बिग्रिएको सम्बन्ध सुधार्दा हुने फाइदाहरू
बिग्रिएको सम्बन्ध सुधार्दा हुने फाइदाहरू
एड्वार्ड मृत्यु शय्यामा थिए र बिल तिनलाई घृणा गर्थे। दुई दशकअघि एड्वार्डले एउटा यस्तो निर्णय गरेका थिए जसको कारण बिलको जागिर चट् भयो अनि ती दुई घनिष्ठ साथीहरूबीचको मित्रता पनि टुट्यो। शान्तिसँग मर्न सकूँ भनेर यतिबेला एड्वार्डले माफी माग्न खोजे। तर बिलले तिनको कुरै सुन्न चाहेनन्।
झन्डै तीस वर्षपछि बिलको मृत्यु हुनै लाग्दा तिनले माफी नदिनुको कारण बताए। “एड्वार्डले आफ्नो सबैभन्दा मिल्ने साथीसित यस्तो गर्नु हुँदैनथ्यो। म बीस वर्षपछि फेरि मिल्न चाहँदैनथें। . . . हुन त मेरो सोचाइ गलत पनि हुन सक्छ तर के गर्ने, मलाई यस्तै लाग्यो।” a
व्यक्तिगत मतभिन्नताहरूको अक्सर यस्तो दुःखद नतिजा त हुँदैन तर प्रायजसो यसले मानिसहरूको चित्त दुखाउँछ वा तीतो महसुस गराउँछ। एड्वार्डले जस्तै महसुस गर्ने कसैलाई विचार गर्नुहोस्। आफ्नो निर्णयले अरूलाई हानि पुऱ्याएको महसुस गरेर यस्ता व्यक्तिहरू दोषी अन्तस्करणको बोझ बोकेर बाँच्न सक्छन् र केही कुरा गुमाएको महसुस गर्छन्। यद्यपि, आफूले चित्त दुःखाएको आफ्नो साथीले तिनीहरूबीचको मित्रतालाई महत्त्वहीन वस्तुजस्तो ठानेको कुराबारे सोच्दा तिनले चोट महसुस गर्छन्।
तथापि, बिलले जस्तै महसुस गर्ने कोही-कोही भने आफूले व्यर्थैमा दुःख भोग्नुपरेको ठान्छन् र असाध्यै तीतो र क्रुद्ध महसुस गर्न सक्छन्। तिनलाई तिनको पहिलेको साथीले अन्जानमा नभई जानाजानी यस्तो हानि पुऱ्याएका हुन् जस्तो
लाग्न सक्छ। अक्सर दुई जनाबीच मतभिन्नता हुँदा ती दुवैले आफूलाई सही ठानेका हुन्छन् र सबै दोष जति अर्को व्यक्तिमाथि थुपार्छन्। यसरी दुई जना पहिलेका साथीहरू मानौं लडाइँमा मुछिन्छन्।तिनीहरू मौन युद्ध लड्छन्—नजिकैबाट एक जना हिंड्दा अर्कोले मुन्टो बटार्छ र समूहमा भेट हुँदा दुवैले एकअर्कालाई देखेको नदेखै गर्छन्। तिनीहरू टाढै बसेर एकअर्कालाई टेढो नजरले हेर्छन् वा द्वेष र घृणाले आँखा तर्छन्। तिनीहरू बोल्दा घोच्ने शब्दहरू चलाउँछन् वा एकअर्काको अपमान गर्छन् जसले छुरालेझैं रोप्छ।
यद्यपि, तिनीहरू दुईको ठ्याकै नमिल्ने जस्तो देखिए तापनि सायद तिनीहरू कुनै-कुनै कुरामा सहमत होलान्। तिनीहरूबीच गम्भीर समस्या छ र घनिष्ठ मित्रता टुटाउनु दुःखलाग्दो कुरा हो भनेर तिनीहरू स्वीकार्लान्। पाक्दै गइरहेको घाउको पीडा दुवैले महसुस गर्लान् र यो घाउ निको पार्न केही न केही गर्नै पर्छ भन्ने कुरा दुवैलाई थाह होला। तर बिग्रिएको सम्बन्ध सुधार्न र फेरि मिलाप गर्न पहिलो कदम चाल्ने चाहिं कसले? यो कदम चाल्न दुवै जना अनिच्छुक हुन सक्छन्।
दुई हजार वर्षअघि, येशू ख्रीष्टका प्रेरितहरूले कहिलेकाहीं चर्को विवाद गरेका थिए। (मर्कूस १०:३५-४१; लूका ९:४६; २२:२४) एक पटक तिनीहरूबीच कचिङ्गल भएपछि येशूले यसरी सोध्नुभयो: “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ, हँ?” लाजले भुतुक्क भएर तिनीहरू कसैले पनि जवाफ दिएनन्, सबै चुपचाप लागे। (मर्कूस ९:३३, ३४) येशूको शिक्षाले तिनीहरूलाई मतभिन्नताहरू सुल्झाउन मदत गऱ्यो। उहाँ र उहाँका केही चेलाहरूको सल्लाहले आज पनि मानिसहरूलाई विवादहरू सुल्झाउन र टुटेको मित्रता फेरि गाँस्न मदत गर्छ। कसरी, अब हामी हेरौं।
सम्बन्ध सुधार्ने कोसिस गर्नुहोस्
