सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज “बहुमूल्य मोती” खोज्ने

आज “बहुमूल्य मोती” खोज्ने

आज “बहुमूल्य मोती” खोज्ने

“राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।”—मत्ती २४:१४.

१, २. (क) येशूको समयमा यहूदीहरूले परमेश्‍वरको राज्यबारे कस्तो महसुस गर्थे? (ख) परमेश्‍वरको राज्यबारे राम्ररी बुझाउन येशूले के गर्नुभयो अनि परिणाम कस्तो भयो?

 येशू पृथ्वीमा आउनुहुँदा परमेश्‍वरको राज्य, यहूदीहरूमाझ अत्यन्तै गहिरो चासोको विषय थियो। (मत्ती ३:१, २; ४:२३-२५; यूहन्‍ना १:४९) तथापि, सुरुमा तिनीहरूमध्ये धेरैजसोले यो कत्तिको व्यापक हुनेछ र यसले कसरी आफ्नो अख्तियार चलाउनेछ भनेर पूर्णतया बुझेका थिएनन्‌ अनि यो स्वर्गीय सरकार हुनेछ भनेर पनि बुझेका थिएनन्‌। (यूहन्‍ना ३:१-५) येशूका अनुयायीहरू भएका कोही-कोहीले समेत परमेश्‍वरको राज्य के हो वा ख्रीष्टका सँगी शासकहरू हुने आशिष्‌ प्राप्त गर्नको लागि के गर्नुपर्छ भनेर पूर्णतया बुझेका थिएनन्‌।—मत्ती २०:२०-२२; लूका १९:११; प्रेरित १:६.

समय बित्दै जाँदा येशूले धैर्यपूर्वक आफ्ना चेलाहरूलाई थुप्रै पाठ सिकाउनुभयो र यसमध्ये एउटा अघिल्लो लेखमा छलफल गरिएको बहुमूल्य मोतीको दृष्टान्त पनि थियो र त्यसले तिनीहरूलाई स्वर्गीय राज्य खोज्नको लागि कडा परिश्रम गर्नुपर्ने महत्त्वलाई जोड दियो। (मत्ती ६:३३; १३:४५, ४६; लूका १३:२३, २४) यसले तिनीहरूको हृदयमा गहिरो छाप पारेको हुनुपर्छ किनभने चाँडै नै तिनीहरू परमेश्‍वरको राज्यको सुसमाचारका अथक तथा साहसी उद्‌घोषकहरू बनेर पृथ्वीको अन्तसम्म पुगे र यो तथ्यबारे प्रेरितको पुस्तकमा यथेष्ट प्रमाण दिइएको छ।—प्रेरित १:८; कलस्सी १:२३.

३. हाम्रो समयलाई सङ्‌केत गर्दै येशूले परमेश्‍वरको राज्यबारे के भन्‍नुभयो?

त्यसोभए आज नि? त्यस राज्यअन्तर्गत पार्थिव प्रमोदवनले प्रदान गर्ने आशिष्‌हरूबारे लाखौंलाई प्रचार गरिएको छ। “जगत्‌को अन्त[बारे]” आफ्नो महत्त्वपूर्ण भविष्यवाणीमा येशूले स्पष्टसित यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:३, १४; मर्कूस १३:१०) भीमकाय अवरोध र चुनौतीहरू अनि सतावटको बावजुद यो विशाल कार्य गरिनेछ भनेर पनि उहाँले बताउनुभयो। तैपनि उहाँले यस्तो आश्‍वासन दिनुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:९-१३) यो सबै गर्नको लागि येशूको दृष्टान्तका व्यापारीले देखाएको जस्तो आत्मत्याग र प्रतिबद्धता चाहिन्छ। परमेश्‍वरको राज्यको खोजी गर्न यस्तो विश्‍वास र जोस देखाउने व्यक्‍तिहरू के आज पनि छन्‌?

सत्य पत्ता लगाउँदाको आनन्द

४. परमेश्‍वरको राज्यसम्बन्धी सत्यले आज मानिसहरूमा कस्तो असर पार्छ?

