सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

न्यायकर्त्ताको पुस्तकका विशेषताहरू

न्यायकर्त्ताको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

न्यायकर्त्ताको पुस्तकका विशेषताहरू

आफ्नै जनहरूले आफूतिर पीठ फर्काएर झूटा देवीदेवताहरूको उपासना गर्न थाल्दा यहोवा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? बारम्बार उहाँको आज्ञा तोड्‌ने र दुःखमा परेको बेलाचाहिं मदतको लागि उहाँलाई गुहार्दा नि? के त्यतिबेला पनि यहोवा उनीहरूलाई त्यसबाट उम्कने बाटो दिनुहुन्छ? न्यायकर्त्ताको पुस्तकले यी तथा अन्य महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ। अगमवक्‍ता शमूएलले सा.यु.पू. ११०० तिर लेखिसिध्याएका यस पुस्तकमा लगभग ३३० वर्षभित्र घटेका घटनाहरू अर्थात्‌ यहोशूको मृत्युबाट इस्राएलको प्रथम राजाको राज्यारोहणसम्मका घटनाहरू समेटिएका छन्‌।

परमेश्‍वरको सशक्‍त वचन वा सन्देशको एउटा भागको रूपमा न्यायकर्त्ताको पुस्तक हाम्रो लागि निकै मूल्यवान्‌ छ। (हिब्रू ४:१२) यस पुस्तकमा लिपिबद्ध रोमाञ्चकारी विवरणहरूले हामीलाई परमेश्‍वरको व्यक्‍तित्व बुझ्ने अन्तरदृष्टि प्रदान गर्छ। त्यसबाट हामीले सिक्ने पाठहरूले हाम्रो विश्‍वासलाई दरिलो बनाउनुका साथै “साँच्चै[को] जीवन” अर्थात्‌ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा पाइने अनन्त जीवनलाई च्याप्प पक्रिराख्न मदत गर्छ। (१ तिमोथी ६:१२, १९; २ पत्रुस ३:१३) यहोवाले आफ्ना जनहरूको खातिर गर्नुहुने मुक्‍तिको कामले भविष्यमा उहाँको पुत्र येशू ख्रीष्टले दिने त्योभन्दा ठूलो छुटकाराको पूर्वझलक दिन्छ।

किन न्यायकर्त्ताहरूको खाँचो पऱ्‍यो?

(न्यायकर्त्ता १:१–३:६)

यहोशूको नेतृत्वमा आएका मानिसहरूसित कनानका राजाहरू परास्त भएपछि इस्राएलको प्रत्येक कुल आ-आफ्नो हिस्साको जग्गा ओगट्‌न त्यस देशमा जान्छन्‌। तथापि इस्राएलीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाउँदैनन्‌। यसो नगर्नु इस्राएलीहरूका लागि एउटा पासो साबित हुन्छ।

यहोशूपछि आएको पुस्ताले ‘परमप्रभुलाई चिन्दैन औ उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैन।’ (न्यायकर्त्ता २:१०) त्यति मात्र होइन, मानिसहरूले कनानीहरूसित बिहेबारी गर्नुका साथै तिनीहरूका देवीदेवताको पूजाआजा गर्न थाल्छन्‌। त्यसैकारण यहोवाले इस्राएलीहरूलाई शत्रुको हातमा सुम्पिदिनुहुन्छ। यद्यपि, अचाक्ली थिचोमिचो हुन थालेपछि इस्राएलीहरूले मदतको लागि साँचो परमेश्‍वरलाई पुकार्छन्‌। यस्तो धार्मिक, सामाजिक तथा राजनैतिक माहौलमाझ न्यायकर्त्ताको विवरणको थालनी हुन्छ र आफ्ना जनहरूलाई शत्रुहरूबाट बचाउन यहोवाले यिनै न्यायकर्त्ताहरूलाई खडा गर्नुहुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:२, —आफ्नो हिस्साको जग्गा ओगट्‌ने सन्दर्भमा यहूदालाई नै पहिलो कुलको रूपमा छान्‍नुको कारण के हो? वास्तवमा यो सुअवसर याकूबको जेठो छोरा रूबेनको कुलले पाउने थियो। तर रूबेनले ज्येष्ठ सन्तानको रूपमा आफ्नो अधिकार गुमाएको कारण तिनले आफ्नो प्रतिष्ठा कायम राख्नेछैनन्‌ भनी याकूबले आफू मृत्युशय्यामा छँदा भविष्यवाणी गरेका थिए। निष्ठुरतासाथ व्यवहार गरेका शिमोन र लेवी इस्राएलमा तितरबितर हुने थिए। (उत्पत्ति ४९:३-५, ७) तसर्थ, तिनीहरूपछि यो सुअवसरका उत्तराधिकारी याकूबको काइँलो छोरा यहूदा थिए। यहूदासँगै गएका शिमोनले यहूदाको विशाल भूमिबाटै एउटा सानो टुक्रा जमिन पाए। aयहोशू १९:९.

