सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको प्रेमद्वारा एकताबद्ध

परमेश्‍वरको प्रेमद्वारा एकताबद्ध

परमेश्‍वरको प्रेमद्वारा एकताबद्ध

हाम्रो सामान्य युगको प्रथम शताब्दीमा मसीही मण्डली स्थापना हुँदा यसको एउटा उल्लेखनीय पक्ष भनेको मण्डलीका सदस्यहरू बेग्लाबेग्लै पृष्ठभूमिबाट आएका भए तापनि उनीहरूमाझ एकता थियो। साँचो परमेश्‍वरका ती उपासकहरू एसिया, युरोप र अफिक्राका राष्ट्रहरूबाट आएका थिए। तिनीहरूको पृष्ठभूमि फरक-फरक थियो—पूजाहारी, सिपाही, दास, शरणार्थी, कामदार, पेसेवर तथा व्यापारीहरू। केही यहूदीहरू थिए भने अरूचाहिं अन्यजातिहरू। धेरै जना पहिले जारी गर्ने, समलिङ्‌गी, मतवाला, चोर वा लुटाहाहरू थिए। यद्यपि, मसीहीहरू भएपछि तिनीहरूले आफ्नो नराम्रो बानी छाडे र विश्‍वासमा एकताबद्ध भए।

यी मानिसहरूलाई आपसमा एकतामा बाँध्न प्रथम शताब्दीको मसीहीधर्मलाई कुन कुराले मदत गऱ्‍यो? के कारणले गर्दा उनीहरू एक-अर्का र सर्वसाधारणसित शान्तिमा बस्न सके? उनीहरू किन विद्रोह र झैझगडामा मुछिएनन्‌? किन प्रारम्भिक मसीहीधर्म आजका प्रमुख धर्महरूभन्दा एकदमै भिन्‍न थियो?

कुन कुराले गर्दा मण्डलीका सदस्यहरू एक-अर्कासित घनिष्ठ भए?

प्रथम शताब्दीमा सँगी विश्‍वासीहरूलाई एकताबद्ध बनाउने प्रमुख पक्ष परमेश्‍वरप्रतिको प्रेम थियो। आफ्नो सारा हृदय, प्राण र मनले साँचो परमेश्‍वर यहोवालाई प्रेम गर्नु आफ्नो प्रमुख दायित्व हो भन्‍ने कुरा ती मसीहीहरूले बुझे। उदाहरणका लागि यहूदी प्रेरित पत्रुसलाई साधारणतया आफूले त्यति सरसंगतै नगर्ने एक अन्यजातिको घरमा जान भनियो। यो आज्ञा पालन गर्न तिनलाई उत्प्रेरित गर्ने मुख्य कुरा परमेश्‍वरप्रतिको प्रेम थियो। पत्रुस तथा अन्य प्रारम्भिक मसीहीहरूले परमेश्‍वरसितको घनिष्ठ सम्बन्धबाट आनन्द उठाए र यो सम्बन्ध उहाँको व्यक्‍तित्व, उहाँलाई मनपर्ने र मन नपर्ने कुराको सही ज्ञानमा आधारित थियो। समय बित्दै जाँदा सबै उपासकहरूले उनीहरू “एकै मन र एकै विचार[को]” हुनु त यहोवाको इच्छा रहेछ भनी बुझे।—१ कोरिन्थी १:१०; मत्ती २२:३७; प्रेरित १०:१-३५.

येशू ख्रीष्टमाथिको विश्‍वासले गर्दा पनि विश्‍वासीहरू एक-आपसमा अझ घनिष्ठ भए। उनीहरू उहाँको पाइलालाई हुबहु पछ्याउन चाहन्थे। उहाँले यस्तो आज्ञा दिनुभयो: “तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, . . . तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३४, ३५) यो केवल देखावटी आवेग नभई आत्मत्यागी प्रेम हुनुपर्थ्यो। त्यसको परिणाम के हुने थियो? येशूमाथि विश्‍वास राख्नेहरूको विषयमा उहाँले यस्तो प्रार्थना गर्नुभयो: “म . . . बिन्ती ग[र्छु] . . . तिनीहरू सबै एक होऊन्‌, जसरी हे पिता, तपाईं ममा, औ म तपाईंमा तिनीहरू पनि हामीमा होऊन्‌।”—यूहन्‍ना १७:२०, २१; १ पत्रुस २:२१.

यहोवाले आफ्ना साँचो सेवकहरूमाथि आफ्नो पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍ति खन्याउनुभयो। यस आत्माले उनीहरूमाझ एकता बढायो। यसले उनीहरूलाई सम्पूर्ण मण्डलीहरूमा स्वीकार्य बाइबलका शिक्षाहरू बुझ्ने बाटो खोलिदियो। यहोवाका उपासकहरूले त्यही सन्देश प्रचार गरे अर्थात्‌ सम्पूर्ण मानिसजातिमाथि शासन गर्ने स्वर्गीय सरकार अथवा परमेश्‍वरको मसीही राज्यद्वारा यहोवाको नाउँको पवित्रीकरणसम्बन्धी सन्देश। प्रारम्भिक मसीहीहरूले “यस संसारको” भाग नहुने आफ्नो दायित्व बुझे। तसर्थ, गृहकलह वा सैन्य मुठभेडहरू हुँदा मसीहीहरू तटस्थ रहे। उनीहरू सबैसित शान्तिमा रहे।—यूहन्‍ना १४:२६; १८:३६; मत्ती ६:९, १०; प्रेरित २:१-४; रोमी १२:१७-२१.

