सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु

ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु

ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु

“येशूको साक्षी अगमवाणीको आत्मा हो।”—प्रकाश १९:१०.

१, २. (क) सा.यु. २९ देखि इस्राएलले कस्तो निर्णय गर्नुपऱ्‍यो? (ख) यस लेखमा कुन कुरा विचार गरिनेछ?

 सा.यु. २९ को कुरा हो, प्रतिज्ञा गरिएको मसीहबारे इस्राएलमा जताततै चर्चा चलिरहेको छ। बप्तिस्मा दिने यूहन्‍नाको सेवकाईले यो आशालाई झनै तीव्र बनाएको छ। (लूका ३:१५) आफू ख्रीष्ट नभएको कुरा यूहन्‍ना बताउँछन्‌। बरु, नासरतका येशूलाई औंल्याउँदै तिनी यसो भन्छन्‌: “परमेश्‍वरका पुत्र उहाँनै हुनुहुन्छ भनेर गवाही दिएको छु।” (यूहन्‍ना १:२०, ३४) यसको केही समयपछि नै येशूको शिक्षा सुन्‍न र उहाँद्वारा निको हुन भीड उहाँको पछि लाग्छ।

त्यसपछिका महिनाहरूमा यहोवा आफ्नो पुत्रबारे थुप्रै प्रमाणहरू दिनुहुन्छ। धर्मशास्त्र अध्ययन गरेका र येशूका कामहरू देखेका मानिसहरूसित उहाँमा विश्‍वास राख्ने ठोस आधार छ। तथापि, परमेश्‍वरले करार बाँध्नुभएका जनहरूले सामान्यतया विश्‍वासको कमी देखाउँछन्‌। येशू नै ख्रीष्ट र परमेश्‍वरको पुत्र हुनुहुन्छ भन्‍ने कुरा तुलनात्मक हिसाबले एकदमै थोरै व्यक्‍तिहरूले मात्र स्वीकार्छन्‌। (यूहन्‍ना ६:६०-६९) त्यतिबेला तपाईं जीवित हुनुभएको भए के गर्नुहुने थियो? के तपाईं येशूलाई मसीहको रूपमा स्वीकार्न र उहाँको विश्‍वासी अनुयायी बन्‍न उत्प्रेरित हुनुहुने थियो? येशूलाई विश्राम दिन भङ्‌ग गरेको आरोप लगाइँदा आफ्नो चिनारीको सन्दर्भमा उहाँ आफैले दिनुभएको प्रमाणका साथै आफ्ना वफादार चेलाहरूको विश्‍वास बलियो बनाउनको लागि उहाँले दिनुभएका थप प्रमाणहरूबारे विचार गर्नुहोस्‌।

येशू आफैले प्रमाण दिनुहुन्छ

३. कस्ता परिस्थितिहरूले येशूलाई आफ्नो परिचयबारे प्रमाण दिन बाध्य पाऱ्‍यो?

सा.यु. ३१ को निस्तार चाडको समय भएको छ। येशू यरूशलेममा हुनुहुन्छ। भर्खरै मात्र उहाँले ३८ वर्षदेखि बिरामी परेको मानिसलाई निको पार्नुभएको छ। यद्यपि, विश्राम दिनमा यस्तो काम गरेको कारण यहूदीहरू येशूलाई सतावट दिन्छन्‌। तिनीहरू उहाँलाई ईश्‍वर-निन्दाको आरोप पनि लगाउँछन्‌ र उहाँले परमेश्‍वरलाई आफ्नो पिता भन्‍नुभएको कारण उहाँलाई मार्न खोज्छन्‌। (यूहन्‍ना ५:१-९, १६-१८) येशूले आफ्नो पक्षमा बोल्नुभएका कुराहरूले तीनवटा शक्‍तिशाली तर्क पेस गर्छ, जसले इमानदार हृदय भएको कुनै पनि यहूदीलाई येशूको साँचो परिचयबारे विश्‍वस्त तुल्याउने थियो।

४, ५. यूहन्‍नाको सेवकाईको उद्देश्‍य के थियो र तिनले यो काम कत्तिको प्रभावकारी ढङ्‌गमा पूरा गरे?

