सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई अप्रसन्‍न तुल्याउने चलनहरूदेखि होसियार रहनुहोस्‌

यहोवालाई अप्रसन्‍न तुल्याउने चलनहरूदेखि होसियार रहनुहोस्‌

यहोवालाई अप्रसन्‍न तुल्याउने चलनहरूदेखि होसियार रहनुहोस्‌

अफ्रिकाको टन्टलापुर घाममा एउटा शवबाकस सानो आँगनमा खुला राखिएको छ। शोकाकुल व्यक्‍तिहरू आफ्नो शोक व्यक्‍त गर्न जसै लास राखिएको ठाउँबाट हिंड्‌छन्‌, एक जना बूढा मानिस टक्क अडिन्छन्‌। तिनको अनुहार मलिन देखिन्छ र त्यो मरिसकेको व्यक्‍तिको अनुहार नजिकै गएर तिनी यसो भन्‍न थाल्छन्‌: “तिमी जाँदैछौ भनेर मलाई किन भनेनौ? तिमीले मलाई किन यसरी छोडेर गएको? तिमी जाने त गइहाल्यौ तर के तिमी मलाई अझै मदत गरिरहनेछौ?”

अफ्रिकाको अर्को भागमा एउटा बच्चा जन्मन्छ। बच्चा कसैलाई देखाइँदैन। केही समय बितेपछि मात्र बच्चा सबै सामु ल्याइन्छ र विधिपूर्वक नाउँ दिइन्छ।

मरिसकेको व्यक्‍तिसित कुरा गर्नु वा नवजात शिशुलाई अरूको नजरबाट लुकाउनु कसै-कसैलाई अनौठो लाग्न सक्छ। तथापि, कुनै-कुनै संस्कृति तथा समाजमा जन्म र मृत्युप्रति मानिसहरूको आचरण र दृष्टिकोण मरिसकेका व्यक्‍तिहरू वास्तवमा मरेका छैनन्‌ तर तिनीहरू जीवित र जागा छन्‌ भन्‍ने एकदमै बलियो विश्‍वासले प्रभाव पारेको हुन्छ।

यो विश्‍वास यति बलियो हुन्छ कि यो अनेकन्‌ चलन तथा रीतिथितिमा मिसिएको हुन्छ र यसले जीवनको प्रायः सबै पक्षलाई असर गर्छ। उदाहरणका लागि, जीवनका महत्त्वपूर्ण चरणहरू जस्तै—जन्म, यौवन, विवाह, बच्चाको जन्म र मृत्यु—पितापुर्खाहरूको आत्मिक संसारमा पुऱ्‍याउने एउटा मार्ग हो भनी लाखौंले विश्‍वास गर्छन्‌। भनिन्छ, त्यो आत्मिक संसारमा मरिसकेका व्यक्‍तिले आफूले छोडेर गएका व्यक्‍तिहरूको जीवनमा अझै सक्रिय भूमिका निर्वाह गर्छन्‌। अनि तिनले जीवनदेखि पुनर्जन्मको चक्रलाई निरन्तरता दिन सक्छन्‌।

यस चक्रका विभिन्‍न चरणहरूबीचको परिवर्तन सजिलै होस्‌ भनेर असंख्य चलन तथा रीतिथितिहरू गरिन्छन्‌। हामीभित्रको केही भाग मृत्युपछि पनि जीवितै रहन्छ भन्‍ने विश्‍वासले यस्ता रीतिथितिहरू प्रभावित हुन्छन्‌। साँचो मसीहीहरू यस्तो विश्‍वाससित सम्बन्धित कुनै पनि चलनहरूदेखि अलग रहन्छन्‌। किन?

मरिसकेकाहरू कस्तो अवस्थामा हुन्छन्‌?

मरिसकेकाहरूको अवस्था बाइबलमा स्पष्टसित बताइएको छ। यसमा स्पष्टसित यसो भनिएको छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खतम भएका हुन्छन्‌। . . . किनभने मृत्युमा [शिओल, मानिसजातिको सामान्य चिहानमा] जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, ६, १०) परमेश्‍वरका साँचो उपासकहरूले लामो समयदेखि यस बाइबल सत्यको कदर गर्दै आएका छन्‌। प्राण अथवा आत्मा, अमर रहने नभई मर्छ र नाश हुन्छ भनी तिनीहरूले बुझेका छन्‌। (इजकिएल १८:४) मरिसकेका व्यक्‍तिहरूको आत्मा अमर रहँदैन भनेर तिनीहरूले सिकेका छन्‌। (भजन १४६:४) मृतकहरू वास्तवमा मरेका छैनन्‌ र जीवितहरूलाई असर गर्न सक्छन्‌ भन्‍ने विश्‍वाससित सम्बन्धित कुनै पनि चलन वा रीतिथितिबाट पूर्णतया अलग रहन पुरातन समयमा यहोवाले आफ्ना जनहरूलाई कडा आज्ञा दिनुभयो।—व्यवस्था १४:१; १८:९-१३; यशैया ८:१९, २०.

