सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले सिकाउनुहुने व्यक्‍तिमा सत्यले फल फलाउँदैछ?

के तपाईंले सिकाउनुहुने व्यक्‍तिमा सत्यले फल फलाउँदैछ?

के तपाईंले सिकाउनुहुने व्यक्‍तिमा सत्यले फल फलाउँदैछ?

जवान एरिकले आफू यहोवाको साक्षी भई चिनिन नचाहेको कुरा बताउँदा उसका आमाबाबु छाँगाबाट खसेझैं भए। यस्तो होला भनेर उनीहरूले सपनामा पनि चिताएका थिएनन्‌। सानैदेखि एरिक पारिवारिक बाइबल अध्ययनमा भाग लिन्थे, मसीही सभाहरूमा उपस्थित हुन्थे अनि मण्डलीसितै प्रचारकार्यमा भाग लिन्थे। यस्तो देखिन्थ्यो, मानौं उसले सत्यलाई आफ्नो बनाइसक्यो। तर अहिले उनले घर छोडेपछि उनका आमाबाबुले बल्ल उनले सत्यलाई आफ्नो बनाएका थिएनन्‌ भनेर बुझे। उनका आमाबाबुले यो कुरा थाह पाउनु चोट र निराशा दुवै थियो।

बाइबल विद्यार्थीले अप्रत्याशित रूपमा अध्ययन गर्न छोड्‌दा अन्य कतिपयले यस्तै भावनाहरू अनुभव गरेका छन्‌। यस्तोबेला मानिसले प्रायः आफैलाई सोध्ने गर्छन्‌, ‘यस्तो परिणामलाई मैले पहिल्यै किन ठम्याउन सकिनँ?’ आध्यात्मिक विपत्तिले प्रहार गर्नुअघि नै सत्य सिकिरहेको व्यक्‍तिमा सत्यले फल फलाइरहेको छ कि छैन भनेर ठम्याउनु के सम्भव छ? अतः आफू स्वयम्‌ र आफूले सत्य सिकाइरहेको व्यक्‍तिमा सत्यले फल फलाइरहेको छ कि छैन भनेर हामी कसरी निश्‍चित हुन सक्छौं? एक परिचित उखानको रूपमा रहेको बिउ छर्नेको उखानमा येशूले यी प्रश्‍नहरूको उत्तर थाह पाउने एउटा सङ्‌केत दिनुभयो।

सत्य हृदयसम्म पुग्नै पर्छ

येशूले यसो भन्‍नुभयो, “बिउ चाहिं परमेश्‍वरको वचन हो। तर असल जमीनमा पर्ने [रोपिएका] चाहिं ती हुन्‌, जसले वचन सुनेर असल र भला हृदयमा जोगाई राख्छन्‌, औ धीरजसित फल फलाउँछन्‌।” (लूका ८:११, १५) तसर्थ, राज्यसम्बन्धी सत्यले हाम्रा विद्यार्थीहरूमा कुनै फल फलाउनुअघि त्यसले तिनीहरूको लाक्षणिक हृदयमा जरा गाडेको हुनुपर्छ। उर्वर माटोमा छरिएको असल बिउजस्तै असल हृदयलाई ईश्‍वरीय सत्यले छोइसकेपछि तत्कालै यसले असर गर्न थाल्छ र फल फलाउँछ भनी येशू आश्‍वासन दिनुहुन्छ। हामीले कुन कुराको आशा गर्नुपर्छ?

