सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बदलिंदो परिस्थितिसँगै हामीले टाढा-टाढासम्म साक्षी दियौं

बदलिंदो परिस्थितिसँगै हामीले टाढा-टाढासम्म साक्षी दियौं

जीवनी

बदलिंदो परिस्थितिसँगै हामीले टाढा-टाढासम्म साक्षी दियौं

रिकार्डो मालिक्सीको वृत्तान्तमा आधारित

मसीही तटस्थताको कारण जागिर गुमाउँदा भविष्यमा के-कसो गर्नुपर्ने हो भनेर मेरो परिवार र मैले मदतको लागि यहोवालाई पुकाऱ्‍यौं। प्रार्थनामा हामीले सेवकाई विस्तार गर्ने हाम्रो इच्छा पनि प्रकट गऱ्‍यौं। त्यसको लगत्तै हाम्रो फिरन्ते जीवन सुरु भयो जसले हामीलाई दुईवटा महादेशको आठवटा विदेशी मुलुकमा पुऱ्‍यायो। फलस्वरूप, हामीले आफ्नो सेवकाईलाई टाढा-टाढासम्म विस्तार गर्न सक्यौं।

मेरो जन्म सन्‌ १९३३ मा फिलिपिन्समा भएको थियो र हाम्रो परिवार फिलिपिन्स इन्डिपेन्डेन्ट चर्चसित सम्बद्ध थियो। हाम्रो १४ जनाको परिवार नै त्यही चर्चका सदस्य थियौं। त्यस्तै १२ वर्षको छँदा साँचो विश्‍वासतर्फ डोऱ्‍याउनुहोस्‌ भनेर मैले परमेश्‍वरलाई प्रार्थना गरें। मेरा एक जना शिक्षकले मलाई धार्मिक कक्षामा भर्ना गरिदिनुभयो र म एक भक्‍त क्याथोलिक भएँ। पाप स्वीकार्नको लागि छुट्याइएको शनिबारको सभा वा आइतबारको मास मैले कहिल्यै छुटाइनँ। तथापि, बिस्तारै चर्चप्रति म असन्तुष्ट हुन थालें र मभित्र शङ्‌का उब्जिन थाल्यो। मानिस मरेपछि के हुन्छ र नरकको आगो तथा त्रिएकसित सम्बन्धित प्रश्‍नहरूले मलाई पिरोल्न थाल्यो। धर्मगुरुहरूले दिएको जवाफ अर्थ न बर्थको हुन्थ्यो र चित्तबुझ्दो थिएन।

चित्तबुझ्दो जवाफ पाउँदै

कलेजमा छँदा म एउटा समूहसित आबद्ध भएँ जसले गर्दा म झगडा गर्ने, जूवातास खेल्ने, धूम्रपान गर्ने र अन्य अनैतिक क्रियाकलापमा मुछिन पुगें। एक साँझ मैले मेरो सहपाठीकी आमालाई भेटें। उहाँ एक जना यहोवाको साक्षी हुनुहुन्थ्यो। मेरा धर्मगुरुहरूलाई सोधेकै प्रश्‍नहरू मैले उहाँलाई पनि सोधें। मेरा सबै प्रश्‍नहरूको जवाफ उहाँले बाइबलबाट दिनुभयो र उहाँले भन्‍नुभएको कुरा सत्य हो भनेर म विश्‍वस्त भएँ।

मैले बाइबल किनें र साक्षीहरूसित अध्ययन गर्न थालें। चाँडै म यहोवाका साक्षीहरूको सबै सभामा उपस्थित पनि हुन थालें। “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ” भन्‍ने बाइबलको बुद्धिमानी सल्लाह पालन गर्दै मैले मेरा अनैतिक साथीहरूसित सरसंगत गर्न छोडिदिएँ। (१ कोरिन्थी १५:३३) यसले मलाई बाइबल अध्ययनमा प्रगति गर्न र अन्तमा आफूलाई यहोवामा समर्पण गर्न मदत गऱ्‍यो। सन्‌ १९५१ मा बप्तिस्मा लिएपछि केही समयको लागि मैले पूर्ण-समय सेवकको (अग्रगामी) रूपमा सेवा गरें। त्यसपछि सन्‌ १९५३ को डिसेम्बर महिनामा मैले अरीया मेन्डोजा क्रूजसित विवाह गरें, जो मेरो जीवनसाथी र सेवकाईमा विश्‍वासी सहकर्मी भइन्‌।

