सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्‌!

मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्‌!

मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्‌!

“घमण्ड गर्नेले प्रभुमानै [ “यहोवामानै,” Nw] घमण्ड गरोस्‌।”—१ कोरिन्थी १:३१.

१. धर्मप्रति मानिसहरूको मनोवृत्तिमा कस्तो लहड देखिएको छ?

 “भावशून्यवाद।” थुप्रै मानिसहरूले आफ्नो विश्‍वासप्रति राख्ने मनोवृत्तिलाई वर्णन गर्न धार्मिक मामिलासम्बन्धी एक जना टिप्पणीकारले हालै उक्‍त शब्द चलाए। तिनले यसो भने: “आधुनिक धर्मको सबैभन्दा ठूलो लहड भनेको धर्म त हुँदै होइन—यो मनोवृत्तिलाई ‘भावशून्यवाद’ भन्‍नु एकदमै सुहाउँछ।” यसलाई अझ वर्णन गर्दै तिनले भने, भावशून्यवाद भनेको “आफ्नै धर्मप्रति पनि खासै वास्ता नराख्ने झुकाव हो।” तिनले बताएअनुसार धेरै मानिसहरू “परमेश्‍वरमा विश्‍वास त गर्छन्‌ . . . ; तर तिनीहरूले उहाँप्रति कुनै वास्ता राख्दैनन्‌।”

२. (क) मानिसहरू आध्यात्मिक तवरमा भावशून्य हुनु किन अचम्मको कुरा होइन? (ख) धर्मप्रति कुनै चासो नहुने झुकावले साँचो मसीहीहरूको लागि कस्तो खतरा ल्याउन सक्छ?

धर्मप्रति यस्तो भावशून्यता देखिनु बाइबलका विद्यार्थीहरूको लागि कुनै नौलो कुरा होइन। (लूका १८:८) अनि साधारणतया धर्मको सन्दर्भमा कुरा गर्ने हो भने यस्तो चासोको कमी हुनु स्वाभाविकै हो। झूटो धर्मले मानिसजातिलाई गलत डोऱ्‍याइ दिंदै अनि निराश तुल्याउँदै आएको धेरै भइसक्यो। (प्रकाश १७:१५, १६) तथापि, आधा मनको वा जोसको कमी देखिने सर्वव्याप्त मनोवृत्तिले साँचो मसीहीहरूको लागि खतराको सङ्‌केत गर्छ। हामीले आफ्नो विश्‍वासलाई हल्कासित लियौं र परमेश्‍वरको सेवा गर्न तथा बाइबलको सत्यप्रति हाम्रो जोसलाई गुमायौं भने दुःखद परिणामहरू भोग्नु पर्नेछ। येशूले लाओडिसियामा बसोबास गरिरहेका प्रथम शताब्दीका मसीहीहरूलाई त्यस्तो मनतातो नहुन यस्तो चेतावनी दिनुभयो: “तिमी नता चीसो छौ, न तातो, कि चीसो कि तातो भएता हुनेथियो! तिमी . . . मनतातो भएका [छौ]”—प्रकाश ३:१५-१८.

हामी को हौं भनेर बुझ्ने

३. मसीहीहरूले आफ्नो चिनारीको कुन पक्षमा गर्व गर्न सक्छन्‌?

आध्यात्मिक भावशून्यता विरुद्ध लड्‌न मसीहीहरूसित तिनीहरू को हुन्‌ भन्‍ने विषयमा स्पष्ट दृष्टिकोण हुनुपर्छ अनि आफ्नो छुट्टै चिनारीमा उचित किसिमको गर्व गर्नै पर्छ। यहोवाका सेवक अनि ख्रीष्टका चेलाहरूको हैसियतमा हामी को हौं भन्‍ने विषयबारे बाइबल विवरणहरूमा पाउन सक्छौं। सक्रिय भई अरूलाई “सुसमाचार” बताउने भएकोले हामी यहोवाका “साक्षी” हौं, “परमेश्‍वरका सहकर्मी” हौं। (यशैया ४३:१०; १ कोरिन्थी ३:९; मत्ती २४:१४) हामी “आपसमा प्रेम” गर्ने मानिसहरू हौं। (यूहन्‍ना १३:३४) साँचो मसीहीहरू “प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका” व्यक्‍तिविशेषहरू हुन्‌। (हिब्रू ५:१४) हामी “संसारमा ज्योतिहरू” हौं। (फिलिप्पी २:१५) “अन्यजातिहरूका बीचमा [हाम्रो] चालचलन असल” राखिरहन हामी प्रयास गर्छौं।—१ पत्रुस २:१२; २ पत्रुस ३:११, १४.

