सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विस्तृत साक्षी दिन प्रशिक्षित

विस्तृत साक्षी दिन प्रशिक्षित

विस्तृत साक्षी दिन प्रशिक्षित

“तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।”—प्रेरित १:८.

१, २. पत्रुसलाई कस्तो आज्ञा दिइएको थियो र तिनलाई यो आज्ञा कसले दियो?

 “नासरतका येशू[ले] . . . हामीलाई जनतामा प्रचार गर्न, र परमेश्‍वरले ठहराउनुभएका, जिउँदा र मरेकाहरूका न्यायकर्त्ता उहाँनै हुनुहुन्छ भन्‍ने सबूत दिनलाई आज्ञा गर्नुभएको छ।” (प्रेरित १०:३८, ४२) आफूले प्रचारक बन्‍न पाएको आज्ञाबारे प्रेरित पत्रुसले कर्नीलियस र तिनको परिवारलाई त्यसरी बताए।

येशूले त्यो आज्ञा कहिले दिनुभयो? सम्भवतः, पुनरुत्थान हुनुभएको येशूले स्वर्ग जानुअघि भन्‍नुभएको कुरा पत्रुसले सम्झिरहेका थिए। त्यतिबेला येशूले आफ्ना विश्‍वासी चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) तथापि, येशूको चेलाको हैसियतमा येशूमाथिको आफ्नो विश्‍वासबारे अरूलाई बताउनुपर्नेछ भनेर पत्रुसले त्योभन्दा केही समयअघि नै थाह पाइसकेका थिए।

तीन वर्षको प्रशिक्षण

३. येशूले कस्तो चमत्कार गर्नुभयो अनि उहाँले पत्रुस र अन्द्रियासलाई कस्तो निमन्त्रणा दिनुभयो?

सा.यु. २९ मा बप्तिस्मा लिएको केही महिनापछि येशूले पत्रुस र तिनका भाइ अन्द्रियास मछुवाको काम गरिरहेको गालीलको समुद्रमा प्रचार गर्नुभयो। तिनीहरूले रातभरि जाल हानिसकेका थिए तर केही फेला पार्न सकेका थिएनन्‌। तैपनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “गहीरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।” येशूले भन्‍नुभएझैं गरेपछि “तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्‌नलागे।” यो चमत्कार देखेपछि पत्रुस भयभीत भए तर येशूले तिनलाई शान्त पार्दै यसो भन्‍नुभयो: “नडराऊ, अब उपरान्त तिमी मानिसहरू पक्रने हुनेछौ।”—लूका ५:४-१०.

४. (क) साक्षी दिनको लागि येशूले आफ्ना चेलाहरूलाई कसरी तयार पार्नुभयो? (ख) येशूका चेलाहरूको सेवकाईलाई कसरी येशूको सेवकाईसित तुलना गर्न सकिन्थ्यो?

तुरुन्तै, पत्रुस र अन्द्रियास अनि जब्दीका छोराहरू, याकूब र यूहन्‍ना आ-आफ्नो डुङ्‌गा छोडेर येशूको पछि लागे। लगभग तीन वर्षसम्म तिनीहरूले येशूलाई उहाँका प्रचार यात्रामा साथ दिए अनि प्रचारक बन्‍ने प्रशिक्षण पाए। (मत्ती १०:७; मर्कूस १:१६, १८, २०, ३८; लूका ४:४३; १०:९) त्यो समयको अन्ततिर सा.यु. ३३ नीसान १४ का दिन येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “जसले मलाई विश्‍वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, औ तीभन्दा ठूला काम पनि गर्नेछ।” (यूहन्‍ना १४:१२) येशूका चेलाहरूले येशूले जस्तै विस्तृत साक्षी दिने थिए तर अझ व्यापक तवरमा। तिनीहरू तथा सबै भावी चेलाहरूले “जगत्‌को अन्तसम्म” “सबै देश[मा]” साक्षी दिनेछन्‌ भन्‍ने कुरा तिनीहरूले चाँडै थाह पाए।—मत्ती २८:१९, २०.

