सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा सधैं सही कुरा गर्नुहुन्छ

यहोवा सधैं सही कुरा गर्नुहुन्छ

यहोवा सधैं सही कुरा गर्नुहुन्छ

“परमप्रभु आफ्ना सब मार्गमा धार्मिक . . . हुनुहुन्छ।”—भजन १४५:१७.

१. तपाईंबारे कसैले गलत निष्कर्ष निकाल्दा तपाईंलाई कस्तो लाग्छ अनि यस्तो अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

 के कसैले कहिल्यै तपाईंबारे गलत निष्कर्ष निकालेको छ, सबै तथ्य नबुझी तपाईंको काम वा मनसायबारे शङ्‌का गरेको छ कि? त्यसो भएको छ भने, तपाईंको चित्त दुख्यो होला अनि त्यसो हुनु स्वाभाविकै हो। यसबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं: सबै तथ्य नबुझी हत्त न पत्त आफ्नै निष्कर्ष निकालिहाल्नु बुद्धिमानी होइन।

२, ३. हरेक प्रश्‍नको जवाफ दिने पर्याप्त जानकारी नभएका बाइबल विवरणहरूप्रति कसै-कसैले कस्तो प्रतिक्रिया देखाउँछन्‌ तर बाइबलले हामीलाई यहोवाबारे के बताउँछ?

यहोवा परमेश्‍वरबारे कुनै निष्कर्षमा पुग्नुअघि हामीले यो पाठ सम्झनु बेस हो। किन? किनभने बाइबलका कुनै-कुनै विवरणहरू पहिलो चोटि पढ्‌दा अलमल्लमा पर्न सकिन्छ। परमेश्‍वरका कोही-कोही उपासकहरूको व्यवहार वा परमेश्‍वरले विगतमा गर्नुभएका न्यायसम्बन्धी विवरणहरूमा हाम्रा सबै प्रश्‍नहरूको जवाफ दिन पर्याप्त जानकारी नहुन सक्छ। दुःखको कुरा, कसै-कसैले त्यस्ता विवरणहरूलाई लिएर कतै यहोवा धर्मी र न्यायी हुनुहुन्‍न कि भनेर शङ्‌कासमेत गर्छन्‌। यद्यपि, बाइबल हामीलाई यसो भन्छ, यहोवा “आफ्ना सब मार्गमा धार्मिक . . . हुनुहुन्छ।” (भजन १४५:१७) उहाँले “खराबी गर्नुहुन्‍न” भनेर पनि परमेश्‍वरको वचनले हामीलाई आश्‍वासन दिन्छ। (अय्यूब ३४:१२; भजन ३७:२८) त्यसोभए, उहाँबारे अरूले गलत निष्कर्ष निकाल्दा उहाँलाई कस्तो लाग्छ होला कल्पना गर्नुहोस्‌ त!

हामीले यहोवाको न्यायलाई स्वीकार्नुपर्ने पाँचवटा कारण विचार गरौं। अनि ती कारणहरूलाई मनमा राख्दै हामी दुइटा बाइबल विवरण केलाउनेछौं जुन कसै-कसैलाई बुझ्न गाह्रो लाग्न सक्छ।

यहोवाको न्याय किन स्वीकार्ने?

४. परमेश्‍वरका कार्यहरूबारे विचार गर्दा हामी किन नम्र हुनुपर्छ? उदाहरण दिनुहोस्‌।

सर्वप्रथम, यहोवालाई कुनै मामिलामा मुछिएको सबै तथ्य थाह छ अनि हामीलाई भने ती थाह नहुने हुँदा परमेश्‍वरका कार्यहरूबारे विचार गर्दा हामी नम्र हुनुपर्छ। उदाहरणका लागि: निष्पक्ष न्याय गर्ने भनी ख्याति कमाएका एक जना न्यायाधीशले एउटा अदालती मुद्दामा फैसला सुनाए। सबै तथ्य थाह नपाई वा त्यसमा मुछिएका सबै ऐन-नियमहरू राम्ररी नबुझी ती न्यायाधीशको निर्णयको आलोचना गर्ने व्यक्‍तिबारे तपाईंलाई कस्तो लाग्नेछ? त्यस विषयबारे पूरा जानकारी नपाई आलोचना गर्नु भनेको मूर्खतापूर्ण हुनेछ। (हितोपदेश १८:१३) त्यसोभए जाबो मानिसहरूले “सारा पृथ्वीका न्यायकर्ता[को]” आलोचना गर्नु झन्‌ कस्तो मूर्खतापूर्ण हुनेछ!—उत्पत्ति १८:२५.

