सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌

रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌

रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌

“मद्य घृणित वस्तु हो, औ कड़ा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।”—हितोपदेश २०:१.

१. यहोवाले दिनुभएका केही असल वरदानहरूका लागि भजनहारले कसरी कृतज्ञता व्यक्‍त गरे?

 “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ” भनी चेला याकूबले लेखे। (याकूब १:१७) परमेश्‍वरले दिनुभएका अनगन्ती असल वरदानहरूका लागि कृतज्ञताले ओतप्रोत भई भजनहारले यस्तो भजन गाए: “गाई-वस्तुहरूका निम्ति उहाँले घाँस, र त्यसले पृथ्वीबाट खाने पदार्थहरू उब्जाऊन्‌ भनेर मानिसको कामको निम्ति सागपातहरू उमार्नुहुन्छ। मानिसको मन खुश गराउनालाई दाखमद्य, र त्यसको मुख चहकिलो पार्नालाई तेल र मानिसको हृदय बलियो तुल्याउनालाई अन्‍न उमार्नुहुन्छ।” (भजन १०४:१४, १५) वनस्पति, रोटी र तेलजस्तै मद्य र अन्य मदिराजन्य पेयपदार्थहरू परमेश्‍वरले दिनुभएका उत्तम वरदान हुन्‌। हामीले ती कुराहरू कसरी प्रयोग गर्नुपर्छ?

२. रक्सीको प्रयोगबारे हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

असल वरदान पनि सही ढङ्‌गमा प्रयोग गरेको खण्डमा मात्र राम्रो हुन्छ। उदाहरणका लागि मह “असल” हुन्छ तर “धेरै मह खानु मानिसलाई असल हुँदैन।” (हितोपदेश २४:१३; २५:२७) “अलि अलि दाखमद्य” पिउनु राम्रै हुन सक्छ तर रक्सीको दुरुपयोग एउटा गम्भीर समस्या हो। (१ तिमोथी ५:२३) बाइबल यस्तो चेतावनी दिन्छ: “मद्य घृणित वस्तु हो, औ कड़ा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।” (हितोपदेश २०:१) तर मानिसलाई रक्सीको ‘लत बस्नु’ भनेको के हो? a कति रक्सी पिउनुलाई अचाक्ली भन्‍ने? यस सन्दर्भमा सन्तुलित दृष्टिकोण के हो?

रक्सीको “लत बस्ने”—कसरी?

३, ४. (क) मात्तिउन्जेल रक्सी पिउनुलाई बाइबलले निन्दा गर्छ भनेर कुन कुराले देखाउँछ? (ख) मात्तिंदा देखिने केही लक्षणहरू के-के हुन्‌?

पुरातन इस्राएलमा अपश्‍चात्तापी घिचुवा र मतवालालाई ढुङ्‌गाले हिर्काएर मार्नुपर्थ्यो। (व्यवस्था २१:१८-२१) प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “त्यसको सङ्‌गत नगर्नू . . . जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।” स्पष्ट छ, रक्सीले मात्तिउन्जेल पिउनुलाई धर्मशास्त्रले निन्दा गर्छ।—१ कोरिन्थी ५:११; ६:९, १०.

रक्सीले मात्तिंदा देखिने लक्षणहरू वर्णन गर्दै बाइबल यसो भन्छ: “कचौरामा खन्याउँदा फिंज उठ्‌ने कड़ा रातो दाखमद्य स्वाट्टै नपार्‌। किनभने अन्तमा त्यसले साँपलेझैं डस्छ, र कोब्रा साँपलेझैं ठुँग्छ। तब तेरो आँखाले अचम्म अचम्मका कुराहरू देख्छ, तेरो विचार शक्‍ति तेरो बोली लरबरिन्छ।” (हितोपदेश २३:३१-३३) अचाक्ली रक्सी पिउँदा त्यसले विषालु सर्पले जस्तै डस्छ, त्यसले गर्दा बिरामी, मानसिक असन्तुलन अनि अचेत अवस्थासमेत गराउँछ। जँड्याहाले “अचम्मका कुराहरू” देख्न सक्छ किनभने उसलाई दृष्टिभ्रम हुन सक्छ वा ऊ कल्पनामा डुब्न सक्छ। सामान्यतया खुलेआम व्यक्‍त नगरिने भ्रष्ट सोचाइ तथा इच्छाहरू व्यक्‍त गर्न पनि उसलाई त्यति अप्ठ्यारो नलाग्न सक्छ।

