सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय बुद्धि चलाएर कसरी आफ्ना छोराछोरीको सुरक्षा गर्ने

ईश्‍वरीय बुद्धि चलाएर कसरी आफ्ना छोराछोरीको सुरक्षा गर्ने

ईश्‍वरीय बुद्धि चलाएर कसरी आफ्ना छोराछोरीको सुरक्षा गर्ने

हरेक दिन हाम्रो शरीरभित्र युद्ध चलिरहेको हुन्छ। यसले असंख्य कीटाणु, परजीवी र जीवाणुहरूको प्रतिरोध गर्नै पर्छ। खुसीको कुरा, हामीमध्ये अधिकांशसित जन्मजात रोग प्रतिरोधात्मक प्रणाली हुन्छ जसले हामीलाई यस्ता आक्रमणहरूदेखि बचाउँछ अनि असंख्य सङ्‌क्रामक रोगहरूको सिकार हुनबाट जोगाउँछ।

त्यसरी नै हाम्रो आध्यात्मिक स्वास्थ्यलाई नष्ट गर्न सक्ने दबाब तथा गैर-धर्मशास्त्रीय सोचाइ र मूल्यमान्यताहरू विरुद्ध मसीहीहरू लड्‌नै पर्छ। (२ कोरिन्थी ११:३) हाम्रो मन र हृदयमाथि गरिने यस्तो किसिमको दैनिक आक्रमणको प्रतिरोध गर्न हामीले आध्यात्मिक प्रतिरक्षाको विकास गर्नु आवश्‍यक छ।

यस्तो प्रतिरक्षा विशेष गरी हाम्रा छोराछोरीहरूलाई आवश्‍यक हुन्छ किनकि तिनीहरू संसारको आत्मालाई प्रतिरोध गर्न सक्ने आध्यात्मिक प्रतिरक्षा लिएर जन्मेका हुँदैनन्‌। (एफिसी २:२) केटाकेटीहरू हुर्कंदै जाँदा तिनीहरू स्वयम्‌ले आफ्नो प्रतिरक्षा विकास गर्न आमाबाबुहरूले तिनीहरूलाई मदत गर्नु अत्यावश्‍यक छ। यस्ता प्रतिरक्षाहरू केमा निर्भर हुन्छन्‌? बाइबल यस्तो वर्णन गर्छ: “बुद्धि दिने परमप्रभु नै हुनुहुन्छ, . . . उहाँले . . . आफ्ना भक्‍त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ।” (हितोपदेश २:६, ८) ईश्‍वरीय बुद्धिले साना केटाकेटीहरूको मार्गलाई रखवाली गर्न सक्छ अन्यथा तिनीहरू हानिकारक संगति, साथीहरूको दबाब अथवा अस्वास्थ्यकर मनोरञ्जनको सिकार हुन सक्छन्‌। आमाबाबुहरूले यहोवाको डोऱ्‍याइ पछ्याएर तिनीहरूको मनमा ईश्‍वरीय बुद्धि कसरी ठप्प बसाल्न सक्छन्‌?

उत्थानदायी संगति खोज्ने

स्वभावतः किशोर-किशोरीहरूलाई अन्य किशोर-किशोरीहरूको संगतिको चाहना हुन्छ तर अनुभवहीन व्यक्‍तिहरूसित मात्र संगति गर्दा ईश्‍वरीय बुद्धि बढ्‌दैन। हितोपदेश यस्तो चेतावनी दिन्छ, “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” (हितोपदेश २२:१५) त्यसोभए, संगतिको यस पक्षमा केही आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई ईश्‍वरीय बुद्धि व्यवहारमा उतार्न कसरी मदत गरेका छन्‌?