५. कोही-कोही व्यक्‍तिहरूमाथि परमेश्‍वरले गर्नुभएको न्यायसम्बन्धी बाइबल विवरण पढ्‌दा हामीले कुन कुरा बिर्सनु हुँदैन?

परमेश्‍वरको न्याय स्वीकार्नुपर्ने दोस्रो कारण हो, परमेश्‍वरले मानिसहरूको हृदय पढ्‌न सक्नुहुन्छ जुन कुरा मानिसहरूले सक्दैनन्‌। (१ शमूएल १६:७) उहाँको वचन यसो भन्छ: “हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसको कर्मको फलअनुसार दिनलाई म परमप्रभु मानिसको मन तलाश गर्छु, त्यसको हृदयको म जाँच गर्छु।” (यर्मिया १७:१०) यसर्थ, कोही-कोही व्यक्‍तिहरूमाथि परमेश्‍वरले गर्नुभएको न्यायसम्बन्धी बाइबल विवरण पढ्‌दा उहाँको सर्वव्यापी नजरको कारण उहाँको वचनमा लिपिबद्ध नभएका गोप्य सोचाइ, मनसाय र नियतलाई पनि उहाँले विचार गर्नुभयो भन्‍ने कुरा हामी नबिर्सौं।—१ इतिहास २८:९.

६, ७. (क) आफूले ठूलो मोल चुकाउनु परे तापनि यहोवा आफ्नो न्यायी तथा धार्मिक स्तर पालन गर्नुहुन्छ भनेर उहाँले कसरी देखाउनुभएको छ? (ख) हामीले बाइबलमा पढेको कुनै विवरणले गर्दा परमेश्‍वरले न्यायी वा सही ढङ्‌मा व्यवहार गर्नुभयो कि भएन भनेर शङ्‌का लाग्यो भने हामीले कुन कुरा बिर्सनु हुँदैन?

यहोवाको न्याय स्वीकार्नुपर्ने तेस्रो कारणमा ध्यान दिनुहोस्‌: आफूले ठूलो मोल चुकाउनु परे तापनि उहाँले आफ्नो धर्मी स्तरअनुसार न्याय कार्यान्वयन गर्नुहुन्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌। आज्ञाकारी मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो पुत्रको छुडौतीको बलिदानको प्रबन्ध गर्नुहुँदा यहोवाले आफ्नो न्यायी र धार्मिक स्तर अनुरूप गर्नुभयो। (रोमी ५:१८, १९) यद्यपि, आफ्नो प्रिय पुत्रले शासनाको खम्बामा दुःख भोगेर मरेको हेर्नुपर्दा यहोवालाई सबैभन्दा बढी पीडा भएको हुनुपर्छ। यसले हामीलाई परमेश्‍वरबारे के बताउँछ? “ख्रीष्ट येशूमा भएको उद्धार” अर्थात्‌ येशूले तिर्नुभएको छुडौतीको मोलबारे बाइबल यसो भन्छ: “यो काम परमेश्‍वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो।” (रोमी ३:२४-२६, NRV) रोमी ३:२५ लाई अर्को अनुवादमा यसो भनिएको छ: “परमेश्‍वरले सधैं सही र निष्पक्ष काम गर्नुहुन्छ भनी यसले देखायो।” (न्यु सेन्चुरी भर्सन) हो, छुडौतीको बलिदानको प्रबन्ध गर्न यहोवा जुन हदसम्म अग्रसर हुनुभयो, त्यसले “सही र निष्पक्ष” कुरालाई उहाँ अत्यन्तै महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर देखाउँछ।