“म त्यो मान्छेसित कुरै गर्न चाहन्नँ। म त्यसको मुखै हेर्न चाहन्नँ।” कुनै व्यक्तिबारे तपाईंले यसो भन्नुभएको छ भने तपाईंले बाइबलको निम्न अंशले देखाएको जस्तै कदम चाल्नु आवश्यक छ।
येशूले यसरी सिकाउनुभयो: “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर।” (मत्ती ५:२३, २४) उहाँले यसो पनि भन्नुभयो: “तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गऱ्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ।” (मत्ती १८:१५) चाहे तपाईंले कसैको चित्त दुःखाउनुभएको होस् वा अरू कसैले तपाईंको चित्त दुःखाएको होस्, तपाईंले अर्को व्यक्तिसित तुरुन्तै कुरा गरिहाल्नुपर्ने आवश्यकतालाई येशूका शब्दहरूले जोड दिन्छ। तपाईंले “नम्रताको आत्माले” यसो गर्नुपर्छ। (गलाती ६:१) त्यस कुराकानीको लक्ष्य बहानाहरू बनाएर अरूको सामु आफूलाई राम्रो देखाउन खोज्नु वा तपाईंको प्रतिद्वन्द्वीलाई जबरजस्ती माफी माग्न लगाउनु होइन तर सम्बन्ध सुधारेर मिलाप गर्नु हो। के यो बाइबलको सल्लाह व्यवहारमा उतार्न सकिन्छ?
अर्नेस्ट एउटा ठूलो कार्यालयका सुपरभाइजर हुन्। b थुप्रै वर्षदेखि तिनले विभिन्न खालका व्यक्तिहरूसित संवेदनशील प्रकारका कामहरू सँभाल्दै आएका छन् र तिनीहरूसित राम्रो सम्बन्ध कायम राख्नुपरेको छ। कति सजिलै व्यक्तिगत मतभिन्नताहरू खडा हुन सक्छन् भनेर तिनलाई थाह छ। तिनी यसो भन्छन्: “कहिलेकाहीं अरू व्यक्तिहरूसित मेरो मतभिन्नता हुन्थ्यो। तर यस्तो हुँदा म त्यो व्यक्तिसित बसेर त्यस समस्याबारे छलफल गर्छु। सोझै तिनीहरूकहाँ जान्छु। सम्बन्ध सुधार्ने लक्ष्य राखेर तिनीहरूसित प्रत्यक्ष कुरा गर्छु। यस्तो प्रयास कहिल्यै विफल हुँदैन।”
विभिन्न पृष्ठभूमिका साथीहरू भएकी एलिसिया यसो भन्छिन्: “कहिलेकाहीं म कुनै कुरा प्याच्च भनिहाल्छु, त्यसपछि मैले कसैको चित्त पो दुखाएँ कि भनेर महसुस गर्छु। म त्यस व्यक्तिकहाँ गएर माफी माग्छु। मैले चाहिनेभन्दा बढी पटक माफी मागिरहेकी हुन सक्छु किनभने अरूको चित्त नदुःखेको भए तापनि माफी मागेपछि म हल्का महसुस गर्छु। कुनै पनि
प्रकारको असमझदारी भएको रहनेछ भनेर त्यसपछि म ढुक्क हुन्छु।”अवरोधहरू पार गर्ने
तथापि, व्यक्तिगत विवादहरूको शान्तिपूर्ण निकासलाई अक्सर अवरोधहरूले छेकिरहेको हुन्छ। के तपाईंले कहिल्यै यसो भन्नुभएको छ: “सम्बन्ध सुधार्न म नै अघि सर्नुपर्छ भन्ने के छ र? समस्या खडा गर्ने त ऊ हो नि।” वा कसैसितको समस्या सुल्झाउन अघि सर्नुहुँदा त्यस व्यक्तिबाट के तपाईंले कहिल्यै यस्तो जवाफ पाउनुभएको छ: “तिमीलाई भन्नु मेरो केही पनि छैन”? तिनीहरूले भोगेको भावनात्मक चोटको कारण कसै-कसैले यस्तो जवाफ फर्काउँछन्। हितोपदेश १८:१९ यसो भन्छ: “चित्त दुःखाएको भाइलाई मनाउनु किल्ला लिनुभन्दा गाहारो हुन्छ, यस्तो झगडा किल्लाका बारहरूजस्तै बलियो हुन्छ।” त्यसैले अर्को व्यक्तिको भावनालाई विचार गर्नुहोस्। उसले तपाईंलाई अस्वीकार गरेमा केही समय पर्खनुहोस् र फेरि कोसिस गर्नुहोस्। त्यतिबेला “किल्ला” खुल्ला हुन सक्छ र मेलमिलापको ढोकामा लागेको “बार” हटाइन सक्छ।
बिग्रिएको सम्बन्ध सुधार्नमा अर्को अवरोध कुनै व्यक्तिको आत्म-सम्मान पनि हुन सक्छ। कसै-कसैको लागि प्रतिद्वन्द्वीसित माफी माग्नु वा ऊसित बोल्नु समेत अपमानजनक कुरा हुन्छ। आत्म-सम्मानको विषयमा चासो राख्नु स्वाभाविकै हो तर सम्बन्ध सुधार्न इन्कार गर्दा यसले त्यस व्यक्तिको आत्म-सम्मान बढाउँछ वा घटाउँछ? हामीले आत्म-सम्मान भन्ठानिरहेको कुरा कतै हाम्रो घमन्ड त होइन?