आफूले “बहुमूल्य मोती” भनेर थाह पाएको कुरा भेट्टाएपछि येशूको दृष्टान्तका व्यापारी औधी रमाएका थिए। त्यही आनन्दले गर्दा तिनी त्यो मोती प्राप्त गर्न जे गर्न पनि तयार भए। (हिब्रू १२:१) आज, परमेश्‍वर र उहाँको राज्यसम्बन्धी सत्यले पनि मानिसहरूलाई त्यसरी नै आकर्षित र उत्प्रेरित गर्छ। यसले भाइ ए. एच. म्याकमिलनको टिप्पणीलाई स्मरण गराउँछ। परमेश्‍वर र मानिसजातिको लागि उहाँको उद्देश्‍यसम्बन्धी आफ्नो व्यक्‍तिगत खोजबारे तिनले फेथ अन द मार्च भन्‍ने पुस्तकमा यस्तो लेखे: “मैले भेट्टाएको कुरा अरू हजारौं मानिसहरूले वर्षेनी भेट्टाइरहेका छन्‌। अनि ती मानिसहरू तपाईं र मजस्तै मानिसहरू हुन्‌ किनभने तिनीहरू विभिन्‍न राष्ट्रियता, जाति, पृष्ठभूमि र उमेरका छन्‌। सत्यले कुनै पनि किसिमको पक्षपात गर्दैन। यसले सबै प्रकारका मानिसहरूलाई आकर्षित गर्छ।”

५. सन्‌ २००४ सेवा वर्षको रिपोर्टमा कस्ता राम्रा परिणामहरू देख्न सकिन्छ?

वर्षेनी, इमानदार हृदय भएका लाखौं मानिसहरूले परमेश्‍वरको राज्यबारे सुसमाचार सुनेर यहोवालाई आफ्नो जीवन समर्पण गर्न र उहाँको इच्छा गर्न उत्प्रेरित हुँदा ती शब्दहरूको सत्यता देख्न सकिन्छ। सेप्टेम्बर २००३ देखि अगस्त २००४ सम्मको सन्‌ २००४ सेवा वर्षमा पनि यस्तै भयो। ती १२ महिनाको दौडान २,६२,४१६ जनाले यहोवाप्रति आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा जनसमक्ष प्रकट गरे। यो कार्य २३५ मुलुकमा सम्पन्‍न भयो अनि यहोवाका साक्षीहरूले हरेक हप्ता ६०,८५,३८७ गृह बाइबल अध्ययन सञ्चालन गरेर विभिन्‍न पृष्ठभूमि अनि विभिन्‍न जाति, कुल र भाषा भाषाका मानिसहरूलाई परमेश्‍वरको वचनको जीवनदायी सत्य स्वीकार्न मदत गरिरहेका छन्‌।—प्रकाश ७:९.

६. वर्षौंदेखि एकनासले वृद्धि भइरहनुको कारण के हो?

यो सबै कसरी सम्भव भयो? सही मनसाय भएका यी मानिसहरूलाई यहोवाले आफूतिर खिच्नुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (यूहन्‍ना ६:६५; प्रेरित १३:४८) तथापि, परमेश्‍वरको राज्यको खोजी गर्न आफ्नो जीवन बिताएका व्यक्‍तिहरूको आत्मत्यागी मनोभाव र अथक प्रयासलाई पनि हल्कासित लिनु हुँदैन। भाइ म्याकमिलनले ७९ वर्षको उमेरमा यस्तो लेखे: “बिरामी र मरणशील मानिसजातिलाई गरिएको प्रतिज्ञाबारे मैले पहिलो चोटि सुनेदेखि बाइबलको त्यो सन्देशले ममा जगाएको आशा आजसम्म जस्ताको तस्तै छ। सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा र मानिसजातिप्रति उहाँका राम्रा उद्देश्‍यहरूबारे जान्‍न खोजिरहेका मजस्तै अरू व्यक्‍तिहरूलाई मदत गर्न सकूँ भनेर मैले त्यतिबेला नै बाइबलका शिक्षाहरूबारे अझ बढी सिक्ने निर्णय गरें।”

७. बाइबल सत्य भेट्टाउनेहरूको आनन्द र उत्सुकतालाई कुन अनुभवले चित्रण गर्छ?