बाहिरी भावभङ्‌गी मात्र नभई हामीले हृदयका गुणहरूलाई याद गर्नै पर्छ। केवल उपासनासम्बन्धी दैनिक तालिका कायम राख्दैमा कुनै व्यक्‍तिको हृदयभित्र साँच्चै के छ, सो प्रकट हुँदैन। (यर्मिया १७:९, १०; मत्ती १५:७-९) हामीले गहिराइसम्म खोतल्नु आवश्‍यक छ। उक्‍त व्यक्‍तिको इच्छा, मनोवृत्ति र जीवनका प्राथमिकताहरूमा स्पष्ट परिवर्तन आएको हुनुपर्छ। प्रत्येकले परमेश्‍वरको इच्छाअनुसारको नयाँ व्यक्‍तित्व विकास गरिरहेको हुनुपर्छ। (एफिसी ४:२०-२४) उदाहरणको लागि:  थिस्सलोनिकीहरूले सुसमाचार सुनेपछि यसलाई परमेश्‍वरको वचनको रूपमा तुरुन्तै स्वीकारे भनी पावलले भने। तर सत्यले “[तिनीहरूमा] काम पनि” गऱ्‍यो भन्‍ने कुराको पुष्टि पावलले तिनीहरूले त्यसपछि देखाएका धीरज, विश्‍वासीपन र प्रेमद्वारा पाए।—१ थिस्सलोनिकी २:१३, १४; ३:६.

निस्सन्देह, एरिकको उदाहरणले देखाएझैं, ढिलो होस्‌ या चाँडो विद्यार्थीको हृदयभित्र के छ, त्यो उसको स्वभावमा प्रकट हुनेछ। (मर्कूस ७:२१, २२; याकूब १:१४, १५) दुःखको कुरा, कुनै व्यक्‍तिमा कुनै खास खराब गुणहरू पूर्णतः देखिने बेलासम्ममा धेरै ढिलो भइसकेको हुन सक्छ। त्यसोभए, चुनौती भनेको कुनै खास कमजोरीहरू आध्यात्मिक तवरमा ठेस लाग्ने ढुङ्‌गा बन्‍नुअघि नै त्यसलाई ठम्याउने प्रयास गर्नु हो। लाक्षणिक हृदय खोतल्ने तरिका हामीलाई चाहिन्छ। त्यसोभए त्यो तरिका के हो?

येशूबाट सिक्नुहोस्‌

निस्सन्देह, येशूले मानिसको हृदयमा जे छ ठ्याक्कै थाह पाउन सक्नुहुन्थ्यो। (मत्ती १२:२५) हामी कसैले त्यसो गर्न सक्दैनौं। तैपनि, हामीले पनि कुनै पनि व्यक्‍तिको इच्छा-आकाङ्‌क्षा, मनोवृत्ति र प्राथमिकताहरू खुट्याउन सक्छौं भनी उहाँले हामीलाई देखाउनुभयो। जसरी एक जना दक्ष डाक्टरले बिरामीको वास्तविक मुटुमा के कस्ता त्रुटिहरू छन्‌ भनी पत्ता लगाउन विभिन्‍न जाँचपड्‌ताल गर्ने उपायहरू अपनाउँछ त्यसरी नै झट्ट हेर्दा नदेखिएको र लुकेको अवस्थामै रहेको “हृदयको भावना र विचारलाई” ‘तान्‍न’ र प्रकट गर्न येशूले परमेश्‍वरको वचन प्रयोग गर्नुभयो।—हितोपदेश २०:५; हिब्रू ४:१२.

उदाहरणको लागि, एक पटक येशूले पत्रुसलाई उनको एउटा कमजोरीप्रति सचेत हुन मदत गर्नुभयो जुन पछि गएर ठेस लाग्ने ढुङ्‌गा बन्यो। येशूप्रतिको पत्रुसको प्रेमबारे येशूलाई थाह थियो। वास्तवमा, येशूले भर्खरै पत्रुसलाई “राज्यका साँचाहरू” सुम्पनुभएको थियो। (मत्ती १६:१३-१९) यद्यपि, आफ्ना चेलाहरू शैतानको तारो थिए भनेर पनि येशूलाई थाह थियो। अब केही दिनपछि सम्झौता गर्न तिनीहरूलाई तीव्र दबाब आउने थियो। आफ्ना केही चेलाहरूको विश्‍वासमा केही कमजोरी भएको कुरा येशूले स्पष्ट बुझिसक्नुभएको थियो। अझ बढी ध्यान दिनुपर्ने कुरालाई औंल्याउन उहाँ अनकनाउनुभएन। यो कुरालाई उहाँले कसरी छलफलमा निकाल्नुभयो, विचार गर्नुहोस्‌।

