सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘एउटा बहुमूल्य मोती भेट्टाउने’

‘एउटा बहुमूल्य मोती भेट्टाउने’

‘एउटा बहुमूल्य मोती भेट्टाउने’

“स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्‌।”—मत्ती ११:१२.

१, २. (क) परमेश्‍वरको राज्यसम्बन्धी एउटा दृष्टान्तमा येशूले हतपति नभेटिने कुन गुणबारे बताउनुभयो? (ख) मूल्यवान्‌ मोतीको दृष्टान्तमा येशूले के भन्‍नुभयो?

 के तपाईंले अत्यन्तै बहुमूल्य ठान्‍नुहुने त्यस्तो कुनै कुरा छ जुन प्राप्त गर्न तपाईं आफूसित भएका सबै कुरा दिन वा त्याग्न तयार हुनुहुन्छ? मानिसहरू आफ्नो कुनै लक्ष्य जस्तै पैसा, ख्याति, शक्‍ति वा ओहदा प्राप्तिको लागि प्रतिबद्धताको कुरा गर्छन्‌ तर आफूले एकदमै चाहेको एउटा कुरा प्राप्त गर्न आफूसित भएका सबै कुरा त्याग्न इच्छुक मानिस भने हतपति भेटिंदैनन्‌। परमेश्‍वरको राज्यसम्बन्धी थुप्रै विचारणीय दृष्टान्तहरूमध्ये एउटामा येशू ख्रीष्टले हतपति नभेटिने तर मनमोहक यस गुणबारे नै बताउनुभयो।

यो येशूले आफ्ना चेलाहरूलाई मात्र बताउनुभएको दृष्टान्त अथवा उखान हो र यसलाई अक्सर मूल्यवान्‌ मोतीको दृष्टान्त भनिन्छ। येशूले यसो भन्‍नुभयो: “स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो, र त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:३६, ४५, ४६) यो उखानबाट आफ्ना श्रोताहरूले कुन कुरा सिकेको येशू चाहनुहुन्थ्यो? अनि येशूका शब्दहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?

बहुमूल्य मोतीहरू

३. पुरातन समयमा असल मोतीहरू किन निकै मूल्यवान्‌ मानिन्थ्यो?

पुरातन समयदेखि नै शृङ्‌गारसामग्रीको रूपमा मोतीको ठूलो मोल गरिंदै आएको छ। एउटा स्रोतको टिप्पणीअनुसार रोमी लेखक प्लाइनी दी एल्डरको विचारमा “मूल्यवान्‌ कुराहरूमध्ये सबैभन्दा उत्कृष्ट चाहिं” मोती थियो। सुन, चाँदी वा अन्य मणिहरूजस्तो नभई मोती भनेको जीवित कुराबाट बन्छ। कुनै-कुनै प्रकारका सिपीले ढुङ्‌गाका ससाना टुक्राजस्ता यसलाई कोतर्ने अनावश्‍यक वस्तुहरूलाई समेत नाकर अर्थात्‌ मोतीहरूको आमा भनिने लेसोले ढाकेर चहकिलो मोतीमा परिणत गर्छन्‌। पुरातन समयमा सबैभन्दा उत्कृष्ट मोतीहरू इस्राएलको भूमिभन्दा टाढा पर्ने लाल समुद्र, फारसको खाडी र हिन्द महासागरबाट जम्मा गरिन्थ्यो। यसैकारणले त येशूले “असल मोतीहरू खोज्ने एउटा व्यापारी” भनेर बताउनुभयो। साँच्चै मूल्यवान्‌ मोती भेट्टाउन निकै प्रयास गर्नुपर्ने हुन्छ।

४. मोती खोज्ने व्यापारीबारे येशूको दृष्टान्तको प्रमुख पाठ के हो?