त्यसकारण हामीले बाइबलमा पढ्‌ने कुनै विवरणको कारण परमेश्‍वरले न्यायी वा सही ढङ्‌गमा व्यवहार गर्नुभयो कि भएन भनेर कोही-कोही शङ्‌का गर्न पुग्छन्‌ भने हामीले यो कुरा बिर्सनु हुँदैन: धार्मिकता र न्यायको स्तरप्रति आफ्नो वफादारिताले गर्दा उहाँले आफ्नै छोरालाई समेत पीडादायी मृत्यु भोग्नदेखि रोक्नुभएन। के उहाँले अरू विषयहरूमा चाहिं आफ्नो स्तरमा सम्झौता गर्नुहोला त? सत्य कुरा यो हो कि यहोवा आफ्नो धार्मिक तथा न्यायी स्तरलाई कहिल्यै उल्लङ्‌घन गर्नुहुन्‍न। त्यसकारण उहाँले गर्नुहुने कुरा सधैं सही र निष्पक्ष हुन्छ भनेर विश्‍वस्त हुने हामीसित पर्याप्त कारण छ।—अय्यूब ३७:२३.

८. यहोवामा कतै न्याय र धार्मिकताको अपुग छ कि भनेर सोच्नु किन साह्रै अमिल्दो कुरा हुनेछ?

हामीले यहोवाको न्याय स्वीकार्नुपर्ने चौथो कारण विचार गर्नुहोस्‌: यहोवाले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। (उत्पत्ति १:२७) त्यसकारण मानिसहरूसित न्याय र धार्मिकताको चेतनालगायत परमेश्‍वरका जस्तै गुणहरू छन्‌। न्याय र धार्मिकताबारे हाम्रो चेतनाले गर्दा ती गुणहरू नै यहोवामा कतै अपुग छ कि भनेर सोच्न लगायो भने त्यो त साह्रै अमिल्दो कुरा हुनेछ। कुनै खास बाइबल विवरणले हामीलाई अलमल्लमा पाऱ्‍यो भने हाम्रो जन्मजात पापले गर्दा न्यायी र सही कुरा के हो भन्‍ने सन्दर्भमा हाम्रो चेतना पनि असिद्ध छ भनेर बिर्सनु हुँदैन। यहोवा परमेश्‍वर, जसको स्वरूपमा हामी बनाइएका छौं उहाँ भने न्याय र धार्मिकतामा सिद्ध हुनुहुन्छ। (व्यवस्था ३२:४) मानिसहरू परमेश्‍वरभन्दा बढी न्यायी र धार्मिक छन्‌ भन्‍ने सोचाइ राख्नु मात्र पनि एकदमै बेमनासिब हुनेछ!—रोमी ३:४, ५; ९:१४.

९, १०. आफ्ना कार्यहरू मानिसलाई बुझाउन वा सफाइ दिन यहोवा किन बाध्य हुनुहुन्‍न?

यहोवाको न्याय स्वीकार्नुपर्ने तेस्रो कारण हो, उहाँ “सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भजन ८३:१८) वास्तवमा, उहाँ आफ्ना कार्यहरू मानिसहरूलाई बुझाउन वा सफाइ दिन बाध्य हुनुहुन्‍न। उहाँ महान्‌ कुमाले हुनुहुन्छ र हामी चाहिं माटो हौं जसलाई उहाँले चाहे अनुसार चलाउनको लागि विभिन्‍न किसिमका भाँडाहरू बनाउनुहुन्छ। (रोमी ९:१९-२१) उहाँका निर्णय वा कार्यहरूमा प्रश्‍न उठाउने हामी को हौं र? के हामी उहाँले नै बनाउनुभएका माटाका भाँडाहरू मात्र होइनौं र? परमेश्‍वरले मानिसजातिसित गर्नुभएको व्यवहारलाई कुलपिता अय्यूबले गलत अर्थ लगाउँदा यहोवाले तिनलाई सच्याउँदै यसरी सोध्नुभयो: “म धर्मी छु भन्‍ने कुरालाई के तँ अस्वीकार गर्न साहस गर्छस्‌? र तँ आफै चाहिं ठीक हुनलाई मलाई गलत सम्झन्छस्‌?” आफूले कुरै नबुझी बोलेको कुरा महसुस गरेपछि अय्यूबले पश्‍चात्ताप गरे। (अय्यूब ४०:८; ४२:६) परमेश्‍वरमा दोष भेट्टाउने गल्ती हामी कहिल्यै नगरौं!