मत्ती १६:२१ ले भन्छ: “त्यस बेलादेखि येशूले आफ्ना चेलाहरूलाई देखाउनलाग्नुभयो, . . . [उहाँले] शासना भोग्नु, र मारिनु, . . . आवश्‍यक छ।” याद गर्नुहोस्‌, आफूलाई के हुनेछ भनेर येशूले केवल बताउनुभएन तर देखाउनुभयो। मसीहले पीडा र मृत्युसमेत भोग्नुपर्नेछ भन्‍ने कुरालाई सङ्‌केत गर्न उहाँले सम्भवतः भजन २२:१४-१८ अथवा यशैया ५३:१०-१२ जस्ता बाइबल पदहरू चलाउनुभयो। जेहोस्‌, धर्मशास्त्रबाट सीधै पढेर अथवा उद्धृत गरेर येशूले पत्रुसलगायत अरूहरूलाई हृदयबाट जवाफ दिने मौका दिनुभयो। सम्भाव्य सतावटप्रति तिनीहरूले कस्तो प्रतिक्रिया देखाउने थिए?

छक्कलाग्दो कुरा, पत्रुसले आफूलाई जत्ति नै आँटिलो र जोसिलो देखाएको भए तापनि यस अवसरमा उनको हडबडे जवाफले उनको सोचाइमा भएको एउटा गम्भीर त्रुटि प्रकट गऱ्‍यो। उनले यसो भने, “परमेश्‍वरको कृपा रहोस्‌, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।” पत्रुसको सोच्ने शैली पूर्णतः बहकिएको थियो किनकि येशूले औंल्याउनुभएअनुसार उनले “परमेश्‍वरका होइन, तर मानिसहरूका कुराहरू” सोचिरहेका थिए र यो एउटा गम्भीर गल्ती थियो जसले गम्भीर परिणामहरू निम्त्याउन सक्थ्यो। त्यसोभए येशूले के गर्नुभयो? पत्रुसलाई हप्काइसक्नुभएपछि येशूले उनीलगायत बाँकी चेलाहरूलाई यसो भन्‍नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र आफ्नो क्रूस [“शासनाको खम्बा,” NW] उठाएर मेरोपछि लागोस्‌।” उहाँले भजन ४९:८ र ६२:१२ मा पाइने विचारहरूमा ध्यान खिच्दै तिनीहरूको अनन्तको आशा, मुक्‍ति दिन नसक्ने मानिससित होइन तर परमेश्‍वरसित छ भन्‍ने कुराको मायालुपूर्वक सम्झना दिलाउनुभयो।—मत्ती १६:२२-२८.

पछि केही क्षणको लागि डरको पासोमा परेर पत्रुसले येशूलाई तीन पटक इन्कार गरे तापनि यो छलफललगायत अरू धेरै कुराहरूले उनलाई आध्यात्मिक तवरमा छिट्टै पुनः स्वस्थ्य हुनको लागि तयार हुन मदत गऱ्‍यो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (यूहन्‍ना २१:१५-१९) ठीक ५० दिनपछि येशूको पुनरूत्थानलाई पुष्टि दिन पत्रुस यरूशलेमको भीडसामु साहसी भई खडा भए। त्यसपछिका कयौं हप्ता, महिना र वर्षहरूमा बारम्बार पक्राउ पर्दा, पिटाइ खाँदा, कैदमा पर्दा निडर भई निष्ठा कायम राख्ने सन्दर्भमा पत्रुसले उल्लेखनीय उदाहरण बसाले।—प्रेरित २:१४-३६; ४:१८-२१; ५:२९-३२, ४०-४२; १२:३-५.