असल मोतीहरू पहिलेदेखि नै महँगा भए तापनि येशूको दृष्टान्तमा उहाँले त्यसको वित्तीय मोलबारे प्रमुख पाठ सिकाउन खोज्नुभएको थिएन भन्‍ने कुरा प्रस्ट छ। यस दृष्टान्तमा येशूले परमेश्‍वरको राज्यलाई एउटा बहुमूल्य मोतीसित मात्र तुलना गर्नुभएन तर “असल मोतीहरू खोज्ने एउटा व्यापारी” र त्यो भेट्टाएपछि तिनले के गर्छन्‌, त्यसतर्फ ध्यान खिच्नुभयो। एउटा सामान्य पसलेजस्तो नभई मोती खोज्ने व्यापारी वा डिलरलाई त्यस व्यापारको पारखी भन्‍न सकिन्थ्यो जससित आफूले भेट्टाएको मोती साँच्चै असाधारण हो कि होइन भनेर त्यसका कलात्मक वा अदृश्‍य गुणहरू गहिरिएर केलाउन सक्ने विवेक हुन्थ्यो। साँचो मोती हो कि होइन भन्‍ने कुरा तिनले हेर्नेबित्तिकै चिन्‍न सक्थे अनि कमसल वा नक्कलीबाट झुक्किने थिएनन्‌।

५, ६. (क) येशूको दृष्टान्तको व्यापारीबारे खास उल्लेखनीय पक्ष के हो? (ख) खेतमा गाडी राखेको धनसम्बन्धी दृष्टान्तले व्यापारीको कुन कुरा प्रकट गर्छ?

यस खास व्यापारीबारे अर्को एउटा उल्लेखनीय पक्ष पनि छ। साधारण व्यापारीले पहिले मोतीको बजार भाउ बुझेर पछि त्यसलाई बेच्दा कति नाफा कमाउन सकिन्छ भनेर अनुमान लगाउन खोज्लान्‌। अनि त्यस्तो मोती तुरुन्तै बेच्नको लागि बजारमा माग छ कि छैन भनेर पनि विचार गर्लान्‌। अर्को शब्दमा भन्‍ने हो भने, तिनी आफूसित मोती राख्न नभई त्यस लगानीबाट सकेसम्म चाँडो अनि धेरै मुनाफा कमाउन बढी ध्यान दिनेछन्‌। तर येशूको दृष्टान्तको व्यापारीको कुरा भने त्यसो होइन। तिनको खास चासो पैसा कमाउने वा भौतिक लाभमा थिएन। वास्तवमा, तिनी आफूले खोजिरहेको कुरा प्राप्त गर्न “आफूसँग भएका सबै” अर्थात्‌ हुन सक्छ आफ्नो सारा धनसम्पत्ति त्याग्न इच्छुक थिए।

प्रायजसो व्यापारीको नजरमा येशूको दृष्टान्तका त्यस व्यक्‍तिले गरेको काम सायद मूर्खतापूर्ण थियो। एक जना चनाखो व्यापारीले त्यस्तो जोखिमपूर्ण व्यापारिक कदम चाल्ने सोचाइसमेत राख्ने थिएनन्‌। तर येशूको दृष्टान्तका व्यापारीको भने कुन कुरालाई बहुमूल्य ठान्‍ने भन्‍ने सन्दर्भमा बेग्लै स्तर थियो। तिनको इनाम कुनै आर्थिक लाभमा नभई सर्वोत्कृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने आनन्द र सन्तुष्टिमा थियो। येशूले बताउनुभएको यो जस्तै अर्को दृष्टान्तमा यस बुँदालाई स्पष्ट पारिएको छ। उहाँले यसो भन्‍नुभयो: “स्वर्गको राज्य खेतमा गाडी राखेको धनजस्तो हो, जो एउटा मानिसले भेटेर लुकाई राख्यो, र आनन्दित भएर उसले आफूसँग भएको सबै बेच्यो, र त्यो खेत किन्यो।” (मत्ती १३:४४) हो, त्यो धन पत्ता लगाएर प्राप्त गर्नुको आनन्दको तुलनामा आफूसित भएका सबै कुरा दिनु त्यस व्यक्‍तिको लागि कुनै ठूलो कुरा थिएन। के आज पनि त्यस्ता मानिसहरू छन्‌? के त्यस्तो त्याग गरेर प्राप्त गर्न लायकको कुनै धन छ?

ठूलो मोललाई राम्ररी बुझेकाहरू

७. आफूले परमेश्‍वरको राज्यलाई साँच्चै ठूलो मोलको ठानेको कुरा येशूले कसरी देखाउनुभयो?

