सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले बसाल्नुभएको उदाहरण पछ्याउनुहोस्‌

येशूले बसाल्नुभएको उदाहरण पछ्याउनुहोस्‌

येशूले बसाल्नुभएको उदाहरण पछ्याउनुहोस्‌

“मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।”—यूहन्‍ना १३:१५.

१. मसीहीहरूले अनुकरण गर्नुपर्ने उपयुक्‍त नमुना येशू किन हुनुहुन्छ?

 सम्पूर्ण मानव इतिहासलाई केलाएर हेर्ने हो भने, आफ्नो जीवनकालमा एउटै पाप नगरी जीवन बिताउने मानिस एक जना मात्र छ। त्यो व्यक्‍ति येशू हुनुहुन्छ। येशूबाहेक ‘पापरहित मानिस’ कोही पनि छैन। (१ राजा ८:४६; रोमी ३:२३) त्यसैकारण साँचो मसीहीहरू येशूलाई आफूले अनुकरण गर्नुपर्ने सिद्ध नमुना ठान्छन्‌। आफ्नो मृत्युभन्दा अलिक समयअगाडि सा.यु. ३३, नीसान १४ मा येशू स्वयम्‌ले उहाँका अनुयायीहरूलाई आफ्नो अनुकरण गर्न भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” (यूहन्‍ना १३:१५) त्यस अन्तिम रातमा येशूले मसीहीहरू उहाँजस्तै हुन प्रयास गर्नुपर्ने केही तरिकाहरूबारे बताउनुभयो। यस लेखमा हामी तीमध्ये केही तरिकाहरूबारे विचार गर्नेछौं।

नम्रताको खाँचो

२, ३. कुन-कुन तरिकामा येशू नम्रताको सिद्ध उदाहरण हुनुहुन्थ्यो?

आफूले बसालेको उदाहरण पछ्याउन येशूले आफ्ना चेलाहरूलाई आग्रह गर्नुहुँदा उहाँले खास गरी नम्रताबारे कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले एक चोटि मात्र नभई धेरै पटक आफ्ना अनुयायीहरूलाई नम्र हुने सल्लाह दिनुभएको थियो अनि नीसान १४ को रात आफ्ना प्रेरितहरूको खुट्टा धोएर उहाँले आफ्नो नम्रता देखाउनुभयो। येशूले यसो भन्‍नुभयो: “यदि मैले प्रभु र गुरु भईकन तिमीहरूका खुट्टा धोएको छु भने, तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।” (यूहन्‍ना १३:१४) त्यसपछि आफ्ना प्रेरितहरूलाई उहाँले बसालेको उदाहरण पछ्याउन भन्‍नुभयो। नम्रताको त्यो कस्तो असल उदाहरण थियो!

यस पृथ्वीमा आउनुअघि येशू “परमेश्‍वरको स्वरूपमा” हुनुहुन्थ्यो भनी प्रेरित पावल हामीलाई बताउँछन्‌। तैपनि उहाँले आफूलाई रित्याएर एउटा तुच्छ मानव बन्‍नुभयो। यति मात्र होइन, उहाँ “मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको [“शासनाको खम्बाको,” NW] मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:६-८) यसो सोच्नुहोस्‌ त, ब्रह्‍माण्डको दोस्रो उच्च व्यक्‍ति स्वर्गदूतहरूभन्दा तुच्छ बन्‍न, निस्सहाय बच्चाको रूपमा जन्मन, असिद्ध आमाबाबुप्रति आज्ञाकारी भई हुर्कन अनि अन्तमा घृणित अपराधीको रूपमा मर्न राजी हुनुभयो। (कलस्सी १:१५, १६; हिब्रू २:६, ७) कस्तो नम्रता! के त्यस्तो “मन” अर्थात्‌ मनोवृत्ति अनुकरण गर्न र त्यस्तो “नम्रता” खेती गर्न सम्भव छ? (फिलिप्पी २:३-५) सम्भव छ तर सजिलो भने हुँदैन।

४. कस्ता कुराहरूले मानिसलाई घमन्डी बनाउँछ तर घमन्ड किन खतरनाक कुरा हो?