त्यस्तो उत्सुकता आज यहोवाका सेवकहरूमा पनि देखिन्छ। उदाहरणका लागि, अस्ट्रियाको भियनाकी डानियलालाई लिनुहोस्‌। उनले यसो भनिन्‌: “बच्चैदेखि परमेश्‍वर मेरो सबैभन्दा मिल्ने साथी हुनुभएको छ। म सधैं उहाँको नाउँ जान्‍न चाहन्थें किनभने ‘परमेश्‍वर’ मात्र भन्दा उहाँसित पटक्कै नजिक महसुस हुँदैनथ्यो। तर मैले यसको लागि १७ वर्षको होउन्जेलसम्म पर्खनुपऱ्‍यो जब यहोवाका साक्षीहरूले मेरो ढोका घचघच्याए। परमेश्‍वरबारे मैले जान्‍न चाहेका सबै कुराहरू उहाँहरूले मलाई बताउनुभयो। मैले बल्ल सत्य पाएँ अनि कस्तो आनन्द लाग्यो! म यति धेरै उत्साहित भएकी थिएँ कि मैले सबैलाई प्रचार गर्न थालें।” उनको यस्तो जोसले गर्दा केही समयपछि नै स्कूलका साथीहरूबाट उनले गिल्ला सहनुपऱ्‍यो। डानियलाले अझै यसो भनिन्‌, “तर यो त मेरो लागि बाइबलका भविष्यवाणीहरू पूरा भएको हेर्न पाउनु जस्तै भयो किनभने येशूका अनुयायीहरू उहाँको नाउँको खातिर घृणा गरिनेछन्‌ र सताइनेछन्‌ भनेर मैले सिकेकी थिएँ। म असाध्यै खुसी र चकित भएँ।” चाँडै, डानियलाले यहोवालाई आफ्नो जीवन समर्पण गरिन्‌, बप्तिस्मा लिइन्‌ र मिसनरी सेवाको लक्ष्यलाई पछ्याउन थालिन्‌। विवाह गरेपछि डानियलाले आफ्नो श्रीमान्‌ हेल्मुटसित भियनामा बसोबास गर्ने अफ्रिकी, चिनियाँ, फिलिपिनो र इन्डियनहरूलाई प्रचार गर्न थालिन्‌। डानियला र हेल्मुट अहिले दक्षिणपश्‍चिम अफ्रिकामा मिसनरी सेवा गर्दैछन्‌।

तिनीहरू लत्तो छोड्‌दैनन्‌

८. थुप्रैले परमेश्‍वरप्रति प्रेम र उहाँको राज्यप्रति वफादारिता देखाएको एउटा इनामदायी तरिका कुन हो?

निस्सन्देह, आज यहोवाका जनहरूले परमेश्‍वरप्रति प्रेम र उहाँको राज्यप्रति वफादारी देखाउने एउटा तरिका मिसनरी सेवा हो। येशूको दृष्टान्तका व्यापारीजस्तै यो सेवा स्वीकार्ने व्यक्‍तिहरू परमेश्‍वरको राज्यको खातिर टाढा-टाढासम्म यात्रा गर्न इच्छुक हुन्छन्‌। हुन त, यी मिसनरीहरूले परमेश्‍वरको राज्यको सुसमाचार भेट्टाउन टाढा-टाढा यात्रा गरेका होइनन्‌; तिनीहरू पृथ्वीको टाढा-टाढा बसोबास गर्ने मानिसहरूकहाँ सम्म सुसमाचार पुऱ्‍याएर उनीहरूलाई येशू ख्रीष्टका चेलाहरू बन्‍न सिकाउँदैछन्‌ र मदत गर्दैछन्‌। (मत्ती २८:१९, २०) थुप्रै मुलुकमा तिनीहरूले असामान्य किसिमका कठिनाइहरू सहनुपर्छ। तर तिनीहरूको धीरजले गर्दा प्रचुर मात्रामा आशिष्‌ पाउँछन्‌।

९, १०. मध्य अफ्रिकी गणतन्त्रजस्ता टाढा-टाढाका मुलुकहरूमा मिसनरीहरूले कस्तो रोमाञ्चकारी अनुभव गरिरहेका छन्‌?

