सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरू दाम तिरेर किनिएका हौ”

“तिमीहरू दाम तिरेर किनिएका हौ”

“तिमीहरू दाम तिरेर किनिएका हौ”

“तिमीहरू दाम तिरेर किनिएका हौ, यसकारण . . . परमेश्‍वरको महिमा गर।”—१ कोरिन्थी ६:२०.

१, २. (क) मोशालाई दिइएको व्यवस्थाअनुसार इस्राएली दासहरूप्रति कस्तो व्यवहार गर्नुपर्थ्यो? (ख) आफ्नो मालिकलाई माया गर्ने दासले कस्तो छनोट गर्न सक्थ्यो?

 “पुरातन संसारमा दासप्रथा व्याप्त र स्वीकार्य थियो” भनी होलम्यान इलस्ट्रेटेड बाइबल डिक्सनरी बताउँछ। यो अझै यसो भन्छ: “मिश्र, युनान र रोमको अर्थतन्त्र दासहरूको श्रममा निर्भर थियो। सा. यु. प्रथम शताब्दीमा, इटालीमा तीन जनामा एक जना र अरू ठाउँमा पाँच जनामा एक जना दास थिए।”

पुरातन इस्राएलमा पनि दासप्रथा अस्तित्वमा भए तापनि मोशालाई दिइएको व्यवस्थाले हिब्रू दासहरूको लागि सुरक्षाको व्यवस्था मिलाएको थियो। उदाहरणका लागि, व्यवस्थाअनुसार एक जना इस्राएलीले बढीमा छ वर्षसम्म मात्र दासको रूपमा सेवा गर्न सक्थ्यो। सातौं वर्षमा ऊ “केही नतिरी . . . स्वतन्त्र भएर” जान सक्थ्यो। तर दासहरूप्रति गरिने व्यवहार सम्बन्धी नीति-नियमहरू यति निष्पक्ष र अनुकम्पापूर्ण थिए कि मोशालाई दिइएको व्यवस्थाले यस्तो प्रबन्ध गरेको थियो: “यदि त्यस कमाराले सफासँग, ‘मलाई [“मेरो मालिकको र,” NW ] मेरो स्वास्नी छोरा-छोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्‍नँ’ भन्यो भने त्यसको मालिकले त्यसलाई परमेश्‍वरकहाँ ल्याओस्‌ र त्यसलाई ढोका कि ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्‌। त्यसपछि त्यसले सधैंभरिलाई त्यो मालिकको सेवा गरोस्‌।”—प्रस्थान २१:२-६; लेवी २५:४२, ४३; व्यवस्था १५:१२-१८.

३. (क) प्रथम शताब्दीका मसीहीहरूले कस्तो प्रकारको दासत्व स्वीकारे? (ख) कुन कुराले हामीलाई परमेश्‍वरको सेवा गर्न उत्प्रेरित गर्छ?

स्वैच्छिक दासत्वको यस प्रबन्धले साँचो मसीहीहरू कस्तो प्रकारको दासत्वको अधीनतामा छन्‌ भनी पूर्वचित्रण गऱ्‍यो। उदाहरणका लागि, बाइबल लेखकहरू पावल, याकूब, पत्रुस र यहूदाले आफूलाई परमेश्‍वर र ख्रीष्टको दासको रूपमा चिनाए। (तीतस १:१; याकूब १:१; २ पत्रुस १:१; यहूदा १) थिस्सलोनिकाका मसीहीहरू “जीवित सच्चा परमेश्‍वरको सेवा गर्नलाई . . . मूर्तिहरूबाट परमेश्‍वरतर्फ” फर्केका थिए भनी पावलले तिनीहरूलाई सम्झाए। (१ थिस्सलोनिकी १:९) खुसीसाथ परमेश्‍वरका दासहरू बन्‍न ती मसीहीहरूलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? सम्झनुहोस्‌ त, आफ्नो व्यक्‍तिगत स्वतन्त्रता त्याग्न इस्राएली दासलाई कुन कुराले उत्प्रेरित गर्थ्यो? उसको मालिकप्रतिको प्रेमले होइन र? मसीही दासत्व परमेश्‍वरप्रतिको प्रेममा आधारित छ। साँचो र जीवित परमेश्‍वरलाई चिनेर उहाँलाई प्रेम गर्न थालेपछि हामी “आफ्नो पूरा मन र प्राणले” उहाँको सेवा गर्न उत्प्रेरित हुन्छौं। (व्यवस्था १०:१२, १३) यद्यपि, परमेश्‍वर र ख्रीष्टको दास बन्‍नुमा कुन-कुन कुरा समावेश छ? हाम्रो दैनिक जीवनमा यसले कसरी असर गर्छ?