नम्रताको ठीक विपरीत घमन्ड हो। (हितोपदेश ६:१६-१९) घमन्डले गर्दा शैतानको पतन भयो। (१ तिमोथी ३:६) यसले मानिसहरूको हृदयमा सजिलै जरा गाड्‌छ अनि एक चोटि जरा गाडिसकेपछि निकाल्न असाध्यै गाह्रो हुन्छ। मानिसहरू आफ्नो देश, जातीयता, सम्पत्ति, शिक्षा, सांसारिक उपलब्धि, सामाजिक ओहदा, आफ्नो बाह्‍य सुन्दरता, खेल दक्षता र अन्य थुप्रै कुराहरूको विषयमा घमन्ड गर्छन्‌। यद्यपि, यीमध्ये कुनै पनि कुरा यहोवाको अगाडि महत्त्वपूर्ण छैनन्‌। (१ कोरिन्थी ४:७) अनि यी कुराहरूले हामीलाई घमन्डी बनायो भने त्यसले उहाँसितको हाम्रो सम्बन्धलाई बिगार्छ। “परमप्रभु उच्च हुनुभए, तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ। तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ।”—भजन १३८:६; हितोपदेश ८:१३.

हाम्रा भाइहरूमाझ नम्र

५. प्राचीनहरू नम्र हुनु किन अत्यावश्‍यक छ?

यहोवाको सेवाको लागि हाम्रो योगदान र उपलब्धिहरूले वा मण्डलीका जिम्मेवारीहरूले हामीलाई घमन्डी बनाउनु ठीक हुनेछैन। (१ इतिहास २९:१४; १ तिमोथी ६:१७, १८) वास्तवमा, हाम्रा जिम्मेवारीहरू जति गहन हुन्छन्‌, हामी त्यति नै बढी नम्र हुनुपर्छ। प्रेरित पत्रुसले प्राचीनहरूलाई परमेश्‍वरको सम्पत्तिमाथि “अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ” भनी आग्रह गरे। (१ पत्रुस ५:३) प्राचीनहरू सेवक तथा उदाहरण हुन नियुक्‍त भएका हुन्‌, प्रभु तथा मालिक बन्‍न होइनन्‌।—लूका २२:२४-२६; २ कोरिन्थी १:२४.

६. मसीही जीवनका कुन-कुन पक्षमा हामीलाई नम्रता चाहिन्छ?

नम्रता देखाउनुपर्ने व्यक्‍तिहरू प्राचीनहरू मात्रै होइनन्‌। उमेर पाकेकाहरूको तुलनामा छरितो दिमाग र बलियो शरीर भएको कारण घमन्ड गर्ने झुकाव हुन सक्ने जवान पुरुषहरूलाई पत्रुसले यस्तो लेखे: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्‍वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५) हो, ख्रीष्टको जस्तो नम्रता सबैको लागि अत्यावश्‍यक छ। विशेष गरी भावशून्यता वा वैमनस्यताको बावजुद सुसमाचार प्रचार गर्न नम्रता चाहिन्छ। सल्लाह स्वीकार्न वा सेवकाईमा अझ बढी भाग लिनको लागि हाम्रो जीवन सरल बनाउन नम्रता चाहिन्छ। साथै, नराम्रो प्रचारप्रसार, कानुनी आक्रमण वा हिंस्रक सतावट सहनुपर्दा नम्रताको साथसाथै साहस र विश्‍वास चाहिन्छ।—१ पत्रुस ५:६.

७, ८. हामीले नम्रता खेती गर्न सक्ने केही तरिकाहरू के-के हुन्‌?