५. रक्सी धेरै पिउनु कुन अर्थमा हानिकारक हो?

यदि कसैले धेरै रक्सी पिउँछ तर मात्तिएको जस्तो नदेखाउन चनाखो रहन्छ भने के त्यो अहानिकारक हो? धेरै रक्सी पिइसकेपछि पनि कसै-कसैले मात्तिएको कुनै लक्षण देखाउँदैनन्‌। तथापि, त्यस्तो बानी अहानिकारक हो भन्‍ने सोचाइ राख्नु एक अर्थमा आफैलाई झुक्याउनु हो। (यर्मिया १७:९) बिस्तारै अनि क्रमिक रूपमा रक्सीमा निर्भरता बढ्‌दै जान्छ र “रक्सी धेरै पिउने” बानी बस्न सक्छ। (तीतस २:३) मानिसहरू मतवाला कसरी हुन्छन्‌ भन्‍नेबारे लेखिका क्यारोलिन नाप यसो भन्छिन्‌: “यो बिस्तारै, क्रमिक रूपमा, चालै नपाउने गरी हुने प्रक्रिया हो।” रक्सी धेरै पिउनु साँच्चै घातक पासो हुन सक्छ!

६. रक्सी धेरै पिउनु र अचाक्ली खाने बानीबाट किन जोगिनुपर्छ?

येशूको यो चेतावनीलाई पनि विचार गर्नुहोस्‌: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा [“मतवालीपन,” NRV] र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ।” (लूका २१:३४, ३५) रक्सी पिएर मात्तिएको अवस्थासम्म पुग्नुअघि नै शारीरिक तथा आध्यात्मिक तवरमा झुम्म र अल्छी हुन सक्छ। ऊ त्यस्तो अवस्थामा भएको बेला यहोवाको दिन आयो भने के गर्ने?

रक्सीको दुरुपयोगले गर्दा के हुन सक्छ

७. रक्सीको दुरुपयोग किन २ कोरिन्थी ७:१ मा दिइएको निर्देशनसित मेल खाँदैन?

रक्सीको अनियन्त्रित प्रयोगले गर्दा थुप्रै खतराहरू हुन सक्छन्‌—शारीरिक तथा आध्यात्मिक दुवै। रक्सीको दुरुपयोगले गर्दा हुने रोगहरूमा कलेजोको रोग, मतवालाहरूलाई हुने हेपाटाइटिस अनि डेलिरियम ट्रेमेन्सजस्ता स्नायुविकार पर्छन्‌। लामो समयसम्म रक्सीको दुरुपयोग गर्दा क्यान्सर, मधुमेह र मुटु तथा पेटका रोगहरू लाग्न सक्छ। रक्सीको दुरुपयोग पक्कै पनि यो धर्मशास्त्रीय निर्देशनसित मेल खाँदैन: “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।”—२ कोरिन्थी ७:१.

८. हितोपदेश २३:२०, २१ अनुसार रक्सीको दुरुपयोग गर्दा के हुन सक्छ?

रक्सीको दुरुपयोग गर्दा पैसा खेर जानुका साथै जागिर गुमाउनुपर्ने समेत हुन सक्छ। पुरातन इस्राएलका राजा सुलेमानले यस्तो चेतावनी दिए: “मतवाला अथवा घिचुवाहरूको सङ्‌गत नगर्‌।” किन? तिनले यसो भने: “किनभने मद्य र खानुको लोभले दरिद्र तुल्याउँछ, औ मतवालापनले थाङ्‌ने बनाइदिन्छ।”—हितोपदेश २३:२०, २१.