“सबै परमेश्‍वरकै महिमाको निम्ति गर”

४. हामी कसरी परमेश्‍वर र ख्रीष्टका दासहरू बन्छौं?

दासलाई “कुनै अर्को व्यक्‍ति वा समूहको कानुनी सम्पत्ति र पूर्ण आज्ञाकारी हुन बाध्य व्यक्‍ति” भनेर व्याख्या गरिएको छ। यहोवामा आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिएपछि हामी उहाँको कानुनी सम्पत्ति बन्छौं। “तिमीहरू आफै ता आफ्नै होइनौ, किनभने तिमीहरू दाम तिरेर किनिएका हौ” भनी पावल बताउँछन्‌। (१ कोरिन्थी ६:१९, २०) निस्सन्देह, त्यो दाम येशू ख्रीष्टको छुडौतीको बलिदान हो किनभने चाहे हामी अभिषिक्‍त मसीहीहरू होऔं वा पार्थिव आशा भएका तिनीहरूका सँगीहरू, त्यही बलिदानको आधारमा परमेश्‍वरले हामीलाई उहाँका सेवकहरूको रूपमा स्वीकार्नुहुन्छ। (एफिसी १:७; २:१३; प्रकाश ५:९) त्यसैले हाम्रो बप्तिस्माको समयदेखि यता “हामी प्रभुकै [“यहोवाकै,” NW ] हौं।” (रोमी १४:८) येशू ख्रीष्टको अमूल्य रगतद्वारा किनिएको हुँदा हामी उहाँको पनि दास बन्छौं र उहाँका आज्ञाहरू पालन गर्नु हाम्रो दायित्व हो।—१ पत्रुस १:१८, १९.

५. यहोवाका दासहरूको हैसियतमा हामीसित कस्तो प्रमुख दायित्व छ र यसलाई हामी कसरी पूरा गर्न सक्छौं?

दासहरूले आफ्नो मालिकको आज्ञा मान्‍नै पर्छ। हाम्रो सेवा स्वैच्छिक हो र यो मालिकप्रतिको हाम्रो प्रेमद्वारा उत्पन्‍न हुन्छ। “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌” भनी १ यूहन्‍ना ५:३ बताउँछ। त्यसैले हाम्रो आज्ञाकारिता भनेको हाम्रो प्रेमका साथै हाम्रो अधीनताको प्रमाण हो। हामीले गर्ने हरेक काममा यो कुरा प्रस्ट देखिन्छ। पावलले यसो भने: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१) हामी “प्रभुको [“यहोवाको,” NW ] सेवा” गर्छौं भन्‍ने कुरा हामी दैनिक जीवनमा सानोभन्दा सानो तरिकामा समेत देखाउन चाहन्छौं।—रोमी १२:११.

६. परमेश्‍वरका दासहरू बन्दा जीवनमा हामीले गर्ने निर्णयहरूमा कसरी असर गर्छ? उदाहरणसहित प्रस्ट पार्नुहोस्‌।