डन a नाउँका एक जना बाबुले यसो भने: “हाम्रा छोराहरूले आफ्ना साथीहरूसित धेरै नै समय बिताउँथे तर यसरी बिताइएको अधिकांश समय तिनीहरूले हाम्रो घरमा हाम्रै सामु बिताउँथे। हामी आफ्नो घरको ढोका सधैं खुला राख्थ्यौं अनि हाम्रो घर सधैं जवानहरूले भरिएको हुन्थ्यो र तिनीहरूलाई हामी ख्वाउँथ्यौं र स्वागत गरिएको महसुस गराउँथ्यौं। हाम्रा छोराछोरीहरूले रमाइलो गर्न सक्ने सुरक्षित वातावरण दिन हामी हल्लाखल्ला र चहलपहल सहन तयार थियौं।”

ब्रायन र मेरीका तीन जना असल छोराछोरी छन्‌ तर तिनीहरूलाई प्रशिक्षण दिनु सधैं सजिलो थिएन भनी कुरा नलुकाई तिनीहरू बताउँछन्‌। तिनीहरूले यसो भने: “हाम्रो मण्डलीमा हाम्री छोरी जेनसित संगत गर्न किशोरावस्था पार गर्नै लागेका थोरै मात्र थिए। तर सुजन नाउँकी मित्रैली र हँसिली तिनकी एक जना साथी थिइन्‌। तिनका आमाबाबुहरू हामीभन्दा धेरै स्वतन्त्र थिए। सुजनलाई राती अबेरसम्म बाहिर बस्न, छोटो स्कर्ट लगाउन, शङ्‌कास्पद संगीत सुन्‍न अनि अनुपयुक्‍त फिल्महरू हेर्न अनुमति थियो भने जेनलाई थिएन। लामो समयसम्म जेनलाई हाम्रो दृष्टिकोण बुझ्न गाह्रो भयो। तिनलाई सुजनका आमाबाबु हामीभन्दा बुज्झकी र हामीले चाहिं धेरै नै कडिकडाउ गरिरहेको जस्तो लाग्थ्यो। जब सुजन समस्यामा फसिन्‌, बल्ल तिनले हाम्रो दृढताले तिनलाई जोगाएको कुरा बुझिन्‌। हाम्री छोरीको लागि जुन कुरा हामीले असल ठानेका थियौं, त्यसमा हामीले लिएको अडानलाई कमजोर हुन नदिएकोमा हामी खुसी छौं।

जेनजस्ता थुप्रै जवानहरूले संगतिको यस पक्षमा आफ्ना आमाबाबुहरूको डोऱ्‍याइ खोज्नु कत्तिको बुद्धिमानी कुरा हो भनी बुझेका छन्‌। हितोपदेश यसो भन्छ, “जसले असल शिक्षा सुन्छ त्यसले बुद्धिमान मानिसहरूको सङ्‌गत पाउँछ।” (हितोपदेश १५:३१) ईश्‍वरीय बुद्धिले जवानहरूलाई उत्थानदायी संगति खोज्न अग्रसर गराउँछ।

साथीहरू जस्तै हुने दबाबको सामना गर्ने

संगतिसित नजिकको सम्बन्ध रहेको अर्को पक्ष साथीहरूको दबाब हो। साथीहरू जस्तै हुन निरन्तर आइरहने दबाबले हाम्रा छोराछोरीहरूको प्रतिरक्षामाथि आक्रमण गर्छ। आफूलाई दौंतरीहरूले स्वीकारून्‌ भन्‍ने चाहना जवानहरूमा हुने हुनाले साथीहरूको दबाबले गर्दा संसारले जुन कुरालाई राम्रो ठान्छ तिनीहरूलाई त्यसैमा ढाल्न सक्छ।—हितोपदेश २९:२५.

बाइबल हामीलाई सम्झाउँछ, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ।” (१ यूहन्‍ना २:१७) अतः आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई संसारको दृष्टिकोणबाट अचाक्ली प्रभावित हुन दिनु हुँदैन। आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई मसीही दृष्टिकोणबाट सोच्न कसरी मदत गर्न सक्छन्‌?