यो दृष्टान्तमा येशूले “स्वर्गको राज्य[बारे]” बताउँदै हुनुहुन्थ्यो। उहाँ आफैले पनि परमेश्‍वरको राज्यको ठूलो मोललाई साँच्चै बुझ्नुभएको थियो। सुसमाचारका पुस्तकहरूको विवरणले त्यस तथ्यको जोडदार प्रमाण दिन्छ। सा.यु. २९ मा बप्तिस्मा लिइसक्नुभएपछि येशूले “प्रचार गर्दै भन्‍न लाग्नुभयो, ‘पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।’ ” साढे तीन वर्षसम्म उहाँले परमेश्‍वरको राज्यबारे असंख्य मानिसहरूलाई सिकाउनुभयो। उहाँले त्यस इलाकाभरि यात्रा गरेर “शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदै हिंड्‌नुभयो।”—मत्ती ४:१७; लूका ८:१.

८. परमेश्‍वरको राज्यले के-के गर्नेछ भनी देखाउन येशूले के गर्नुभयो?

त्यस इलाकाभरि अनगन्ती चमत्कारहरू गरेर जस्तै—बिरामीलाई निको पारेर, भोकालाई खुवाएर, प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रणमा राखेर अनि मरेकाहरूलाई समेत ब्यूँताएर येशूले परमेश्‍वरको राज्यले के-के गर्नेछ भनेर पनि देखाउनुभयो। (मत्ती १४:१४-२१; मर्कूस ४:३७-३९; लूका ७:११-१७) अन्तमा, उहाँले आफ्नो जीवन अर्पण गरेर अनि शासनाको खम्बामा शहीदको रूपमा मरेर परमेश्‍वर र उहाँको राज्यप्रति आफ्नो वफादारिता प्रमाणित गर्नुभयो। त्यस व्यापारीले “बहुमूल्य मोती” पाउनको लागि आफूसित भएका सबै कुरा खुसीसाथ दिएझैं येशू पनि परमेश्‍वरको राज्यको लागि नै जिउनुभयो र त्यसैको लागि मर्नुभयो।—यूहन्‍ना १८:३७.

९. हतपति नदेखिने कस्तो गुण येशूका प्रारम्भिक चेलाहरूमाझ देखियो?

येशूले आफ्नो जीवन मात्र परमेश्‍वरको राज्यमा केन्द्रित गर्नुभएन तर उहाँले आफ्ना अनुयायीहरूको सानो समूह पनि जम्मा गर्नुभयो। यी व्यक्‍तिविशेषहरूले पनि परमेश्‍वरको राज्यको ठूलो मोललाई साँच्चै बुझेका थिए। तिनीहरूमध्ये एक जना अन्द्रियास थिए जो सुरुमा बप्तिस्मा दिने यूहन्‍नाका चेला थिए। येशू “परमेश्‍वरका थुमा” हुनुहुन्छ भन्‍ने यूहन्‍नाको साक्षी सुनेपछि अन्द्रियास र यूहन्‍नाका अर्को चेला जो सम्भवतः जब्दीका छोरा थिए र जसको नाउँ पनि यूहन्‍ना नै थियो, तिनीहरू तत्कालै येशूतर्फ आकर्षित भए अनि उहाँमाथि विश्‍वास गर्न लागे। तर कुरा त्यतिमै टुङ्‌गिएन। अन्द्रियास तुरुन्तै आफ्नो भाइ शिमोनकहाँ गएर यसो भने: “हामीले मसीहलाई भेट्टाएका छौं।” त्यसको लगत्तै शिमोन (जो केफास वा पत्रुस भनेर चिनिए) र फिलिप अनि तिनको साथी नथनेलले पनि येशू नै मसीह हुनुहुन्छ भनेर चिने। वास्तवमा, नथनेल येशूलाई यसो भन्‍न उत्प्रेरित भए: “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”—यूहन्‍ना १:३५-४९.

कदम चाल्न उत्प्रेरित

१०. येशूले आफ्ना चेलाहरूलाई पहिलो चोटि भेटेको केही समयपछि फेरि भेटेर बोलाउनुहुँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