४. यहोवाको उपासकले आफू के होइन भन्‍ने कुरा कसरी पक्का गर्न सक्छन्‌?

यहोवाका साँचो उपासकहरूलाई आफू के होइनौं भनेर पनि थाह छ। जसरी तिनीहरूका नेता येशू ख्रीष्ट यस संसारको भाग हुनुहुन्‍न थियो, तिनीहरू पनि “संसारका होइनन्‌।” (यूहन्‍ना १७:१६) “समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना” भएका “अन्यजातिहरू[बाट]” तिनीहरू अलग्गै बस्छन्‌। (एफिसी ४:१७, १८) त्यसैकारण येशूका अनुयायीहरूले “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर . . . यस वर्तमान युगमा आत्मसंयम, धार्मिक र भक्‍तिको जीवन” बिताउँछन्‌।—तीतस २:१२.

५. “यहोवामानै घमन्ड” गर भन्‍ने सल्लाहले भन्‍न खोजेको कुरा के हो?

हाम्रो चिनारी र ब्रह्‍माण्डको सार्वभौमसत्ताधारी शासकसितको सम्बन्धबारे हाम्रो स्पष्ट दृष्टिकोणले हामीलाई “यहोवामानै घमन्ड” गर्न उत्प्रेरित गर्छ। (१ कोरिन्थी १:३१, NW) यो कस्तो किसिमको घमन्ड हो? साँचो मसीहीहरूको हैसियतमा यहोवालाई आफ्नो परमेश्‍वरको रूपमा पाएकोमा हामी गर्व गर्छौं। हामी यो सल्लाह पालन गर्छौं: “जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस्‌ ‘म परमप्रभुलाई बुझ्दछु, चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ।’ ” (यर्मिया ९:२४) परमेश्‍वरलाई चिन्‍न पाएको अनि अरूलाई मदत गर्नको लागि उहाँद्वारा चलाइन पाएको सुअवसरको लागि हामी “घमन्ड” गर्छौं।

चुनौती

६. मसीहीहरूको हैसियतमा आफ्नो चिनारीबारे स्पष्ट दृष्टिकोण कायम गर्नु किन कसै-कसैलाई चुनौतीपूर्ण हुन सक्छ?

हुन त हो, मसीहीहरूको हैसियतमा हाम्रो छुट्टै चिनारीबारे स्पष्ट दृष्टिकोण कायम राख्नु सधैं सजिलो हुँदैन। मसीहीको रूपमा हुर्काइएका एक जना जवान व्यक्‍तिले केही समयको लागि आफूले आध्यात्मिक तवरमा कमजोर अनुभव गरेको घटना सम्झँदै यसो भने: “कहिलेकाहीं मलाई आफू यहोवाको साक्षी हुनुको कारण के हो भनेर थाह नभएजस्तो लाग्थ्यो। म सानैदेखि सच्चाइमा हुर्कें। कहिलेकाहीं मलाई यो पनि अरूजस्तै एउटा स्थापित र स्वाकीर्य धर्मजस्तो लाग्थ्यो।” अरू कतिले भने मनोरञ्जनजगत्‌, सञ्चारजगत्‌ र जीवनप्रति अहिलेको अभक्‍त दृष्टिकोणले आफ्नो चिनारी प्रभावित हुन दिएका हुन सक्छन्‌। (एफिसी २:२, ३) कोही-कोही मसीहीहरूले भने कहिलेकाहीं आफूप्रति शङ्‌का उब्जिएको अनि आफ्ना मूल्यमान्यता तथा लक्ष्यहरू पुनः केलाउनुपर्ने भएको महसुस गर्न सक्छन्‌।

७. (क) परमेश्‍वरका सेवकहरूको लागि कस्तो किसिमको आत्म-परीक्षण उपयुक्‍त छ? (ख) खतरा कहाँ लुकेको हुन सक्छ?

