सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साबाको राजधानीसम्म उक्लँदै

साबाको राजधानीसम्म उक्लँदै

साबाको राजधानीसम्म उक्लँदै

डचहरूद्वारा शासित साबा टापु, कुनै समय लूटको खोजीमा करिबियन समुद्रमा ढुकेर बस्ने समुद्री डाँकुहरूको अखडा थियो। पोर्टो रिकोभन्दा २४० किलोमिटर पूर्वमा अवस्थित यो सानो टापुमा अहिले लगभग १,६०० मानिसहरू बसोबास गर्छन्‌ जसमध्ये ५ जना यहोवाका साक्षी हुन्‌। तथापि, यी साहसी सेवकहरूले लूटभन्दा निकै बहुमूल्य कुरा खोजिरहेका छन्‌। तिनीहरूले “अनन्त जीवनका लागि नियुक्‍त भएका” मानिसहरू लगनशील भई खोजिरहेका छन्‌।—प्रेरित १३:४८.

जून २२, १९५२ मा यहोवाका साक्षीहरूद्वारा सञ्चालित १८ मिटर ठूलो सिबिया जहाज साबाको समुद्रीतटमा आइपुग्दा परमेश्‍वरको राज्यको सन्देश पहिलो चोटि यस टापुमा पुगेको थियो। (मत्ती २४:१४) मिसनरीहरू गस्ट माकी र स्टान्ली कार्टर साबाको राजधानी, बटमसम्म पुग्नको लागि ढुङ्‌गाले बनाइएका ५०० वटा खुड्‌किला भएको बाटो हुँदै उकालो लागे। a शताब्दीयौंसम्म यस टापुका बासिन्दाहरूकहाँ पुग्ने एउटै मात्र माध्यम यही साँघुरो बाटो थियो।

साबामा मसीही प्रचारकार्यको पहिलो मुद्रित रिपोर्ट १९६६ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-मा (वार्षिक पुस्तक) छापिएको थियो। त्यस रिपोर्टअनुसार यस टापुमा एक जना मात्र सक्रिय साक्षी थिए। पछि, त्यहाँ सुसमाचार प्रचार गर्न क्यानाडाबाट आएको एउटा परिवारले केही वर्ष बितायो। हालै भने, संयुक्‍त राज्य अमेरिकाका अवकाशप्राप्त दम्पती रसल र क्याथी साबामा गए अनि त्यहाँ प्रचारकार्यमा भाग लिए। तिनीहरूको कथा विचार गर्नुहोस्‌।

साबाको भ्रमण

मेरी पत्नी र म रोनाल्डको अतिथिको रूपमा हवाईजहाजमा साबा आइपुग्छौं र सन्‌ १९९० दशकको अधिकांश समय तिनी त्यस टापुका एक मात्र साक्षी थिए। हामीलाई अतिथि-सत्कार गर्न तिनी एयरपोर्टमा पर्खिरहेका छन्‌। हामीले तिनको लागि उपहारस्वरूप ल्याइदिएको तरकारीको सानो बाकस पाएर तिनी खुसी छन्‌ किनभने त्यस टापुमा बेचबिखन गर्ने उद्देश्‍यले कुनै खेतीपाती गरिंदैन। एउटा सानो ट्रक चढेर हामी माउन्ट सिनरीको नागबेली बाटो हुँदै निष्क्रिय ज्वालामुखीको टुप्पोमा पुग्छौं।

हामी हेल्स गेट भनिने गाउँमा रोकिन्छौं र रोनाल्डले आइतबारको जनभाषणको लागि टाँसिएको निमन्त्रणा त्यहाँको सार्वजनिक सूचना पाटीमा अझै छ कि छैन भनेर हेर्छन्‌। निमन्त्रणा देख्न पाएकोमा हामी खुसी छौं। तिनी फेरि ट्रकमा चढ्‌छन्‌ अनि त्यस टापुको सबैभन्दा ठूलो गाउँ विन्डवर्डसाइडतिर माथि उक्लन्छौं। अङ्‌ग्रेजीमा यसको नाउँले नै बुझाएझैं यो गाउँ टापुको हावा बग्ने दिशामा समुद्री सतहभन्दा ४०० मिटरमाथि अवस्थित छ। रोनाल्डको घरको कम्पाउण्डभित्र प्रवेश गर्दा हामी अगाडि बार्दलीमा यहोवाका साक्षीहरूको राज्यभवन लेखिएको रङ्‌गिन पाटी देख्छौं।

दिउँसो खाना खाँदा हामी साबामा आउन उत्प्रेरित हुनुसित सम्बन्धित प्रश्‍न सोध्छौं, “तपाईं कसरी साबामा राज्य उद्‌घोषक बन्‍न पुग्नुभयो?”