त्यसै गरी, प्रथम शताब्दीका मसीहीहरू पनि झूटो धार्मिक शिक्षासित सम्बन्धित कुनै पनि परम्परागत चलन वा विधिहरूबाट अलग बसे। (२ कोरिन्थी ६:१५-१७) आज यहोवाका साक्षीहरू जुनसुकै जात, कुल वा पृष्ठभूमिको भए तापनि मृत्युपछि केही अंश अमरै रहन्छ भन्‍ने झूटा शिक्षासित सम्बन्धित कुनै पनि परम्परा र चलनहरूदेखि टाढै रहन्छन्‌।

कुनै खास चलन पछ्याउने वा नपछ्याउने भन्‍ने सन्दर्भमा मसीहीको हैसियतमा हामीलाई कुन कुराले डोऱ्‍याउन सक्छ? मरिसकेकाहरूको आत्माले जीवितहरूलाई असर गर्छ भन्‍ने जस्ता कुनै पनि गैरशास्त्रीय शिक्षासित कतै कुनै चलनहरू सम्बन्धित छन्‌ कि भनेर हामीले होसियारीपूर्वक सोच्नै पर्छ। यसबाहेक, त्यस्तो चलन वा उत्सवमा भाग लिंदा यहोवाका साक्षीहरूको विश्‍वास र शिक्षाहरू थाह भएको अरू मानिसहरूलाई ठेस पुग्छ कि भनेर पनि हामीले विचार गर्नुपर्छ। यी बुँदाहरूलाई मनमा राख्दै सम्बन्धित दुईटा क्षेत्रलाई हामी केलाऔं—ती हुन्‌, जन्म र मृत्यु।

जन्म र नामाकरण रीतिहरू

जन्मसित सम्बन्धित थुप्रै चलनहरू उचित छन्‌। तथापि, जन्म भनेको पितापुर्खाहरूको आत्माको संसारबाट मानिसहरूको समुदायमा स्थानान्तरण हुनु हो भन्‍ने धारणा भएका ठाउँहरूमा साँचो मसीहीहरू होसियार हुनु जरुरी छ। उदाहरणका लागि, अफ्रिकाका केही भागहरूमा नवजात शिशुलाई घरभित्रै राखिन्छ र केही समय नबितेसम्म नाम दिइदैंन। यसरी पर्खिने समयावधि ठाउँअनुसार फरक-फरक हुन सक्ने भए तापनि यसको समापनमा चाहिं नामाकरण समारोह हुन्छ जतिबेला बच्चालाई बाहिर ल्याइन्छ र औपचारिक रूपमा बच्चा नातेदार तथा साथीहरूलाई देखाइन्छ। त्यतिबेला बच्चाको नाउँ उपस्थित सबैको अगाडि औपचारिक रूपमा घोषणा गरिन्छ।

यस चलनको महत्त्व व्याख्या गर्दै घाना—अन्डरस्ट्यान्डिङ द पिपल एण्ड देर कल्चर भन्‍ने पुस्तक यस्तो उल्लेख गर्छ: “जन्मेको सुरुको सात दिन बच्चा ‘भेट गर्न’ आएको र आत्मिक संसारबाट पार्थिव संसारमा स्थानान्तरण भइरहेको ठानिन्छ। . . . बच्चालाई अक्सर भित्रै राखिन्छ र परिवारबाहेक अरू मानिसहरूलाई देखाइँदैन।”

बच्चालाई विधिपूर्वक नाउँ दिनुअघि किन पर्खिने समयावधि हुन्छ? घाना इन रेट्रोस्पेक्ट भन्‍ने पुस्तकमा यस्तो बताइएको छ: “बच्चा जन्मेको आठौं दिनसम्म उसलाई मानिसको रूपमा लिइँदैन। ऊ आएको अर्को संसारसित नै उसको सम्बन्ध गाँसिन्छ।” उक्‍त पुस्तक अझै यसो भन्छ: “नाउँले नै बच्चालाई मानौं वास्तवमा मानव बनाउने भएकोले दम्पतीहरू आफ्नो बच्चा बाँच्ने पक्का नभएसम्म तिनको नाउँ राख्ने गर्दैनन्‌। . . . त्यसकारण यो विभिन्‍न अस्तित्वहरूबीचको बाटो जसलाई कहिलेकाहीं बच्चाको सार्वजनिक प्रस्तुति पनि भन्‍ने गरिन्छ, यसले बच्चा र तिनका आमाबाबुलाई एकदमै असर गर्छ भन्ठानिन्छ। यस समारोहले नै बच्चालाई मानिसजातिको संसार अथवा तिनीहरूको संगतिमा ल्याउँछ।”