५. येशूले आफ्ना अनुयायीहरूलाई दिनुभएको प्रशिक्षणबाट हामी कुन-कुन तरिकामा लाभ उठाउन सक्छौं?

हामी “जगत्‌को अन्त[मा]” बाँचिरहेका छौं। (मत्ती २४:३) ती सुरु-सुरुका चेलाहरूजस्तै हामी येशू सँगसँगै जान र उहाँले मानिसहरूलाई कसरी सिकाउनुहुन्थ्यो भनी हेर्न त सक्दैनौं। तैपनि, उहाँले कसरी प्रचार गर्नुभयो अनि आफ्ना अनुयायीहरूलाई कस्ता निर्देशनहरू दिनुभयो भन्‍ने कुरा बाइबलमा पढेर उहाँको प्रशिक्षणबाट लाभ उठाउन सक्छौं। (लूका १०:१-११) तथापि, यस लेखले येशूले आफ्ना चेलाहरूलाई देखाउनुभएको अत्यन्तै महत्त्वपूर्ण एउटा अर्कै कुराबारे छलफल गर्नेछ—त्यो हो, प्रचारकार्यप्रति सही मनोवृत्ति।

मानिसहरूप्रति चासो

६, ७. येशूको कुन गुणले गर्दा उहाँको सेवकाई प्रभावकारी भयो अनि यस सन्दर्भमा हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

येशूले किन त्यस्तो प्रभावकारी साक्षी दिनुभयो? एउटा कारण त, मानिसहरूप्रति गहिरो चिन्ता र चासो थियो। येशूले “कमजोर र दरिद्रलाई . . . टिठाउनेछ” भनी भजनहारले भविष्यवाणी गरेका थिए। (भजन ७२:१३) उहाँले त्यो भविष्यवाणी साँच्चै पूरा गर्नुभयो। एउटा घटनाबारे बाइबल यसो भन्छ: “भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) घोर पाप गर्नेहरूले समेत उहाँको चासो महसुस गर्न सके र उहाँतर्फ खिचिए।—मत्ती ९:९-१३; लूका ७:३६-३८; १९:१-१०.

मानिसहरूप्रति त्यस्तै चासो देखायौं भने आज हामी पनि प्रभावकारी हुनेछौं। सेवकाईमा भाग लिनुअघि, तपाईंले मानिसहरूलाई सुनाउन लाग्नुभएको सन्देश तिनीहरूलाई कत्तिको आवश्‍यक छ भनेर एकछिन विचार गर्नुभए कसो होला? परमेश्‍वरको राज्यले मात्र समाधान गर्ने समस्याहरू तिनीहरूसित छन्‌ होला, त्यसबारे विचार गर्नुहोस्‌ त। भेट्‌नुहुने सबैसित सकारात्मक हुने सङ्‌कल्प गर्नुहोस्‌ किनभने यो समाचारप्रति क-कसले राम्रो प्रतिक्रिया देखाउनेछन्‌ भनेर तपाईंलाई थाह छैन। तपाईंले भेट्‌ने अर्को व्यक्‍ति तपाईंजस्तै कोही आएर मदत गरोस्‌ भनेर प्रार्थना गरिरहेको पो छ कि!

प्रेमद्वारा उत्प्रेरित

८. येशूको अनुकरण गर्दै उहाँका अनुयायीहरूलाई सुसमाचार प्रचार गर्न उत्प्रेरित गर्ने कुरा के हो?

येशूले घोषणा गर्नुभएको सुसमाचार यहोवाको इच्छाको पूर्ति, उहाँको नाउँको पवित्रीकरण अनि उहाँको सार्वभौमिकता उच्च पार्नुसित सम्बन्धित थियो र मानिसजातिले सामना गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण विवादहरू यिनै हुन्‌। (मत्ती ६:९, १०) येशूले आफ्नो पितालाई प्रेम गर्नुहुने हुँदा अन्तसम्मै आफ्नो निष्ठा कायम राख्न अनि ती विवादहरू समाधान गर्ने परमेश्‍वरको राज्यबारे विस्तृत साक्षी दिन उहाँ उत्प्रेरित हुनुभयो। (यूहन्‍ना १४:३१) येशूका अनुयायीहरूसित पनि आज त्यस्तै उत्प्रेरणा भएको हुँदा तिनीहरू सेवकाईमा लगनशील भएर भाग लिन्छन्‌। प्रेरित यूहन्‍नाले यसो भने: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो” र यो आज्ञामा सुसमाचार प्रचार गर्नु र चेला बनाउनु पनि समावेश छ।—१ यूहन्‍ना ५:३; मत्ती २८:१९, २०.

