सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दीक्षान्त समारोह—एउटा सुखद दिन

दीक्षान्त समारोह—एउटा सुखद दिन

दीक्षान्त समारोह—एउटा सुखद दिन

“एउटा सुखद दिन हामीले पाएका छौं। दिन घमाइलो छ। आकाश नीलो छ। घाँस हरियो छ। चराहरू गाइरहेका छन्‌। यो एउटा सुखद दिन हो र हामी निराश हुनेछैनौं। यहोवा निराशाको परमेश्‍वर हुनुहुन्‍न। उहाँ आशिष्‌हरू वर्षाउनुहुने परमेश्‍वर हुनुहुन्छ।”

यी टिप्पणीहरूद्वारा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य भाइ साम्यल हर्डले वाचटावर बाइबल स्कूल अफ गिलियडको ११७ औं कक्षाको दीक्षान्त समारोह शुभारम्भ गरे। दिन थियो—सेप्टेम्बर ११, २००४। उक्‍त अनुपम कार्यक्रममा बाइबल आधारित उत्थानदायी सल्लाह, स्थानीय अनुभव अनि मिसनरी क्षेत्रहरूबाट प्राप्त अनुभवहरू समावेश थिए। न्यु योर्क, प्याटर्सनस्थित वाचटावर एजुकेशन सेन्टर र ब्रुक्लिनलगायत श्रव्य र दृश्‍यको माध्यमद्वारा वालकिलका अन्य भवनहरूमा उपस्थित हुनेहरू जम्मा ६,९७४ जनाको लागि त्यो एउटा सुखद दिन थियो।

विद्यार्थीहरूका लागि प्रोत्साहनदायी शब्दहरू

संयुक्‍त राज्य अमेरिका शाखा समितिका एक सदस्य जन किकटले “मिसनरीको हैसियतमा आनन्द कायम राख्नुहोस्‌” शीर्षकमा प्रोत्साहनदायी शब्दहरू बताए। गिलियडका विद्यार्थीहरू आनन्दित व्यक्‍तिको रूपमा सुपरिचित छन्‌ जुन कुरा यो दीक्षान्त समारोहमा प्रत्यक्ष देखिन्छ भनी उनले औंल्याए। स्कूलको दौडान धर्मशास्त्रबाट प्राप्त गरेका निर्देशनहरूद्वारा विद्यार्थीहरू आनन्दित भए र अहिले तिनीहरू अरूलाई पनि यसरी नै आनन्दित हुन मदत गर्ने अवस्थामा पुगेका थिए। कसरी? मिसनरीहरूको हैसियतमा आफूलाई सेवकाईमा अर्पण गरेर। येशूले यसो भन्‍नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) नयाँ मिसनरीहरूले अरूको लागि सत्य कुराहरू उपलब्ध गराइदिने उदार “आनन्दित परमेश्‍वर” यहोवाको अनुकरण गर्दा आफ्नो आनन्द कायम राख्न सक्नेछन्‌।—१ तिमोथी १:११, NW.

कार्यक्रममा परिचालक निकायका अर्का सदस्य डेभिड स्प्लेनको विषय थियो, “अरूसित कसरी मित्रैलो व्यवहार गर्ने?” एकतामा बस्न “सबैका निम्ति . . . सबै कुरा” हुनुपर्ने भए तापनि यो असल र मनोहर कुरा हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (१ कोरिन्थी ९:२२; भजन १३३:१) स्नातक विद्यार्थीहरूले मिसनरी कामको सिलसिलामा क्षेत्रका मानिस, सँगी मिसनरी, नयाँ मण्डलीका भाइबहिनीलगायत प्रचार तथा शिक्षणकार्यलाई निर्देशित गरिरहेका शाखा कार्यालयका धेरै व्यक्‍तिहरूसित व्यवहार गर्नुपर्ने हुन्छ भनी भाइ स्प्लेनले बताए। एकअर्कासित सकेसम्म सौहार्द सम्बन्ध कसरी कायम राखिराख्ने भन्‍ने सन्दर्भमा उनले केही व्यावहारिक निर्देशनहरू दिए: स्थानीय भाषा सिक्नुहोस्‌, स्थानीय प्रचलनप्रति संवेदनशील हुनुहोस्‌, सँगी मिसनरीहरूको निजी जीवनको कदर गर्नुहोस्‌ अनि नेतृत्व लिनेहरूप्रति आज्ञाकारी हुनुहोस्‌।—हिब्रू १३:१७.