सबै विश्‍वासीहरूले शान्ति प्रवर्धन गर्ने आफ्नो जिम्मेवारी वहन गरे। कसरी? आफ्नो आचरण बाइबल अनुरूप छ कि छैन पक्का गरेर। यसर्थ, प्रेरित पावलले मसीहीहरूलाई यस्तो लेखे: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई . . . त्याग” र “नयाँ मानिसलाई घारण गर।”—एफिसी ४:२२-३२.

एकता कायम रह्‍यो

हुन त हो, प्रथम शताब्दीका विश्‍वासीहरू असिद्ध थिए र उनीहरूको एकतालाई खतरामा पार्ने थुप्रै अवस्थाहरू सृजना भए। उदाहरणका लागि, प्रेरित ६:१-६ मा बताइएअनुसार ग्रीक-यहूदी मसीहीहरू र हिब्रू-यहूदी मसीहीहरूबीच मतभिन्‍नता उत्पन्‍न भयो। ग्रीक-यहूदी मसीहीहरूले आफूहरू विरुद्ध भेदभाव गरिएको महसुस गरे। तथापि प्रेरितहरूलाई यसबारे जानकारी गराएपछि यस मामिलालाई छिटो र निष्पक्ष ढङ्‌गमा सुल्झाइयो। पछि फेरि सिद्धान्तसम्बन्धी एउटा प्रश्‍नले मसीही मण्डलीमा गैर-यहूदीहरूका दायित्वहरूबारे विवाद उत्पन्‍न भयो। बाइबल सिद्धान्तमा आधारित एउटा निर्णय गरियो र यस निर्णयलाई मण्डलीका सबैले सहर्ष स्वीकारे।—प्रेरित १५:१-२९.

मतभिन्‍नताहरूले गर्दा जातीय विभाजन भएन अथवा कुनै सिद्धान्तसम्बन्धी विचारधाराप्रतिको हठले प्रथम शताब्दीको मसीही मण्डलीमा बेमेल उत्पन्‍न गरेन भन्‍ने कुरा यी उदाहरणहरूबाट देख्न सकिन्छ। किन? किनभने यहोवाप्रतिको प्रेम, येशू ख्रीष्टमाथिको विश्‍वास, एक-अर्काप्रतिको आत्मत्यागी प्रेम र पवित्र आत्माको डोऱ्‍याइ स्वीकारेको कारण अनि बाइबलका शिक्षाहरूको एउटै समझ तथा आफ्नो आचरण परिवर्तन गर्ने तत्परताजस्ता एकतामा बाँध्ने कारक तत्त्व प्रारम्भिक मण्डलीलाई एकताबद्ध बनाउन र शान्तिमा राख्न प्रभावकारी साबित भए।

वर्तमान समयमा उपासनामा एकताबद्ध

के आज पनि त्यसरी नै एकता हासिल गर्न सकिन्छ? के यी कारक तत्त्वहरूले एउटै विश्‍वासमा भएका सदस्यहरूलाई अझै पनि एकताबद्ध बनाउन र संसारको सबै भागमा सबै जातिसित मिलेर शान्तिमा रहन उत्प्रेरित गर्न सक्छ? किन नसक्नु, पक्कै सक्छ! दुई सय तीसभन्दा बढी मुलुक, द्वीप तथा इलाकाहरूमा छरिएर रहेका यहोवाका साक्षीहरू विश्‍वव्यापी भ्रातृत्वमा एकताबद्ध छन्‌। अनि जुन कुराले प्रथम शताब्दीका मसीहीहरूलाई एकताबद्ध बनाएको थियो त्यही कुराले उनीहरूलाई पनि एकताबद्ध बनाएको छ।

यहोवाका साक्षीहरूले अनुभव गरेको एकतामा योगदान पुऱ्‍याउने कारक तत्त्वहरूमध्ये प्रमुखचाहिं यहोवा परमेश्‍वरप्रतिको उनीहरूको भक्‍ति हो। यसको मतलब उनीहरू जस्तोसुकै परिस्थितिमा पनि उहाँप्रति वफादार रहने प्रयास गर्छन्‌। यहोवाका साक्षीहरू येशू ख्रीष्ट अनि उहाँका शिक्षाहरूमा पनि विश्‍वास गर्छन्‌। यी मसीहीहरूले सँगी विश्‍वासीहरूप्रति आत्मत्यागी प्रेम देखाउँछन्‌ र उनीहरू सक्रिय रहेका सम्पूर्ण मुलुकहरूमा परमेश्‍वरको राज्यको एउटै सुसमाचार प्रचार गर्छन्‌। उनीहरू यस राज्यको बारेमा सबै धर्म, जात, राष्ट्र र सामाजिक वर्गका मानिसहरूसित कुरा गर्न इच्छुक छन्‌। यहोवाका साक्षीहरू सांसारिक गतिविधिहरूमा पनि तटस्थ रहन्छन्‌ जसले उनीहरूलाई मानिसजातिमाझ व्यापक विभाजन ल्याउने राजनैतिक, सांस्कृतिक, सामाजिक तथा व्यापारिक दबाबहरूको प्रतिरोध गर्न मदत गर्छ। सबै साक्षीहरूले बाइबलका स्तरहरू अनुरूप चलेर एकता प्रवर्धन गर्ने आ-आफ्नो दायित्व स्वीकार्छन्‌।