९, १०. परमेश्‍वरप्रति प्रेमको अलावा अर्को कस्तो प्रेमले हामीलाई विस्तृत साक्षी दिन उत्प्रेरित गर्छ?

येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ।” (यूहन्‍ना १४:१५, २१) येशूप्रतिको प्रेमले सत्यबारे साक्षी दिन तथा येशूले आज्ञा गर्नुभएका अरू कुराहरू पालन गर्न हामीलाई उत्प्रेरित गर्नुपर्छ। पुनरुत्थानपश्‍चात्‌ देखापर्नुभएको एउटा घटनामा येशूले पत्रुसलाई यस्तो आग्रह गर्नुभयो: “मेरा पाठाहरू चराऊ। . . . मेरा भेडाहरूको हेरचाह गर। . . . मेरा [साना] भेडाहरूलाई चराऊ।” यसो गर्न पत्रुसलाई कुन कुराले उत्प्रेरित गर्नुपर्थ्यो? येशूले पटक पटक पत्रुसलाई सोध्नुभएको प्रश्‍नमा यसको जवाफ पाउन सकिन्छ: “के तिमी मलाई . . . प्रेम गर्दछौ? . . . के तिमी मलाई प्रेम गर्दछौ? . . . के तिमी मलाई प्रेम गर्छौ?” हो, येशूप्रति पत्रुसको प्रेम र उहाँप्रतिको स्नेहले तिनलाई विस्तृत साक्षी दिन अनि “[साना] भेडाहरू” भेट्टाउन र त्यसपछि तिनीहरूको आध्यात्मिक गोठालो बन्‍न उत्प्रेरित गर्ने थियो।—यूहन्‍ना २१:१५-१७.

१० पत्रुसले जस्तो आज हामीले येशूलाई व्यक्‍तिगत तवरमा चिनेका त छैनौं। तैपनि, येशूले हाम्रो लागि गर्नुभएका कुराहरूको गहन महत्त्व बुझेका छौं। “हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्न” उहाँलाई तयार बनाएको महान्‌ प्रेमले हाम्रो हृदय छुन्छ। (हिब्रू २:९; यूहन्‍ना १५:१३) पावलले निम्न शब्दहरू लेख्दा जस्तो महसुस गरे, हामी पनि त्यस्तै महसुस गर्छौं: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, . . . उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ।” (२ कोरिन्थी ५:१४, १५) येशूले हामीप्रति देखाउनुभएको प्रेमलाई हामी गम्भीरतापूर्वक लिन्छौं भनेर देखाउँछौं अनि विस्तृत साक्षी दिन उहाँले दिनुभएको आज्ञालाई गम्भीरतापूर्वक लिएर हामी पनि उहाँप्रति प्रेम देखाउँछौं। (१ यूहन्‍ना २:३-५) येशूको बलिदानलाई साधारण मोलको ठानेजस्तै गरेर हामी प्रचारकार्यप्रति कहिल्यै लापरवाह मनोवृत्ति राख्न चाहँदैनौं।—हिब्रू १०:२९.

महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्ने

११, १२. येशू कुन उद्देश्‍यको लागि यस पृथ्वीमा आउनुभयो अनि उहाँको लागि यो नै सबैभन्दा महत्त्वपूर्ण काम थियो भनेर उहाँले कसरी देखाउनुभयो?