९. गाडी हाँक्नुपर्ने छ भने मादक पेयपदार्थ नपिउनु किन बेस हो?

अर्को एउटा खतराबारे औंल्याउँदै दी इन्साइक्लोपीडिया अफ अल्कोहोलिजम्‌ (अङ्‌ग्रेजी) यसो भन्छ: “अध्ययनहरूले देखाएअनुसार रक्सीले गाडी हाँक्ने क्षमता ह्रास गराउँछ। जस्तै—तुरुन्त प्रतिक्रिया देखाइहाल्नुपर्ने समय, समन्वय, ध्यान, चनाखो भएर हेर्नुपर्ने अवस्था र सही विवेकलाई असर गर्छ।” रक्सी पिएको अवस्थामा गाडी हाँक्दा परिणाम विपत्तिजनक हुन सक्छ। नेपालमा मात्रै हरेक वर्ष रक्सीसित सम्बन्धित सवारी दुर्घटनाहरूमा थुप्रैको मृत्यु हुन्छ र सयौं घाइते हुन्छन्‌। यो खतराको सिकार हुनेहरूमा विशेष गरी युवाहरू पर्छन्‌ जो गाडी हाँक्ने र रक्सी पिउने दुवै क्षेत्रमा कम अनुभवी हुन्छन्‌। के कसैले केही पेग रक्सी पिइसकेपछि गाडी हाँक्ने अनि त्यस्तो अवस्थामा आफूले यहोवा परमेश्‍वरले दिनुभएको जीवनलाई एउटा वरदानको रूपमा आदर गरेको दाबी गर्न सक्छन्‌? (भजन ३६:९) जीवनको पवित्रतालाई विचार गर्दा गाडी हाँक्नुपर्ने छ भने कुनै पनि किसिमको मादक पेयपदार्थ पिउँदै नपिउनु नै बेस हो।

१०. रक्सीले कसरी हाम्रो दिमागलाई असर गर्न सक्छ र यो किन खतरनाक हो?

१० अनियन्त्रित मात्रामा रक्सी पिउँदा यसले मानिसहरूलाई शारीरिक तवरमा मात्र होइन तर आध्यात्मिक तवरमा पनि चोट पुऱ्‍याउँछ। बाइबल यसो भन्छ: “दाखमद्य र नयाँ दाखमद्यले बुद्धि नाश पार्छ।” (होशे ४:११) रक्सीले दिमागलाई असर गर्छ। लागूपदार्थको दुरुपयोगसम्बन्धी सं.रा.अ.-को राष्ट्रिय संस्था यसो भन्छ: “रक्सी पिइसकेपछि रक्सीलाई पाचन प्रणालीमार्फत रक्‍तनलीले सोस्छ अनि यो तुरुन्तै मस्तिष्कसम्म पुग्छ। यसले मस्तिष्कको त्यो भागलाई सुस्त बनाउन थाल्छ जसले सोचाइ र भावनालाई नियन्त्रणमा राख्छ। फलतः त्यस मानिसमा आत्मसंयमको कमी हुन्छ अनि अति स्वतन्त्र भएजस्तो महसुस गर्न थाल्छ।” यस्तो अवस्थामा हामी रक्सीको ‘लतमा’ परेर अनुचित व्यवहार गर्न थाल्ने अनि थुप्रै प्रलोभनहरूको सिकार हुन सक्ने सम्भावना बढी हुन सक्छ।—हितोपदेश २०:१.

११, १२. रक्सीको असन्तुलित प्रयोगले गर्दा कस्तो आध्यात्मिक हानि हुन सक्छ?