कुनै मानिस कसरी घमन्डमाथि विजयी हुन अनि “नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर” व्यवहार गर्न सक्छन्‌? (फिलिप्पी २:३) यहोवाले तिनीप्रति जस्तो दृष्टिकोण राख्नुहुन्छ, तिनले आफूप्रति पनि त्यस्तै दृष्टिकोण राख्नुपर्छ। सही मनोवृत्तिबारे येशूले यसो भन्‍नुभयो: “त्यसरीनै तिमीहरूले पनि जब तिमीहरूलाई अह्राएका सबै काम गरिसकेका हुन्छौ तब ‘हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं,’ भनी भन।” (लूका १७:१०) एउटा कुरा नबिर्सनुहोस्‌, हामीले गर्न सक्ने कुनै पनि कुरालाई येशूले गर्नुभएको कुरासित तुलना गर्न सकिंदैन। तैपनि, येशू नम्र हुनुहुन्थ्यो।

साथै, आफूप्रति उचित दृष्टिकोण खेती गर्न हामी यहोवाको मदत माग्न सक्छौं। भजनहारजस्तै हामी यसरी प्रार्थना गर्न सक्छौं: “मलाई असल विवेकशक्‍ति र ज्ञान सिकाउनुहोस्‌। किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु।” (भजन ११९:६६) यहोवाले हामीलाई आफूप्रति बुद्धिमानी र सन्तुलित दृष्टिकोण विकास गर्न मदत गर्नुहुनेछ र हाम्रो नम्र मनोवृत्तिको लागि उहाँले आशिष्‌ दिनुहुनेछ। (हितोपदेश १८:१२) येशूले यसो भन्‍नुभयो: “जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्योचाहिं ठूलो हुनेछ।”—मत्ती २३:१२.

सही र गलतप्रति उचित दृष्टिकोण

९. येशूले सही र गलतप्रति कस्तो दृष्टिकोण राख्नुभयो?

असिद्ध मानिसहरूको माझमा ३३ वर्ष बिताउनुभए तापनि येशू “पापरहित” रहनुभयो। (हिब्रू ४:१५) वास्तवमा, मसीहबारे भविष्यवाणी गर्दा भजनहारले यसो भने: “तपाईंलाई धार्मिकता मन पर्छ, र दुष्टतालाई तपाईं घृणा गर्नुहुन्छ।” (भजन ४५:७; हिब्रू १:९) यस सन्दर्भमा पनि मसीहीहरू येशूको अनुकरण गर्ने प्रयास गर्छन्‌। तिनीहरू सही र गलतबीच भिन्‍नता छुट्याउने मात्र होइन तर खराबीलाई घृणा गर्छन्‌ अनि भलाइलाई प्रेम गर्छन्‌। (आमोस ५:१५) यसले तिनीहरूलाई आफ्ना जन्मजात पापी झुकावहरू विरुद्ध लड्‌न मदत गर्छ।—उत्पत्ति ८:२१; रोमी ७:२१-२५.

१०. हामीले पश्‍चात्ताप नगरी “तुच्छ काम” गरिरह्‍यौं भने हामीले कस्तो मनोवृत्ति देखाइरहेका हुन्छौं?

१० येशूले फरिसी निकोदेमसलाई यसो भन्‍नुभयो: “जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ। तर त्यसका काम परमेश्‍वरमा भएका हुन्‌ भनी प्रकट होस्‌ भनेर सत्य काम गर्ने चाहिं ज्योतिमा आउँछ।” (यूहन्‍ना ३:२०, २१) विचार गर्नुहोस्‌: यूहन्‍नाले येशूलाई “प्रत्येक मानिसलाई प्रकाश दिने . . . साँचो ज्योति” भनेर चिनाए। (यूहन्‍ना १:९, १०) तैपनि, हामीले “तुच्छ काम” अर्थात्‌ गलत काम अनि परमेश्‍वरको सामु अस्वीकार्य कार्यहरू गर्छौं भने हामीले ज्योतिलाई घृणा गर्छौं भनी येशूले बताउनुभयो। आफूले येशू अनि उहाँका स्तरहरूलाई घृणा गरेको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यद्यपि, कुनै पश्‍चात्ताप नगरी पाप गरिरहनेहरूले वास्तवमा त्यसै गरिरहेका हुन्छन्‌। सायद तिनीहरूलाई आफूले त्यस्तो दृष्टिकोण राखेको जस्तो नलाग्ला तर येशूले भने तिनीहरूले उहाँलाई र उहाँको स्तरलाई घृणा गरेको ठान्‍नुहुन्छ भनेर स्पष्ट पार्नुभयो।