११ पन्तियस पिलातसको सामु खडा हुँदा येशूले यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७, NRV) सत्यबारे साक्षी दिनदेखि येशूले आफूलाई कुनै पनि कुराले अलमल्याउन दिनुभएन। उहाँको लागि परमेश्‍वरको इच्छा त्यही नै थियो।

१२ यस सन्दर्भमा शैतानले अवश्‍यै येशूको परीक्षा गऱ्‍यो। येशूले बप्तिस्मा लिनुभएको अलिक समयपछि शैतानले उहाँलाई यस संसारमा ठूलो मानिस बनाउने र “जगत्‌का सबै राज्य र तिनको गौरव” दिने प्रस्ताव राख्यो। (मत्ती ४:८, ९) पछि, यहूदीहरूले उहाँलाई राजा बनाउन खोजे। (यूहन्‍ना ६:१५) येशूले ती प्रस्ताव स्वीकार्नुभएको भए हुन सक्ने सम्भाव्य लाभबारे कसै-कसैले विचार गर्लान्‌। जस्तै, मानव राजाको हैसियतमा येशूले मानवजातिको लागि निकै राम्रा राम्रा कामहरू गर्न सक्नुहुन्थ्यो भन्‍ने तर्क गर्लान्‌। तर येशूले त्यस्तो सोचाइलाई तिरस्कार गर्नुभयो। उहाँले सत्यबारे साक्षी दिन आफ्नो ध्यान केन्द्रित गर्नुभयो।

१३, १४. (क) कुन कुराले येशूलाई आफ्नो प्रमुख कामबाट अलमल्याउन सकेन? (ख) येशू भौतिक तवरमा गरिब हुनुभए तापनि उहाँले कुन कुरा सम्भव तुल्याउनुभयो?

१३ साथै, धनसम्पत्ति कमाउने दौडधूपमा येशू अलमलिनुभएन। त्यसकारण उहाँको जीवन सुखसुविधा सम्पन्‍न थिएन। उहाँको आफ्नै घरसमेत थिएन। एक चोटि उहाँले यसो भन्‍नुभयो: “फ्याउराहरूका प्वाल र आकाशका चरा-चुरुंगीहरूका गुँड हुन्छन्‌, तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ पनि छैन।” (मत्ती ८:२०) येशूको मृत्यु हुँदा उहाँसित भएको मूल्यवान्‌ कुराबारे रेकर्ड गरिएको एउटै चीज उहाँको अलखा थियो जसलाई रोमी सिपाहीहरूले गोला हाले। (यूहन्‍ना १९:२३, २४) के त्यसो भए येशूको जीवन असफल थियो त? कदापि थिएन!

१४ सबैभन्दा धनाढ्य समाजसेवीले गर्न सक्ने भन्दा निकै ठूलो कुरा येशूले सम्भव तुल्याउनुभयो। पावलले यसो भने: “हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहै छ, कि उहाँको दरिद्रताबाट तिमीहरू धनी होओ भनेर, उहाँ धनी भएर पनि, तिमीहरूका खातिर दरिद्र हुनुभयो।” (२ कोरिन्थी ८:९; फिलिप्पी २:५-८) भौतिक तवरमा गरिब भए तापनि येशूले नम्र व्यक्‍तिहरूलाई सिद्धतामा अनन्त जीवनको आनन्द उठाउने ढोका खोलिदिनुभयो। यसको लागि हामी उहाँप्रति कति कृतज्ञ छौं! अनि उहाँले पाउनुभएको इनाममा हामी औधी रमाउँछौं किनभने उहाँले परमेश्‍वरको इच्छा गर्नमै आफ्नो ध्यान केन्द्रित गर्नुभयो!—भजन ४०:८; प्रेरित २:३२, ३३, ३६.

१५. धनसम्पत्तिभन्दा बहुमूल्य कुरा के हो?