हाम्रा प्रार्थनाहरूको जवाफ

अग्रगामीहरूको रूपमा सेवा गर्ने हाम्रो इच्छा थियो। तथापि, यहोवाको अझ धेरै सेवा गर्ने हाम्रो इच्छा तुरुन्तै पूरा भएन। तैपनि उहाँको सेवा गर्ने बाटो खोलिदिनुहोस्‌ भनेर हामीले यहोवालाई निरन्तर प्रार्थना भने गरिरह्‍यौं। यद्यपि, हाम्रो जीवन सजिलो थिएन। यद्यपि, हामीले हाम्रो आध्यात्मिक लक्ष्य बिर्सेनौं र २५ वर्षको उमेरमा म यहोवाका साक्षीहरूको एउटा मण्डलीको सेवक अर्थात्‌ अध्यक्ष नियुक्‍त भएँ।

बाइबलको ज्ञानमा बढ्‌दै गएपछि र यहोवाका सिद्धान्तहरूलाई राम्ररी बुझ्दै गएपछि मेरो जागिरले गर्दा मसीही तटस्थताको आधारमा मैले लिएको अडान उल्लङ्‌घन भएको महसुस गरें। (यशैया २:२-४) मैले जागिर छोड्‌ने निर्णय गरें। यो हाम्रो विश्‍वासको एउटा परीक्षा साबित भयो। अब कसरी आफ्नो परिवार पाल्ने? यस विषयमा पनि हामीले फेरि यहोवालाई नै प्रार्थना गरेर मदत माग्यौं। (भजन ६५:२) हामीले उहाँलाई हाम्रो फिक्री तथा भयबारे मात्र होइन तर राज्य प्रचारकहरूको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने हाम्रो इच्छुकताबारे पनि बतायौं। (फिलिप्पी ४:६, ७) हाम्रो लागि थुप्रै सुअवसरको ढोका खोलिनेछ भनेर त हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौं!

हाम्रो यात्राको थालनी

सन्‌ १९६५ को अप्रिल महिनामा मैले लाओसको भ्येनट्यान अन्तरराष्ट्रिय विमानस्थलमा हवाईजहाज दुर्घटना हुँदा आगो निभाउने तथा उद्धारकार्यको सुपरिवेक्षण गर्ने काम पाएँ। त्यसैले हामी त्यहाँ बसाइँ सऱ्‍यौं। भ्येनट्यान सहरमा जम्मा २४ जना साक्षी थिए र मिसनरी तथा स्थानीय भाइहरूसित प्रचारकार्यमा भाग लिंदा निकै रमाइलो भयो। पछि मलाई थाइल्याण्डको उदोन तानी विमानस्थलमा सरुवा गरियो। उदोन तानीमा साक्षीहरू थिएनन्‌। पारिवारिक रूपमा हामीले सबै साप्ताहिक सभाहरू सञ्चालन गऱ्‍यौं। हामीले घर-घरमा प्रचार गऱ्‍यौं, पुनःभेटहरू गऱ्‍यौं र बाइबल अध्ययनहरू सुरु गऱ्‍यौं।

‘धेरै फल फलाइरहनु’ भनी येशूले आफ्ना चेलाहरूलाई दिनुभएको सल्लाह हामीले सम्झ्यौं। (यूहन्‍ना १५:८) त्यसैकारण हामीले उनीहरूको उदाहरण पछ्याउने अठोट गऱ्‍यौं र सुसमाचार घोषणा गर्न बन्द गरेनौं। चाँडै हामीले असल परिणामहरू प्राप्त गऱ्‍यौं। एउटी थाई महिलाले सच्चाइ स्वीकारिन्‌ र हाम्रो आध्यात्मिक बहिनी भइन्‌। दुई जना उत्तर अमेरिकीले पनि सच्चाइ स्वीकारे र समयमा मसीही प्राचीनहरू भए। उत्तरी थाइल्याण्डमा हामीले दस वर्षभन्दा बढी समयसम्म सुसमाचार प्रचार गरिरह्‍यौं। अहिले उदोन तानीमा एउटा मण्डली स्थापना भएकोमा हामी साह्रै खुसी छौं! हामीले छरेको सत्यका कुनै-कुनै बीउहरूबाट अझै पनि असल परिणामहरू प्राप्त भइरहेका छन्‌।

