सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सही र गलत तपाईंले कसरी निर्णय गर्नुपर्छ?

सही र गलत तपाईंले कसरी निर्णय गर्नुपर्छ?

सही र गलत तपाईंले कसरी निर्णय गर्नुपर्छ?

कोसित सही र गलतका स्तरहरू निर्धारण गर्ने अख्तियार छ? यो प्रश्‍न मानव इतिहासको सुरुमै सोधिएको थियो। बाइबलको उत्पत्तिको पुस्तकअनुसार परमेश्‍वरले अदनको बगैंचामा हुर्किरहेको एउटा रूखलाई “असल र खराबको ज्ञान दिने रूख” भनेर छुट्याउनुभयो। (उत्पत्ति २:९) यस रूखको फल नखानू भनेर उहाँले प्रथम मानव जोडीलाई निर्देशन दिनुभयो। तथापि, परमेश्‍वरको शत्रु शैतान अर्थात्‌ दियाबलले तिनीहरूलाई त्यस रूखको फल खाएमा तिनीहरूको आँखा अवश्‍य “खुल्नेछन्‌” र तिनीहरू पनि “असल र खराबको ज्ञान पाएर . . . परमश्‍वरजस्तै” हुनेछन्‌ भन्यो।—उत्पत्ति २:१६, १७; ३:१, ५; प्रकाश १२:९.

आदम र हव्वाले एउटा निर्णय गर्नुपर्ने भयो—परमेश्‍वरले निर्धारण गर्नुभएको असल र खराबका स्तरहरू स्वीकार्ने वा आफ्नै स्तरअनुसार चल्ने? (उत्पत्ति ३:६) तिनीहरूले परमेश्‍वरको आज्ञा पालन नगर्ने र त्यस रूखको फल खाने निर्णय गरे। यो एउटा सामान्य कार्यले कस्तो अर्थ राख्यो? परमेश्‍वरले तिनीहरूमाथि तोक्नुभएका सीमाहरूलाई आदर गर्न अस्वीकार गरेर सही र गलतसम्बन्धी आफ्नै स्तरहरू तोकेको खण्डमा आफू र आफ्ना सन्तानको भलो हुनेछ भन्‍ने कुरा तिनीहरूले प्रमाणित गर्न खोजे। आफ्नै स्तरहरू तोकेर परमेश्‍वरजस्तै हुने सन्दर्भमा मानिसजाति कत्तिको सफल भएको छ त?

फरक-फरक विचारधारा

शताब्दीयौंको दौडान प्रख्यात दार्शनिकहरूका शिक्षाहरू पुनरावलोकन गरिसकेपछि इन्साइक्लोपीडिया ब्रिटानिका के भन्छ भने, युनानी दार्शनिक सुकरातको समयदेखि २० औं शताब्दीसम्मै “भलाइ अनि सही र गलतसम्बन्धी स्तरको सटीक परिभाषा के हुन सक्ला भन्‍ने विषयमा पटक-पटक वादविवाद” चल्दै आएको छ।

उदाहरणका लागि सा.यु.पू. पाँचौं शताब्दीमा शोफिस्ट भनिने युनानी शिक्षकहरूको एउटा नामी समूह थियो। लोकप्रिय विचारधाराले सही र गलतका स्तरहरूलाई निर्धारण गरेको हुन्छ भनी तिनीहरू सिकाउँथे। यस्तै एक जना शिक्षकले यसो भने: “हरेक सहरलाई जुन कुरा सही र उचित लाग्छ, सहरवासीलाई पनि त्यो कुरा सही र उचित लागेसम्म त्यस सहरको लागि त्यो कुरा सही र उचित नै हुन्छ।” यस स्तरअनुसार अघिल्लो लेखमा उल्लिखित जडीले आफूले पाएको पैसा आफैले राख्नुपर्छ किनभने तिनको समुदाय वा “सहर”-का अधिकांश मानिसहरूले सम्भवतः त्यसै गर्ने थिए।