१५ आज येशूको अनुकरण गर्न कोसिस गर्ने मसीहीहरू पनि धनसम्पत्ति कमाउने दौडधूपले आफूलाई अलमल्याउन दिंदैनन्‌। (१ तिमोथी ६:९, १०) धनसम्पत्तिले जीवन आरामदायी बनाउन सक्छ भन्‍ने कुरा तिनीहरू मानिलिन्छन्‌ तर सम्पत्तिले अनन्तकालीन भविष्य दिन सक्दैन भनेर तिनीहरूलाई थाह छ। येशूको मृत्यु हुँदा उहाँको अलखा उहाँको लागि कुनै मोलको नभएझैं कुनै एक जना मसीहीको मृत्यु हुँदा तिनको भौतिक धनसम्पत्ति तिनको लागि कुनै मोलको हुँदैन। (उपदेशक २:१०, ११, १७-१९; ७:१२) मसीहीको मृत्यु हुँदा तिनको लागि साँचो मोलको एउटै कुरा भनेको यहोवा र येशू ख्रीष्टसित तिनको सम्बन्ध हो।—मत्ती ६:१९-२१; लूका १६:९.

विरोधको कारण पछि हट्‌नुभएन

१६. येशूले विरोधको सामना कसरी गर्नुभयो?

१६ विरोधको कारण येशू सत्यको साक्षी दिने आफ्नो कामदेखि अलमलिनुभएन। पार्थिव सेवकाईको अन्तमा आफ्नो जीवन बलिदानको रूपमा चढाएर मर्नुपर्ने कुरा थाह भए तापनि उहाँ निरुत्साहित हुनुभएन। येशूबारे पावलले यसो भने: “जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको [“शासनाको खम्बाको,” NW] शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) याद गर्नुहोस्‌, येशूले “शर्मलाई घिन” गर्नुभयो। विरोधीहरूले आफूबारे के सोच्छन्‌ भनेर उहाँ चिन्तित हुनुभएन। परमेश्‍वरको इच्छा गर्नमै उहाँले आफ्नो ध्यान केन्द्रित गर्नुभयो।

१७. येशूले देखाउनुभएको धैर्यबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१७ येशूले देखाउनुभएको धैर्यको पाठ व्यवहारमा उतार्ने तरिका औंल्याउँदै पावल मसीहीहरूलाई यस्तो प्रोत्साहन दिन्छन्‌: “पापीहरूबाट उहाँको विरुद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर, औ मन शिथिल भई तिमीहरू थाकेर नजाओ।” (हिब्रू १२:३) हो, दिनदिनै विरोध वा उपहासको सामना गर्नुपर्दा थकित हुन सकिन्छ। संसारले देखाउने आकर्षणहरूको प्रतिरोध गरिरहनु र सायद, “केही बनेर देखाऊ” भन्‍ने नातेदारहरूको आलोचना खपिरहनुपर्दा लखतरान हुन सकिन्छ। तथापि, परमेश्‍वरको राज्यलाई आफ्नो जीवनमा प्राथमिकता दिन कटिबद्ध हुँदै सहयोगको लागि येशूजस्तै हामी पनि यहोवामा भर पर्छौं।—मत्ती ६:३३; रोमी १५:१३; १ कोरिन्थी २:४.

१८. येशूले पत्रुसलाई भन्‍नुभएको कुराबाट हामी कस्तो राम्रो पाठ सिक्न सक्छौं?

१८ आउँदै गरेको आफ्नो मृत्युबारे चेलाहरूलाई बताउन थाल्नुहुँदा अन्य कुरामा नअलमलिन कटिबद्ध भएको कुरा येशूले देखाउनुभयो। पत्रुसले येशूलाई आफूप्रति “कृपा” गर्नुहोस्‌ भनेर आग्रह गरे अनि उहाँमाथि “यस्तो कुरा . . . कदापि परिआउने छैन” भन्‍ने आश्‍वासन दिए। यहोवाको सेवा गर्ने आफ्नो सङ्‌कल्पलाई कमजोर बनाउन सक्ने कुनै पनि कुरा सुन्‍न येशूले इन्कार गर्नुभयो। उहाँले पत्रुसतिर फर्केर यसो भन्‍नुभयो: “ए शैतान, मेरो सामनेबाट हटिजा, तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस्‌। किनभने तँ परमेश्‍वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्‌।” (मत्ती १६:२१-२३) मानिसहरूको सोचाइलाई तिरस्कार गर्न हामी पनि सदैव यसरी नै कटिबद्ध हौऔं। बरु, हामी सधैं परमेश्‍वरको सोचाइअनुसार चलौं।

वास्तविक लाभहरू ल्याउने

१९. येशूले थुप्रै चमत्कारहरू गर्नुभए तापनि उहाँको सेवकाईको सबैभन्दा महत्त्वपूर्ण पक्ष के थियो?