रिचर्डले यसो भने, “मेरी छोरी सधैं अरू जवानहरूले लगाएजस्तै लुगा लगाउन चाहन्थिन्‌। त्यसैले हामी धीरजपूर्वक तिनले गरेका प्रत्येक मागहरूको फाइदा र बेफाइदाहरूबारे चर्चा गर्थ्यौं। हामीलाई आपत्तिजनक नलागेको फेसनहरूबारे समेत हामी केही वर्ष पहिले सुनेको यस सल्लाहलाई पछ्याउँथ्यौं: ‘कुनै नयाँ फेसन अपनाउन हतार गर्ने अनि नयाँ फेसन आइसकेको धेरै पछि पनि पुरानै फेसनमा चलिरहने व्यक्‍ति बुद्धिमान होइन।’ ”

पाउलीन नाउँकी अर्की आमाले साथीहरूको दबाबलाई अर्कै तरिकाबाट विफल बनाइन्‌। तिनले यसरी सम्झिन्‌: “म आफ्ना छोराछोरीहरूको चासोमा चासो लिन्थें र तिनीहरूसित कुराकानी गर्न नियमित रूपमा तिनीहरूकै कोठामा जान्थें। यसरी लामो कुराकानी गर्दा त्यसले तिनीहरूको विचारलाई छाँटकाँट गर्न अनि कामकुरालाई बेग्लै दृष्टिकोणबाट हेर्न तिनीहरूलाई मदत दिन सजिलो भयो।”

साथीहरूको दबाबको अन्त्य हुनेछैन, अतः तिनीहरूलाई ‘सांसारिक कल्पना’ वा तर्कलाई खण्डन गर्न अनि तिनीहरूमा ‘ख्रीष्टको आज्ञा मान्‍ने अधीनताको’ सोच राखिदिन आमाबाबुले निरन्तर सङ्‌घर्ष गरिरहनुपर्छ। (२ कोरिन्थी १०:५) तर यस अत्यावश्‍यक कार्य पूरा गर्न आमाबाबु र छोराछोरी दुवैले ‘प्रार्थनामा अटूटसित लागेर’ बल प्राप्त गर्न सक्छन्‌।—रोमी १२:१२; भजन ६५:२.

मनोरञ्जनको शक्‍तिशाली आकर्षण

आमाबाबुलाई सामना गर्न गाह्रो लाग्ने तेस्रो पक्ष मनोरञ्जन हुन सक्छ। साना केटाकेटीहरू खेल भनेपछि हुरुक्कै हुनु स्वाभाविक नै हो। हुर्किसकेका धेरै छोराछोरीहरू पनि मनोरञ्जनको उत्कट चाहना गर्छन्‌। (२ तिमोथी २:२२) तर यस चाहनालाई सही तरिकामा पूरा नगरिएको खण्डमा यसले तिनीहरूको आध्यात्मिक प्रतिरक्षालाई कमजोर बनाइदिन सक्छ। विशेषगरी खतरा दुई पक्षबाट आउँछ।

पहिलो हो, अधिकांश मनोरञ्जनहरूले संसारको पतित नैतिक स्तरहरूलाई झल्काउँछ। (एफिसी ४:१७-१९) अनि अधिकांश यी मनोरञ्जनहरूलाई निकै रोमाञ्चकारी र लोभलाग्दो ढङ्‌गमा प्रस्तुत गरिन्छ। यो जवानहरूको लागि साँच्चै खतरनाक हुन्छ किनकि तिनीहरूले पासोहरूलाई हतपती नदेख्न सक्छन्‌।

दोस्रो कुरा, समस्याको एउटा कारण हामीले मनोरञ्जनमा बिताउने समय पनि हो। कसै-कसैको लागि जीवनमा सर्वमहत्त्वपूर्ण कुरा नै रमाइलो गर्नु हो जसले हाम्रो अचाक्ली समय र शक्‍ति खाइदिन्छ। हितोपदेश चेतावनी दिन्छ, “धेरै मह खान मानिसलाई असल हुँदैन।” (हितोपदेश २५:२७) त्यसरी नै अचाक्ली मनोरञ्जनले आध्यात्मिक भोकलाई कम गरिदिनेछ अनि मानसिक रूपमा सुस्त बनाइदिन्छ। (हितोपदेश २१:१७; २४:३०-३४) यस संसारको रीतिअनुसार चलेमा त्यसले जवानहरूलाई “साँच्चैको जीवन” अर्थात्‌ अनन्त जीवन ‘पक्री राख्न’ बाधा दिनेछ। (१ तिमोथी ६:१२, १९) आमाबाबुहरूले कसरी यस चुनौतीको सामना गरेका छन्‌?