के समय-समयमा होसियारीपूर्वक आत्म-परीक्षण गर्नु पूर्णतया गलत हो? होइन। तपाईंले सम्झनुभएको होला, प्रेरित पावलले मसीहीहरूलाई आफ्नो जाँच गरिरहन यसरी प्रोत्साहन दिए: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) प्रेरितले यहाँ आफूमा विकास भएको हुन सक्ने कुनै आध्यात्मिक कमजोरी पत्ता लगाएर त्यसलाई सच्याउन आवश्‍यक कदम चाल्नको लागि स्वास्थ्यकर र सन्तुलित प्रयास गर्न प्रोत्साहन दिइरहेका थिए। मसीहीले आफू विश्‍वासमा छु कि छैनँ भनी जाँच्नको लागि तिनले जे विश्‍वास गर्छु भनी दाबी गर्छन्‌ त्यस अनुरूप आफ्नो काम र वचन छ कि छैन भनेर निर्धारण गर्नुपर्छ। तथापि, यहोवा वा मसीही मण्डलीसित कुनै सरोकार नभएको कुरामा हाम्रो “चिनारी” वा जवाफ खोज्न लगाउने गलत किसिमको आत्म-परीक्षण गऱ्‍यौं भने त्यो अर्थहीन हुनेछ र आध्यात्मिक तवरमा घातकसमेत हुन सक्छ। a हामी कहिल्यै पनि आफ्नो ‘विश्‍वासको जहाज डुबाउन’ चाहँदैनौं!—१ तिमोथी १:१९.

चुनौतीहरूबाट हामी मुक्‍त छैनौं

८, ९. (क) आफूप्रतिको शङ्‌काबारे मोशाले आफ्ना भावनाहरू कसरी व्यक्‍त गरे? (ख) मोशाले असक्षम महसुस गर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? (ग) यहोवाका आश्‍वासनहरूले तपाईंलाई कस्तो असर गर्छ?

कहिलेकाहीं आफूप्रति शङ्‌का उत्पन्‍न हुने मसीहीरूले के आफू असफल भएको महसुस गर्नुपर्छ? पटक्कै पर्दैन! निस्सन्देह, त्यस्ता भावनाहरू कुनै नयाँ कुरा होइनन्‌ भनेर थाह पाउँदा तिनीहरूले सान्त्वना पाउन सक्छन्‌। परमेश्‍वरका विश्‍वासी साक्षीहरूले विगतमा पनि त्यस्तो महसुस गरे। उदाहरणका लागि, मोशालाई लिनुहोस्‌ जसले असामान्य विश्‍वास, वफादारी र भक्‍ति देखाए। आफूले गर्नै नसक्ने जस्तो देखिने काम अह्राइँदा डराउँदै मोशाले यसो भने: “म को हुँ र?” (प्रस्थान ३:११) तिनको मनमा यस्तो जवाफ आएको थियो भन्‍ने कुरा स्पष्ट छ, ‘म त कोही पनि होइन नि!’ वा ‘म सक्षम छैनँ!’ मोशाको पृष्ठभूमिको विभिन्‍न पक्षले गर्दा तिनले असक्षम महसुस गरेको हुनुपर्छ: तिनी एउटा यस्तो राष्ट्रका सदस्य थिए, जो सबै दास थिए। तिनी इस्राएलीहरूबाट तिरस्कृत भएका थिए। तिनी सिपालु वक्‍ता थिएनन्‌। (प्रस्थान १:१३, १४; २:११-१४; ४:१०) तिनी एक जना गोठालो थिए र यो पेसालाई मिश्रीहरू घृणा गर्थे। (उत्पत्ति ४६:३४) त्यसैले दास बनाइएका परमेश्‍वरका जनहरूको उद्धारक हुन तिनले अयोग्य महसुस गर्नु कुनै अचम्मलाग्दो कुरा होइन!