१९ आफू मसीह हुँ भन्‍ने कुरा देखाउन येशूले धेरै चमत्कारहरू गर्नुभयो। उहाँले मरेकाहरूलाई समेत बिउँताउनुभयो। ती कार्यहरूले भीडलाई आकर्षित गऱ्‍यो तर येशू सामाजिक कार्य गर्न मात्र पृथ्वीमा आउनुभएको थिएन। उहाँ सत्यको साक्षी दिन आउनुभएको थियो। आफूले दिने जुनसुकै भौतिक लाभ अस्थायी मात्र हो भनेर उहाँलाई थाह थियो। पुनरुत्थान भएकाहरू समेत फेरि मर्ने थिए। सत्यको साक्षी दिएर मात्र उहाँले कसै-कसैलाई अनन्त जीवन प्राप्त गर्न मदत गर्न सक्नुहुने थियो।—लूका १८:२८-३०.

२०, २१. असल काम गर्ने सन्दर्भमा साँचो मसीहीहरूले कस्तो सन्तुलन कायम गर्छन्‌?

२० आज, कोही-कोही मानिसहरू अस्पताल खोलेर वा संसारका गरिबहरूको लागि अन्य सामाजिक सेवा गरेर येशूले गर्नुभएका असल कामहरूको अनुकरण गर्न खोज्छन्‌। कुनै-कुनै अवस्थामा तिनीहरू आफैले ठूलो खर्च बेहोरेर यसो गर्छन्‌ अनि तिनीहरूको इमानदारिता प्रशंसायोग्य छ। तर तिनीहरूले दिने जस्तोसुकै राहत केवल क्षणिक हुन्छ। परमेश्‍वरको राज्यले मात्र स्थायी उद्धार गर्नेछ। यसर्थ यहोवाका साक्षीहरू येशूले झैं परमेश्‍वरको त्यो राज्यबारे सत्यको साक्षी दिने काममा ध्यान केन्द्रित गर्छन्‌।

२१ निस्सन्देह, साँचो मसीहीहरूले पनि असल काम गर्छन्‌। पावलले यस्तो लेखे: “मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) सङ्‌कटको बेला वा कोही खाँचोमा पर्दा हाम्रा छिमेकी वा हाम्रा मसीही भाइहरूको लागि “भलाइको काम” गर्न हामी हिचकिचाउँदैनौं। तैपनि, जुन कुरालाई प्रमुख ध्यान दिनुपर्ने हो, त्यसलाई हामी बिर्संदैनौं—त्यो हो, सत्यको साक्षी दिने।

येशूको उदाहरणबाट सिक्नुहोस्‌

२२ पावलले यस्तो लेखे: “सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।” (१ कोरिन्थी ९:१६) तिनले सुसमाचारलाई हल्कासित लिएनन्‌ किनभने यो प्रचार गर्नु भनेको तिनी स्वयम्‌ र तिनको कुरा सुन्‍नेहरूको लागि जीवन थियो। (१ तिमोथी ४:१६) हामी पनि आफ्नो सेवकाईप्रति त्यस्तै दृष्टिकोण राख्छौं। हामी आफ्ना छिमेकीहरूलाई मदत गर्न चाहन्छौं। हामी यहोवाप्रति आफ्नो प्रेम देखाउन चाहन्छौं। हामी येशूप्रति आफ्नो प्रेम र हाम्रो लागि उहाँले देखाउनुभएको महान्‌ प्रेमप्रति मूल्याङ्‌कन प्रमाणित गर्न चाहन्छौं। यसर्थ, हामी सुसमाचार प्रचार गर्छौं अनि “मानिसको अभिलाषामा होइन, तर परमेश्‍वरको इच्छामा” जीवन बिताउँछौं।—१ पत्रुस ४:१, २.