सही र गलतप्रति येशूको जस्तै दृष्टिकोण कसरी खेती गर्ने

११. हामीले सही र गलतप्रति येशूको जस्तै दृष्टिकोण खेती गर्ने हो भने के अत्यावश्‍यक छ?

११ यहोवाको नजरबाट सही र गलत के हो भनेर हामीले स्पष्टसित बुझेको हुनुपर्छ। परमेश्‍वरको वचन बाइबल अध्ययन गरेर मात्र हामी यो कुरा बुझ्न सक्छौं। हामीले त्यस्तो अध्ययन गर्दा भजनहारले जस्तै यसरी प्रार्थना गर्नुपर्छ: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्‌।” (भजन २५:४) तथापि, शैतान छली छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (२ कोरिन्थी ११:१४) त्यसले गलत कुराको वास्तविक रूप लुकाएर लापरवाह मसीहीको सामु स्वीकार्य जस्तो देखाउन सक्छ। यसर्थ, आफूले सिक्ने कुराहरूमा हामीले गहिरो मनन गर्नुपर्छ अनि “विश्‍वासी र बुद्धिमान दास[को]” सल्लाहलाई होसियारीपूर्वक पालन गर्नुपर्छ। (मत्ती २४:४५-४७) आफूले सिकेका कुराहरूबारे अध्ययन, प्रार्थना र मननले हामीलाई परिपक्वतातर्फ अघि बढ्‌न अनि “प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका” मानिसहरूमाझ हुन मदत गर्नेछ। (हिब्रू ५:१४) यसो गऱ्‍यौं भने गलत कुरालाई घृणा गर्ने र सही कुरालाई प्रेम गर्ने हाम्रो झुकाव हुनेछ।

१२. कुन बाइबल सल्लाहले हामीलाई कुकर्म नगर्न मदत गर्छ?

१२ हामी गलत कुरालाई घृणा गर्छौं भने आफ्नो हृदयमा खराब कुराहरूप्रति चाहना बढ्‌न दिनेछैनौं। येशूको मृत्यु भएको धेरै वर्षपछि प्रेरित यूहन्‍नाले यस्तो लेखे: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।”—१ यूहन्‍ना २:१५, १६.

१३, १४. (क) संसारका कुराहरूप्रतिको प्रेम मसीहीहरूको लागि किन खतरा हो? (ख) संसारका कुराहरूप्रति प्रेम खेती गर्नदेखि हामी कसरी जोगिन सक्छौं?

१३ संसारमा भएका सबै कुरा गलत हुन्छ नै भन्‍ने छैन भनी कसै-कसैले तर्क गर्लान्‌। तैपनि यस संसार र यसमा भएका चीजबीजहरूले हामीलाई यहोवाको सेवा गर्नदेखि सजिलै अलमल्याउन सक्छ। अनि संसारले दिने कुनै पनि कुराले हामीलाई परमेश्‍वरसित नजिक बनाउन सक्दैन। यसर्थ, संसारका कुराहरू जुन कुरा आफैमा गलत त नहोलान्‌ तर हामीले ती कुराहरूलाई प्रेम गर्न थाल्यौं भने हामी खतरनाक बाटोमा हिंडिरहेका हुनेछौं। (१ तिमोथी ६:९, १०) साथै, संसारका प्रायजसो कुराहरू साँच्चै खराब छन्‌ र यसले हामीलाई भ्रष्ट पार्न सक्छ। हामी हिंसा, भौतिकवाद वा यौन अनैतिकतालाई जोड दिने चलचित्र वा टेलिभिजन कार्यक्रमहरू हेर्छौं भने ती कुराहरू हाम्रो लागि स्वीकार्य अनि लोभलाग्दोसमेत हुन सक्छ। जीवनको प्रमुख चासो भनेकै आफ्नो जीवन शैली उकास्ने वा व्यापारिक मौकाहरू खोज्ने मानिसहरूसित संगत गर्छौं भने ती कुराहरू हाम्रो लागि पनि प्रमुख महत्त्वका हुन सक्छन्‌।—मत्ती ६:२४; १ कोरिन्थी १५:३३.