त्यसपछि, गिलियड प्रशिक्षक लरेन्स बोवेनले यस्तो प्रश्‍न सोधे, “तपाईं कुन कुरामा ध्यान दिनुहुन्छ?” उनले विद्यार्थीहरूलाई यो कुराको सम्झना दिलाए, ‘बाहिरी रूप हेरेर न्याय गर्नेहरूले’ येशूलाई मसीहको रूपमा स्वीकारेनन्‌। (यूहन्‍ना ७:२४) असिद्ध मानिसहरू भएका हुनाले हामी सबैले ‘परमेश्‍वरलाई’ नभई “मानिसको कुरामा ध्यान” दिनुबाट आफैलाई जोगाउनु आवश्‍यक छ। (मत्ती १६:२२, २३) आध्यात्मिक मानिसले समेत आफ्ना विचारहरूमा निरन्तर छाँटकाँट गरिरहनै पर्छ। अहिले छाँटकाँट गर्नु वा नगर्नुमा समुद्रमा लम्किरहेको जहाज आफ्नो लक्ष्यमा पुग्ने या डुब्ने कुरा समावेश छ। यस सन्दर्भमा बाइबलको निरन्तर अध्ययनले “परमेश्‍वर दृष्टिकोण” राख्न मदत गर्छ।

कार्यक्रमको यस भागलाई गिलियड स्कूलका अर्का प्रशिक्षक वालेस लिभरेन्सले समापन गरे। यशैया ५५:१ मा आधारित उनको विषय थियो, “तपाईं कुन कुरा किन्‍नुहुनेछ?” उनले विद्यार्थीहरूलाई हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक सन्देशबाट प्राप्त हुने स्फूर्ति, आनन्द र पौष्टिक आहारा “किन्‍न” प्रोत्साहित गरे। यशैयाको भविष्यवाणीले परमेश्‍वरको यस वचनलाई पानी, दाखमद्य र दूधसित तुलना गरेको छ। “विनापैसा र विनादाम” कसरी यो किन्‍न सकिन्छ? बाइबलको भविष्यवाणीमा ध्यान दिएर तथा गैरशास्त्रीय विचार र मार्गको ठाउँमा परमेश्‍वरको विचार र मार्ग राखेर यसो गर्न सकिन्छ भनी भाइ लिभरेन्सले बताए। (यशैया ५५:२, ३, ६, ७) यसो गरेर नयाँ मिसनरीहरू आफ्नो वैदेशिक कार्यभारमा लागिरहन सक्छन्‌। अक्सर असिद्ध मानिसहरूले आनन्द भन्‍ने कुरा भौतिक सुखसुविधा प्राप्त गर्ने प्रयासमा निर्भर हुन्छ भन्‍ने सोचाइ राख्छन्‌। वक्‍ताले यस्तो आग्रह गरे, “यस कुरामा पटक्कै विश्‍वास नगर्नुहोस्‌। यस कुरालाई मनबाट हटाउनुहोस्‌। परमेश्‍वरको भविष्यसूचक वचनको अर्थपूर्ण अध्ययनको लागि समय छुट्याउन नबिर्सनुहोस्‌। यसले तपाईंलाई स्फूर्ति दिन्छ, बलियो बनाउँछ अनि तपाईंले मिसनरी कार्यभारमा आनन्द पाउनुहुनेछ।”