तथापि दुःखको कुरा, हामी फेरि अर्कै ठाउँ सर्नु पऱ्‍यो र प्रचारकार्यमा भाग लिइरहन पाऊँ भनेर मदतको लागि हामीले “फसलका प्रभुलाई” प्रार्थना गऱ्‍यौं। (मत्ती ९:३८) हामीलाई इरानको राजधानी तेहरान सरुवा गरियो। त्यतिबेला इरानमा शाह शासनकाल थियो।

चुनौतीपूर्ण इलाकाहरूमा प्रचार गर्दै

तेहरान आएपछि आध्यात्मिक भाइहरूसित हाम्रो तुरुन्तै भेट भइहाल्यो। हामीले १३ विभिन्‍न देशका साक्षीहरूले बनेको एउटा सानो समूहसित संगति गऱ्‍यौं। इरानमा सुसमाचार प्रचार गर्न केही छाँटकाँटहरू गर्नुपरेको थियो। हामीले प्रत्यक्ष विरोध भोग्नु नपरे तापनि हामी सतर्क रहनु आवश्‍यक थियो।

इच्छुक व्यक्‍तिहरूको कार्य तालिकाले गर्दा कहिलेकाहीं हामी मध्यरातमा वा त्योभन्दा पछि अर्थात्‌ बिहानीपख बाइबल अध्ययनहरू सञ्चालन गर्थ्यौं। यद्यपि, ती कडा परिश्रमको मीठो फल पाउँदा हामी खुसीले गद्‌गद भयौं! थुप्रै फिलिपिनो तथा कोरियन परिवारले मसीही सच्चाइ स्वीकारे र यहोवामा आफूलाई समर्पण गरे।

मेरो अर्को असाइनमेन्ट बङ्‌गलादेशको ढाकामा थियो। सन्‌ १९७७ को डिसेम्बर महिनामा हामी त्यहाँ आयौं। प्रचार गर्न गाह्रो यो अर्को देश थियो। तथापि प्रचार गतिविधिमा सक्रिय रहनै पर्छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सेनौं। यहोवाको आत्माको डोऱ्‍याइ पाएर हामीले मसीही भनौंदा थुप्रै परिवारलाई भेट्टाउन सक्यौं। तीमध्ये कोही-कोही पवित्र धर्मशास्त्रमा पाइने सत्यको स्फूर्तिदायी पानीको लागि तिर्खाइरहेका थिए। (यशैया ५५:१) फलस्वरूप, हामीले थुप्रै बाइबल अध्ययन सुरु गऱ्‍यौं।

“सबै मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा छ भन्‍ने कुरालाई हामीले सधैं मनमा राख्यौं। (२ तिमोथी २:४) खुसीको कुरा, कसैले पनि हाम्रो काममा भाँजो हाल्ने प्रयास गरेन। कसैलाई पनि भेदभाव नगर्न हामीले एकदमै मित्रैलो तरिका अपनाउने निश्‍चय गऱ्‍यौं। प्रेरित पावलले जस्तै हामीले पनि “सबैका निम्ति . . . सबै कुरा” बन्‍ने कोसिस गऱ्‍यौं। कसैले हामी आउनुको कारण सोद्धा दयालु ढङ्‌गमा जवाफ दिने गर्थ्यौं र हामीलाई पनि अधिकांश मानिसहरू अत्यन्तै मिलनसार लाग्थ्यो।

ढाकामा हामीले एक जना स्थानीय साक्षीलाई भेट्यौं र हामीले तिनलाई मसीही सभा तथा प्रचारकार्यमा आउन प्रोत्साहित गऱ्‍यौं। पछि मेरी पत्नीले एउटा परिवारलाई बाइबल अध्ययन गराइन्‌ र उनीहरूलाई सभाहरूमा आउन आग्रह गरिन्‌। यहोवाको करुणाले गर्दा सारा परिवार नै सच्चाइमा आए। पछि उनीहरूका दुई छोरीले बङ्‌गाली भाषामा बाइबल साहित्यहरू अनुवाद गर्न मदत गरे भने उनीहरूका थुप्रै नातेदारहरूले पनि यहोवालाई चिने। अरू थुप्रै बाइबल विद्यार्थीहरूले सच्चाइ स्वीकारे। तीमध्ये धेरैजसोले हाल प्राचीनहरू अथवा अग्रगामीहरूको रूपमा सेवा गरिरहेका छन्‌।