१:६, ७—पराजित राजाहरूको हात र खुट्टाका बूढी औंला काट्‌नुको कारण के थियो? आफ्नो हात र खुट्टाका बूढी औंला नभएको व्यक्‍ति स्पष्टतः सैन्य सेवाको लागि असक्षम हुन्थ्यो। बूढी औंलाविना सैनिकले कसरी पो तरबार वा भाला समात्न सक्थे र? अनि बूढी औंला नहुँदा ठीकसँग शरीरको सन्तुलन कायम राख्न गाह्रो हुन्थ्यो।

हाम्रा लागि पाठहरू:

२:१०-१२. ‘यहोवाका उपकारहरू नबिर्सिन’ हामीले नियमित रूपमा बाइबल अध्ययन गर्नै पर्छ। (भजन १०३:२) आमाबाबुले आफ्ना छोराछोरीको हृदयमा परमेश्‍वरको वचनको सत्य कुरा हालिदिनु अत्यावश्‍यक छ।—व्यवस्था ६:६-९.

२:१४, २१, २२. एउटा उद्देश्‍यको लागि अर्थात्‌ सुधार्न, शुद्ध पार्न र उहाँतिर फर्किन उत्प्रेरित गर्न यहोवाले आफ्ना अनाज्ञाकारी जनहरूमाथि खराब कुराहरू आइपर्न दिनुहुन्छ।

यहोवाले न्यायकर्त्ताहरू खडा गर्नुहुन्छ

(न्यायकर्त्ता ३:७–१६:३१)

न्यायकर्त्ताहरूको साहसिक कार्यको रोमाञ्चक विवरण ओत्निएलले इस्राएलमा मेसोपोटामियाली राजाको आठ वर्षे शासनकाललाई अन्त गरेबाट सुरु हुन्छ। साहसिक रणनीति अपनाएर न्यायकर्त्ता एहूदले मोटे मोआबी राजा एग्लोनको हत्या गर्छन्‌। वीर शमगर एक्लैले ६०० पलिश्‍तीहरूलाई गोरु धपाउने लौरोले मार्छन्‌। अगमवादिनी दबोराको प्रोत्साहन अनि यहोवाको मदत पाएर बाराक तथा सामान्य हातहतियार भएका तिनका दस हजार सेनाले सीसराको शक्‍तिशाली फौजलाई परास्त गर्छन्‌। यहोवाले गिदोनलाई खडा गर्नुहुन्छ र तिनी तथा तिनका ३०० मानिसहरूलाई मिद्यानीहरूमाथि विजयी तुल्याउनुहुन्छ।

यिप्तहमार्फत यहोवाले इस्राएलीहरूलाई अम्मोनीहरूबाट छुटाउनुहुन्छ। तोला, याईर, इब्सान र अब्दोन इस्राएलमा न्याय गर्ने १२ पुरुषहरूमध्येका थिए। पलिश्‍तीहरू विरुद्ध युद्ध गर्ने शिमशोनको पालादेखि न्यायकर्त्ताहरूको समय सिद्धिन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

४:८—अगमवादिनी दबोरा पनि आफूसँगै युद्धभूमिमा जानुपर्छ भनेर बाराकले किन जिद्दी गरे? स्पष्टतया, एक्लैले सीसराको फौजमाथि चढाइ गर्न बाराकले अपुग महसुस गरे। तिनीसँग अगमवादिनी पनि भएमा परमेश्‍वरको डोऱ्‍याइ तिनीलगायत तिनका मानिसहरूसित छ भन्‍ने कुरामा पक्का हुनुका साथै उनीहरूको आत्मविश्‍वास पनि बढ्‌ने थियो। त्यसकारण, दबोरालाई मसँग जानुहोस्‌ भनी बाराकले गरेको जिद्दी कमजोरीको चिह्न नभई बलियो विश्‍वासको चिह्न थियो।