उदाहरणका लागि, निर्णयहरू गर्दा हामी स्वर्गमा बस्नुहुने हाम्रो मालिक यहोवाको इच्छालाई गम्भीरतापूर्वक विचार गर्न होसियार हुन चाहन्छौं। (मलाकी १:६) कठिन निर्णयहरू गर्नुपर्दा परमेश्‍वरप्रति हाम्रो आज्ञाकारिताको परीक्षा हुन सक्छ। त्यस्तो अवस्थामा आफ्नो “छली” र “अति भ्रष्ट” हृदयको झुकावअनुसार चल्नुको सट्टा के हामी उहाँको सल्लाह सुन्‍नेछौं? (यर्मिया १७:९) एक जना अविवाहित मसीही मेलिसाले बप्तिस्मा लिएको केही समय नबित्दै एक जना जवान मानिसले तिनीप्रति रोमान्टिक चासो देखाउन थाल्यो। त्यो व्यक्‍ति निकै भलादमी देखिन्थ्यो र उसले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेको थियो। तैपनि, “प्रभुमा मात्र” विवाह गर्नू भन्‍ने यहोवाको आज्ञा पालन गर्नु कत्तिको बुद्धिमानी हुन्छ भनेर एक जना प्राचीनले मेलिसालाई बताए। (१ कोरिन्थी ७:३९; २ कोरिन्थी ६:१४) मेलिसा यसरी स्वीकार्छिन्‌: “यो सल्लाहअनुसार गर्न मलाई सजिलो भएन। तर परमेश्‍वरको इच्छाअनुसार चल्छु र उहाँका सुस्पष्ट निर्देशनहरू पालन गर्छु भनेर समर्पण गरिसेकेकी हुँदा मैले त्यस सल्लाह अनुरूपै गर्ने निर्णय गरें।” पछि के भयो भन्‍ने कुरा सम्झँदै तिनी यसो भन्छिन्‌: “त्यो सल्लाह पछ्याएकोमा म एकदमै खुसी छु। त्यो मानिसले केही समयपछि नै अध्ययन गर्न छोड्यो। मैले त्यो सम्बन्धलाई अघि बढाएको भए अहिले म एक जना बेग्लै धर्म मान्‍ने व्यक्‍तिसित वैवाहिक बन्धनमा बाँधिएकी हुन्थें।”

७, ८. (क) मानिसहरूलाई खुसी तुल्याउनेबारे हामी किन बढ्‌तै चिन्तित हुनु हुँदैन? (ख) मानिसको डर कसरी हटाउन सकिन्छ, उदाहरण दिनुहोस्‌।

परमेश्‍वरका दासहरू भएको कारण हामी मानिसहरूका दास बन्‍नु हुँदैन। (१ कोरिन्थी ७:२३) हुन त हो, हामी कोही पनि अलोकप्रिय हुन चाहँदैनौं तर मसीहीहरूको स्तर संसारका अरू व्यक्‍तिहरूको स्तरभन्दा भिन्‍नै छ भन्‍ने कुरा हामीले मनमा राख्नै पर्छ। पावलले यसरी सोधे: “के मैले मानिसहरूलाई खुशी पार्न खोजेको छु र?” तिनको निष्कर्ष यस्तो थियो: “यदि मैले अझै मानिसहरूलाई खुशी पारिरहेको हुँदो हो ता म ख्रीष्टको दास हुनेनै थिइनँ।” (गलाती १:१०) हामी सजिलै साथीहरूको दबाबमा परेर मानिसहरूलाई खुसी बनाउने प्रकारका मानिसहरू बन्‍न सक्दैनौं। त्यसोभए तिनीहरूजस्तै बन्‍ने दबाब आइपर्दा हामी के गर्न सक्छौं त?

स्पेनकी मसीही युवती एलेनाको उदाहरण विचार गर्नुहोस्‌। तिनको कक्षाका साथीहरूमध्ये थुप्रैले रक्‍तदान गर्थे। एलेना एक जना यहोवाको साक्षी भएकी हुँदा तिनले रक्‍तदान गर्दिनन्‌ वा रक्‍तक्षेपण स्वीकार्दिनन्‌ भन्‍ने कुरा तिनीहरूलाई थाह थियो। सम्पूर्ण कक्षालाई आफ्नो अडानबारे बताउने मौका पाउँदा एलेनाले खुसीसाथ एउटा प्रस्तुति गरिन्‌। एलेना यसो भन्छिन्‌: “कुरा नलुकाई भन्‍ने हो भने म एकदमै हडबडाएकी थिएँ। तर मैले राम्रो तयारी गरें र मैले सोच्दै नसोचेको परिणाम भयो। मैले थुप्रै सँगी विद्यार्थीहरूबाट आदर कमाएँ र मेरो शिक्षकले पनि मैले गरिरहेको कामको प्रशंसा गर्नुभयो। सबैभन्दा ठूलो कुरा त, यहोवाको नाउँको पक्षमा बोलेको र मैले यस्तो धर्मशास्त्रीय अडान लिनुको कारणबारे स्पष्टसित बताउन सकेकोमा सन्तुष्ट महसुस गरें।” (उत्पत्ति ९:३, ४; प्रेरित १५:२८, २९) हो, परमेश्‍वर र ख्रीष्टका दासहरूको हैसियतमा हामी अलग्गै छुट्टिन्छौं। तथापि, सम्माजनक ढङ्‌गमा आफ्नो विश्‍वासबारे बताउन तयार छौं भने हामीले मानिसहरूबाट आदर कमाउन सक्छौं।—१ पत्रुस ३:१५.

