सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं आफ्नो भाग्य नियन्त्रण गर्न सक्नुहुन्छ?

के तपाईं आफ्नो भाग्य नियन्त्रण गर्न सक्नुहुन्छ?

के तपाईं आफ्नो भाग्य नियन्त्रण गर्न सक्नुहुन्छ?

के हाम्रो भाग्य पूर्वनिर्धारित छ? हामीले जीवनमा गर्ने छनौटहरूले के हाम्रो भविष्यलाई कुनै असर गर्दैन?

मानौं, मानिस आफ्नो भाग्यविधाता आफै हो। के यस्तो अवस्थामा कुनै खास काम गर्न वा कुनै जिम्मेवारी निभाउन उसलाई पूर्वनिर्धारण गर्न सकिन्छ? अनि यदि मानिस आफ्नो भाग्य आफै निर्धारण गर्न स्वतन्त्र भएको भए परमेश्‍वरले कसरी पृथ्वीको लागि आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्थ्यो? बाइबलले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।

पूर्वनिर्धारण र स्वतन्त्र इच्छा—के मेल खान्छ?

यहोवाले हामीलाई कसरी बनाउनुभयो, विचार गर्नुहोस्‌। बाइबल यसो भन्छ, “परमेश्‍वरकै स्वरूपमा उहाँले [मानिसलाई] सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) परमेश्‍वरकै प्रतिरूपमा सृष्टि गरिएको हुँदा हामीसित प्रेम, न्याय, बुद्धि र शक्‍तिजस्ता उहाँका गुणहरू झल्काउने क्षमता छ। परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छा अथवा छनौट गर्ने स्वतन्त्रताको वरदान पनि दिनुभएको छ। यसले गर्दा उहाँका अन्य पार्थिव सृष्टिभन्दा हामी बेग्लै छौं। परमेश्‍वरको नैतिक डोऱ्‍याइ पछ्याउने वा नपछ्याउने भनी हामी छनौट गर्न सक्छौं। त्यसैले अगमवक्‍ता मोशाले यसो भन्‍न सके: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो।”—व्यवस्था ३०:१९, २०.

यद्यपि, स्वतन्त्रताको छनौट गर्ने उपहारको अर्थ पूर्ण स्वतन्त्रता होइन। ब्रह्‍माण्डको स्थायित्व र शान्तिको लागि परमेश्‍वरले बनाउनुभएको नैतिक तथा भौतिक नियमबाट यसले हामीलाई मुक्‍त गर्दैन। यी नियमहरू हाम्रै हितका लागि बनाइएका थिए अनि यसको उल्लङ्‌घनले गम्भीर परिणामहरू निम्त्याउन सक्थ्यो। गुरुत्वाकर्षणको नियमलाई लत्याउँदै हामी अल्गो भवनको छानोबाट हाम फाल्यौं भने के हुनेछ, कल्पना गर्नुहोस्‌ त।—गलाती ६:७.

स्वतन्त्रताको छनौटले हामीलाई केही प्रतिबन्धहरूमा पनि बाँध्छ तर स्वतन्त्रताको छनौट नहुने प्राणीहरूमा यस्ता प्रतिबन्धहरू हुँदैन। लेखक कर्लिस लेमण्ट यस्तो प्रश्‍न गर्छन्‌: “यदि मानिसले गर्ने छनौट तथा उसका कार्यहरू पूर्वनिर्धारित भइसकेको हुन्छ भनेर मानिलिने हो भने . . . . . उसले गर्ने गलत कामको लागि के उसलाई जबाफदेही ठहराउन अनि कुनै दण्ड दिन मिल्छ र?” अवश्‍य मिल्दैन। आफ्नो सहज-ज्ञान अनुरूप चल्ने पशुहरूले गर्ने कामहरूको लागि तिनीहरूलाई नैतिक तवरमा जिम्मेवार ठहराइँदैन न त कुनै एउटा निश्‍चित कार्य सम्पन्‍न गर्न बनाइएको कम्प्युटर-प्रोगाम त्यसको कामको लागि जबाफदेही ठहराइन्छ। त्यसैले स्वतन्त्रताको छनौटले हाम्रो काँधमाथि गह्रौं जिम्मेवारी राखिदिन्छ। अनि हामीलाई आफ्नो कामको लागि जबाफदेही बनाउँछ।