हामी यसबाट के सिक्न सक्छौं? पत्रुसको हृदयभित्रका कुरा तान्‍न तथा उदाङ्‌ग पार्न येशूले के गर्नुभयो, के तपाईं बुझ्न सक्नुहुन्छ? सबैभन्दा पहिले चिन्ताको खास क्षेत्रहरूमा पत्रुसको ध्यान खिच्न उहाँले उपयुक्‍त शास्त्रपद रोज्नुभयो। त्यसपछि उहाँले पत्रुसलाई आफ्नो हृदयबाट जवाफ दिने मौका दिनुभयो। अन्तमा पत्रुसका सोचाइ र भावनाहरूलाई छाँटकाँट गर्न उहाँले थप धर्मशास्त्रीय सल्लाहहरू दिनुभयो। तपाईंलाई लाग्ला, यो हदसम्मको शिक्षण शैली मेरो वशको कुरा होइन तर तयारी र यहोवामाथिको भरोसाले हामी जो-सुकैलाई पनि येशूको उदाहरण अनुकरण गर्न मदत गर्न सक्छ भन्‍ने कुरा स्पष्ट पार्ने दुईवटा अनुभव विचार गरौं।

हृदयभित्र के छ, सो निकाल्ने

जब एक जना मसीही बुबाले आफ्ना एक र दुई कक्षामा पढ्‌ने छोराहरूले शिक्षकको टेबलबाट सुटुक्क मिठाई लिएको थाह पाए, उनले बसेर तिनीहरूसित तर्क गरे। यसलाई अहानिकारक बालसुलभ चरित्र भन्‍नुको सट्टा पिता यसो भन्छन्‌, “तिनीहरूलाई त्यो खराब काम गर्न उत्प्रेरित गर्ने तत्त्व के थियो, मैले त्यो तिनीहरूको हृदयभित्रबाट निकाल्ने प्रयास गरें।”

यहोशू अध्याय ७ को विवरण बताउँदै बुबाले आकानलाई के भएको थियो, सो सम्झन लगाए। केटाहरूले तुरुन्तै कुरा बुझे र गल्तीको पश्‍चात्ताप पनि गरिहाले। तिनीहरूलाई आफ्नो अन्तस्करणले पिरोल्न थालिसकेको थियो। त्यसैले बुबाले तिनीहरूलाई एफिसी ४:२७, २८ पढ्‌न लगाए जहाँ यसो भनिएको छ: “चोर्नेले फेरि नचोरोस्‌, बरु त्यसले परिश्रम गरोस, र . . . दरकार पर्नेहरूलाई केही दिनलाई त्यससँग होस्‌।” क्षतिपूर्तिस्वरूप मिठाई किनेर शिक्षकलाई दिन लगाएर बुबाले उक्‍त धर्मशास्त्रीय सल्लाह अझ सशक्‍त बनाए।

बुबा यसो भन्छन्‌, “कुनै पनि खराब मनोवृत्तिहरूलाई एकचोटि ठम्याइसकेपछि हामी त्यसलाई जरैदेखि उखेल्ने कोसिस गर्छौं, अनि बच्चाहरूसित तर्क गरेर यसको ठाउँमा असल र शुद्ध मनोवृत्ति बसाल्छौं।” आफ्ना बच्चाहरूलाई सिकाउँदा येशूको अनुकरण गरेर समयको दौडान यी आमाबाबुहरूले साँच्चै असल परिणाम हात पारे। पछि गएर दुवै छोराहरूलाई ब्रुकलिन बेथेलस्थित मुख्यालयको सदस्य हुन निम्त्याइयो र तिनीहरूमध्ये एक जना २५ वर्ष पश्‍चात्‌ पनि अझै त्यहाँ सेवारत छन्‌।