९. प्रेरित यूहन्‍ना सामु देखापरेका स्वर्गदूतबाट हामी कस्तो पाठ सिक्छौं?

हामी परमेश्‍वरका दासहरू हौं भन्‍ने कुरा सम्झँदा यसले हामीलाई नम्र रहन पनि मदत गर्न सक्छ। स्वर्गीय यरूशलेमको भव्य दर्शनद्वारा एक पटक प्रेरित यूहन्‍ना यति धेरै प्रभावित भए कि परमेश्‍वरको प्रवक्‍ताको रूपमा सेवा गर्ने स्वर्गदूतलाई उपासना गर्न तिनी उनको पाउमा घोप्टो परे। स्वर्गदूतले तिनलाई यसो भने: “हेर, तिमीले यसो नगर। म तिम्रो र अगम बोल्ने तिम्रा दाजुभाइहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको संगी-दास हुँ। परमेश्‍वरलाईनै दण्डवत्‌ गर।” (प्रकाश २२:८, ९) ती स्वर्गदूतले परमेश्‍वरका सबै सेवकहरूको लागि कत्ति राम्रो उदाहरण बसाले! कोही-कोही मसीहीहरूले मण्डलीमा विशेष जिम्मेवारी पाएका होलान्‌! यद्यपि, येशूले यसो भन्‍नुभयो: “जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ।” (मत्ती २०:२६, २७) येशूका अनुयायीहरूको हैसियतमा हामी सबै दासहरू हौं।

“हामीले ता कर्त्तव्य मात्र गरेका छौं”

१०. परमेश्‍वरको इच्छा बमोजिम गर्न उहाँका विश्‍वासी सेवकहरूलाई सधैं सजिलो भएन भन्‍ने कुरा देखाउन धर्मशास्त्रीय उदाहरणहरू दिनुहोस्‌।

१० परमेश्‍वरको इच्छा गर्न असिद्ध मानिसहरूलाई सधैं सजिलो हुँदैन। इस्राएलीहरूलाई मिश्रको दासत्वको बन्धनबाट छुटाएर ल्याउन यहोवाले अगमवक्‍ता मोशालाई पठाउनुहुँदा यो आज्ञा पालन गर्न तिनी हिचकिचाए। (प्रस्थान ३:१०, ११; ४:१, १०) निनवेवासीहरूलाई न्यायको सन्देश घोषणा गर्ने जिम्मेवारी पाउँदा योना “परमप्रभुको सामनेबाट भागेर तर्शीशतिर जानलाई उठे।” (योना १:२, ३) अगमवक्‍ता यर्मियाको लागि लेखनदासको काम गरिदिने तिनका सचिव बारूकले थकित भएको गुनासो गरे। (यर्मिया ४५:२, ३) हाम्रो व्यक्‍तिगत इच्छा वा प्राथमिकता परमेश्‍वरको इच्छासित मेल नखाँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? येशूले बताउनुभएको एउटा दृष्टान्तले यसको जवाफ दिन्छ।

११, १२. (क) लूका १७:७-१० मा लिपिबद्ध येशूको दृष्टान्त छोटकरीमा बताउनुहोस्‌। (ख) येशूको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्छौं?

११ दिनभरि आफ्नो मालिकको भेडा चराएर खेतबाट फर्केको एक जना दासबारे येशूले बताउनुभयो। लगभग १२ घण्टासम्म कडा परिश्रम गरेको कारण लखतरान भएर घर आइपुग्दा, उसको मालिकले दासलाई आफूसँगै बसेर मिठो-मिठो खान बोलाएनन्‌। बरु, मालिकले यसो भने: “मेरो निम्ति खाना तयार गर्‌, र पटुका कसेर मैले खानपीन नगरूञ्जेल मेरो सेवा गर्‌, औ पछिबाट तँ खालास्‌ र पिउलास्‌।” आफ्नो मालिकको सेवा गरिसकेपछि मात्र दासले आफ्ना आवश्‍यकताहरू पूरा गर्न सक्थ्यो। येशूले यो दृष्टान्त यसरी टुङ्‌ग्याउनुभयो: “त्यसरीनै तिमीहरूले पनि जब तिमीहरूलाई अह्राएका सबै काम गरिसकेका हुन्छौ तब ‘हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं,’ भनी भन।”—लूका १७:७-१०.