हामी जन्मनुअघि नै हामीले पछ्याउने बाटोलाई पूर्वनिर्धारण गर्ने र पछि गएर हाम्रो कामको लागि हामीलाई जिम्मेवार ठहराउने हो भने यहोवा परमेश्‍वर कति निर्दयी र अन्यायी साबित हुनुहुने थियो! तर उहाँले यसो गर्नुहुन्‍न किनकि “परमेश्‍वर प्रेम हुनुहुन्छ” अनि “उहाँका सबै काम न्यायसँगत छन्‌।” (१ यूहन्‍ना ४:८; व्यवस्था ३२:४) हामीलाई स्वतन्त्र इच्छा दिनुभएर उहाँले उत्ति नै खेर पूर्वनिर्धारित भविष्यप्रति विश्‍वास गर्नेहरूले भनेजस्तै ‘कसलाई बचाउने अनि कसलाई नष्ट गर्ने भनी पूर्वनिर्धारण गर्नुभएन।’ स्वतन्त्रताको छनौटले पूर्वनिर्धारित भविष्यलाई समेट्‌दैन।

हामीले गर्ने छनौटले हाम्रो नियतिलाई असर गर्नेछ भनी बाइबलले स्पष्ट देखाउँछ। उदाहरणको लागि, परमेश्‍वर गलत काम गर्नेहरूलाई यस्तो आह्वान गर्नुहुन्छ: “अब तिमीहरू हरेक आफ्नो खराब चाल र कुकर्मदेखि फर्क, . . . तब म तिमीहरूको केही नोक्सानी गर्नेछैनँ।” (यर्मिया २५:५, ६) यदि परमेश्‍वरले व्यक्‍तिविशेषको नियतिलाई पहिल्यै निर्धारण गर्नुभएको भए यो आह्वान अर्थहीन हुने थियो। साथै, परमेश्‍वरको वचन यसो भन्छ: “यसकारण पश्‍चाताप गर्नुहोस्‌, र फर्कनुहोस्‌, र तपाईंहरूका पाप मेटिओस्‌, औ प्रभुका उपस्थितबाट आरामको समय आओस्‌।” (प्रेरित ३:१९) आफ्नो भाग्यलाई परिवर्तन गर्न मानिसले लाख कोसिस गरे पनि केही गर्न सक्दैन भन्‍ने कुरा पहिल्यै थाह थियो भने यहोवाले मानिसहरूलाई पश्‍चात्ताप गर अनि फर्क भनी किन भन्‍नुहुन्थ्यो होला र?

धर्मशास्त्रले येशू ख्रीष्टसित स्वर्गमा राजाहरूको हैसियतमा शासन गर्न परमेश्‍वरद्वारा निम्त्याइएका व्यक्‍तिहरूबारे बताउँछ। (मत्ती २२:१४; लूका १२:३२) यद्यपि, यदि तिनीहरूले अन्तसम्म धीरज धारण नगरेमा तिनीहरूले त्यो सुअवसर गुमाउन सक्ने कुरा बाइबलले भन्छ। (प्रकाश २:१०) तिनीहरू चयन नगरिने कुरा परमेश्‍वरले पहिल्यै निर्णय गरिसक्नुभएको थियो भने बित्थामा तिनीहरूलाई निम्त्याउनु के खाँचो? प्रेरित पावलले आफ्ना सँगी विश्‍वासीहरूलाई भनेका शब्दहरूलाई पनि विचार गर्नुहोस्‌। उनले यस्तो लेखे: “हामीले त्यसको ज्ञान पाएपछि पनि जानी जानी पाप गर्दछौं भनेता . . . फेरि कुनै बलिदान बाँकी रहँदैन।” (हिब्रू १०:२६) परमेश्‍वरले तिनीहरूको भाग्यलाई पूर्वनिर्धारण गरिसक्नुभएको हुँदो हो त तिनीहरूलाई यस्तो चेतावनी दिनुको कुनै अर्थ हुने थिएन। तर के परमेश्‍वरले येशू ख्रीष्टसित शासन गर्न केही व्यक्‍तिहरूलाई भने पूर्वनिर्धारण गर्नुभएको छैन र?

पूर्वनिर्धारित—व्यक्‍तिविशेष अथवा एउटा समूह?

प्रेरित पावलले यस्तो लेखे, “[परमेश्‍वरले] हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्‌ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ, जसरी उहाँले, हामी उहाँका सामुन्‍ने प्रेममा पवित्र र निष्कलङ्‌क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै चुन्‍नुभयो, त्यसरी . . . आफ्नो निम्ति ख्रीष्ट येशूद्वारा धर्मपुत्र हुनलाई उहाँले हामीलाई अघिबाटै नियुक्‍त गर्नुभयो।” (एफिसी १:३-५) परमेश्‍वरले कुन कुरा पूर्वनिर्धारण गर्नुभएको छ अनि “संसारको उत्पत्तिभन्दा अघिबाटै” भन्‍नुको अर्थ के हो?