१० मसीहलाई भेट्टाएपछि अन्द्रियास, पत्रुस, यूहन्‍ना र अन्य व्यक्‍तिहरूले महसुस गरेको उत्साहलाई बहुमूल्य मोती भेट्टाउने व्यापारीले महसुस गरेको उत्साहसित तुलना गर्न सकिन्छ। अब तिनीहरूले के गर्ने थिए? येशूलाई पहिलो चोटि भेट्‌ने बित्तिकै तिनीहरूले के गरे भनेर सुसमाचारका पुस्तकहरूले हामीलाई त्यति बताएको छैन। तिनीहरूमध्ये प्रायजसो आ-आफ्नै सामान्य दिनचर्यामा फर्केजस्तो देखिन्छ। तथापि, त्यसको लगभग छ महिनादेखि एक वर्षपछि येशूले फेरि अन्द्रियास, पत्रुस, यूहन्‍ना र यूहन्‍नाको दाइ याकूबलाई गालीलको समुद्रमा माछा मारिरहेको भेट्टाउनुभयो। a तिनीहरूलाई देखेपछि येशूले यसो भन्‍नुभयो: “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जलाहारी तुल्याउनेछु।” तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? पत्रुस र अन्द्रियासबारे मत्तीको विवरण यसो भन्छ: “तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” याकूब र यूहन्‍नाबारे भने हामी यसो लेखिएको पाउँछौं: “तब उत्तिखेरै डुङ्‌गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे।” लूकाको थप विवरणअनुसार “ती सबै छोडेर तिनीहरू उहाँका पछि लागे।”—मत्ती ४:१८-२२; लूका ५:१-११.

११. येशूका चेलाहरूले तुरुन्तै प्रतिक्रिया देखाइहाल्नुको कारण सम्भवतः के हुन सक्छ?

११ के चेलाहरूले यसरी तुरुन्तै निर्णय गर्दा आवेगमा आएर गरेका थिए? त्यसो त पटक्कै होइन! येशूसित पहिलो चोटि भेटेपछि तिनीहरू आ-आफ्नो परिवारको माछा व्यवसायमा फर्के तापनि तिनीहरूले त्यतिबेला देखेका र सुनेका कुराले तिनीहरूको मन अनि हृदयमा गहिरो छाप पारेको थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। झन्डै एक वर्षजति बितिसकेको हुँदा तिनीहरूले ती विषयहरूमा गहिरिएर विचार गर्ने प्रशस्त समय पाएका थिए। अब भने निर्णय गर्नुपर्ने घडी आएको थियो। के तिनीहरूको हृदय पनि त्यस व्यापारीको जस्तो हुने थियो जसले एउटा बहुमूल्य मोती भेट्टाएपछि येशूले वर्णन गर्नुभएझैं त्यो मोती किन्‍नको लागि गर्नुपर्ने काम गर्न तुरुन्तै ‘गए?’ हो, कुरा त्यस्तै थियो। आफूले देखेका र सुनेका कुराले तिनीहरूको हृदय छोयो। तिनीहरूले अब कदम चालिहाल्नुपर्ने समय आएको महसुस गरे। त्यसैले उक्‍त विवरणले बताएझैं कुनै आनाकानी नगरी तिनीहरूले आफूसित भएका सबै कुरा त्यागे अनि येशूका अनुयायीहरू बने।

१२, १३. (क) येशूको कुरा सुन्‍ने धेरैजसोले कस्तो प्रतिक्रिया देखाए? (ख) आफ्ना विश्‍वासी चेलाहरूबारे येशूले के भन्‍नुभयो र उहाँका शब्दहरूले कुन कुरा सङ्‌केत गर्छ?

१२ सुसमाचारका पुस्तकहरूमा उल्लिखित अरू कतिपय व्यक्‍तिहरूभन्दा यी विश्‍वासी जनहरूको प्रतिक्रिया कति भिन्‍न थियो! येशूले थुप्रैलाई निको पार्नुभएको थियो वा खुवाउनुभएको थियो तर तिनीहरू आ-आफ्नै दिनचर्यामा लागिरहे। (लूका १७:१७, १८; यूहन्‍ना ६:२६) येशूले उहाँको अनुयायी बन्‍ने निमन्त्रणा दिनुहुँदा कोही-कोही त त्यो जिम्मेवारी स्वीकार्नदेखि भाग्न समेत खोजे। (लूका ९:५९-६२) यसको ठीक विपरीत, विश्‍वास गर्ने व्यक्‍तिहरूबारे येशूले पछि यसो भन्‍नुभयो: “बप्तिस्मा दिने यूहन्‍नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्‌।”—मत्ती ११:१२.

१३ यो पदबारे बाइबलविद्‌ हाइनरीक मायर यसो भन्छन्‌: “आउँदै गरेको मसीही राज्यबारे त्यस्तो उत्सुकता, बेजोड प्रयास र सङ्‌घर्ष थियो भनेर वर्णन गरिएको छ . . . त्यस राज्यप्रतिको चासो त्यत्तिको उत्सुक र जोडदार (शान्त र प्रतीक्षारत होइन) छ।” मोती खोज्ने व्यापारीले जस्तै यी केही व्यक्‍तिहरूले साँच्चै मूल्यवान्‌ कुरा के हो भनेर तुरुन्तै चिने अनि परमेश्‍वरको राज्यको खातिर आफूसित भएका सबै कुरा खुसीसाथ त्यागे।—मत्ती १९:२७, २८; फिलिप्पी ३:८.