यस्तो नामाकरण समारोह साधारणतया परिवारको वयोवृद्ध नातेदारले सञ्चालन गर्छन्‌। समारोहमा के-के गरिन्छ भन्‍ने कुरा ठाउँअनुसार फरक-फरक हुन्छ तर यो समारोहमा अक्सर तर्पण दिने, बच्चा सुरक्षितसाथ आइपुगेकोमा पितापुर्खाहरूको आत्मालाई मूल्याङ्‌कन व्यक्‍त गर्दै प्रार्थना र अन्य विधिहरू हुन्छन्‌।

समारोहको विशेषता चाहिं बच्चाको नाउँ घोषणा गरिंदा हो। आफ्नो बच्चाको नाउँ छान्‍ने मुख्य जिम्मेवारी आमाबाबुको भए तापनि अन्य नातेदारहरूले पनि नाउँ छान्‍ने काममा ठूलो प्रभाव पार्छन्‌। कुनै-कुनै नाउँको स्थानीय भाषामा प्रतीकात्मक अर्थ हुन्छ जस्तै, “गएर फर्केको,” “आमा दोस्रो चोटि आएकी छिन्‌,” वा “बुबा फेरि आएका छन्‌।” अन्य कतिपय नाउँको अर्थचाहिं नवजात शिशुलाई मरिसकेकाहरूको संसारमा फिर्ता लैजान पितापुर्खाहरूलाई निरुत्साहित गर्ने खालका हुन्छन्‌।

पक्कै पनि नवजात शिशुको जन्ममा खुसीयाली मनाउनु कुनै गलत कुरा होइन। कसैको नाउँबाट आफ्नो बच्चाको नाउँ राख्नु र जन्मसित सम्बन्धित परिस्थितिलाई झल्काउने नाउँ दिनु स्वीकार्य चलन हुन्‌ र बच्चालाई कहिले नाउँ दिने भन्‍ने निर्णय पनि व्यक्‍तिगत निर्णय हो। तथापि, नवजात शिशु पितापुर्खाहरूको आत्मिक संसारबाट मानिसहरूको समुदायमा ‘भेट गर्न’ आएको भन्‍ने धारणासित सहमत भएजस्तो देखिने कुनै पनि चलन तथा समारोहमार्फत परमेश्‍वरलाई खुसी तुल्याउन चाहने मसीहीहरू होसियार रहन्छन्‌।

यसबाहेक, समुदायका थुप्रै मानिसहरूले नामाकरण समारोहलाई विभिन्‍न अस्तित्वहरूबीचको बाटोको महत्त्वपूर्ण भाग ठान्छन्‌ होला तर मसीहीहरू अरूहरूको अन्तस्करणबारे संवेदनशील हुनुपर्छ र अर्कै धर्म मान्‍ने व्यक्‍तिहरूलाई कस्तो असर पर्न सक्छ भनेर पनि सोच्नुपर्छ। उदाहरणका लागि एउटा मसीही परिवारले आफ्नो नवजात शिशुको नामाकरण समारोह नभएसम्म अरूको नजरबाट लुकाएर राख्छन्‌ भने कोही-कोही कस्तो निष्कर्षमा पुग्न सक्छन्‌? बाइबल सत्यका शिक्षकहरू भन्‍ने तिनीहरूको दाबीसित मेल नखाने नाउँ राखिएको छ भने कस्तो प्रभाव पर्न सक्छ?

तसर्थ आफ्नो बच्चाको नाउँ कहिले र कसरी राख्ने भनी निर्णय गर्दा मसीहीहरूले अरूलाई कुनै किसिमको बाधा नपर्ने गरी “परमेश्‍वरकै महिमाको निम्ति” गर्ने हरप्रयास गर्नुपर्छ। (१ कोरिन्थी १०:३१-३३) मरिसकेकाहरूको आदर गर्ने जस्ता ‘रिवाज मान्‍नालाई परमेश्‍वरको आज्ञा टार्ने’ काम तिनीहरू गर्दैनन्‌। यसको विपरीत तिनीहरू जीवित परमेश्‍वर यहोवालाई आदर र महिमा दिन्छन्‌।—मर्कूस ७:९, १३.