पहिलो, येशू आफ्नो अग्रदूत बप्तिस्मा दिने यूहन्‍नाको गवाहीलाई औंल्याउँदै यसो भन्‍नुहुन्छ: “तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ, औ उनले सत्यताको लागि गवाही दिएका छन्‌। उनी बल्दो र चहकिलो बत्ती थिए, र तिमीहरू उनको उज्यालोमा थोरै समयसम्म रमाउन राजी भयौ।”—यूहन्‍ना ५:३३, ३५.

हेरोदले अन्यायपूर्वक झ्यालखानामा हाल्नुअघिसम्म बप्तिस्मा दिने यूहन्‍नाले मसीहको लागि बाटो तयार पार्ने आफ्नो ईश्‍वरीय कार्यभार पूरा गरेको हुनाले उनी “बल्दो र चहकिलो बत्ती” भए। यूहन्‍नाले यसो भने: “[मसीह] इस्राएलमा प्रकट होऊन्‌ भनेरनै म पानीले बप्तिस्मा दिंदै आएँ। . . . मैले आत्मालाई स्वर्गबाट परेवाझैं ओर्लंदै गर्नुभएको देखें, र उहाँमाथि बस्नुभयो। औ मैले उहाँलाई चिनेको थिइनँ, तर मलाई पानीले बप्तिस्मा दिन पठाउनुहुनेलेनै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी आत्मालाई ओर्लंदै र बस्तै गर्नुभएको देखौला, पवित्र आत्माले बप्तिस्मा दिने उहाँनै हुनुहुन्छ।’ औ मैले देखेको छु, औ परमेश्‍वरका पुत्र उहाँनै हुनुहुन्छ भनेर गवाही दिएको छु।” a (यूहन्‍ना १:२६-३७) येशू नै परमेश्‍वरको पुत्र अर्थात्‌ प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर यूहन्‍नाले तोकेरै चिनाए। यूहन्‍नाको गवाही यति स्पष्ट थियो कि तिनको मृत्यु भएको लगभग आठ महिनापछि इमानदार हृदय भएका थुप्रै यहूदीहरूले यसरी स्वीकारे: “जे जे यूहन्‍नाले यिनका विषयमा बोले सबै कुरा सत्य रहेछ।”—यूहन्‍ना १०:४१, ४२.

६. येशूको कामले गर्दा उहाँलाई परमेश्‍वरको समर्थन थियो भन्‍ने कुराबारे मानिसहरू किन विश्‍वस्त भएको हुनुपर्छ?

यसपछि, मसीहको रूपमा आफ्नो परिचय प्रमाणित गर्न येशू अर्को किसिमको तर्क चलाउनुहुन्छ। परमेश्‍वरको समर्थनको प्रमाणको रूपमा उहाँ आफ्नै असल कामहरूतर्फ औंल्याउनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “मसित यूहन्‍नाको भन्दा ठूलो गवाही छ, किनकि जुन कामहरू मैले पूरा गर्नलाई पिताले मलाई दिनुभएको छ, ती काम जे म गर्दछु, ती आफैले मेरो विषयमा, पिताले मलाई पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन्‌।” (यूहन्‍ना ५:३६) असंख्य चमत्कारहरू समावेश भएको यो प्रमाणलाई येशूका शत्रुहरूले समेत इन्कार गर्न सकेनन्‌। कोही-कोही पछि यस्तो प्रश्‍न गर्छन्‌: “अब हामी के गरौं? किनभने यस मानिसले ता धेरै चिह्नहरू गरिरहेछ।” (यूहन्‍ना ११:४७) यद्यपि, सकारात्मक प्रतिक्रिया देखाउँदै कोही-कोही यसो भन्छन्‌: “जब ख्रीष्ट आउनुहुनेछ, तब के यिनले गरेका यीभन्दा बढ्‌ता चिह्न उहाँले गर्नुहोला र?” (यूहन्‍ना ७:३१) येशूका श्रोताहरू पिताको गुण उहाँको पुत्रमा झल्किएको रहेछ भन्‍ने कुरा राम्ररी बुझ्न सक्ने अवस्थामा थिए।—यूहन्‍ना १४:९.

७. येशूबारे हिब्रू धर्मशास्त्रले कसरी गवाही दिन्छ?

