभयो भने पृथ्वीका अवलोकनकर्ताको नजरमा सूर्य र चन्द्रको गति स्थिर देखिने गरी पृथ्वीको गतिलाई नियन्त्रण गर्न सक्नुहुन्छ। अथवा परिक्रमालाई यथावत्‌ राखी पृथ्वी र चन्द्रमाका ज्योतिलाई चम्किरहने गरी परावर्तन गराउन सक्नुहुन्छ। जे होस्‌, मानव इतिहासमा “त्यो दिन जस्तो उहिले र पछि कहिले भएन।”—यहोशू १०:१४.

१०:१३—याशारको पुस्तक के हो? इस्राएलका राजा शाऊल र उनको छोरा जोनाथनबारे लेखिएको विलापको गीतको प्रसङ्‌गमा यस पुस्तकबारे २ शमूएल १:१८ मा पुनः चर्चा गरिएको छ। सम्भवतः उक्‍त पुस्तक हिब्रूहरूमाझ लोकप्रिय इस्राएली इतिहासमा घटेका स्मरणीय घटनाहरूबारे लेखिएको गीत र कविताहरूको सङ्‌ग्रह थियो।

हाम्रा लागि पाठहरू:

६:२६; ९:२२, २३. यरीहोको विनाशताका यहोशूले दिएको श्राप करिब ५०० वर्षपछि आइलाग्छ। (१ राजा १६:३४) नूहले आफ्नो नाति कनानलाई दिएको श्राप गिबोनीहरू श्रमिकहरू हुँदा सत्य साबित हुन्छ। (उत्पत्ति ९:२५, २६) यहोवाको वचन सधैं सत्य साबित हुन्छ।

७:२०-२५. आकानले गरेको चोरीले कसैलाई हानि नपुऱ्‍याएको तर्क गर्दै सायद कसै-कसैले यसलाई सानोतिनो गल्ती भनेर बेवास्ता गर्न सक्छन्‌। तिनीहरूले बाइबलको व्यवस्था विरुद्ध गरिएको सानोतिनो चोरी अथवा गल्तीलाई हल्का रूपमा लिन सक्छन्‌। तर बाइबलको व्यवस्था विपरीत र अनैतिक कार्य गर्ने दबाबको विरोध गर्न हामीले यहोशूले जस्तै दृढ अडान लिनुपर्छ।

९:१५, २६, २७. आफूले गरेका सम्झौताहरूलाई हामीले गम्भीरतासाथ लिनै पर्छ अनि आफ्नो वचन निभाउनुपर्छ।

यहोशू आफ्नो अन्तिम उल्लेखनीय कार्य सम्पन्‍न गर्छन्‌

(यहोशू १३:१-२४:३३)

ढल्कँदो उमेर अर्थात्‌ झण्डै ९० वर्ष पुग्नै लाग्दा यहोशू अब भूमिको भागबन्डा गर्ने काम थाल्छन्‌। कत्ति ठूलो काम! रूबेन र गाद कुललगायत मनश्‍शेका आधा कुलले यर्दनको पूर्वतिर आफ्नो हिस्सा पाइसकेका छन्‌। बाँकी रहेका कुलहरूलाई पश्‍चिमपट्टि चिठ्ठा हालेर हिस्सा दिइन्छ।

एप्रैमको इलाकामा रहेको शीलोमा वासस्थान राखिन्छ। कालेबले हेब्रोनको सहर अनि यहोशूले तिम्नथसेरह पाउँछन्‌। लेवीहरूलाई ४८ वटा सहर दिइन्छ जसमा ६ वटा शरण-नगर पनि समावेश छन्‌। रूबेन, गाद अनि मनश्‍शेका आधा कुलहरूले यर्दनको पूर्वतिर आफ्नो हिस्सा लिन फर्कंदै गर्दा “हेर्दैमा ठूलो देखिने” एउटा वेदी बनाउँछन्‌। (यहोशू २२:१०) यर्दनको पश्‍चिमतिरका कुलहरूले यसलाई धर्मत्याग भन्ठान्छन्‌ र कुल-कुलबीच युद्ध मच्चिने अवस्थासम्म पुग्छ तर राम्रो कुराकानीले गर्दा रक्‍तपात हुन पाउँदैन।