१२ यहोवाको सेवामा हामीले गरेका कामहरूको उहाँले मूल्याङ्‌कन गर्नुहुन्‍न भनी देखाउन येशूले यो दृष्टान्त बताउनुभएको थिएन। बाइबल स्पष्टसित यसो भन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) बरु, येशूले बताउनुभएको नीति कथाको मुख्य सार यो हो कि दासले आफू खुसी गर्न वा आफ्नो सुख-सुविधामा ध्यान दिन पाउँदैन। आफूलाई परमेश्‍वरमा समर्पण गरेर उहाँका दासहरू बन्‍ने निर्णय गर्दा हामी आफ्नोभन्दा उहाँको इच्छालाई प्राथमिकता दिन राजी भयौं। हामीले आफ्नोभन्दा परमेश्‍वरको इच्छालाई अगाडि राख्नै पर्छ।

१३, १४. (क) के-कस्ता अवस्थाहरूमा हामीले आफ्ना झुकावहरूको विरुद्धमा काम गर्नुपर्ने हुन सक्छ? (ख) हामीले किन परमेश्‍वरको इच्छालाई प्राथमिकता दिनुपर्छ?

१३ परमेश्‍वरको वचन र “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” उपलब्ध गराइएका प्रकाशनहरू नियमित तवरमा अध्ययन गर्न हामीले कडा मेहनत गर्नुपर्ने हुन सक्छ। (मत्ती २४:४५) हामीलाई पढ्‌न गाह्रो लाग्छ वा प्रकाशनले “परमेश्‍वरका गहिरा गहिरा कुराहरू[बारे]” छलफल गरिरहेको छ भने झनै यस्तो हुन सक्छ। (१ कोरिन्थी २:१०) त्यसोभए के हामीले व्यक्‍तिगत अध्ययनको लागि समय नै ननिकाल्ने त? एकै ठाउँमा बसी समय लगाएर अध्ययन गर्न हामीले आफूलाई अनुशासन दिनुपर्ने हुन सक्छ। तर त्यसो नगरी ‘खँदिलो खानेकुरा जो पूरा बढेका मानिसहरूका निम्ति हो’ त्यसप्रति हामीमा कसरी भोक जगाउन सक्छौं र?—हिब्रू ५:१४.

१४ दिनभरिको काम पछि लखतरान भएर घर फर्कंदा नि? मसीही सभाहरूमा उपस्थित हुन हामीले आफूलाई घचघच्याउनुपर्ने हुन सक्छ। अथवा कहिल्यै नचिनेका नयाँ व्यक्‍तिहरूलाई प्रचार गर्न हामीलाई त्यति सजिलो नलाग्ला। कहिलेकाहीं हामीले आफ्नो “इच्छा” विपरीत पनि सुसमाचार घोषणा गर्नुपर्ने हुन्छ भनी पावल स्वयम्‌ले स्वीकारे। (१ कोरिन्थी ९:१७, NRV) तैपनि, हामी यो काम गर्छौं किनभने स्वर्गमा बस्नुहुने हाम्रो मालिक यहोवा जसलाई हामी प्रेम गर्छौं उहाँले नै हामीलाई यसो गर्न अह्राउनुभएको हो। अनि अध्ययन गर्न, सभाहरूमा उपस्थित हुन र प्रचार गर्न प्रयत्न गरेपछि के हामी सधैं नै सन्तुष्ट महसुस गर्दैनौं र?—भजन १:१, २; १२२:१; १४५:१०-१३.

“पछिल्तिर” नहेर्नुहोस्‌

१५. येशूले कसरी परमेश्‍वरप्रति अधीनताको उदाहरण बसाल्नुभयो?