उदाहरणका लागि, मध्य अफ्रिकी गणतन्त्रमा गत वर्ष ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा १६,१८४ जना उपस्थित भए र यो संख्या त्यस मुलुकका राज्य प्रकाशकहरूको संख्याको सात गुणा थियो। त्यस देशका धेरैजसो ठाउँहरूमा बिजुली नभएको हुँदा मानिसहरू अक्सर आफ्नो दिनचर्याका कामहरू बाहिर रूखको छहारीमुनि बसेर गर्ने गर्छन्‌। त्यसकारण मिसनरीहरूले पनि त्यसरी नै बाहिर रूखको छहारीमुनि बसेर बाइबल अध्ययनहरू सञ्चालन गर्नु कुनै अनौठो कुरा होइन। बाहिर उज्यालो र शितल हुनुका साथै एउटा अर्को फाइदा पनि छ। त्यहाँका मानिसहरू स्वभावैले बाइबलप्रति गहिरो चासो देखाउँछन्‌ अनि अन्य कतिपय मुलुकहरूमा खेलकुद वा मौसमबारे कुरा गर्नु जस्तै यहाँ चाहिं धार्मिक विषयहरूमा कुरा गर्नु सामान्य हो। अक्सर बटुवाहरू के भइरहेको छ भनेर हेर्छन्‌ अनि अध्ययनमा आफै सामेल हुन्छन्‌।

१० एक जना मिसनरीले घरबाहिर अध्ययन सञ्चालन गरिरहेको बेला सडकपारि बस्ने एक जना जवान मानिस आएर उनको घरमा अहिलेसम्म कोही पनि नआएको हुँदा मिसनरी उनको घरमा पनि आएर उनीसित बाइबल अध्ययन गर्नुपर्ने कुरा व्यक्‍त गरे। यो कुरा स्वीकार्न मिसनरी पक्कै खुसी भए अनि ती जवान मानिसले एकदमै चाँड-चाँडो प्रगति गरिरहेका छन्‌। त्यस देशमा प्रहरीले अक्सर साक्षीहरूलाई सडकमा रोक्ने गर्छन्‌, तिनीहरूलाई अदालतमा हाजिर हुने पुर्जी दिन वा जरिबाना तिराउन नभई प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाका नयाँ अंकहरू लिन वा तिनीहरूलाई असाध्यै मन परेको लेखको लागि धन्यवाद दिन त्यसो गर्ने गर्छन्‌।

११. लामो समयदेखि मिसनरी सेवा गर्दै आएकाहरू परीक्षाहरूको बावजुद आफ्नो सेवाबारे कस्तो महसुस गर्छन्‌?

११ आजभन्दा ४०/५० वर्षअघि मिसनरी सेवा थालेका थुप्रै व्यक्‍तिहरू अहिले पनि विश्‍वासीपूर्वक क्षेत्रमा सेवा गरिरहेका छन्‌। हाम्रो लागि विश्‍वास र लगनशीलताको कस्तो राम्रो उदाहरण! गत ४२ वर्षको दौडान एउटा दम्पतीले तीनवटा देशमा मिसनरीको रूपमा सेवा गरिसकेका छन्‌। पति यसो भन्छन्‌: “थुप्रै अप्ठ्यारा परिस्थितिहरू पनि अनुभव गरेका छौं। उदाहरणका लागि, हामीले ३५ वर्षसम्म औलो विरुद्ध सङ्‌घर्ष गर्नुपऱ्‍यो। तैपनि, मिसनरी हुने हाम्रो निर्णयमा हामी कहिल्यै पछुताएका छैनौं।” तिनकी पत्नी अझ यसो भन्छिन्‌: “हामी कृतज्ञ हुनुपर्ने कारणहरू थुप्रै छन्‌। क्षेत्र सेवकाई एकदमै आनन्ददायी हुन्छ अनि बाइबल अध्ययनहरू सुरु गर्न सजिलो छ। विद्यार्थीहरू सभामा आएर एकआपसमा चिनजान बढाएको देख्न पाउँदा हरेक पटक पारिवारिक जमघटजस्तो लाग्छ।”

तिनीहरू “सब कुरालाई पनि हानिको” ठान्छन्‌

१२. परमेश्‍वरको राज्यको मोललाई साँच्चै बुझेको कुरा कसरी प्रकट हुन्छ?