यहोशू केही समय तिम्नथसेरहमा बसिसकेपछि तिनले इस्राएलका बूढाप्रधान, कुलनायक, न्यायकर्त्ता अनि अधिकारीहरूलाई बोलाउँछन्‌ र तिनीहरूलाई साहसी हुन अनि यहोवाप्रति विश्‍वासी रहिरहन आग्रह गर्छन्‌। पछि यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गर्छन्‌। त्यहाँ तिनले अब्राहामको समयदेखि यहोवाले गर्नुभएका व्यवहारहरूबारे पुनरावलोकन गर्छन्‌ अनि फेरि एकचोटि ‘परमप्रभुको भय मान्‍न, र निष्कपट र सत्यतासाथ उहाँको सेवा गर्न’ तिनीहरूलाई आग्रह गर्छन्‌। अनि मानिसहरू यस्तो प्रतिक्रिया व्यक्‍त गर्न उत्प्रेरित हुन्छन्‌: “परमप्रभु हाम्रा परमेश्‍वरलाई हामी पूज्नेछौं र उहाँकै वचन सुन्‍नेछौं।” (यहोशू २४:१४, १५, २४) यसपछि ११० वर्षको उमेरमा यहोशूको मृत्यु हुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१३:१—के यो कुरा यहोशू ११:२३ मा बताइएको कुरासित बाझिंदैन? बाझिंदैन, किनकि प्रतिज्ञा गरिएको देशमाथिको विजयमा दुइटा पक्ष समावेश थियो: पहिलो पक्ष हो, राष्ट्र पूरै मुछिएको युद्ध जसले कनानका ३१ जना राजालाई हरायो र कनानीहरूको शक्‍ति क्षीण बनायो अनि दोस्रो पक्ष हो, कुल र व्यक्‍तिविशेषले आफै कदम चालेर देशमाथि पूर्णतः अधिकार जमाउने। (यहोशू १७:१४-१८; १८:३) इस्राएलीहरूले आफ्नो माझबाट कनानीहरूलाई पूर्णतया हटाउन नसके तापनि बाँकी रहेका कनानीहरू इस्राएलको सुरक्षाको लागि वास्तवमा खतरा थिएनन्‌। (यहोशू १६:१०; १७:१२) यहोशू २१:४४ यसो भन्छ: “परमप्रभुले . . . तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।”

२४:२—के अब्राहामको पिता तेरह मूर्तिपूजक थिए? तेरह सुरुमा यहोवा परमेश्‍वरका उपासक थिएनन्‌। सम्भवतः तिनले ऊरको लोकप्रिय देवता सिन नाउँका चन्द्र-देवलाई पूज्थे। यहूदीहरूको रीतिथिति अनुसार तेरह मूर्तिकार पनि हुन सक्थे। यद्यपि, परमेश्‍वरको आज्ञाअनुसार अब्राहामले ऊर छोड्‌दा तेरह उनीसितै हारान जान्छन्‌।—उत्पत्ति ११:३१.

हाम्रा लागि पाठहरू:

१४:१०-१३. पचासी वर्ष पुगेका भए तापनि कालेबले हेब्रोन इलाकाका मानिसहरूलाई धपाउने कठिन जिम्मेवारी माग्छन्‌। त्यस इलाकामा असाधारण कद भएका अनाकीहरू बस्थे। यहोवाको मदतद्वारा यी अनुभवी योद्धाले विजय हासिल गर्छन्‌ र हेब्रोन शरण-नगर बन्‍न पुग्छ। (यहोशू १५:१३-१९; २१:११-१३) कालेबको उदाहरणले कठिन ईश्‍वरतान्त्रिक जिम्मेवारीहरूबाट पछि नहट्‌न प्रोत्साहित गर्छ।

२२:९-१२, २१-३३. अरूको मनसायलाई गलत अर्थ नलगाउन हामी होसियार हुनै पर्छ।

‘एउटा पनि फरक परेको छैन’

एकदमै बूढो भइसकेपछि इस्राएलका जिम्मेवार पुरुषहरूलाई यहोशू यसो भन्छन्‌: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ।” (यहोशू २३:१४) यहोशूको ऐतिहासिक विवरणले यस कुरालाई कस्तो जीवन्त ढङ्‌गमा चित्रण गर्छ!

प्रेरित पावलले यस्तो लेखे, “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) यहोवाको प्रतिज्ञामाथि हामीले राखेको आशा खेर जाने छैन भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। एउटा प्रतिज्ञा पनि चुक्ने छैन; सबै पूरा हुनेछन्‌।

[पृष्ठ १०-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

यहोशूको नेतृत्वमा विजय हासिल गरिएको देश

बाशान

गिलाद

अराबा

नेगेब

यर्दन नदी

खारा समुद्र

यब्बोक खोला

अर्नोन बेंसी

हासोर

मादोन

लश्‍शारोन

शिम्रोन

योक्नाम

दोर

मगिद्दो

कादेश

तानाक

हेपेर

तिर्सा

अपेक

तप्पूह

बेतेल

गिलगाल

यरीहो

गेजेर

यरूशलेम

मक्केदा

यर्मूत

अद्दुलाम

लिब्ना

लाकीश

एग्लोन

हेब्रोन

दबीर

आराद

[पृष्ठ ९-मा दिइएको चित्र]

वेश्‍या राहाबलाई धर्मी ठहराइनुको कारण के हो, तपाईंलाई थाह छ?

[पृष्ठ १०-मा दिइएको चित्र]

यहोशूले इस्राएललाई ‘परमप्रभुको भय मान्‍न, र उहाँको सेवा गर्न’ आग्रह गरे

[पृष्ठ १२-मा दिइएको चित्र]

आकानको चोरी सानोतिनो गल्ती थिएन, यसले गम्भीर नतिजाहरू निम्त्यायो

[पृष्ठ १२-मा दिइएको चित्र]

“विश्‍वासैबाट . . . यरीहोका पर्खालहरू ढले।”—हिब्रू ११:३०.