सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले देख्नुभएका चमत्कारहरू!

तपाईंले देख्नुभएका चमत्कारहरू!

तपाईंले देख्नुभएका चमत्कारहरू!

“चमत्कार” शब्दको अर्को अर्थ “अत्यन्तै उल्लेखनीय अथवा असाधारण घटना, वस्तु अथवा सफलता” हुन्छ। ईश्‍वरीय हस्तक्षेपविना पनि यस्तो चमत्कार हामी सबैले देखेका छौं।

प्रकृतिको भौतिक नियमहरूबारे अझ बढी ज्ञान लिएर मानिसजातिले कुनै बेला असम्भव जस्तो देखिने उपलब्धिहरू हासिल गर्न सकेका छन्‌। उदाहरणको लागि सय वर्षअघि कम्प्युटर, टेलिभिजन, अन्तरिक्ष प्रविधिजस्ता अत्याधुनिक विकासहरूले हाल सम्भव बनाइदिएका कुराहरूलाई अधिकांशले असम्भव ठानेका थिए।

आफूसित परमेश्‍वरको सृष्टिमा पाइने वैज्ञानिक आश्‍चर्यहरूबारे सीमित ज्ञान भएको कुरालाई मानिलिंदै केही वैज्ञानिकहरूले कुनै पनि कुरा असम्भव छ भनेर किटेर भन्‍नै नसक्ने कुरा मानिलिन्छन्‌। तिनीहरूले हदसे-हद भन्लान्‌—यो होला जस्तो देखिंदैन। अतः तिनीहरूले कतिपय कुराहरूलाई भावी “चमत्कार”-को रूपमा छोडिदिन्छन्‌।

“ओलौकिक शक्‍तिलाई श्रेय दिने” चमत्कारकै कुरा गर्ने हो भने पनि हामी सबैले चमत्कार देखेका छौं भन्‍न सकिन्छ। जस्तै: हामी सूर्य, चन्द्र र ताराहरू देख्छौं—यी सबै एउटा “अलौकिक माध्यम” अर्थात्‌ सृष्टिकर्ताकै उपजहरू हुन्‌। यसको अलावा, मानव शरीर कसरी सञ्चालन हुन्छ, मस्तिष्कले कसरी काम गर्छ? अथवा मानव भ्रूण कसरी विकास हुन्छ? जस्ता विषयमा एक-एक विवरण कसले पो बताउन सक्छ र? बडी मेसिन नामक पुस्तक यसरी औंल्याउँछ: “केन्द्रिय स्नायु प्रणालीद्वारा नियन्त्रित एवम्‌ सञ्चालित मानव शरीर एउटा जटिल संवेदनशील उपकरण, स्वचालित चलायमान इन्जिन, आफूजस्तै अर्को उत्पादन गर्न सक्ने कम्प्युटरजस्तै हो। अतः मानव शरीर एउटा अद्‌भुत अनि धेरै अर्थमा एउटा रहस्यमय सृष्टि हो।” “मानव जीवन” सृष्टि गर्ने परमेश्‍वरले साँच्चै नै चमत्कार गर्नुभयो र यसले सधैं हामीलाई आश्‍चर्यचकित बनाइरहन्छ। भलै तपाईंले त्यसलाई ठम्याउन नसक्नुहोला तर तपाईंले आफ्नै आँखाले देख्नुभएका अन्य चमत्कारहरू पनि छन्‌।

के एउटा पुस्तकलाई चमत्कार मान्‍न सकिन्छ?

बाइबल जत्तिको व्यापक वितरण भएको पुस्तक अरू छैन। के तपाईंलाई यो एउटा चमत्कार हो जस्तो लाग्छ? के हामी यसको अस्तित्वको श्रेय “अलौकिक माध्यम”-लाई दिन सक्छौं? हुन त, बाइबल मानिसले लेखेको किताब हो तर ती लेखकहरूले आफ्नो नभई परमेश्‍वरका विचारहरू व्यक्‍त गरेको दाबी गरे। (२ शमूएल २३:१, २; २ पत्रुस १:२०, २१) यसो विचार गर्नुहोस्‌। ती लेखकहरू १६०० वर्षको अन्तरालका ४० व्यक्‍तिविशेषहरू थिए। तिनीहरू गोठालो, सिपाही, मछुवा, निजामती सेवक, चिकित्सक, पुजाहारी र राजाहरू जस्ता विविध पृष्ठभूमिहरूबाट आए। यद्यपि, तिनीहरूले आशाको एउटै सन्देश व्यक्‍त गर्न सके जुन सत्य र सही छ।

होसियार भई अध्ययन गरेर यहोवाका साक्षीहरूले बाइबललाई “मानिसको वचन गरी जस्तो होइन, तर परमेश्‍वरको वचन” जस्तै गरी स्वीकार्छन्‌। (१ थिस्सलोनिकी २:१३) बाइबलका तथाकथित विवादहरूलाई यसको समग्र सन्देशसित कसरी मिलान गर्न सकिन्छ भनेर वर्षौंदेखि तिनीहरूका प्रकाशनहरूले बताउँदै आएका छन्‌। यो आन्तरिक सामञ्जस्यता आफैमा बाइबल ईश्‍वरीय स्रोतबाट आएको हो भन्‍ने प्रमाण हो। a