मृत्युबाट जीवनसम्म स्थानान्तरण

जन्मजस्तै मृत्यु पनि एउटा परिवर्तन हो र मरिसकेका व्यक्‍ति दृश्‍य संसारबाट मरिसकेकाहरूको अदृश्‍य आत्मिक संसारमा प्रवेश गर्छन्‌ भन्‍ने धारणा थुप्रैको छ। कुनै व्यक्‍तिको मृत्युपछि अन्त्येष्टिमा खास रीति तथा विधिहरू पूरा गरेन भने जीवितहरूलाई सजाय दिने वा इनाम दिने शक्‍ति भएका पितापुर्खाहरूको आत्मा रिसाउनेछ भनेर थुप्रैले विश्‍वास गर्छन्‌। यही विश्‍वासको आधारमा अन्त्येष्टिको प्रबन्ध गर्नुका साथै सञ्चालन गर्ने गरिन्छ।

मरिसकेकालाई खुसी पार्ने अन्त्येष्टि कार्यक्रमहरूमा अक्सर विभिन्‍न प्रकारका भावनाहरू सम्मिलित हुन्छन्‌ जस्तै—लास अगाडि रोएर अलापविलाप गर्ने, कराउनेदेखि लास गाडेपछि खुसी मनाउनेसम्म। त्यस्तो अन्त्येष्टि समारोहमा अक्सर अचाक्ली भोज-भतेर गर्ने र मात्तिने हुन्छ अनि ठूलो स्वरमा बाजा बजाएर नाच्ने गरिन्छ। अन्त्येष्टिलाई यति महत्त्व दिइन्छ कि एकदमै गरिब परिवारहरूले पनि पछि जस्तै गाह्रो भोग्नुपरे तापनि र ऋणमै डुब्नुपरे तापनि “उचित अन्त्येष्टिको” लागि पैसाको जोरजाम गर्छन्‌।

वर्षौंको दौडान गैर-धर्मशास्त्रीय अन्त्येष्टि चलनहरूबारे यहोवाका साक्षीहरूले विस्तृत रूपमा पर्दाफास गरेका छन्‌। a त्यस्ता चलनहरूमा जाग्राम बस्नु, तर्पण दिनु, मरिसकेका व्यक्‍तिसित कुरा गर्नुका साथै बिन्ती गर्नु, मरेको दिनको वार्षिकीमा पूजाआजा गर्नु र मानिस मरे पनि केही भाग अझै अमर रहन्छ भन्‍ने विश्‍वासमा आधारित अन्य चलनहरू समावेश छन्‌। “अशुद्ध” र “फोस्रो छलले” भरिएका परमेश्‍वरलाई अनादर गर्ने त्यस्ता चलनहरू परमेश्‍वरको वचनमा नभई “मानिसहरूको कुलाचार[मा]” आधारित छन्‌।—यशैया ५२:११; कलस्सी २:८.

प्रचलित चलनअनुसार गर्ने दबाब

विशेष गरी मरिसकेका व्यक्‍तिहरूको मानसम्मानलाई अत्यन्तै महत्त्व दिने मुलुकहरूमा परम्परागत चलनहरूदेखि अलग रहनु कसै-कसैको लागि एकदमै गाह्रो भएको छ। त्यस्ता चलनहरू नपछ्याएकोले यहोवाका साक्षीहरूलाई शङ्‌काको दृष्टिले हेर्ने वा समाज विरोधी र मरिसकेकाहरूलाई आदर नगर्नेजस्ता आरोप लगाइएको छ। आलोचना र तीव्र दबाबको कारण बाइबल सत्यलाई सही तरिकामा बुझे तापनि कोही-कोही आफू फरक देखिन डराउँछन्‌। (१ पत्रुस ३:१४) अरूले चाहिं यस्ता चलनहरू तिनीहरूको संस्कृतिको भाग भएकोले पूर्णतया त्यसबाट अलग रहन सकिंदैन भन्‍ने महसुस गरेका छन्‌। अरू कतिपयले चाहिं त्यस्ता चलनहरू पछ्याउन इन्कार गर्दा परमेश्‍वरका जनहरू विरुद्ध पूर्वाग्रह राख्न सक्छन्‌ भन्‍ने तर्क गरेका छन्‌।

