सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको भविष्यलाई कुन कुराले नियन्त्रण गर्छ?

तपाईंको भविष्यलाई कुन कुराले नियन्त्रण गर्छ?

तपाईंको भविष्यलाई कुन कुराले नियन्त्रण गर्छ?

“पशुले जस्तै मानिसले आफ्नो पुर्पुरोमा लेखेको कुरा भोग्नै पर्छ,” भनी एक जना विकासवादी जोन ग्रे लेख्छन्‌। एन इन्टेलिजेन्ट पर्सन्स गाइड टु जुडेइजम्‌ नामक आफ्नो किताबमा लेखक श्‍मुले बोटेक ठीक उल्टो विचार व्यक्‍त गर्छन्‌। उनी यसो भन्छन्‌: “मानिस पशु होइन त्यसैले उसले सधैं आफ्नो भाग्यलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ।”

धेरै मानिसहरू ग्रेको कुरामा सहमति जनाउँछन्‌ र कुनै अज्ञात प्राकृतिक शक्‍तिले मानिसको भाग्यलाई नियन्त्रणमा राख्छ भनी विश्‍वास गर्छन्‌। अन्य कतिपय चाहिं मानिस आफ्नो भविष्यलाई नियन्त्रणमा राख्ने क्षमतासहित सृष्टि गरिएको प्राणी हो भन्‍ने धारणा राख्छन्‌।

कसैलाई भने आफ्नो भविष्य एउटा शक्‍तिशाली मानवीय शक्‍तिद्वारा नियन्त्रित छ जस्तो लाग्छ। लेखक रोय वेदरफोर्डका अनुसार, “मानवीय दमन र दुर्व्यवहारलाई हेर्ने हो भने . . . बहुसंख्यक मानिसहरू अझ विशेष गरेर महिलाहरूको आफ्नो जीवनमाथि कुनै पकड र नियन्त्रण छैन भन्‍ने कुरा इतिहास केलाउँदा स्पष्ट हुन्छ।” (द इम्‌प्लिकेसन्स्‌ अफ डिटरमिनिजम्‌) राजनीतिक र सैन्य होडबाजीले सुखमय भविष्यका आफ्ना सुन्दर सपनाहरू कुल्चिएको धेरैले आफ्नै आँखाले देखेका छन्‌।

इतिहास केलाउँदा अन्य कतिपय मानिसहरूले आफूलाई लाचार ठानेका थिए किनकि आफ्नो भाग्यमा कुनै अलौकिक शक्‍तिले नियन्त्रण जमाएको हुन्छ भनी तिनीहरू सोच्थे। बोटेक यसो भन्छन्‌, “आफ्नो पूर्वनिर्धारित भाग्यसामु कसैको केही जोर नचल्ने भएकोले जुनसुकै आशा पनि व्यर्थ हो भन्‍ने विचारले पुरातन युनानीहरू ग्रस्त थिए।” केही सन्काहा देवीहरूले प्रत्येक मानिसको भाग्यलाई निर्धारण गर्थे भनी तिनीहरू सोच्थे। तिनीहरूको विश्‍वासअनुसार यी देवीहरूले मानिस मर्ने समय अनि मानिसले आफ्नो जीवनकालमा कति हन्डर र क्लेश खप्नु पर्नेछ भनेर समेत निर्धारण गर्थे।

आज पनि मानिसको भाग्य एउटा अलौकिक शक्‍तिद्वारा नियन्त्रित हुन्छ भन्‍ने आम धारणा रहेको पाइन्छ। उदाहरणको लागि, धेरै मानिसहरू किस्मत अथवा भाग्यमा विश्‍वास गर्छन्‌। तिनीहरूको भनाइअनुसार मानिसका सारा कार्यहरूको परिणाम र मृत्युसमेत परमेश्‍वरले पूर्वनिर्धारण गरिसक्नुभएको छ। सर्वशक्‍तिमान्‌ परमेश्‍वरले “कुनै पनि व्यक्‍तिले अन्ततः मुक्‍ति पाउने वा दुःख भोग गर्ने कुरा पहिल्यै निर्धारण गरिसक्नुभएको हुन्छ” भन्‍ने धारणालाई बढवा दिने पूर्वनिर्धारित भविष्यको शिक्षा पनि पाइन्छ। मसीही भनाउँदा धेरैले यस शिक्षा अँगाल्छन्‌।

तपाईंलाई कस्तो लाग्छ? के तपाईंको भाग्यलाई तपाईंको नियन्त्रणभन्दा बाहिरको तत्त्वले पहिल्यै निर्धारण गरिसकेको छ? अथवा “कहिलेकाहीं त मानिसले आफ्नो भाग्यरेखा आफै कोर्छ” भन्‍ने अङ्‌ग्रेज नाटककार विलियम शेक्सपियरको भनाइमा पो कुनै सत्यता लुकेको छ कि? यसबारे बाइबल के भन्छ विचार गर्नुहोस्‌।