१० स्पष्टतः यहोवा सधैं सही कुरा गर्नुहुन्छ भनेर विश्‍वास गर्ने ठोस कारणहरू हामीसित छन्‌। यहोवाको तौरतरिका बुझ्ने यो आधार तय भएपछि आउनुहोस्‌, कसै-कसैलाई अलमलमा पार्ने दुइटा बाइबल विवरण केलाऔं। पहिलो, परमेश्‍वरको एक जना उपासकको व्यवहारसित सम्बन्धित छ भने दोस्रो चाहिं परमेश्‍वर स्वयम्‌ले गर्नुभएको न्याय कार्यान्वयनसित सम्बन्धित छ।

लूतले आफ्ना छोरीहरू किन आक्रोशित हुललाई दिने प्रस्ताव राखे?

११, १२. (क) परमेश्‍वरले मानिसको रूपमा दुई जना स्वर्गदूतलाई सदोममा पठाउनुहुँदाको घटना बताउनुहोस्‌। (ख) यस विवरणले कसै-कसैको मनमा कस्ता प्रश्‍नहरू खडा गरेको छ?

११ उत्पत्ति अध्याय १९ मा परमेश्‍वरले दुई जना स्वर्गदूतलाई मानिसको रूपमा पृथ्वीमा पठाउनुहुँदा भएको घटना हामी पाउँछौं। लूतले ती दुई जना पाहुनालाई आफ्नो घरमा बस्न जिद्दी गरे। तथापि, त्यो रात त्यस सहरका मानिसहरूको हुलले तिनीहरूको घर रिङ्‌गै घेऱ्‍यो अनि ती पाहुनाहरूसित अनैतिक सम्बन्ध राख्नको लागि तिनीहरूलाई बाहिर निकाल्‌ भनेर कराउन थाल्यो। लूतले त्यस हुलसित तर्क गर्न खोजे तर केही सीप लागेन। आफ्ना पाहुनाहरूलाई जोगाउन खोज्दै लूतले यसो भने: “हे मेरा दाजु-भाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्‌। कुनै मानिससित सहवास नभएका मेरा दुइ छोरीहरू छन्‌। बरु म तिनीहरूलाईनै तपाईंहरूकहाँ बाहिर ल्याइदिनेछु। तपाईंहरूको इच्छाअनुसार तिनीहरूसित व्यवहार गर्नुहोस्‌। केवल यी मानिसहरूलाई केही नगर्नुहोस्‌, किनकि उनीहरू मेरो छानामनि आएका मेरा पाहुना हुन्‌।” हुलले कुरा सुन्‍नै मानेन अनि ढोका फोर्नलाई अघि बढ्यो। अन्तमा, यी स्वर्गदूतीय पाहुनाहरूले त्यस उन्मत्त हुललाई अन्धा पारिदिए।—उत्पत्ति १९:१-११.

१२ यो विवरणले कसै-कसैको मनमा प्रश्‍न खडा गर्नुको कारण बुझ्न सकिन्छ। तिनीहरू यस्तो सोच्छन्‌: ‘आफ्ना छोरीहरू त्यस कामुक हुललाई दिने प्रस्ताव राखेर लूतले आफ्ना पाहुनाहरूलाई जोगाउने विचार कसरी गर्न सकेका होलान्‌? के तिनले अनुचित अनि डरपोक व्यवहार गरेनन्‌ र?’ यस विवरणलाई विचार गर्दा लूतलाई “धार्मिक मानिस” भन्‍न परमेश्‍वरले किन पत्रुसलाई प्रेरित गर्नुहुन्थ्यो र? के लूतले परमेश्‍वरको अनुमोदन पाएर त्यस्तो व्यवहार गरेका थिए? (२ पत्रुस २:७, ८) आउनुहोस्‌, गलत निष्कर्षमा नपुग्नको लागि हामी यस विषयमा तर्क गरौं।

१३, १४. (क) लूतको व्यवहारसम्बन्धी बाइबल विवरणबारे कुन कुरा मनमा राख्नुपर्छ? (ख) लूतले डरपोक व्यवहार गरेका थिएनन्‌ भनेर कुन कुराले देखाउँछ?

