सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ

शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ

शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ

परम्परागत विचारधाराका एक जोसिला संरक्षक कसरी एक धर्मत्यागी बन्‍न सकेका होलान्‌, दमीशकका यहूदीहरूले त बुझ्नै सकेनन्‌। यरूशलेममा येशूको नाउँ लिनेजतिलाई सताउने व्यक्‍तिको रूपमा शावल चिरपरिचित थिए। तिनी दमीशकमा चेलाहरूलाई सताउनकै लागि आएका थिए। तर अब भने ईश्‍वर निन्दाको दोषी ठहराएर अपराधीको रूपमा लट्‌काइएको ख्रीष्ट नै मसीह हुनुहुन्छ भनेर तिनी आफैले प्रचार गरिरहेका थिए! कतै शावल पागल त भएनन्‌?—प्रेरित ९:१, २, २०-२२.

यसो हुनुको कारण थियो होला। यरूशलेमबाट शावलसँगै यात्रामा निस्केका अन्य व्यक्‍तिहरूले बाटोमा घटेको घटनाबारे बताएको हुनुपर्छ। तिनीहरू दमीशकको नजिक पुग्दा अचानक तिनीहरूको वरिपरि ज्योति चम्क्यो र तिनीहरू सबै भुइँमा लोटे। त्यहाँ एउटा सोर पनि सुनियो। शावलबाहेक अरू कसैलाई केही भएन। तिनी बाटोमा लोटिरहे। अन्तमा तिनी उठेपछि अरू यात्रीहरूले तिनलाई डोऱ्‍याएर दमीशकसम्म ल्याइदिए किनभने तिनले केही पनि देख्न सकेनन्‌।—प्रेरित ९:३-८; २६:१३, १४.

विरोधी नै एक समर्थक बन्छ

दमीशक जाने बाटोमा शावललाई के भएको थियो? लामो यात्रा वा मध्याह्नको चर्को घामले गर्दा के तिनी कमजोर भएका हुन सक्छन्‌? यसका वास्तविक कारणहरू पत्ता लगाउन प्रयासरत वर्तमान आलोचकहरू यस्ता परिस्थितिहरू अघि सार्छन्‌ जसमा होस हराउने, दृष्टिभ्रम हुने, पावलको दोषी अन्तस्करणले उत्पन्‍न गरेको गम्भीर मनोवैज्ञानिक सङ्‌कट, मानसिक सन्तुलन गुम्नु र पावललाई छारे रोग लागेको हुन सक्नेजस्ता कुराहरू समावेश छन्‌।

वास्तविक कुरा के हो भने, त्यस चहकिलो ज्योतिमा येशू ख्रीष्ट शावलसामु देखापर्नुभयो र उहाँ नै मसीह हुनुहुन्छ भन्‍ने कुराबारे विश्‍वस्त तुल्याउनुभयो। यस घटनाका केही कलात्मक चित्रहरूले शावल घोडाबाट भुइँमा खसिरहेको देखाउँछ। त्यसरी खस्नु सम्भव भए तापनि बाइबलले चाहिं तिनी ‘जमीनमा लडिहाले’ भनेर मात्र बताउँछ। (प्रेरित २२:६-११) शावल जसरी लडे पनि आफ्नो पहिलेको प्रतिष्ठाबाट तिनी जति लज्जास्पद ढङ्‌गमा तल गिरे त्यसको तुलनामा यो लडाइ केही पनि थिएन। येशूका अनुयायीहरूले प्रचार गरिरहेको कुरा सत्य हो भनेर तिनले अब स्वीकार्नुपरेको थियो। उनीहरूलाई साथ दिनुबाहेक शावलसित अर्को विकल्प थिएन। येशूको सन्देशको आक्रामक शत्रुदेखि शावल यसको एक निष्ठावान्‌ समर्थक भए। आँखा देख्न थालेपछि र बप्तिस्मा लिएपछि “शावल झन्‌झन्‌ शक्‍तिमान हुँदै गए, र ख्रीष्ट उहाँनै हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमीशकमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए।”—प्रेरित ९:२२.