अन्तमा, अकाट्य गवाहीप्रति येशू ध्यान खिच्नुहुन्छ। “मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्‌” भनेर बताउँदै उहाँ अझ यसो भन्‍नुहुन्छ: “तिमीहरूले मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए।” (यूहन्‍ना ५:३९, ४६, NRV ) निस्सन्देह, ख्रीष्टबारे लेख्ने थुप्रै मसीहीपूर्व साक्षीहरूमध्ये मोशा पनि एक जना थिए। तिनीहरूको लेखोटमा सयौं भविष्यवाणी तथा विस्तृत पुर्ख्यौली समावेश छन्‌ र यी सबैले मसीहलाई औंल्याउँछन्‌। (लूका ३:२३-३८; २४:४४-४६; प्रेरित १०:४३) अनि मोशालाई दिइएको व्यवस्था नि? “हामीलाई ख्रीष्टमा ल्याउनलाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो” भनी प्रेरित पावलले लेखे। (गलाती ३:२४) हो, “येशूको साक्षी अगमवाणीको आत्मा [वा मूल मर्म, सार र उद्देश्‍य] हो।”—प्रकाश १९:१०.

८. थुप्रै यहूदीहरूले किन मसीहमाथि विश्‍वास गरेनन्‌?

यी सबै प्रमाणहरू अर्थात्‌ यूहन्‍नाको सुस्पष्ट गवाही, येशू स्वयम्‌को शक्‍तिशाली काम तथा ईश्‍वरीय गुणहरू अनि धर्मशास्त्रको तीनथुप्रो सबुतले येशू नै मसीह हुनुहुन्थ्यो भन्‍ने कुराबारे के तपाईंलाई विश्‍वस्त तुल्याउने थिएन र? परमेश्‍वर र उहाँको वचनप्रति साँचो प्रेम भएको जोसुकैले पनि यो कुरा सजिलै बुझ्न र प्रतिज्ञा गरिएको मसीहको रूपमा येशूमाथि विश्‍वास गर्न सक्ने थियो। यद्यपि, इस्राएलमा साधारणतया यस्तो प्रेमको अभाव थियो। आफ्ना विरोधीहरूलाई येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरको प्रेम तिमीहरू आफैमा छैन भनी म जान्दछु।” (यूहन्‍ना ५:४२) “एक मात्र परमेश्‍वरबाट हुने महिमा” खोज्नुको सट्टा तिनीहरूले “एउटाले अर्कोबाट महिमा” लिइरहेका थिए। तिनीहरू येशूभन्दा भिन्‍न हुनु कुनै छक्कलाग्दो कुरा होइन किनभने उहाँको पिताले जस्तै येशू पनि यस्तो सोचाइलाई घृणा गर्नुहुन्छ।—यूहन्‍ना ५:४३, ४४; प्रेरित १२:२१-२३.

भविष्यसूचक दर्शनद्वारा बलियो बनाइयो

९, १०. (क) येशूका चेलाहरूलाई चिह्न दिइएको समय किन सामयिक थियो? (ख) येशूले आफ्ना चेलाहरूलाई कस्तो उल्लेखनीय प्रतिज्ञा गर्नुभयो?

आफू मसीह हो भन्‍ने कुराबारे येशूले माथि उल्लिखित प्रमाण दिनुभएको एक वर्ष बितिसकेको छ। सा.यु. ३२ को निस्तार चाड सिद्धिसकेको छ। सायद सतावट, भौतिकवाद वा जीवनका फिक्रीहरूको कारण उहाँमा पहिला विश्‍वास गरेका थुप्रैले उहाँलाई पछ्याउन छोडेका छन्‌। अरू भने येशूलाई राजा बनाउन मानिसहरूले गरेको प्रयासलाई उहाँले इन्कार गर्नुभएको कारण अलमल्लमा परेका वा निराश भएका हुन सक्छन्‌। यहूदी धार्मिक नेताहरूले चुनौती दिंदा उहाँले आफूलाई उच्च पार्न स्वर्गबाट कुनै चिह्न दिन इन्कार गर्नुभयो। (मत्ती १२:३८, ३९) यसरी इन्कार गरेको कारण कोही-कोही छक्क परेका हुन सक्छन्‌। साथै, येशूले आफ्ना चेलाहरूको लागि बुझ्न असाध्यै गाह्रो हुने केही कुरा तिनीहरूलाई प्रकट गर्न थाल्नुभएको छ—“उहाँ . . . यरूशलेममा जानु, र बूढा-प्रधान र मुख्य पूजाहारीहरू औ शास्त्रीहरूबाट धेरै शासना भोग्नु, र मारिनु . . . आवश्‍यक छ।”—मत्ती १६:२१-२३.

१० अबको नौ-दस महिनापछि येशू “यस संसारबाट पिताकहाँ जाने बेला” आउने छ। (यूहन्‍ना १३:१) आफ्ना वफादार चेलाहरूप्रति गहिरो चासो लिंदै तिनीहरूमध्ये केहीलाई उहाँ स्वर्गबाट चिह्न दिने प्रतिज्ञा गर्नुहुन्छ र यही नै कुरा अविश्‍वासी यहूदीहरूलाई दिन उहाँले इन्कार गर्नुभएको थियो। येशू यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खडा हुनेहरूमध्ये कोही छन्‌, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्‌।” (मत्ती १६:२८) उहाँका चेलाहरूमध्ये कोही-कोही सन्‌ १९१४ मा मसीही राज्य स्थापना नहोउन्जेलसम्म बाँच्नेछन्‌ भनेर येशूले पक्कै पनि भनिरहनुभएको होइन। आफू राज्यशक्‍तिमा आउने बेलाको महिमाको सानदार पूर्वझलक आफ्ना तीन जना घनिष्ठ चेलालाई देखाउने कुरा येशूको मनमा छ। दर्शनमार्फत देखाइएको यो पूर्वझलकलाई रूप परिवर्तन भनिन्छ।

११. रूप परिवर्तनको दर्शनको वर्णन गर्नुहोस्‌।

११ छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई एउटा अग्लो डाँडा—सम्भवतः हर्मोन पर्वतमालाको कुनै एउटा डाँडामा लैजानुहुन्छ। त्यहाँ “तिनीहरूका सामने उहाँको रूप परिवर्तन” हुन्छ अनि “उहाँको चेहेरा सूर्यझैं चम्कयो, औ उहाँको वस्त्र ज्योतिझैं सेतो भयो।” अगमवक्‍ता मोशा र एलिया पनि येशूसित कुरा गरिरहेको देखापर्छन्‌। यो विस्मयकारी घटना सम्भवतः राती भएको हुनाले यो अत्यन्त जीवन्त देखिएको हुनुपर्छ। वास्तवमा, यो दर्शन यत्ति वास्तविक छ कि पत्रुसले येशू, मोशा र एलियाको लागि तीनवटा पाल टाँग्ने इच्छा व्यक्‍त गर्छन्‌। पत्रुस बोलिरहँदा एउटा चम्किलो बादलले तिनीहरूलाई ढाक्छ र त्यस बादलबाट यसो भन्‍ने आवाज आउँछ: “यिनी मेरा प्रिय पुत्र हुन्‌, जसमा म प्रसन्‍न छु, तिमीहरूले उनको कुरा सुन।”—मत्ती १७:१-६.

१२, १३. रूप परिवर्तनको दर्शनले येशूका चेलाहरूमा कस्तो प्रभाव पाऱ्‍यो र किन?

१२ हो, येशू नै “जीवित परमेश्‍वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनेर पत्रुसले भर्खरै मात्र पुष्टि दिएका थिए। (मत्ती १६:१६) तर आफ्नो अभिषिक्‍त पुत्रको परिचय र भूमिकालाई पक्का गर्दै परमेश्‍वर स्वयम्‌ले प्रमाण दिएको सुन्दा कस्तो महसुस भयो होला, कल्पना गर्नुहोस्‌ त! रूप परिवर्तनको दर्शनले पत्रुस, याकूब र यूहन्‍नाको विश्‍वासलाई पक्कै बलियो बनायो! यसरी तिनीहरूको विश्‍वास एकदमै बलियो बनाइएको कारण आउनै लागेका कुराहरूका साथै भावी मण्डलीमा तिनीहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि तिनीहरू अझ राम्ररी तयार छन्‌।

१३ रूप परिवर्तनले चेलाहरूमा अमेट छाप पार्छ। तीस वर्षभन्दा पनि पछि पत्रुस यसरी लेख्छन्‌: “महाप्रतापी महिमाबाट [येशूलाई] यसो भन्‍ने वाणी आउँदा, ‘यिनी मेरा प्रिय पुत्र हुन्‌, यिनमा म अति प्रसन्‍न छु,’ उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँडामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।” (२ पत्रुस १:१७, १८) यस घटनाबाट यूहन्‍ना पनि यत्तिकै प्रभावित भएका छन्‌। यसको ६० वर्षभन्दा पनि पछि यसै घटनालाई स्पष्टसित सङ्‌केत गर्दै तिनी यसो भन्छन्‌: “हामीले उहाँको महिमा, पिताबाट आउनुभएको एक्लो पुत्रको जस्तो महिमा देख्यौं।” (यूहन्‍ना १:१४) यद्यपि, रूप परिवर्तनको दर्शन नै येशूका अनुयायीहरूलाई दिइएको अन्तिम दर्शन भने होइन।

परमेश्‍वरका वफादार जनहरूका लागि थप ज्योति

१४, १५. कुन अर्थमा येशू नआएसम्म यूहन्‍ना पर्खिरहने थिए?

१४ आफ्नो पुनरुत्थानपछि येशू गालीलको समुद्रको छेउमा आफ्ना चेलाहरू कहाँ देखापर्नुहुन्छ। त्यहाँ पत्रुसलाई येशू यसो भन्‍नुहुन्छ: “म नआएसम्म [यूहन्‍नाले] पर्खिरहून्‌ भन्‍ने मेरो इच्छा भए पनि तिमीलाई के सरोकार?” (यूहन्‍ना २१:१, २०-२२, २४) के यी शब्दहरूले प्रेरित यूहन्‍ना अरू प्रेरितहरूभन्दा लामो समयसम्म बाँच्नेछन्‌ भनी सङ्‌केत गर्छ? यस्तै देखिन्छ किनभने तिनले अझ लगभग ७० वर्षसम्म विश्‍वासीपूर्वक यहोवाको सेवा गर्छन्‌। तथापि, येशूको भनाइको अर्थ यति मात्र होइन।

१५ “म नआएसम्म” भन्‍ने अभिव्यक्‍तिले हामीलाई “मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल” भन्‍ने येशूको भनाइको सम्झना गराउँछ। (मत्ती १६:२८) यूहन्‍ना कुन अर्थमा येशू नआएसम्म पर्खिरहन्छन्‌ भने पछि तिनलाई येशू राज्यशक्‍तिमा आउँदै गर्नुभएको भविष्यसूचक दर्शन दिइन्छ। आफ्नो जीवनको अन्ततिर यूहन्‍ना पत्मोसको टापुमा निर्वासनमा छँदा तिनले “प्रभुको दिनमा” हुने सबै घटनाहरूका अद्‌भुत भविष्यसूचक चिह्नहरूसहितको प्रकाश पाउँछन्‌। यी सानदार दर्शनहरूद्वारा यूहन्‍ना यति धेरै उत्साहित हुन्छन्‌ कि येशूले “म चाँडै आउँछु” भन्दा यूहन्‍ना यस्तो उद्‌गार गर्छन्‌: “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।”—प्रकाश १:१, १०; २२:२०.

१६. हामीले आफ्नो विश्‍वास बलियो बनाइरहनु किन महत्त्वपूर्ण छ?