अठारौं शताब्दीका प्रसिद्ध दार्शनिक इमान्युएल कान्टले भने फरक विचार व्यक्‍त गरे। इस्युज्‌ इन एथिक्स्‌ भन्‍ने पत्रिका यसो भन्छ: “इमान्युएल कान्ट र तिनीजस्तै अन्य व्यक्‍तिहरूले . . . छनौट गर्ने व्यक्‍तिविशेषको अधिकारमाथि जोड दिए।” कान्टको दर्शनअनुसार जडीले अरूको अधिकार हनन हुँदैन भने तिनले गर्ने कुरा पूर्णतया तिनीमै निर्भर हुने थियो। तिनले समुदायका अधिकांश मानिसहरूको विचारधाराद्वारा आफ्ना स्तरहरू निर्धारण हुन दिनु हुँदैन थियो।

त्यसोभए यस्तो दोधारमा पर्दा जडीले कस्तो निर्णय गरे? तिनले तेस्रो विकल्प रोजे। तिनले येशू ख्रीष्टको शिक्षा लागू गरे किनभने मसीही र गैरमसीहीहरू दुवैले उहाँका नैतिक स्तरहरूको प्रशंसा गरेका छन्‌। येशूले यस्तो शिक्षा दिनुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) जडीले ती महिलाको हातमा ८२,००० अमेरिकी डलर थमाइदिंदा तिनी त छक्कै परिन्‌। पैसा नलिनुको कारण सोद्धा जडीले आफू एक जना यहोवाको साक्षी भएको कुरा बताए र यसो भने: “यो पैसा मेरो होइन।” बाइबलको मत्ती १९:१८ मा लिपिबद्ध येशूका यी शब्दहरूलाई जडीले गम्भीरतापूर्वक लिएका थिए: “तैंले . . . चोरी नगर्नू।”

के लोकप्रिय विचारधारा एउटा भरपर्दो डोऱ्‍याइ हो?

बढी नै इमानदार भएर जडीले मूर्ख काम गऱ्‍यो भनी कसै-कसैले भन्लान्‌। तर लोकप्रिय विचारधारा भरपर्दो डोऱ्‍याइ होइन। उदाहरणका लागि यदि तपाईं पहिलेका कुनै-कुनै समाजले सोचेजस्तो बाल-बलिलाई अधिकांश मानिसहरूले स्वीकार्य ठान्‍ने समाजमा बस्नुभएको थियो भने, के त्यसो हुँदैमा त्यो प्रचलन स्वीकार्य हुने थियो र? (२ राजा १६:३) नरभक्षीपनलाई सद्‌गुणको रूपमा हेरिने समाजमा तपाईं जन्मनुभएको भए नि? के त्यसको मतलब मान्छेको मासु खानु वास्तवमा नराम्रो कुरा हुने थिएन? कुनै प्रचलन लोकप्रिय हुँदैमा त्यो सही नै हुन्छ भन्‍ने छैन। यस्तो पासो विरुद्ध सजग हुन बाइबलले धेरै अगाडि यस्तो चेतावनी दिएको थियो: “खराबी गर्न भीड़सँग नलाग्‌।”—प्रस्थान २३:२.

सही र गलत छुट्याउन डोऱ्‍याइको लागि लोकप्रिय विचारधारालाई अपनाउने सन्दर्भमा येशू ख्रीष्टले सतर्क हुनुपर्ने अर्को कारण पनि प्रस्ट पार्नुभयो। उहाँले “संसारको शासक” शैतान हो भनेर पर्दाफास गर्नुभयो। (यूहन्‍ना १४:३०; लूका ४:६) शैतानले आफ्नो ओहदा चलाएर “सारा संसारलाई” ठग्छ। (प्रकाश १२:९) त्यसकारण सही र गलतसम्बन्धी आफ्ना स्तरहरू पूर्णतया लोकप्रिय विचारधारा अनुरूप निर्धारण गर्नुभयो भने तपाईंले नैतिकताबारे शैतानको दृष्टिकोण अपनाइरहनुभएको हुन सक्छ र त्यो पक्कै विध्वंसात्मक साबित हुनेछ।

के तपाईं आफ्नो निर्णयमा भरोसा गर्न सक्नुहुन्छ?