अरूले पनि सँगसँगै खोज्न थाले

१४. राज्य प्रचारकार्यको लागि येशूले आफ्ना प्रेरितहरूलाई कसरी तयार पार्नुभयो र परिणाम कस्तो भयो?

१४ आफ्नो सेवकाईको दौडान येशूले परमेश्‍वरको राज्यको खोजी गर्न अरूलाई प्रशिक्षण र मदत दिनुभयो। सर्वप्रथम उहाँले चेलाहरूमध्येबाट १२ जनालाई छान्‍नुभयो अनि तिनीहरूलाई प्रेरितहरू नियुक्‍त गर्नुभयो अथवा तिनीहरू येशूबाट पठाइएकाहरू थिए। यिनीहरूलाई आफ्नो सेवकाई कसरी पूरा गर्ने भनेर येशूले विस्तृत निर्देशन दिनुका साथै तिनीहरूले भविष्यमा सामना गर्नुपर्ने चुनौती तथा कठिनाइहरूबारे चेतावनी दिनुभयो। (मत्ती १०:१-४२; लूका ६:१२-१६) त्यसपछि लगभग दुई वर्षसम्म त्यस इलाकाको प्रचारकार्यमा तिनीहरू येशूसँगसँगै गए अनि उहाँसित नजिकको सम्बन्ध राख्न सके। तिनीहरूले उहाँको कुरा सुने, उहाँले गर्नुभएका शक्‍तिशाली कामहरू देखे अनि उहाँको व्यक्‍तिगत उदाहरण हेरे। (मत्ती १३:१६, १७) निस्सन्देह, यी सबै कुराहरूले तिनीहरूको हृदयमा यतिबिघ्न गहिरो छाप पाऱ्‍यो कि त्यस व्यापारीजस्तै तिनीहरू पनि अत्यन्तै जोस र तनमनका साथ परमेश्‍वरको राज्यको पछि लागे।

१५. येशूका अनुयायीहरू रमाउनुपर्ने खास कारणबारे येशूले के भन्‍नुभयो?

१५ यी १२ जना प्रेरितबाहेक येशूले “सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडि पठाउनुभयो।” उहाँले तिनीहरूलाई भविष्यमा आइपर्ने परीक्षा तथा कठिनाइहरूबारे पनि बताउनुभयो अनि मानिसहरूलाई यसो भन्‍ने निर्देशन दिनुभयो: “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आइपुगेको छ।” (लूका १०:१-१२) ती ७० जना औधी रमाएर फर्के अनि येशूलाई यस्तो रिपोर्ट सुनाए: “हे प्रभु, तपाइँको नाउँले भूतहरू पनि हाम्रा वशमा आए।” तिनीहरूले परमेश्‍वरको राज्यप्रति देखाएको जोसले गर्दा तिनीहरू अझ बढी रमाउनेछन्‌ भनी येशूले बताउँदा तिनीहरू छक्क परे होलान्‌। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “आत्माहरू तिमीहरूका वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन्‌ भनेरनै रमाओ।”—लूका १०:१७, २०.

१६, १७. (क) येशूले आफ्ना विश्‍वासी चेलाहरूसित बिताउनुभएको अन्तिम रातमा तिनीहरूलाई के भन्‍नुभयो? (ख) येशूका शब्दहरूले ती प्रेरितहरूलाई कस्तो आनन्द र आश्‍वासन दियो?

१६ अन्ततः येशूले आफ्ना प्रेरितहरूसित बिताउनुभएको अन्तिम रात सा.यु. ३३ नीसान १४ का दिन उहाँले स्थापना गर्नुभएको उत्सव प्रभुको साँझको भोज भनेर चिनिन थाल्यो अनि उहाँले तिनीहरूलाई त्यो स्मरणार्थ उत्सव मनाउने आज्ञा दिनुभयो। त्यस साँझको दौडान येशूले उहाँसित बाँकी रहेका ११ जनालाई यसो भन्‍नुभयो: “तिमीहरू मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।”—लूका २२:१९, २०, २८-३०.