झगडालु मनोवृत्ति र घमन्डबीच सम्बन्ध छ भनी बाइबल लेखक याकूब देखाउँछन्। कोही-कोही मसीहीहरूले आफूमाझ मच्चाएको “लडाइँ” र “झगडा” पर्दाफास गरिसकेपछि तिनी अझै यसो भन्छन्: “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:१-३, ६) सम्बन्ध सुधार्नमा अभिमान वा घमन्डले कसरी बाधा पुऱ्याउँछ?
आफू अरू व्यक्तिहरूभन्दा राम्रो छु भन्ने कुरा सोच्न लगाएर घमन्डले मानिसहरूलाई झुक्याउँछ। अभिमानी व्यक्तिहरूले आफूसित आफ्ना सँगी मानवहरूको नैतिक मूल्यमान्यताहरूबारे न्याय गर्ने अधिकार छ भन्ठान्छन्। कुन तरिकामा? विवादहरू खडा हुँदा अक्सर तिनीहरूले आफ्नो विपक्षीहरूलाई सुधार्नै नसकिने र प्रगतिको कुनै आशा नभएको व्यक्तिको रूपमा हेर्छन्। घमन्डले कसै-कसैलाई आफ्नो भन्दा बेग्लै सोचाइ राख्ने व्यक्तिहरू माफी दिन त परै जाओस् वास्ता गर्न लायकका समेत छैनन् भनेर सोच्न लगाउँछ। त्यसैले आफ्नै घमन्डअनुसार चल्ने व्यक्तिहरू अक्सर सही तरिकाले झगडा सुल्झाउन अघि सर्नुको सट्टा त्यसलाई रहिरहन दिन्छन्।
राजमार्गमा गाडीहरूको आवागमनमा अवरोध पुऱ्याउने छेकबारले झैं घमन्डले पनि अक्सर सम्बन्ध सुधारेर मिलाप गराउने कदम चाल्नदेखि रोक्छ। त्यसैले कसैसित बिग्रिएको सम्बन्ध सुधार्नदेखि तपाईं आफै पछि हटिरहनुभएको छ भने तपाईंले घमन्डसित सङ्घर्ष गरिरहनुभएको हुन सक्छ। तपाईं घमन्डमाथि कसरी विजयी हुन सक्नुहुन्छ? यसको विपरीत गुण—नम्रता विकास गरेर।
ठीक विपरीत गर्नुहोस्
बाइबलले नम्रतालाई अत्यन्तै मूल्यवान् ठान्छ। “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्।” (हितोपदेश २२:४) भजन १३८:६ मा हामी नम्र र घमन्डी व्यक्तिहरूप्रति परमेश्वरको दृष्टिकोणबारे पढ्छौं: “परमप्रभु उच्च हुनुभए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ। तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ।”
थुप्रै व्यक्तिहरूले नम्र हुनुलाई अपमानित हुनुसित तुलना गर्छन्। सांसारिक शासकहरूले यस्तै महसुस गरेको देखिन्छ। सम्पूर्ण राष्ट्र राजनैतिक नेताहरूको इच्छाअनुसार चल्ने भए तापनि तिनीहरू नम्रतापूर्वक आफ्नो गल्ती स्वीकार्नदेखि पछि हट्छन्। कुनै शासकले “म माफी चाहन्छु” भन्यो भने यो समाचारको विषय बन्छ। एउटा घातक विपत्तिमा आफ्नो भूल स्वीकार्दै हालै एक जना भूतपूर्व सरकारी अधिकृतले माफी माग्दा तिनका शब्दहरूले समाचारहरूमा शीर्षस्थान ओगट्यो।
एउटा शब्दकोशले नम्र भन्ने शब्दलाई कसरी परिभाषित गर्छ, ध्यान दिनुहोस्: “निहुरेको; नुहेको; विनीत; नरम स्वभावको; आफ्नो बल, बुद्धि, सम्पत्ति आदिमा घमन्ड नगर्ने; शिष्ट; विनम्र।” त्यसैले नम्रता भनेको कुनै व्यक्तिले आफूप्रति राख्ने दृष्टिकोण हो, अरूले ऊप्रति राख्ने धारणा होइन। नम्रतापूर्वक आफ्ना गल्तीहरू स्वीकार्दा र निष्कपटतासाथ माफी माग्दा मान्छे सानो हुँदैन; बरु यसले उसको प्रतिष्ठा बढाउँछ। बाइबल यसो भन्छ: “नाश आउनअघि मानिसमा घमण्ड हुन्छ, तर आदरको मार्ग नम्रता हो।”—हितोपदेश १८:१२.