ढाका अत्यधिक जनसंख्या भएको सहर भएको कारण प्रचारकार्यमा सघाउन हामीले हाम्रो परिवारका केही सदस्यहरूलाई बोलायौं। धेरै जना यसको लागि अग्रसर भए र बङ्‌गलादेशमा हामीलाई साथ दिए। त्यस देशमा सुसमाचार प्रचार गर्ने सुअवसर पाएकोमा हामी अत्यन्तै हर्षित र यहोवाप्रति आभारी छौं! केवल एक जना व्यक्‍तिको सानो सुरुवातबाट बढेर अहिले बङ्‌गलादेशमा दुईवटा मण्डली खडा भइसकेको छ।

सन्‌ १९८२ को जुलाई महिनामा हामीले बङ्‌गलादेश छोडेर जानुपऱ्‍यो। गहभरि आँसु पार्दै हामी भाइहरूसित बिदाबारी भयौं। बङ्‌गलादेशबाट गएको केही समयपछि नै मैले युगान्डाको एन्टेबे अन्तरराष्ट्रिय विमानस्थलमा काम पाएँ, जहाँ हामी चार वर्ष सात महिना बस्ने थियौं। यस मुलुकमा यहोवाको महान्‌ नाउँको आदर गर्ने सन्दर्भमा हामीले के गर्न सक्ने थियौं?

पूर्वी अफ्रिकामा यहोवाको सेवा गर्दै

एन्टेबे अन्तरराष्ट्रिय विमानस्थल आइपुगेपछि मेरी पत्नी र मलाई हाम्रो बस्ने ठाउँसम्म पुऱ्‍याउन एक जना ड्राइभर हामीलाई लिन आए। विमानस्थलबाट आउँदै गर्दा बाटोमा मैले ड्राइभरलाई परमेश्‍वरको राज्यबारे प्रचार गर्न थालें। तिनले मलाई सोधे: “के तपाईं यहोवाको साक्षी हुनुहुन्छ?” मैले हो भनेर जवाफ दिएपछि ड्राइभरले यसो भने: “तपाईंको एक जना भाइ कन्ट्रोल टावरमा काम गर्नुहुन्छ।” त्यत्ति नै खेर मैले तिनलाई त्यहाँ पुऱ्‍याइदिन आग्रह गरें। हामीले ती भाइलाई भेट्यौं र उनी पनि हामीलाई भेट्‌न पाएकोमा एकदमै खुसी भए अनि हामीले सभा तथा क्षेत्र सेवाका लागि प्रबन्धहरू मिलायौं।

त्यतिखेर युगान्डाभरिमा जम्मा २२८ जना राज्य प्रकाशक मात्र थिए। एन्टेबेका दुई जना भाइसित मिलेर हामीले पहिलो वर्षभरि सत्यको बीउ छऱ्‍यौं। त्यहाँका मानिसहरूलाई पढ्‌न रुचि भएको कारण हामीले सयौं पत्रिकाहरू लगायत धेरैभन्दा धेरै साहित्य प्रस्तुत गर्न सक्यौं। सप्ताहन्तको दौडान एन्टेबेको इलाकामा प्रचार गर्न मदतको लागि हामीले राजधानी काम्पालाका भाइहरूलाई बोलायौं। मेरो पहिलो जनभाषणमा मसमेत गरेर जम्मा पाँच जनाको उपस्थिति थियो।

त्यसपछिको तीन वर्षको दौडान, हामीले सिकाएका व्यक्‍तिहरूले आफूले सिकेअनुसार चलेर छिट-छिटो प्रगति गरेको देख्दा हामीले हाम्रो जीवनकै सबैभन्दा खुसीका केही क्षण अनुभव गऱ्‍यौं। (३ यूहन्‍ना ४) एउटा क्षेत्रीय सम्मेलनमा हाम्रा छ जना बाइबल विद्यार्थीले बप्तिस्मा लिए। पूर्ण-समय जागिर खाएर पनि हामीले अग्रगामीहरूको रूपमा सेवा गरेको देखेका हुनाले उनीहरूमध्ये धेरैले आफू पूर्ण-समय सेवा गर्न प्रोत्साहित भएको कुरा बताए।

