वाक्युद्ध त्यसले किन चोट पुऱ्याउँछ?
वाक्युद्ध त्यसले किन चोट पुऱ्याउँछ?
“तिमीहरूमा लडाइँ कहाँबाट आउँछ? औ झगडा कहाँबाट आउँछ?”—याकूब ४:१.
बाइबल लेखक याकूबले यो प्रश्न धमाधम एकपछि अर्को लडाइँ जित्न अघि बढिरहेका रोमी पल्टनका सिपाहीहरूलाई सोधेका थिएनन् न त तिनले गुरिल्लायुद्ध गरिरहेका सा.यु. प्रथम शताब्दीका ज्यानमाराहरू जसलाई यहूदी सिकारिई भनिन्थ्यो, तिनीहरूले यस्तो काम गर्नु पछाडिको मनसाय नै बुझ्न खोजिरहेका थिए। याकूबले दुई जना व्यक्ति मात्र मुछिएको विवादलाई सङ्केत गर्दै थिए। किन? किनभने व्यक्तिगत द्वन्द्वहरू पनि लडाइँहरू जस्तै विनाशकारी हुन्छन्। बाइबलका यी विवरणहरूलाई ध्यान दिनुहोस्।
कुलपिता याकूबका छोराहरू आफ्नो भाइ यूसुफलाई यति धेरै घृणा गर्थे कि तिनीहरूले उसलाई दासत्वमा बेचिदिए। (उत्पत्ति ३७:४-२८) पछि, इस्राएलका राजा शाऊलले दाऊदलाई मार्न खोजे। किन? किनभने तिनी दाऊदप्रति ईर्ष्यालु भएका थिए। (१ शमूएल १८:७-११; २३:१४, १५) प्रथम शताब्दीमा इयोदिया र सिन्तके नाउँका दुई जना मसीही स्त्रीले तिनीहरूबीचको विवादको कारण सम्पूर्ण मण्डलीकै शान्ति खलबल्याएका थिए।—फिलिप्पी ४:२.
केही समयअघिसम्म मानिसहरू एकअर्कासित तरबार वा पेस्तोलले भिडेर आपसी मतभिन्नता सुल्झाउँथे। अक्सर एक जना प्रतिद्वन्द्वी मारिन्थ्यो वा सधैंको लागि अङ्गभङ्ग भएर जीवन बिताउनु पर्थ्यो। आज, दुस्मनी गर्ने व्यक्तिहरूले अक्सर रूखो र व्यङ्ग्यात्मक वचनवाणहरू प्रयोग गर्छन्। यो लडाइँमा रगत त नबग्ला तर मौखिक आक्रमणहरूले भावना र प्रतिष्ठामा चोट पुऱ्याउँछ। यस्ता “लडाइँहरूमा” अक्सर निर्दोष व्यक्तिहरूले नै दुःख पाउँछन्।
केही वर्षअघि एक जना एङ्ग्लिकन पादरीले अर्को पादरीलाई चर्चको पैसा हिनामिना गरेको आरोप लगाउँदा के भयो विचार गर्नुहोस्। तिनीहरूको झगडाबारे सबैले थाह पाए अनि तिनीहरूले सेवा गर्ने मण्डली ससाना गुटहरूमा विभाजित भयो। केही सदस्यहरूले आफूले विरोध गरेको पादरीले जिम्मेवारी सँभालिरहने हो भने सेवाहरूमा उपस्थित हुनै इन्कार गरे। ती सदस्यहरू एकअर्कालाई यति धेरै घृणा गर्थे कि उपासनाको लागि चर्चमा भेला हुँदा एकअर्कालाई देखेर मुन्टो बटार्थे। आरोप लगाउने पादरीलाई नै यौन दुराचारको अभियोग लाग्दा उक्त विवाद झनै चर्क्यो।
ती दुई जना पादरीबीचको झगडालाई “क्यान्सर” र “हाम्रा प्रभुको नाउँ अनादर गर्ने कलङ्क” भन्दै त्यसो नगर्न आग्रह गरे। सन् १९९७ मा एक जना पादरी स्वैच्छिक अवकाश लिन राजी भए। अर्को चाहिं पादरी उमेरको हदबन्दीको कारण अनिवार्य अवकाश लिनै पर्ने नभएसम्म आफ्नो पदमा रहिरहे। तथापि, अगस्त ७, २००१ मा तिनको ७० औं जन्मोत्सवमा अवकाश नपाउन्जेल तिनी अन्तिम क्षणसम्म रहिरहे। तिनले अवकाश पाएको त्यो दिन “सन्त” भिक्ट्रिसियसको उत्सव दिन थियो भनी द चर्च अफ इङ्गल्याण्ड न्युजपेपर-ले उल्लेख गऱ्यो। “सन्त” भिक्ट्रिसियस को थिए? तिनी चौथो शताब्दीका विशप थिए जसलाई सेनामा रहेर लडाइँ गर्न इन्कार गरेको कारण कोर्रा लगाइएको थियो भनिन्छ। दुईवटा फरक मनोवृत्ति औंल्याउँदै उक्त पत्रिकाले यसो भन्यो: “[अवकाश पाउने पादरीले] अर्को पादरीसित लडाइँ गर्न इन्कार गरेको अलिकता छनकसमेत देखाएनन्।”
क्यान्टरबरीका आर्कविशपलेरोमी १२:१७, १८ मा दिइएको यो सल्लाह पालन गरेको भए ती पादरीहरूले आफूलाई र अरूलाई चोट पुऱ्याउने थिएनन्: “कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”
तपाईं नि? कसैले तपाईंको चित्त दुःखाउँछ भने के द्वेषले तपाईंलाई मौखिक लडाइँ गर्न उत्प्रेरित गर्छ? वा रूखा शब्दहरू नचलाएर बिग्रिएको सम्बन्ध सुधार्ने ढोका खुल्ला राख्नुहुन्छ? तपाईंले कसैको चित्त दुःखाउनुभयो भने केही समयपछि यो कुरा बिर्सिइनेछ र सबै कुरा आफसेआफ ठीक हुनेछ भन्ने आशाले त्यो व्यक्तिलाई बेवास्ता गर्नुहुन्छ? वा माफी माग्न अघि सर्नुहुन्छ? चाहे तपाईंले अरूसित माफी माग्नुहोस् वा अरूलाई माफी दिनुहोस्, बिग्रिएको सम्बन्ध पुनः सुधार्ने कोसिस गर्दा यसले तपाईं अझ बढी आनन्दित हुन सक्नुहुनेछ। बाइबलको सल्लाहले हामीलाई लामो समयदेखि नसुल्झिएका द्वन्द्वहरू समेत समाधान गर्न मदत दिन सक्छ, जुन कुरा अर्को लेखले देखाउनेछ।