१३ सर्वप्रथम, लूतको व्यवहारलाई स्वीकार्नु वा तिरस्कार गर्नुको सट्टा बाइबलले केवल के भयो भनेर मात्र बताएको छ भन्‍ने कुरा मनमा राख्नुपर्छ। लूतले जुन व्यवहार गरे, त्यतिबेला तिनले के सोचिरहेका थिए वा कुन कुराले तिनलाई यस्तो व्यवहार गर्न उत्प्रेरित गऱ्‍यो भनेर पनि बाइबलले बताएको छैन। “धर्मी[को] . . .पुनरुत्थान” हुँदा जब लूत आउनेछन्‌ सायद तिनले अझ थप विवरणहरू बताउनेछन्‌।—प्रेरित २४:१५.

१४ लूत डरपोक भने पटक्कै थिएनन्‌। तिनी एउटा अप्ठ्यारो अवस्थामा परेका थिए। पाहुनाहरू ‘तिनको छानामनि आएका’ छन्‌ भनेर बताउँदा तिनीहरूलाई सुरक्षा र शरण दिन लूतले बाध्य महसुस गरेका थिए भनेर तिनले सङ्‌केत गरे। तर यसो गर्नु सजिलो हुने थिएन। यहूदी इतिहासकार जोसेफसले रिपोर्ट गरेअनुसार सदोमवासीहरू “मानिसहरूप्रति अन्यायी र परमेश्‍वरप्रति अभक्‍त थिए . . . तिनीहरू परदेशीहरूलाई घृणा गर्थे।” यद्यपि, त्यस्तो घृणा देखाउने हुलको सामु लूत डराएनन्‌। यसको विपरीत, तिनी बाहिर गएर ती आक्रोशित मानिसहरूसित तर्क गरे। तिनले “ढोका चाहिं आफ्नो पछिल्तिर थुनिदिए।”—उत्पत्ति १९:६.

१५. लूतले विश्‍वास अनुरूप व्यवहार गरेका हुन सक्छन्‌ भनेर किन भन्‍न सकिन्छ?

१५ कसै-कसैले सोध्लान्‌ ‘तैपनि, लूतले आफ्ना छोरीहरू त्यो हुललाई दिने प्रस्ताव राख्नुको कारण के हुन सक्छ?’ तिनको मनसाय खराब थियो भनेर अनुमान लाउनुको साटो केही सम्भाव्यताहरू विचार गरे कसो होला? सर्वप्रथम लूतले आफ्नो विश्‍वास अनुरूप व्यवहार गरेको हुनुपर्छ। कसरी? लूतको काका, अब्राहामकी पत्नी सारालाई यहोवाले कसरी बचाउनुभयो भन्‍ने कुरा लूतलाई पक्कै थाह थियो। सम्झनुहोस्‌ त, सारा असाध्यै राम्री भएकी हुँदा अब्राहामले सारालाई तिनी उनका दाइ हुन्‌ भनेर चिनाउनू भनेका थिए नत्र भने मानिसहरूले अब्राहामलाई मारेर सारालाई लैजान सक्थे। a पछि, सारालाई फिरऊनको परिवारमा लगियो। तथापि, फिरऊनले सारासित दुर्व्यवहार नगरोस्‌ भनेर यहोवाले हस्तक्षेप गर्नुभयो। (उत्पत्ति १२:११-२०) त्यसैले आफ्ना छोरीहरूलाई पनि त्यसरी नै बचाइनेछ भन्‍ने विश्‍वास लूतसित भएको हुन सक्छ। उल्लेखनीय कुरा के हो भने, यहोवाले आफ्ना स्वर्गदूतहरू मार्फत साँच्चै हस्तक्षेप गर्नुभयो अनि ती केटीहरू सुरक्षित भए।

१६, १७. (क) लूतले सदोमका मानिसहरूलाई कुन तरिकामा तर्साउन वा वाल्ल पार्न खोजिरहेका हुन सक्छन्‌? (ख) लूतको तर्क जेसुकै भए तापनि हामी कुन कुरामा पक्का हुन सक्छौं?