१५ येशू ख्रीष्टले स्वर्गमा बस्नुहुने आफ्नो पिताप्रति सर्वोत्कृष्ट ढङ्‌गमा अधीनता देखाउनुभयो। “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा पूरा गर्नलाई स्वर्गबाट ओर्लिआएको हुँ” भनी येशूले आफ्ना चेलाहरूलाई बताउनुभयो। (यूहन्‍ना ६:३८) गेतसमनीको बगैंचामा वेदनामा छँदा उहाँले यसरी प्रार्थना गर्नुभयो: “हे मेरा पिता, हुनसक्छ भने, यो कचौरा मबाट हटिजाओस्‌। तरैपनि मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छाबमोजिम होस्‌।”—मत्ती २६:३९.

१६, १७. (क) आफूले त्यागेका कुराहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ? (ख) सांसारिक क्षेत्रमा प्रगति गर्ने मौकालाई “रद्‌दी” ठानेर पावलले कसरी सही निर्णय गरिरहेका थिए, बताउनुहोस्‌।

१६ परमेश्‍वरका दासहरू बन्‍ने हाम्रो निर्णयप्रति हामी वफादार रहिरहेको येशू ख्रीष्ट चाहनुहुन्छ। उहाँले यसो भन्‍नुभयो: “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्‍वरको राज्यको लायक हुँदैन।” (लूका ९:६२) परमेश्‍वरको सेवा गर्दा, आफूले त्यागेर आएका कुराहरूबारे सोचिरहनु पक्कै पनि उचित होइन। बरु, परमेश्‍वरका दासहरू बन्‍ने निर्णय गर्दा हामीले के पाएका छौं, त्यसको कदर गर्नुपर्छ। फिलिप्पीका मसीहीहरूलाई पावलले यसरी लेखे: “साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्‌दी सम्झन्छु।”—फिलिप्पी ३:८.

१७ परमेश्‍वरको दासको रूपमा आध्यात्मिक इनाम पाउन पावलले रद्‌दी सम्झेर त्यागेका सबै कुराहरूलाई विचार गर्नुहोस्‌। तिनले सांसारिक सुख-सुविधाहरू मात्र त्यागेनन्‌ तर यहूदी धर्मको भावी नेता बन्‍ने सम्भावनालाई समेत लत्याए। पावल यहूदी धर्ममै रहिरहेका भए तिनी आफ्नो गुरु गमलीयलका छोरा शिमियोन जत्तिकै ठूलो ओहदामा पुग्थे होला। (प्रेरित २२:३; गलाती १:१४) शिमियोन फरिसीहरूका नेता बने र तिनको मनमा केही शङ्‌का भए तापनि सा.यु. ६६-७० मा रोम विरुद्ध भएको यहूदी विद्रोहमा प्रमुख भूमिका निभाए। तिनी यहूदी कट्टरपन्थीहरू वा रोमी सेनाको हातबाट त्यस द्वन्द्वमा मारिए।

१८. आध्यात्मिक सफलताले कसरी इनाम ल्याउँछ भन्‍ने कुरा देखाउन एउटा उदाहरण दिनुहोस्‌।

१८ यहोवाका थुप्रै साक्षीहरूले पावलको उदाहरण पछ्याएका छन्‌। जिन यसो भन्छिन्‌: “स्कूलको पढाइ सिद्धिएको केही वर्षपछि नै मैले लन्डनको एक जना प्रतिष्ठित वकीलको कार्यकारी सचिवको जागिर पाएँ। मलाई आफ्नो काम रमाइलो लाग्थ्यो र निक्कै पैसा पनि कमाउँथें तर मेरो भित्री हृदयमा भने मैले यहोवाको सेवामा अझ बढी गर्न सक्थें जस्तो लागिरहन्थ्यो। पछि गएर मैले आफ्नो राजीनामा बुझाएँ र अग्रगामी सेवा सुरु गरें। झन्डै २० वर्षअघि चालेको यो कदमको लागि म असाध्यै कृतज्ञ छु! मेरो पूर्ण-समय सेवाले मेरो जीवनलाई सचिवको रूपमा गरिने कुनै पनि कामले भन्दा बढी अर्थपूर्ण बनाएको छ। यहोवाको वचनले कुनै व्यक्‍तिको जीवनलाई कसरी परिवर्तन गर्न सक्छ भनेर देख्न पाउनुभन्दा ठूलो सन्तुष्टि अरू कुनै पनि कुराले दिन सक्दैन। यो काममा भाग लिन पाउनु विशेष सुअवसर हो। हामीले यहोवाबाट पाएका कुराहरूसित तुलना गर्ने हो भने हामीले उहाँलाई दिएका कुराहरू त केही पनि होइनन्‌।”

१९. हामी के गर्न कटिबद्ध हुनुपर्छ र किन?