१४ अर्कोतर्फ, हामी यहोवाको वचनमा रमाउँछौं भने “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी” हाम्रो लागि लोभलाग्दो हुनेछैन। साथै, परमेश्‍वरको राज्यसम्बन्धी कामकुरालाई प्रथम स्थान दिने मानिसहरूसित संगत गऱ्‍यौं भने हामी पनि तिनीहरूजस्तै हुनेछौं, तिनीहरूले प्रेम गर्ने कुरालाई प्रेम गर्नेछौं अनि तिनीहरू अलग रहने कुराबाट अलग रहनेछौं।—भजन १५:४; हितोपदेश १३:२०.

१५. येशूले जस्तै धार्मिकतालाई प्रेम अनि कुकर्मलाई घृणा गर्दा हामी कसरी बल प्राप्त गर्न सक्छौं?

१५ कुकर्मलाई घृणा अनि धार्मिकतालाई प्रेम गर्दा येशूले “सामने राखिदिएको आनन्द[मा]” आफ्नो आँखा केन्द्रित गर्न सक्नुभयो। (हिब्रू १२:२) हामीलाई पनि यही कुरा लागू हुन सक्छ। “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ” भनेर हामीलाई थाह छ। यस संसारले प्रदान गर्ने जस्तोसुकै आनन्द केवल क्षणिक हुन्छ। तथापि, “परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) येशूले परमेश्‍वरको इच्छा गर्नुभएको हुँदा उहाँले मानिसहरूको लागि अनन्त जीवन पाउने बाटो खोलिदिनुभयो। (१ यूहन्‍ना ५:१३) हामी सबैले उहाँको अनुकरण गर्न र उहाँको निष्ठाबाट लाभ उठाउन सकौं।

सतावट भोग्नुपर्दा

१६. येशूले आफ्ना अनुयायीहरूलाई किन एकअर्कालाई प्रेम गर्न आग्रह गर्नुभयो?

१६ आफ्ना चेलाहरूले उहाँको अनुकरण गर्ने अर्को तरिकाबारे येशूले यसो भन्‍नुभयो: “मेरो आज्ञा यही हो, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु।” (यूहन्‍ना १५:१२, १३, १७) मसीहीहरूले आफ्ना भाइहरूलाई प्रेम गर्नुका थुप्रै कारणहरू छन्‌। यस अवस्थामा येशूले खास गरी तिनीहरूले संसारबाट भोग्नुपर्ने घृणाबारे बताउँदै हुनुहुन्थ्यो। उहाँले यसो भन्‍नुभयो: “संसारले तिमीहरूलाई घृणा गर्दछ, तर तिमीहरूलाई घृणा गर्नभन्दा अगाडि मलाई घृणा गरेको हो भनी तिमीहरू जान्दछौ। . . . दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूहन्‍ना १५:१८, २०) हो, सतावट भोग्ने सन्दर्भमा पनि मसीहीहरू येशूजस्तै छन्‌। त्यस्तो घृणा सहने मदतको लागि तिनीहरूले बलियो र मायालु बन्धन विकास गर्नुपर्छ।

१७. संसारले साँचो मसीहीहरूलाई किन घृणा गर्छ?