हत्या गर्ने षड्यन्त्र असफल हुन्छ

पछि पावल नाउँले चिनिएका शावल धर्म परिवर्तन गरिसकेपछि कहाँ गए? गलातीहरूलाई पत्र लेख्दा तिनले यसो भने: “अरब देशमा गइहालें, र फेरि दमीशकमा फर्केर आएँ।” (गलाती १:१७) “अरब” शब्दले अरबी प्रायद्वीपको कुनै पनि भागमा गरिने यात्रालाई बुझाउन सक्छ। केही धर्मविद्‌हरूको भनाइअनुसार पावल कि त सिरियाको मरुभूमि नभए अरितस चौथौंको नाबाटियन राज्यको अन्त कतै गएको हुनुपर्छ। जसरी बप्तिस्मा लिनुभएपछि येशू मनन गर्न उजाडस्थान जानुभयो त्यस्तै गरी बप्तिस्मापछि मननको लागि शावल पनि एकान्त ठाउँमै गएको हुन सक्ने सम्भावना धेरै छ।—लूका ४:१.

शावल दमीशक फर्केपछि “यहूदीहरूले तिनलाई मार्नलाई आपसमा मतो गरे।” (प्रेरित ९:२३) दमीशकमा राजा अरितसको प्रतिनिधिको रूपमा काम गर्ने बडा-हाकिमले शावललाई पक्रिन सहरमा पहरा राखेका थिए। (२ कोरिन्थी ११:३२) तर शत्रुहरूले शावललाई मार्ने षड्यन्त्र रच्दा येशूका चेलाहरूले तिनलाई भगाउने योजना बनाए।

हननिया र धर्म परिवर्तन गरे लगत्तैपछि प्रेरितले सरसंगत गरेका अन्य चेलाहरूले नै शावललाई भाग्न मदत गरेका थिए। a (प्रेरित ९:१७-१९) दमीशकमा शावलले प्रचार गर्दा विश्‍वासी भएकाहरूले पनि मदत गरेको हुनुपर्छ किनभने प्रेरित ९:२५ यसो भन्छ: “तिनका चेलाहरूले तिनलाई रातीनै टोकरीमा हाली पर्खालबाट झुण्डाएर तल ओह्रालिदिए।” “तिनका चेलाहरू” भन्‍ने अभिव्यक्‍तिले शावलले प्रचार गरेका व्यक्‍तिहरूलाई बुझाएको हुन सक्छ। जेसुकै होस्‌, सेवकाईमा तिनले पाएको सफलताले तिनी विरुद्ध पहिल्यैदेखि गरिंदै आएको वैमनस्यतालाई झनै चर्काएको हुनुपर्छ।

सिक्नुपर्ने एउटा पाठ

शावलले धर्म परिवर्तन गरेपछि र बप्तिस्मा लिएपछि घटेका केही घटनाहरूलाई जाँच्दा अरूले के भन्लान्‌ भनेर तिनी ज्यादै चिन्तित थिएनन्‌ भन्‍ने कुरा हामी स्पष्टसित देख्छौं; न त कठोर सतावटको कारण तिनले हरेस नै खाए। आफूले पाएको प्रचारको काम पूरा गर्नु नै शावलको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो।—प्रेरित २२:१४, १५.

सुसमाचार प्रचार गर्नु एकदमै महत्त्वपूर्ण छ भन्‍ने कुरामा के तपाईं हालसालै विश्‍वस्त हुनुभएको छ? हुनुभएको छ भने, सबै साँचो मसीहीहरू राज्य प्रचारकहरू हुनै पर्छ भन्‍ने कुरा तपाईंलाई थाह छ। तपाईंको सेवकाईले कहिलेकाहीं विरोधीहरूलाई क्रुद्ध बनाउँदा त्यसमा तपाईंले अचम्म मान्‍नुपर्ने कुरा छैन। (मत्ती २४:९; लूका २१:१२; १ पत्रुस २:२०) विरोधप्रति शावलले देखाएको प्रतिक्रिया उदाहरणीय छ। परीक्षाहरू आउँदा हरेस नखाईकन सहने मसीहीहरूले परमेश्‍वरको अनुग्रह पाउनेछन्‌। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मेरो नाउँको खातिर तिमीहरू सबै मानिसहरूबाट घृणित हुनेछौ।” यद्यपि, उहाँले तिनीहरूलाई यस्तो आश्‍वासन पनि दिनुभयो: “तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।”—लूका २१:१७-१९.

[फुटनोट]

a येशूले गालीलमा प्रचार गर्नुभएपछि अथवा सा.यु. ३३ पेन्तिकोसपछि दमीशकमा मसीहीधर्म सुरु भएको हुनुपर्छ।—मत्ती ४:२४; प्रेरित २:५.

[पृष्ठ २८-मा भएको चित्र]

येशू आफ्नो सामु देखापर्नुहुँदा शावल ‘जमीनमा लडे’

[पृष्ठ २९-मा भएको चित्र]

दमीशकमा शावल हत्याको षड्यन्त्रबाट बचे