११ यसबाहेक, बाइबल यस्तो चेतावनी दिन्छ: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१) धेरै मात्रामा रक्सी पिउँदा के कहिल्यै परमेश्‍वरको महिमा हुन्छ र? कुनै पनि मसीही पक्कै पनि बढी रक्सी पिउने मानिस भनेर चिनिन चाहँदैन। त्यस्तो नाउँले यहोवाको नाउँको महिमा होइन बदनाम गर्नेछ।

१२ यदि कुनै मसीहीको असन्तुलित पिउने बानीले गर्दा, सायद एक जना नयाँ चेलाले ठक्कर खान पुग्यो भने के हुन सक्छ? (रोमी १४:२१) येशूले यस्तो चेतावनी दिनुभयो: “जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटालाई बाधा देला, त्यसको निम्ति ता एउटा जाँतोको ढुङ्‌गा त्यसको घिच्रोमा झुण्डाएर अगाध समुद्रमा डुबाइदिनु बढ़िया हुनेथियो।” (मत्ती १८:६) बढी पिउने बानीले गर्दा मण्डलीका सुअवसरहरू पनि गुमाउनुपर्ने हुन सक्छ। (१ तिमोथी ३:१-३, ८) रक्सीको दुरुपयोगले गर्दा परिवारमा हुन सक्ने हानिकारक असरहरू त छँदैछन्‌।

खतराबाट बच्नुहोस्‌—कसरी?

१३. रक्सीको दुरुपयोग नगर्न कुन कुरा अत्यन्तै महत्त्वपूर्ण छ?

१३ रक्सीको दुरुपयोगको खतराबाट बच्ने एउटा प्रमुख तरिका अचाक्ली पिउनु र मतवालापनबीच भिन्‍नता छुट्ट्याउन सक्नु होइन तर ठिक्क मात्रामा पिउनु र अचाक्ली पिउनुबीच भिन्‍नता छुट्ट्याउन सक्नु हो। तपाईंको लागि कति पिउनु अचाक्ली हो र कति चाहिं ठिक्क हो भनेर कसले निर्धारण गर्ने? यसमा धेरै पक्षहरू मुछिएको हुँदा कति मात्रालाई धेरै भन्‍ने भनेर कुनै कडा नियम बनाउन सकिंदैन। प्रत्येकले आफ्नो सीमा बुझ्नुपर्छ र त्यो सीमालाई नाघ्नु हुँदैन। तपाईंको लागि कति मात्रा अचाक्ली हो भनेर निर्धारण गर्न कुन कुराले मदत गर्नेछ? एउटा मार्ग-निर्देशकको रूपमा काम गर्ने के कुनै सिद्धान्त छ?

१४. ठिक्कको मात्रा र अचाक्ली पिउनुबीच सीमा निर्धारण गर्नको लागि डोऱ्‍याउने सिद्धान्त कुन हो?

१४ बाइबल यसो भन्छ: “आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्‌, तेरो दृष्टिबाट ती फुत्केर नजाउन्‌। ती तेरो आत्माको प्राण र तेरो छातीमा हारझैं हुनेछन्‌।” (हितोपदेश ३:२१, २२) त्यसैले डोऱ्‍याउने सिद्धान्त यो हो: तपाईंको निर्णय गर्ने र सोच्ने क्षमतालाई अनावश्‍यक रूपमा बाधा पुऱ्‍याउने रक्सीको मात्रा तपाईंको लागि अचाक्ली हो। तर आफ्नो सीमा कति हो भनेर चिन्‍न चाहिं तपाईं इमानदार हुनै पर्छ!

१५. कुन अवस्थामा रक्सीको एक मात्रा पनि धेरै हुन सक्छ?