तीन छोरीहरूकी आमा मारी कार्मेनले यसो भनिन्‌: “हामी हाम्रा छोरीहरूले स्वास्थ्यकर मनोरञ्जन र रमाइलो गरुन्‌ भन्‍ने चाहन्थ्यौं। त्यसैले नियमित रूपमा हामी स-परिवार घुम्न जान्थ्यौं अनि तिनीहरूले मण्डलीका साथीहरूसित पनि समय बिताउँथे। तर हामीले मनोरञ्जनलाई त्यसको आफ्नो ठाउँमा राख्यौं। हामी यसलाई भोजनको अन्तमा खाने मिठाईसित तुलना गर्थ्यौं—मिठाई मीठो त हुन्छ तर यो मुख्य खाना भने होइन। तिनीहरूले घर, स्कूल अनि मण्डलीमा मेहनतपूर्वक काम गर्न सिके।”

डन र रूथले पनि छोराछोरीको लागि मनोरञ्जनको प्रबन्ध गर्नुपर्ने कुरालाई हल्कासित लिएनन्‌। तिनीहरूले यसो भने, “हामीले शनिबारलाई ‘पारिवारिक दिनको’ रूपमा छुट्ट्याउने बानी बसाल्यौं। हामी बिहान क्षेत्र सेवकाईमा जान्थ्यौं, दिउँसो पौडी खेल्न जान्थ्यौं अनि साँझतिर विशेष खाना खान्थ्यौं।”

यी आमाबाबुहरूका टिप्पणीहरूले मनोरञ्जनहरू स्वास्थ्यकर हुनुपर्ने अनि यसलाई मसीही जीवनमा उचित स्थानमा राख्न सन्तुलन कायम गर्नुपर्ने महत्त्वलाई दर्साउँछ।—उपदेशक ३:४; फिलिप्पी ४:५.

यहोवामाथि भरोसा

निस्सन्देह, आध्यात्मिक प्रतिरक्षा विकास हुन धेरै वर्ष लाग्छ। स्वर्गमा बस्नुहुने आफ्नो पितामाथि भरोसा राख्दै ईश्‍वरीय बुद्धि विकास गर्न छोराछोरीलाई उत्प्रेरित गर्ने त्यस्तो कुनै चमत्कारी औषधी छैन। बरु, आमाबाबुले तिनीहरूलाई “प्रभुको [“यहोवाको,” NW] शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नुपर्छ। (एफिसी ६:४) “चेताउनीमा” हुर्काउनु भनेको छोराछोरीको मनमा परमेश्‍वरले राख्नुहुने दृष्टिकोण बसाल्न मदत गर्नु हो। आमाबाबुले कसरी यसो गर्न सक्छन्‌?

नियमित पारिवारिक बाइबल अध्ययन सफलताको कुञ्जी हो। अध्ययनले ‘छोराछोरीहरूको आँखा खोलिदिन्छ जसले गर्दा तिनीहरूले परमेश्‍वरको व्यवस्थाका उदेकका कुराहरू देख्न सक्छन्‌।’ (भजन ११९:१८) डिएगोले पारिवारिक अध्ययनलाई धेरै गम्भीरतासाथ लिए अनि यसो गर्दा आफ्ना छोराछोरीहरूलाई यहोवासित नजिक हुन मदत गऱ्‍यो। तिनले यसो भने, “म अध्ययनको लागि विस्तृत तयारी गर्थें। धर्मशास्त्रीय प्रकाशनहरूमा अनुसन्धान गरेर मैले बाइबल पात्रहरूलाई जीवन्त बनाउन सिकें। मैले छोराछोरीहरूलाई तिनीहरूको जीवन र ती विश्‍वासी व्यक्‍तिहरूको जीवनबीच के-कस्ता समानताहरू छन्‌, सो खोज्न प्रोत्साहित गरें। यसले मेरा छोराछोरीहरूलाई यहोवालाई प्रसन्‍न पार्ने कुराहरूको सन्दर्भमा राम्रो सम्झौटा प्रदान गऱ्‍यो।”