हाम्रो कार्यस्थल पनि फलदायी इलाका हुन सक्छ भन्‍ने हामीलाई लाग्यो। एक चोटि मैले विमानस्थलको अग्नि नियन्त्रण विभागका अधिकारीलाई भेटेर पार्थिव प्रमोदवनमा जीवन कस्तो हुनेछ भनेर बाइबल आधारित आशाको विषयमा कुरा गरें। गरिबी, आवासको कमी, युद्ध, रोगबिमार अथवा मृत्युको कारण दुःखकष्ट नभोगिकन आज्ञाकारी मानिसजाति शान्ति र एकतामा बस्नेछन्‌ भनेर मैले उनैको बाइबलबाट देखाइदिएँ। (भजन ४६:९; यशैया ३३:२४; ६५:२१, २२; प्रकाश २१:३, ४) यसरी उनैको बाइबलबाट पढेर सुनाएको कारण उनको इच्छा जाग्यो। चाँडै बाइबल अध्ययन सुरु भयो। उनी सबै सभामा उपस्थित भए। चाँडै उनले आफ्नो जीवन यहोवामा समर्पण गरेर बप्तिस्मा लिए। पछि उनले पनि हामीसितै पूर्ण-समय सेवकाईमा भाग लिए।

युगान्डामा छँदा दुई पटक गृहकलह मच्चियो तर यसले गर्दा हाम्रो आध्यात्मिक गतिविधिमा कुनै रोकावट आएन। अन्तरराष्ट्रिय निकायहरूका लागि काम गर्ने व्यक्‍तिहरूमा आश्रित मानिसहरूलाई छ महिनाको लागि केन्याको नैरोवीमा सरुवा गरियो। बुद्धिमान्‌ र चनाखो भई चल्नुपरे तापनि युगान्डामा छोडिएका हामीले चाहिं भाइहरूसित मिलेर निरन्तर मसीही सभाहरू सञ्चालन गर्नुका साथै प्रचारको काम गरिरह्‍यौं।

सन्‌ १९८८ को अप्रिल महिनामा मेरो जागिरको अवधि पूरा भयो र हामी त्यहाँबाट फेरि अन्तै सऱ्‍यौं। एन्टेबे मण्डलीमा असाध्यै राम्रो आध्यात्मिक प्रगति भएको कारण त्यो मण्डली छोड्‌ने बेला हामीले अपार सन्तुष्टि महसुस गऱ्‍यौं। सन्‌ १९९७ को जुलाई महिनामा हामीले फेरि एन्टेबे जाने सुअवसर पायौं। त्यतिन्जेलसम्म पहिलेका हाम्रा केही बाइबल विद्यार्थीहरू प्राचीनहरूको रूपमा सेवा गरिरहेका थिए। जनसभामा १०६ जना उपस्थित भएको देख्दा हर्षले हाम्रो मनै चुम्यो!

प्रचार नगरिएको इलाकामा सर्दै

के हाम्रो लागि मौकाका नयाँ ढोकाहरू खोलिने थियो? अवश्‍य, किनभने मेरो अर्को असाइनमेन्ट सोमालियाको मोगादिसु अन्तरराष्ट्रिय विमानस्थलमा थियो। प्रचार नगरिएको इलाकामा सेवा गर्ने यो नयाँ मौकाको सदुपयोग गर्न हामी कटिबद्ध थियौं।

हामीले प्रचार गर्ने व्यक्‍तिहरू प्रायः दूतावासका कर्मचारीहरू, फिलिपिनो कामदार तथा अन्य विदेशीहरू थिए। हामी अक्सर उनीहरूलाई बजारमा भेट्‌थ्यौं। उनीहरूलाई भेट्‌न हामी उनीहरूको घरमा पनि जाने गर्थ्यौं। चतुऱ्‍याइँसाथ, निपुणतापूर्वक, बुद्धिमानसाथ चलेकोले र यहोवामाथि पूर्ण भरोसा गरेको कारण हामीले अरूलाई बाइबल सत्य सुनाउन सक्यौं अनि यसले विभिन्‍न देशका मानिसहरूमाझ फल पनि फलायो। दुई वर्षपछि अर्थात्‌ त्यहाँ युद्ध सुरु हुनुभन्दा केही समयअघि हामी मोगादिसुबाट बिदा भयौं।