१९ समयअनुसार हाम्रो परिस्थिति परिवर्तन हुन सक्छ। तथापि, परमेश्‍वरप्रतिको हाम्रो समर्पण भने कहिल्यै परिवर्तन हुँदैन। हामी सधैं नै यहोवाका दासहरू हौं अनि हामीले आफ्नो समय, शक्‍ति, योग्यता तथा अन्य साधनहरू सर्वोत्तम ढङ्‌गमा कसरी प्रयोग गर्न सक्छौं भनी निर्णय गर्ने अधिकार उहाँले हामीलाई नै दिनुहुन्छ। त्यसैले, यस विषयमा हामीले गर्ने निर्णयहरूले परमेश्‍वरप्रति हाम्रो प्रेम झल्काउन सक्छ। हामी कुन हदसम्म व्यक्‍तिगत त्यागहरू गर्न तयार छौं भन्‍ने कुरा पनि यसले देखाउँछ। (मत्ती ६:३३) हाम्रो परिस्थिति जस्तोसुकै किन नहोस्‌, के हामी यहोवालाई सर्वोत्तम सेवा चढाउन कटिबद्ध हुनु पर्दैन र? पावलले यसरी लेखे: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।”—२ कोरिन्थी ८:१२.

तिमीहरूले आफ्नो “फल” पाएका छौ

२०, २१. (क) परमेश्‍वरका दासहरूले कस्तो फल फलाउँछन्‌? (ख) यहोवाको सेवामा यथाशक्य गर्नेहरूलाई उहाँले कसरी इनाम दिनुहुन्छ?

२० परमेश्‍वरका दासहरू बन्‍नु दमनकारी छैन। बरु, यसले त हाम्रो आनन्द लुट्‌ने क्रूर दासत्वबाट मुक्‍ति दिन्छ। पावलले यस्तो लेखे: “पापबाट स्वतन्त्र भई परमेश्‍वरका दास भएर, तिमीहरूको फल तिमीहरूलाई पवित्रताको निम्ति हुन्छ, र त्यसको अन्त्यचाहिं अनन्त जीवन हो।” (रोमी ६:२२) हामीले पवित्र अथवा नैतिक तवरमा शुद्ध आचरणका लाभहरू प्राप्त गर्ने भएकोले परमेश्‍वरप्रतिको हाम्रो दासत्वले पवित्रताको फल फलाउँछ। साथै, भविष्यमा यसले अनन्त जीवनतर्फ लैजान्छ।

२१ यहोवा आफ्ना दासहरूप्रति उदार हुनुहुन्छ। उहाँको सेवामा यथाशक्य गर्दा उहाँले “स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष” हामीमाथि वर्षाउनुहुन्छ। (मलाकी ३:१०) यहोवाका दासहरूको रूपमा सधैंभरि सेवा गरिरहनु कस्तो आनन्ददायी हुनेछ!

के तपाईंलाई याद छ?

• हामी किन परमेश्‍वरका दासहरू बन्छौं?

• हामी कसरी परमेश्‍वरको इच्छाप्रति आफ्नो अधीनता देखाउँछौं?

• हामी किन आफ्नोभन्दा यहोवाको इच्छालाई प्राथमिकता दिन तयार हुनुपर्छ?

• हामीले किन “पछिल्तिर” हेर्नु हुँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएको चित्र]

इस्राएलमा भएको स्वैच्छिक दासत्वको प्रबन्ध मसीहीहरूको सेवाको पूर्वझलक थियो

पृष्ठ १७-मा भएको चित्र]

बप्तिस्मा लिएपछि हामी परमेश्‍वरका दासहरू बन्छौं

[पृष्ठ १७-मा भएको चित्र]

मसीहीहरू परमेश्‍वरको इच्छालाई प्राथमिकता दिन्छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

आफूलाई दिइएको जिम्मेवारी स्वीकार्न मोशा हिचकिचाए