बच्चाहरूले अनौपचारिक रूपमा पनि सिक्न सक्छन्‌। मोशाले आमाबाबुहरूलाई यहोवाका सम्झौटाहरू “घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा” बताउन आग्रह गरे। (व्यवस्था ६:७) एक जना बुबाले यसो भने: “आफ्नो हृदय खोल्न र भावनाहरू पोखाउन मेरो छोरालाई समय चाहिन्छ। जब हामी हिंड्‌छौं र सँगै काम गर्छौं उसले बिस्तारै आफ्ना सबै कुराहरू पोख्न थाल्छ। यस्ता अवसरहरूमा हामीहरूबीच राम्रो कुराकानी हुने गर्छ जसले हामी दुवैलाई फाइदा गर्छ।”

आमाबाबुले गरेका प्रार्थनाहरूले पनि तिनीहरूका छोराछोरीहरूलाई गहिरो छाप पार्छ। आफ्ना आमाबाबुहरूले मदत र क्षमा माग्दै परमेश्‍वरलाई नम्रतासाथ पुकारेको सुनेर छोराछोरीहरूलाई “उहाँको अस्तित्व छ भन्‍ने . . . विश्‍वास” गर्न उत्प्रेरित गर्छ। (हिब्रू ११:६) धेरै सफल आमाबाबुहरूले पारिवारिक प्रार्थनाको महत्त्वलाई जोड दिन्छन्‌ र यसमा स्कूलका विषयवस्तुहरू र बच्चाहरूलाई पिरोलिरहेका अन्य कुराहरू समावेश गरिएका प्रार्थना पर्छन्‌। एक जना बुबाको भनाइअनुसार आफ्ना बच्चाहरू स्कूल जानुअघि तिनकी पत्नीले सधैं छोराछोरीहरूसित प्रार्थना गर्छिन्‌।—भजन ६२:८; ११२:७.

“भलाइ गर्नामा हरेस नखाऔं”

सबै आमाबाबुहरूले गल्ती गर्छन्‌ र कुनै खास परिस्थितिलाई ठीकसित सँभाल्न नसक्दा तिनीहरूलाई चुकचुकाउन सक्छन्‌। तर बाइबल हामीलाई “भलाइ गर्नमा हरेस” नखाई प्रयत्न गरिरहन आग्रह गर्छ।—गलाती ६:९.

यद्यपि, कहिलेकाहीं आफ्ना छोराछोरीहरूलाई बुझ्न नसक्दा हरेस खाएर आमाबाबुहरूलाई लत्तो छोडूँ जस्तो लाग्न सक्छ। नयाँ पिंढीहरू बेग्लै हुन्छन्‌ अनि यिनीहरूलाई ठीक बाटोमा ल्याउन सकिंदैन भन्‍ने निष्कर्षमा पुग्नु त सजिलै हुन्छ। तर साँच्चै भन्‍ने हो भने, आजका बच्चाहरूका कमजोरीहरू पुरानो पिंढीका जस्तै छन्‌, खराबीको दायरा बढेको होला तर आजका बच्चाहरूले पनि उस्तै प्रकारका प्रलोभनहरूको सामना गर्छन्‌। त्यसैले, आफ्नो छोरालाई सच्याइसकेपछि एक जना बाबुले दयालुपूर्वक नरम बोलीमा यसो भने: “म तिम्रो उमेरको हुँदा मेरो मनले जे गर्न चाहन्थ्यो, अहिले तिम्रो मनले पनि त्यही गर्न चाहिरहेको छ।” आमाबाबुलाई कम्प्युटरबारे धेरै कुरा थाह नहुन सक्छ तर असिद्ध शरीरका झुकावहरूबारे तिनीहरूलाई राम्ररी थाह छ।—मत्ती २६:४१; २ कोरिन्थी २:११.