१५ कुनै-कुनै अवस्थामा रक्सीको एक मात्रा पनि धेरै हुन सक्छ। गर्भमा भएको भ्रूणमा पर्न सक्ने खतराबारे विचार गर्दा गर्भवती महिलाले रक्सी पटक्कै नपिउने निर्णय गर्न सक्छिन्‌। मतवालापनको समस्या भएको वा रक्सी पिउनुलाई अन्तस्करणले गलत ठहऱ्‍याउने व्यक्‍तिको सामु रक्सी नै नपिउनु के दयालु कार्य हुनेछैन र? वासस्थानमा पूजाहारीको जिम्मेवारी सँभालिरहेकाहरूलाई यहोवाले यस्तो आज्ञा दिनुभयो: “तिमीहरू भेट हुने पालमा जाँदा . . . दाखमद्य अथवा कड़ा मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” (लेवी १०:८, ९) तसर्थ, मसीही सभाहरूमा जानुअघि, सेवकाईमा भाग लिंदा र अन्य आध्यात्मिक गतिविधिहरू सँभाल्दा रक्सी पिउने नगर्नुहोस्‌। यसबाहेक, रक्सी पिउन निषेध गरिएको वा तोकिएको उमेर पुगेकाहरूलाई मात्र पिउन अनुमति दिइएका मुलुकहरूमा त्यहाँको नियमलाई उचित आदर देखाउनुपर्छ।—रोमी १३:१.

१६. तपाईंको सामु मादक पेयपदार्थ राखिंदा के गर्ने भनी तपाईंले कसरी निर्णय गर्नुपर्छ?

१६ तपाईंलाई कुनै किसिमको मादक पेयपदार्थ टक्य्राइँदा वा तपाईंको सामु रक्सी राखिंदा तपाईंले सोध्नुपर्ने पहिलो प्रश्‍न हो: ‘के यो मैले नपिई हुँदैन?’ तपाईंले पिउने निर्णय गर्नुभयो भने पनि आफूले कति पिउने हो भनेर मनमा स्पष्ट सीमा तोक्नुहोस्‌ अनि त्यो सीमा ननाघ्नुहोस्‌। निम्त्याउने व्यक्‍तिको उदारतामा नबहकिनुहोस्‌। विवाह भोजजस्ता कुनै रोकटोकविना रक्सी पिउन सकिने ओपन बार हुने ठाउँहरूमा होसियार हुनुहोस्‌। थुप्रै ठाउँहरूमा केटाकेटीहरूलाई रक्सीको प्रयोग गर्न कानुनले अनुमति दिएको हुन्छ। केटाकेटीलाई रक्सीको प्रयोगबारे निर्देशन दिने अनि यस सन्दर्भमा तिनीहरूको गतिविधिमा निगरानी राख्ने जिम्मेवारी आमाबाबुको हो।—हितोपदेश २२:६.

तपाईं समस्याको सामना गर्न सक्नुहुन्छ

१७. तपाईंमा रक्सीको दुरुपयोग गर्ने समस्या छ कि छैन भनेर पत्ता लगाउन कुन कुराले मदत गर्न सक्छ?

१७ के दाखमद्य र कडा मद्यको दुरुपयोग तपाईंको लागि एउटा समस्या हो? यदि रक्सीको दुरुपयोगको समस्या एउटा गोप्य पाप बनिरहेको छ भने ढिलो होस्‌ वा चाँडो, यसले तपाईंलाई असर गर्नेछ भन्‍ने कुरामा कुनै शङ्‌कै छैन। त्यसकारण इमानदार भई आफूलाई विस्तृत तवरमा राम्ररी जाँच्नुहोस्‌। आत्म-परीक्षण गर्ने यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मैले पहिलेको भन्दा धेरै चोटि पिउन थालेको छु? के मैले पहिलाभन्दा कडा रक्सी पिउन थालेको छु? के म चिन्ता, तनाव वा समस्याहरूबाट उम्कन रक्सी पिउने गर्छु? के मेरो परिवारको सदस्य वा साथीले रक्सी पिउने मेरो बानीबारे चिन्ता व्यक्‍त गर्न थालेका छन्‌? के मेरो पिउने बानीले गर्दा परिवारमा समस्या हुन थालेको छ? के मलाई एक हप्ता, एक महिना वा केही महिना रक्सी नपिई बस्न गाह्रो लाग्छ? कति रक्सी वा मद्य पिउँछु भनेर के म अरूबाट लुकाउन खोज्छु?’ यीमध्ये कुनै-कुनै प्रश्‍नको जवाफ—हो, मैले गरेको छु भन्‍ने आउँछ भने नि? ‘ऐनामा आफ्नो स्वाभाविक मुख हेरेर आफू कस्तो किसिमको मानिस थिएँ भनेर तुरुन्तै बिर्सने’ मानिसजस्तो नहुनुहोस्‌। (याकूब १:२२-२४) समस्या सुधार्न कदम चाल्नुहोस्‌। तपाईं के गर्न सक्नुहुन्छ?