एकताले अरूलाई आकर्षित गर्छ

यस एकताले अक्सर गैर-साक्षीहरूको चासो जगाएको छ। उदाहरणका लागि, इल्जे a पहिला जर्मनीको कन्भेन्टमा एक जना क्याथोलिक नन थिइन्‌। कुन कुराले उनलाई यहोवाका साक्षीहरूप्रति आकर्षित गऱ्‍यो? एल्सीले यसो भनिन्‌: “उनीहरू मैले अहिलेसम्म भेटेकामध्ये सबैभन्दा राम्रा मानिसहरू हुन्‌। उनीहरू युद्धमा भाग लिंदैनन्‌; उनीहरू कसैको पनि हानि-नोक्सानी गर्दैनन्‌। उनीहरू परमेश्‍वरको राज्यअन्तर्गत पार्थिव प्रमोदवनमा आनन्दसाथ बस्न मानिसहरूलाई मदत गर्न चाहन्छन्‌।”

अर्का उदाहरण हुन्‌ गुन्टर। तिनी एक जर्मन सैनिक थिए र दोस्रो विश्‍वयुद्धताका तिनी फ्रान्समा खटिएका थिए। एक दिन एक जना प्रोटेस्टेन्ट पादरीले गुन्टरको टुकडीका सैनिकहरूका लागि एउटा धार्मिक समारोह आयोजना गरे। ती पादरीले आशिष्‌, सुरक्षा र विजयको लागि प्रार्थना गरे। त्यस समारोहपछि गुन्टरलाई पहरा गर्न खटाइयो। आफ्नो दूरबीनबाट हेर्दा तिनले युद्धभूमिको विपक्षी दलका शत्रु सैनिकहरू पनि पादरीले आयोजना गरेको धार्मिक समारोहमा उपस्थित भइरहेका देखे। पछि गुन्टरले यसो भने: “ती पादरीले पनि आशिष्‌, सुरक्षा र विजयको लागि प्रार्थना गरे होलान्‌। एउटै युद्धको दुई विपरीत पक्षमा मसीही समूह हुनु कसरी सम्भव छ भन्‍ने कुरा मैले सोच्न थालें।” यी कुराहरू गुन्टरको दिमागमा कहिल्यै नमेटिने छाप बनेर बस्यो। पछि युद्धमा भाग नलिने यहोवाका साक्षीहरूसित भेट हुँदा गुन्टर उनीहरूको विश्‍वव्यापी भ्रातृत्वको भाग भए।

अशोक र फिमा पूर्वीय धर्म मान्थे। घरमा उनीहरूको पूजाथान थियो। गम्भीर बिरामीले उनीहरूको परिवारलाई सताउँदा उनीहरूले आफ्नो धर्मबारे पुनर्विचार गरे। यहोवाका साक्षीहरूसित कुरा गर्दै जाँदा अशोक र फिमा बाइबलका शिक्षाहरू तथा साक्षीहरूमाझ भएको प्रेमद्वारा प्रभावित भए। अहिले त उनीहरू यहोवाको राज्यको सुसमाचारका जोसिला प्रकाशकहरू भएका छन्‌।

एल्सी, गुन्टर, अशोक र फिमा विश्‍वव्यापी भ्रातृत्वमा लाखौं यहोवाका साक्षीहरूसित एकताबद्ध भएका छन्‌। आज आफूहरूलाई उपासनामा एकताबद्ध बनाउने कारक तत्त्वहरूले नै चाँडै सम्पूर्ण आज्ञाकारी मानिसजातिलाई पनि एकताबद्ध बनाउनेछ भन्‍ने बाइबलको प्रतिज्ञामा उनीहरू विश्‍वास गर्छन्‌। त्यसपछि त धर्मको नाउँमा क्रूरता, बेमेल अनि विभाजन केही पनि हुनेछैन। सारा संसार साँचो परमेश्‍वर यहोवाको उपासनामा एकताबद्ध हुनेछ।—प्रकाश २१:४, ५.

[फुटनोट]

a यस लेखमा प्रयोग गरिएका केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ४ र ५-मा भएका चित्रहरू]

विभिन्‍न पृष्ठभूमिबाट आएको भए तापनि प्रारम्भिक मसीहीहरू एकताबद्ध थिए