२३ अरूले हामीलाई गिज्याउँदा वा रिसले चूर भएर हाम्रो सन्देशलाई इन्कार गर्दा येशूजस्तै हामी पनि आफ्नो प्रमुख कार्यबाट अलमलिदैनौं। येशूले पत्रुस र अन्द्रियासलाई आफ्नो पछि लाग्न बोलाउनुहुँदा गर्नुभएको चमत्कारबाट हामी पाठ सिक्न सक्छौं। हामीले येशूको आज्ञा पालन गऱ्‍यौं अनि लाक्षणिक अर्थमा भन्‍ने हो भने, फलदायी नभए जस्तो देखिने इलाकामा समेत हाम्रो जाल फिजायौं भने माछा समात्ने काम फलदायी हुन सक्छ। फलदायी नभए जस्तो देखिने इलाकाहरूमा समेत वर्षौंको मेहनतपछि थुप्रै मसीही मछुवाहरूले धेरै माछा समात्न सकेका छन्‌। अरू भने माछा समात्ने काम फलदायी हुने इलाकामा बसाइँ सरेर त्यहाँ प्रशस्त माछा समात्न सकेका छन्‌। चाहे जेसुकै गरौं, जाल बिछ्याउन हामी कहिल्यै छोड्‌ने छैनौं। येशूले यस पृथ्वीको कुनै पनि भागमा अब प्रचारकार्य गर्न पुग्यो भनेर घोषणा गरिसक्नुभएको छैन भनी हामीलाई थाह छ।—मत्ती २४:१४.

२४ अहिले २३० भन्दा बढी मुलुकमा यहोवाका ६० लाखभन्दा बढी साक्षीहरू व्यस्त छन्‌। प्रहरीधरहरा, फेब्रुअरी १, २००५ को अंकमा २००४ सेवा वर्षको दौडान भएको गतिविधिबारे विश्‍वव्यापी वार्षिक रिपोर्ट प्रकाशित गरिनेछ। त्यस रिपोर्टले प्रचारकार्यमा यहोवाको प्रचुर मात्रामा आशिष्‌ भएको देखाउनेछ। यस रीतिरिवाजको बाँकी समयमा हामी पावलका यी उत्प्रेरणादायी शब्दहरूलाई हृदयङ्‌गम गर्न सकौं: “वचन प्रचार गर, . . . तयार रह।” (२ तिमोथी ४:२) यहोवाले काम पूरा भयो नभन्‍नुभएसम्म हामी विस्तृत साक्षी दिइरहन सकौं।

यस वर्षदेखि यहोवाका साक्षीहरूको विश्‍वव्यापी रिपोर्ट जनवरी १ अंकको प्रहरीधरहरा-मा प्रकाशित हुनेछैन। फेब्रुअरी १ को अंकमा प्रकाशित हुनेछ।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• येशूले आफ्ना चेलाहरूलाई दिनुभएको प्रशिक्षणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

• आफूले प्रचार गरेका मानिसहरूप्रति येशूको दृष्टिकोण कस्तो थियो?

• विस्तृत साक्षी दिन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ?

• हामी कुन-कुन तरिकामा येशूले जस्तै परमेश्‍वरको इच्छा गर्नमा आफ्नो ध्यान केन्द्रित गर्न सक्छौं?

[प्रश्‍नहरू]

२२. मसीहीहरू आफ्ना छिमेकीहरूलाई किन प्रचार गर्छन्‌?

२३, २४. (क) माछाको चमत्कारबाट हामी कस्तो पाठ सिक्छौं? (ख) आज कसले विस्तृत साक्षी दिइरहेका छन्‌?

[पृष्ठ १५-मा भएको चित्र]

मानिसहरूप्रति येशूले जस्तै चासो देखायौं भने हामी आफ्नो सेवकाईमा प्रभावकारी हुनेछौं

[पृष्ठ १६-मा भएको चित्र]

येशू मुख्यतया सत्यको साक्षी दिन यस पृथ्वीमा आउनुभयो

[पृष्ठ १७-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरू विस्तृत साक्षी दिनमा आफ्नो ध्यान केन्द्रित गर्छन्‌