बाइबललाई नामेट पार्न यसमाथि जत्ति भीषण आक्रमण गरियो, त्यत्ति अरू कुनै पुस्तकमाथि गरिएको छैन। यद्यपि, यो अझै अस्तित्वमा छ अनि यसका केही भाग मात्र भए पनि २,००० भन्दा धेरै भाषाहरूमा प्रकाशित छन्‌। पुस्तकको रूपमा यसको भौतिक अस्तित्व र विशुद्धताको सुरक्षाले ईश्‍वरीय हस्तक्षेपको प्रमाण दिन्छ। बाइबल साँच्चै एउटा चमत्कार हो!

एउटा चमत्कार जुन “जीवित र प्रबल” छ

चमत्कारपूर्ण निवारण अनि पुनरुत्थानजस्ता विगतका चमत्कारहरू अब हुँदैनन्‌। तर आउँदै गरेको परमेश्‍वरको नयाँ संसारमा यस्ता चमत्कारहरू फेरि हुनेछन्‌ अनि त्यतिबेला विश्‍वव्यापी रूपमै चमत्कार हुनेछ। त्यो चमत्कारले स्थायी आनन्द दिनेछ अनि त्यसबेला हुने कुराहरू बुझ्ने क्षमता अहिले हाम्रो मस्तिष्कसित छैन।

मानिसहरूको व्यक्‍तित्वमा अझ राम्रो परिवर्तन ल्याउन तिनीहरूलाई उत्प्रेरित गर्न सक्नु पनि बाइबलले गरेको एउटा चमत्कार नै हो। (पृष्ठ ८ को ‘परमेश्‍वरको वचनको शक्‍ति’ शीर्षकको पेटी हेर्नुहोस्‌।) हिब्रू ४:१२ यसो भन्छ: “किनकि परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड्‌ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” हो, जीवनलाई एउटा उद्देश्‍य दिनुका साथै भविष्यको लागि अद्‌भुत आशा प्रदान गरेर विश्‍वका ६० लाख मानिसहरूको जीवन परिवर्तन गर्नमा बाइबल मदतकारी सिद्ध भएको छ।

आफ्नो जीवनमा चमत्कार ल्याउन बाइबललाई मौका दिए कसो होला?

[फुटनोट]

a यी तथाकथित विवादहरूलाई कसरी मिलान गर्न सकिन्छ भनी जाँचपडताल गर्ने इच्छा भएमा यहोवाका साक्षीहरुद्वारा प्रकाशित द बाइबल—गड्‌स वर्ड अर मेन्स? नामक पुस्तकको अध्याय ७ मा मनग्गे उदाहरणहरूमाथि विचार गरिएको छ।

[पृष्ठ ७-मा भएको पेटी]

पहिल्यै मरिसके कि जीवितै थिए?

यूहन्‍ना १९:३३, ३४ अनुसार, जब “सिपाहीहरूमध्ये एक जनाले भालाले उहाँको कोखामा घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो,” त्यतिबेला येशू मरिसक्नुभएको थियो। तथापि, केही बाइबल अनुवादहरूमा मत्ती २७:४९, ५० ले यसो गर्दा येशू अझै जीवितै हुनुहुन्थ्यो भन्‍ने कुरालाई सङ्‌केत गर्छ। किन यस्तो भिन्‍नता?

कुनै अपराधीलाई प्राणदण्ड दिइएको शूलीमा रातभर झुण्ड्याउन मोशाको व्यवस्थाले निषेध गर्थ्यो। (व्यवस्था २१:२२, २३) तसर्थ, येशूको समयमा यदि खम्बामा लट्‌काइएको अपराधी राती अबेरसम्म जीवितै रहेमा छिटो मार्नको लागि उसका खुट्टाहरू भाँच्ने चलन थियो। राम्ररी सास फेर्नको लागि उसले आफैलाई ठाडो पार्न सक्दैनथ्यो। सिपाहीहरूले येशूसँगै लट्‌काइएका दुई जना अपराधीको खुट्टा भाँचेको तर येशूको चाहिं नभाँचेको तथ्यले उनीहरूले येशू मरिसक्यो भन्ठानेको हुनुपर्छ भन्‍ने कुरालाई सङ्‌केत गर्छ। सबै शङ्‌काहरू लगायत पुनरूत्थान भयो भनेर झूटो हल्ला फैलिन सक्ने सम्भावना हटाउन सिपाहीहरूले उहाँको कोखाहरूमा घोचेका हुन सक्छन्‌।