विद्यार्थीहरूको आनन्ददायी अनुभव तथा अन्तरवार्ताहरू

विद्यार्थीहरूले प्रचारकार्यमा नियमित भाग लिएका थिए। गिलियडका अर्का प्रशिक्षक मार्क न्यूमरले सञ्चालन गरेको भागमा “सुसमाचारसँग . . . शर्माउदिनँ” शीर्षकलाई प्रकाश पार्दै धेरै विद्यार्थीहरूले आफ्ना अनुभवहरूलाई पुनःअभिनय गरेर देखाए। (रोमी १:१६) यी अनुभवी सेवकहरूले कसरी घर-घर, सडक अनि व्यापारिक केन्द्रहरूमा साक्षी दिए भनी सुनेर श्रोताहरूले आनन्द उठाए। अन्य भाषा जान्‍ने विद्यार्थीहरूले आफ्नो मण्डलीको इलाकामा रहेका उक्‍त भाषा बोल्ने मानिसहरूकहाँ पुग्न अग्रसरता देखाए। अरूले चाहिं पुनःभेट र बाइबल अध्ययन सुरु गर्दा यहोवाका साक्षीहरूले उपलब्ध गराएका बाइबल आधारित प्रकाशनहरूको सदुपयोग गरे। सुसमाचार प्रचार गर्न तिनीहरू ‘शर्माएनन्‌।’

सेवा विभागमा खटाइएका भाइ विलियम नोन्केसले बुर्किना फासो, लाट्‌भिया र रूसका मिसनरीहरूका अन्तरवार्ताहरू लिए। तिनीहरूले “यहोवाले विश्‍वासीहरूलाई मायालुपूर्वक इनाम दिनुहुन्छ” भन्‍ने शीर्षकमा व्यावहारिक सल्लाह दिए। एक जना भाइको अन्तरवार्ताले विद्यार्थीहरूलाई गिदोनका ३०० जना सिपाहीको सम्झना दिलायो। प्रत्येक सिपाहीहरूको आफ्नै कार्यभार थियो जसले गिदोनलाई आफ्नो अभियानमा सफल हुन योगदान दियो। (न्यायकर्त्ता ७:१९-२१) त्यसरी नै आफ्नो कार्यभारमा लागिरहने मिसनरीहरूले इनाम पाउँछन्‌।

प्याटर्सनका प्रशिक्षक साम्यल रोबर्सनले लिएको अन्तरवार्ताले प्रकाश पारेको विषय थियो, “सबै किसिमका मानिसको लागि सबै हुने।” तिनले सेनेगल, गुआम, लाइबेरिया र मडागास्करका गरी चार जना शाखा समितिका सदस्यको अन्तरवार्ता लिए। यी मुलुकहरूमा कूल १७० मिसनरीहरू सेवा गर्छन्‌। शाखा समितिले कसरी नयाँ मिसनरीहरूलाई उनीहरूको कार्यभारहरूमा भिज्न मदत गर्छ भनेर स्नातक विद्यार्थीहरूले ती टिप्पणीहरूद्वारा बुझे। भनाइको तात्पर्य त्यस्ता प्रचलनहरू सिक्नुपर्ने हुन्छ जुन पाश्‍चात्य स्तरअनुसार अस्वाभाविक देखिन सक्छ। उदाहरणको लागि कुनै-कुनै मुलुकमा मसीही मण्डलीमा समेत साथीहरूको रूपमा पुरुषहरू हात समातेर हिंड्‌नु सामान्य हो। गुआम शाखाअन्तर्गत रहेका कुनै-कुनै ठाउँहरूमा धेरै असाधारण खानाहरू खुवाइन्छ। तर अरूहरूले छाँटकाँट गरेका छन्‌ र नयाँ मिसनरीहरूले पनि यस्तै गर्न सक्छन्‌।