१८, १९. धेरै रक्सी पिउने बानी तपाईं कसरी हटाउन सक्नुहुन्छ?

१८ प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “दाख-मद्यले नमात्तिओ, जसमा कामोद्दीपन हुन्छ, तर आत्माले भरिपूर्ण भएका होओ।” (एफिसी ५:१८) तपाईंको लागि रक्सीको कति मात्रा धेरै हुन्छ भनेर आफैले निर्धारण गर्नुहोस्‌ अनि उचित सीमा तोक्नुहोस्‌। त्यो सीमा ननाघ्ने सङ्‌कल्प गर्नुहोस्‌; आत्मसंयम देखाउनुहोस्‌। (गलाती ५:२२, २३) के तपाईंलाई बढी पिउन जोड दिने साथीसँगीहरू छन्‌? होसियार हुनुहोस्‌। बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

१९ कुनै समस्याबाट उम्कन तपाईंले रक्सीको सहारा लिंदै हुनुहुन्छ भने समस्याको सीधै सामना गर्नुहोस्‌। परमेश्‍वरको वचनमा पाइने सल्लाह लागू गरेर समस्याहरूको सामना गर्न सकिन्छ। (भजन ११९:१०५) भरोसायोग्य मसीही प्राचीनको मदत खोज्न नहिचकिचाउनुहोस्‌। तपाईंको आध्यात्मिकता बढाउन यहोवाका प्रबन्धहरूको सदुपयोग गर्नुहोस्‌। परमेश्‍वरसित तपाईंको सम्बन्ध बलियो बनाउनुहोस्‌। विशेष गरी तपाईंका कमीकमजोरीहरूबारे उहाँसित नियमित तवरमा प्रार्थना गर्नुहोस्‌। तपाईंको ‘मन अनि हृदय जाँच्न’ अथवा शुद्ध पार्न परमेश्‍वरलाई बिन्ती गर्नुहोस्‌। (भजन २६:२) अघिल्लो लेखमा छलफल गरिएझैं निष्ठाको मार्गमा हिंडिरहन यथाशक्य गर्नुहोस्‌।

२०. अचाक्ली रक्सी पिउने समस्या सामना गर्नु परिरहेको छ भने तपाईंले कस्तो कदम चाल्नुपर्ने हुन सक्छ?

२० तपाईंले प्रयास गर्दागर्दै पनि अचाक्ली रक्सी पिउने समस्या रहिरह्‍यो भने नि? त्यसो हो भने तपाईंले येशूको यो सल्लाह पालन गर्नुपर्छ: “तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने, त्यसलाई काटिदेऊ, दुइ हात भएरै नरकको ननिभ्ने आगोमा जानुभन्दा ता कूँजो भएर जीवनमा पस्नु तिम्रो निम्ति बढ़िया हो।” (मर्कूस ९:४३) जवाफ हो: रक्सी पिउन चटक्कै छोड्‌नुहोस्‌। एउटी महिलाले त्यसै गर्ने सङ्‌कल्प गरिन्‌ जसलाई यो लेखमा हामी आइरिन भन्‍नेछौं। उनी यसो भन्छिन्‌: “रक्सी पिउन छोडेको साढे दुई वर्षपछि एक मात्रा रक्सी पिउनु त ठीकै होला, यसले मलाई केही बिगार गर्दैन भन्‍ने सोचाइ मनमा आउन थाल्यो। तर त्यस्तो सोचाइ आउनेबित्तिकै म यसबारे यहोवालाई तुरुन्तै प्रार्थना गरिहाल्छु। म नयाँ रीतिरिवाज नआउन्जेल र हुनसक्छ त्यसबेला पनि रक्सी नपिउन कटिबद्ध छु।” परमेश्‍वरको धार्मिक नयाँ संसारमा पाइने जीवनको तुलनामा रक्सी चटक्कै छोड्‌दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन।—२ पत्रुस ३:१३.