यस विवरणअनुसार प्रथम पुरुष आदमका केही सन्तानहरूलाई स्वर्गमा ख्रीष्टसितै शासन गर्न परमेश्‍वरले रोज्नुभएको छ। (रोमी ८:१४-१७, २८-३०; प्रकाश ५:९, १०) तर केही खास व्यक्‍तिविशेषहरू जन्मनुभन्दा हजारौं वर्षअघि नै तिनीहरूलाई यस सुअवसर पाउन पूर्वनिर्धारण गर्नुभएको कुरा र मानिसलाई छनौटको स्वतन्त्रता दिइएको कुरा एक-अर्कासित बाझिन्छ। परमेश्‍वरले एउटा समूह अथवा मानिसहरूको वर्गलाई पूर्वनिर्धारण गर्नुभयो तर व्यक्‍तिविशेषलाई होइन।

उदाहरणको लागि: मानिलिनुहोस्‌, कुनै सरकारले एउटा खास आयोग गठन गर्ने निर्णय गर्छ। सरकारले उक्‍त आयोगको काम, अधिकार तथा दायरा पूर्वनिर्धारण गर्छ। अन्ततः गठन भएको केही समयपछि आयोग क्रियाशील हुन्छ र यसका सदस्यहरूले यस्तो वक्‍तव्य निकाल्छन्‌: “हामीले गर्ने काम के-के हुनेछ भनेर सरकारले वर्षौं अगाडि निर्णय गरिसकेको थियो। अब हामी आफूलाई खटाइएको काम थाल्छौं।” त्यसोभए सरकारले उक्‍त आयोगका सदस्यहरू को-को हुनेछन्‌ भनेर पनि केही वर्ष पहिल्यै पूर्वनिर्धारण गरिसकेको हुनै पर्छ भन्‍ने निष्कर्षमा के तपाईं पुग्नुहुन्छ? अवश्‍य पुग्नुहुन्‍न। त्यसरी नै यहोवाले आदमको पापका असरहरूलाई हटाउन एउटा विशेष आयोग गठन गर्ने कुरा पूर्वनिर्धारण गर्नुभयो। उहाँले उक्‍त आयोगमा काम गर्ने व्यक्‍तिहरूको वर्गलाई पूर्वनिर्धारण गर्नुभयो—तर व्यक्‍तिविशेषलाई चाहिं होइन। तिनीहरूलाई पछि चयन गरिने थियो र तिनीहरूले जीवनमा गर्ने निर्णयहरूद्वारा तिनीहरू अन्ततः चयन हुन्छन्‌ या हुँदैनन्‌ भन्‍ने कुरालाई असर गर्ने थियो।

“[परमेश्‍वरले] संसारको उत्पत्तिभन्दा अघिबाटै चुन्‍नुभयो,” भनी प्रेरित पावलले बताउँदा उनले कुन संसारबारे चर्चा गरिरहेका थिए? पावलले यहाँ चर्चा गरेको संसार परमेश्‍वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा सुरु गर्नुभएको संसार होइन। त्यो संसार त “साह्रै राम्रो” थियो र त्यसमा पाप र भ्रष्टताको छायासम्म थिएन। (उत्पत्ति १:३१) यस संसारलाई पापबाट “उद्धार” गर्नुपर्ने कुनै खाँचो थिएन।—एफिसी १:७.

आदम र हव्वाले अदनको बगैंचामा विद्रोह गरिसकेपछिको संसारलाई पावलले सङ्‌केत गर्न खोजेका थिए जुन परमेश्‍वरको सुरुको उद्देश्‍यसित बिलकुलै मेल खाँदैनथ्यो। यो आदम र हव्वाका छोराछोरीबाट सुरु भएको संसार थियो। त्यो संसारमा परमेश्‍वरबाट अलग्गिएका अनि पाप र भ्रष्टताको दासत्वमा परेका मानिसहरू थिए। यसमा जानीबुझीकन पाप गर्ने आदम र हव्वाजस्तो मानिस नभएर उद्धार पाउन लायकका मानिसहरू थिए।—रोमी ५:१२; ८:१८-२१.