यहोवाले मोशासित दुइटा जोडदार प्रतिज्ञा गर्नुभएर पुनः आश्‍वासन दिनुभयो: “निश्‍चय म तँसित हुने छु, र मैले तँलाई पठाएको हुँ भन्‍ने कुराको चिह्न तँलाई यो हुनेछ, जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्‌, तब तिमीहरूले यही पर्वतमा परमेश्‍वरको सेवा गर्नेछौ।” (प्रस्थान ३:१२) आनाकानी गरिरहेका आफ्ना सेवकलाई परमेश्‍वरले उहाँ सधैं तिनको साथमा हुने कुरा बताइरहनुभएको थियो। साथै, यहोवाले आफ्ना जनहरूलाई हरहालतमा उद्धार गर्ने कुराको सङ्‌केत गरिरहनुभएको थियो। शताब्दीयौंको दौडान परमेश्‍वरले सहयोग गर्ने त्यस्तै प्रतिज्ञाहरू गर्नुभएको छ। उदाहरणका लागि, प्रतिज्ञा गरेको देशमा प्रवेश गर्नै लागेको इस्राएल राष्ट्रलाई परमेश्‍वरले मोशामार्फत यसो भन्‍नुभयो: “बलियो र साहसी होओ! . . . परमप्रभु परमेश्‍वरनै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई धोखा दिनुहुनेछैन, निराश तुल्याउनुहुनेछैन उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।” (व्यवस्था ३१:६) यहोवाले यहोशूलाई पनि यस्तो आश्‍वासन दिनुभयो: “तेरो जीवनभरि तेरो सामने कोही मानिस खडा हुनसक्ने छैन। . . . म तँसँग रहनेछु, म तँलाई धोखा दिनेछैनँ। औ तँलाई त्याग्नेछैनँ।” (यहोशू १:५) अनि उहाँ मसीहीहरूलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” (हिब्रू १३:५) यस्तो बलियो सहयोग पाएको हुनाले मसीहीहरू भएकोमा हामीले गर्व गर्नुपर्ने हो!

१०, ११. यहोवाप्रति आफ्नो सेवाको महत्त्वबारे सही मनोवृत्ति राख्न लेवी आसापलाई कसरी मदत गरियो?

१० मोशाभन्दा लगभग पाँच शताब्दीपछिका आसाप नाउँ गरेका विश्‍वासी लेवीले धर्मी मार्ग पछ्याउँदा आफ्नो मनमा उब्जेका शङ्‌काहरूबारे खुलस्त लेखे। आफू भने परीक्षा तथा प्रलोभनहरूको बावजुद परमेश्‍वरको सेवा गरिरहँदा, परमेश्‍वरको उपहास गर्ने कोही-कोही व्यक्‍तिहरू झन्‌-झन्‌ शक्‍तिशाली र संवृद्ध हुँदै गइरहेको तिनले देखे। यसले आसापलाई कस्तो असर पाऱ्‍यो? तिनले यसरी मानिलिए: “मेरा खुट्टा झण्डै ठेस लागेका थिए। मेरा पाइलाहरू चिप्लन लागेका थिए। किनकि दुष्टहरूको उन्‍नति देख्ता ती अहंकारीहरूको म डाही भएको थिएँ।” यहोवाको उपासक हुनुको महत्त्वमाथि तिनले शङ्‌का गर्न थाले। आसापले यस्तो सोचे, “निश्‍चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ। किनकि दिनभरि म विपत्तिमा परेको छु।”—भजन ७३:२, ३, १३, १४.