“त्यसरीनै दगुर, र पुरस्कार पाओ”

२१, २२. जीवनको दौडमा अन्तिम रेखासम्म पुग्न हामीलाई कुन कुराले रोक्न सक्छ र यसबाट हामी कसरी बच्न सक्छौं?

२१ मसीहीको जीवनको मार्गलाई एउटा दौड वा प्रतिस्पर्धासित तुलना गर्दै प्रेरित पावलले यसो भने: “के तिमीहरूलाई थाह छैन दौड़मा दगुर्नेहरू सबै दगुर्छन्‌, पुरस्कार एउटैले मात्र पाउँछ? त्यसरीनै दगुर, र पुरस्कार पाओ। औ खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ। अब तिनीहरूचाहिं नाश हुने मुकुट पाउनालाई तर हामीचाहिं नाश नहुने मुकुट पाउनालाई यसो गर्दछौ। यसकारण म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड़दछु, केवल हावामा हान्‍ने जस्तो होइन, तर म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।”—१ कोरिन्थी ९:२४-२७.

२२ दौड सफलतापूर्वक पूरा गर्नेहरूले मात्र पुरस्कार पाउँछन्‌। जीवनको दौडमा रक्सीको दुरुपयोगले हामीलाई अन्तिम रेखामा पुग्नदेखि रोक्न सक्छ। हामीले आत्मसंयम खेती गर्नै पर्छ। निश्‍चित भई दौड दौडनको लागि अचाक्ली “मद्यपान” गर्नु उचित हुनेछैन। (१ पत्रुस ४:३) यसको विपरीत, हामीले सबै कुरामा आत्मसंयम खेती गर्नुपर्छ। रक्सी तथा अन्य मदिराजन्य पेयपदार्थ पिउने सन्दर्भमा “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले . . . आत्मसंयम, धार्मिक र भक्‍तिको जीवनमा रहनु” बुद्धिमानी हुनेछ।—तीतस २:१२.

[फुटनोट]

a यस लेखमा बियर, दाखमद्य र अन्य मदिराजन्य पेयपदार्थहरूलाई बुझाउन पनि “रक्सी” शब्द प्रयोग गरिएको छ।

के तपाईंलाई याद छ?

• रक्सीको दुरुपयोग भनेको के हो?

• रक्सीको दुरुपयोग गर्दा कस्ता हानिकारक परिणामहरू हुन सक्छन्‌?

• रक्सीको दुरुपयोगका खतराहरूबाट तपाईं कसरी बच्न सक्नुहुन्छ?

• रक्सीको दुरुपयोगको समस्यालाई कसरी सामना गर्न सकिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा दिइएको चित्र]

दाखमद्यले ‘मानिसको मन खुस गराउँछ’

[पृष्ठ २०-मा दिइएको चित्र]

हामीले आफ्नो सीमा थाह पाउनुपर्छ र त्यही सीमाभित्र रहनुपर्छ

[पृष्ठ २१-मा दिइएको चित्र]

कति पिउने भनेर पहिल्यै निर्धारण गर्नुहोस्‌

[पृष्ठ २२-मा दिइएको चित्र]

तपाईंका कमी-कमजोरीहरूबारे नियमित तवरमा यहोवालाई प्रार्थना गर्नुहोस्‌

[पृष्ठ २३-मा दिइएको चित्र]

छोराछोरीलाई रक्सीको प्रयोगसम्बन्धी निर्देशन दिने जिम्मेवारी आमाबाबुको हो