१२ व्यापारीले बहुमूल्य मोती भेट्टाएपछि “गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:४६) मूल्यवान्‌ ठानिने कुराहरू त्याग्ने इच्छुकता नै परमेश्‍वरको राज्यको मोललाई साँच्चै बहुमूल्य ठान्‍नेहरूको चिनारी हो। परमेश्‍वरको राज्यको महिमामा ख्रीष्टसितै सहभागी हुने प्रेरित पावलले यसो भने: “मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्‌दी सम्झन्छु।”—फिलिप्पी ३:८.

१३. चेक गणतन्त्रका एक जना व्यक्‍तिले परमेश्‍वरको राज्यप्रति आफ्नो प्रेम कसरी प्रकट गरे?

१३ त्यसै गरी, आज पनि धेरै जना परमेश्‍वरको राज्यका आशिष्‌हरू प्राप्त गर्न आफ्नो जीवनमा ठूल्ठूला परिवर्तनहरू गर्न इच्छुक छन्‌। उदाहरणका लागि, सन्‌ २००३ अक्टोबरमा चेक गणतन्त्रको एउटा स्कूलका ६० वर्षीय प्रधानाध्यापकले बाइबल अध्ययन सहायक ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तक पाए। यो पढेपछि बाइबल अध्ययन गर्नको लागि तिनले तुरुन्तै आफ्नो इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राखे। तिनले राम्रो आध्यात्मिक प्रगति गरे अनि चाँडै सबै सभाहरू धाउन थाले। तर मेयरको लागि चुनावमा उठ्‌ने अनि पछि संसदको सदस्य बन्‍नको लागि चुनावी दौडमा भाग लिने तिनको योजना नि? तिनले बेग्लै दौड अर्थात्‌ परमेश्‍वरको राज्यको उद्‌घोषकको रूपमा जीवनको दौडमा भाग लिने निधो गरे। तिनले यसो भने, “मैले आफ्नो स्कूलका विद्यार्थीहरूलाई थुप्रै बाइबल साहित्यहरू दिन सकें।” तिनले सन्‌ २००४ जुलाई महिनामा सम्पन्‍न अधिवेशनमा यहोवाप्रति आफ्नो समर्पणलाई पानीमा डुबुल्की मारेर जनसमक्ष प्रकट गरे।

१४. (क) परमेश्‍वरको राज्यको सुसमाचारले लाखौंलाई के गर्न उत्प्रेरित गरेको छ? (ख) हामी प्रत्येकले आफूलाई कस्ता विचारणीय प्रश्‍नहरू सोध्न सक्छौं?

१४ संसारभरिका अरू लाखौं मानिसहरूले पनि परमेश्‍वरको राज्यको सुसमाचारप्रति त्यस्तै प्रतिक्रिया देखाएका छन्‌। तिनीहरू दुष्ट संसारबाट निस्केर आएका छन्‌, आफ्नो पुरानो व्यक्‍तित्व त्यागेका छन्‌, आफ्नो पुरानो संगत छोडेका छन्‌ अनि सांसारिक लक्ष्यहरू त्यागेका छन्‌। (यूहन्‍ना १५:१९; एफिसी ४:२२-२४; याकूब ४:४; १ यूहन्‍ना २:१५-१७) तिनीहरूले यो सबै गर्नुको कारण के हो? किनभने तिनीहरू वर्तमान रीतिरिवाजले दिन सक्ने कुनै पनि कुराभन्दा परमेश्‍वरको राज्यका आशिष्‌हरूलाई धेरै मूल्यवान्‌ ठान्छन्‌। परमेश्‍वरको राज्यको सुसमाचारबारे के तपाईंलाई पनि त्यस्तै लाग्छ? के तपाईं आफ्नो जीवन शैली, मूल्यमान्यता अनि लक्ष्यहरू यहोवाले चाहनुभएअनुसार बनाउन आवश्‍यक छाँटकाँट गर्न उत्प्रेरित हुनुहुन्छ? त्यसो गर्दा तपाईंले अहिले अनि भविष्यमा प्रचुर मात्रामा आशिष्‌हरू पाउनुहुनेछ।

कटनी चरमोत्कर्षमा पुग्दैछ

१५. आखिरी दिनमा परमेश्‍वरका जनहरूले के गर्नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो?