१७ संसारले मसीहीहरूलाई घृणा गर्नुको कारण के हो? किनभने येशूजस्तै तिनीहरू पनि “संसारका होइनन्‌।” (यूहन्‍ना १७:१४, १६) तिनीहरू सैन्य तथा राजनैतिक मामिलामा तटस्थ रहन्छन्‌ अनि जीवनको पवित्रतालाई आदर गर्ने र उच्च नैतिक स्तर कायम राख्ने सन्दर्भमा बाइबलका सिद्धान्तहरू पालन गर्छन्‌। (प्रेरित १५:२८, २९; १ कोरिन्थी ६:९-११) तिनीहरूको प्रमुख लक्ष्य भौतिक नभई आध्यात्मिक हो। तिनीहरू संसारमा बस्छन्‌ तर पावलले लेखेझैं ‘संसारको रीतिमा चल्दैनन्‌।’ (१ कोरिन्थी ७:३१) हुन त हो, कसै-कसैले यहोवाका साक्षीहरूको उच्च स्तरको तारिफ गरेका छन्‌। तर अरूबाट तारिफ वा स्वीकृति पाउन यहोवाका साक्षीहरू सम्झौता गर्दैनन्‌। फलस्वरूप संसारका प्रायजसो व्यक्‍तिहरूले तिनीहरूलाई बुझ्दैनन्‌ अनि धेरैले तिनीहरूलाई घृणा गर्छन्‌।

१८, १९. येशूको उदाहरण पछ्याउँदै मसीहीहरूले विरोध र सतावट कसरी सामना गर्छन्‌?

१८ येशूको गिरफ्तारी हुँदा र उहाँको हत्या गरिंदा येशूका प्रेरितहरूले संसारको उग्र घृणा देखे अनि येशूले यस्तो घृणाको सामना कसरी गर्नुभयो भनेर पनि तिनीहरूले देखे। गेतसमनीको बगैंचामा येशूका धार्मिक विरोधीहरू उहाँलाई गिरफ्तार गर्न आए। पत्रुसले तरबार चलाएर उहाँलाई बचाउन खोजे तर येशूले पत्रुसलाई यसो भन्‍नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।” (मत्ती २६:५२; लूका २२:५०, ५१) पुरातन समयमा इस्राएलीहरू आफ्ना शत्रुहरूसित तरबारले लड्‌थे। तर अहिले भने अवस्था बेग्लै थियो। परमेश्‍वरको राज्य ‘यस संसारको थिएन’ र सुरक्षा गर्नुपर्ने कुनै राष्ट्रिय सीमा थिएन। (यूहन्‍ना १८:३६) चाँडै पत्रुस एउटा आत्मिक राष्ट्रको सदस्य हुने थिए जसका सदस्यहरूको नागरिकता स्वर्गमा हुने थियो। (गलाती ६:१६; फिलिप्पी ३:२०, २१) यसर्थ, घृणा र सतावट आइपर्दा येशूका अनुयायीहरूले पनि येशूले जस्तै निडरतापूर्वक तर शान्तिसित सामना गर्ने थिए। तिनीहरू कामकुराको परिणामबारे पूर्ण विश्‍वस्त भई यहोवाकै हातमा छोड्‌ने थिए अनि त्यो सहने बलको लागि उहाँमा भर पर्ने थिए।—लूका २२:४२.

१९ वर्षौंपछि पत्रुसले यस्तो लेखे: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंडनलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो, . . . जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।” (१ पत्रुस २:२१-२३) येशूले चेतावनी दिनुभएझैं वर्षौंको दौडान मसीहीहरूले कठोर सतावट भोगेका छन्‌। प्रथम शताब्दीमा र अहिले हाम्रो समयमा पनि तिनीहरूले येशूको उदाहरण पछ्याएका छन्‌ र विश्‍वासिलो धीरजको अद्‌भुत रेकर्ड बसालेका छन्‌ अनि यसरी तिनीहरूले आफू निष्ठा कायम गर्ने शान्तिप्रिय व्यक्‍तिहरू हुन्‌ भनी देखाएका छन्‌। (प्रकाश २:९, १०) त्यस्तै परिस्थितिमा पर्दा हामी प्रत्येकले यसै गर्न सकौं।—२ तिमोथी ३:१२.