सायद कुनै-कुनै छोराछोरीहरूले आमाबाबुले दिएको डोऱ्‍याइमा त्यति उत्साह नदेखाऊलान्‌ र आफूले पाएको अनुशासनको विरोधसमेत गर्लान्‌। यद्यपि, फेरि एकचोटि यस्तो अवस्थामा धीरज अत्यावश्‍यक हुन्छ। सुरु-सुरुमा इच्छुकता नदेखाए तापनि अथवा अटेर गरे तापनि धेरै छोराछोरीहरू पछि मान्छन्‌। (हितोपदेश २२:६; २३:२२-२५) अहिले यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने म्याथ्यु नाउँका एक जना जवानले यसो भने: “जब म किशोर थिएँ, मलाई मेरो आमाबाबुको प्रतिबन्ध उचित लाग्दैन थियो। म तर्क गर्थें, मेरा साथीहरूका आमाबाबुले चाहिं अनुमति दिनुहुने तर मेरा आमाबाबुले चाहिं किन नहुने? आफू हुरुक्कै हुने नौका विहारमा जान नदिएर मलाई सजाय दिंदा म साँच्चै रिसले भुतभुताउँथें। यद्यपि, विगतलाई फर्केर हेर्दा मेरा आमाबाबुहरूले दिनुभएको अनुशासन प्रभावकारी र आवश्‍यक दुवै थियो भन्‍ने महसुस गर्छु। उहाँहरूले मलाई चाहिएकै बेला निर्देशनहरू दिनुभएकोमा म उहाँहरूप्रति अत्यन्तै कृतज्ञ छु।”

हाम्रा छोराछोरीहरू कहिलेकाहीं अस्वास्थ्यकर आध्यात्मिक वातावरणको सम्पर्कमा आए तापनि तिनीहरू एक असल मसीहीको रूपमा हुर्कन सक्छन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। बाइबलले प्रतिज्ञा गरेजस्तै ईश्‍वरीय बुद्धिले तिनीहरूलाई आध्यात्मिक प्रतिरक्षा दिन सक्छ। “किनभने बुद्धि तेरो मनभित्र गाडिनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाह गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।”—हितोपदेश २:१०-१२.

नौ महिना बच्चालाई गर्भमा बोक्नु सजिलो छैन। अनि त्यसपछिका २० वर्षहरूमा आमाबाबुहरूले आँसु र हाँसो दुवै अनुभव गर्न सक्छन्‌। तर तिनीहरूले आफ्ना छोराछोरीहरूलाई माया गर्ने हुँदा ईश्‍वरीय बुद्धि चलाएर तिनीहरूलाई बचाउन मसीही आमाबाबुहरू यथासक्दो प्रयत्न गर्छन्‌। आफ्ना आध्यात्मिक छोराछोरीहरूबारे वृद्ध यूहन्‍नाले जस्तो महसुस गरे तिनीहरू पनि आफ्ना छोराछोरीबारे त्यस्तै महसुस गर्छन्‌: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।”—३ यूहन्‍ना ४.

[फुटनोट]

a यस लेखमा केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २४-मा भएको चित्र]

“हामी आफ्नो घरको ढोका सधैं खुला राख्थ्यौं अनि हाम्रो घर सधैं जवानहरूले भरिएको हुन्थ्यो”

[पृष्ठ २५-मा भएको चित्र]

आफ्ना छोराछोरीहरूको चासोमा चासो लिनुहोस्‌

[पृष्ठ २६-मा भएका चित्रहरू]

“अध्ययनको लागि म विस्तृत तयारी गर्थें”