१५ भजनहारले यस्तो लेखे: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌।” आफूलाई अर्पण गर्नेहरूमध्ये बिहानको “शीतजस्तै . . .जवानी” भएका युवाहरू र “सुसमाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल” पनि छन्‌। (भजन ६८:११; ११०:३) यी आखिरी दिनमा यहोवाका जनहरूमध्येका पुरुष तथा स्त्री, जवान अनि वृद्धले देखाएको लगनशीलता र आत्मत्यागको परिणाम कस्तो भएको छ?

१६. परमेश्‍वरका सेवकहरूले उहाँको राज्यबारे सिक्न अरूलाई मदत गर्नको लागि के गरिरहेका छन्‌ एउटा उदाहरण दिनुहोस्‌।

१६ भारतकी एउटी अग्रगामी अथवा परमेश्‍वरको राज्यको पूर्ण-समय उद्‌घोषकले त्यस मुलुकका बीस लाखभन्दा बढी बहिराहरूलाई परमेश्‍वरको राज्यबारे सिक्न कसरी मदत गर्ने होला भनेर सोचिरहेकी थिइन्‌। (यशैया ३५:५) उनले साङ्‌केतिक भाषा सिक्न एउटा इन्स्टिच्युटमा भर्ना हुने निर्णय गरिन्‌। त्यहाँ उनले थुप्रै बहिराहरूलाई परमेश्‍वरको राज्य आशाबारे बताउन सकिन्‌ अनि बाइबल अध्ययन समूहहरू पनि स्थापना भए। केही हप्ताभित्रै एक दर्जनभन्दा बढी मानिसहरू राज्यभवनका सभाहरूमा आउन थाले। पछि, एउटा विवाह भोजमा उक्‍त अग्रगामीले कोलकत्ताबाट आएका एक जना जवान बहिरालाई भेटिन्‌ र तिनका थुप्रै प्रश्‍नहरू हुनुका साथै यहोवाबारे अझ बढी सिक्ने गहिरो चासो पनि थियो। तर एउटा समस्या थियो। ती जवान व्यक्‍ति लगभग १,६०० किलोमिटर टाढा कोलकत्तामा फर्केर कलेजको पढाइ सुरु गर्नुपर्ने थियो र त्यहाँ साङ्‌केतिक भाषाको ज्ञान भएका साक्षीहरू कोही पनि थिएनन्‌। निकै प्रयास गरेर यस जवान व्यक्‍तिले बैंगलोरमा नै पढ्‌नको लागि आफ्नो बुबालाई मनाए किनभने यसो गर्दा तिनले आफ्नो बाइबल अध्ययनलाई निरन्तरता दिन सक्ने थिए। तिनले राम्रो आध्यात्मिक प्रगति गरे अनि लगभग एक वर्षपछि यहोवालाई आफ्नो जीवन समर्पण गरे। त्यसपछि तिनले अरू थुप्रै बहिराहरूसित बाइबल अध्ययन गर्न थाले र तीमध्ये एक जना तिनका बालसखा थिए। यस क्षेत्रमा मदत गर्नको लागि अहिले भारत शाखाले अग्रगामीहरूको लागि साङ्‌केतिक भाषा सिक्ने प्रबन्ध मिलाइरहेको छ।

१७. पृष्ठ १९ देखि २२ मा दिइएको सन्‌ २००४ सेवा वर्षको रिपोर्टबारे तपाईंलाई विशेष गरी प्रोत्साहनदायी लागेको कुरा बताउनुहोस्‌।

१७ यस पत्रिकाको पृष्ठ १९ देखि २२ मा तपाईंले सन्‌ २००४ सेवा वर्षमा यहोवाका साक्षीहरूले क्षेत्रमा गरेको गतिविधिबारे विश्‍वव्यापी रिपोर्ट पाउनुहुनेछ। यसलाई अलिक समय लगाएर केलाउनुहोस्‌ अनि पृथ्वीभरि यहोवाका जनहरूले “बहुमूल्य मोती” खोज्न देखाइरहेको एकाग्रचित्त सेवाको प्रमाण आफै हेर्नुहोस्‌।

“पहिले उहाँको राज्य . . . खोजी गर”

१८. व्यापारीको दृष्टान्तमा येशूले कुन जानकारी दिनुभएन र किन?