१६ अर्को सम्भाव्यता विचार गर्नुहोस्‌। लूतले ती मानिसहरूलाई तर्साउन वा वाल्ल पार्न पनि खोजिरहेका हुन सक्छन्‌। सदोमवासीहरूले समलैङ्‌गिक कामवासना तृप्त पार्न खोजिरहेको हुँदा त्यो हुलले आफ्ना छोरीहरूको लालसा गर्ने थिएन भनेर पनि लूतले विचार गरेको हुन सक्छ। (यहूदा ७) साथै, ती युवतीहरूको त्यस सहरका पुरुषहरूसित मगनी भइसकेको हुँदा आफ्ना भावी जुवाइँहरूका नातेदार, साथीभाइ वा व्यापारिक मित्रहरू पनि त्यस भीडमा हुन सक्थे। (उत्पत्ति १९:१४) त्यस्ता सम्बन्धहरूले गर्दा त्यस हुलका कोही-कोहीले आफ्ना छोरीहरूको पक्षमा बोल्नेछन्‌ होला भनेर पनि लूतले आशा गरेको हुन सक्छ। यसरी विभाजित हुल त्यत्तिको खतरनाक हुने थिएन। b

१७ लूतको तर्क वा मनसाय जेसुकै होस्‌, हामी यो कुरामा भने पक्का हुन सक्छौं: यहोवाले सधैं सही कुरा गर्नुहुने हुँदा उहाँले लूतलाई “धार्मिक मानिस” ठान्‍नुको मनासिब कारण हुनुपर्छ। अनि ती सदोमवासीहरूको उन्मत्त हुलको व्यवहारलाई विचार गर्दा त्यस दुष्ट सहरका बासिन्दाहरूमाथि यहोवाले न्याय कार्यान्वयन गर्नु पूरै उचित थियो भन्‍ने कुरामा के कुनै शङ्‌का हुन सक्छ र?—उत्पत्ति १९:२३-२५.

यहोवाले उज्जालाई किन मार्नुभयो?

१८. (क) दाऊदले सन्दुकलाई यरूशलेममा ल्याउने प्रयास गर्दा के भयो? (ख) यस विवरणले कस्तो प्रश्‍न खडा गर्छ?

१८ कसै-कसैलाई अलमल्लमा पार्ने अर्को विवरण करारको सन्दुक यरूशलेममा ल्याउने दाऊदको प्रयाससित सम्बन्धित घटना हुन सक्छ। सन्दुक गाडामा राखिएको थियो र त्यो गाडा उज्जा र तिनको भाइले चलाइरहेका थिए। बाइबल यसो भन्छ: “जब तिनीहरू कुनै एउटा खलामा आइपुगे तब गोरुहरूले ठेस खाए, र उज्जाले आफ्नो हात बढाएर परमेश्‍वरको सन्दूकलाई थामे। तर परमप्रभु उज्जासँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहीं मार्नुभयो। यसरी तिनी परमेश्‍वरको सन्दूकको छेवैमा मरे।” यसको केही महिनापछि परमेश्‍वरले निर्देशन दिनुभएको तरिकाअनुसारै सन्दुकलाई कहाती लेवीहरूको काँधमा बोकेर ल्याउँदा दोस्रो प्रयास भने सफल भयो। (२ शमूएल ६:६, ७; गन्ती ४:१५; ७:९; १ इतिहास १५:१-१४) कसै-कसैले प्रश्‍न गर्लान्‌: ‘यहोवाले किन यस्तो कडा प्रतिक्रिया देखाउनुभयो? उज्जाले त झनै सन्दुकलाई बचाउन खोजिरहेका थिए।’ हामी गलत निष्कर्षमा नपुगौं भन्‍नाको लागि हामीले केही उपयोगी बुँदाहरू विचार गर्नु बेस हुनेछ।

१९. यहोवाले अन्यायपूर्ण व्यवहार गर्नु किन असम्भव छ?