“प्रभु येशू ख्रीष्टलाई धारण गर”

२०-२२. मसीहीहरूले कसरी “प्रभु येशू ख्रीष्टलाई धारण” गर्छन्‌?

२० पावलले रोमको मण्डलीलाई यस्तो लेखे: “प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीरको अभिलाषा पूरा गर्नलाई अघिबाटै तयारी नगर।” (रोमी १३:१४) मसीहीहरू कुनै वस्त्र लगाएझैं येशूलाई धारण गर्छन्‌। तिनीहरू उहाँको गुण तथा कार्यहरू अनुकरण गर्न यतिबिघ्न प्रयास गर्छन्‌ कि तिनीहरू असिद्ध भए तापनि आफ्नो मालिकको गुण झल्काइरहेका हुन्छन्‌।—१ थिस्सलोनिकी १:६.

२१ हामी मालिक येशूको जीवनसित राम्ररी परिचित भयौं र उहाँले जस्तै जीवन बिताउने प्रयास गऱ्‍यौं भने “प्रभु येशू ख्रीष्टलाई धारण” गर्न सफल हुन सक्छौं। हामी उहाँको नम्रता, धार्मिकताप्रति उहाँको प्रेम, अधर्मप्रति उहाँको घृणा, आफ्ना भाइहरूप्रति उहाँको प्रेम, उहाँ संसारको भाग नहुनु र धीरजी भई दुःखकष्ट भोग्नुभएको उदाहरण अनुकरण गर्छौं। हामी ‘शरीरको अभिलाषा पूरा गर्नलाई अघिबाटै तयारी गर्दैनौं’—त्यसको मतलब हो, सांसारिक लक्ष्य हासिल गर्नु वा शारीरिक इच्छा पूरा गर्नुलाई हामी आफ्नो जीवनको प्रमुख लक्ष्य बनाउँदैनौं। बरु, कुनै निर्णय गर्नुपर्दा वा कुनै समस्या सामना गर्नुपर्दा हामी यस्तो प्रश्‍न गर्छौं: ‘यस्तो अवस्थामा येशूले के गर्नुहुने थियो? मैले के गरेको उहाँ चाहनुहुने थियो?’

२२ अन्तमा, “सुसमाचार प्रचार” गर्ने कार्यमा व्यस्त रहेर हामी येशूको अनुकरण गर्छौं। (मत्ती ४:२३; १ कोरिन्थी १५:५८) त्यसरी पनि मसीहीहरूले येशूले बसाल्नुभएको उदाहरण पछ्याउँछन्‌ र यसपछिको लेखले तिनीहरूले कसरी यसो गर्छन्‌ भन्‍ने प्रश्‍नको जवाफ दिनेछ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• मसीही नम्र हुनु किन अत्यावश्‍यक छ?

• सही र गलतप्रति उचित दृष्टिकोण हामी कसरी खेती गर्न सक्छौं?

• विरोध र सतावट सामना गर्ने सन्दर्भमा मसीहीहरूले कसरी येशूको अनुकरण गर्छन्‌?

• “प्रभु येशू ख्रीष्टलाई धारण” गर्नु कसरी सम्भव छ?

[प्रश्‍नहरू]

[पृष्ठ ७-मा भएको चित्र]

येशूले नम्रताको सिद्ध उदाहरण बसाल्नुभयो

[पृष्ठ ८-मा भएको चित्र]

प्रचारकार्य लगायत मसीहीको जीवनको हरेक पक्षले नम्रताको माग गर्छ

[पृष्ठ ९-मा भएको चित्र]

शैतानले अनुचित मनोरञ्जन मसीहीको लागि स्वीकार्य छ जस्तो बनाउन सक्छ

[पृष्ठ १०-मा भएको चित्र]

हाम्रा भाइहरूप्रतिको प्रेमले विरोध सामना गर्न हामीलाई सुदृढ बनाउनेछ