५:२०—ताराहरूले पनि आकाशदेखि बाराकको खातिर कसरी लडाइँ गरे? यस लडाइँमा स्वर्गदूतको मदत, सीसराका ज्ञानी मानिसहरूले विपत्तिको लक्षण भन्ठानेको उल्का वर्षा अथवा ज्योतिष भविष्यवाणीमाथि सीसराको निर्भरता झूटा प्रमाणित गरेको कुरा समावेश थियो कि थिएन, त्यस विषयमा बाइबलले केही पनि बताउँदैन। तथापि कुनै न कुनै किसिमको ईश्‍वरीय हस्तक्षेप भएको थियो भन्‍ने कुरामा भने कुनै शङ्‌का छैन।

७:१-३; ८:१०—यहोवाले किन गिदोनसित भएका ३२,००० मानिसहरू शत्रुतर्फको १,३५,००० फौजभन्दा धेरै छन्‌ भन्‍नुभयो? किनभने यहोवाले नै गिदोन र तिनका मानिसहरूलाई विजयी तुल्याउनुहुने थियो। आफ्नै शक्‍तिले मिद्यानीहरूलाई पराजित गरेको हो भनी तिनीहरूले सोचेको यहोवा चाहनुहुन्‍नथ्यो।

११:३०, ३१—भाकल गर्दा के यिप्तहको मनमा मानवबलि थियो? यिप्तहको मनमा यस्तो विचार आएको हुनै सक्दैन किनभने व्यवस्थामा स्पष्टसित यस्तो भनिएको थियो: “आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने . . . तिमीहरूका बीचमा कोही नहोस्‌।” (व्यवस्था १८:१०, ११) तथापि यिप्तहको मनमा एक जना व्यक्‍ति भने अवश्‍य थियो, पशु होइन। बलिको लागि उपयुक्‍त जनावरहरू सम्भवतः इस्राएलीहरूको घरमा राखिंदैनथ्यो। अनि पशुबलि चढाउनु त त्यति विशेष कुरै हुने थिएन। तिनलाई भेट्‌न घरबाट बाहिर आउने व्यक्‍ति सम्भवतः आफ्नै छोरी हुनेछिन्‌ भन्‍ने कुरा यिप्तहलाई थाह थियो। उनलाई “होमबलि[को]” रूपमा चढाउनुपर्थ्यो अर्थात्‌ मन्दिरमा यहोवाको ऐकान्तिक सेवा गर्न उनलाई अर्पण गर्नुपर्थ्यो।

हाम्रा लागि पाठहरू:

३:१०. आध्यात्मिक क्रियाकलापमा सफल हुने, नहुने कुरा मानव बुद्धिमा होइन यहोवाको आत्मामा निर्भर हुन्छ।—भजन १२७:१.

३:२१. एहूदले आफ्नो चुपी प्रभावकारी र साहसका साथ चलाए। “आत्माको तरवार जो चाहिं परमेश्‍वरको वचन हो” सो चलाउने सन्दर्भमा हामीले कौशलता हासिल गर्नै पर्छ। यसको मतलब हामीले सेवकाईमा धर्मशास्त्र साहसी भई चलाउनै पर्छ।—एफिसी ६:१७; २ तिमोथी २:१५.

६:११-१५; ८:१-३, २२, २३. गिदोनको विनम्रताले हामीलाई तीनवटा महत्त्वपूर्ण पाठ सिकाउँछ: (१) सेवाका सुअवसरहरू पाउँदा हामीले सुअवसरका कारण प्राप्त हुने प्रतिष्ठा वा सम्मानबारे सोच्नुको सट्टा यस सँगसँगै आउने जिम्मेवारीबारे विचार गर्नुपर्छ। (२) झगडालु व्यक्‍तिहरूसित व्यवहार गर्दा विनम्रता देखाउनु बुद्धिमानी कुरा हो। (३) विनम्रताले हामीलाई ओहदाबारे ज्यादै चिन्तित हुनदेखि जोगाउँछ।

६:१७-२२, ३६-४०. हामी पनि चनाखो हुनै पर्छ र “जुनसुकै आत्माको पत्यार” गर्नु हुँदैन। बरु, हामीले “परमेश्‍वरबाटका आत्माहरू हो कि होइन भनी जाँच” गर्नुपर्छ। (१ यूहन्‍ना ४:१) सल्लाह दिने विचार गर्दा आफ्नो सल्लाह पूरापूर परमेश्‍वरको वचनमा आधारित छ कि छैन, सो पक्का गर्न नयाँ मसीही प्राचीनले अनुभवी प्राचीनको परामर्श लिनु बुद्धिमानी हुनेछ।