१८ व्यापारीबारे येशूले बताउनुभएको दृष्टान्तलाई फेरि विचार गर्दा हामी कुन कुरा याद गर्न सक्छौं भने, ती व्यापारीले आफूसित भएका सबै कुरा बेचेपछि आफ्नो जीविका कसरी चलाउनेछन्‌ भनेर येशूले केही पनि बताउनुभएन। व्यावहारिक हुँदै कसै-कसैले यस्तो प्रश्‍न गर्लान्‌: ‘ती व्यापारीसित अब केही बचत बाँकी नभएपछि तिनले भोजन, लत्ताकपडा र आवासको प्रबन्ध कसरी गर्ने थिए? त्यो बहुमूल्य मोतीले गर्दा तिनलाई के फाइदा भयो र?’ शारीरिक दृष्टिकोणबाट हेर्ने हो भने ती व्यावहारिक प्रश्‍नहरू हुने थिए। तर के येशूले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभएको थिएन र: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌”? (मत्ती ६:३१-३३) यस दृष्टान्तको मुख्य बुँदा परमेश्‍वरप्रति पूरा तनमनको भक्‍ति र परमेश्‍वरको राज्यप्रति जोस देखाउनुपर्ने आवश्‍यकता हो। के यसबाट हामी कुनै पाठ सिक्न सक्छौं?

१९. बहुमूल्य मोतीबारे येशूको दृष्टान्तबाट हामी कुन मुख्य पाठ सिक्न सक्छौं?

१९ हामीले अद्‌भुत सुसमाचारबारे चाहे भर्खरै सिकेका हौं वा परमेश्‍वरको राज्य खोज्न अनि यसका आशिष्‌हरूबारे अरूलाई बताउन दशकौं बिताइसकेका किन नहोऔं, हामीले परमेश्‍वरको राज्यलाई आफ्नो प्रमुख चासो र ध्यानको विषय बनाइ राख्नै पर्छ। यी कठिन समय हुन्‌ तर हामीले खोजिरहेको कुरा वास्तविक हो र त्यस व्यापारीले भेट्टाएको मोतीजस्तै यो पनि अतुलनीय छ भनेर विश्‍वास गर्ने ठोस कारणहरू छन्‌। विश्‍व घटनाहरू अनि पूरा भएका बाइबल भविष्यवाणीहरूले हामी “जगत्‌को अन्त[मा]” बाँचिरहेका छौं भन्‍ने विश्‍वसनीय प्रमाण दिन्छ। (मत्ती २४:३) त्यस व्यापारीले जस्तै हामी पनि परमेश्‍वरको राज्यको लागि पूरा तनमनको जोस देखाऔं अनि सुसमाचार घोषणा गर्ने सुअवसरमा रमाऔं।—भजन ९:१, २.

के तपाईंलाई याद छ?

• वर्षौंको दौडान साँचो उपासकहरूको संख्यामा वृद्धि हुनुको कारण के हो?

• मिसनरीको रूपमा सेवा गर्ने व्यक्‍तिहरूमा कस्तो मनोभाव देखिन्छ?

• परमेश्‍वरको राज्यको सुसमाचारले गर्दा मानिसहरूले कस्ता परिवर्तनहरू गरेका छन्‌?

• बहुमूल्य मोतीबारे येशूको दृष्टान्तबाट हामी कस्तो मूल्यवान्‌ पाठ सिक्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १९-२२-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाको साक्षीहरूको २००४ सेवा रिपोर्ट

(छापिएको प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ १४-मा भएको चित्र]

“सत्यले . . . सबै प्रकारका मानिसहरूलाई आकर्षित गर्छ।”—ए.एच.म्याकमिलन

[पृष्ठ १५-मा भएको चित्र]

डानियला र हेल्मुटले भियनाको विदेशी भाषाको इलाकामा प्रचार गरे

[पृष्ठ १६-मा भएका चित्रहरू]

मोती खोज्ने व्यापारीजस्तै मिसनरीहरूले आज प्रचुर मात्रामा आशिष्‌ पाएका छन्‌

[पृष्ठ १७-मा भएको चित्र]

“तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌”