सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब बुढेसकाल “शोभाको मुकुट” बन्छ

जब बुढेसकाल “शोभाको मुकुट” बन्छ

“मलाई गुहार यहोवाबाट नै आउँछ”

जब बुढेसकाल “शोभाको मुकुट” बन्छ

“सर्वोत्तम जीवन” १०१ वर्षीया म्युरेलले भनिन्‌। “साँच्चै एउटा अद्‌भुत सुअवसर” ७० वर्षीय थिओडोरसले आफ्नो जीवनलाई यसरी वर्णन गरे। “मेरो लागि जीवन बिताउने योभन्दा उत्तम तरिका अरू हुनै सक्दैन” ७३ वर्षीया मारियाले भनिन्‌। यिनीहरू सबैले यहोवा परमेश्‍वरको सेवामा आफ्नो सारा जीवन चढाएका थिए।

यहोवाका सक्रिय उपासकहरूबीच यस्ता वृद्धहरू कुनै नौलो कुरा होइन। ढल्कँदो उमेर, स्वास्थ्य समस्या र अन्य कठिन अवस्थाहरूको बावजुद यिनीहरू अझै पनि दिलोज्यान दिएर परमेश्‍वरको सेवा गर्छन्‌। उमेर पाकिसकेका यस्ता विश्‍वासी व्यक्‍तिहरू मसीही मण्डलीमा ईश्‍वरीय भक्‍तिका आदरणीय उदाहरणहरू हुन्‌। आफ्नो अवस्थाले गर्दा सीमितताहरू हुन सक्ने भए तापनि पाको उमेरका यी व्यक्‍तिहरूको सेवालाई यहोवाले धेरै मोल गर्नुहुन्छ। a२ कोरिन्थी ८:१२.

विश्‍वासी वृद्धहरूले बिताउन सक्ने गुणस्तरीय जीवनबारे भजनको पुस्तकले एउटा बिछट्टै सुहाउँदो अभिव्यक्‍ति व्यक्‍त गर्छ। तिनीहरू निकै लामो समयसम्म फल फलाइरहने पुराना र सानदार रूखहरू जस्तै बन्‍न सक्छन्‌। विश्‍वासी वृद्धहरूबारे भजन रचयिताले यसरी गाए: “तिनीहरूले बूढेसकालमा पनि फल फलाउँछन्‌, तिनीहरू जीवन दिने रसले भरिएका हरिला-भरिला हुन्छन्‌।”—भजन ९२:१४.

ढल्कँदो उमेरले गर्दा आफ्नो बल कमजोर हुँदा आफूलाई एकातिर पन्छाउलान्‌ अथवा लत्याउलान्‌ भनी कोही-कोही चिन्तित हुन सक्छन्‌। दाऊदले यहोवासित यस्तो अनुनय गरे: “बूढेसकालमा मलाई नत्याग्नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोड्‌नुहोस्‌।” (भजन ७१:९) बुढेसकालमा ओइलाउने हो अथवा मौलाउने, यो कुन कुरामा निर्भर हुन्छ? धार्मिकताको ईश्‍वरीय गुण प्रदर्शन गर्नुमा यो निर्भर हुन्छ। भजन रचयिताले यस्तो गाए: “धर्मात्माचाहिं खजूरका बोटझैं लहलह हुन्छन्‌।”—भजन ९२:१२.

विश्‍वासी भई यहोवाको सेवा गरेर आफ्नो जीवन बिताएकाहरूले अक्सर बुढेसकालमा पनि असल फल फलाइरहन्छन्‌। फलतः बीउ अङ्‌कुराएर लहलहाउँदो बालीमा परिणत भएजस्तै आफू स्वयम्‌ र अरूलाई मदत गर्न तिनीहरूले गरेको मेहनतले पछि गएर असल फल फलाउँछ। (गलाती ६:७-१०; कलस्सी १:१०) निस्सन्देह, परमेश्‍वरको मार्गलाई तिरस्कार गर्ने स्वार्थसिद्धिको पछि लागेर जीवन बिताउनेहरूको वृद्धावस्थाको मोल निकै सस्तो हुन्छ।

बाइबलको हितोपदेशको पुस्तकमा धार्मिकतालाई बुढेसकालको गहना भनेर पनि जोड दिइएको छ। त्यहाँ यस्तो लेखिएको पाउँछौं: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१) हो, धार्मिकता भित्री सौन्दर्यको अभिव्यक्‍ति हो। दीर्घ जीवनमा धार्मिक मार्ग पछ्याउँदा सम्मान पाइन्छ। (लेवी १९:३२) बुद्धि र सद्‌गुणजस्ता गुणहरू लिएर बुढेसकालमा प्रवेश गर्दा फुलेको केशले सम्मान ल्याउँछ।—अय्यूब १२:१२.

यहोवाको सेवामा बिताइएको धर्मी जीवन यहोवाको लागि मनमोहक हुन्छ। धर्मशास्त्र यसो भन्छ: “तिमीहरूको बूढेसकालसम्म पनि म [यहोवा] उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु। मैले बनाएको हुँ, र म बोक्नेछु। म बोकेर हिंड्‌नेछु र बचाउनेछु।” (यशैया ४६:४) स्वर्गमा बस्नुहुने हाम्रो मायालु पिताले बुढेसकालमा आफ्ना वफादार जनहरूलाई आड दिने र सहयोग गर्ने वचन दिनुभएको छ भनी थाह पाउँदा कत्ति सन्चो महसुस हुन्छ!—भजन ४८:१४.

यहोवाको सेवामा विश्‍वासीपूर्वक बिताइएको जीवनलाई यहोवाले मनमोहक ठान्‍नुहुने भएकोले के त्यो जीवन अरूको नजरमा पनि सम्मानयोग्य छैन र? यसरी यहोवाको दृष्टिकोण झल्काउँदै हामी पनि वृद्ध सँगी विश्‍वासीहरूको कदर गर्छौं। (१ तिमोथी ५:१, २) अतः आउनुहोस्‌, तिनीहरूका आवश्‍यकताहरूको देखभाल गर्ने क्रममा तिनीहरूलाई मसीही प्रेम देखाउने व्यावहारिक तरिकाहरू खोजौं।

बुढेसकालमा धार्मिकताको मार्गमा हिंडिरहने

सुलेमान हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌, “धार्मिकताको मार्गमा जीवन हुन्छ।” (हितोपदेश १२:२८, NRV) उमेर ढल्कँदैमा धार्मिकताको यस मार्गमा हिंड्‌नदेखि मानिसलाई रोक्दैन। उदाहरणको लागि, मोल्डोभाका ९९ वर्षीय एक वृद्धले आफ्नो सारा जवानी कम्युनिस्ट आदर्शहरू फैलाउनमै बिताएका थिए। भी. आई. लेनीनजस्ता प्रख्यात कम्युनिस्ट नेताहरूसित प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएकोमा उनी गर्व गर्थे। यद्यपि, कम्युनिस्टवाद धराशायी र पतन हुँदा यी वृद्धको जीवनले उद्देश्‍य र डोऱ्‍याइ नै गुमायो। तर जब मानिसजातिका समस्याहरूको एक मात्र वास्तविक समाधान परमेश्‍वरको राज्य नै हो भनेर यहोवाको साक्षीले उनलाई बुझाए, उनले बाइबल सत्य अँगाले र धर्मशास्त्रको जेहनदार विद्यार्थी बने। यहोवाको एक बप्तिस्मा-प्राप्त सेवक बन्‍नबाट उनलाई मृत्युले मात्र रोक्न सक्यो।

परमेश्‍वरको नैतिक आवश्‍यकताबारे सिकेपछि हंगेरीकी ८१ वर्षीया एक वृद्धाले विवाह नगरी लामो समय सँगै बसेको पुरुषसित आफूले विवाह गर्नुपर्ने आवश्‍यकता बुझिन्‌। भएभरको साहस बटुली तिनले त्यस पुरुषलाई बाइबल आधारित आफ्नो दृष्टिकोण बताइन्‌। उक्‍त पुरुषले विवाहको लागि मन्जुरी जनाउँदा तिनको आश्‍चर्य र खुसीको कुनै सीमै रहेन। तिनीहरू वैध रूपमा सँगै बसेपछि तिनले छिट्टै आध्यात्मिक प्रगति गरिन्‌। बाइबल अध्ययन सुरु गरेको आठ महिनाभित्रै तिनी बप्तिस्मा अप्राप्त प्रकाशक बनिन्‌ अनि केही समयपछि नै बप्तिस्मा लिइन्‌। वृद्ध-वृद्धाहरूलाई धार्मिकताले साँचो सौन्दर्यको मुकुट पहिऱ्‍याउन सक्छ भन्‍ने कुराको कस्तो ज्वलन्त नमुना!

हो, परमेश्‍वरले वृद्ध मसीहीहरूप्रति चासो राख्नुहुन्छ भन्‍ने कुरामा तिनीहरू ढुक्क हुन सक्छन्‌। उहाँप्रति वफादार रहनेहरूलाई यहोवाले त्याग्नुहुनेछैन। बरु, उहाँले तिनीहरूलाई बुढेसकालसम्मै डोऱ्‍याउने, सहयोग र आड दिने वचन दिनुहुन्छ। अनि तिनीहरू भजन रचयिताका यी शब्दहरूको पुष्टि गर्छन्‌: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW

[फुटनोट]

a यहोवाका साक्षीहरूको २००५ क्यालेन्डर अफ जेहोभाज विट्‌नेसेज जनवरी/फ्रेब्रुअरी हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।”—हितोपदेश १६:३१.

[पृष्ठ ८-मा भएको पेटी]

यहोवा आफ्ना वृद्ध सेवकहरूको ख्याल राख्नुहुन्छ

“बूढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।”—लेवी १९:३२.

“तिमीहरूको बूढेसकालसम्म पनि म उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु।”—यशैया ४६:४.