परिचालक निकायका सदस्य गाइ पियर्सको विषय थियो, “ ‘हाम्रो प्रभुको राज्यप्रति’ वफादार रहनुहोस्‌।” उनले स्रोताहरूलाई यसरी सम्झाए: “यहोवाले एउटा उद्देश्‍यसहित सृष्टि गर्नुभयो। आफ्नो सृष्टिको लागि उहाँको मनमा एउटा उद्देश्‍य थियो। यस संसारको लागि उहाँले राख्नुभएको उद्देश्‍यमा कुनै परिवर्तन आएको छैन। यसलाई आफ्नो पूर्तितर्फ अघि बढ्‌नबाट कसैले रोक्न सक्दैन। यसलाई कुनै कुराले फेरबदल गर्न सक्दैन।” (उत्पत्ति १:२८) भाइ पियर्सले प्रथम पुरुष आदमको पापबाट उत्पन्‍न भएका कठिनाइहरूको बावजुद परमेश्‍वरको सार्वभौमिकताको पक्षमा वफादारीपूर्वक अधीनमा रहन सबैलाई प्रोत्साहित गरे। भाइ पियर्सले यस्तो आग्रह गरे, “हामी न्यायको घडीमा बाँचिरहेका छौं। इमानदार हृदय भएकाहरू सबैलाई सत्य जान्‍ने मदत गर्न हामीसित थोरै समय मात्र छ। राज्यको सुसमाचार लिएर अरूहरूकहाँ पुग्न समयको राम्ररी सदुपयोग गर्नुहोस्‌।” वफादार भई उहाँलाई समर्थन गर्ने व्यक्‍तिहरू उहाँको आड-भरोसाप्रति आश्‍वस्त हुन सक्छन्‌।—भजन १८:२५.

अन्तमा चेयरम्यानले शुभकामनाहरू अनि संसारभरि रहेका शाखा कार्यालयहरूबाट प्राप्त शुभेच्छाहरू पढेर सुनाए। त्यसपछि उनले स्नातक विद्यार्थीहरूलाई स्नातकको प्रमाण-पत्र वितरण गरे अनि प्राप्त प्रशिक्षणको हार्दिक मूल्याङ्‌कन व्यक्‍त गर्दै कक्षाको तर्फबाट लेखिएको पत्र एक जना विद्यार्थीले पढेर सुनाए। एउटा अत्यन्तै सुखद दिनको लागि यो एउटा उपयुक्‍त समापन थियो र उपस्थित सबैको लागि यो दिन अविस्मरणीय रहने थियो।

[पृष्ठ २३-मा भएको पेटी]

कक्षाको तथ्याङ्‌क

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ११

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: २२

विद्यार्थीहरूको संख्या: ४८

औसत उमेर: ३४.८

सच्चाइमा बिताएको औसत वर्ष: १८.३

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १३.४

[पृष्ठ २४-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११७ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हुन्‌।

(१)थोमसन, इ.; नोर्भेल, जी.; पावेल, टी.; कोजा, एम.; म्याकइनटायर, टि. (२) राइली ए.; क्लेटन, सी.; एलेन जे.; ब्लान्को, ए.; मुन्योस एल.; रुस्टाड, एन., (३) ग्वेरेरो जी.; गार्सिया, के.; मेकर्ली. डि.; इशिकावा, टि.; ब्लान्को जि. (४) म्याकइनटायर, एस.; क्रुज, इ.; ग्वेरेरो, जे.; रिची, ओ.; अबायानाथा, एल.; गार्सिया, आर. (५) पावेल, जी.; फिस्का, एच.; मुन्योस, भी.; बाउमन डि.; श, एस.; ब्राउन, के.; ब्राउन, एल. (६) श. सी.; राइली, ए.; पेलोक्वीन, सी.; म्युन्क, एन.; मेकर्ली, डी.; इशिकावा, के. (७) म्युन्क, एम.; पेलोक्वीन, जे.; कोजा, टी.; अबायानाथा, एम.; एलेन, के.; रिची, इ.; नर्भेल, टी. (८) क्रुज, जे.; बाउमन एच.; क्लेटन, जेट.; फिस्का, इ.; थोमसन, एम.; रुस्टाड, जे.।