न्यु वर्ल्ड ट्रान्सलेसन-को मत्ती २७:४९, ५० को पदले यस घटनालाई फरक क्रममा राखेको छ। यसले यसो भन्छ: “अर्को एक जना मानिसले भाला उठायो र उनका कोखाहरूमा घोच्यो र रगत र पानी निक्लियो। येशू फेरि ठूलो स्वरले कराउनुभयो र प्राण त्याग्नुभयो।” (छड्‌के अक्षर हाम्रो) तथापि, यो छड्‌के अक्षरमा लेखिएको वाक्य सबै पुरातन बाइबल पाण्डुलिपीहरूमा देखापर्दैन। धेरै अधिकारीहरूको विश्‍वासमा यो वाक्य यूहन्‍नाको सुसमाचारको पुस्तकबाट पछि थपियो तर गलत ठाउँमा थपियो। अतः धेरै अनुवादहरूले या त यो वाक्यलाई ठूलो तथा सानो कोष्ठक चिन्हभित्र राखेका छन्‌ या थप विवरण दिने पादटिप्पणी राखेका छन्‌ अनि कसै-कसैले त यो वाक्य नै हटाइदिएका छन्‌।

यु वर्ल्ड ट्रान्सलेसन-को आधारको रूपमा व्यापक प्रयोग गरिएको वेस्टकोट र होर्टको मौलिक लेखोटले उक्‍त वाक्यलाई दुईवटा कोष्ठक चिन्हभित्र राखेको छ। उक्‍त वाक्य “धेरै हदसम्म पादरीहरूले घुसाएको हुनुपर्छ” भनी यसले बताउँछ।

अतः यूहन्‍ना १९:३३, ३४ सत्य हो अनि रोमी सिपाहीहरूले येशूलाई भालाले घोच्दा उहाँको मृत्यु भइसकेको थियो भन्‍ने प्रशस्तै प्रमाणहरू पाइन्छ।

[पृष्ठ ७-मा भएको पेटी]

परमेश्‍वरको वचनको शक्‍ति

लक्का जवान अनि विभक्‍त घरको सिकार डेटलेफ लागूपदार्थ, रक्सी र हेभीमेटेलको दुनियाँमा हराए। b उनी साधारण बोलीचालीमा स्कीनहेड नाउँले चिनिने एउटा हुल्याहा समूहका सदस्य बने र आफ्नो हिंस्रक व्यवहारले गर्दा उनी प्रहरीको पन्जामा परे।

सन्‌ १९९२ मा जर्मनीको उत्तरपूर्वमा रहेको रक्सी पाइने एउटा रेस्टुरेन्टमा ६० जना स्कीनहेडको ३५ जना पङ्‌कहरूसित घमासान झगडा पऱ्‍यो। एक जना पङ्‌क थोमस यति नराम्ररी चुटिए कि चोटले गर्दा उनको मृत्यु भयो। डेटलेफसहित धेरै नाइकेहरूलाई पुर्पक्षपछि जेल चलान गरियो र यो घटना पत्रपत्रिकाहरूको मुख्य समाचार बन्यो।

डेटलेफ जेलबाट छुटेको केही समयमै यहोवाका साक्षीहरूले उनलाई एउटा पर्चा दिए। पर्चाको विषय थियो, “जीवनमा यति धेरै समस्याहरू किन?” डेटलेफले यसमा बताइएको कुराको सत्यता बुझिहाले अनि साक्षीहरूसित बाइबल अध्ययन थाले। यसले उनको जीवन शैलीमा आमूल परिवर्तन ल्यायो। सन्‌ १९९६ देखि उनी यहोवाको एक जोसिलो साक्षी भएका छन्‌।

मारिएको एक जवान मानिस थोमसको मिल्ने साथी पहिलेको पङ्‌क सिकफ्रेट थिए; उनी पनि पछि एक जना साक्षी बने र अहिले उनी मण्डलीको प्राचीन छन्‌। बाइबल भाषण दिनको लागि जब सिकफ्रेट डेटलेफको मण्डलीमा गए (संयोगको कुरा, थोमसकी आमा पनि कहिलेकाहीं त्यहाँ सभा धाउँथिन्‌), डेटलेफले उनलाई खानाको लागि निम्त्याए। लगभग दस वर्षअघि तिनीहरूको घृणा कहिल्यै साम्य नहोला जस्तो देखिन्थ्यो। अहिले तिनीहरूबीचको भातृप्रेम कसैको नजरबाट लुकेको छैन।

डेटलेफ र सिकफ्रेट पार्थिव प्रमोदवनमा थोमस पुनः जीवित हुँदा तिनलाई स्वागत गर्ने प्रतीक्षामा छन्‌। डेटलेफ यसो भन्छन्‌: “यो कुरा सोच्दा मात्र पनि मेरा आँखाहरू रसाएर आउँछन्‌। मैले जे जति गरें त्यसको लागि म साह्रै दुःखी छु।” आज तिनीहरू दुवैको साझा उद्देश्‍य भनेको यहोवालाई चिन्‍न अनि बाइबलले दिने आशामा आनन्द गर्न अरूलाई मदत गरे जस्तै थोमसलाई पनि मदत गर्नु हो।

हो, यस्तो हुँदो रहेछ परमेश्‍वरको वचनको शक्‍ति!

[फुटनोट]

b नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ६-मा भएको चित्र]

मानव शरीर एउटा अद्‌भुत सृष्टि हो

[स्रोत]

Anatomy Improved and Illustrated, London, 1723, Bernardino Genga