त्यसोभए, के सही र के गलत भन्‍ने विषयमा प्रत्येक व्यक्‍तिविशेषले आफ्नो लागि आफै निर्णय गर्नुपर्ने हो त? बाइबल यसो भन्छ: “तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌।” (हितोपदेश ३:५) किन? किनभने सबै मानिससित एउटा जन्मजात खोट छ र त्यसले मानिसको निर्णय गर्ने क्षमतालाई बङ्‌ग्याइदिन सक्छ। आदम र हव्वाले परमेश्‍वरको विद्रोह गर्दा तिनीहरूले स्वार्थी तथा विश्‍वासघाती शैतानका स्तरहरू अपनाए र त्यसलाई आफ्नो आत्मिक पिताको रूपमा स्वीकारे। त्यसपछि तिनीहरूले आफ्नो परिवारलाई चिनाउने अवगुण अर्थात्‌ सही के हो, सो चिन्‍ने क्षमताचाहिं भएको तर गलतको पछि लाग्ने झुकाव भएको छली हृदय आफ्नो सन्तानलाई सारिदिए।—उत्पत्ति ६:५; रोमी ५:१२; ७:२१-२४.

नीतिनियमबारे छलफल गर्ने सन्दर्भमा इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “नैतिक रूपमा के सही हो भनेर मानिसहरूलाई थाह छ तर गर्नेबेला चाहिं आफ्नो फाइदा हुने गरी मात्र कुनै काम गर्छन्‌ भने त्यसमा अचम्म मान्‍नुपर्ने कुरै छैन। यस्ता मानिसहरूलाई सही कुरा गर्नुका कारणहरू कसरी बुझाउने भन्‍ने विषय पश्‍चिमी नीतिनियमको लागि एउटा प्रमुख समस्या बनेको छ।” यस विषयमा बाइबल सत्य कुरा यसरी बताउँछ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?” (यर्मिया १७:९) छली र भ्रष्ट भनेर चिनिएका व्यक्‍तिलाई के तपाईं भरोसा गर्नुहुन्छ र?

हुन त हो, परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्‍तिहरूसित समेत नैतिक रूपमा जे सही छ त्यसअनुसार व्यवहार गर्ने र व्यावहारिक तथा आदरणीय नैतिक नियमहरू विकास गर्ने क्षमता हुन्छ। यद्यपि, उनीहरूका नीतिनियममा भएका उत्कृष्ट सिद्धान्तहरूले वास्तवमा बाइबलका नैतिक स्तरहरूलाई नै झल्काइरहेका हुन्छन्‌। यस्ता व्यक्‍तिविशेषले परमेश्‍वरको अस्तित्वलाई मानिलिन अस्वीकार गरे तापनि उनीहरूको विचारधाराले भने उनीहरूसित परमेश्‍वरको व्यक्‍तित्व झल्काउने अन्तर्निहित क्षमता छ भन्‍ने कुरा प्रदर्शित गर्छ। यसबाट बाइबलले प्रकट गरेझैं सुरुमा मानिस “परमेश्‍वरकै स्वरूपमा” सृष्टि गरिएको थियो भन्‍ने कुरा प्रमाणित हुन्छ। (उत्पत्ति १:२७; प्रेरित १७:२६-२८) प्रेरित पावल यसो भन्छन्‌: “तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्‌।”—रोमी २:१५.

निस्सन्देह, सही कुरा थाह पाउनु एउटा कुरा हो; सही कुरा गर्ने नैतिक बल हुनु भने बेग्लै कुरा हो। मानिसले यस्तो अत्यावश्‍यक नैतिक बल कसरी पाउन सक्छन्‌? हृदय नै उत्प्रेरित भएपछि मात्र कदम चालिने भएकोले बाइबलका लेखक यहोवा परमेश्‍वरप्रति प्रेम खेती गरेपछि मात्र त्यस्तो नैतिक बल विकास गर्न मदत पाउन सकिन्छ।—भजन २५:४, ५.

असल कुरा गर्न बल प्राप्त गर्ने

परमेश्‍वरलाई प्रेम गर्न सिक्ने पहिलो कदम उहाँका आज्ञाहरू कत्तिको लचिला र उपयोगी छन्‌ सो थाह पाउनु हो। प्रेरित यूहन्‍ना यसो भन्छन्‌: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।” (१ यूहन्‍ना ५:३) उदाहरणका लागि बाइबलमा पाइने व्यावहारिक सल्लाहहरूले मादक पेयपदार्थ पिउने कि नपिउने, लागूऔषध लिने कि नलिने वा विवाहपूर्व यौनसम्बन्ध राख्ने कि नराख्ने भन्‍ने सन्दर्भमा निर्णय गर्नुपर्दा सही र गलत छुट्याउन युवाहरूलाई मदत गर्न सक्छ। बाइबलले विवाहित जोडीहरूलाई मतभेद सुल्झाउने विषयमा मदत गर्नुका साथै छोराछोरी हुर्काउने सन्दर्भमा आमाबाबुलाई निर्देशनहरू दिन सक्छ। a बाइबलका नैतिक स्तरहरू लागू गर्दा जवान तथा वृद्ध दुवैलाई फाइदा हुन्छ, चाहे उनीहरूको सामाजिक, शैक्षिक वा सांस्कृतिक पृष्ठभूमि जतिसुकै फरक नै किन नहोस्‌।