१६ प्रथम शताब्दीका इमानदार हृदय भएका मानिसहरू येशूलाई मसीहको रूपमा स्वीकार्छन्‌ र उहाँमा विश्‍वास राख्छन्‌। तिनीहरू वरपर भएका मानिसहरूको विश्‍वासको कमी, तिनीहरूले गर्नुपर्ने काम र आउँदै गरेको परीक्षालाई ध्यानमा राख्दा विश्‍वासी भइसकेकाहरूलाई अझ बलियो बनाउनु आवश्‍यक थियो। येशूले आफू मसीह हुँ भन्‍ने कुराको प्रशस्त प्रमाण दिनुका साथै आफ्ना वफादार अनुयायीहरूलाई प्रोत्साहन दिनको लागि ज्योति प्रदान गर्ने भविष्यसूचक दर्शनहरू दिइसक्नुभएको छ। आज हामी “प्रभुको दिनमा” बाँचिरहेको निकै समय भइसक्यो। चाँडै, ख्रीष्टले शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाजलाई नष्ट गर्नुहुनेछ र परमेश्‍वरका जनहरूलाई छुटाउनुहुनेछ। हाम्रो आध्यात्मिक हितको लागि यहोवाले मिलाउनुभएका सबै प्रबन्धहरूबाट पूरापूर लाभ उठाएर हामीले पनि आफ्नो विश्‍वासलाई बलियो बनाउनै पर्छ।

अन्धकार र सङ्‌कष्टबाट जोगाइएका

१७, १८. प्रथम शताब्दीमा येशूका अनुयायीहरू र परमेश्‍वरको उद्देश्‍यको विरोध गर्नेहरूबीच कस्तो अकास-पत्तालको भिन्‍नता थियो अनि ती प्रत्येक समूहले कस्तो-कस्तो नतिजा भोगे?

१७ येशूको मृत्युपछि चेलाहरूले “यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म” उहाँबारे साक्षी दिने आज्ञा साहसीपूर्वक पालन गर्छन्‌। (प्रेरित १:८) सतावटको बावजुद बामे सर्दै गरेको मसीही मण्डलीलाई यहोवाले आध्यात्मिक ज्योति र थुप्रै नयाँ चेलाहरूद्वारा आशिष्‌ दिनुहुन्छ।—प्रेरित २:४७; ४:१-३१; ८:१-८.

१८ अर्कोतर्फ, सुसमाचारको विरोध गर्नेहरूको प्रत्याशा भने झन्‌झनै अन्धकारमय हुँदै जान्छ। “दुष्टको चाल रातको अन्धकारजस्तै हो, आफ्नो पतन केमा हुँदैछ सो तिनीहरू जान्दैनन्‌” भनी हितोपदेश ४:१९ बताउँछ। सा.यु. ६६ मा रोमी सेनाले येरूशलेमलाई घेरा हालेपछि यो “अन्धकार” अझै बढ्‌छ। कुनै स्पष्ट कारणै विना केही समयको लागि फर्केपछि सा.यु. ७० मा रोमी सेना फेरि फर्कन्छ र यसपालि भने सहरलाई ध्वंस पार्छ। यहूदी इतिहासकार जोसेफसअनुसार दस लाखभन्दा बढी यहूदीहरू मारिन्छन्‌। तथापि, विश्‍वासी मसीहीहरू भने उम्कन्छन्‌। किन? किनभने पहिलो पटकको घेराबन्दी फुकुवा हुँदा येशूले दिनुभएको आज्ञा अनुरूप तिनीहरू त्यहाँबाट भाग्छन्‌।—लूका २१:२०-२२.

१९, २०. (क) वर्तमान रीतिरिवाजको अन्त नजिकिंदै जाँदा परमेश्‍वरका सेवकहरू किन डराउनु पर्दैन? (ख) सन्‌ १९१४ अघिका दशकहरूमा यहोवाले आफ्ना जनहरूलाई कस्तो उल्लेखनीय अन्तरदृष्टि दिनुभयो?

१९ हाम्रो अवस्था पनि यस्तै छ। आउँदै गरेको महासङ्‌कष्टले शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाजको अन्त्यको सङ्‌केत गर्नेछ। तर परमेश्‍वरका जनहरू डराउनुपर्नेछैन किनभने येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:२०) आफ्ना प्रारम्भिक चेलाहरूको विश्‍वास बलियो बनाउनका साथै आउँदै गरेको कुराको लागि तिनीहरूलाई तयार पार्न येशूले तिनीहरूलाई मसीही राजाको रूपमा आफ्नो स्वर्गीय महिमाको पूर्वझलक दिनुभयो। आज नि? सन्‌ १९१४ मा त्यो पूर्वझलक वास्तविकतामा परिणत भयो। अनि यो वास्तविकताले परमेश्‍वरका जनहरूको विश्‍वासलाई कत्ति धेरै बलियो बनाएको छ! यसमा अद्‌भुत भविष्यको प्रतिज्ञा समावेश छ अनि त्यो वास्तविकताबारे यहोवाका सेवकहरूलाई क्रमिक ढङ्‌गमा अन्तरदृष्टि दिइएको छ। अन्धकारमय हुँदै गइरहेको आजको संसारमा “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌झन्‌ चहकिलो हुँदैजान्छ।”—हितोपदेश ४:१८.