११ विचलित तुल्याउने यी भावनाहरूको सामना आसापले कसरी गरे? के तिनले त्यस्ता भावनाहरू नकारे? अहँ नकारेनन्‌। तिनले यसबारे परमेश्‍वरलाई प्रार्थनामा बताए जुन कुरा हामी ७३ औं भजनमा पढ्‌न सक्छौं। परमेश्‍वरको मन्दिरको पवित्र बासस्थानमा गएपछि भने आसापको मनोवृत्तिमा आमूल परिवर्तन आयो। त्यहाँ छँदा तिनले परमेश्‍वरप्रतिको भक्‍ति नै सबैभन्दा उत्तम मार्ग हो भन्‍ने कुरा बुझे। यसरी यहोवाको सेवा गर्नुको आध्यात्मिक महत्त्वबारे पुनःजागृत भएपछि यहोवाले खराबीलाई घृणा गर्नुहुन्छ र तोकिएको समयमा दुष्टहरूलाई नाश गर्नुहुनेछ भनेर तिनले बुझे। (भजन ७३:१७-१९) यसरी आफ्नो सोचाइ सच्याइसकेपछि यहोवाको आदरणीय सेवकको रूपमा आफ्नो चिनारीलाई आसापले अझ बलियो बनाए। तिनले परमेश्‍वरलाई यसो भने: “म निरन्तर तपाईंसँगै छु। तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ। र त्यसपछि मलाई आफ्नो महिमा लिनुहुनेछ।” (भजन ७३:२३, २४) आसापले फेरि आफ्नो परमेश्‍वरमा गर्व गर्न सके।—भजन ३४:२.

तिनीहरू आफ्नो चिनारीबारे अत्यन्तै सचेत थिए

१२, १३. परमेश्‍वरसितको आफ्नो सम्बन्धमा गर्व गर्ने बाइबल पात्रहरूको उदाहरण दिनुहोस्‌।

१२ हाम्रो मसीही चिनारीप्रतिको सजगतालाई अझ बलियो बनाउने एउटा तरिका, कठिनाइको बावजुद परमेश्‍वरसितको सम्बन्धमा साँच्चै गर्व गरेका उहाँका वफादार उपासकहरूको विश्‍वास केलाएर त्यसको अनुकरण गर्नु हो। याकूबका छोरा यूसुफलाई विचार गर्नुहोस्‌। कलिलो उमेरमै तिनलाई झुक्याएर दासको रूपमा बेचियो अनि आफ्ना ईश्‍वरभीरु बुबाभन्दा सयौं किलोमिटर पर अनि आफ्नो घरको न्यानो अनि सहयोगी वातावरणभन्दा एकदमै भिन्‍न मिश्रमा लगियो। मिश्रमा छँदा यूसुफले ईश्‍वरीय सल्लाह लिन सक्ने व्यक्‍ति कोही पनि थिएन अनि तिनले आफ्नो नैतिकता अनि परमेश्‍वरप्रतिको भरोसाको जाँच हुने चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपऱ्‍यो। तथापि, परमेश्‍वरको सेवकको हैसियतमा आफ्नो चिनारीबारे एकदमै सचेत हुन तिनले लगनशील प्रयास गरे भन्‍ने कुरा स्पष्ट छ अनि तिनी आफूले सही भनी थाह पाएको कुराप्रति विश्‍वासी रहे। वैरभावपूर्ण वातावरणमा समेत आफूलाई यहोवाको उपासक भनेर चिनाउन पाएकोमा तिनी गर्व गर्थे अनि आफूलाई कस्तो लाग्थ्यो भनी व्यक्‍त गर्न तिनी हिचकिचाएनन्‌।—उत्पत्ति ३९:७-१०.