१९ यहोवाले अन्यायपूर्ण व्यवहार गर्नु असम्भव छ भनेर हामीले सम्झनुपर्छ। (अय्यूब ३४:१०) उहाँले त्यसो गर्नु दयालु कार्य हुनेछैन अनि हामीले समष्टिगत रूपमा बाइबल अध्ययन गरेर थाह पाइसक्यौं कि “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) साथै, धर्मशास्त्रले “धार्मिकता र इन्साफ [परमेश्‍वरको] सिंहासनका जग हुन्‌” भनेर हामीलाई बताउँछ। (भजन ८९:१४) त्यसोभए के यहोवाले अन्यायपूर्ण व्यवहार गर्नु सम्भव छ र? उहाँले त्यसो गर्नुहुँदो हो त उहाँले आफ्नो सार्वभौमिकताको आधारलाई नै कमजोर बनाइरहनुभएको हुनेछ।

२०. सन्दुकसम्बन्धी नियमहरूबारे उज्जालाई थाह हुनुपर्ने कारणहरू के-के हुन्‌?

२० यो पनि नबिर्सनुहोस्‌, उज्जालाई व्यवस्थाबारे राम्ररी थाह हुनुपर्ने थियो। सन्दुकले यहोवाको उपस्थितिलाई देखाउँथ्यो। व्यवस्थाले स्पष्टसित बताएअनुसार अधिकार नपाएका व्यक्‍तिहरूले त्यसलाई छुनु हुँदैन थियो अनि त्यो नियम तोड्‌नेहरूले मृत्युदण्ड भोग्नेछन्‌ भनेर सुस्पष्ट चेतावनी दिइएको थियो। (गन्ती ४:१८-२०; ७:८९) तसर्थ, यो पवित्र सन्दुकलाई यताउता सार्ने कामलाई हल्कासित लिनु हुँदैनथ्यो। उज्जा पनि एक जना लेवी नै हुनुपर्छ (पूजाहारी त थिएनन्‌), त्यसैले तिनलाई व्यवस्थाबारे राम्ररी थाह भएको हुनुपर्थ्यो। यसबाहेक, यो सन्दुक सुरक्षित राख्नको लागि वर्षौंअघि तिनको बुबाको घरमा सारिएको थियो। (१ शमूएल ६:२०–७:१) दाऊदले त्यसलाई अर्कै ठाउँमा नलगुन्जेल लगभग ७० वर्षसम्म त्यहीं राखिएको थियो। त्यसकारण उज्जालाई बाल्यकालदेखि नै सन्दुकसम्बन्धी नियमहरूबारे थाह भएको हुनुपर्छ।

२१. उज्जाको सन्दर्भमा यहोवाले मानिसको हृदयको मनसाय हेर्नुहुन्छ भनेर सम्झनु किन महत्त्वपूर्ण छ?

२१ माथि उल्लेख गरिएझैं यहोवाले मानिसको हृदय पढ्‌न सक्नुहुन्छ। परमेश्‍वरको वचनले उज्जाको कार्यलाई “लापरवाही” कार्य भनेको हुँदा उक्‍त विवरणमा स्पष्टसित प्रकट नगरिएको कुनै स्वार्थी मनसाय यहोवाले देख्नुभएको हुन सक्छ। के उज्जा तोकिएका जायज सीमा उल्लङ्‌घन गर्ने झुकाव भएका अहङ्‌कारी मानिस पो थिए कि? (हितोपदेश ११:२) तिनको परिवारले आफ्नो निजी घरमा सुरक्षित राखेको सन्दुकलाई बाहिर सबैले देख्ने गरी बोकेर लैजाँदा तिनी घमन्डले अलि फुलेका पो थिए कि? (हितोपदेश ८:१३) के उज्जासित विश्‍वासको कमीले गर्दा यहोवाको उपस्थितिलाई देखाउने पवित्र सन्दुकलाई ठीकसँग लैजानको लागि उहाँको शक्‍ति कम छ भन्ठान्‍न पो पुगेका थिए कि? अवस्था जेसुकै होस्‌, यहोवाले गर्नुभएको कुरा सही थियो भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। हुनसक्छ, उहाँले उज्जाको हृदयमा त्यस्तो केही कुरा देख्नुभयो जसको कारण तुरुन्तै न्याय गरिहाल्नुभयो।—हितोपदेश २१:२.