त्यसपछि अन्तरराष्ट्रिय हवाई सेवासम्बन्धी संगठनले मलाई म्यानमारको यङ्‌गुनमा खटायो। फेरि पनि इमानदार हृदय भएका व्यक्‍तिहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सिक्न मदत गर्ने हामीले राम्रो मौका पायौं। म्यानमारपछि हामीलाई तान्जानियाको दार ए सलाम खटाइयो। दार ए सलाममा घर-घर गएर प्रचार गर्नु धेरै सजिलो थियो किनभने त्यहाँ अङ्‌ग्रेजी भाषा बोल्नेहरूको एउटा समुदाय नै थियो।

हामीले काम गरेको प्रायजसो देशमा यहोवाका साक्षीहरूको काममाथि प्रतिबन्ध लगाइए तापनि आफ्नो सेवकाईमा लागिरहन हामीलाई खासै गाह्रो भएन। मेरो काम सरकारी अथवा अन्तरराष्ट्रिय निकायहरूसित सम्बन्धित भएको कारण मानिसहरूले हाम्रो गतिविधिबारे प्रश्‍नै उठाएनन्‌।

जागिरले गर्दा मेरी पत्नी र मैले तीन दशकजति फिरन्ते जीवन बिताउनुपऱ्‍यो। तथापि, हामीले जागिरलाई हाम्रो मुख्य लक्ष्यसम्म पुग्ने एउटा माध्यमको रूपमा मात्रै लियौं। हाम्रो प्रमुख लक्ष्य भनेको सधैं परमेश्‍वरको राज्यको गतिविधिलाई अघि बढाउनु थियो। बदलिंदो परिस्थितिलाई सदुपयोग गर्न र टाढा-टाढासम्म सुसमाचार फैलाउने अद्‌भुत सुअवसरबाट आनन्द उठाउन मदत गर्नुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौं।

जहाँबाट सुरु गरेका थियौं त्यहीं

अन्ठाउन्‍न वर्षको उमेरमा मैले स्वैच्छिक अवकाश लिएर फिलिपिन्स फर्कने निधो गरें। त्यहाँ फर्केपछि डोऱ्‍याइको लागि हामीले यहोवालाई प्रार्थना गऱ्‍यौं। हामीले कभिट प्रान्तको ट्रासा मार्टेरास सहरस्थित मण्डलीमा सेवा गर्न थाल्यौं। हामी पहिलो चोटि आउँदा त्यहाँ परमेश्‍वरको राज्यका १९ जना उद्‌घोषक मात्रै थिए। दिनहुँ प्रचार गर्ने योजना बनाइयो र थुप्रै बाइबल अध्ययनहरू सुरु भए। मण्डलीमा वृद्धि हुन थाल्यो। एक चोटि त मेरी पत्नीको १९ र मेरोचाहिं १४ वटासम्म गृह बाइबल अध्ययन भएको थियो।

धेरै समय नबित्दै राज्यभवनमा अटाई-नअटाई हुन थाल्यो। हामीले यस विषयमा यहोवालाई प्रार्थना गऱ्‍यौं। एक जना आध्यात्मिक भाइ र तिनकी पत्नीले सानो जमिनको टुक्रा अनुदान दिने निर्णय गरे र नयाँ राज्यभवन बनाउन शाखा कार्यालयले ऋण स्वीकृत गऱ्‍यो। नयाँ भवनले गर्दा प्रचारकार्यमा निकै ठूलो प्रभाव पऱ्‍यो र हप्तैपिच्छे उपस्थिति संख्या धमाधम बढ्‌न थाल्यो। अहिले हामी एकतर्फी यात्रा गर्न मात्रै एक घण्टाभन्दा बढी समय लगाएर १७ जना प्रकाशक भएको अर्को मण्डलीलाई सहयोग गर्दैछौं।

विभिन्‍न देशहरूमा सेवा गरेर आनन्द उठाउने जुन सुअवसर हामीले पायौं त्यसको मेरी पत्नी र म धेरै नै कदर गर्छौं। जसै हामी हाम्रो फिरन्ते जीवनलाई फर्केर हेर्छौं, यस जीवनलाई अत्युत्तम ढङ्‌गमा अर्थात्‌ यहोवाबारे सिक्न अरूलाई मदत गर्न चलाएकोमा हामीलाई अपार सन्तुष्टि महसुस हुन्छ!

[पृष्ठ २४, २५-मा भएको नक्सा]

तान्जानिया

युगान्डा

सोमालिया

इरान

बङ्‌गलादेश

म्यानमार

लाओस

थाइल्याण्ड

फिलिपिन्स

[पृष्ठ २३-मा भएको चित्र]

मेरी पत्नी अरीयासित