पोसिलो खाना खाँदा काम गर्ने बल प्राप्त भएझैं परमेश्‍वरको वचन पढ्‌दा तपाईंले उहाँका स्तरहरू अनुसार जिउने बल पाउनुहुनेछ। येशूले परमेश्‍वरको मुखबाट निस्कने वचनलाई जीवनदायी भोजनसित तुलना गर्नुभयो। (मत्ति ४:४) उहाँले यसो पनि भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४) परमेश्‍वरको वचनबाट आध्यात्मिक भोजन लिएकै कारण येशूले प्रलोभनहरूको प्रतिरोध गर्न र बुद्धिमानी निर्णयहरू गर्न सक्नुभयो।—लूका ४:१-१३.

सुरुमा परमेश्‍वरको वचनबाट आध्यात्मिक भोजन लिन र उहाँका स्तरहरू अपनाउन तपाईंलाई गाह्रो हुन सक्छ। तर यसो सम्झनुहोस्‌ त, तपाईं सानो बच्चा छँदा तपाईंको लागि स्वास्थ्यकर खानेकुरा खान सायद तपाईंलाई मन पर्दैन थियो होला। बलियो हुन तपाईंले त्यस्ता स्वास्थ्यवर्धक खानेकुराहरू खान सिक्नुपरेको थियो। त्यस्तै गरी, परमेश्‍वरका स्तरहरूबाट स्वाद पाउन तपाईंलाई समय लाग्न सक्छ। दत्तचित्त भई लागिरहनुभयो भने, समयमा तपाईंले ती मन पराउन थाल्नुहुनेछ र आध्यात्मिक तवरमा बलियो हुनुहुनेछ। (भजन ३४:८; २ तिमोथी ३:१५-१७) तपाईंले यहोवामा भरोसा राख्न सिक्नुहुनेछ र “भलाइ” गर्न अभिप्रेरित हुनुहुनेछ।—भजन ३७:३.

जडीले सामना गर्नुपरेजस्तो अवस्थामा त तपाईं कहिल्यै नपर्नुहोला। तरैपनि तपाईंले दिनहुँ नीतिनियमसबन्धी साना ठूला निर्णयहरू गर्नुहुन्छ। त्यसैकारण त बाइबल तपाईंलाई यस्तो आग्रह गर्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) यहोवामा भरोसा गर्न सिक्दा त्यसले तपाईंलाई अहिले मात्र लाभ पुऱ्‍याउनेछैन तर सधैंभरि बाँच्ने मौका पनि प्रदान गर्नेछ किनभने यहोवा परमेश्‍वरप्रति वफादारिताको मार्गले जीवनतर्फ डोऱ्‍याउँछ।—मत्ती ७:१३, १४.

[पादटिप्पणई]

a यी तथा अन्य महत्त्वपूर्ण विषयहरूमा बाइबलको व्यावहारिक सल्लाह यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ अनि पारिवारिक आनन्दको रहस्य भन्‍ने पुस्तकहरूमा पाइन्छ।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

लोकप्रिय विचारधारा अदृश्‍य शक्‍तिहरूद्वारा प्रभावित भएका हुन सक्छन्‌

[पृष्ठ ५-मा भएका चित्रहरू]

इतिहासभरि नै सही र गलतको विषयमा दार्शनिकहरूले वादविवाद गरेका छन्‌

सुकरात

कान्ट

कन्फुसियस

[स्रोत]

Kant: From the book The Historian’s History of the World; Socrates: From the book A General History for Colleges and High Schools;

Confucius: Sung Kyun Kwan University, Seoul, Korea

[पृष्ठ ७-मा भएका चित्रहरू]

बाइबलले हामीलाई सही र गलत छुट्याउन मात्र मदत गर्दैन तर सही कुरा गर्न पनि अभिप्रेरित गर्छ