१७ येशूका यी शब्दहरू सुन्दा ती प्रेरितहरूको हृदय कस्तो आनन्द र सन्तुष्टिले भरिएको हुनुपर्छ! तिनीहरूलाई कुनै पनि मानवले पाउन सक्ने सबैभन्दा उच्च आदर र सुअवसर दिइएको थियो। (मत्ती ७:१३, १४; १ पत्रुस २:९) त्यस व्यापारीले जस्तै तिनीहरूले पनि परमेश्‍वरको राज्यको पछि लाग्न आफूसित भएका सबै कुरा त्यागेका थिए। अब भने तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा थिएनन्‌ भन्‍ने आश्‍वासन दिइएको थियो।

१८. ती ११ जना प्रेरितबाहेक परमेश्‍वरको राज्यबाट अन्ततः क-कसले लाभ उठाउनेछन्‌?

१८ त्यस रात येशूसित भएका प्रेरितहरूले मात्र परमेश्‍वरको राज्यबाट लाभ उठाउने थिएनन्‌। महिमित स्वर्गीय राज्यमा जम्मा १,४४,००० जना येशू ख्रीष्टसित सहशासक हुन राज्य करारमा सामेल होऊन्‌ भन्‍ने यहोवाको इच्छा थियो। साथै, प्रेरित यूहन्‍नाले एउटा दर्शनमा “कसैले गन्‍न नसक्ने . . . एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि . . . उभिरहेका” देखे र “यसो भनेर ती कराउँदा रहेछन्‌, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।’ ” यिनीहरू परमेश्‍वरको राज्यका पार्थिव प्रजाहरू हुन्‌। bप्रकाश ७:९, १०; १४:१, ४.

१९, २०. (क) सबै देशका मानिसहरूसामु कस्तो मौका खुला छ? (ख) अर्को लेखमा कुन प्रश्‍नबारे छलफल गरिनेछ?

१९ येशू स्वर्गमा जानुभन्दा अलिक समयअघि उहाँले आफ्ना विश्‍वासी अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) त्यसैले सबै देशका मानिसहरू येशू ख्रीष्टका चेलाहरू बन्‍ने थिए। चाहे स्वर्गीय इनाम होस्‌ वा पार्थिव, असल मोती भेट्टाउने व्यापारीले झैं यिनीहरूले पनि आफ्नो हृदय परमेश्‍वरको राज्यमा केन्द्रित गर्ने थिए।

२० येशूका शब्दहरूले सङ्‌केत गरेझैं चेला बनाउने काम “जगत्‌को अन्तसम्म” चलिरहने थियो। त्यसैले हाम्रो समयमा के त्यो व्यापारीजस्ता व्यक्‍तिहरू अझै छन्‌ जो परमेश्‍वरको राज्यको लागि आफ्ना सबै कुराहरू त्याग्न इच्छुक छन्‌? यस प्रश्‍नबारे अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a हुनसक्छ, जब्दीका छोरा यूहन्‍ना येशूको पछि लागे अनि उनीहरूसित पहिलो चोटि भेटेपछि येशूले गर्नुभएका केही कुराहरू देखेको कारण यूहन्‍नाले आफ्नो नाउँको सुसमाचारको पुस्तकमा ती विवरणहरू त्यत्तिको जीवन्त ढङ्‌गमा लेख्न सके। (यूहन्‍ना, अध्याय २-५) तैपनि, येशूले बोलाउनुभन्दा केही समयअघि तिनी आफ्नो परिवारको माछा व्यवसायमै फर्केका थिए।

b थप विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय १० हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• मोती खोज्ने व्यापारीको दृष्टान्तको प्रमुख पाठ के हो?

• परमेश्‍वरको राज्यको ठूलो मोललाई साँच्चै बुझेको कुरा येशूले कसरी देखाउनुभयो?

• येशूले बोलाउनुहुँदा तुरुन्तै प्रतिक्रिया देखाइहाल्न कुन कुराले अन्द्रियास, पत्रुस, यूहन्‍ना र अरूलाई उत्प्रेरित गऱ्‍यो?

• सबै देशका मानिसहरूसामु कस्तो अद्‌भुत मौका छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

‘तिनीहरूले सबै छोडेर येशूका पछि लागे’

[पृष्ठ १२-मा भएको चित्र]

स्वर्ग जानुअघि येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउने आज्ञा दिनुभयो