१३ लगभग आठ शताब्दीपछि अरामी सेनापति नामानकी दासी बन्‍न पुगेकी बन्दी इस्राएली केटीले यहोवाका उपासकको हैसियतमा आफ्नो चिनारी बिर्सिनन्‌। मौका मिल्ने बित्तिकै तिनले एलिशा साँचो परमेश्‍वरका अगमवक्‍ता हुन्‌ भनी चिनाएर साहसी भई यहोवाबारे राम्रो साक्षी दिइन्‌। (२ राजा ५:१-१९) त्यसको वर्षौंपछि जवान राजा योशियाहले पनि चारैतिर व्याप्त भ्रष्ट वातावरणको बावजुद चीरकालीन धार्मिक सुधारहरू गरे, परमेश्‍वरको मन्दिरको मर्मतकार्य गरे अनि त्यस राष्ट्रमा यहोवाको उपासना पुनर्स्थापित गरे। तिनले आफ्नो विश्‍वास र उपासनामा गर्व गरे। (२ इतिहास, अध्याय ३४, ३५) दानियल र तिनका तीन जना हिब्रू साथीले बेबिलोनमा छँदा यहोवाका सेवकहरूको रूपमा आफ्नो चिनारी कहिल्यै बिर्सेनन्‌ अनि दबाब र प्रलोभन आइपर्दा समेत आफ्नो निष्ठा कायम राखे। स्पष्टतः यहोवाका सेवकहरू हुन पाएकोमा तिनीहरूले गर्व गरे।—दानियल १:८-२०.

आफ्नो मसीही चिनारीमा गर्व गर्नुहोस्‌

१४, १५. हाम्रो मसीही चिनारीबारे घमन्ड गर्नुमा कुन कुरा समावेश छ?

१४ परमेश्‍वरका यी सेवकहरूले परमेश्‍वरसमक्ष आफ्नो अडानमा गर्व गर्न सकेको हुँदा तिनीहरू सफल हुन सके। आज हामी नि? हाम्रो मसीही चिनारीबारे घमन्ड गर्नुमा कुन कुरा समावेश छ?

१५ मुख्य कुरा, यहोवाको नाउँबाट चिनिएकाहरूमध्ये आफू पनि एक हुन पाएकोमा अनि प्राप्त आशिष्‌ र अनुमोदनको लागि गहिरो कृतज्ञता यसमा समावेश छ। आफ्ना मानिसहरू को हुन्‌ भन्‍ने सन्दर्भमा परमेश्‍वरलाई कुनै शङ्‌का छैन। निकै धार्मिक गन्जागोल भएको समयमा बाँचिरहेका प्रेरित पावलले यस्तो लेखे: “प्रभुले [“यहोवाले,” NW] आफ्ना जत्तिलाई चिन्‍नुहुन्छ।” (२ तिमोथी २:१९; गन्ती १६:५) “आफ्ना जत्ति[मा]” यहोवा गर्व गर्नुहुन्छ। उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।” (जकरिया २:८) यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। त्यसैले उहाँसितको हाम्रो सम्बन्ध पनि उहाँप्रतिको गहिरो प्रेममा आधारित हुनुपर्छ। पावलले यस्तो टिप्पणी गरे: “कसैले परमेश्‍वरलाई प्रेम गर्दछ भने त्यो उहाँबाट चिनिएको हुन्छ।”—१ कोरिन्थी ८:३.

१६, १७. जवान तथा वृद्ध मसीहीहरूले किन आफ्नो आध्यात्मिक सम्पदामा गर्व गर्न सक्छन्‌?

१६ यहोवाका साक्षीहरूको रूपमा हुर्काइएका जवान व्यक्‍तिहरूले परमेश्‍वरसित आफ्नो व्यक्‍तिगत सम्बन्धको आधारमा आफ्नो मसीही चिनारी बलियो हुँदै गइरहेको छ कि छैन भनेर केलाउनु बेस हो। तिनीहरू आफ्ना आमाबाबुको विश्‍वासमा मात्र भर पर्न सक्दैनन्‌। परमेश्‍वरका प्रत्येक सेवकबारे पावलले यस्तो लेखे: “त्यो ता आफ्नै मालिकको निम्ति खडा हुन्छ। अथवा पतित हुन्छ।” तसर्थ, पावल अझ यसो भन्छन्‌: “हामी हरेकले परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:४, १२) कुरा स्पष्ट छ, यहोवाको उपासना गर्ने पारिवारिक परम्परालाई आधा मनको भई कायम गर्दैमा यहोवासित घनिष्ठ र चीरकालीन सम्बन्ध बनाइराख्न सकिंदैन।