अदनको बगैंचाको विद्रोहबाट उब्जेको समस्यालाई तुरुन्तै समाधान गर्न यहोवा सक्षम हुनुहुन्थ्यो। यो आवश्‍यकता खडा हुने बित्तिकै उहाँले येशू ख्रीष्टको मातहतमा मसीही राज्यको रूपमा एउटा आयोग पहिल्यै गठन गर्नुभयो जुन उहाँले मानिसजातिलाई आदमको पापबाट छुटकारा दिन प्रयोग गर्नुहुने थियो। (मत्ती ६:१०) उद्धार पाउन लायकका मानिसजातिको “संसारको उत्पत्तिभन्दा अघिबाटै” अर्थात्‌ विद्रोही आदम र हव्वाले सन्तान जन्माउनुअघि नै परमेश्‍वरले यसो गर्नुभयो।

आफूले चिताएको कामकुरा पूरा गर्न मानिसजातिलाई अक्सर कार्य-योजना चाहिन्छ। पूर्वनिर्धारणको शिक्षा सबै कुरा पूर्वनिश्‍चित भएको ब्रह्‍माण्डको विस्तृत योजना परमेश्‍वरसित हुनै पर्छ भन्‍ने सोचाइसँग सम्बन्धित छ। रोय वेदरफोर्ड यस्तो लेख्छन्‌, “कुनै पनि घटनाको सानो-से-सानो कारण छुट्‌नु पनि सार्वभौम परमेश्‍वरसित पटक्कै मेल नखाने कुरा हो भन्‍ने सोचाइ थुप्रै दर्शनशास्त्रीहरूले राख्छन्‌ जस्तो देखिन्छ।” के परमेश्‍वरले हरेक घटनाबारे एक-एक विवरण तोक्नु आवश्‍यक छ र?

अनन्त शक्‍ति अनि अतुलनीय बुद्धि भएको हुनाले आफ्ना प्राणीहरूले स्वतन्त्रताको इच्छा प्रयोग गर्दा आइपर्ने कुनै पनि आकस्मिक र भइपरीआउने कुरालाई सुल्झाउने क्षमता यहोवासित छ। (यशैया ४०:२५, २६; रोमी ११:३३) उहाँले चुट्‌कीको भरमा अनि कुनै विस्तृत योजना नबनाईकनै यसो गर्न सक्नुहुन्छ। सीमितताहरू भएका घरी-घरी चुकिरहने मानिसहरू जस्तो उहाँ नहुनुभएकोले पृथ्वीका हरेक व्यक्‍तिको भाग्य पहिल्यै निर्धारण गर्न विस्तृत तथा निश्‍चित योजनाको उहाँलाई कुनै आवश्‍यकता छैन। (हितोपदेश १९:२१) धेरै बाइबल अनुवादहरूले एफिसी ३:११ लाई कुनै निश्‍चित योजना नभई “अनन्त उद्देश्‍य” भएको परमेश्‍वर भनी अनुवाद गरेका छन्‌।

तपाईं कसरी आफ्नो भविष्यलाई असर गर्न सक्नुहुन्छ

पृथ्वीको लागि परमेश्‍वरको एउटा उद्देश्‍य छ अनि उक्‍त उद्देश्‍य पूर्वनिर्धारित छ। प्रकाश २१:३, ४ यसो भन्छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” हो, यहोवाको सुरुको उद्देश्‍य अनुरूप नै यो पृथ्वी फेरि प्रमोदवन हुनेछ। (उत्पत्ति १:२७, २८) प्रश्‍न उठ्‌छ, के तपाईं त्यहाँ हुनुहुनेछ? यो कुरा तपाईंले आज गर्नुहुने छनौटमा निर्भर हुन्छ। यहोवाले तपाईंको भाग्य निर्धारण गर्नुभएको छैन।

अनन्त जीवन प्राप्त गर्न उहाँमाथि विश्‍वास खेती गर्नेहरू सबैको लागि परमेश्‍वरको पुत्र येशू ख्रीष्टको छुडौतीको बलिदानले अनन्त जीवन सम्भव तुल्याइदिएको छ। (यूहन्‍ना ३:१६, १७; प्रेरित १०:३४, ३५) बाइबल यसो भन्छ, “जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन।” (यूहन्‍ना ३:३६) तपाईं बाइबलबाट परमेश्‍वर, उहाँको पुत्र र उहाँको इच्छाबारे सिकेर अनि सिकेका कुराहरू व्यवहारमा लागू गरेर जीवन नै रोज्न सक्नुहुन्छ। परमेश्‍वरको वचनमा लिपिबद्ध साँचो बुद्धिअनुसार व्यवहार गर्नेहरू “बेफिक्री रहनेछन्‌ [र] दुर्दिनमा डरैविना . . . ढुक्क रहनेछन्‌” भन्‍ने आश्‍वासन दिइएको छ।—हितोपदेश १:२०, ३३.

[पृष्ठ ५-मा भएको चित्र]

पशुजस्तो नभई मानिस आफ्नो कामको लागि नैतिक रूपमा जबाफदेही छ

[स्रोत]

Eagle: Foto: Cortesía de GREFA