२० सन्‌ १९१४ भन्दा अघि नै अभिषिक्‍त मसीहीहरूको एउटा सानो समूहले प्रभुको पुनरागमनबारे महत्त्वपूर्ण सत्य बुझ्न थाल्यो। उदाहरणका लागि, येशू स्वर्ग फर्कनुहुँदा सा.यु. ३३ मा चेलाहरूसामु देखापरेका दुई जना स्वर्गदूतले सङ्‌केत गरेझैं यो पुनरागमन अदृश्‍य हुनेछ भन्‍ने कुरा तिनीहरूले बुझे। बादलले येशूलाई चेलाहरूको दृष्टिबाट ढाकेपछि ती स्वर्गदूतहरूले यसो भने: “यही येशू, जो तिमीहरूसँगबाट स्वर्गारोहण हुनुभएको छ, र अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर गइरहनुभएको देख्यौ, त्यसरीनै उहाँ फेरि आउनुहुनेछ।”—छड्‌के अक्षर हाम्रो, प्रेरित १:९-११.

२१. अर्को लेखमा कुन कुराबारे छलफल गरिनेछ?

२१ येशूको प्रस्थान उहाँका वफादार अनुयायीहरूले मात्र देखे। रूप परिवर्तनको बेलामा जस्तै त्यतिबेला पनि सबैलाई थाह हुने गरी कुनै भव्य समारोह आयोजना गरिएन; आम मानिसहरूले यो कुरा थाहसमेत पाएनन्‌। ख्रीष्ट राज्यशक्‍तिमा फर्कनुहुँदा पनि यही कुरा लागू हुने थियो। (यूहन्‍ना १४:१९) उहाँको राजकीय उपस्थिति उहाँका विश्‍वासी अभिषिक्‍त चेलाहरूले मात्र थाह पाउने थिए। यस अन्तरदृष्टिले तिनीहरूमा कसरी गहिरो असर पार्ने थियो र यसको फलस्वरूप तिनीहरूले येशूका पार्थिव प्रजा हुने लाखौं व्यक्‍तिहरूलाई जम्मा गर्ने थिए भन्‍ने कुरा हामी अर्को लेखमा बुझ्नेछौं।—प्रकाश ७:९, १४.

[फुटनोट]

a येशूले बप्तिस्मा लिनुहुँदा यूहन्‍नाले मात्र परमेश्‍वरको आवाज सुने भन्‍ने कुरा प्रस्ट छ। येशूले सम्बोधन गरिरहनुभएका यहूदीहरूले “[परमेश्‍वरको] सोर नता कुनै बेला सुनेका” छन्‌ “न उहाँको रूपनै देखेका” छन्‌।—यूहन्‍ना ५:३७.

के तपाईंलाई याद छ?

• येशूलाई विश्राम दिन उल्लङ्‌घन गरेको र ईश्‍वर-निन्दाको आरोप लगाइँदा आफू मसीह हुँ भन्‍ने कुरा देखाउन उहाँले कस्तो प्रमाण दिनुभयो?

• येशूका प्रारम्भिक चेलाहरूले रूप परिवर्तनको दर्शनबाट कसरी लाभ उठाए?

• आफू नआएसम्म यूहन्‍ना पर्खिबस्नेछन्‌ भनी येशूले बताउनुहुँदा उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

• सन्‌ १९१४ मा कुन पूर्वझलक वास्तविकतामा परिणत भयो?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

येशूले आफू नै मसीह भएको प्रमाण दिनुभयो

[पृष्ठ १२-मा भएको चित्र]

रूप परिवर्तनको दर्शनले विश्‍वास बलियो बनायो

[पृष्ठ १३-मा भएको चित्र]

येशू “नआएसम्म” यूहन्‍नाले पर्खिरहनुपर्ने थियो