हामी अरूलाई अनावश्‍यक ढङ्‌गमा रिस उठाउन चाहँदैनौं। तैपनि, सच्चाइको लागि दृढ अडान लिंदा परमेश्‍वरबाट टाढिएको संसारलाई स्वीकार्य हुँदैन भनी बाइबल हामीलाई चेतावनी दिन्छ। (यूहन्‍ना १५:१८, १९; २ तिमोथी ३:१२; १ यूहन्‍ना ५:१९) आध्यात्मिक अन्धकारमा रहेकाहरूभन्दा हामी फरक रहनुपर्छ भनी थाह भएकोले हामी राजीखुसी त्यस्तो अडान लिन्छौं। (मलाकी ३:१८; गलाती ६:१२) जसरी येशूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुराहरू गर्ने शैतानको प्रलोभनको प्रतिरोध गर्नुभयो त्यसरी नै हामी पनि परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउन सक्ने तरिकाहरू अनुसार चल्ने दबाबको प्रतिरोध गर्छौं। (मत्ती ४:३-७) मानिसको डरबाट प्रभावित हुनुको सट्टा साँचो मसीहीहरू मुख्यतया यहोवा परमेश्‍वरलाई खुसी तुल्याउने र सत्यको परमेश्‍वरको रूपमा उहाँलाई आदर गर्नेबारे चिन्तित छन्‌। अरूबाट दबाब आए तापनि साँचो उपासनाका बाइबल स्तरहरूमाथि सम्झौता नगरेर तिनीहरू यसो गर्छन्‌।—हितोपदेश २९:२५; प्रेरित ५:२९.

मृतकहरूप्रति हाम्रो धारणाबाट यहोवाको आदर गर्ने

हामीले माया गर्ने व्यक्‍तिको मृत्यु हुँदा गहिरो भावनात्मक चोट र शोक महसुस गर्नु सामान्य हो। (यूहन्‍ना ११:३३, ३५) मरिसकेका व्यक्‍तिसित बिताएका क्षणहरूको सम्झना गर्नु र सुहाउँदो अनि उपयुक्‍त अन्त्येष्टिको प्रबन्ध गर्नु प्रेमको अभिव्यक्‍ति हो। तथापि, यहोवाका साक्षीहरू परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुनै पनि परम्परागत चलनहरूमा नमुछिई मृत्युको कारण हुने गहिरो दुःखको सामना गर्छन्‌। मृत्युको डर एकदमै प्रबल भएको संस्कृतिमा हुर्केकाहरूलाई यसो गर्न सजिलो हुँदैन। आफ्नो घनिष्ठ व्यक्‍तिको मृत्युको कारण भावनात्मक रूपमा पीडित हुँदा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण हुन सक्छ। यद्यपि, विश्‍वासी मसीहीहरूले “सबै सान्त्वनाका परमेश्‍वर” यहोवाबाट बल प्राप्त गर्छन्‌ र आफ्ना सँगी विश्‍वासीहरूको मायालु समर्थनबाट लाभ उठाउँछन्‌। (२ कोरिन्थी १:३, ४) परमेश्‍वरको सम्झनामा रहेका अचेत मृत व्यक्‍तिहरू एक दिन फेरि बाँच्नेछन्‌ भन्‍ने बलियो विश्‍वासको कारण साँचो मसीहीहरू पुनरुत्थानको वास्तविकतादेखि अलग्याउने अन्त्येष्टिसम्बन्धी गैर-धर्मशास्त्रीय प्रचलनहरूदेखि अलग रहन हरप्रयास गर्छन्‌।

यहोवाले हामीलाई “अन्धकारबाट उहाँको गजबको ज्योतिमा” बोलाउनुभएकोमा के हामी रोमाञ्चित छैनौं र? (१ पत्रुस २:९) जन्मको खुसीयाली र मृत्युको दुःख सहँदै, सही कुरा गर्ने हाम्रो बलियो इच्छा र यहोवा परमेश्‍वरप्रतिको हाम्रो गहिरो प्रेमले हामीलाई “ज्योतिका सन्तानझैं हिंड़डुल” गरिरहन उत्प्रेरित गरोस्‌। परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने गैर-मसीही चलनहरूबाट आफूलाई आध्यात्मिक रूपमा कहिल्यै दूषित नबनाऔं।—एफिसी ५:८.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित स्पिरिट्‌स अफ द डेड—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट?द रोड टु एभरलास्टिङ लाइफ—ह्‍याभ यु फाउन्ड इट? पुस्तिकाहरू कृपया हेर्नुहोस्‌।