आफ्ना भूलहरूको लागि माफी नमाग्ने राजनीतिज्ञहरूबारे एक जना प्रध्यापकले यसो भने: “दुःखको कुरा यसरी भूल स्वीकार्नुलाई तिनीहरू कमजोरीको चिह्न भन्ठान्छन् जस्तो देखिन्छ। कमजोर र असुरक्षित व्यक्तिले ‘माफी चाहन्छु’ भनेको पटक्कै सुनिंदैन। ठूलो मनका र साहसी व्यक्तिहरू ‘मैले गल्ती गरें’ भनेर कहिल्यै पनि सानो हुँदैनन्।” राजनैतिक शक्ति नभएका व्यक्तिहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। तपाईंले घमन्ड त्यागेर नम्रता विकास गर्ने प्रयास गर्नुभयो भने व्यक्तिगत विवादहरूमा शान्ति कायम हुने सम्भावना निकै बढी हुन्छ। एउटा परिवारले यो कुरा कसरी सत्य पायो, ध्यान दिनुहोस्।
एउटा गलतफहमीले गर्दा जुली र तिनको भाइ विलियमबीच खिचलो उत्पन्न भयो। जुली र तिनको पति जोसेफसित विलियम यति धेरै रिसाए कि तिनले उनीहरूसित सबै सम्बन्ध तोडे। वर्षौंको दौडान जुली र जोसेफले तिनलाई दिएका सबै उपहारहरू पनि तिनले उनीहरूलाई नै फिर्ता गरिदिए। महिनौं बित्यो, कुनै समय यी दिदीभाइबीच भएको घनिष्ठताको ठाउँ तीतोपनाले ओगट्यो।
तथापि, जोसेफले मत्ती ५:२३, २४ लाई व्यवहारमा उतार्ने निर्णय गरे। तिनले नम्रताको आत्मासहित आफ्नो सालोसित कुरा गर्ने प्रयास गरे अनि तिनको चित्त दुखाएकोमा माफी माग्दै व्यक्तिगत पत्रहरू पठाए। आफ्नो भाइलाई माफी दिन जोसेफले आफ्नी पत्नीलाई प्रोत्साहन दिए। समय बित्दै जाँदा, बिग्रिएको सम्बन्ध सुधार्न जुली र जोसेफले निष्कपट इच्छा गरेको कुरा विलियमले देखे र तिनको रिस सेलाउन थाल्यो। विलियम र तिनकी पत्नीले जुली र जोसेफसित भेटे; तिनीहरू सबैले माफी मागे, अँगालो हाले र तिनीहरूको मित्रता पुनःस्थापित भयो।
तपाईं कसैसितको व्यक्तिगत मतभेद सुल्झाउन चाहनुहुन्छ भने धैर्यतापूर्वक बाइबलका शिक्षाहरू लागू गर्नुहोस् र त्यस व्यक्तिसित सम्बन्ध सुधार्ने कोसिस गर्नुहोस्। यहोवाले तपाईंलाई मदत दिनुहुनेछ। परमेश्वरले पुरातन इस्राएललाई भन्नुभएको कुरा तपाईंको सन्दर्भमा पनि सत्य साबित हुनेछ: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१८.
[फुटनोटहरू]
a स्टान्ली क्लाउड र लीन ओल्सनद्वारा लिखित द मरो बोइज्—पायनियर्स अन द फ्रन्ट लाइन्स अफ ब्रोडकास्ट जर्नलिजम्-मा आधारित।
b केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ७-मा भएका चित्रहरू]
माफी माग्दा अक्सर फेरि शान्तिपूर्ण सम्बन्ध कायम हुन्छ