६:२५-२७. आफ्ना विरोधीहरूलाई बेकारमा रिस नउठाउन गिदोनले विवेक चलाए। सुसमाचार प्रचार गर्दा हाम्रो बोलीले विनासित्तिमा अरूलाई चोट नपुऱ्‍याउन हामी होसियार हुनै पर्छ।

७:६. यहोवाको सेवा गर्ने सन्दर्भमा हामी गिदोनका ३०० जना मानिसजस्तो हुनुपर्छ—सजग र चनाखो।

९:८-१५. घमन्डी व्यवहार गर्नु र पद वा प्रतिष्ठाको अभिलाषा गर्नु कत्ति मूर्ख कुरा हो!

११:३५-३७. बलियो विश्‍वास तथा आत्मत्यागी मनोभाव विकास गर्न छोरीलाई मदत गर्ने सन्दर्भमा यिप्तहको असल उदाहरणले पक्कै महत्त्वपूर्ण भूमिका खेल्यो। आज आफ्ना छोराछोरीको लागि आमाबाबुले यस्तै उदाहरण बसाल्न सक्छन्‌।

११:४०. यहोवाको सेवामा इच्छुक मनोभाव देखाउने व्यक्‍तिको प्रशंसा गर्दा प्रशंसा पाउने व्यक्‍ति प्रोत्साहित हुन्छ।

१३:८. छोराछोरीलाई सिकाउँदा डोऱ्‍याइको लागि आमाबाबुले यहोवालाई प्रार्थना गर्नुपर्छ र उहाँको निर्देशन पछ्याउनुपर्छ।—२ तिमोथी ३:१६.

१४:१६, १७; १६:१६. रोएर अनि कचकच गरेर जिद्दी गर्दा त्यसले अरूसितको सम्बन्धलाई बिगार्छ।—हितोपदेश १९:१३; २१:१९.

इस्राएलमा भएका अन्य अपराधहरू

(न्यायकर्त्ता १७:१–२१:२५)

न्यायकर्त्ताको पुस्तकको अन्तिम भागमा दुईवटा उल्लेखनीय विवरण पाइन्छ। पहिलो मीका नाउँ भएको व्यक्‍तिसित सम्बन्धित छ, जसले आफ्नो घरमा एउटा मूर्ति बनाउँछ र एक जना लेवीलाई आफ्नो पूरोहितको रूपमा काम गर्न नियुक्‍त गर्छ। लेश वा लेशेमको सहरलाई नाश गरिसकेपछि दानवंशीहरूले आफ्नै सहर निर्माण गर्छन्‌ र यस सहरको नाउँ दान राख्छन्‌। मीकाको मूर्ति र तिनको पूरोहितको मदतद्वारा तिनीहरूले दानमा अर्कै किसिमको उपासना सुरु गर्छन्‌। स्पष्टतया, यहोशूको मृत्यु हुनुभन्दा अघि लेशलाई कब्जा गरिन्छ।—यहोशू १९:४७.

यहोशूको मृत्यु भएको केही समयपछि अर्को घटना घट्‌छ। गिबाको बिन्यामीन सहरका केही मानिसहरूले गरेको एउटा घोर आम यौन अपराधको कारण बिन्यामीनको सारा कुल नै झन्डै सखाप हुन्छ—जम्मा ६०० मानिसहरू मात्र बाँच्छन्‌। तथापि व्यावहारिक प्रबन्धले गर्दा उनीहरूले पत्नीहरू पाउँछन्‌ र दाऊदको शासनकालसम्ममा तिनीहरूको संख्या बढेर झन्डै ६०,००० योद्धाहरू भइसकेका हुन्छन्‌।—१ इतिहास ७:६-११.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१७:६; २१:२५हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्दा’ के त्यसले अराजकतालाई बढाएन र? बढायो नै भन्‍न मिल्दैन किनभने आफ्ना जनहरूलाई डोऱ्‍याउन यहोवाले पर्याप्त प्रबन्धहरू मिलाउनुभएको थियो। उहाँको मार्गमा हिंड्‌न सिकाउनको लागि उहाँले तिनीहरूलाई व्यवस्था र पूजाहारीगिरी दिनुभयो। महत्त्वपूर्ण विषयहरूमा प्रधान पूजाहारीले ऊरीम र तुम्मीममार्फत परमेश्‍वरसित परामर्श लिन सक्थे। (प्रस्थान २८:३०) प्रत्येक सहरमा राम्रो सर-सल्लाह दिन सक्ने दक्ष बूढा-प्रधानहरू पनि थिए। इस्राएलीहरूले यी प्रबन्धहरूको उपयोग गर्दा तिनीहरूले आफ्नो अन्तस्करणको लागि एउटा भरपर्दो डोऱ्‍याइ पाउँथे। यस अर्थमा तिनले “आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही” गर्दा राम्रो परिणाम प्राप्त हुन्थ्यो। अर्कोतर्फ, कुनै व्यक्‍तिले उक्‍त व्यवस्थालाई अवहेलना गरेर आचरण र उपासनाको सन्दर्भमा आफ्नै निर्णयहरू गर्दा परिणाम राम्रो हुने थिएन।

