सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के प्रेरित ७:५९ मा उल्लेख गरिएका स्तिफनसका शब्दहरूले प्रार्थनाहरू येशूलाई सम्बोधन गरिएको हुनुपर्छ भनेर सङ्‌केत गर्छ?

प्रेरित ७:५९ यसो भन्छ: “ ‘हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्‌’ भनी परमेश्‍वरको नाउँ लिइरहेका स्तिफनसलाई तिनीहरूले ढुङ्‌गाले हाने।” यी शब्दहरूले कसै-कसैको मनमा प्रश्‍न उठाएको छ किनभने “प्रार्थना सुन्‍नुहुने” यहोवा हुनुहुन्छ भनेर बाइबल बताउँछ। (भजन ६५:२) के स्तिफनसले साँच्चै येशूलाई प्रार्थना गरे? त्यसो हो भने के यसले येशू र यहोवा एउटै व्यक्‍ति हुनुहुन्छ भनेर सङ्‌केत गर्छ?

स्तिफनसले “परमेश्‍वरको नाउँ लिइरहेका” थिए भनी नेपाली भाषाको पवित्र बाइबल बताउँछ। त्यसैले थुप्रै व्यक्‍तिहरू बाइबलका टिप्पणीकार म्याथु हेन्रीको जस्तै निष्कर्षमा पुग्नुको कारण सजिलै बुझ्न सकिन्छ, जसले यसो भने: “यहाँ स्तिफनसले येशूलाई प्रार्थना गरेका हुन्‌ र हामीले पनि त्यसै गर्नुपर्छ।” तथापि, यो दृष्टिकोण गलत छ। किन?

बार्न्ज नोट्‌स अन द न्यु टेस्टामेन्ट-ले इमानदारीपूर्वक यसरी स्वीकार्छ: “सुरुका संस्करणहरूमा परमेश्‍वर भन्‍ने शब्द छैन र अनुवादहरूमा पनि यो हुनु हुँदैनथ्यो। कुनै पनि पुरातन [पाण्डुलिपि] वा संस्करणमा यो छैन।” यस पदमा “परमेश्‍वर” भन्‍ने शब्द कसरी थपिन गयो त? विद्वान्‌ अबिएल अब्बोट लिभरमोरले यसलाई “अनुवादकहरूको साम्प्रदायिक पूर्वाग्रहको एउटा उदाहरण” भनी बताए। त्यसकारण अधिकांश आधुनिक अनुवादहरूले परमेश्‍वरलाई गरिएको यो गलत सम्बोधन हटाएका छन्‌।

यद्यपि, धेरै संस्करणहरूले स्तिफनसले येशूलाई “प्रार्थना गरे” भनी बताउँछन्‌। “नाउँ लिइरहेका” भन्‍ने पदावलीको अर्थ “बिन्ती; प्रार्थना” पनि हुन्छ भनी न्यु वर्ल्ड ट्रान्सलेसन-को पादटिप्पणीले देखाउँछ। के यसले येशू नै सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनेर सङ्‌केत गर्दैन र? अहँ, गर्दैन। भाइन्स्‌ एक्सपोजिटोरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस्‌-ले बताएअनुसार यो अवस्थामा इपिकालियो भन्‍ने मौलिक युनानी शब्दको अर्थ “नाउँ लिनु, पुकार्नु; . . . अख्तियारवालासामु अपिल गर्नु” भन्‍ने हुन्छ। पावलले “म सिजरकहाँ अपील गर्दछु” भन्दा पनि यही शब्द चलाएका थिए। (प्रेरित २५:११) त्यसैले द न्यु इङ्‌ग्लीस बाइबल-ले स्तिफनसले येशूलाई “पुकारे” भन्‍नु उपयुक्‍त छ।

कुन कुराले स्तिफनसलाई यस्तो अपिल गर्न उत्प्रेरित गऱ्‍यो? प्रेरित ७:५५, ५६ अनुसार स्तिफनसले “पवित्र आत्माले भरिपूर भईकन स्वर्गतिर डिठ लगाएर हेरे, र परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको देखे।” साधारणतया स्तिफनसले आफ्ना प्रार्थनाहरूमा येशूको नाउँद्वारा यहोवालाई सम्बोधन गर्ने थिए। तर पुनरुत्थान हुनुभएको येशूलाई दर्शनमा देख्दा सीधै उहाँलाई यसरी अपिल गर्नु स्तिफनसलाई सजिलो लागेको हुनुपर्छ: “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्‌।” मृतकहरूलाई ब्यूँताउने अख्तियार येशूलाई दिइएको छ भन्‍ने कुरा स्तिफनसलाई थाह थियो। (यूहन्‍ना ५:२७-२९) त्यसैले स्वर्गमा अविनाशी जीवनको लागि उहाँले तिनलाई ब्यूँताउने दिन नआउन्जेल आफ्नो आत्मा वा जीवन शक्‍तिलाई सुरक्षित राखिदिन तिनले येशूलाई बिन्ती गरे।

के स्तिफनसको यो छोटो अभिव्यक्‍तिले येशूलाई प्रार्थना गर्ने नमुना बसाल्छ? अहँ, पटक्कै बसाल्दैन। एउटा कुरा त येशू र यहोवा बेग्लाबेग्लै व्यक्‍ति हुनुहुन्छ भनेर स्तिफनसले स्पष्टसित चिनाए किनभने विवरणले बताएअनुसार तिनले येशूलाई “परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको” देखे। साथै, यो परिस्थिति अरूभन्दा बेग्लै थियो। प्रार्थनामा येशूलाई सम्बोधन गरिएको यस्तै खालको अर्को एक मात्र घटना भनेको प्रेरित यूहन्‍नाको हो, जसले येशूलाई दर्शनमा देख्दा यसै गरी सीधै येशूलाई सम्बोधन गरे।—प्रकाश २२:१६, २०.

आज मसीहीहरूले सही ढङ्‌गमा आफ्ना सबै प्रार्थनामा यहोवालाई सम्बोधन गर्ने भए तापनि येशू नै “पुनरुत्थान र जीवन” हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरूको दृढ विश्‍वास छ। (यूहन्‍ना ११:२५) आफ्ना अनुयायीहरूलाई मृत्युबाट ब्यूँताउन सक्ने येशूको क्षमतामाथिको विश्‍वासले स्तिफनसलाई जस्तै हामीलाई पनि परीक्षाको समयमा मदत गर्न र सँभाल्न सक्छ।