धर्मले मानिसजातिलाई एकताबद्ध बनाउन सक्छ भन्ने विषयमा किन धेरैले शङ्का गर्छन्
धर्मले मानिसजातिलाई एकताबद्ध बनाउन सक्छ भन्ने विषयमा किन धेरैले शङ्का गर्छन्
“आफ्नो छिमेकीलाई . . . प्रेम गर्नू।” (मत्ती २२:३९) थुप्रै धर्महरूले यस आधारभूत आचारसंहिताको खूबै तारिफ गरेका छन्। आफ्ना सदस्यहरूलाई छिमेकीलाई प्रेम गर्न सिकाउने सन्दर्भमा यस्ता धर्महरू प्रभावकारी भइदिएका भए तिनीहरूका सदस्यहरू एक-आपसमा नजिकिनुका साथै एकताबद्ध हुने थिए। तथापि, के तपाईंले यस्तो भएको देख्नुभएको छ? के धर्महरू मानिसलाई एकताबद्ध बनाउन सक्ने शक्ति साबित भएका छन्? हालै जर्मनीमा गरिएको एउटा सर्वेक्षणमा यस्तो प्रश्न सोधिएको थियो: “के धर्महरूले मानिसहरूलाई एकताबद्ध बनाउँछ वा त्यसले उनीहरूमाझ विभाजन ल्याउने प्रबल सम्भावना हुन्छ?” सर्वेक्षणमा भाग लिएका २२ प्रतिशत मानिसहरूलाई धर्महरूले एकताबद्ध बनाउँछ जस्तो लाग्यो भने, ५२ प्रतिशतलाई चाहिं धर्मले मानिसहरूमा विभाजन ल्याउँछ जस्तो लाग्यो। सायद तपाईंको देशका मानिसहरूलाई पनि यस्तै लाग्दो हो।
धर्मले मानिसहरूलाई एकताबद्ध बनाउन सक्छ भन्ने विषयमा धेरैलाई त्यति विश्वास नलाग्नुको कारण के हो? विगतका घटनाहरूले गर्दा उनीहरूलाई त्यस्तो लागेको हुन सक्छ। मानिसहरूलाई नजिक ल्याउनुको सट्टा धर्मले अक्सर उनीहरूलाई विभाजित गर्ने काम गरेको छ। कुनै-कुनै अवस्थाहरूमा त धर्म एउटा मकुन्डो भएको छ, जुन मकुन्डोभित्र रहेर मानिसहरूले अत्यन्तै क्रूर कामहरू गरेका छन्। विगत १०० वर्षभित्रका केही उदाहरणहरूलाई विचार गर्नुहोस्।
धर्मद्वारा प्रभावित
दोस्रो विश्वयुद्धको दौडान बाल्कनमा रोमन क्याथोलिक क्रोएसियाली र अर्थोडक्स सर्बियालीले युद्धमा भाग लिएका थिए। दुवै समूहले आफूहरू येशूका अनुयायीहरू भएको दाबी गरे, उही येशूको जसले आफ्ना अनुयायीहरूलाई छिमेकीलाई प्रेम गर्न सिकाउनुभयो। यद्यपि, तिनीहरू मुछिएको युद्धमा “इतिहासकै सबैभन्दा बर्बरतापूर्ण आम नरसंहार भयो” भनी एक जना अनुसन्धाताले टिप्पणी गरे। पाँच लाखभन्दा बढी पुरुष, महिला तथा केटाकेटीहरूको मृत्यु हुँदा सारा विश्व नै स्तब्ध भएको थियो।
सन् १९४७ ताका भारतीय उपमहाद्वीपमा मुख्यतया हिन्दु, मुसलमान र सिख गरेर लगभग ४० करोड मानिसहरू बसोबास गर्थे। त्यो विश्व जनसंख्याको लगभग २० प्रतिशत थियो। भारत विभाजन भएपछि इस्लाम राष्ट्र पाकिस्तानको जन्म भयो। त्यतिखेर शृङ्खलाबद्ध धार्मिक हत्यामा दुवै देशका हजारौं शरणार्थीहरूलाई जलाइयो, पिटियो, यातना दिइयो र गोली ठोकेर मारियो।
मानौं विगतका उदाहरणहरू त्यति कहालीलाग्दा नभएझैं गरी २१ औं शताब्दीले कोल्टे फेर्ने बित्तिकै आतङ्कवादको खतरा पनि थपियो। आज आतङ्कवादले सारा विश्वलाई नै थर्कमान पारेको छ र कैयौं आतङ्कवादी समूहहरूले
धर्मसित आफ्नो साँठगाँठ भएको दाबी गर्छन्। धर्मले एकता बढाएको देखिंदैन बरु, हिंसा र बेमेलसित यसको नाउँ अक्सर जोडिने गर्छ। त्यसैकारण त जर्मन खबरपत्रिका फोकस-ले संसारका मुख्य धर्महरू—बौद्ध, मसीहीजगत्, कन्फुशियन, हिन्दु, इस्लाम, यहूदी र ताओ धर्मलाई बन्दुकको बारुदसित तुलना गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।आन्तरिक कलह
कुनै-कुनै धर्महरू एक-अर्कासित युद्धरत छन् भने, अन्य धर्महरूचाहिं आन्तरिक कलहको मारमा परेका छन्। उदाहरणका लागि, सैद्धान्तिक मामिलाहरूमा भएको चर्को विवादको कारण हालसालै मसीहीजगत्का चर्चहरू चोइटिएका छन्। पादरी तथा सर्वसाधारण दुवै यस्ता प्रश्नहरू गर्छन्: के परिवार नियोजन गर्नुहुन्छ? गर्भपतन नि? के महिलाहरूलाई पादरीको रूपमा नियुक्त गर्नु मिल्छ? चर्चले समलैङ्गिकतालाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ? के धर्मले युद्धमा समर्थन जनाउनु मिल्छ? यस्तो बेमेल देख्दा धेरैले यस्तो प्रश्न तेर्स्याउँछन्, ‘आफ्नै सदस्यहरूलाई एकताबद्ध बनाउन नसक्ने धर्मले कसरी मानिसजातिलाई एकताबद्ध बनाउन सक्छ?’
कुरा प्रस्ट छ, वास्तवमा धर्म मानिसजातिलाई एकताबद्ध बनाउने शक्ति साबित हुन सकेको छैन। तर के सबै धर्म नै विभाजित छ र? के मानिसजातिलाई एकताबद्ध बनाउन सक्ने बेग्लै किसिमको कुनै धर्म छ?
[पृष्ठ ३-मा भएको चित्र]
सन् १९४७ मा भारतमा धार्मिक समूहहरूबीच झडप हुँदा घाइते भएका प्रहरीहरू
[स्रोत]
Photo by Keystone/Getty Images