रोनाल्ड यस्तो जवाफ दिन्छन्‌: “सन्‌ १९९३ मा पोर्टो रिकोमा यहोवाका साक्षीहरूको शाखा कार्यालयको निर्माण कार्य सिद्धिंदा मेरी श्रीमती र म विदेशी भूमिमै सेवा गर्न चाहन्थ्यौं। त्यसअघि, हामी अर्को एउटा अग्रगामी दम्पतीसित साबा आएका थियौं अनि यहाँ १,४०० जना मानिस बस्छन्‌ तर साक्षी भने एक जना पनि छैनन्‌ भनेर थाह पाएका थियौं। त्यसैले हामीले यहाँ सर्नेबारे पोर्टो रिकोको शाखा समितिलाई बतायौं।

“कामकुरा राम्रै भयो अनि अन्तमा यहाँ बसाइँ सर्नको लागि अनुमति पायौं। तर दुःखको कुरा, दुई वर्षपछि मेरी श्रीमती असाध्यै बिरामी भइन्‌ र हामी क्यालिफोर्निया फर्क्यौं। उनको मृत्युपछि म फेरि साबा फर्कें। कुरा के भने, आफूले सुरु गरेको काम अधूरो छोड्‌न मलाई मन लाग्दैन।”

साबामा घर-घरको साक्षीकार्य

रोनाल्डको एक सय वर्ष पुरानो घरको बैठक कोठा नै राज्यभवनको रूपमा पनि प्रयोग गरिन्छ। b बिहानको नास्ता खाएर सेवकाईमा जाने तयारी गर्दै गर्दा आकाशको पानीले बाहिर खुला ठाउँमा रहेको भान्छालाई भिजाइदिन्छ। बिहानको नास्ता खाइसकेपछि आकाशमा बादल अझै बाँकी भएकै बेला हामी साबाको राजधानीमा बिहानको ढोका-ढोकाको साक्षीकार्यको लागि निस्कन्छौं। हरेक घरमा रोनाल्डले घरधनीलाई नाउँ लिएरै अभिवादन गर्छन्‌। हाम्रो छलफल हालैको स्थानीय खबरमा केन्द्रित हुन्छ। धेरैजसो मानिसहरूलाई रोनाल्ड र तिनको सेवकाईबारे थाह छ अनि थुप्रैले खुसीसाथ बाइबल साहित्य स्वीकार्छन्‌।

यहाँका गाउँलेहरूलाई चिन्‍नुभएको छैन भने परमेश्‍वरको राज्य सन्देशप्रति चासो देखाउनेहरूको रेकर्ड राख्न तपाईंलाई गाह्रो हुन सक्छ। किन? किनभने यहाँको “कानुनअनुसार सबै घरहरूमा एउटै रङ लगाइएको हुनुपर्छ” भनी रोनाल्ड बताउँछन्‌। त्यसैले पो वरपर हेर्दा सबै घरहरू सेतो रङका अनि छाना भने रातो रङका देखिएका रहेछन्‌।

बाइबल छलफल सिद्धिएपछि राज्यभवनमा आइतबार हुने बाइबलसम्बन्धी जनभाषणको लागि हामी घरधनीलाई निम्तो दिन्छौं। रोनाल्ड त्यहाँ टापुमै हुँदा हरेक हप्ता तिनैले जनभाषण दिन्छन्‌। हाल, साबामा १७ वटा बाइबल अध्ययन सञ्चालन भइरहेका छन्‌। सन्‌ २००४ को ख्रीष्टको मृत्युको स्मरणार्थमा २० जना उपस्थित भए। हेर्दा यो संख्या एकदमै सानो देखिएला तर यो साबाको कुल जनसंख्याको १ प्रतिशत हो!

निस्सन्देह, सकेसम्म बढी मानिसहरूलाई परमेश्‍वरको उद्धारको सन्देश सुनाउन यहोवाका साक्षीहरूले कुनै कसर छोडेका छैनन्‌। साबाजस्तो सानो टापु होस्‌ वा एउटा सिङ्‌गै महादेश, यहोवाका साक्षीहरूले “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा लगनशीलतापूर्वक पूरा गरिरहेका छन्‌।—मत्ती २८:१९.

दुःखको कुरा, हाम्रो भ्रमण टुङ्‌गिएको छ। प्लेनमा चढ्‌दा हामी हात हल्लाउँदै बिदा हुन्छौं। साबाको भ्रमण अनि त्यसको राजधानीसम्म उक्लेको यात्रालाई हामी कहिल्यै बिर्सनेछैनौं।

[फुटनोट]

a यो ठाउँ ज्वालामुखी पर्वतको फेदमा पर्छ भन्ठानेको हुँदा डाँकुहरूले अङ्‌ग्रेजीमा बटम अर्थात्‌ फेद अर्थ लाग्ने नाउँ दिएजस्तो देखिन्छ।

b सन्‌ २००३, सेप्टेम्बर २८ का दिन सं.रा.अ.-को फ्लोरिडाबाट स्वयम्‌सेवकहरू साबा गएर नजिकैको एउटा भवनको मर्मत-सम्भार गरिदिए र यो नै अहिले राज्यभवनको रूपमा चलाइँदैछ।

[पृष्ठ १०-मा भएको नक्सा]

पोर्टो रिको

[पृष्ठ १०-मा भएको चित्रको स्रोत]

Background: www.sabatourism.com