२०:१७-४८—बिन्यामिनीहरू सजायको हकदार भए तापनि यहोवाले किन अन्य कुलहरूमाथि बिन्यामिनीहरूलाई दुई चोटि विजयी तुल्याउनुभयो? सुरु-सुरुमा विश्‍वासी कुलहरूलाई धेरै धनजनको क्षति बेहोर्न दिनुभएर यहोवाले इस्राएलबाट पूर्ण रूपमा दुष्टता हटाउने तिनीहरूको सङ्‌कल्पको जाँच गर्नुभयो।

हाम्रा लागि पाठहरू:

१९:१४, १५. गिबाका मानिसहरू अतिथिसत्कार देखाउन इच्छुक नहुनु गम्भीर नैतिक त्रुटिको एउटा सङ्‌केत थियो। मसीहीहरूलाई “अतिथि-सत्कार कायम” राख्न सल्लाह दिइएको छ।—रोमी १२:१३.

छुटकारा नजिकै छ

अब चाँडै ख्रीष्ट येशूले शासन गर्नुहुने परमेश्‍वरको राज्यले दुष्ट संसारलाई नाश गर्नेछ अनि सोझा र निर्दोष मानिसहरूलाई ठूलो छुटकारा प्रदान गर्नेछ। (हितोपदेश २:२१, २२; दानियल २:४४) ‘परमप्रभुका सबै शत्रुहरू नाश हुनेछन्‌ तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैं हुनेछन्‌।’ (न्यायकर्त्ता ५:३१) आउनुहोस्‌, न्यायकर्त्ताको पुस्तकबाट सिकेका कुराहरू लागू गरेर हामी पनि यहोवालाई प्रेम गर्नेहरूमध्येका हुन सकौं।

न्यायकर्त्ताका विवरणहरूमा धेरै चोटि प्रदर्शित भएको महत्त्वपूर्ण सत्य यो हो: यहोवाको आज्ञा पालन गर्दा प्रचुर आशिष्‌ पाइन्छ, अनाज्ञाकारी हुँदा भयानक परिणाम भोग्नुपर्छ। (व्यवस्था ११:२६-२८) परमेश्‍वरले प्रकट गर्नुभएको इच्छालाई हामीले ‘हदयबाटै मानिलिनु’ कत्ति महत्त्वपूर्ण छ!—रोमी ६:१७; १ यूहन्‍ना २:१७.

[फुटनोट]

a इस्राएलभरि फैलिएका ४८ सहरहरू बाहेक प्रतिज्ञा गरिएको देशमा लेवीहरूलाई अरू कुनै पनि भाग दिइएन।

[पृष्ठ २५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

“परमप्रभुले तिनीहरूमाथि न्यायकर्त्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई डकैत गर्नेहरूका दलबाट बचाए।”—न्यायकर्त्ता २:१६.

न्यायकर्त्ता

१. ओत्निएल

२. एहूद

३. शमगर

४. बाराक

५. गिदोन

६. तोला

७. याईर

८. यिप्तह

९. इब्सान

१०. एलोन

११. अब्दोन

१२. शिमशोन

दान

मनश्‍शे

नाप्ताली

आशेर

जबूलून

इस्साकार

मनश्‍शे

गाद

एप्रैम

दान

बिन्यामीन

रूबेन

यहूदा

[पृष्ठ २६-मा भएको चित्र]

युद्धभूमिमा दबोरा पनि जान बाराकले गरेको जिद्दीबाट तपाईंले के सिक्नुभयो?