विश्‍वस्त हुने ठोस आधार

२२. यहोवाको वचनले कहिलेकाहीं कुनै-कुनै विवरण समावेश नगर्नुमा कसरी उहाँको बुद्धि देखिन्छ?

२२ यहोवाले आफ्नो वचनमा कहिलेकाहीं कुनै-कुनै विवरण समावेश नगर्नुमा पनि उहाँको अतुलनीय बुद्धि देखिन्छ। यहोवाले यसरी हामीलाई उहाँमा भरोसा राख्छौं भनी देखाउने मौका दिनुहुन्छ। हामीले अहिलेसम्म जे-जति विचार गऱ्‍यौं के त्यसबाट हामीले यहोवाको न्याय स्वीकार्ने ठोस कारण छ भनेर प्रस्ट हुँदैन र? हो, निष्कपट हृदय अनि खुला मनले परमेश्‍वरको वचन अध्ययन गर्दा यहोवा सधैं न्यायी र सही कुरा गर्नुहुन्छ भनेर उहाँबारे विश्‍वस्त हुने प्रशस्त प्रमाण पाउँछौं। यसर्थ, कुनै-कुनै बाइबल विवरण पढ्‌दा खडा भएका खास प्रश्‍नहरूबारे तुरुन्तै सुस्पष्ट जवाफ पाउन सकेनौं भने पनि यहोवाले सही कुरा नै गर्नुभयो भनेर पूर्ण विश्‍वस्त होऔं।

२३. यहोवाका भावी कार्यहरूबारे हामी कस्तो विश्‍वस्तता राख्न सक्छौं?

२३ यहोवाका भावी कार्यहरूबारे हामी पनि त्यसरी नै विश्‍वस्त हुन सक्छौं। यसर्थ, आउँदै गरेको महासङ्‌कष्टमा न्याय गर्न आउनुहुँदा उहाँले “दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश” गर्नुहुनेछैन भन्‍ने कुरामा हामी निश्‍चिन्त हुन सक्छौं। (उत्पत्ति १८:२३) धार्मिकता र न्यायप्रति उहाँको प्रेमले उहाँलाई कहिल्यै त्यसो गर्न दिनेछैन। आउँदै गरेको नयाँ संसारमा उहाँले हाम्रा सबै आवश्‍यकताहरू सबैभन्दा उत्तम ढङ्‌मा सन्तुष्ट पार्नुहुनेछ भनेर पनि हामी पूर्ण विश्‍वस्त हुन सक्छौं।—भजन १४५:१६.

[फुटनोटहरू]

a अब्राहामको डर जायज थियो किनभने एउटा पुरातन पपाइरसमा लेखिएको विवरणअनुसार एक जना फिरऊनले आफ्ना सशस्त्र पुरुषहरूलाई चलाएर एउटी सुन्दर स्त्रीलाई कब्जामा लिए र तिनको पतिलाई मार्न लगाए।

b थप टिप्पणीहरूका लागि डिसेम्बर १, १९७९ को द वाचटावर, पृष्ठ ३१ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• कस्ता कारणहरूले गर्दा हामीले यहोवाको न्यायलाई स्वीकार्नुपर्छ?

• लूतले आफ्ना छोरीहरू आक्रोशित हुललाई दिने प्रस्ताव राखेको घटनाबारे गलत निष्कर्षमा पुग्नदेखि जोगिन हामीलाई कुन कुराले मदत गर्न सक्छ?

• यहोवाले उज्जालाई मार्नुभएको कारण बुझ्न कुन-कुन बुँदाहरूले मदत गर्न सक्छ?

• यहोवाका भावी कार्यहरूबारे हामी कस्तो विश्‍वस्तता राख्न सक्छौं?

[प्रश्‍नहरू]