अर्की एक जना मसीहीले कसरी आफ्नो बाइबल बिद्यार्थीलाई मदत गर्न सकिन्‌, विचार गर्नुहोस्‌। बाइबल विद्यार्थी सभाहरूमा उपस्थित हुँदै थिइन्‌, सेवकाईमा भाग लिंदै थिइन्‌ अनि उनले बप्तिस्मा लिने इच्छा व्यक्‍त गरिसकेकी थिइन्‌। तर उनी यहोवामाथिभन्दा बढ्‌तै आफैमाथि भर परेकी जस्तो देखिन्थ्यो। ती साक्षी यसरी सम्झन्छिन्‌, “अविवाहित केटी भएकी हुँदा उनले ठानेको भन्दा उनी बढ्‌तै आत्मनिर्भर थिइन्‌। मलाई उनी भावनात्मक रूपमा थकित होलिन्‌ अथवा उनको आध्यात्मिकता खस्केला कि भनी चिन्ता लाग्यो।”

त्यसैले उनलाई आफ्ना प्राथमिकताहरू छाँटकाँट गर्न, परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिन अनि कुनै काममा सफल हुन यहोवामा भरोसा राख्न प्रोत्साहन दिंदै मत्ती ६:३३ बाट उनीसित तर्क गर्न उक्‍त साक्षी अग्रसर भइन्‌। तिनले सीधै यस्तो प्रश्‍न सोधिन्‌: “आफ्नो खुट्टामा उभिने धुनमा के तपाईंलाई अरूप्रति अझै यहोवामाथि समेत भरोसा गर्न गाह्रो लाग्छ?” विद्यार्थीले अहिले आफूले लगभग प्रार्थना गर्न समेत छाडेको कुरा स्वीकारिन्‌। त्यसपछि प्रकाशकले भजन ५५:२२ को सल्लाह पालन गर्न अनि आफ्नो सारा भारी यहोवामा बिसाउन प्रोत्साहित गरिन्‌ किनकि १ पत्रुस ५:७ ले हामीलाई “उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ” भनी आश्‍वासन दिन्छ। यी शब्दहरूले उनको हृदय छोयो। उक्‍त साक्षी यसो भन्छिन्‌: “ऊ रोएको मैले त्यति देखेको थिइनँ तर त्यतिखेर भने उनले आँशु थाम्न सकिनन्‌।”

आफूभित्र सत्यलाई काम गर्न दिइरहनुहोस्‌

आफूले सिकाएकाहरूले बाइबल सत्य स्वीकारेको देख्दा हामीलाई असीम आनन्दको अनुभूति हुन्छ। यद्यपि, अरूलाई मदत गर्न लगाएको प्रयास सफल होस्‌ भन्‍ने हामी चाहन्छौं भने आफैले असल उदाहरण बसाल्नुपर्छ। (यहूदा २२, २३) हामी सबैले “डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा” गर्नु आवश्‍यक छ। (फिलिप्पी २:१२) यसमा हामीले सच्याउनु पर्न सक्ने हाम्रा मनोवृत्ति, इच्छा र लालसाहरूलाई खोतल्दै धर्मशास्त्रीय ज्योति नियमित रूपमा आफ्नो हृदयमा चम्कन दिनुपर्ने कुरा पनि समावेश छ।—२ पत्रुस १:१९.

उदाहरणको लागि, के हिजोआज मसीही गतिविधिहरूको लागि तपाईंको जोस सेलाइरहेको छ? यदि छ भने, किन? एउटा कारण त तपाईं बढ्‌तै आत्मनिर्भर हुनुभएको हुन सक्छ। आफूलाई यस्तो भएको छ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ? हाग्गै १:२-११ पढ्‌नुहोस्‌, र स्वदेश फर्केका यहूदीहरूसित यहोवाले कसरी तर्क गर्नुभयो, इमानदारीपूर्वक मनन गर्नुहोस्‌। त्यसपछि आफैलाई सोध्नुहोस्‌: “के म आर्थिक सुरक्षा अनि भौतिक सुखसुविधाहरूलाई लिएर बढी नै चिन्तित छु? यदि मैले आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिएको खण्डमा आफ्नो परिवारको हेरचाहको लागि के म साँच्चै यहोवामा भरोसा राख्छु? अथवा पहिले त आफ्नै बन्दोबस्त मिलाउनुपर्छ भनेर पो म सोच्ने गर्छु कि?” आफ्ना सोचाइ अथवा भावनाहरूमा छाँटकाँट गर्नु आवश्‍यक देखेमा छाँटकाँट गर्न नहिचकिचाउनुहोस्‌। मत्ती ६:२५-३३; लूका १२:१३-२१ र १ तिमोथी ६:६-१२ ले भौतिक आवश्‍यकता र सरसम्पत्तिहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुको कारण बताउँछ र निरन्तर यहोवाको आशिष्‌ पाइरहने कुरालाई सुनिश्‍चित गर्ने आधार पनि यही नै हो।—मलाकी ३:१०.