१७ इतिहासभरि यहोवाका साक्षीहरूको लामो सूची छ। यो सूचीमा लगभग ६० शताब्दीअघिका विश्‍वासी पुरुष हाबिलदेखि वर्तमान साक्षीहरूको “ठूलो भीड” र यहोवाका अरू थुप्रै उपासकहरूको जमात छ जसले अनन्त भविष्यको आनन्द उठाउनेछन्‌। (प्रकाश ७:९; हिब्रू ११:४) यी विश्‍वासी उपासकहरूको सूचीमा सबैभन्दा नयाँ चाहिं हामी हौं। हामीसित कस्तो बहुमूल्य आध्यात्मिक सम्पदा छ!

१८. हाम्रा मूल्यमान्यता तथा स्तरहरूले कसरी हामीलाई संसारबाट अलग्गै छुट्याउँछ?

१८ हाम्रो मसीही चिनारीमा हामीलाई मसीही भनेर चिनाउने मूल्यमान्यता, गुण, स्तर तथा स्वभावहरू पनि समावेश छन्‌। यो एक मात्र “मार्ग” हो, जसले सफल जीवनतर्फ डोऱ्‍याउँछ अनि परमेश्‍वरलाई मनपर्ने हुन्छ। (प्रेरित ९:२; एफिसी ४:२२-२४) मसीहीहरू “सबै कुराको जाँच” गर्छन्‌ अनि ‘जुन असल छ, त्यसैमा लागिरहन्छन्‌’! (१ थिस्सलोनिकी ५:२१) मसीहीधर्म र परमेश्‍वरबाट तर्किएको संसारबीचको ठूलो अन्तरबारे हामीले स्पष्टसित बुझेका छौं। यहोवाले साँचो र झूटो उपासनाबीच कुनै पनि कुरा अस्पष्ट छोड्‌नुभएको छैन। आफ्नो अगमवक्‍ता मलाकीमार्फत उहाँले यस्तो घोषणा गर्नुभयो: “तिमीहरू फर्कनेछौ, औ धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउन सक्नेछौ।”—मलाकी ३:१८.

१९. साँचो मसीहीहरू कहिल्यै के हुनेछैनन्‌?

१९ गन्जागोलपूर्ण र लक्ष्यविहीन यस संसारमा यहोवामा घमन्ड गर्नु अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा हाम्रा परमेश्‍वरमा स्वास्थ्यकर घमन्ड कायम गर्न अनि मसीही चिनारीबारे अत्यन्तै सचेत हुन कुन कुराले हामीलाई मदत गर्न सक्छ? अर्को लेखमा मदतकारी सुझावहरू दिइएका छन्‌। ती सुझावहरूबारे विचार गर्दा तपाईं यो कुरामा ढुक्क हुन सक्नुहुन्छ: साँचो मसीहीहरू कहिल्यै पनि “भावशून्यवादको” सिकार हुनेछैनन्‌।

[फुटनोट]

a यहाँ हाम्रो आध्यात्मिक चिनारीलाई मात्रै सङ्‌केत गरिएको छ। कसै-कसैको सन्दर्भमा भन्‍ने हो भने मानसिक स्वास्थ्यसम्बन्धी कुराहरूले गर्दा पेसेवर उपचार चाहिन सक्छ।

के तपाईंलाई याद छ?

• मसीहीहरूले कसरी “यहोवामानै घमन्ड” गर्न सक्छन्‌?

• मोशा र आसापको उदाहरणबाट तपाईंले के सिक्नुभएको छ?

• बाइबलका कुन-कुन पात्रहरूले यहोवाप्रति आफ्नो सेवामा गर्व गरे?

• हाम्रो मसीही चिनारीबारे घमन्ड गर्नुमा कुन कुरा समावेश छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

केही समयको लागि मोशाको मनमा आफूप्रति शङ्‌काका भावनाहरू आए

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवाका थुप्रै पुरातन सेवकहरूले आफ्नो छुट्टै चिनारीमा गर्व गरे