यस्तो किसिमको इमानदार आत्म-परीक्षणले हामीलाई सोच्न बाध्य बनाउँछ। हामीमाथि औंल्याइएका खास कमजोरीहरू स्वीकार्नु भावनात्मक तवरमा गाह्रो हुन सक्छ। यद्यपि, परिस्थिति जत्ति नै व्यक्‍तिगत र संवेदनशील किन नहोस्‌; आफ्ना छोराछोरी, बाइबल विद्यार्थी अथवा स्वयम्‌लाई मदत गर्न अग्रसरता देखाउँदा त्यो तपाईंले आफ्नो र उसको जीवन बचाउन चाल्नुभएको पहिलो कदम हुन सक्छ।—गलाती ६:१.

यद्यपि, आफ्नो प्रयासले असल परिणाम हात पार्न नसकेको जस्तो देखियो भने के गर्ने? तुरुन्तै हरेस नखानुहोस्‌। असिद्ध हृदयलाई छाँटकाँट गर्न एकदमै होस पुऱ्‍याउनुपर्ने, समय खाने र कहिलेकाहीं त हताशलाग्दो प्रयत्न हुन सक्छ। तर यो इनामदायी पनि हुन सक्छ।

सबैभन्दा माथि उल्लेख गरिएका एरिकको अन्ततः होस फर्कियो र उनी फेरि ‘सत्यमा चल्न’ थाले। (२ यूहन्‍ना ४) उनी भन्छन्‌, “जबसम्म आफूले गुमाएको कुराको मलाई आभास भएन, म यहोवाकहाँ फर्केर आइनँ।” आफ्ना आमाबाबुको मदतद्वारा हाल एरिक विश्‍वासीपूर्वक परमेश्‍वरको सेवा गरिरहेका छन्‌। आफ्नो हृदय खोतलोस्‌ भनेर उनका आमाबाबुहरूले गरेको बारम्बार प्रयत्नबाट सुरुमा उनी झर्किए तापनि आज उनी तिनीहरूले जे जति गरे, त्यसको गहिरो मूल्याङ्‌कन गर्छन्‌। उनी भन्छन्‌, “यस्ता आमाबाबुहरू त मैले पाएकै हो। मप्रतिको उहाँहरूको माया कहिल्यै सेलाएन।”

हामीले सिकाइरहेका व्यक्‍तिहरूको हृदयमा परमेश्‍वरको वचन चम्कन दिनु करुणाको एउटा अभिव्यक्‍ति हो। (भजन १४१:५) नयाँ मसीही व्यक्‍तित्वले साँच्चै तिनीहरूमा जरा गाडिरहेको छ भन्‍ने कुराको पुष्टिको लागि आफ्ना छोराछोरी र बाइबल अध्ययनको हृदय निरन्तर खोतलिरहनुहोस्‌। “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर” अरू र आफूभित्र सत्यलाई काम गर्न दिइरहनुहोस्‌।—२ तिमोथी २:१५.

[पृष्ठ २९-मा भएको चित्र]

येशूका शब्दहरूले पत्रुसमा भएको कमजोरी प्रकट गऱ्‍यो

[पृष्ठ ३१-मा भएको चित्र]

हृदयभित्र भएको कुरा निकाल्न बाइबल प्रयोग गर्नुहोस्‌